• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामगोपाल आशुतोष काठमाडाैं
२०७६ श्रावण २५ शनिबार ११:०४:००
साहित्य

फर्सीको  जरा 

कविता

२०७६ श्रावण २५ शनिबार ११:०४:००
रामगोपाल आशुतोष काठमाडाैं

अत्यन्तै संवेदनशील समयमा 
आर्किमिडिजको भाइबर कल आयो 

म 
साधुमाता एमिलीको तस्बिरमुनि
गँजडी शेलीको चिहानमा बसेर
पागल देवकोटाको शब्दलाई 
सम्भोग गरिरहेको थिएँ 

आर्किमिडिजले इन्स्टाग्राममा 
नाङ्गै निस्किएको 
तस्बिर सार्वजनिक गर्दै चिच्याए
युरेका ! युरेका !! युरेका !!!

क्षयरोगी जोन किट्स
पामेला एन्डर्सनको बे वाच हेर्दै थिए ।

विथोविनको सांगीतिक तालमा
बाथटबमा रासलीला गरिरहेको 
म र मेरो फेसबुक फ्रेन्ड क्याट्रिनाको नाकमा 
कलरिजले अफिमको गन्ध छाड्यो ।

स्खलित हुनै लागेको समयको
यौन उन्माद दृश्यमा कैद गर्दै
प्रख्यात निर्माता निर्देशक महेश भट्ट
चिच्याए– क.... ट .....!!

म जोन किट्सजस्तै
तलाउलाई ऐना बनाएर 
उसको आकाशको यौवन नियालिरहेको थिएँ ।

त्यतिवेला काठमाडौंको 
सांस्कृतिक सडक र गल्लीहरूलाई
बुल्डोजरले कलाको अस्मिता भत्काउँदै थियो
रैथाने छातीमा छरपस्ट रगतमा आफ्नो कुची कोप्दै
भ्यान गग आफ्नो पोट्रेटबाट चिच्याए
– अरनिको कम ब्याक होम ...

आफ्नै छातीलाई मसान बनाउन उद्यत राजधानी
हरिश्चन्द्र बन्ने होडमा
घरको भित्तामा 
‘टुलेट’को होर्डिङ बोर्ड झुन्ड्याएर भनिरहेका थिए–
आऊ र हामीलाई बलात्कार गर !

अर्कोतिर
वाट्सएपको लाइव भिडिओ च्याटमा
टङ किस गर्दै 
नीलो, रातो, पहेँलो भइरहेको अवस्थाको 
सेल्फी हानिरहेको ऐन मौकामा 
प्लेटो चिच्याए–
होमरलाई झैँ यिनीहरूलाई पनि सीमा कटाइदेऊ

ओ हेनरी ग्रिन !
हाम्रो रंगीन प्वाँख हेर त !
– कुनै शिल्पीको कलाले लिपेको छ
– कुनै साहित्यको बिम्बले सजिएको छ
– कुनै संस्कृति र सभ्यताले पोतिएको छ
– कुनै परम्परा सामाजिकताले भरिएको छ
– कुनै रीतिरिवाज कुलधर्मले हराभरा छ 

मोहन कोइराला अचानक देखापर्छन् 
मेरो फेसबुक वालमा 
र, कमेन्ट गर्छन् – मेरो फर्सीको जरा 
र, इन्द्रेणी सभ्यतालाई उनीहरूले पढे मात्र
कसैले बुझेनन् !!

मैले मेरो मिथक बुझेँ ।
इतिहास त चाकरीको सर्जिया दानबाट प्राप्त सिदा रहेछ ।

पोल्पोट र हिटलरझैँ 
मुण्डमाला पहिरेको ईश्वरहरूले
नित्सेलाई उनीहरूको मृत्यु घोषणाको अभियोगमा 
उनकै साहित्यको शब्द बालेर –
हाङ टिल डेथको सजाय सुनाए 

अन्त्यमा,
फर्सीको जराको 
काल्पनिक चित्रमा रामायण बोकेर
बिर्खे टोपीमुनि
हल्का मुस्काइरहेको अनूदित तस्बिरमुनिबाट पलाएको 
अर्को पात आकारमा देखिए 
.... आ ..... दि .... क ..... वि .........

त्यसपछि
ईश्वरहरू अलप भए
र, भक्तहरूले गणेशलाई घोषणा गरे 
– प्रथम देउता ।