• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दी इकोनोमिस्ट
२०७६ श्रावण २५ शनिबार १०:५३:००
समाज

इन्टरनेट अर्थात् फुर्सदको अर्थतन्त्र

२०७६ श्रावण २५ शनिबार १०:५३:००
दी इकोनोमिस्ट

१७ औँ शताब्दीमा बनेको भव्य किल्लामुनि सुन्दर गाउँ । राजस्थानको मुटुमा छ माधोगढ । इन्द्रा शर्मा त्यही गाउँकी ४० वर्षीया महिला हुन् । उनी बालबच्चाको हेरचाह गर्ने संस्थामा काम गर्छिन् । तीन वर्षअघि गाउँका मुखिया उनीकहाँ आएर एउटा तालिममा सहभागी हुन निम्ता दिए । ‘इन्टरनेटबारे थियो तालिम,’ इन्द्रा सम्झिन्छिन् । उनलाई इन्टरनेटबारे कुनै चासो थिएन । तैपनि नयाँ कुरा सिक्न पाइने आशाले उनी तालिममा गइन् । त्यहाँ उनीसहित केही महिलालाई स्मार्टफोन दिएर चलाउन सिकाइयो । 

‘पहिले त मोबाइल कसरी खोल्ने र बन्द गर्ने भन्ने सिकाइयो,’ सँगैको गाउँकी २४ वर्षीया शिक्षक सन्तोष शर्माले भनिन्, ‘यति जानिसकेपछि सेल्फी खिच्ने तरिका, ह्वाट्सएप, फेसबुक, युट्युब चलाउने र सर्च गर्ने तरिका जानियो ।’यो सेप्टेम्बर २०१६ को कुरा थियो । त्यसवेला गाउँमा कसैसँग पनि स्मार्टफोन थिएन । ‘अहिले त बुढाबुढी पनि फोनमा महाभारत हेरिरहेका हुन्छन्,’ इन्द्रा भन्छिन् । उनको घरभन्दा तलतिर रोहेडाको बोटमुनि बसेर तीनजना मानिस फोनमा लुडो खेलिरहेका थिए । 

२०१६ को अन्त्यमा भारतमा मोबाइल ब्रोडब्यान्डका ग्राहक २१.८ करोड थिए । २०१८ को अन्त्यमा यो संख्या ५० करोड पुगेको छ । सस्तो स्मार्टफोन ३५ सय भारुमै आउँछ । त्यसैले यो गाउँ–गाउँका मानिसको खल्तीमा भेटिन्छ । ‘महँगो भए पनि कसैलाई वास्ता छैन । सबैलाई फोनको बानी लागिसक्यो,’ इन्द्रा भन्छिन् ।
महँगो किन्न नचाहनेका लागि पनि मुकेश अम्बानीको रिलायन्स जियो कम्पनीले १५ सय भारुमै पाइने फोन बजारमा ल्याएको छ । यसमा धेरै एप त चल्छन्, तर टचस्क्रिन भने छैन ।

रिलायन्स ग्रुपको बलमा जियोले ह्यान्डसेटमा मात्रै होइन, डाटा ट्रान्समिसनमा पनि भारी छुट दिएको छ । जियो र अन्य सेवाप्रदायकबीचको प्रतिस्पर्धाले मोबाइल डाटा प्याकेज मूल्यमा ९४ प्रतिशत कटौती भएको छ । जसका कारण डाटा उपभोग १० गुणा बढेको छ । अहिले एक जना प्रयोगकर्ताले प्रतिमहिना ८.८ जिबी डाटा खर्च गर्छन् । मोबाइल इन्टरनेटमा अमेरिकीले भन्दा भारतीयहरूले तीन गुणा बढी डाटा खर्च गर्छन् । 

विश्वको जनसंख्याको आधा हिस्साले २०१८ सम्ममा इन्टरनेट प्रयोग गर्न थालेको छ । यो आधा हिस्साको पहुँचमा इन्टरनेट जति चाँडो पुग्यो, बाँकी आधा हिस्साको पहुँचमा पुग्न त्यति नै कठिन छ । गत सात वर्षमा झण्डै डेढ अर्ब जनसंख्याले इन्टरनेटको पहुँच पाएको थियो । तर आगामी सात वर्षमा भने ७१ करोडले मात्र इन्टरनेट प्रयोग गर्न थाल्नेछन् । तर, तर, आज जन्मेको बच्चाले किशोरावस्थामा पक्कै पनि फोन चलाउन पाउने छ ।

विकसित मुलुकका ८१ प्रतिशत अर्थात् एक अर्ब जनसंख्याले इन्टरनेट चलाइरहेको छ । त्यसैले विकसित देशमा इन्टरनेट प्रयोगकर्ताको संख्या धेरै बढ्ने छैन । त्यसैले अबको बजार भनेको विकासशील मुलुक हुन् । चीनका ५८ प्रतिशत अर्थात् ८० करोड मानिसले इन्टरनेट चलाउँछन् । इन्टरनेट नचलाउनेको संख्या अझै ठूलो छ । चीन र विकसित मुलुकबाहेक अन्यत्र समग्रमा जनसंख्याको ३९ प्रतिशतले मात्रै इन्टरनेटको पहुँच पाएको छ । 

गरिबहरू के चाहन्छन् ?
इन्टरनेट प्रयोगकर्ताको दोस्रो आधा हिस्सामध्ये धेरैले अंग्रेजी र मन्दारिन भाषा बोल्नेछैनन् । यो संख्यासँग अन्य डिजिटल मिडियाको अनुभव पनि कम हुनेछ । लगभग पूरै हिस्सा मोबाइलमार्फत अनलाइन आउनेछ । रुपर्ट मर्डोकको स्टार इन्डियाले २०१५ देखि सुरु गरेको हटस्टार भारतको सबैभन्दा लोकप्रिय स्ट्रिमिङ एप बनेको छ । किनभने भारतीयले सबैभन्दा बढी हेर्ने दोस्रो स्क्रिन स्मार्टफोन हो । अब यो पहिलो बन्दै छ ।

अहिलेको पुस्तामा ल्यान्डलाइन फोन जति अपरिचित छ, इन्टरनेट प्रयोगकर्ताको दोस्रो हिस्साका लागि टेलिभिजन वा डेस्कटप कम्प्युटरको स्क्रिन पनि त्यत्तिकै अपरिचित बन्नेछ ।  किनभने सस्तो र राम्रो हार्डवेयर भएका फोन बजारमा आउनेछन् । आज बजारमा पाइने सबैभन्दा कमजोर स्मार्टफोनमा पनि २००७ मा आएको पहिलो आइफोनभन्दा राम्रा र शक्तिशाली फिचर पाइन्छन् । तिनको दाम भने १० गुणा वा सोभन्दा कम पर्छ । 

संसारको आधाभन्दा बढी जनसंख्याले इन्टरनेट चलाइरहेको छ । केही समयअघिसम्म इन्टरनेटको पहुँचलाई विकासका रूपमा अथ्र्याइन्थ्यो । तर, संसारभरकै गरिबहरू जीवनस्तर सुधार्न होइन, मनोरञ्जन र समय कटनीका लागि इन्टरनेट चलाइरहेका छन् । मनोरञ्जनका कारण इन्टरनेटको बजार बढिरहेको छ ।

तर, स्मार्टफोनको प्रोसेसर र क्यामेराको मेगापिक्सेलबाट लोभिएर गरिबहरू अनलाइन आएका होइनन् । फेसबुकका भारत प्रमुख तथा हटस्टारका पूर्वप्रमुख अजित मोहनका अनुसार इन्टरनेटले दिने सेवाका कारण माग बढेको हो । उपभोक्ताहरू सन्देश पठाउन, भिडियो हेर्न र आफ्नो कथा भन्न तथा अरूको कथा सुन्न चाहन्छन् । यी सबै सेवा मोबाइल इन्टरनेटले एक दशकअघिको तुलनामा कैयौँ गुणा गुणस्तरसहित दिइरहेका छन् । 

जहाँ बसे पनि र कमाइ जति भए पनि मानिसहरू एक–अर्काको सम्पर्कमा रहन चाहन्छन्, मनोरञ्जन लिन र अभिव्यक्ति दिन मन पराउँछन् । चीन, भारत, अमेरिका जहाँ पनि यथार्थ यही हो । यो आवश्यकता पूरा गर्ने माध्यम स्मार्टफोन बनेको छ । धेरै मानिसका लागि बेकार समयलाई मनोरञ्जक बनाउने अवसर हो फोन । इरास्मस युनिभर्सिटीकी प्राध्यापक पायल अरोरा भन्छिन्, ‘इन्टरनेट संसारका गरिबहरूको फुर्सदको अर्थतन्त्र हो ।’

भर्खरैसम्म पनि इन्टरनेटसँग जोडिनुलाई विकास हो भनेर व्याख्या गरिन्थ्यो । सहायता एजेन्सी, अन्तर्राष्ट्रिय संघसंगठन र ठूला प्रविधि कम्पनीले तिनका दातालाई भनिरहेका हुन्थे, ‘गरिबहरूलाई दुःखबाट उकास्न इन्टरनेट चाहिन्छ ।’ ती संस्थाले अन्नको भाउ हेरिरहेका किसान, मातृ स्वास्थ्यबारे जानकारी खोजिरहेका महिला र अनलाइन पाठ्यक्रममा भर्ना भइरहेका विद्यार्थीको खुब प्रशंसा गर्थे ।

मानिसहरूलाई इन्टरनेट प्रयोगका लागि प्रेरित गर्ने फेसबुकअन्तर्गतकै कम्पनी इन्टरनेट डटओआरजी भन्छ, ‘बाली छर्न लागेको किसानलाई मौसमको सही भविष्यवाणी र पुस्तकविनाको विद्यार्थीलाई इन्साइक्लोपिडयाले कस्तो फरक पार्छ, कल्पना गर्नुस् । हामी जति बढी जोडिन्छौँ, उति राम्रो हुन्छ ।’ आफ्नो पुस्तक ‘द नेक्स्ट बिलियन युजर्स’ मा अरोरा लेख्छिन्, ‘पश्चिमाहरू ठान्छन्, इन्टरनेटको पहुँच हुँदैमा गरिबहरू टाइमपास सट्टा काम गर्न थाल्छन् ।’

तर, गरिबहरू यसरी सोच्दैनन् । संसारभरि घुमेर वर्षौँसम्म अध्ययन गरेपछि अरोरा यो निष्कर्षमा पुगेकी हुन् । ‘अनलाइनको कुरा गर्दा कामलाई खेलले जित्छ, श्रमलाई फुर्सदले पछि पार्छ,’ उनी भन्छिन् । विकास रणनीति र उत्पादनशीलताको योजना बनाउने हो भने ब्ल्याकबेरीका उत्पादन ठीक थिए । तर, उपभोक्ता त आइफोनको च्याट, एप्स र गेम चाहन्छन् । कामका लागि प्रविधिको उपयोग बढिरहेको छ । तर, गौण कारण मात्र हो । मुख्य कारण मनोरञ्जन नै हो । 

यहीँ ढाँचा अन्य देशमा पनि देखिन्छ । २००० को दशकको अन्त्यतिर ब्राजिलले सरकारी बजेट सहयोगमा हजारौँ साइबर क्याफे खोल्यो । यसले गरिब बस्तीका ६० प्रतिशतमा इन्टरनेटको पहुँच पु-यायो । क्याफेहरू खुब सफल भए । किनभने त्यहाँ गएर मानिसहरू फिल्म हेर्न र गेम खेल्ने गर्न थाले । एक–अर्कासँग अनलाइन कुराकानी गर्न पनि उनीहरूलाई मन पथ्र्यो । त्यसैले सामाजिक सञ्जालका रूपमा गुगलले ल्याएको ओर्कुट ब्राजिलमा २०१० को दशकको सुरुमा खुब सफल भयो । अहिले भारत र अमेरिकापछि सबैभन्दा धेरै फेसबुक प्रयोगकर्ता ब्राजिलकै छन् । सर्वेक्षक कम्पनी ल्याटिनब्यारोमिटरोका अनुसार ल्याटिन अमेरिकामा एकछाक मात्रै खाएर दिन काट्न बाध्य जनसंख्याको एकतिहाइले स्मार्टफोन प्रयोग गर्छन् । 

अंगोलामा विकिपिडिया र फेसबुक चलाउँदा पैसा काटिँदैन । यो निःशुल्क सेवामार्फत उनीहरूले पाइरेटेड फिल्म हेर्ने जुक्ति निकालेका छन् । जाम्बियामा गरिएको डिजिटल जीवनशैलीसम्बन्धी एक अध्ययनले के देखाउँछ भने ‘प्रयोगकर्ताको पहिलो माग मनोरञ्जन हो ।’ सहारा मरुभूमिको दक्षिणतिर अवस्थित मुलुकमा पिउ रिसर्च सेन्टरले गरेको सर्वेक्षणमा ८५ प्रतिशतले परिवार र साथीभाइसँग सम्पर्कका लागि इन्टरनेट प्रयोग गरिरहेको बताएका थिए भने १७ प्रतिशतले मात्र अनलाइन कक्षा लिन । 

यो विश्वव्यापी ट्रेन्ड हो । यद्यपि यसलाई नियाल्ने सबैभन्दा उपयुक्त स्थान भारत नै हो । तुलनात्मक रूपमा भारत खुला बजार भएको मुलुक हो र यहाँ नवसाक्षर जनसंख्या निकै ठूलो छ, भाषागत विविधता छ र गरिबी छ । त्यसैले नै यहाँ इन्टरनेट प्रयोगकर्ताको संख्या असाधारण गतिमा बढिरहेको छ । नवप्रयोगकर्ताको यो ठूलो संख्याले कम्पनीहरूलाई नयाँ–नयाँ उत्पादन र सेवा सुरु गर्न बाध्य बनाइरहेको छ । 

माधोगढकी इन्द्रा शर्मा जयपुरमा बस्ने छोरासँग भिडियो च्याट गर्छिन । सन्तोष शर्माचाहिँ प्रायः ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक चलाउँछिन् । उनी युट्युब र टिकटकमा भिडियो पनि हेर्छिन् । चिनियाँ स्वामित्वको टिकटक एप २०१७ मा सुरु भएयता एक अर्बपटक डाउनलोड भइसकेको छ । यसका बहुसंख्यक प्रयोगकर्ता ठूला सहरभन्दा बाहिरका बासिन्दा छन् । सन्तोष स्मार्टफोनमा आफूले पढाउने विषयबारे पनि अध्ययन गर्न सक्छिन् । ‘तर खासगरी यो टाइमपास गर्ने तरिका मात्रै हो,’ उनी भन्छिन् । अर्थात् इन्टरनेट उनका लागि समयकटनीको मेलो भएको छ । 

इन्टरनेटको सार भनेकै ‘टाइमपास’ हो । आम्दानीको हिसाबले गुगल र एप्पल एप स्टोरमा रहेका २५ ठूला एप सबै गेमसम्बन्धी छन् । दुवै कम्पनीले यसै वर्ष नयाँ गेमिङ सर्भिस ल्याउने घोषणा गरेका छन् । गेमकै कारण टेनसेन्ट चीनको सबैभन्दा ठूलो इन्टरनेट कम्पनीमध्ये एक बनेको छ । मान्छेहरूलाई टाइमपास गर्ने ठाउँ दिएकाले नै फेसबुक संसारको छैटौँ मूल्यवान् कम्पनी बन्न सफल भएको छ ।

अझ युट्युबमा हजार जुनीबराबरको टाइमपास गर्न सकिन्छ । पछिल्लो समय सबैभन्दा बढी सफल भएका एप्स सबै टाइमपास गर्ने उद्देश्यले ल्याइएका हुन् । फोर्टनाइट, ह्वाट्सएप, इन्स्टाग्राम, स्न्यापच्याटमा मानिसहरू थाहै नपाई घन्टौँ बिताउँछन् । १५ सेकेन्डको भिडियो अटाउने टिकटक टाइमपासकै अर्को नाम हो । पट्टाई लागेर दिक्क भएका मोफसलका केटाकेटीले बनाएको मूर्खतापूर्ण भिडियोले लाखौँ करोडौँ दर्शक पाउने गरेको छ । 

धनी र गरिब दुवैका लागि टाइमपास आनन्ददायी छ । तर, यी दुईमध्ये कुनचाहिँ समूहलाई लक्षित गर्ने भन्ने विषयले यसको ‘बिजनेस मोडेल’ निर्धारण गर्छ । यदि टाइमपास गर्नेहरूसँग छेलोखेलो पैसा छ भने तिनलाई विज्ञापन देखाउन सकिन्छ र सेवा सित्तैँमा दिन सकिन्छ । किनभने तिनले अन्य सामान पनि उपभोग गर्छन् । तर, टाइमपास गर्नेहरू गरिब हुन् भने उनीहरू जेमा रमाउँछन्, त्यसैबाट पैसा असुल गर्नुपर्ने हुन्छ । 

सबैभन्दा ठूलो कुरा के हो भने गरिबहरू भिडियो हेरिरहेका र बनाइरहेका छन् । २०१६ मा भारतमा १० लाखभन्दा बढी सब्स्क्राइबर भएका युट्युब च्यानल २० वटा मात्र थिए । आज त्यस्ता च्यानल ६ सयवटा छन् । यसै वर्ष स्विडेनको मनोरञ्जन च्यानल प्युडिपाइलाई पछि पार्दै बलिउड स्टुडियो तथा रेकर्डिङ कम्पनी टी सिरिज सबैभन्दा धेरै सब्स्क्राइबर भएको च्यानल बन्यो । आश्चर्यलाग्दो तथ्य त के छ भने युट्युबका ५० शीर्ष च्यानलमध्ये एउटा त भोजपुरी भाषामा छ । भोजपुरी भारतको सबैभन्दा अविकसित केही राज्यमा मात्र बोलिन्छ । गुगलका अनुसार भारतमा खपत हुने सम्पूर्ण मोबाइल डाटामध्ये तीनचौथाइ भिडियोमा खपत हुन्छ । 

इन्टरनेटको सार भनेकै ‘टाइमपास’ हो । पछिल्लो समय सबैभन्दा बढी सफल भएका एप्स टाइमपास गर्ने उद्देश्यले ल्याइएका हुन् । ह्वाट्सएप, इन्स्टाग्राम, स्न्यापच्याटमा मानिसहरू घन्टौँ बिताउँछन् । १५ सेकेन्डको भिडियो अटाउने टिकटक टाइमपासकै अर्को नाम हो । पट्याई लागेर दिक्क भएका मोफसलका केटाकेटीले बनाएको मूर्खतापूर्ण भिडियोले लाखौँ–करोडौँ दर्शक पाउने गरेको छ ।

जसलाई जे चाहिन्छ, भिडियोले त्यही दिन्छ । माधोगढकी इन्द्रा शर्मा युट्युबमा परिकार पकाउने तरिका हेर्छिन् । गाउँका लोग्नेमान्छेहरू घरका महिलालाई स्मार्टफोन चलाउने अनुमति दिन आनकानी गर्छन् । तर, जब महिलाहरूले तिनलाई भिडियो हेरेर मीठोमीठो खानेकुरा बनाउन सकिन्छ भन्छन्, तब कुनै रोकतोक हुँदैन । मोबाइल इन्टरनेटको उपयोग भान्सामा मात्र हुँदैन । भारतीयहरू ठूलो संख्यामा पोर्न हेर्न पनि यसको प्रयोग गर्छन् ।

भारतमा आफ्नो ९० प्रतिशत ट्राफिक मोबाइलमा खपत हुने पोर्नहबको भनाइ छ । जुन अमेरिकामा ७५ प्रतिशत छ । सबै मुलुकमा भारतमा जत्तिकै सस्तो डाटा छैन । तैपनि भिडियोको लोकप्रियता विश्वव्यापी छ । जहाँ मोबाइल इन्टरनेट महँगो छ, त्यहाँका मान्छे वाइफाई जोडेर भिडियो डाउनलोड गर्छन् र पछि अफलाइन बसेर हेर्छन् । 

इन्टरनेट भनेकै भिडियो
अब अनलाइन आइरहेको जनसंख्याका लागि इन्टरनेट भनेकै भिडियो हो । भनिन्छ, भारतमा गुगल होइन, युट्युबचाहिँ होमपेज हो । भारतमा मनोरञ्जन मात्र होइन, हरेक चिज युट्युबमा खोज्ने चलन छ । पत्रकार स्निग्धा पुनमले केही वर्षअघि एक पुस्तक लेखेकी थिइन् । ‘जब म ग्रामीण क्षेत्रका मानिससँग आफ्नो पुस्तकको चर्चा गर्छु, उनीहरू युट्युबमा सर्च गर्छन्,’ उनी भन्छिन् । 

भिडियो किन यसरी लोकप्रिय भयो त ? किनभने इन्टरनेट चलाउने दोस्रो हिस्साले अनेक भाषा बोल्छ, तर पढ्दैन । पाठ्यसामग्रीको तुलनामा भिडियो बढी सम्प्रेषणीय हुन्छ । टाइप गर्नुभन्दा बोल्नु सजिलो हुन्छ । त्यसैले ह्वाट्सएपमा लेखेरभन्दा बोलेर सन्देश पठाउने चलन बढी छ । थुप्रै भारतीयहरू फोन सञ्चालनका लागि भ्वाइस कमान्डको प्रयोग गर्छन् । 

तर, पैसामा भने विकासशील मुलुक पछाडि छन् । गत एक वर्षमा गुगलको आम्दानीको ४६ प्रतिशत अमेरिकाबाट मात्रै थियो भने एसियाबाट १५ प्रतिशत । एक जना एसियाली प्रयोगकर्ताबाट फेसबुकले जति पैसा कमाउँछ, त्यसको १२ गुणा बढी उत्तर अमेरिकी प्रयोगकर्ताबाट हात पार्छ । तर, आगामी चार वर्षमा बढ्ने फेसबुक प्रयोगकर्ताको लगभग ९० प्रतिशत संख्या दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका, मध्यपूर्व र अफ्रिकाबाट हुनेछन् । ती मानिससँग कम पैसा हुनेछ । तिनका लागि दिइने विज्ञापन पनि कम हुनेछन् । 

विश्वका ८६ प्रतिशत स्मार्टफोन प्रयोगकर्ताले चलाउने एन्ड्रोइड अपरेटिङ सिस्टमको स्वामित्व गुगलमा छ । मानिसहरू कसरी इन्टरनेटको उपयोग गरिरहेका छन् र कस्तो उत्पादन उनीहरूलाई आवश्यक छ भन्ने पत्ता लगाउन गुगलले अनेकौँ अध्ययन गर्छ । यत्तिका धेरै स्रोत र साधन हुँदाहुँदै पनि इन्टरनेटले दिन सक्ने सबै सुविधा गुगलले मेसो पाउँदैन । थुप्रै एन्ड्रोइड उपकरणमा एक्स्टर्नल स्टोरेजका लागि मेमोरी कार्ड राख्ने ठाउँ हुन्छ । थुप्रै उपभोक्ताले यस्तो कार्डमा फाइल बोक्छन् भन्ने थाहा पाएपछि गुगलले स्टोरेज खाली गर्न फाइल्स नामक एप सुरु ग-यो । 

इन्टरनेटले ल्याएको समानता ! 
दोस्रो आधा हिस्साले चलाउने इन्टरनेट केही फरक हुनेछ । नपत्याउँदा क्षेत्रमा कमाइ हुनेछ । कुनै भारतीयको मोबाइलमा फोन गर्दा रिङटोनको सट्टा कुनै गीत सुन्नु सामान्य हो । ‘कलर रिङ ब्याक टोन’ भनिने यस्तो गीत प्रयोगकर्ताले पैसा तिरेर किन्नुपर्छ । स्मार्टफोन र सामाजिक सञ्जालको व्यापक प्रयोग हुनुअघिसम्म भारतका मोबाइल सेवाप्रदायकका लागि यो पैसा कमाउने माध्यम थियो । मार्च २०१२ सम्ममा भारतमा यसबाट ८२ अर्ब भारु आम्दानी भएको थियो । आफूले होइन, अरूले सुुन्ने गीतमा यत्रो खर्च भएको थियो । यस्तै मोडेलको व्यवसाय अझ चम्किने सम्भावना पनि छ । 

मनोरञ्जन, सञ्चार र अभिव्यक्ति, यी तीन चिज एक–अर्कासँग अभिन्न हुन्छन् । भारतजस्ता मुलुकमा ठुल्ठूला परिवारमा टेलिभिजन सामूहिक रूपमा हेर्ने चलन छ । त्यसैले आफ्नो रोजाइको मिडिया आफैँले मात्र उपभोग गर्नु ती मानिसका लागि ठूलो परिवर्तन हो । युगान्डाका नागरिक डेनियल भन्छन्, ‘घरमा थुप्रै मान्छे छौँ । टिभी र रेडियो एउटा–एउटा छ । रेडियो काकीको कब्जामा हुन्छ । बाहिर जाँदा पनि ‘रेडियोमा पास्टरकै प्रवचन बजिरहोस्’ भन्दै जानुहुन्छ । त्यसैले म पहिले गीत सुन्नै पाउँदिनथेँ । फोन भएपछि त मजा छ ।’

अहिले थुप्रैका लागि स्मार्टफोन र सामाजिक सञ्जाल निजत्वको प्रदर्शन हो । ठूला कम्पनीले आफ्नो गोपनीयता भंग गरेको र तथ्यांक चोरेको विषयमा पश्चिमाहरू चिन्तित छन् । तर विकासशील देशका युवाहरू भने परिवार र छिमेकीको आँखा छलेर पहिलोपटक अभिव्यक्त हुन पाएकोमा आनन्दित छन् । एसिया र मध्यपूर्वका मानिसका लागि स्मार्टफोनले रोमान्सको नयाँ दुनियाँको ढोका खोलिदिएको छ । अनेक बाधाका बीच उनीहरू एक–अर्कासँग जिस्किन र डेटिङ गर्न थालेका छन् । 

इन्टरनेटले मनोरञ्जन र सामाजिक जीवनका अवसरमा पहुँच दिएको छ । बोल्न सक्षम हुनु र करोडौँलाई आफ्नो कुरा सुनाउन सक्नु भनेको मानव जीवनको गुणस्तरमा ठूलो सुधार आउनु हो । यद्यपि सामाजिक सञ्जालको राजनीतिकरणजस्ता जोखिम नभएका होइनन् । धनी र गरिबका लागि यसमा उस्तै जोखिम र अनुभव हुन्छन् । दुवै वर्ग ह्वाट्सएपमा च्याट गरिरहेका छन्, युट्युबमा भिडियो हेरिरहेका छन् र टिकटकमा टाइमपास गरिरहेका छन् । अर्थात्, अन्य चिजमा नभए पनि फुर्सदको समय बिताउने तरिकामा भने धनी र गरिबबीच केही हदसम्म समानता आउँदै छ । 

अनुवाद : खगेन्द्र गिरी