• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण ३२ शनिबार १०:००:००
सम्झना

एक थिए गालव

२०७६ श्रावण ३२ शनिबार १०:००:००

नेपाली वाङ्मयका शिखर व्यक्तित्व तथा कवि वैरागी काइँलाले ९७ वर्षको उमेरमा बिहीबार महाप्रस्थान गरेका लेखक मदनमणि दीक्षितमाथि एकबुँदे समीक्षा गरे– ‘हामी उहाँका अगाडि फुच्चे हौँ ।’ 

उनको यो टिप्पणी दिवंगत कसैको गुणगान गर्ने परिपाटीको निरन्तरता थिएन । कवि काइँला आफ्ना भनाइमा इमानदार थिए । किनभने, माड्साब (मदनमणिलाई धेरैले श्रद्धापूर्वक र प्रेमपूर्वक यस्तो सम्बोधन गर्थे, उनी वीरगन्जको त्रि–जुद्ध हाइस्कुलको प्रधानाध्यापक थिए । त्यसबेला उनी माड लगाएर आइरन गरेकाे पहिरन लगाउँथे । त्यसपछि सदाका लागि माड्साब बनेका थिए)ले आफ्ना विद्वता, साधना र लेखनमार्फत हासिल गरेको उचाइ साँच्चिकै विराट् थियो ।  

नेपाली साहित्यमा ‘माधवी’ एउटा यस्तो कृति हो, जसबारे सम्भवतः सबैभन्दा बढी लेखिएको र बोलिएको छ । कसैका निम्ति यो ‘टफ टेक्स्ट’ हो भने कसैका निम्ति अद्भुत आख्यान । विश्वविद्यालयमा ‘माधवी’ पढाइरहेका, मदनमणिका उपन्यास ‘माधवी’, ‘त्रिदेवी’ र ‘भूमिसूक्त’मा पिएचडी गरेका उपप्राध्यापक हरिप्रसाद सिलवाल भन्छन्, ‘उहाँको उपन्यास धेरै बौद्धिक छ । उपन्यासमा वैज्ञानिक चिन्तन छ । उहाँ दार्शनिक चेतना भएको लेखक हुनुहुन्थ्यो ।’

मदनमणिको यो ‘म्याग्नम अपस’ पढ्ने जोसुकै उनको पूर्वीय दर्शनको विशद् ज्ञान देखेर अवश्य चकित हुन्छ ।

उनको ज्ञानको अजस्र स्रोत थिइन्, उनकी माता । मदनमणि दीक्षित (१९७९ फागुन ६– २०७६ साउन ३०) यस्ता बालक थिए, जसले आमाको काखमा जीवनको मात्रै होइन, दर्शन र साहित्यको लय पनि फेला पारे । उनकी माता विष्णुकुमारी देवी दर्शन र साहित्यकी जानकार थिइन् । जीवनको कखरा आमाको काखमा सिक्ने सौभाग्य हरेकजसो बालबालिकालाई हुन्छ । मदनमणिले साहित्य र पूर्वीय दर्शनको कखरा आमाबाटै सिके । 

‘मेरी माताले विश्वविद्यालय अध्ययन नगरीकनै ठूला शास्त्रीय ज्ञानहरू आर्जन गर्नुभएको थियो । सत्य, स्नेह, दया, करुणा, अहंकाररहित र दुःखसुखमा समान भाव प्राप्त गर्न विश्वविद्यालय नचाहिँदो रहेछ’, २०७५ सालमा प्रकाशित ‘मेरी माता’मा आमाले आफूलाई गरेको ज्ञानदानबारे उनले लेखेका छन्, ‘मेरी माता सामान्य साक्षर मात्र हुनुहुन्थ्यो । हिन्दीमा केही सामान्य पुस्तक पढ्नुहुन्थ्यो । बनारसमा हुँदा ‘आज् दैनिक’ पढ्ने गर्नुहुन्थ्यो । यी स्रोतबाटै मैले साहित्य, दर्शन र वेदशास्त्रको अध्ययनलाई अगाडि बढाउन सकेको थिएँ ।’

पूर्वीय सभ्यता, पूर्ववैदिक युगका अध्येता दीक्षितले जीवनभरि नारीमाथि चिन्ता र चिन्तन गरिरहे । ‘माधवी’, ‘मेरी नीलिमा’, ‘ऋग्वैदिक नारी चरित्र’ इत्यादिमा उनले सधैँ नारीकै गाथा गाए, उनीहरूका दुःखमाथि लेखे । 

सुप्रसिद्ध आख्यानकार नारायण ढकालका मतमा मदनमणि अन्तरआत्मादेखि नै नारीलाई सम्मान गर्ने स्रष्टा हुन् । ‘उहाँ ऋग्वेदकालीन समयमा नारीहरूको जुन सम्मान समाजमा थियो, त्यही सम्मानको निरन्तरता चाहनुहुन्थ्यो,’ ढकाल भन्छन्, ‘उहाँ पत्नीलाई देवी भन्नुहुन्थ्यो । समस्त नारीलाई देवी भन्नुहुन्थ्यो ।’ 

‘दीक्षितको मूल विशेषता संस्कृतिका दुई धारा पूर्व र पश्चिमलाई एकदम गहिराइमा बुझ्नु हो । वैदिक मूल्य, मान्यता, वैदिक युगको दार्शनिक प्रणालीलाई द्वन्द्ववादसँग मिलाएर हेर्नु हो । त्यति गहिराइको चिन्तक र त्यो उचाइको मान्छे नेपालमा अर्काे हुनुहुन्न’ –नारायण ढकाल 

आफ्नै पात्रका दुःखमा उनी द्रवीभूत हुन्थे । उनीसँग सार्थक संगत गरेका कथाकार, कवि तथा साहित्यिक सम्पादक अविनाश श्रेष्ठ उनको उच्च मानवीय संवेदनादेखि कायल छन्, ‘एक दिन प्रज्ञा प्रतिष्ठानमा माड्साब गालव र माधवीको प्रसंग पढेर आफैँ रुनुभयो ।’ आफैँले लेखेको ‘माधवी’मा गालव र माधवीको दुःखको कथा पढेर मदनमणि रोएका थिए । उनले श्रेष्ठसँग भनेका थिए, ‘मलाई वेलावेला लाग्छ, माधवीको ऋषि गालव कुनै समयमा मै थिएँ । मैले नै हो माधवीलाई प्रेम गरेको । मै हुँ माधवीको प्रेमी ।’ 

'माधवी'काे कथामा सप्तर्षिमध्येका एक विश्वामित्रको गुरुकुलीन आश्रममा दीक्षित शिष्य गालवले गुरुलाई दक्षिणा चढाएर मात्रै बिदा हुने हठ गरे । आखिरीमा विश्वामित्रले दक्षिणाका लागि चार ओटा श्यामकर्ण घोडा (अश्व) ल्याउन आदेश दिए ।

गालव श्यामकर्ण घोडा खोज्न निक्ले ।

मित्र सुवर्ण नागजेय कहाँ (मण्डलक जनपद) पुगे । नागजेयले गालवलाई अहिच्छत्रको दानवीर असुर सम्राट ययाति कहाँ लगे । श्यामकर्ण घोडा माग्नुका कारण कहे । दानवीर सम्राट ययातिले आफूसँग श्यामकर्ण घाेडा नभएकाले ‘महारुपिणी वरदान प्राप्त सुन्दरी महामाया गणिका उपाधि’ प्राप्त पुत्री माधवी नै गालवलाई सुम्पे । 

श्यामकर्ण घोडावाल राज्यका सम्राटसित ‘एक पुत्र, एक घोडा’ प्राप्त गरी गालवलाई गुरु ऋणमुक्त गर्ने निर्णय पनि गरे । 

माधवीका हर पुत्र सम्राट बन्ने वरदान पाएको कुरा ज्योतिषले सुनाए । 

माधवी र गालव कोशलका राजा हर्यश्यको दरबारमा पुगे । 

एक पुत्र वसुमना जन्मे । एक श्यामकर्ण पाए । 

काशी महाजपदका राजा दिवोदासको दरबारमा पुगे । माधवीले दोस्रो पुत्र प्रतर्दन पाइन् । त्यसपछि एउटा श्यामकर्ण लिएर औशीनर शिविको राज्यमा पुगे । शिविबाट जन्मेका माधवीपुत्रको नाम पनि शिवि नै राखे । एउटा श्यामकर्ण घोडा लिएर बिदा भए । 

गालवलाई एउटा श्यामकर्ण खाँचो पर्‍याे । खाँचो पूर्तिका लागि पुनः नागजेयसँग सल्लाह मागे । 

नागजेयले नियोगप्रथाद्वारा माधवीबाट पुत्र जन्माउन ‘स्त्रीभोग विलासी’ उनै विश्वामित्रलाई माधवी सुम्पन गालवलाई सुझाए ।

एउटा श्यामकर्णको सट्टा विश्वामित्र आफैँले माधवीको भोग गर्ने प्रस्ताव खुसीसाथ स्वीकारे । आफू वृद्ध–अशक्त भएकाले आफ्ना भान्जा प्रमतकलाई नियुक्त गरी माधवीबाट पुत्र जन्माउन आग्रहसमेत गरे । माधवीले पुत्र अष्टक जन्माइन् । र, गालवलाई मुक्त गराएर स्वतन्त्र भई माधवी र गालव ययाति दरबार गए । 

विवाहको भव्य तयारी भयो । बिहे मण्डप नै छोडेर मित्र नागजेयलाई भेट्न गालव निस्के । तर, नागजेय बिरामी परेकाले गालव फर्कन ढिलो भयो । नागजेय र गालव पुग्दा माधवी ‘समाज परित्याग’ गरी वनप्रस्थान गरिसकेकी थिइन् । 

गालव माधवीकाे खोजमा निस्के । चार सम्राटले महायज्ञ गरेको स्थानमा माधवी र गालवको भेट भयो । एकेक गरी आफ्ना कथा सुनाए । वसुमना, प्रतर्दन, शिवि र अष्टक चार सम्राट (जो माधवी पुत्रहरु)ले आमाको विशेष परिचय पाएर खुसी भए ।

'माधवी'मा चार श्यामकर्ण मागिएको कथा भए पनि मुख्य स्राेत महाभारतको पौराणिक कथामा भने ८ सय श्यामकर्णको चर्चा छ । 

यसरी मदनमणिकाे उपन्यास 'माधवी'काे  कथा अन्त्य हुन्छ । 

‘माधवीकाे प्रसंग पढ्दै जाँदा माड्साब रुनुहुन्थ्यो,’ कथाकार श्रेष्ठसँग आँशु झारेका मदनमणिको स्मृति ताजै छ । २०५१ देखि २०५५ सालसम्म माड्साबसँग प्रज्ञा प्रतिष्ठानमा काम गरेका श्रेष्ठ भन्छन्, ‘उहाँ ऋषितुल्य मान्छे हुनुहुन्थ्यो । एकदमै संवेदनशील व्यक्ति ! म उहाँलाई निकै सम्मान र प्रेम गर्छु । उहाँ सदा सकारात्मक सोच्नुहुन्थ्यो ।’

मदनमणिले मातासँग सिकेको अर्को विषय थियो– सकारात्मक सोच ।

‘सकारात्मकबाहेक अरू सोच्दिनँ,’ २०७२ सालतिर पंक्तिकारसँग मदनमणिले भनेका थिए । मसिनो आवाजमा बोलिरहेका उनले सकारात्मक सोचकै कारण कम्युनिस्ट बनेको र कम्युनिस्ट पार्टी छाडेको बताएका थिए । 

२००७ सालमा कम्युनिस्ट बने उनी । कम्युनिस्ट पार्टीको नेतृत्वमा थिए पुष्पलाल श्रेष्ठ । ‘मेरा भाइ महेशमणि पहिला नै कम्युनिस्ट थिए,’ उनले भनेका थिए, ‘२००७ सालको पुसमा एक दिन भाइलाई अस्पतालमा कुर्नुपर्दा भाइसँग मागेर राति कम्युनिस्ट म्यानिफेस्टो र थ्योरी अफ सरप्लस भ्यालू पढेपछि त्यसको भोलिपल्ट नै म कम्युनिस्ट भएँ । श्रमिक वर्गको हितखातिर अर्थात् सकारात्मक सोचले म कम्युनिस्ट भएँ ।’

तर, २०४२ सालमा उनले कम्युनिस्ट पार्टी छाडे । साहित्यिक मासिक ‘पाण्डुलिपि’मा कवि पदम गौतमसँगको बातचितमा उनले भनेका थिए, ‘एक दिन म एकजना ठूला कम्युनिस्ट नेताको घरमा गएको थिएँ । त्यहाँ उनले छोराले लेखेको चिठी पढेर अनेकौँ दुःख र गुनासो लेखिएको सुनाए । अर्का कम्युनिस्ट नेता हामीलाई भेट्न आउन लाग्दा उसलाई अर्को कोठाबाटै फर्काउँछु है भन्दै चिठी त्यहीँ छाडेर घरवाला नेता अर्को कोठामा गए । मैले अर्काको चिठी त्यसरी हेर्ने गरेको त थिइनँ, तर त्यस दिन त्यो चिठी आफैँ पढ्न मन लाग्यो । तर, मैले पढ्दा त्यहाँ त्यस्तो दुःखको कुरा एक शब्द पनि लेखिएको थिएन । यो बनावटी र पाखण्डी कुराले मलाई निकै दुःखी बनायो । ती नेतालाई मैले नै कम्युनिस्ट बनाएर सकेसम्म माथि उठाएको थिएँ । यो घटनापछि म कम्युनिस्ट रहन सकिनँ ।’ 

०००
पूर्वीय दर्शन र वाङ्मयका विशिष्ट ज्ञाता, निबन्धकार, पत्रकार, उपन्यासकार, फोटोग्राफर, दर्शनका अध्येता, मदनमणि दीक्षितलाई फिक्सन डिजाइनर कुमार नगरकोटी प्रेमपूर्वक ‘ममदी’ भन्छन् । केही वर्षअघि उनले ‘नीलिमा अफेयर्स’ नामक संस्मरण लेखेका थिए । जसमा उनले ममदीप्रति असिम प्रेम र श्रद्धा अर्पण गरेका थिए । उनी दिवंगत मदनमणिलाई नेपाली साहित्यको आत्मा मान्छन् । उनको आपत्ति छ– ममदीबारे भूतकालमा कुरा गर्नुहुँदैन । ‘उनको नश्वर देह मात्र नष्ट भएको हो,’ नगरकोटी भन्छन्, ‘आत्मा नष्ट भएको होइन । नेपाली साहित्यको आत्मा हुन् उनी । आत्माबारे कुरा गर्दा वर्तमानकालमा कुरा गर्नुपर्छ ।’ 

नगरकोटीको दाबी छ– ‘भूमिसूक्त’, ‘मेरी नीलिमा’ र ‘माधवी’लाई हटाइदिने हो भने नेपाली साहित्यको ल्यान्डस्केप अधुरो हुन्छ । भन्छन्, ‘ममदीले कुची चलाउने आख्यानको क्यानभास विराट छ । ‘ग्यास च्याम्बरको मृत्यु’ उनको सुन्दर पेन्टिङ हो । उनको किताबमा छिर्नु ज्ञानको संग्रहालयमा प्रवेश गर्नु हो ।’

नगरकोटी उनलाई नेपाली वाङ्मयका महर्षि भन्छन् । ‘ममदी वैदिक चेतनाका ऋषिमुनि हुन्,’ उनी भन्छन्, ‘प्राच्य साहित्य दर्शन मात्र नभई पाश्चात्य ज्ञान परम्परामाथि उनको सूक्ष्म अध्ययन अद्भुत लाग्छ । उनी नेपाली साहित्यका भूतो न भविष्यति हुन् । एक यस्तो प्रज्ञावान साहित्यिक युगद्रष्टा, जो नेपाली भाषा एवं वाङ्मयका सम्पदा हुन् ।’

नगरकोटीले सम्पदा मानेका मदनमणिलाई नारायण ढकाल चिन्तकका रूपमा उच्च मूल्यांकन गर्छन् । ‘दीक्षितको मूल विशेषता भनेकै संस्कृतिका दुई धारा (पूर्व र पश्चिम)लाई एकदम गहिराइमा बुझ्नु हो,’ उनी भन्छन्, ‘वैदिक मूल्य, मान्यता, वैदिक युगको दार्शनिक प्रणालीलाई द्वन्द्ववादसँग मिलाएर हेर्नु हो ।’ ढकालको मान्यता छ, ‘त्यति गहिराइको चिन्तक नेपालमै अर्को हुनुहुन्न । चिन्तन र दार्शनिकतालाई बुझ्ने उहाँको क्षमता अद्भुत थियो । मेरा समकालीनमा त्यो उचाइको मान्छे नै पाइनँ ।’ 

‘आफैँले लेखेको ‘माधवी’मा गालव र माधवीको दुःखको कथा पढेर मदनमणि रुनुभएको थियो । उहाँले भन्नुभएको थियो– माधवीको ऋषि गालव कुनै समयमा मै थिएँ । मैले नै हो माधवीलाई प्रेम गरेको । मै हुँ माधवीको प्रेमी ।’–अविनाश श्रेष्ठ

यद्यपि, मदनमणिको जीवनमा केही विरोधाभास देख्छन् ढकाल । भन्छन्, ‘उहाँ वामपन्थसँग पनि जोडिनुभयो । पछि राजतन्त्रलाई सम्मानित गर्न खोजेको पनि देखियो । पश्चगमनका पक्षमा पनि उहाँ उभिएकै हो ।’ 

माड्साबले ‘माधवी’लाई क्लिष्ट र जटिल बनाए भन्ने लाग्छ, ढकाललाई । ‘भारतमा महाभारतका मिथकमा निकै काम भएका छन्,’ उनी भन्छन्, ‘विष्णु सखाराम खाण्डेकरले ‘ययाति’ सहज ढंगले लेखे । एम.टी. वासुदेवन् नायरले महाभारतको पुनर्लेखन गरे, अति सरल र लालित्यपूर्ण ढंगमा । त्यस मानेमा मलाई दीक्षितले ‘माधवी’ बढी जटिल बनाउनुभयो भन्ने लाग्छ । उहाँसँग एक दिन मैले ठट्टा गर्दै भनेको थिएँ– ‘माधवी’लाई नेपालीमा अनुवाद गरौँ । उहाँ हाँस्नुभयो ।’ 

उता प्रसिद्ध कवि श्यामल भने मदनमणिका दुई कथा ‘लट्टु मियाँकी घोडी’ र ‘ग्यास च्याम्बरको मृत्यु’लाई नेपाली साहित्यका मास्टरपिस मान्छन् । उनी भन्छन्, ‘मदनमणि अध्ययनशील पुराना वामपन्थी हुनुहुन्थ्यो । माक्र्सवाद, समाज विज्ञानबाट संसार हेर्न प्रयत्न गर्नुभयो उहाँले ।’ 

मिथकमाथि लेख्नेहरूको लहरमा मदनमणिको स्थान सबैभन्दा माथि देख्छन्, वैरागी काइँला । भन्छन्, ‘मदनमणि माड्साब अत्यन्तै ठूला विद्वान् हुनुहुन्थ्यो । विराट दृष्टिकोण राखेर पूर्वीय दर्शन, उपनिषद्, वेदलाई हेर्नुभयो । लोकप्रिय माक्र्सवादबाट प्रभावित पनि हुनुभयो र पूर्वीय दर्शनमा पनि आस्था राख्नुभयो । वेदका ऋचा र ज्ञानका मिमांसालाई लिएर उपन्यास लेख्नुभयो ।’ उनी मदनमणिलाई पौराणिक आख्यानमा मानक मान्छन् । ‘उहाँको दृष्टिकोण विराट थियो,’ काइँला भन्छन्, ‘उहाँको क्षतिपूर्ति हुन धेरै काल पर्खिनुपर्छ । उहाँलाई पढ्नु भनेको हाडेओखर फोडेर खानु हो, जसको गुदी अद्भुत हुन्छ । त्यस्तो मनीषी अर्को पाउन अब मुस्किल छ ।’

०००
कुनैवेलाका कम्युनिस्ट कार्यकर्ता मदनमणि बिपी कोइरालाको प्रधानमन्त्रीत्वकालमा पत्रिका प्रकाशन गरेर पत्रकार बने । उनकै कथनअनुसार, बिपीलाई प्रतिपक्षी स्वर चाहिएको थियो । उनकै आर्थिक सहायतामा २०१७ सालदेखि मदनमणिको सम्पादकत्वमा ‘समीक्षा साप्ताहिक’ पत्रिका प्रकाशन हुन थाल्यो । पञ्चायतकालमा असंख्य प्रतिबन्ध भोगेर पनि ३४ वर्षसम्म ‘समीक्षा’ निरन्तर प्रकाशित भइरह्यो । 

उनी ‘समीक्षा’मा नयाँ–नयाँ प्रयोगमा जोड दिन्थे । २०२७ सालतिर काठमाडौंमा वेश्यावृत्तिमा लागेका युवतीबारे उनले फोटोसहितको फिचर प्रकाशित गरे, दुई अंकमा लगातार । ‘यस्तो कार्यमा लागेका नेपाली युवतीको वृत्तान्त समीक्षाले नै पहिलोपटक छापेको थियो,’ लेखक राप्रउ पोखरेलले नयाँ पत्रिकामा लेखेका छन्, ‘त्यो खोजपूर्ण आलेख माड्साबले साहित्यकार शंकर लामिछानेबाट प्राप्त गरेका थिए ।’

‘मेरो देश मेरो संसार’, ‘त्यो युग’ मदनमणिका चर्चित स्तम्भ थिए । ‘समीक्षा’ खासमा उनको ‘वन म्यान सो’ थियो । पञ्चायतकालमा यो पत्रिका बारम्बार कोपभाजनमा पर्यो । यसमाथि किस्ता–किस्तामा प्रतिबन्ध लागिरह्यो । बारम्बार प्रतिबन्धमा परेपछि एकपटक त मदनमणि आत्मदाहसम्म गर्न तयार भएका थिए ।

पंक्तिकारसँगको एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘दरबारको ढोकाअगाडि शरीरमा पेट्रोल खन्याएर, आगो सल्काएर आत्महत्या गर्ने निर्णय गरेँ ।’ तर, भोलिपल्ट उनको मन बदलियो । ‘निर्णय गरेको भोलिपल्ट बिहान साढे ४ बजे ब्युँझिएँ,’ उनले पंक्तिकारसँग भनेका थिए, ‘त्यति नै वेला मेरो मनमा आयो– अपराध कसले गरेको हो ? गल्ती मेरो हो कि अरूको ? गल्ती गर्ने अरू, आगो सल्काएर म आफूलाई सजायँ किन दिऊँ ? यो हुँदैन । सोचाइ लम्बियो– तिमी मेरो अखबार खोस्न सक्छौ, तर मेरो कलम, विचार खोस्न सक्दैनौ । त्यसपछि मैले लेख्न थालेँ ।’ यसरी लेख्दा छ–सात वर्षमा ‘माधवी’ तयार भयो । 

‘त्यो युग’, ‘त्रिदेवी’, ‘जीवन महाभियान’, ‘ऋग्वैदिक नारी चरित्र’लगायत कृतिले उनको पूर्वीय वाङ्मयबोध स्थापित गरिदियो । त्यति मात्र होइन, नेपाली संस्कृतिको गुढ खोतल्न पनि उनले प्रशस्त काम गरे । ‘मेरी माता’लगायत उनका संस्मरणमा राणाकालीन समयबारे पर्याप्त ज्ञान र सूचना पाइन्छ । 

उनका सबै लेखनमा ज्ञानको एउटा विशाल संसार हुन्छ । अथक मिहिनेत, निरन्तर परिश्रम, गहिरो अध्ययन, सूक्ष्म चिन्तन र गम्भीर प्रस्तुतिले उनलाई विद्वताको उचाइमा पु-याएको थियो । साहित्यकार राजेन्द्र विमलका शब्दमा मदनमणि तपोनिष्ठ महान् महर्षि थिए । भन्छन्, ‘उहाँ महान् चिन्तक र अतुल्य स्रष्टा हुनुहुन्थ्यो । राष्ट्रले एउटा दुर्लभ निधि गुमाएको छ । अब उहाँका आप्त वाणी नै हाम्रा मार्गदर्शक दीपमाला हुनेछन् ।’

उनको इमानदारी र स्वाभिमानका अनेकौँ किस्सा छन् । उनकी पुत्री लेखक इल्या भट्टराईले एक ठाउँमा लेखेकी छन्, ‘पिताजी साह्रै विद्वान् भन्ने तथ्यको प्रभावमै हामी हुर्किंदै गयौँ । विद्वान् अनि इमानदार । अत्यन्त स्वाभिमानी । अरूको दृष्टिमा अहंकारी । कहिल्यै कसैसँग नझुक्ने । धनलाई कहिल्यै पनि महत्व नदिने । धन कमाउन सकिने कतिपय अवसरमा पनि कमाउनपट्टि कहिल्यै ध्यान दिनुभएन । उहाँको व्यक्तित्व अत्यन्त विराट् थियो ।’

भट्टराईसँग सहमत छन्, लेखक तथा ‘रचना’का सम्पादक रोचक घिमिरे । उनी  मदनमणिलाई वर्तमान नेपालका अतुलनीय मनीषी र सर्वाधिक ऊर्जाशील स्रष्टा मान्छन् । घिमिरे भन्छन्, ‘यी विद्वान्मा प्राचीन अर्वाचीन ज्ञानको अथाह महासागर कसरी अटाएको होला भनेर म चकित हुन्थेँ । ज्ञान–विज्ञानका यावत् पक्षहरूको हेक्का कसरी रहने गरेको होला ?’

मदनमणिको लामो सान्निध्यमा रहेका पत्रकार अशोक सिलवाल उनलाई असाध्यै असल मान्छेका रूपमा बयान गर्छन् । ‘अति असल मान्छे हुनुहुन्थ्यो उहाँ,’ उनी भन्छन्, ‘आफैँमा एउटा कार्यालय हुनुहुन्थ्यो । उहाँ अनेक आयाममा फैलिएको विशाल व्यक्तित्व हुनुहुन्थ्यो ।’ 

०००
दीक्षितलाई पंक्तिकारले सबैभन्दा पहिले ‘मेरी नीलिमा’मा भेटको हो । कलेजको पुस्तकालयमा पाना च्यातिएको एउटा किताब थियो । त्यही थोत्रो र मसिनो किताबभित्रबाट वेला–वेला नीलिमा फुत्तफुत्त निस्किरहन्थिन् । एकालापीय शैलीको उपन्यासमा गहिरो ज्ञानका कुरा थिए । 

पहिलो अन्तर्वार्तामा उनलाई नीलिमाबारे सोधिएको थियो । उनलाई आफूले लेखेका किताबमध्ये ‘मेरी नीलिमा’ उत्कृष्ट लाग्दोरहेछ । उनले भनेका थिए, ‘कहाँ हो कहाँ, माधवीभन्दा नीलिमा उत्कृष्ट छ ।’ यसो भनिरहँदा उनको अनुहार दीप्त थियो । 

नेपाली साहित्य जगत्मा उनका थुप्रै किस्सा छन् । ९७ वर्षको लामो म्याराथन पार गर्नेको जीवनमा किस्सा कति बने होलान् ? 

जमानामा चुरोट र रक्सी अत्यधिक खान्थे उनी । पछि त्यो दुवै लत छुट्यो । रक्सी खाएर मोटरसाइकलमा लडेको र घाइते भएका पुराना घटना मितिसहित सुनाउन सक्थे । चुरोटसँग जोडिएको एउटा प्रसंग उनले पंक्तिकार र पत्रकार अशोक सिलवालसँग सुनाएका थिए । 

२०१६ साल भदौ १० गते उनी राजा महेन्द्रको दर्शनभेटका लागि पुगेका थिए । ‘नयाँ समाज’का सम्पादक पशुपति पाण्डेको साथमा । दरबारमा कार्यरत मधुसूदन राजभण्डारीले दर्शनभेटको चाँजोपाँजो मिलाएका थिए । १५/२० मिनेटको पर्खाइपछि राजा महेन्द्र आइपुगे । राजाले ड्रअरबाट सुनको बट्टामा चुरोट निकाले र पशुपति र मदनमणितिर तेस्र्याए । पशुपतिले चुरोट सल्काए र मदनमणि चुरोट लिन निकैबेर अन्कनाए । लिँदै लिएनन् । राजाले भने– ‘मदन, तिमी त चुरोट खान्छौ होइन र ?’ मदनमणिले भने– ‘हुन त यो सेवक चेन स्मोकर हो सरकार । तर, सरकारसामु कसरी खानु ? भो खान्नँ ।’ उनले राजासमक्ष चुरोट खाएनन् । 

कवि पदम गौतमसँग मदनमणिले आफ्नो लेखनको तीन चरण भएको बताएका थिए । ‘मेरो साहित्य लेखनको तीन चरण छ,’ उनले भनेका थिए, ‘सन् १९४१ मा बनारसमा भागवत गीताको पहिलो अध्यायको व्यंग्य अनुवाद गरेको थिएँ । यो पहिलो चरण थियो । त्यसपछि १९४३ मा हिन्दीमा अज्ञात प्रेमिकालाई सातवटा रसात्मक प्रेमपत्र लेखेँ । ती चिठी डरले च्यातेर फ्याँके पनि एउटा मेरी दिदीको हात परेछ । पछि त्यो चिठीले श्रीमतीसँग मेरो झगडा पनि गरायो । त्यसपछि तेस्रो चरणमा १९४८ मा वीरगन्जमा पढाउँदा मैले दासप्रथा उन्मूलनबारे ‘दासत्वमोचन’ भन्ने एकांकी लेखेँ । यो चरण लम्बियो र मेरो समग्र लेखन समेटियो ।’ 

‘नेपाली साहित्यको आत्मा हुन् उनी । ‘भूमिसूक्त’, ‘मेरी नीलिमा’ र ‘माधवी’लाई हटाइदिने हो भने नेपाली साहित्यको ल्यान्डस्केप अधुरो हुन्छ ।’ –कुमार नगरकोटी 

उनकै कथनमा उनी ‘वाद’हरूको पछाडि कहिल्यै दौडिएनन् । ‘जानेर विचारका पछाडि लाग्नु दिगो होइन भन्ने मलाई लाग्यो’, उनले भनेका थिए, ‘निकै चर्चामा आएको लीला लेखनसमेत अहिले सेलायो । अझ तेस्रो आयाम त कहाँ पुग्यो कहाँ ? २० वर्षअगाडि आएको उत्तर आधुनिकतावाद कता हरायो–हरायो । त्यसैले म वादको पछि दौडिनँ ।’
०००
पंक्तिकार पहिलोपटक २०७१ साल वैशाखमा माड्साबको घर पुगेको थियो । सर्वनाम थिएटरलाई देब्रे पारेर अलिकति हिँडेपछि, कालिकास्थानस्थित उनको घरमा पुगिन्छ । घरको भ-याङमा उनैले खिचेका र उपहारमा आएका अनेक ऐतिहासिक फोटो र सम्मानपत्र लहरै थिए । 

लेखनकक्षको उनको अध्ययन–टेबुलमा घिउ रङको टेलिफोन थियो । त्यसको ठीक सामुन्ने एउटा उनैको ब्लाक एन्ड ह्वाइट फोटो थियो । फोटोमा उनी चुरोट तानिरहेका थिए । उनले पंक्तिकारसँग त्यो फोटो आफैँले खिचेको बताएका थिए, टाइमर मिलाएर । फोटो युवावस्थाको थियो । कोठामा उनले खिचेका असंख्य फोटो थिए । 

उनी बस्ने फ्ल्याटमुनि लाइब्रेरी थियो । त्यहाँ ‘समीक्षा’का थुप्रै अंक थिए । विश्वप्रसिद्ध लेखकका बहुमूल्य किताब पनि थिए । अनगिन्ती किताबमाथि धुलोका पत्र जमेका थिए । 

९० पछिको उमेरलाई उनी ‘दशाब्दि’ भन्थे । लेखनको नशा झन् कडा देखिन्थ्यो । लामो समयदेखि अरूलाई डिक्टेट गराएर लेख्थे । 

उनी आफ्नो समयमा राम्रो फोटोग्राफर थिए । जीवनभर फोटोग्राफीमाथि लगाव राखे । यो सोखबारे उनले कतै लेखेका छन्, ‘मेरो विवाह (विसं १९९५ माघ २५) को पाँच दिनपछि मैले कोडाक कम्पनीको नौ रुपैयाँ पर्ने बक्स क्यामेरा आफ्ना फूपेरु दाजुसित चार रुपैयाँमा खरिद गरेर तस्बिर खिच्ने काम सुरु गरेको थिएँ ।’ 

फाटोग्राफीकै एउटा रोचक घटना उनले लेखेका छन् । ‘वीरगन्जको राम अवतार सोनारकी छोरी विवाहयोग्य भएर पनि अविवाहित रहिछन् । एक दिन तिनले मलाई भेटेर भने– रक्सौलदेखि पटनासम्मका तस्बिर पसलहरूमा मैले छोरीको तस्बिर खिच्न लगाएर दुलाहाछेउ पठाएँ, तर सबै ठाउँबाट तस्बिर फिर्ता आए । वीरगन्जमा तपाईंको फोटोग्राफी निकै प्रशंसित रहने गरेको थियो । मेरी छोरीको पनि तस्बिर खिचिदिनुहुन्छ कि ? भोलिपल्ट मैले तस्बिर खिचेँ । तीन हप्तापछि थाहा भयो, मैले खिचेको तस्बिरका कारणले ती केटी विवाहित भइछन् ।’

०००
मदनमणि पढिबस्ने अध्ययनकक्षमा झ्यालसम्म आइपुग्ने एउटा रूख छ । त्यो रूख देखाउँदै एकपटक उनले पंक्तिकारलाई भनेका थिए, ‘यो मेरो साथी हो ।’ अन्तर्वार्ता दिँदादिँदै उनी टक्क अडिन्थे र फेरि रूखबारे केही बोल्थे । उनी भन्ने गर्थे, ‘यो रूख मसँग यसरी जोडिएको छ, कतै बाहिर जाँदा मलाई यसको न्यास्रो लाग्छ ।’

माड्साबको महाप्रस्थान भयो, अस्ति बिहीबार । 

निःसन्देह, नेपाली साहित्यलाई अनन्त कालसम्म उनको न्यास्रो लाग्नेछ ।

सायद त्यो रूखले पनि माड्साबलाई ‘मिस’ गर्नेछ ।