• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुजित मैनाली काठमाडाैं
२०७६ श्रावण २५ शनिबार ०८:०८:००
साहित्य

पाठकलाई हेप्नुहुन्न

टिप्पणी

२०७६ श्रावण २५ शनिबार ०८:०८:००
सुजित मैनाली काठमाडाैं

अध्ययन–अनुसन्धानले आख्यानमा प्राण भर्छ । अध्ययन–अनुसन्धानविना लेखिएको आख्यान मासुको थुप्रोसरह हुन्छ । त्यस्तो थुप्रो जसभित्र प्राण हुँदैन, ब्रह्मनालमा तेर्सिएको शरीरजस्तै । पश्चिमतिर हलुका बाजारु आख्यान लेख्दा पनि गहन अध्ययन–अनुसन्धान गर्ने परिपाटी छ । डेढ दशकअघिको बेस्ट सेलर उपन्यास ‘द डा भिन्सी कोड’लाई हामी उदाहरणका रूपमा लिन सक्छौँ । यसका लेखकले इसाई धर्मग्रन्थ, किंवदन्ती र तिनमा वर्णित ‘सिम्बोल्स’हरूको गहन अध्ययन गरेका छन् भन्ने कुरा किताबका पाना पल्टाउँदै जाँदा थाहा हुन्छ ।

 हामीकहाँ पनि अनुसन्धान नगरिएकोचाहिँ होइन । समकालीन लेखकहरूकै प्रसंग लिऊँ । नयनराज पाण्डेको लघुउपन्यास ‘उलार’मा पात्रहरूको दैनन्दिन, उनीहरूको आर्थिक–सामाजिक जीवनको सजीव चित्र छ । नेपालगन्जका रैथानेहरूको पुस्तौनी जमिन कसरी हडपियो, उनीहरू नेपालगन्जको केन्द्रबाट किनारामा कसरी धकेलिँदै गए भन्ने कुराको सजीव चित्र उपन्यासले कोरेको छ । 

आख्यान लेख्दा किताबी ज्ञान लिनु अपरिहार्य हुन्छ, पर्याप्तचाहिँ हुँदैन । आफूले लेख्दै गरेको विषयसँग सम्बन्धित जानकारी लिन समाजभित्र पस्ने, मानिससँग अन्तर्क्रिया  गर्ने, उनीहरूको रहनसहन, खान्की, लवाइखवाइ, पहिरन, प्रेम–सम्बन्ध, आर्थिक क्रियाकलाप आदि नियाल्ने गर्नुपर्छ । यसलाई अझ विस्तृतमा बुझ्न किताबको सहारा लिने हो । किताबमा हजारौँ वर्षको अनुभव र ज्ञान सुरक्षित हुन्छन् ।

गत वर्ष प्रकाशित उपन्यासमध्ये योगेश राजको ‘रणहार’ मैले रुचिपूर्वक पढेँ । एउटा रोचक भनाइ छ– इतिहासमा पात्रको नाम र मिति सही हुन्छन्, बाँकी सबै मिथ्या हुन्छन्, उपन्यासमा चाहिँ नाम र मिति गलत हुन्छन्, बाँकी सबै सत्य हुन्छन् । ‘रणहार’का सुरुका केही पृष्ठ पल्टाएपछि मैले यो भनाइको मर्म बुझेँ । ‘रणहार’मा लेखकले भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लको समयको राजनीति, परिवेश, खानपान, वास्तुशिल्पी, अभिवादन, बाटोघाटो आदिको जीवन्त चित्रण गरेका छन् । लेखक मल्लकालका विज्ञ भएकाले यसको प्रभाव उपन्यासमा परेको हो ।

हामीकहाँ समकालीन घटनामा आधारित आख्यान लेख्दा मात्र होइन, सुदूर विगतका घटनाबारे लेख्दा पनि अध्ययन–अनुसन्धान नगरी हेलचेक्र्याइँ गर्ने परिपाटी छ

हामीकहाँ समकालीन घटनामा आधारित आख्यान लेख्दा मात्र होइन, सुदूर विगतका घटनाबारे लेख्दा पनि अध्ययन–अनुसन्धान नगरी हेलचेक्र्याइँ गर्ने परिपाटी छ । त्यस्ता रचना पनि आखिरमा पाठकले रुचाएकै छन्, किनेर पढेकै छन्, अध्ययन–अनुसन्धानको झ्याउलो किन गर्नुप-यो र भनेर पाठकलाई हेप्नु हुँदैन । यसले कस्तो परिणाम निम्त्याउन सक्ला भन्ने संकेत अहिलेको पुस्तक बजारले देखाइसकेको छ ।

केही समयअघि कृष्ण धरावासीको कथा ‘झोला’को पुनर्पठन गर्दैगर्दा मैले कथा लेख्नुअघि कथाकारले कम्तीमा पनि लिच्छविकालदेखि चन्द्र शमशेरसम्मको सतीप्रथाको इतिहास, सती पठाउने विधि आदिबारे अध्ययन गरेको भए, यसबारे कम्तीमा १० जना बुढापाकासँग सोधखोज गरेको भए हुने थियो भनी महसुस गरेको थिएँ । निलम कार्की निहारिकाको ‘चिरहरण’ सर्सर्ती हेर्दै गर्दा उनले मूलग्रन्थमा पनि प्रवेश गरेको भए अझ बेस हुने थियो भनी महसुस गरेको थिएँ ।

आख्यानमा कथा काल्पनिक हुन्छन् । परिवेशचाहिँ सत्यको नजिक हुनैपर्छ । परिवेशको सजीव चित्र उतार्न किताब र समाजभित्र डुब्नैपर्छ । ‘मुनामदन’का भोट जाने मदन नेवार हुनुपथ्र्यो, लक्ष्मीप्रसादले क्षेत्री किन बनाए भनी उठिरहेको सवालको मर्मलाई सबै आख्यानकारले मनन गर्नुपर्छ ।