• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टोनी मरिसन काठमाडाैं
२०७६ श्रावण २५ शनिबार ०९:०१:००
सम्झना

लेख, मेट, फेरि लेख

२०७६ श्रावण २५ शनिबार ०९:०१:००
टोनी मरिसन काठमाडाैं

(विख्यात अफ्रो–अमेरिकी लेखक टोनी मरिसन अब रहिनन् । ८८ वर्ष (अगस्ट ५, २०१९) को उमेरमा ती साहसी उपन्यासकारले लेख्दालेख्दैको उपन्यास अधुरो छाडेर गइन् । थुप्रै परिचय छन् मरिसनका – १९९३ की नोबल साहित्य पुरस्कार विजेता, प्रिन्सटन विश्वविद्यालयकी प्रोफेसर, सम्पादक, निबन्धकार, समालोचक । तर, खासमा त उनी उपन्यासकार हुन् । यस्तो उपन्यासकार, न उनी रंगभेद विरोधको घेरामा सीमित भइन् न नारीवादको ।

रंगभेद र लैंगिक भेदका अनेकन तह उप्काएर राखिदिइन् उनले आफ्नो लेखनीमा । त्यसैले त उनका उपन्यासमा अधिकांश अश्वेत पुरुष पात्र जीवनको कठिनाइबाट भाग्छन् र अश्वेत महिला कठिनाइका बाबजुद अस्तित्वको संघर्ष गरिरहन्छन् । अंग्रेजी साहित्यमा बेग्लै उचाइ बनाएकी मरिसनले आफ्नो लेखन, चिन्तन र बानीबारे रेबिका सुटोनसँग गरेको कुराकानी ‘नेसनल इन्डोवमेन्ट फर आर्टस्’को २०१४, नोभेम्बर अंकमा प्रकाशित थियो । सो कुराकानीको अंश यहाँ अनुवाद गरिएको छ ।)

सिर्जनात्मक भूलको परिभाषा
लेखकका रूपमा भूल मेरा लागि एउटा सूचना मात्र हो । मेरो लेखनीमा भएको गल्ती वा अस्पष्टता वा असान्दर्भिकताको जानकारी । म आफ्नो भूल पहिचान गर्छु । लेखनमा यो निकै महत्वपूर्ण  काम हो । पहिचानपछि त्यसलाई ठीक पार्न थाल्छु, किनभने यो त्यस्तो सूचना वा ज्ञान हो जसले लेखनमा केले काम गर्दैन भन्ने बताउँछ । त्यस्तो भूल पत्ता लगाउने र ठीक गर्ने काम पुनर्लेखन र सम्पादन हो । 

शरीरको कलेजो, मिर्गौला, मुटुमा भएको समस्यालाई आफैँले उपचार गर्न नसकेजस्तै लेखनका कतिपय कमजोरीलाई आफैँले सुधार्न गाह्रो हुन्छ । तर, यदि आफैँले सुधार्न सकिने कमजोरी छ भने त त्यसमा ध्यान दिनैपर्छ । त्यसबाट निराश हुनुपर्ने वा लज्जित हुनुपर्ने केही कारण छैन । त्यस्ता कुनै पनि कमजोरी आवश्यक हुँदैनन् । त्यसैले लेखन प्रयोगशालामा काम गरेजस्तै हो ।

सम्झनुहोस्, तपाईं प्रयोगशालामा हुनुहुन्छ र मुसामा कुनै औषधि परीक्षण गरिरहनुभएको छ । एकपछि अर्को औषधिले काम नगर्दा तपाईंले प्रयोग नै छोडेर हिँड्नुहुन्न । न त हरेश खानुहुन्छ । बरु कुन–कुन औषधि बेकामै रहेछन् भनेर पत्ता लगाइरहनुभएको हुन्छ । त्यही जानकारीबाट प्रभावकारी औषधि पत्ता लगाउनुहुन्छ । लेखन पनि ठ्याक्कै त्यस्तै हो । तपाईंले एकपछि अर्को कमजोरी वा असफलता वा गल्ती पत्ता लगाउनुहुन्छ र त्यही ज्ञानका आधारमा निष्कर्षमा पुग्नुहुन्छ । 

सुरुवात
लेखन मेरा लागि चिन्तन हो । यसले मलाई जहिल्यै संसारमा मेरो स्थान सुनिश्चित गर्न सहयोग गर्छ । खासगरी मलाई चित्त नबुझ्ने घटनाहरू भइरहेका वेलामा म कहाँ उभिन्छु भन्ने मेरो लेखनले तय गर्छ । त्यसैले लेखन मेरा लागि निकै महत्वपूर्ण  छ । मैले पहिलोपटक पुस्तक लेखेँ किनभने म त्यस्तो पुस्तक पढ्न चाहन्थेँ । म अश्वेत केटीहरू, उनीहरूको नाजुकपनबारे पढ्न चाहन्थेँ । विडम्बना हाम्रो साहित्यमा त्यस्ता किताब नै थिएनन् । कुनै–कुनै किताबमा अश्वेत केटीहरूलाई हँसीमजाकको पात्रसम्म बनाइएको थियो । तर, कसैले पनि उनीहरूबारे गम्भीरतापूर्वक लेखेको थिएन । त्यसैले मैले सोचेँ, ‘ठीकै छ, कसैले लेखेको छैन भने म आफैँले पहिला लेख्छु अनि पढ्छु ।’ साँच्चै हो, खोजेजस्तो पढ्ने चाहनाले नै मलाई लेख्न बाध्य बनायो । 

बिहानीमा सहज
म घाम उदाउनुभन्दा पहिला नै लेख्न बस्थेँ । बिहानमा म एकदमै फूर्तिलो हुन्थेँ । त्यतिवेला मलाई सबथोक छ्याङ्ग हुन्थ्यो । साँझसम्म पुग्दा यो फूर्ति गायब भइसकेको हुन्थ्यो । दिन बित्दै जाँदा मेरा लागि सबथोक बोझिलो हुँदै जान्थ्यो । त्यसैले बिहानै उठेर लेख्न बस्ने मेरो आदत नै बनेको थियो । मलाई लाग्छ, मेरा केटाकेटीका कारण यो बानी परेको हो । मैले लेख्न थाल्दा उनीहरू सानै थिए । त्यसैले म उनीहरू नब्युँझिदै लेखिसक्न चाहन्थे । तर, उनीहरू हुर्किसकेपछि पनि यो बानी रहिरह्यो । तर, अब त यो बानी पनि रहेन ।

म ८३ वर्षकी भएँ नि त ! सबै बानी फेरिइसकेका छन् । यसले काम गर्दैन भन्ने मेसो पाउनु केही गर्दागर्दै अब यसले काम गर्दैन भन्ने लाग्दा पनि धेरै थोक फेला पर्छन् । लेखनमा पनि यस्तै हुन्छ । यहाँनेर प्रसंग मिलेन, यहाँ अलि बढी व्याख्या भयो, अथवा यहाँ नचाहिँदो लेखियो भन्ने थाहा हुन्छ । त्यसपछि त्यो हटाउँछु वा पुनर्लेखन गर्न थाल्छु । प्रायःजसो म हातैले लेख्छु । कम्प्युटरमा टाइप गर्छु र प्रिन्ट निकाल्छु । अनि के पुगेन वा के बढी भयो भन्ने हेर्न थाल्छु । यसो गर्दागर्दै म निपुण भइसकेकी छु । मैले यसो गर्नुपर्नेछ वा यो सच्याउनुपर्नेछ भनेर लेखेका टुक्राटाक्री प्रशस्तै छन् । तर, कहिलेकाहीँ त त्यो काम गर्न यति ढिला भइसकेको हुन्छ कि किताब नै छापिएर आएपछि मात्र महसुस हुन्छ । 

म आफैँले दोहो-याएर सच्याउन चाहेको किताबचाहिँ मेरो पहिलो पुस्तक ‘द ब्लुएस्ट आइ’ हो । त्यसको एउटा पात्रलाई मैले न्याय गर्न सकेकी छैन । उनी एक केटी हुन् । तर, उनी किन त्यस्ती छिन्, उनले के सोच्छिन्लगायतका उनको जिन्दगीका भित्रि पाटा मैले उजागर गरेकी छैन । अन्य केटीहरूका निम्ति बहुलठ्ठीजस्तो व्यवहार गर्ने व्यक्तिका रूपमा मैले उनको चित्रण गरेकी छु । त्यसैले म जहिल्यै त्यो भाग पुनर्लेखन गर्न चाहन्छु । 

पात्रप्रति जवाफदेहिता
सानै भूमिकामा भए पनि हरेक पात्रका स्मरणीय वाक्यहरू तयार गर्नु वास्तवमैै गाह्रो काम हो । उनीहरूबारे लेख्न बस्दा ती टाउकोमाथिबाटै जान्छन् । म उनीहरूको धेरै व्याख्या गर्दिनँ । केवल केही झलक देखाइदिन्छु । तपाईंलाई ती पात्र पढ्दा कति अग्ला छन् भन्ने थाहा हुँदैन किनभने म पाठकहरूलाई मैले कस्तो देखिरहेछु भन्ने थोपर्न चाहन्न । यो बच्चावेलामा रेडियो सुनेजस्तै हो । मैले श्रोताका रूपमा सुन्न सहयोग गर्नुपर्ने हुन्छ । ‘नीलो’ भनेपछि मैले त्यसको प्रतिच्छाया कस्तो हुन्छ भन्ने अनुमान गर्नुपर्छ । अथवा एउटा बाटोको व्याख्या गरेको छ भने मैले त्यसको कल्पना गर्नुपर्छ । त्यसैले पठन सहभागिताजन्य विषय हो । 

मेरा पात्रहरूले मलाई कहिल्यै असफल बनाएका छैनन् । तर, एक–दुईपटक मैले लेख्दालेख्दै छोडेको छु अनि कतिपटक सजिलो बाटो रोजेको छु । कतिपय पात्र त एकदमै लोभी खालका हुन्छन् र उनीहरू निकै शक्तिशाली हुन्छन् । उनीहरूले कुनै न कुनै किसिमले किताबमा स्थान जमाउँछन् । ‘संग्स अव् सोलोमन’ लेख्दा पिलेट नामकी एउटी पात्र थिइन् ।

कथामा उनको भूमिका महत्वपूर्ण  थियो तर उनले मलाई तर्साइन् । मैले उनलाई चुप लगाएँ र भनेँ यो मेरो किताब हो उनको होइन । मैले उनलाई उपन्यासको अन्तिमतिर खासगरी उनको छोरीको दाहसंस्कारको प्रसंगमा स्थान दिएकी छु । तर, मलाई थाहा छ उनको उपस्थिति निकै ठूलो र प्रभावकारी छ जसले किताबलाई ‘संग्स अव् सबबडी इल्स’ (अरू कसैको गीत)मा फेरिदिन सक्छ । आफैँले आविष्कार गरेको पात्रसँग भयभीत भएको र रक्षात्मक बन्न पुगेको त्यो एक प्रसंग थियो । त्यस्तो पात्र पटक–पटक आविष्कार भइरहन्छन् । ‘द ब्लुएस्ट आइ’की मउरिन पल पनि त्यस्तै पात्र हुन् । 

नदोहो-याउने सिकाइ
मैले मन पराउने केही लेखकहरूले सबथोक व्याख्या गर्छन् । म भने थोरैमा धेरै भन्न सक्दा र पाठकलाई स–साना जानकारी दिन सक्दा आफैँसँग मख्ख पर्छु । म पाठकको आफ्नै संवेदना र प्रज्ञामा विश्वास गर्छु । यो यौन दृश्य वर्णन गरेजस्तै हो । त्यस्तो दृश्य वर्णन गर्दा लाक्षणिक भाषा प्रयोग गरिन्छ जसले पाठकहरूलाई उत्साहित गर्छ । त्यसपछि पाठकहरू आफैँले आफ्नो स्मृतिका दृश्य थप्दै जान्छन् । लेखनको बाँकी कामचाहिँ लेखिरहनु हो । लेख्नु अनि लेखिरहनु । 

समकालीन अमेरिकी साहित्यको असफलता
हुन त म गलत पनि हुन सक्छु, तर पछिल्लो समय खासगरी तन्नेरीहरूले लेखेका आख्यान धेरैजसो आफैँबारे छन् । प्रेम, मृत्य र यस्तैउस्तैले भरिएका, तर त्यो पनि मेरो प्रेम, मेरो मृत्यु, मेरो यो, मेरो त्यो । अरूको भूमिका एकदमै कम हुन्छ ।  प्रिन्स्टन कलेजमा मैले सिर्जनात्मक लेखन पढाउँदा मेरा विद्यार्थीलाई आफ्नो जीवनबारे जानेजति लेख्न लगाइन्थ्यो । मैले भने सुरुमैै भन्थेँ, ‘त्यसमा कुनै ध्यान नदेऊ ।’ त्यसका दुई कारण थिए । एक, तपाईंलाई केही पनि थाहा छैन ।

दोस्रो, म तपाईंको साँचो प्रेम, तपाईंको आमाबुबा र साथीबारे सुन्न चाहँदिन । त्यसैले म आफूलाई थाहा नभएको कोही अरूबारे सोच्न लगाउँथे । जस्तै रियो ग्रान्डेमा काम गर्ने खासै अंग्रेजी नजान्ने मेक्सिकन वेट्रेस  । वा प्यारिसमा ग्रान्डे माडेम । म मेरा विद्यार्थीलाई उनीहरूको भूगोलभन्दा बाहिरको कल्पना गर्न लगाउँथे । कल्पना गर र सिर्जना गर । आफूले भोगिसकेको घटनालाई उतारेर सम्पादन नगर, म भन्थेँ । यस्तो गर्नु कत्तिको प्रभावकारी होला भनेर म सोचमग्न हुन्थेँ । आफ्नो अस्तित्वभन्दा बाहिरको कल्पना गर्ने अधिकार दिएपछि विद्यार्थी साँच्ची नै कल्पनाभन्दा बाहिरको सिर्जना गर्थे । उनीहरूले अन्ततः आत्मवृत्तान्त नै लेखे पनि कम्तीमा आफूलाई अपरिचितको रूपमा व्याख्या गरिरहेका हुन्थे ।

लेखनयात्राका ठक्करहरू
म जति लेख्दै जान्छु त्यति ठक्कर खान्छु । तपाईंलाई थाहा हुन्छ, यो गलत बाटो हो, तर पनि कतिपटक तपाईं त्यही बाटो हिँड्नुहुन्छ । अनि चोटपटकसहित निस्कनुहुन्छ । तर, त्यो यात्रा, ती चोट निकै महत्वपूर्ण  हुन्छन् । यो गलत टिपोट च्यातेजस्तै हो । तपाईंले त्यसपछि बल्ल थाहा पाउनुहुन्छ, गर्नुपर्ने त अर्कै काम हो । स्टेजमा कुनै बाजा बजाइरहँदा तपाईंले भूलवश कुनै गलत नोट बजाउनुभयो भने तपाईंले हत्तेरी भनेर छोड्न पाउनुहुन्न । तपाईंले तुरुन्तै त्यो भूल सुधार्नुपर्छ । त्यो निकै नै सिर्जनात्मक काम हो । लेखन पनि ठ्याक्कै त्यस्तै हो । लेख्दालेख्दै तपाईं गलत बाटोमा जान सक्नुहुन्छ । तपाईंले त्यो भूललाई सिर्जनात्मक तरिकाले सुधार्नुपर्छ । लेखनमा यसै गरी ज्ञान खोतलिन्छ । तपाईं लेख्नुहुन्छ, मेट्नुहुन्छ र फेरि लेख्नुहुन्छ । 

अनुवाद : प्रतिभा