• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सनत रेग्मी काठमाडाैं
२०७६ श्रावण ३२ शनिबार ०८:५९:००
सम्झना

यै त गगनगन्ज हो हजुर !

२०७६ श्रावण ३२ शनिबार ०८:५९:००
सनत रेग्मी काठमाडाैं

बिहान–बिहानै किसुनजीको चिया–नास्तामा आमालाई सघाउन ज्ञानराजजीको घर पुग्दा किसुनजी शुद्ध पहाडिया बाहुनझैँ स्नान गरेर कम्मरमा धोती लपेटेर धाराप्रवाह संस्कृतका श्लोक पाठ गर्दै धोती छाँट्न लागेको देखियो ।

किसुनजी त टिपिकल परम्पराबादी ब्राह्मणझैँ लाग्नुभएको थियो । सोही दिन साँझ किसुनजीको खानपान व्यवस्था गरी फर्कन लागेको वेलामा उहाँले मलाई भन्नुभयो, ‘बाबु सनत, हाम्रो पार्टीमा एकजना महामन्त्री थिए, धनमान सिंह परियार । तिनको संगतमा लागेर बिग्रिएको म । मलाई साँझ पनि नलिई नहुने बानी परेछ । लौन केही उपाय हुनसक्छ कि !’

बिहानको किसुनजीको त्यो रूप र अहिलेको किसुनजीको मागको कुनै तारतम्यै मिलेको थिएन । म जिल्ल परेँ । एकछिन घोरिएर मैले भनंँ, ‘किसुनजी यस विषयमा मेरो ज्ञान छैन । तर, म कोसिस गर्छु ।’ किसुनजीलाई त साँझ रक्सी नभई नहुने रहेछ । म रक्सीको खोजीमा लागेँ ।

कहाँ पाइन्छ होला रक्सी भनेर यसो सम्झँदा याद आयो, मेरा मित्र– मलाई ट्युसन पढाउने मोहनलाल श्रेष्ठको । इन्द्रमणि ‘मानव’ज्यूहरू यदाकदा रक्सी खाने ठाउँ मैयाँसाहेबको भट्टी, जसलाई म मैयाँआमा भन्दथेँ । किनकि म र मेरा बहिनीहरू उनकै हातमा जन्मिएका थियौँ । म मैयाँआमाकहाँ पुगेँ र आफ्नो समस्या भनेँ । मैयाँआमाले भन्नुभयो, ‘मकहाँ त महुवाको लोकल रक्सी मात्र छ । त्यति ठूलो नेतालाई त्यस्तो चिज त दिनुभएन । चोक बजारमा रक्सी पसल छ । त्यहाँ व्रान्डेड रक्सी पाइन्छ, त्यहीँ किनिदेऊ ।’

म चोकबजार पुग्दा पसल बन्द भइसकेको थियो । म रक्सी नखाने मानिस परेँ । ‘कहाँ पाइन्छ होला रक्सी ?’ म चिन्तामग्न थिएँ । झल्याँस्स खेमराजजीलाई सम्झिएँ । खेमराज दाइ रक्सीको सोखिन । उहाँ खस, काजु, स्याउ, केरा आदिको रक्सी घरमै बनाउन लगाएर खानुहुन्थ्यो र गण्यमान्य पाहुनालाई पनि खुवाउनुहुन्थ्यो । उहाँकहाँ त अवश्य पाइन्छ भनेर म उहाँको घर गएँ । उहाँ रेडक्रसको सभापति र म मन्त्री, हाम्रो सुमधुर सम्बन्ध थियो ।

हुन त उहाँ निर्दलीय प्रचार समितिको सभापति र म बहुदल प्रचार समितिको सचिव थियौँ । तर, राजनीतिक विचारले हाम्रो सम्बन्धमा कुनै फरक परेको थिएन । उहाँले मेरो समस्या सुनेर एक बोतल खस र एक बोतल काजुको रक्सी उपहार दिनुभयो र किसुनजीलाई मेरो अभिवादन भन्दिनु पनि भन्नुभयो । 

रक्सी, अलिकति पकौडा, चाट बोकेर ज्ञानराजजीकहाँ पुगेँ । आमालाई थाहा दिनुहुँदैन भनेर काँचको गिलास पनि किनेको थिएँ । ती सबै कुराको व्यवस्थापन गरेर किसुनजीका लागि गिलासमा रक्सी हाल्नेबित्तिकै इलाइचीमिश्रित काजुको बास्नाले कोठा महकियोे ।

किसुनजी खुसी भएर यस्तो ‘दामी चिज कहाँबाट ल्यायौ ?’ भन्नुभयो । मैले भने, ‘निर्दल प्रचार समितिका सभापतिज्यूबाट तपाईंलाई उपहार हो किसुनजी ।’ किसुनजी मुसुक्क हाँसेर भन्नुभयो, ‘वाह ! निर्दलको बहुदललाई उपहार !’ मैले भनेँ, ‘किसुनजी उहाँ रेडक्रसको सभापति, म उहाँको कार्यसमितिको सचिव, माग्ने आँट गरेँ । उहाँले तपाईंलाई अभिवादनसहित उपहारमा दिनुभएको हो ।’

किसुनजीलाई सारै मन परेछ । ‘बढिया माल ल्याएछौँ बाबु’ भन्नुभयो । किसुनजीको तीन दिनको त्यो बसाइमा गगनगन्ज राजनीतिमय भएको थियो । यी सम्पूर्ण इतिहासबीच गगनगन्जलाई गौरवबोध भइरहेको थियो । तर, हामी गगनगन्जवासीलाई गगनगन्जले समयमा दुःखी तुल्याउँथ्यो । 

एकपटक मेरा मित्र लक्ष्मीप्रसाद देवकोटाका भतिजा कुमुद देवकोटा नेपालगन्ज आएका बखत एयरपोर्टबाट मकहाँ आउन भनी रिक्सामा बसेछन् र भनेछन्, ‘गगनगन्ज लिएर हिँड् ।’ रिक्सावालालाले उहाँलाई सोझै गगनगन्जको एउटा कुनामा रहेको रूपबजारमा एउटा वदिनीको घरमा पु-यायो ।

उनी बेस्सरी जंगिए । ‘तँलाई गगनगन्ज लिएर हिँड् भनेको कहाँ लिएर आइस् ?’ रिक्सावालाले भनेछ, ‘यै त गगनगन्ज हो हजुर !’ कुमुदजीको मुखबाट निस्किएछ, ‘हे भगवान् ! यो सनत पनि कस्तो ठाउँमा बस्दो रहेछ ।’ उनको कुरा सुनेर त्यहीँ रहेकी वदिनीले भनिछन्, ‘ए उहाँकहाँ आउनुभएको ? उहाँको घर त पल्लो गल्लीमा पो, यता त होइन ।’

मसँग भएको घटना अन्य कतिपय गगनगन्जवासीलाई परिरहन्थ्यो । त्यसैले उनीहरू चिन्तित थिए । गगनगन्जको एउटा कुना, भगवान् तलाउ र त्यसकै वरिपरि रहेको दुई–चार घर नै गगनगन्ज भैदियो । यसको स्वर्णिम इतिहास, नाम इज्जत कता हरायो कता ! एउटा कुरूप अनुहार पो हुन पुग्यो त गगनगन्ज !

हुनत सामन्ती समाजको संरचनामा सम्भ्रान्त वर्ग विलासी नै हुन्थे । गगनगन्जमा एउटै बादी परिवार नआउँदा पनि नेपालगन्जका विवाह वा ठूलो भोज– भतेरमा नानपारा, बहराइचबाट नर्तकी मगाएर नचाउने प्रचलन नै थियो । गगनगन्जको छेउ भई डिएसपी रोडनेरको एउटा घरमा एकजना वाइजी बसोवास नै गर्थिन् । म १४÷१५ वर्षको हुन्जेलसम्म त्यस घरमा मुजरा हुने गथ्र्याे । ती वाइजीका छोरा ०२५/२६ सालतिर हामीसँग सांस्कृतिक कार्यक्रमहरूमा सँगै हुन्थे ।

उनी कत्थक निकै राम्रो नाच्थे र भन्थे, ‘नृत्य उनले आफ्नी आमाबाट सिकेकी हुन् ।’ ती वाइजी, असाध्यै राम्री थिइन् । तिनको र नानपाराका एकजना सम्भ्रान्त परिवारको युवकबीच प्रेम रहेछ । उनले आफ्नो घरपरिवार सबै छाडेर ती युवकसँग विवाह गरिन् । उनीहरू हाम्रै गगनगन्ज टोल बस्थे । उनको अमर प्रेम नेपालगन्जमा तिनताका निकै चर्चित थियो ।
पछि २००२ सालतिर सल्यानबाट एउटा बादी परिवार गगनगन्जको एउटा घरमा आएर बस्यो ।

घरमै नाचगान गर्ने र दसैँ–तिहारमा ठूलाबडाको घरमा गएर राजा मालश्री गाउने, विवाह आदिमा गएर नाच्ने, गाउने काम गर्थे त्यो बादी परिवार । परिवारमा एउटी छोरी पनि थिइन्, मेरै समवयस्क । केटाकेटीकालमा हामीलाई त्यता जान बन्देज भए पनि हामी खेल्दै–खेल्दै त्यता पुग्थ्यौँ ।

साना नानीहरूले यौन पेसा गरेको थाहा छैन मलाई । पछि मेरो समवयस्क साथीकी सानिमाको परिवार पनि सल्यानबाट आइपुग्यो । दुई परिवार मात्र छँदासम्म गगनगन्जमा बादीहरूले यौन पेसा पनि गर्छन् भन्ने गाइँगुइँ चलेको थिएन । यत्ति मात्र सुनिन्थ्यो– घरमालिकका छोराहरूले उनीहरूलाई रखौटी राखेका छन् । 

बिस्तारै भगवान् तलाउको वरिपरि यौन पेसा गर्न भारतबाट एक/दुई वदिनीहरू र यता सल्यानबाट पनि बादीहरू आएर बस्न थाले र भगवान् तलाउ नेपालगन्जको रेडलाइट एरिया नै घोषित हुन पुग्यो । यो कुष्ठरोगले दुर्गन्ध फैलाउन्जेल यहाँका भद्रभलादमीहरूलाई कुनै चिन्ता भएन । तर, जब गगनगन्ज भन्न पनि लाज लाग्ने स्थिति उत्पन्न भयो, अनि मात्र यहाँका युवा सगबगाए । 

कठिन संघर्षपछि गगनगन्जको त्यो रूपबजार अहिले बन्द भयो । अहिले बादी समुदायका महिला व्यापार, व्यवसाय र जागिरमा रमाएका छन् । गगनगन्जको त्यो दुख्ने घाउ निको भइसकेको छ ।

हुन त बादीहरूलाई यस पेसाबाट विमुख गर्न सभ्य प्रयासहरू भएका थिए । दलित संघ गठन गरेर त्यसमा बादीहरूलाई समेत सदस्य बनाई उनीहरूलाई यस पेसाबाट विमुख बनाउने प्रयास गरियो । सरकारी तवरबाट उनीहरूलाई जग्गा, जमिन दिएर खजुरा, मनकामनापुरमा बसाउने प्रयत्न पनि गरियो, तर कुनै प्रयास सफल हुन सकेन । उनीहरूमा स्वचेतना अभिवृद्धि होस् र उनीहरूलाई समाजले राम्रो व्यवहार गर्छ भन्नाका खातिर बादी टोलमा उनीहरूमाथि नै लेखिएको पुस्तक विमोचन समारोह गरियो । एनजिओ र आइएनजिओमार्फत उनीहरूको जीविकोपार्जनलाई केन्द्रमा राखेर तालिम र कार्यक्रम पनि ल्याइयो, तर यो पेसा बन्द हुन सकेन । 

दलित संघमा काम गर्ने एकजना वदिनी महिलासँग यस विषयमा कुरा गर्दा उनले भनिन्, ‘हजारौँ वर्षदेखि चलिआएको, संसारभरि व्याप्त यो यौन पेसा बन्द गर्छु भन्दैमा हुने रहेनछ । मैले धेरै प्रयत्न गरेँ, तर म नै आफन्तकी दुस्मन भएकी छु । मखुण्डोधारी समाज छ, कसरी हुन्छ सुधार ! समाजका प्रतिष्ठित व्यक्तिहरूले हाम्रा राम्री बहिनीहरूलाई रखौटी राख्ने, हाम्रो सुख, दुःख बुझ्न आएका पत्रकारहरू नै हामीलाई भोग्न खोज्ने सर यस्तै रहेछ यहाँको चलन !’

हुन पनि हो– मेरो अभिन्न मित्र साहित्यकार, पत्रकार, समाजसेवीहरूसमेत एउटा उत्सुकता बोकेर, भगवान् तलाउको फन्को मारेको देखेको हुँ मैले । २०४१ सालमा नेपालगन्जको साहित्य भेलामा आएका थुप्रै साहित्यकार भगवान् तलाउको रूपबजार परिक्रमा गरेर गएको कुरा मलाई त्यहीँकै एक महिलाले बताएकी थिइन् ।

सभ्य र सालिन सबै प्रयत्न व्यर्थ भएपछि गगनगन्जका युवाले त्यहाँ आउने ग्राहकलाई पिटपाट गर्ने, नाका–नाकामा चौकीदारी गर्न थाले । त्यसपछि पुलिस र युवाहरूबीच झडप पनि भए र निकै कठिन संघर्षपछि गगनगन्जको त्यो रूपबजार अहिले बन्द भयो । अहिले बादी समुदायका महिला व्यापार, व्यवसाय र जागिरमा रमाएका छन् । गगनगन्जको त्यो दुख्ने घाउ निको भइसकेको छ । 

तर, त्यहाँको आकर्षक बगैँचाभित्रको मन्दिर–भगवान् तलाउ अतिक्रमण हुँदै, साघुरिँदै र कुरूप हुँदै गएको छ । अब कसैले ‘म गगनगन्ज बासिन्दा हुँ’ भन्न लाज मान्नुपर्दैन । गगनगन्जको ‘रूपबजार’ र त्यसविषयमा गरिएको चिन्ताको विषय–वस्तुमा मैले कथा पनि लेखेको छु– ‘रूपबजार’ र ‘चिन्ता’ । यी दुई कथा पढ्न पनि पाठकलाई यसै लेखमार्फत आग्रह गर्छु ।