• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
आख्यानकार
राज सरगम काठमाडाैं
२०७६ श्रावण २५ शनिबार ०७:३४:००
साहित्य

‘बिहेमा मार्क्सको पुँजी पाएँ’ : नीलम कार्की ‘निहारिका’

२०७६ श्रावण २५ शनिबार ०७:३४:००
राज सरगम काठमाडाैं

पहिलोपटक कसको सिफारिसमा कुन किताब पढ्नुभएको थियो, याद छ ?
दिदी र दाइ पढाइमा ट्यालेन्ट हुनुहुन्थ्यो । मलाई भने पढ्न रुचि हुन्थेन । पाँच कक्षा पढ्दा दिदीले एक साँझ सम्झाउनुभयो, ‘कृति कहिल्यै मर्दैन ।’ मलाई भने कृति के हो थाहा थिएन । त्यही साँझ दिदीले छिमेकी पुरेतबाको घरमा लैजानुभयो । त्यहाँ भजन चलिरहेको थियो । पुरेतबाको घरको पालीमा एउटा थोत्रो किताब सिउरिएको देखेँ । त्यो मुनामदन थियो । मैले पहिलोपटक स्कुलका किताबबाहेक त्यही किताब पढेकी हुँ । त्यो किताब धेरै वर्षपछि दोहो¥याएँ । मुनामदनले नै मलाई पढ्न बानी बसालेको थियो । 

युवा उमेरमा पढेका कुन–कुन किताब दोहो-याउनुभएको छ ?
०४९ सालमा नर्सिङ क्याम्पस भर्ना भएसँगै कलेजको पुस्तकालयमा पहुँच पुग्यो । पुस्तकालयबाट ‘प्रेमपिण्ड’ पढेँ । त्यसले मलाई खुब छोयो । त्यसमा राणाकालको समय छर्लंग देखिन्छ । त्यो धेरैपटक पढेँ । पछि फिल्म पनि हेरेँ । त्यही वेला ‘माधवी’ पढेँ । माधवी पहिलोपटक बुझिनँ, तीनचोटि पढेँ । धेरै दोहो-याएकोचाहिँ पारिजातको ‘शिरीषको फूल’ र बिपीको ‘सुम्निमा’ हो । माधवी, सुम्निमा, शिरीषको फूल जतिपटक पढ्छु, त्यति नयाँ लाग्छ ।

अरूलाई पढ्न कस्ता किताब सिफारिस गर्नुहुन्छ ?
उमेर समूह र रुचि हेरेर सिफारिस गर्छु । लेखनशैली र देशकाल हेरेर पनि किताब सिफारिस गर्छु ।
कसैको प्रतीक्षा गर्दा किताब पढ्नुहुन्छ ?
गत वर्षको नारी दिवसमा मैले अमेरिकाको टेक्सासको एकजना भाइलाई पर्खनुपर्ने भयो । त्यही वेला झोलामा अलिखित उपन्यास थियो । पाँच घन्टा प्रतीक्षा गर्दा अलिखित आधाभन्दा बढी पढेकी थिएँ ।

 तपाईं अमेरिका बस्नुहुन्छ, त्यहाँको पठन–संस्कृति कस्तो पाउनुभयो ?
त्यहाँको पठन–संस्कृतिमा पुग्न नेपाललाई अझ पचास वर्ष लाग्छ । अमेरिकामा पुस्तकालयको पहुँच छ । सानैदेखि चित्रकथा पढाइन्छ । एउटा बच्चाले एक महिनामा १० भन्दा बढी कोर्सबाहेकका किताब पढ्छन् । नेपालमा काठमाडौंबाहेक अन्य ठाउँमा सर्वसाधारणको किताबमा पहुँच पुगेको छैन । 

तपाईंको मनस्थिति नै बदल्ने कुनै किताब छ ?
राजेश्वर देवकोटाको द्वन्द्वको अवसान किताबले मलाई छोएको थियो । कर्णलाई मैले खुबै मिस गरेँ । पछिल्लो समय पढेको तुइनले पनि मनमा छाप छोड्यो । 

किताब उपहार पाएको कुनै सम्झनायोग्य दिन छन् ?
मलाई बिहेमा अर्जुन बस्याल नामका मेरा मित्रले कार्लमार्क्सको पुँजी र म्याक्सिम गोर्कीको आमा किताब उपहार दिएका थिए । त्यो सम्झिरहन्छु । विभिन्न चाडपर्वमा अझै पनि किताब उपहार आउँछ । 

झोलामा कति किताब हुन्छन् ?
महिलाको झोलामा बढी मेकअपका सामान नै हुन्छन् भन्ने छ । मेरो झोलामा भने कुनै न कुनै आख्यानको किताब हुन्छ । यात्रामा म किताब पढ्छु । बिहेभोजमा जाँदा पनि किताब नछुटे हुन्थ्यो भन्ने लाग्छ ।