• वि.सं २०७६ भदौ ८ आइतबार
  • Sunday, 25 August, 2019

स्टार खेलाडीको ओरालो यात्रा

खेल

२०७६ श्रावण २५ शनिबार ०९:०१:००

एउटा अप्रिय समाचार आयो, ‘पूर्व स्टारफुटबलर रोनाल्डिन्होे चरम आर्थिक संकटमा ।’ ब्राजिलियन पत्रिका ‘फोल्हा डी साओ पाउलो’को त्यो समाचारलाई युरोपेली मेडियाले प्रशस्तै साभार गरे । रोनाल्डिन्होे आर्थिक संकटमा डुब्दै गएको समाचार यसअघि पनि आएकै थिए । यसपटक उनका समर्थकलाई आश्चर्यमा पार्ने अरू तथ्य पनि थिए । ब्राजिलको एक अदालतले उनलाई देश छाडेर बाहिर जान नपाओस् भन्ने उद्देश्यले उनको नाममा भएका सबै पासपोर्ट जफत गर्न निर्देशन दिएको थियो । स्पेनी क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलेका रोनाल्डिन्होेसँग ब्राजिलबाहेक स्पेनको समेत पासपोर्ट छ ।

रोनाल्डिन्होे पछिल्लो लामो समयदेखि आर्थिक समस्याबाट गुज्रिरहेका छन् । अदालतले उनीमाथि ९५ लाख ब्राजिलियन रियल कर तिर्न बाँकी रहेको जनाएको छ । उनीसँग अझै थप ७८ लाख ब्राजिलियन रियलबराबरको अरू ऋण पनि बाँकी छ । त्यसमाथि अदालतले उनको नाममा रहेको ५७ वटा घर (हाउजिङ) बिक्री गर्न नपाउने गरी रोक लगाएको छ । यो रोनाल्डिन्होेको आर्थिक समस्याको उत्कर्ष हो, जसबाट मुक्ति पाउन अब उनका लागि निकै मुस्किल देखिएको छ ।

अनि यो साँच्चिकै दुखद खबर हो । कम्तीमा उनका समर्थकका लागि यो सुखद् समाचार बन्ने कुरो भएन । ब्राजिलियन राष्ट्रिय टोलीबाट विश्वकप, बार्सिलोनाबाट स्पेनिस ला लिगा र युरोपियन च्याम्पियन्सजस्ता ठूला उपाधि जितेका रोनाल्डिन्होे फिफा वर्ष खेलाडी पनि घोषित भएका थिए । यो सफलताको पछाडि उनको अद्भुत फुटबल कला, बलसँगको गति र उनको खेल्ने शैली हो ।

उनको फुटबल कलाबाट नलोभ्भिएका सायदै कोही होलान् । युट्युबमा अझै पनि उनको खेल हेर्दा शरीरमा काँडा पलाउँछन् । त्यही उच्च लयमा रहेका वेला उनी साताकै लाखौँ डलर कमाउँथे । क्लबसँगको अबद्धताबाट मात्रै होइन, मैदानबाहिरको इन्डोर्समेन्ट (विज्ञापन र प्रायोजन)बाट पनि उनी प्रशस्तै कमाइ गर्थे । कुनै समयका यी अर्बपति खेलाडी यति छिटो कसरी सडकमा आइपुगे ? उनको कथा नाटकीय लाग्न सक्छ । 

बैंकमा पाँच डलर मात्र
रोनाल्डिन्होे बार्सिलोनाबाट इटालियन टोली एसिमिलानमा पुग्दा उनको मासिक तलब मात्रै ४ लाख ८० हजार पाउन्ड थियो । उनको मैदानबाहिरको कमाइसमेत आकर्षक थियो । इन्डोर्समेन्टबाट आउने कमाइसमेत कम थिएन । सन् २००६ मा इन्डोर्समेन्टबाट मात्रै उनले १९ लाख पाउन्ड रकम नाफा गरेका थिए । सन् २०१८ मा फुटबलबाट आधिकारिक रूपमा सन्न्यासको घोषणा गरेका (सन् २०१५ को अन्त्यबाटै उनी कुनै पनि क्लबसँग अनुबन्धित थिएनन् ।) उनको त्यससँगै नियमित आम्दानी टुट्यो । त्यसअघि उनले कमाएको रकम पनि सकिएको छ । ब्राजिलियन अधिकारीहरूका अनुसार बैंकमा रोनाल्डिन्होेको बचत अहिले जम्मा ५.२४ पाउन्ड मात्रै छ । 

अव्यवस्थित जीवनशैली, फजुल खर्च
रोनाल्डिन्होेको यो परिवर्तनमा एउटै मुख्य कारण छ, अव्यवस्थित जीवनशैली र फजुल खर्च । उनी व्यावसायिक फुटबल खेल्न जतिवेला युरोप पुगे, त्यससँगै क्लब धाउने, नयाँ–नयाँ महिलासँग रमाइलो गर्ने र उनीहरूका लागि फजुल खर्च गर्नमै रमाउँथे । उनी बार्सिलोना बसाइको अन्तिम केही समय र एसिमिलान पुगेपछि रातभरि क्लबमा बिताउँथे ।

कतिपय अवस्थामा उनी रातभरि नाइट क्लबमा बिताएर बिहान त्यहीँबाट सीधै ट्रेनिङमा पुग्थे । त्यससँगै उनको फुटबल करिअर पनि ओरालो लाग्यो । उनलाई प्रायोजकहरूले बिस्तारै छाडे । उनलाई कोकाकोला, नाइकलगायत ठूला ब्रान्डले ठूलो रकममा अनुबन्ध गरेका थिए । सन् २०१५ मा एउटा पत्रकार सम्मेलनमा पेप्सी पिएको ‘फुटेज’ सार्वजनिक भएपछि कोकाकोलाले उनीसँगको सम्झौता तोड्यो । 

जब उनको सक्रिय खेल जीवन सकियो, ठूला अन्य प्रायोजकहरूले पनि उनलाई पछ्याउन छाडे । केही साना प्रायोजन भने उनीसँगै अझै पनि उपलब्ध छ । यो महिना मात्रै पनि उनी केही प्रायोजन सम्झौताका लागि पेरिस र चीन पुग्ने कार्यक्रम तय भएको थियो । सरकारले पासपोर्ट नै जफत गरिदिएपछि उनका ती भ्रमण रोकिएका छन् ।

गत अगस्टअघिसम्म उनले आफ्ना दुई प्रेमिकालाई छुट्टाछुट्टै राखेका थिए । उनीहरू दुवैलाई उनले व्यक्तिगत खर्चका लागि साताकै १५÷१५ हजार पाउन्ड दिने गरेका थिए । यी दुवै प्रेमिकासँग उनले गत अगस्टमा समझदारीमै एकैदिन बिहे गरे । अहिले रोनाल्डिन्होे आफ्नी दुई श्रीमतीसँगै रियोस्थित १ करोड ५० लाख पाउन्डको महँगो अपार्टमेन्टमा बस्छन् । 

अपार्टमेन्टले थप समस्या
सरकारसँग रोनाल्डिन्होेको लफडा सन् २०१५ पछि सुरु भएको हो । उनले आफ्ना भाइसँग मिलेर हाउजिङ व्यवसाय सुरु गरेका थिए । जसअन्तर्गत उनले ५७ वटा घर निर्माण गरेका थिए । तर, ती घर सरकारले संरक्षित क्षेत्र घोषणा गरेको क्षेत्रभित्र परेको छ । सोहीकारणले सन् २०१५ मै सरकारले उनलाई ४ लाख पाउन्ड जरिवाना तोकेको थियो । उनले त्यसवेलादेखि नै त्यो रकम तिर्न अस्वीकार गर्दै आइरहेका छन् । अहिले सरकारले उनका ती ५७ घर बिक्री गर्नसमेत रोक लगाएको छ । त्यससँगै उनी थप समस्यामा जेलिएका छन् ।

 सरकारलाई जरिवाना रकम तिर्न उनीसँग अहिले बैंकमा रकम छैन । आफ्नो सम्पत्ति बिक्री गर्नका लागि पनि अनुमति छैन । उनीसँग अरू नियमित आयस्रोत पनि छैन । समय–समयमा आइरहने साना–साना इन्डोर्समेन्टका लागि समेत उनी देशबाहिर जान प्रतिबन्धित भएका छन् । आफू बसेको घर बिक्री गर्दा उनीसँग आफ्नो ऋण तिर्न पुग्नेछ । तर, त्यसो गर्दा उनीसँग केही पनि बच्नेछैन । 

ट्रान्सफर विन्डो २००३
रोनाल्डिन्होे सन् २००२ तिर अन्तर्राष्ट्रिय फुटबलमा उदाए । सन् २००२ को विश्वकपमा उनकै सशक्त प्रदर्शनमा ब्राजिलले फिफा विश्वकपको उपाधि जितेको थियो । त्यसैले युरोपका सबै क्लबका आँखा रोनाल्डिन्होेमाथि थियो । सन् २००३ को ट्रान्सफर विन्डोमा युरोपका त्यसवेलाका दुई ठूला क्लब फुटबल क्लब बार्सिलोना र सर एलेक्स फर्गुसनको म्यानचेस्टर युनाइटेड रोनाल्डिन्होेलाई भित्र्याउने  प्रतिस्पर्धामा उत्रिए । त्यसवेला घरेलु फुटबलमा रियल म्याड्रिडलाई टक्कर दिन बार्सिलोना रोनाल्डिन्होेलाई भित्र्याउन चाहन्थ्यो । म्यान युनाइटेडले डेभिड बेक्हामलाई भर्खरै बेचेको थियो । त्यसैले उनको स्थान भर्नका लागि म्यान युनाइटेड रोनाल्डिन्होेलाई अनुबन्ध गर्न चाहन्थ्यो । 

यो प्रतिस्पर्धा बार्सिलोनाले जित्यो । रोनाल्डिन्होे स्पेन गए । सोही समय म्यान युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध ग-यो ।  रोनाल्डिन्होेले आफ्नो पहिलो सिजनमै बार्सिलोनामा आफ्नो उदयको संकेत दिएका थिए । उनको आगमनसँगै बार्सिलोनाले स्टार खेलाडीले भरिएको रियल म्याड्रिडलाई बलियो टक्कर दिन थाल्यो । बार्सिलोनाले त्यसपछिको दुई लगातार सिजन (सन् २००४–००५ र २००५–००६) घरेलु स्पेनी लिगको उपाधि जित्यो । त्यही सिजन रोनाल्डिन्होेकै प्रदर्शनमा इंग्लिस क्लब आर्सनललाई फाइनलमा पराजित गर्दै बार्सिलोनाले युरोपियन च्याम्पियन लिग उपाधि पनि जित्यो । 

रोनाल्डिन्होेको संगतमा मेसी 
सिजन २००५–००६ को अन्त्यसम्ममा रोनाल्डिन्होेले क्लब र राष्ट्रिय टोलीका साथै व्यक्तिगततर्फ पनि प्रायः सबै उपाधि जितिसकेका थिए । सन् १९९९ मा कोपा अमेरिका, सन् २००२ मा फिफा विश्वकप, सन् २००५ मा कन्फिडेरेसन कप हुँदै सन् २००५ मा बालोन डी अर अवार्ड जितेर उनी विश्वकै उत्कृष्ट फुटबलर घोषित भएका थिए । सन् २००६ मा उनले युरोपियन च्याम्पियन्स लिगको उपाधि पनि जिते । जादूमयी फुटबल कला, निरन्तरको सफलता र त्यसबाट आएको प्रशस्त कमाइले रोनाल्डिन्होेको जीवनस्तरमा पनि परिवर्तन आयो । तर, नकारात्मक ।उनी नियमित रूपमा धुमपान र मध्यपान गर्ने भए । प्रतिबन्धित लागुपदार्थको सेवनसम्म गर्न पुगे । रात्रिकालीन क्लब उनका लागि नियमित गन्तव्य बन्न थाले । 

त्यसवेला बार्सिलोनाले आफ्ना खेलाडीको निगरानी गर्न एउटा टोली नै खटाएको थियो । त्यो टोलीले पत्ता लगायो, रोनाल्डिन्हो आफू मात्रै क्लब धाइरहेका छैनन्, मेसीलाई समेत सँगै लगेर कुलतमा फसाइरहेका छन् ।  त्यसवेला मेसीले धेरै प्रकृतिको चोट बेहोरे । बार्सिलोनाको व्यवस्थापनले असन्तुलित ‘हर्माेन’को बारेमा भइरहेको उपचारका कारण त्यसो नभएको हुन सक्ने अनुमान ग¥यो । त्यसैले उनको त्यो उपचारसमेत बीचमै रोकिदिएको थियो । 

तर, त्यसको तथ्य अर्कै थियो । बार्सिलोनाले खेलाडीको निगरानी गर्न खटाएको टोलीले पत्ता लगायो, मेसी रातभरि रोनाल्डिन्होेसँगै रात्रि क्लबमा हुन्थे । त्यससँगै उनले आफ्नो नियमित लिनुपर्ने ‘डाइट’समेत लिन सकेनन् । सोहीकारण उनले धेरै चोट बेहोरेका थिए ।  त्यहीवेला रोनाल्डिन्होेमाथि अर्काे आरोप पनि लाग्यो, उनी टोलीको सफलताका लागि भन्दा पनि दर्शकलाई मनोरञ्जन दिन मात्रै खेल्छन् । त्यसमाथि क्लबले उनको मैदानबाहिरको हर्कतलाई नियन्त्रणमा लिन सकिरहेको थिएन । उनको त्यो व्यवहारले क्लबका जुनियर खेलाडीमाथि नकारात्मक असर परिरहेको पनि क्लबले बुझेको थियो । त्यसैले बार्सिलोनाले एउटा ठूलो निर्णय ग-यो, रोनाल्डिन्होेलाई बेच्ने । अन्ततः बेचिदियो । 

अधोगति सुरु
उनी स्पेनबाट इटाली पुगे । कार्लाे एन्सेलोट्टीको प्रशिक्षणमा रोनाल्डिन्होेले इटालीमा पनि आफ्नो कलाको दाजू कायमै राखेका थिए । तर, त्यहाँ पनि उनको मैदानबाहिरको जीवनशैली भने उस्तै रह्यो । उनी २४ घन्टाभन्दा बढी समय रात्रिकालीन क्लबमै बिताउँथे । उनी क्लबको ट्रेनिङमा समेत अनियमित हुन थाले । एसिमिलान त्यसवेला युरोपियन च्याम्पियन्स लिगका लागि प्रयासरत थियो । सोही उद्देश्यका लागि क्लबमा भित्र्याएका  रोनाल्डिन्होे अभ्यासमा समेत अनुपस्थित हुन थालेका थिए । उनको शारीरिक फिटनेस खस्कँदो थियो । सोहीकारण एन्सेलोटीले उनलाई केही खेलका लागि बेन्चमै राखिदिए । एन्सोलोटीले उनको करिअरको अधोगति त्यसवेला नै देखिसकेका थिए । 

रोनाल्डिन्होे सन् २०१० को विश्वकपका लागि ब्राजिलियन राष्ट्रिय टोलीमा समेत परेनन् । सोही वर्ष एसिमिलानले उनलाई बेच्ने निर्णय ग¥यो । उनी ब्राजिलियन क्लब फ्लेमिङ्गो रोविङसँग अनुबन्धित भए । फुटबल खेल्न उनी फेरि ब्राजिल फर्किए । यी सबै गतिविधि उनी २८ देखि ३० वर्षको उमेर हुँदा भएको थियो, जुन उमेरमा अन्य खेलाडी युरोपका ठूला क्लबमा सशक्त प्रदर्शन गर्दै थिए । यता ब्राजिलमा उनी अनुबन्ध भएको क्लबले नियमित तलब नै दिन सकेन । त्यससँगै उनले खेल्न पनि छाडिदिए । उनको खेल जीवन त्यहीँ रोकियो, तर उनको अधोगति रोकिएन ।
एजेन्सीको सहयोगमा 
 

प्रतिकृया दिनुहोस