• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सम्झना वाग्ले भट्टराई काठमाडौं
२०७६ श्रावण २५ शनिबार ०८:२७:००
समाज

स्वतन्त्र यौन अधिकारको पक्षमा

२०७६ श्रावण २५ शनिबार ०८:२७:००
सम्झना वाग्ले भट्टराई काठमाडौं

झन्डै २० वर्षअघिको कुरा हो । तनहुँको त्यो सहरोन्मुख गाउँमा एक क्याम्पस सञ्चालनमा थियो । क्याम्पसमा पढाउने अधिकांश शिक्षक त्यो गाउँभन्दा अन्यत्रकै थिए र गाउँका घरहरूमा भाडामा बस्थे । तीमध्ये एकजना म्याडम पनि हुनुहुन्थ्यो । उमेर त्यस्तै २५/२६ वर्षको । उहाँ अविवाहित र अत्यन्त सुन्दर हुनुहुन्थ्यो । क्याम्पसका शिक्षक सबैलाई गाउँलेहरू सम्मान गर्थे ।

म्याडमलाई झन् अतिरिक्त सम्मान गरेजस्तो लाग्थ्यो । म्याडम आएको त्यस्तै एक वर्षपछिको कुरा हो, एक दिन गाउँमा उहाँको चरित्रबारे नकारात्मक टिप्पणी सुनियो । र, त्यो टिप्पणी भुसको आगोझैँ फैलन थाल्यो । हल्ला के थियो भने– ‘ती म्याडमले कन्डम किन्नुभयो रे !’ गाउँमा एउटा मात्र औषधि पसल थियो । औषधि पसलेले यो कुरा अरूलाई भने वा अरू कसैले देखेर यसको प्रचार गरे, थाहा भएन । तर, अधिकांश गाउँले पुरुष आफैँले देखेजसरी विषयको चर्चा गरिरहेका थिए । वास्तवमा उहाँले कन्डम किन्नुभएको थियो वा थिएन, थाहा छैन (किनेकै भए पनि त्यो उहाँको व्यक्तिगत कुरा थियो) तर, त्यस घटनाले गाउँमा सिर्जना गरेको उकुसमुकुस म अझै सम्झन्छु । 

त्यो हल्ला चलेको लगभग एक महिनापछि म्याडमले गाउँ छोड्नुभयो । यो त्यही समय थियो, जतिखेर गाउँका स्वास्थ्य चौकीहरूमा कन्डम निःशुल्क वितरण हुन्थ्यो । अस्पताल तथा स्वास्थ्यचौकीहरूमा ‘चाहिएजति लानुहोस्’ लेखिएको एउटा बक्स हुन्थ्यो र त्यहाँबाट कन्डम प्रयोग गर्ने पुरुषहरू आवश्यकजति निकालेर लैजान्थे । अल्लारे युवा तथा स्कुले विद्यार्थी पनि त्यहाँबाट कन्डम निकालेर बेलुनजस्तै फुकेर उडाउँथे । र, अर्कातर्फ हामी केटीहरू भने त्यो देखे मात्र पनि प्रलय नै हुन्छ झैँ निहुरिएर हिँड्थ्यौँ । कोही–कोही भने लुकीलुकी हेर्दै खितखिताउँथे । अधबैँसे पुरुषहरू ती केटीहरूलाई ‘पात्तिएका’ भन्थे, तर कन्डम फुकेर उडाउने केटाहरूप्रति भने उनीहरूको कुनै टिप्पणी हुँदैनथ्यो । 

यसले यौनको सन्दर्भमा त्यतिखेरको हाम्रो सामाजिक मनोदशाको अवस्था देखाउँछ । त्यसो त अहिले समय केही फेरिएको छ । चेतनाको विकास र समाजमा आएको खुलापनसँगै यौनको विषयमा समाज पनि उदार बन्दै गएको छ । यौन अधिकार र यौन स्वतन्त्रताका विषयहरूमा समाजमा यदाकदा चर्चा र बहस हुने गर्छ । यस विषयमा पत्रपत्रिकामा लेखहरू छापिन थालेका छन् । भनिरहन परोइन, यी बहसमा ‘महिलाका कुरा’ केन्द्रमा हुने गर्छन्, किनकि यौनको विषयमा पुरुषका लागि समाज पहिलेदेखि नै तुलनात्मक रूपमा उदार थियो । 

देशको अर्थतन्त्रको मूल हिस्सा जब कृषिबाट बिस्तारै उद्योग तथा सेवा क्षेत्रतर्फ सर्दै गयो तब गाउँका युवायुवती कामको खोजीमा सहरतर्फ जान थाले । अध्ययनका लागि पनि सहरी क्षेत्रमा युवायुवती आउने क्रम बढ्यो । यसले कृषियुगको तुलनामा युवकयुवतीबीचको भेटघाट र अन्तक्रिया बढायो । यसले प्रेम, विवाह तथा यौनसाथीको छनोटमा पनि युवाहरूलाई सहज बनायो । सहजतासँगै नयाँ समस्या पनि देखिन थाले । पछिल्लो दुई दशकयता रोजगारीको सिलसिलामा युवाहरू बिदेसिने क्रम बढेसँगै विवाहेतर यौनसम्बन्ध बढ्दै गएको र यसकारण पारिवारिक विखण्डन बढ्दै गएको चर्चा चल्ने गरेको छ ।

विशेषगरी रोजगारीको सिलसिलामा बिदेसिएका पुरुषका श्रीमतीको परपुरुषसँगको सम्बन्धले बदलिँदो सामाजिक सम्बन्धको अध्ययनको आवश्यकता देखाएको छ । त्यसो त पुरुष वा महिला जो बिदेसिए पनि उनीहरूको घर–परिवारमा विखण्डन आएको छ । समाजमा बढ्दै गएका यस्ता प्रवृत्तिले पुरुषहरू पनि पीडित हुँदै गएका समाचारहरू आएका छन् । पुरुष–महिला दुवै पीडित भए पनि पारिवारिक विखण्डनको समस्याको कारण महिलालाई देखाउने आमप्रवृत्ति छ । एक अध्ययनअनुसार, आठ हजार नौ सय ३३ घर–परिवारमा श्रीमती विदेश गएकोमा ३६ प्रतिशत श्रीमान्ले दोस्रो बिहे गरेका छन् श्रीमान् विदेश गएकामा दुई प्रतिशत श्रीमतीले दोस्रो बिहे गरेका छन् (कैलाश राई, नेपाल साप्ताहिक, अगस्ट ६, २०१९) । 

पारिवारिक पिखण्डन नेपालमा बढ्दो सामाजिक समस्याका रूपमा देखिँदै आएको छ । यसको एउटा कारण यौन स्वतन्त्रता र अधिकारलाई लिने गरिन्छ । यो लेखको चर्चा भने समाजमा हुने गरेको विवाहेतर यौनसम्बन्ध र यसले निम्त्याएको समस्यामा महिलालाई बढी जिम्मेवार र दोषी देख्ने सामाजिक दृष्टिकोणको आधार के हुन सक्छ भनेर विश्लेषण गर्नु रहेको छ । हाम्रो समाजमा अझै पनि बहुगामी यौन चरित्र भएको पुरुषलाई उसको पौरुषका रूपमा हेर्ने र बहुगामी यौन चरित्र भएकी स्त्रीलाई कुलटा र पतिताको रूपमा हेर्ने मनोविज्ञान छ । 

यो सामाजिक मनोविज्ञान हिजोआज मात्र बनेको भने पक्कै होइन । यो लामो समयको पुरुषसत्ताको अभ्यास र त्यसको मलजलमा उम्रेर हुर्केको मनोविज्ञानको परिणाम हो । यसका केही दृष्टान्त हेरौँ । नेपाली समाजमा श्रीस्वस्थानी व्रतकथाको परम्परा व्यापक र यसको बलियो प्रभाव छ । यही साउन १८ देखि २० गतेसम्म काठमाडौंमा भएको अन्तर्राष्ट्रिय समाजशास्त्रीहरूको सम्मेलनमा समाजशास्त्री शुक्रराज अधिकारीले उनको अनुसन्धानमूलक प्रस्तुतीकरणमा नेपालमा स्वस्थानीको व्रत लिने तथा यसप्रति विश्वास गर्नेमा आर्य समुदायका अतिरिक्त गैरआर्य समुदायमा यसको प्रभाव विस्तार हुँदै गएको औँल्याएका थिए ।

अझ चाखलाग्दो कुरो के भने पढेलेखेका शिक्षित युवामा स्वस्थानी कथाप्रतिको विश्वास बढ्दै गएको उहाँको अनुसन्धानले देखाएको उनले बताएका थिए । यही स्वस्थानी कथामा जालन्धर र वृन्दाको कथा छ । पत्नी वृन्दाको पतिव्रता धर्मको प्रभावले अजेय भएका जालन्धर पत्नीसँग नै कुरा गरी महादेव पत्नी पार्वतीलाई छल गरी यौनसम्बन्धका लागि जान्छन् । उता, भगवान् भनिएका विष्णुले छलले जालन्धरको रूप धारण गरी पार्वतीको सतित्व डगाएपछि जालन्धर शक्तिहीन भएको कथा छ । यसले पुरुषको बहुगामी यौन चरित्र र व्यवहारलाई स्वीकृति दिएको देखाउँछ भने, नारीको सन्दर्भमा झुक्किएरै भएको भुल (परपुरुषसँगको यौनसम्बन्ध) को मूल्य पनि ज्यादै महँगो पर्न जाने सन्देश दिन्छ । 

संस्कृत भाषामा लेखिएको रामायणलाई भानुभक्तले नेपाली भाषामा अनुवाद गरेपछि नेपाली समाजमा यसको प्रभाव बढेको भन्ने गरिन्छ । रामायणमा अहिल्याको कथा छ । गौतम ऋषिकी पत्नी अहिल्याको रूपबाट मोहित भई स्वर्गका राजा इन्द्रले गौतम ऋषिको रूप धारण गरी उनीसँग यौनसम्बन्ध राख्छन् । झुक्याएर राखिएको यो सम्बन्ध वास्तवमा बलात्कार हो । तर, गौतम ऋषिले इन्द्रबाट बलात्कृत पत्नी अहिल्यालाई सहानुभूति, माया र अतिरिक्त भरोसा दिनुको साटो ‘पत्थर भएर रहेस्’ भनी श्राप दिन्छन् ।

अझै पनि कुनै नेपाली युवा विवाहका लागि ‘कुमारी केटी’को माग गर्छ र आफू भने कुमार नरहेको कुरा निःसंकोच बताउन सक्छ । तर, कुनै नेपाली युवती यौन अधिकार र यौन स्वतन्त्रताको कुरो उठाउँछे भने उसलाई छाडा र उच्छृंखल भन्ने प्रवृत्ति रहेकै छ । 

त्यस्तै, राम–रावणको युद्धपश्चात् रावणको अपहरणबाट मुक्त भएकी सीताले आफूलाई चोखी (परपुरुषसँग यौनसम्बन्ध नराखेको) प्रमाणित गर्न अग्निमा प्रवेश गर्नुपरेको कथा छ । यसले नारीको यौनसम्बन्धप्रति पुरुषको संकुचित भावना देखाउँछ । रामायणमा सुर्पणखाको कथा छ । राम–लक्ष्मणलाई देखेपछि समागमको इच्छा जाहेर गरेकी सुर्पणखालाई अपमानित गरी नाक, कान काटी पठाएको अपराधलाई देवत्वकरण गरिएको छ । यस्तो कथालाई आदर्श मान्ने समाजमा नारीको यौन स्वतन्त्रता र अधिकारको विषयलाई अतिरञ्जित नकारात्मक रूपमा लिनु अनौठो होइन । 

त्यस्तै, महाभारतको एक प्रमुख पात्रका रूपमा प्रस्तुत गरिएकी द्रौपदीका पाँच पति छन् । कथा भन्छ– उनी इच्छाले होइन, परिवन्दले पाँच पति वरण गर्न अभिशप्त छिन् । उनका पञ्चपति पाण्डवहरू सबैका अन्य पत्नीहरू पनि छन् र सबैले उनलाई साझा भोग्याका रूपमा लिएका छन् । कथामा उनको चाहनालाई गौण बनाइएको छ । महाभारतका प्रमुख पात्रका रूपमा लिइने कृष्णका प्रेम तथा यौनका विविध कथाहरू पढ्न पाइन्छ ।

पुरुष भगवान् भएर शायद उनका यस्तो प्रवृत्तिलाई लीला भनिन्छ । त्यस्तै, महाभारतमा अनुशासन पर्व नामक एक अध्याय छ, जसमा भीष्मले युधिष्ठिरलाई धेरै ज्ञानगुनका (?) कुरा सुनाउँछन् । उनले सुनाएका ज्ञानगुनका कुरामा स्त्रीका यौन व्यवहारका कुरा, नारीको यौनको मामिलामा अस्थिर चरित्रका कुरा र यौनको सन्दर्भमा स्त्रीजातिलाई विश्वास गर्न नसकिनेसम्मका कुरा पुष्टि गर्न विविध कथा भनेका छन् । तर, कथामा पुरुष चरित्रका विषयलाई उल्लेख गरिएको छैन । यी सम्पूर्ण कथाहरू पुरुषले लेखेका हुन् र एकपक्षीय छन् । यस्ता कथा पढेर बन्ने सामाजिक मनोविज्ञानले नारी जातिको सम्मान गर्न सक्दैन् ।

सुर्पणखाको नाक, कान काटेको कथालाई आदर्श मान्ने समाजमा नारीको यौन स्वतन्त्रता र अधिकारको विषयलाई अतिरञ्जित नकारात्मक रूपमा लिनु अनौठो होइन

यी त भए, हाम्रा धर्मशास्त्रका केही कथा । हाम्रा इतिहासका कथाहरू पनि यीभन्दा फरक छैनन् । जंगबहादुर राणाका तीन दर्जनभन्दा बढी रानीहरू भएका कथा पढ्न पाइन्छ । राणा मात्र होइन, नेपाली इतिहासमा उल्लेख भएका विभिन्न राजा–महाराजाहरूको रानी संकलनका कथाहरू उस्तै छन् । रानीहरू मात्रले नपुगेर राजा–महाराजाका यौनदासीका रूपमा राखिएका नानीहरू, ल्याइते, ब्याइते, रखौटी (यी शब्दले नारीको अपमान गर्ने भए पनि) आदिबारे हामी सुन्दै गयौँ, पढ्दै गयौँ । तर, कुनै सम्पन्न नारीका आफ्नै सोखले बहुपति वा त्यस्तै अन्य यौनसेवा दिने पुरुष राखेकाबारे कतै पढेनौँ । यसकै प्रभाव हुन सक्छ, केही अघिसम्म पनि गाउँ–ठाउँमा सम्पन्न पुरुषहरूको बहुविवाहलाई स्वाभाविकै ठानिन्थ्यो भने बहुविवाह गरेकी नारीलाई चरित्रहीन । यस्ता धेरै दृष्टान्तहरू छन् । 

यस्तै कथा र इतिहासले नै पुरुषका लागि ‘मर्दकी सयवटी’ र महिलाका लागि ‘सती सावित्री’ र ‘एकपति पतिव्रता’जस्ता भनाइका आधार बनाएका छन् र सामाजिक मनोविज्ञान पनि त्यसै जगमा बनेको छ । यस्ता मनोविज्ञानले नारीलाई यौनको सन्दर्भमा सधैँ त्रास देखाएको हुन्छ भने पुरुषलाई यौन स्वच्छन्दताका लागि उकासिरहेको हुन्छ । यस लेखको सुरुमा प्रस्तुत म्याडमलाई कन्डम किनेको हल्लाको पछि लागेर मेरै गाउँलेले गरेको अपमान र रामायणमा सुर्पणखा अपमानको कथा मिल्दोजुल्दो लाग्छ । 

यस लेखको उद्देश्य यौनको सन्दर्भमा महिलाले पनि पुरुषको जस्तै स्वच्छन्दता पाउनुपर्छ भन्ने होइन । बरु यौन अधिकार र यौन स्वतन्त्रताको विषय महिला–पुरुष दुवैमा समान किसिमबाट लागू हुनुपर्छ भन्ने हो । यौन स्वतन्त्रताको बहसकै सन्दर्भमा पनि पुरुष सोच एकपक्षीय देखिन्छ । कुनै पुरुष साथी (यौन साथी होइन) उसलाई उपयुक्त लागेको समयमा विवाहेतर यौनसम्बन्धका लागि सहजै प्रस्ताव राख्नेदेखि उसको अन्य त्यस्ता अनुभव गर्वका साथ सुनाउने गर्छ ।

अझै पनि कुनै नेपाली युवा विवाहका लागि ‘कुमारी केटी’को माग गर्छ र र आफू भने कुमार नरहेको कुरा निःसंकोच बताउन सक्छ ।  तर, कुनै नेपाली युवती यौन अधिकार र यौन स्वतन्त्रताको कुरो उठाउँछे भने उसलाई छाडा र उच्छृंखल भन्ने प्रवृत्ति रहेकै छ । यौनसम्बन्धको आवश्यकता पुरुष र महिला दुवैका लागि उत्तिकै महत्वको हो भन्ने जान्दाजान्दै पनि नेपाली समाजले महिलाको विवाहेतर यौन सम्बन्धलाई स्विकार्न सक्दैन । पुरुषको सन्दर्भमा त्यही कुरा ‘बायोलोजिकल निड’ बन्छ भने महिलाका लागि चरित्रहीन गतिविधि । यो हाम्रो सामाजिक मनोविज्ञानको उत्पादन हो । 

त्यसो त नेपाली समाजमा पनि ‘क्याजुअल सेक्स’ तथा ‘फ्रेन्ड विथ बेनिफिट’ जस्ता शब्दहरू प्रयोगमा नआएका होइनन् । सहरमा पुरुष वेश्याका पेसाबारे पनि चर्चा हुने गर्छ । यो रहरले, आवश्यकताले वा बाध्यताले जेले भए पनि यसमा महिला–पुरुष दुवै संलग्न भएका छन् । पुरुषको यौन आवश्यकतालाई लक्षित गरी यौनसेवा आपूर्ति गर्ने देहव्यापारी महिलालाई  समाज दोषी देख्छ, भन्छ भने आजभोलि यदाकदा सुनिने गरेको पुरुष वेश्याका सेवा खरिद गर्ने महिलालाई पनि समाज दोषी देख्छ भने भन्नैपर्ने हुन्छ– महिलाद्वेषी सामाजिक दृष्टिकोण विडम्बनापूर्ण छ, खोटी छ । 

र अन्त्यमा, लैंगिक समानताको लक्ष्यमा पुग्न समाजले विभेदकारी दृष्टिकोण त्याग्नैपर्छ । यौनसम्बन्धको सन्दर्भमा पनि नारी–पुरुष परिपूरक हुन् भन्ने तथ्यलाई सामाजिक स्वीकृति हुनैपर्छ । लेखको वकालती बहुगामी यौन अधिकारका लागि होइन, स्वतन्त्र यौन अधिकारका लागि हो । स्वतन्त्रताले एकपक्षीय चरित्रहीनताको पक्षधरता लिँदैन । बरु नारी–पुरुष दुवैको यौनजीवनलाई समदृष्टिले मूल्यांकन गर्छ ।