• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपा कोइराला काठमाडाैं
२०७६ श्रावण ३२ शनिबार ०८:५१:००
समाज

मक्किँदै विवाह संस्था

२०७६ श्रावण ३२ शनिबार ०८:५१:००
दीपा कोइराला काठमाडाैं

चिन्तक ओशो रजनीशले समाजले ठानेका र मानेका कतिपय परिभाषित सत्यलाई ठाडै अस्वीकार गरे । प्रत्येक मान्छे नितान्त सम्प्रभु र स्वतन्त्र र बेग्लै भएकाले प्रत्येकलाई सानैदेखि कुनै पनि धर्म, सम्प्रदाय र वादबाट अलग राखिनुपर्ने तर्क उनको थियो । यसैकारण, संसारका कतिपय मिडिया र प्रभावशाली व्यक्तिले रजनीशलाई विवादास्पद भने । एकपछि अर्को विवादास्पद बयान दिएका रजनीशले विवाह संस्थामाथि झनै चर्को बयान दिए, ‘संसारका सबै जोडीले सम्बन्धविच्छेद गर्नुपर्छ । यसो भयो भने दिक्क लाग्दो सम्बन्धबाट संसारका जोडीहरूले मुक्ति पाउनेछन् ।’ 

ओशोको यो उपाय आफैँमा डरलाग्दो प्रतीत हुन्छ । सम्भवतः कथित सामाजिक प्रतिष्ठा र इज्जतका कारण अत्यासलाग्दो सम्बन्धलाई समाजका अघि लुकाएर बस्ने परिवार र जोडीतर्फ ओशोको धारणा केन्द्रित थियो । रजनीशलाई त्यही प्रश्नसँग जोडिएको अर्को प्रश्न सोधियो, ‘ती जोडीबाट जन्मने बच्चालाई के गर्ने ? सम्बन्धविच्छेद भएपछि पनि मान्छेका शारीरिक इच्छाको पूर्ति पनि त हुनुपर्ला, सृष्टिमा सन्तानोत्पादन त निरन्तर चल्नुपर्ला नि !’ 

ओशोले त्यसको पनि उपाय बताए, ‘कम्युनले त्यस्ता बच्चाका रेखेदेख र पालनपोषण गर्नेछ । यसो गर्दा बच्चाले झनै सुसंस्कृत समाज देख्नेछन् । सयौँ काका–काकी, हजुरआमा–हजुरबा उनीहरूले पाउँनेछन् । त्यतिमात्रै होइन, बच्चाहरूले उनीहरूका अनुभव र उपाय पनि सुन्न पाउनेछन् । सँगै सयौँ साथी पनि भेट्नेछन् ।’ ओशो रजनीशले आफूले कल्पना गरेको त्यस्तो आदर्श समाजको प्रयोग केही हदसम्म ‘कम्युन’ बनाएरै गरे । नेपालमा पनि उनको कम्युन छँदै छ । तर, उनले भनेजस्तै ठ्याक्कै त्यस्तै अभ्यास भने चलेको देखिँदैन । किनकि उनले चलाएका अनेक आश्रममा अनेक चुनौती पनि देखिए । सम्बन्धविच्छेदलाई ओशोले वैवाहिक सम्बन्ध र जटिलताको समाधान बताए पनि अर्बौँ मान्छे बस्ने यो विश्वमा लाखौँ मान्छे विवाह सम्बन्धमा जोडिरहेका छन् ।  

दुई फरक लैंगिक पहिचान भएका मानवबीचको अत्यन्त निकट सम्बन्ध हो, विवाह । रक्त सम्बन्धका अन्य नाताभन्दा पनि अत्यन्त निकट सम्बन्ध हो यो । इतिहास हेर्ने हो भने विवाह सम्बन्ध आफ्नै रक्त सम्बन्धबीच पनि हुने गथ्र्यो । कुनै वेला इजिप्टका राजाले आफ्नै बहिनी या दिदीसँग बिहे गर्थे । कतिपय मुसलमान समाजमा आफ्ना काका र ठूलोबुबाका छोराछोरीबीच आज पनि विवाह हुने गरेको बताइन्छ । नेपाली समाजकै कतिपय समुदायमा मामा र फुपूका छोराछोरीबीच विवाह हुने गरेको छ । 

बिस्तारै प्रेम र विवाह सहअस्तित्वमा आधारित हुन थालेको छ । प्रेम र सम्मान नभए विवाह बाँच्दैन भन्ने अवधारणा बलियो हुँदै छ ।

आफ्नो वंश, राज्य र सम्पत्ति बाहिरियाबाट जोगाउन या ‘रगत बिटुलो नहोस’् भन्ने आशयले त्यसो गरिन्थ्यो । त्यसको अर्थ हो विवाह यौन, प्रेम, मनोरञ्जन, सन्तानोत्पादन, वंशवृद्धि गर्न मात्र नभएर शक्ति सञ्चय र सन्तुलनका लागि पनि गरिन्थ्यो । र, आज पर्यन्त पुरुष र महिलाले अर्को पक्षबाट विवाहमार्फत अनेक लाभकै प्रयत्न गरेको छ । कतिपय आदिवासीमा शत्रुपक्षलाई जितेपछि तिनका स्त्रीलाई स्वास्नी बनाउने प्रचलन थियो । कतिपय राजा महाराजाले अर्को राज्य जित्दा शत्रुपक्षका सैनिकको सफाया गर्दै तिनका छोरी–श्रीमतीलाई भने श्रीमती र दासदासी बनाउने चलन थियो । यसरी शक्तिशालीले अर्को निर्बल पक्षका मान्छेका स्त्रीहरू जितेर भोग्ने चलन अन्ततः विवाहमा परिणत भएको बुझिन्छ । 

आजका दिनमा एक पति र एक पत्नीको चलन भए पनि इतिहासमा चाहिँ बहुपत्नी र बहुपतिप्रथा थियो । लेखक टिया घोषका अनुसार बाइबल युगका ज्याकोबदेखि राजाहरू डेभिड र सोलोमनका धेरै श्रीमती थिए । पश्चिम सभ्यतामा चर्चको हस्तक्षेपले एक स्त्री र एक पुरुष विवाह परम्परा भएको मानिन्छ । आधुनिक समाजको सुरुवात भएसँगै पूर्वीय सभ्यतामा पनि बिस्तारै सन्तानको लालनपालनका अप्ठ्यारा र स्त्री व्यवस्थापनको कठिनाइसँगै ‘एक स्त्री/पुरुष विवाह’ प्रचलित छ ।

पहिले शक्तिवान पुरुषले जुनसुकै रूपवती स्त्रीलाई हरण गर्ने प्रचलन थियो । पश्चिमी मुलुकमा एक सय वर्षअघिसम्म पनि विवाहका लागि दुवै पक्षको सहमति चाहिन्छ भन्ने चलनै थिएन । नेपालको कुरा गर्ने हो भने पनि मात्र दुई दशक भयो, नत्र केटीको असहमतिविना पर्याप्त विवाह हुन्थ्यो । केटाहरू एक हदसम्म विवाह प्रस्ताव अस्वीकार गर्न सक्थे, तर केटीहरूमा त्यो स्वतन्त्रता थिएन । अब बिहे बलजफ्ती लाद्न सकिने विषय होइन । 

स्वतन्त्रता, लोकतन्त्र अति सहज सञ्चार र यातायातका कारण पल्लो गाउँ र डाँडापारि हुने विवाह अब समुद्रपारिसमेत हुन थाले । यता, विवाह र सम्बन्धसँग सम्बन्धित परिभाषित पवित्रताका कुरासँग मान्छे डराउन छाडेका छन् । जसका कारण आफूलाई मन परेको व्यक्तिसँग सम्बन्ध जोड्ने र बस्न नसकिँदा छुट्टिने भएका छन् । पहिला शास्त्र, आदर्श, नीति–नियम, बल, सम्पत्ति, राज्य र समाजको परिभाषा र पकडमा रहेको सम्बन्ध बिस्तारै खुकुलिँदै छ । विस्तारै प्रेम र विवाह सहअस्तित्वमा आधारित हुन थालेको छ । प्रेम र सम्मान नभए विवाह बाँच्दैन भन्ने अवधारणा बलियो हुँदै छ । पहिले शक्ति, सम्पत्ति, जमिन र कृषि हुँदा बिहे पुरुषकै बलले पनि बाँच्थ्यो, अहिले महिलाले हात छाडिदिँदा पनि विवाह भत्कने संघारमा छ । 

बहुपत्नीप्रथा) र बहुपति प्रथाबाट गुज्रेको मानव समाज हो यो । यसर्थ, यस्तो समाजका एक पति–एक पत्नी सम्बन्धमा वेला–वेला भुइँचालो आउनु स्वाभाविक हो । भुइँचालोबाट बच्न संरचना बलियो बनाएजस्तै सम्बन्धका असहजता बुझेर पहिल्यै जोडीबीच हार्दिकता र समझदारी हुनुपर्छ । कमजोर संरचनामा बनेका सम्बन्ध ढल्नु स्वाभाविक हो । भूकम्पबाट जीर्ण भएको घरमा बस्नुभन्दा नयाँ घर बनाउनु उचित भएजस्तै कुहिएर मक्किँदा पनि बलजफ्ती सम्बन्धलाई घिच्याएर अघि बढाउनु आफैँलाई धोका दिनु हो । उत्सवजस्तो जीवनलाई नरक बनाउनु हो ।