• वि.सं २०७६ भदौ ८ आइतबार
  • Sunday, 25 August, 2019

फोक्सुन्डो–यार्चा

२०७६ श्रावण १८ शनिबार १३:१२:००

केही समय अलमल–अलमलमा हामीले कुन बाटो हिँड्ने भनी सरसल्लाह गर्‍यौँ । यही वेला मेरो कानमा आएर थिन्ले बोले, ‘यदि तिम्रा अघि सजिला र अप्ठ्यारा दुई बाटा छन् भने अप्ठ्यारो बाटो रोज ।’ सायद हामी सबैले थिन्लेलाई सुन्यौँ र उनलाई अनुसरण गर्ने निधो गर्‍यौँ ।

जति–जति हामी उचाइतिर जान्छौँ, नदीहरू एक्लिँदै–एक्लिँदै जान्छन् । दर्जनौँबाट दश, दशबाट पाँच, पाँचबाट दुई र अन्तमा एक । कुनै पहाडी खोँचको दोभानबाट खोला एक्लिन्छ भिडदेखि । जसरी कहिलेकाहीँ अन्तिम दृश्यतिरबाट आरम्भतिर उल्टो गरी हेरिएको कुनै बायोपिक सिनेमाको अभिनेता रिलका चरित्रहरूसँग छुट्टिँदै–छुट्टिँदै भर्खरै जन्मिएको एक्लो बालक बन्छ, खोला पनि त्यस्तै हो । त्योभन्दा पनि अझ अगाडि उत्खनन गर्‍याैँ भने आमाको पेटको बच्चाझैँ खोला पनि धरतीको कोखमा एक्लै चल्मलाइरहेको भेटिन्छ । भेरी करिडोरमा प्रवेश गरेपछि मलाई लागिरहेको थियो, हामी यस्तै एउटा खोला खोज्न त्यो ठाउँ पुगेका थियौँ । त्यो खोलाको नाम थियो– फोक्सुन्डो खोला, जो सुन्दर तालको पाठेघरमा हुर्किएर अग्लो पहाडको सालनालबाट छुट्टिई भेरी नदी भेट्न उँधोतिर बग्छ । 

काठमाडौँ, इटहरी, पोखरा, दमौली र चितवन मिलेर बनेको हाम्रो मानव नदी भने त्यस प्राकृतिक खोलाको मुहान खोज्न उँभो–उँभो उक्लिरहेको थियो । र, यसरी उक्लिनुको विशेष प्रयोजन थियो– बहुमूल्य जीवनबुटी अर्थात् यार्चा टिप्नु । त्यसो त उक्त यार्चा किरा र वनस्पति दुवैको बिरल योगबाट बनेको यार्सागुम्बा थिएन, त्यो त कञ्चन जलराशीबाट बनेको पन्यालो यार्चा थियो, जसको नाम मैले फोक्सुन्डो–यार्चा सोचेको थिएँ । त्यसलाई मन र आँखाले टिप्न कान्जिरोबा र काङ ताइका तोङको बीचमा पुग्नुपथ्र्यो । खोलाको हात समाउँदै हामी त्यहीँ जाँदै थियौँ ।

सुनाउन त नेपालगन्जबाट समिटको उडानमार्फत जुफाल पुग्ने र पदयात्रा थाल्ने योजना सुनाएका थिए, फोक्सुन्डो काव्य यात्राका संयोजक अमृत भादगाउँलेले । नेपालगन्ज नपुग्दै बसमै सुनियो, ‘समिटले धोका देला जस्तो पो छ । टिकट भएर पनि हामी उड्न नपाइने खबर आयो ।’ 

हामीहरू वाल्ल पर्‍यौँ । उड्डयन विभागको यो कस्तो व्यावसायिक धर्म हो ? टिकट दिन्छ तर उडाउँदैन । कुरा बुझ्दा थाहा लाग्यो, कुनै भारतीय पर्यटकले त्यही टिकट आइसीमा लिने भएकाले एनसीवाला हामीजस्ता यात्रु अभरमा पर्ने रहेछौँ । पहिलो गाँसमै विसंगतिको ढुंगा टोकेको अनुभव गरेँ । पुष्पलाल चोकनजिकको सिएसटी होटेलमा भोलि बिहानै बस समाएर राडिज्युलातिर लाग्ने कि पर्सिको उडान पर्खिने भन्ने अन्योलमा एसीको चिसो खाँदै निदायौँ । 

भोलिपल्ट बिहान उठ्दा होटेलअघिको घरको छतमा केही बच्चाहरू नांगै छप्लाङछुप्लुङ घिस्रिरहेका देखिए । यताउताका छतका प्वाल थुनेर झमझम बर्सिरहेको मुसलधारे पानी जम्मा पारी ती नानीहरू वर्षा–उत्सव मनाइरहेका थिए । त्यो बालसुलभ क्रीडाले आफैँ भिजेजस्तो आनन्द दिलाइदियो । मौसमले गर्मी पाल्ने जिम्मा दिएझैँ लाग्ने नेपालगन्ज ती बालकको शरीरका नसा–नसामा शीतल बनी घुसेर सारा सहरलाई खुसी पारिरहेको जस्तो बोध भयो । यही वेला देवेन्द्र बस्न्यात दाइले सुनाए, ‘जुफालका लागि आजका सबै उडान क्यान्सिल भएछन् । हामीले भोलिका लागि फेरि टिकट कन्फर्म गर्‍यौँ । लौ आज मस्त नेपालगन्ज घुमौँ ।’ 

तर, कसरी घुम्ने नेपालगन्ज ? मध्याह्नसम्मै मुसलधारे पानी बर्सिरहेको थियो र पारिपट्टि घरको छतमा नानीहरू उसरी नै मस्त पौडिरहेका थिए । साथीहरूले टाइम पासका लागि तास फिट्न थाले । 

पानी बिदो हुनेबित्तिकै अभय, दीपेन्द्र, कृष्ण र म वागीश्वरी मन्दिरतिर हानियौँ । म कहिलेकाहीँ मन्दिर घुम्न मन पराउने मानिस । तर, मन्दिरद घुम्नुको मेरो उद्देश्य मस्तिष्कमा नभएको ईश्वरलाई खुसी पार्नु कदापि होइन, कला हेर्नु हो । कुनै–कुनै मन्दिर मलाई सुन्दर म्युजियमजस्ता लाग्छन् । मन्दिरका ढोका, झ्याल, भित्ता र टुँडालमा राखिएका कलाले मलाई सानैदेखि आकर्षित गर्थे र यो आकर्षण झन्–झन् बढिरहेको छ । वागीश्वरी मन्दिरअघिको शान्त पोखरी हरियो रङमा खुलेको देखिन्थ्यो । छेउमा केही प्लास्टिकका बोतल तैरिरहेको दृश्य भने आँखालाई बिझाउने खालको थियो । पोखरीको पूर्वी दिशामा श्रीपेचको अग्लो सालिक ठड्याइएको देखियो, जसको फेदमा एक जोडी युवायुवती सेल्फी खिच्न व्यस्त देखिन्थे । गणतान्त्रिक भनिएको देशमा अन्यत्र कहीँ नदेखिने श्रीपेचको सालिक दर्शन गर्नु परेकोमा हामीहरू एकसाथ अचम्मित भयौँ । मृत पञ्चायतको झल्को दिने त्यो प्रतीक तल उभिएर कविहरूले जोडी युवायुवतीले झैँ सेल्फी खिच्न मन गरेनन्, बरु जुम गरी–गरी केवल श्रीपेचको फोटो मात्र खिचे ।

नेपालगन्ज पुग्नु र मित्र नवीन जिसीलाई नभेट्नु मेरा लागि अप्रिय कुरा । पृथ्वीनारायण क्याम्पसमा बिएड पढ्दादेखि हामी निकै नजिकका साथी थियौँ । सेतु विक चोकमा पुगी नवीनलाई भेट्यौँ । जीवनको लीला नै भन्नुपर्छ, पोखराको नवीन नेपालगन्जमा स्थायी बसोवास गर्छ । यात्राबारे थाहा पाएपछि नवीनले चिन्ता व्यक्त गर्‍यो, ‘पानीले डिस्टर्ब गरेन भने पनि यो सिजनमा प्लेनको खासै भर हुन्न । आइसी पाएपछि एनसी चल्दैन यता ।’ म फेरि भोलिको उडान सम्झेर झस्किएँ । आकाश हेरेँ, ठाउँ–ठाउँमा कपास गुजुल्टिएको बाक्लो बादलको सिरकले त्यो ढाकिएको थियो । नवीनको पसलमा बसेर रुपैडिया पुग्ने निधो गर्‍यौँ हामीले । नवीनले रिक्साको व्यवस्था गरिदियो । 

‘डक्टर, याँ आएसी एकपटक गगनगन्ज त पुग्नुपर्छ यार,’ अभयको प्रस्ताव त होटेलबाट निस्कने वेलादेखिकै थियो, दोहोरियो । रिक्सावाला भाइलाई अनुरोध गर्‍यौँ । उनले पहिला हामीलाई नाम बदलिएर शान्तिटोल भएको गगनगन्जमा पुर्‍याए । मेरो दिमागमा त्रिपन्न सालको गगनगन्जको धुमिल रिल घुम्न थाल्यो । त्यो वेला गगनगन्ज अघोषित रेड लाइट एरियाका रूपमा बदनाम थियो । क्षेत्रीय भलिबल प्रतियोगिताका लागि पृथ्वीनारायण क्याम्पसको तर्फबाट नेपालगन्ज आउँदा हामीले टिम प्रशिक्षक दीपनारायण यादव सरसँग अप्ठ्यारो मानी–मानी गगनगन्ज घुम्ने रहर साझा गरेका थियौँ र सरले मुस्कुराउँदै हामीलाई गगनगन्ज घुमाउनुभएको थियो । 

गगनगन्जमा कुनै पुरानो स्मृति–अवशेष नभेटेर म हैरान भएँ । हैरानी अत्यन्त सुखद थियो । २३ वर्षअघि मैले देखेको फोहोर नाली, कन्डम बेच्ने पानपसल र ग्राहकसँग मोलमोलाइ गरिरहेका जीर्ण घरका ढोकाजस्ता यौनकर्मी युवतीहरू..., अहँ, मैले केही देखिनँ । रिक्सा रोकेर केही समय यताउता गर्‍यौँ । टायलले छाएका घरका छेउमा कि वस्तुहरू उग्राइरहेका देखिए, कि नानीहरू नलको नाली खिचेर मुख पखालिरहेका । घरको अघिल्तिरबाटै चिल्लो कालो सडक मुख्य बजारतिर सोझिएको दृश्य सुन्दर लाग्थ्यो । उता सुन्दर पोखरालाई ‘एन्जोय जोन’ बनाउने कुरूप योजनाको दूषित हावा चलिरहेका वेला यता गगनगन्ज शान्तिटोलमा बदलिएको मलाई बेहद मन पर्‍यो । त्यसपछि हामी रुपैडिया पुग्यौँ, ट्रेन स्टेसनसम्मै । अनि पैदल फर्कियौँ पानीमा डुबेका खेत र चौरहरू हेर्दै । पानीमा बनेका रूख, बादल र घरका प्रतिबिम्बले मनलाई लठ्याइरहेको थियो । 

त्रिपुराकोट हुँदै सुलिगाड
शंकाको बादल त काम तमाम भइसकेपछि पनि फाट्न गाह्रै हुन्छ, आकाशको बादल पनि फाटिदिएन बिहान । शंका गरेझैँ उडान नहुने निश्चित भएपछि बसमा निस्किहाल्ने सल्लाह गर्‍यौँ । हामीहरू आ–आफ्ना झोला, स्लिपिङ ब्याग, छाता र लठ्ठी सिटमुनि कोचेर बसबाटै राडिज्युलातिर हानियौँ । भेरी नदी भेटियो । यसैको छेउछाउतिरबाट हाम्रो बसयात्रा उत्तरपूर्वी दिशातिर अनवरत गुडिरह्यो । बसमा ‘गलबन्दी’ र ‘सालको पात’ खुब बजिरहे । यी दुवै गीत पछिल्लो समय मलाई पनि मन परेका लोकगीत थिए । ‘गलबन्दी’मा पहाडी सांस्कृतिक पाटो बलियो छ र ‘सालको पात’का हरेक टुक्कामा सुन्दर कविता छ । 

झ्यालबाट हेरेँ, भेरी नदीमा मिसिन आइपुगेका पहाडी खोलाले पालेका खेतहरूमा कतै–कतै हरियो धान सप्लाइरहेको देखिन्थ्यो । र, त्यसले निर्माण गरेको हरियो चित्र सजीव लाग्थ्यो । बिउ अंकुुराउने माटोमा नै प्राणीहरूको जीवन फल्छ । मानिसको प्राण फल्छ । यस्तो माटो मलाई कहिल्यै निर्जीव लाग्दैन । खलंगा उक्लिँदै गर्दा बसको झ्यालबाट देखिएको भेरी नदीको नागबेली फन्को, नदी किनारका बस्ती र जंगलको हरियालीले चित्तलाई विरेचित पारिरहे । 

‘भोलि विप्लवको बन्द रहेछ । जिप चल्दैनन् होला । हिँडेर जाने कि पर्सि जिपमा निस्कने सल्लाह गरौँ,’ अमृतले फेरि अर्को अप्रिय खबर सुनाए । जुफालसम्मको उडानको अवसरबाट वञ्चित हामी नेपाल बन्दको अर्को गन्धे समाचार सुनेर शंखेकिराको सिङझैँ खुम्चियौँ । जिप पुग्ने ठाउँसम्म पैदल हिँड्न इच्छुक थिइनँ म । कारण, यसले हाम्रो यात्रा लम्बिन्थ्यो र मैले क्याम्पसमा बढी बिदा लिनुपर्ने बाध्यता आइलाग्थ्यो । यसै पनि वर्षे बिदाभित्रै सकिने भनिएको यात्रा बिदा सकिने वेलामा बल्ल सुरु भएको थियो । 

‘सहरतिर केही गर्न सक्दैनन्, गाउँ बन्द गरेर के गर्नु ? गरिखाने जनतालाई दुःख मात्रै,’ चन्द्र काफ्लेलगायत धेरै साथीहरू मुर्मुरिए । 

रिम्भा काटेर रुकुमको चिसापानी हुँदै हामी राति दश बजेतिर जाजरकोटको तल्लबगर पुग्यौँ । त्यो दिनको हाम्रो बासस्थल ठूली भेरी गेस्ट हाउस त्यहीँ थियो । बन्दकै बीच भोलि हामीलाई लिएर एक जिप जान तयार भएको सुखद खबर सुनेपछि मन अलिक हल्का भयो । तर, मनको आकाशमा शंकाको बादल भने धुुम्मिरहेको साँचो थियो । 

सुखद कुरा, भोलिपल्ट बिहान अँध्यारोमै होटेलमा जिप आइपुग्यो । छतमा झिटिगुन्टा कोचेर हामीहरू जिपमा आवाद भयौँ । बन्दकर्ताले थाहा नपाऊन् भनेर गरिएको यस्तो बाल–हतार अर्थपूर्ण थियो । बन्द नहुने सभ्य देशका मानिसलाई यस्तो हतार जरुरी हुन्न । जिपले हामीलाई अजंगका चट्टाने पहाड काटेर बनाइएको कच्ची सडकमा पेन्डुलमझैँ हल्लाउँदै कुदाइरह्यो गोतामकोटतिर । करबगाडको पुल तरेपछि अर्को जिप चढेर हामी त्रिपुराकोटतिर सोझियौँ । त्रिपुराकोट मन्दिर सुन्दर थियो र अझ सुन्दर देखिन्थ्यो– मन्दिर परिसरबाट देखिएको भेरी, तरेली परेको हरियो खेत र त्यसको छेउको बस्ती । 

खानापछि झोलुंगे पुल तरेर अर्को जिप समाती रूपगाड पुग्छौँ दिउँसो २ बजे । अब अगाडि गाडीको सुविधा छैन । १५ मिनेट हिँडेपछि सुलिगाड पुग्छौँ । सुलिगाड त्यही ठाउँ हो, जहाँ फोक्सुन्डो खोला भेरीमा मिसिन्छ । तल हेर्दा फोक्सुन्डो खोला भिडको सदस्य बनेको देखिन्छ, माथि हेर्दा एक्लो । अब यहीँबाट हाम्रो पैदल यात्रा सुरु हुन्थ्यो । 

झोलुंगे पुलबाट दोभान नियालेँ, धमिलो भेरीमा फोक्सुन्डोको सङ्लो पानी सङ्लो नै बनिरहन संघर्षरत थियो । अलिक तल्तिर पुगेपछि भने खोलाको सङ्लो पानी पूरै गुमनाम देखियो । सोचेँ, मानव नदी पनि यस्तै हो, जहाँ धमिला विचारका नदीले सोचका सङ्ला खोलालाई आफूजस्तै धमिलो बनाइदिन्छन् । खुसीको कुरा के थियो भने हामी धमिलो नदीतिर होइन, सङ्लो खोलातिर हिँडिरहेका थियौँ । पन्यालो फोक्सुन्डो–यार्चा टिप्न । 

साङ्टा
खोलाको पहिलो साँघु कट्नासाथ पानी बर्सिन थालिहाल्यो । त्यो पनि हावाहुरीसहित । खोलाछेउको चौतारीमा माथि लेकबाट तल झरेका एक बथान महिलालाई सागर उदासले सोधिहाले, ‘काँबाट आउन्या हुन् ?’ 

हामी सबै देवेन्द्र दाइले दिएको ठूलो प्लास्टिकले झोला बेर्न व्यस्त थियौँ । 

‘किरा टिपेर फर्केको,’ कालो चायाले साम्राज्य विस्तार गरेको अनुहार भएकी एक दिदीले जवाफ फर्काइन् । हेरेँ, हरेक महिलाको अनुहारको रंग लगभग उस्तै–उस्तै थियो । उनीहरू हिमालमुनिका चिसा पहाडमा यार्सागुम्बा टिपेर फर्किएका रहेछन् । 

‘कति पाउनु भो त किरा ?’ कवि दीपेन्द्रसिंह थापाले जिज्ञासा राखे । अनुहार मात्र देखिने गरी प्लास्टिक च्यातेर त्यसैभित्र शरीर र झोलालाई कोचेका कवि जानकारी संकलन गर्न सबैभन्दा जाँगरिला छन् भन्ने कुरा यसअघिका सहयात्राले प्रमाणित गरिसकेका थिए । 

‘दश–बाह्रवटाजति मात्र पायो । दुःख मात्रै भयो यसपालि त ।’ 

ज्यानमारा चिसो र कष्ट सहेर जीवनका स–साना सपना पूरा गर्न यार्सागुम्बा टिप्न जानेहरूको लर्को नै लाग्छ यो सिजनमा । यो अत्यन्त जोखिमयुक्त काम यताका दुःखीजनका लागि जीवन संस्कृति नै बनिसक्यो । कतिपय यार्चा टिप्ने क्रममा अत्यधिक चिसो, हिमपहिरो र लेक लागेका कारण उतै मरेका दुःखद समाचार छापिन्छन् हरेक वर्ष । यस वर्ष पनि नौजनाको मृत्यु भएछ । दुःखद कुरा के छ भने उनीहरूको मृत्यु देशका लागि सामान्य समाचार बनिदिन्छ । मानौँ उनीहरू मानिस नभएर कीटपतंग हुन् । असफल योद्धाजस्ता बनेर फर्किएका ती दिदीहरूको दुःखले मनलाई भारी बनाइदियो । 

नेपालको सबैभन्दा ठूलो से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयमा प्रवेशका विधि–विधान मिलाए अमृतजीले । हामी सकेसम्म छेप्का पुग्ने योजना बनाएर फोक्सुन्डो खोलाको किनारै–किनार अघि बढ्यौँ । खोलाको गर्जन सुन्दै, ठिङ्ग्रे सल्लाको जंगलबीचबाट सर्पझैँ कुदिरहेको खोलाको भंगिमा नियाल्दै, गाइगोठहरू हेर्दै । साङ्टामै हामीलाई साँझले पक्रिहाल्यो । हामीले रात त्यहीँ बिताउने निर्णय गर्यौँ । र, बढेमानको ढुंगामा ढेस्सिएर बनेको होटेलका कोठामा झोला बिसायौँ । उत्तरी कुना त्यही ढुंगाले बनेको कोठा ऋषिमुनीहरू तपस्या गर्ने ओढारजस्तो प्रतीत हुन्थ्यो । ओसिलो र चिसो । तर, त्यसलाई आधुनिक तरिकाले सजाउने कोसिस भने गरिएको देखिन्थ्यो । छेउको खोला वनपाखा थर्काउँदै गर्जिरहेको थियो । त्यही गर्जन सुन्दै हामी साङ्टामा निदायौँ । 

झरना 
‘थिन्ले लडेको ठाउँ यही हो,’ एघारौँपटक फोक्सुन्डो हिँडिरहेका नागरिक डोल्पा संवाददाता विष्णु देवकोटाले भने । भर्खरै छेप्का कटेर हामी अलिक साँघुरो र अप्ठ्यारो घुम्तीमा आइपुगेका थियौँ । 

‘घोडा र थिन्ले दुवै लडेका थिए । घोडा त यहीँ मर्‍यो । उपचारको क्रममा थिन्ले पनि मरे,’ उनले थपे । साँघुरो बाटोलाई थप साँघुरो बनाउन एउटा ढुंगा बाटोमा तेर्सिएको देखिन्थ्यो । बाटो तल डरलाग्दो भिर, खसियो भने सीधै फोक्सुन्डो खोलामै पुगिने जस्तो । 

‘सायद त्यही तेर्सो सुतेको ढुंगामा घोडाका गोडा ठोक्किएर दुर्घटना भयो होला,’ मैले अनुमान गरेँ । 

‘होइन, खच्चरले धकेलेर,’ उनले स्पष्ट पारिदिए । 

त्यसपछि क्याराभानका थिन्लेलाई बाटोभरि सम्झिरहेँ मैले । जीवन्त अभिनयका कारण उनी विश्वभर प्रशंसित भए । सिनेमा जगत्मा यति प्रशंसा त सम्भवतः कुनै दोस्रो नेपाली कलाकारले पाउन सकेको छैन । एरिक भालीले कम मिहिनेतमा फिल्म बनाएका थिएनन् भन्ने कुराको छनक क्याराभानको सेटिङ साल्दाङ नपुग्दै अनुभव गर्न सकिन्थ्यो । फिल्ममा थिन्लेको एउटा गजब संवाद छ, ‘यदि तिम्रो अघि सजिलो र अप्ठ्यारा दुई बाटा छन् भने अप्ठ्यारो बाटो रोज ।’ 

थिन्लेको यो भनाइले मलाई सधैँ प्रभावित र प्रेरित गरिरहन्छ । फाटफुट सम्झना पहिलेदेखिकै भए पनि थिन्लेको अविरल सम्झना यही मोडबाट सुरू भयो, जुन यात्रा अवधिभरि चलिरह्यो । एउटै फिल्मबाट यति धेरै प्रभावित गर्न सक्ने थिन्ले मेरा प्रिय कलाकार थिए ।

पहिलो टोली र्यांची पुग्दा ठीक बाह्र बजेको थियो । त्यस टोलीमा थियौँ, देवेन्द्र दाइ, अभय, विष्णु देवकोटा र म । थकानका कारण शरीरलाई पनि बाह्र बजिरहेको अनुभव गरिरहेथेँ म । त्यहाँ उपलब्ध एक मात्र होटेलमा देवेन्द्र दाइले चौधजनाको टोलीका लागि खाना बनाउने अर्डर दिए । र, म विष्णुजीले देखाइदिएको कोठामा गएर पसिनाले भिजेका कपडासहित नै नरम ब्ल्यांकेटभित्र गुटमुटिएँ । एक तलामाथिको कोठाको झ्यालबाट कैँची परेको पहाडहरूको बीचमा एउटा अग्लो न अग्लो सल्लाको रूख र त्यस वरपर उडिरहेको हुस्सुको दृश्य निकै फोटोग्राफीक देखिन्थ्यो । थकान यति गहिरो थियो कि क्षणभरमै म निद्रादेवीको दुनियाँमा अमूर्त सपना देखिरहेको थिएँ । 

दुई घन्टाजति सुतेर ब्युँझिँदा पनि केही साथीहरू अझै होटेलमा आइपुगिसकेका थिएनन् । केही खाना खाँदै थिए । लोकल सिमीको दाल, बास्ना आउने साग र पदमचालको अचार । स्वादिष्ट थियो खाना तर झिँगाको बथानले दिक्क पारिदिन्थ्यो । चामल भने सबै ठाउँमा तलबाटै आउने रहेछ । तीन बजे मात्र हामी सबै र्यांचीमा जम्मा हुन सक्यौँ । विशेषतः गनेस र हेमन्तलाई हिँड्न गाह्रो भइरहेको थियो । राराको यात्रामा हिउँमा चिप्लिएका हेमन्त र बलेवा यात्रामा मांसपेसी च्यातिएर घाइते भएका गनेसलाई हिँड्न मुस्किल हुनु स्वाभाविक नै थियो । उनीहरू जोखिम मोलेर नै यो यात्रामा समावेश भएका थिए । उत्कट चाहना नै त हो बल, जसले मानिसलाई जस्तै अक्करमा पनि हिँडाएरै छाड्छ ।

ताप्रिजा पुग्नुअघि एक ठाउँमा पुगेर हामीहरू अलमलियौँ । बाटोमा रूख लडाइएको थियो र माटोमा क्रस चिह्न बनाइएको थियो । स्पष्ट थियो, अगाडि बाटो खराब छ । त्यसको अलिक वरतिर वैकल्पिक बाटो हिँड्न सुझाइएको वाणचिह्न देखियो । सामान्य अनुमान गर्दा उक्त वैकल्पिक बाटो निकै फेरो पर्ने लाग्यो हामीलाई । केही समय अलमल–अलमलमा हामीले कुन बाटो हिँड्ने भनी सरसल्लाह गर्‍यौँ । यही वेला मेरो कानमा आएर थिन्ले बोले, ‘यदि तिम्रो अघि सजिलो र अप्ठ्यारो दुई बाटा छन् भने अप्ठ्यारो बाटो रोज ।’ सायद हामी सबैले थिन्लेलाई सुन्यौँ र उनलाई अनुसरण गर्ने निधो गर्‍यौँ । 

बडो जोसका साथ फोक्सुन्डो खोलाको छेउमा पुग्यौँ हामीहरू । खोलाले बिगारिदिएको बाटो साँच्चै नै डरलाग्दो देखिन्थ्यो । मनमा थिन्ले मौन भए । यात्री हिँड्ने खोलाको तटबन्ध बर्खाको भेलले गल्र्यामगुर्लुम भत्काइदिएको थियो र बीस–तीस मिटरजति बाटो पानीमुनि गायब देखिन्थ्यो । 

‘जोखिमसँग दोस्ती नगर्नेहरू कायर हुन्,’ थिन्लेको जस्तो–जस्तो आवाजमा फेरि कोही बोल्यो मनभित्र । मेरो जोस दोब्बर भयो । मैले ट्राउजर माथि तानेँ, जुत्ताका तुना बाँधी काँधमा झुन्ड्याएँ । गनेस, अभय, विष्णु र दीपेन्द्रले पनि यसै गरे । हामी पानीमा पस्यौँ । आथुथु ! कति ठिहिर्‍याउने पानी ! रगत नै जमाउला जस्तो । खुट्टा एकैछिनमा अररो भयो । सोचेँ, ‘हामी त जसोतसो तरिएला, तर सबै साथीहरू यो भेल र चिसो पार गर्न सक्नेछैनन् । खोलाको धारले उनीहरूलाई आफूमा लपेट्न बेर लाउनेछैन ।’ शक्तिहीनता र डरलाग्दो कल्पनाका कारण म खोलाबाहिर निस्किएँ । अरू साथीहरू पनि ऐड्ढया आच्छु गर्दै खोलाबाट बाहिरिए । 

हामीलाई यस्तो मूर्खता नगर्न सम्झाइरहेका साथीहरूले वैकल्पिक बाटो हिँड्न दबाब दिन थाले । यही वेला सबैलाई पाखा लगाएर हेमन खोलामा हेलियो । भिरको भित्तोमा हत्केला अड्काउँदै ऊ सरासर बीचमा पुग्यो, जसको पल्लो भागमा अर्को बाधा थियो । उसले आफ्नो चस्मा र मोबाइल त्यहीँ राख्यो र झोला लिन फेरि फर्कियो । 

सागर उदास भन्दै थिए, ‘म कुनै पनि हालतमा यो बाटो हिँड्न सक्दिनँ । मलाई पानीदेखि डर लाग्छ ।’ कमल खत्रीको हालत उस्तै थियो । देवेन्द्र दाइ हामीलाई मूर्खता नगर्न थप चेतावनी दिइरहेका थिए । 

तर, हेमनको साहसिक कदमले हाम्रो चिसिएको उत्साहमा गर्मी चढाइदियो । ऊ साक्षात थिन्ले बनेर हाम्रो अघि उभिएको थियो । हामीहरू भेडाको बथानझैँ फेरि खोलामा हेलिन थाल्यौँ पालो गरी–गरी । हेमनले झैँ भिरका चरहरूमा हत्केला घुसाएर बाधाहरू पार गर्दै गयौँ । दुर्भाग्य हामी धेरै हतारिएका थियौँ । चिसोबाट जोगिन निश्चित दूरी राखेर हिँड्नुपर्ने हामी भिड लागेर हिँडिदियौँ, जसको कारण हामी धारिलो खोलाको बरफजस्तो चिसो पानीमा लामो समय फस्न विवश भयौँ । खोलाको छालले आँखामा हिर्कायो, कट्टु भिजायो र चिसोले खुट्टा खोलामै झारिदेला कि जस्तो भयो । तर, हामीले हिम्मत हारेनौँ । केही कष्टकर संघर्षपछि हामी खोलाको सुरक्षित स्थानमा आइपुग्यौँ । यो संघर्ष हाम्रो यात्राकै एक रोमाञ्चक पल थियो, जसको पक्ष विपक्षमा यात्राभरि चर्चा चलिरह्यो । 

मेरो भने यो पलप्रति विशेष प्रेम छ । 

ताप्रिजा स्कुल सुन्दर देखिन्थ्यो । स्कुलमाथिको चौरमा बालकहरू झुम्राको फुटबल खेलिरहेका थिए । मलाई आफ्नै बाल्यकाल याद आयो । हामी पनि यसरी नै झुम्राको फुटबल खेल्थ्यौँ । त्यो क्रम किशोरकालसम्म जारी रह्यो । बल किन्ने पैसा नभएर बिताएका ती अभावग्रस्त दिनहरूको सम्झनाले झ्वाम्म छोपिएँ म र फुच्चेहरूको भिडियो बनाउन थालेँ । म भिडियो बनाउन यति मग्न भएछु कि एउटा फुच्चेले हिर्काएको ढुंगा मेरो नजिकमा बज्रिसकेपछि मात्र म झस्किएँ । उसलाई मैले भिडियो बनाएको मन परेनछ । दुःख केमा लाग्यो भने, ढुंगाभन्दा पनि कठोर उसका केही शब्दहरू मेरो कानको जालीमा बज्रिरहेका थिए । म हैरान भएँ, उसले आमाचकार गाली बर्साइरहेको थियो ।

मैले त्यो फुच्चेसँग माफ मागेँ र झरनातिरको बाटो छोट्याउन थालेँ । जब्बर ढुंगाहरूको पहाडमुनि अवस्थित झरना होटेल त्यो दिनको हाम्रो बिसौनी थियो ।
 

प्रतिकृया दिनुहोस