• वि.सं २०७६ असोज ५ आइतबार
  • Sunday, 22 September, 2019

हृदयाघात हुन सक्छ गाँजाले

२०७६ श्रावण ३२ शनिबार ०९:२०:०० | काठमाडाैं

विश्वका केही देश घुमेँ । तर, ती देश नेपालजस्तो बिन्दास देखिनँ । नेपालका सार्वजनिक यातायात तथा लामो दूरीको मालवाहक गाडीमा सायद विभिन्न देवीदेवताका अनुहारपछि विश्वप्रसिद्ध खेलाडी बब मार्ली एवं गाँजाका बोटका लोगो पनि प्रशस्तै देख्न पाइन्छ ।

रेग्गी गायक जमैकन बब मार्लीले रमाइलोका लागि नभई धार्मिक तथा औषधिका रूपमा ध्यान र साधनामा केन्द्रित हुन गाँजा सेवन गरेको दाबी गरेका छन् । त्यसो त ‘जी’ भनेर पनि चिनिने शिवबुटीमध्ये एक गाँजा मनोद्विपकका रूपमा अधिक प्रयोग गरिन्छ । त्यसैले कुनै जमानामा शिवको देशमा यही बुटी निर्धक्क सेवन गर्न हिप्पी ओइरिएका थिए पाशुपत नेपालमा । गाँजा सेवनले मानसिक एवं भौतिक प्रभाव पार्छ भने यसको सेवनपछि सेवनकर्ताको भोक बढाउँछ । 

धुवाँका रूपमा गाँजा सेवन गरेको केही मिनेटमै असर देखिन थाल्छ भने खाद्यपदार्थका रूपमा गाँजा खाएको आधा घन्टादेखि एक घन्टामा असर देखिन्छ । धुवाँ वा खाद्य पदार्थसँग गाँजा सेवन गरेको दुईदेखि ६ घन्टासम्म प्रभाव रहन्छ । गाँजा सेवनले अल्पकालीन रूपमा स्मरण शक्ति हराउने, मुख सुक्खा हुने, औँला हात–खुट्टा चलाउने क्षमता (मोटर स्किल) खल्बलिने, आँखा रातो हुने, आफूमाथि जानाजानी कसैले हानि पु-याउन लागेको वा षड्यन्त्र गर्न लागेको भ्रम एवं शंका पाल्ने (पारानोइया विकसित हुने), चिन्तित हुने वा डराउने समस्या देखा पर्छ । गाँजाको दीर्घकालीन असरमा लत बस्ने, मानसिक क्षमतामा कमी आउने, सानै उमेरदेखि गाँजा सेवन गर्ने तथा गर्भावस्थामा गाँजा सेवन गर्नाले व्यवहारजन्य समस्या देखापर्ने हुन्छ । गाँजा सेवन र गम्भीर मानसिक समस्या (साइकोसिस) बीच प्रत्यक्ष सम्बन्ध छ । 

धेरैजसोले आनन्द लिने उद्देश्यले गाँजा सेवन गर्ने गरे पनि सन् २०१३ मा १५ देखि ६५ वर्षका करिब २३ करोड अमेरिकनले गाँजा सेवन गरेको आँकलन छ । विश्वका अधिकांश गाँजा सेवन गैरकानुनी नै भए पनि तथा यसलाई लागुपदार्थकै रूपमा लिइए पनि सन् २०१८ को तथ्यांकअनुसार जाम्बिया, अमेरिका, क्यानडा तथा नाइजेरियामा अधिक गाँजा सेवन गरेको पाइयो । विश्वास नलाग्ला सन् २०१५ मा गरिएको एक अध्ययनअनुसार करिब ५१ प्रतिशत अमेरिकीले आफ्नो जीवनमा एकपटक गाँजा सेवन गरेको पाइयो । त्यसमध्ये करिब १२ प्रतिशत अमेरिकीले अनुसन्धान हुनु अघिल्लो वर्षभित्र र ७ प्रतिशत अमेरिकीले त गत महिनाभित्र गाँजा सेवन गरेको देखियो ।

गाँजालाई औषधिका रूपमा क्यान्सरविरुद्ध चलाउने केमोको कारण हुने वाकवाकी एवं उल्टी कम गर्न, एचआइभी तथा एड्सबाट प्रभावितमा भोक जगाउन, जीर्ण खालको दुखाइ तथा मांसपेशीको पीडा कम गर्न प्रयोग गर्न सकिन्छ । गाँजालाई लागुपदार्थ वर्गमा राखिएका कारण औषधिका रूपमा गाँजा सेवनको सुरक्षा र प्रभाव विस्तृतमा अध्ययन हुन पाएको छैन । मनोद्विपकका रूपमा नभई औषधिका रूपमा गाँजा प्रयोग गर्दा गाँजाका साइड इफेक्टमा रिँगटा, थकान, उल्टी तथा लामो समय प्रयोग गर्दा स्मरण शक्तिको क्षय हुने र यसको लत नै बस्ने हुन्छ । 

मनोद्विपकका रूपमा गाँजाको सेवनले रिल्याक्स (हाइसन्चो) महसुस गर्ने, एक्कासि उत्तेजित अर्थात् अधिक उत्साहित हुने, होसहवास खल्बलिने, बढ्ता चनाखो हुने, यौन चाहना बढ्ने, समय एवं स्थान विशेषको हेक्का नहुने हुन्छ । तर, यसको मात्रा अधिक भयो भने गाँजा सेवनकर्ताले अन्य मानिसको शारीरिक बनावट फरक देख्ने, ध्वनि तथा दृष्टि भ्रम हुने तथा लामो समयसम्मको गाँजा सेवनले सेवनकर्ताको दैनिकीको गुणस्तर घट्ने हुन्छ ।

कतिपय धर्ममा गाँजालाई पवित्र तत्वका  रूपमा लिइन्छ । गाँजाबारे अथर्व वेदमा पनि उल्लेख भएको पाइन्छ । धुवाँ, बाफ (भेपोराइज), खानामा मिसाएर,चिया, झोल एवं क्याप्सुलका रूपमा प्रयोग गरिने मनोद्विपक गाँजाले सोच्ने तथा निर्णय लिने क्षमतामा कमी ल्याउने हुनाले सडक दुर्घटनाको जोखिम ३ देखि ७ गुणाले बढी हुन्छ । ट्राफिक प्रहरीले मादक पदार्थ सेवनपछिको सवारीमा कडाइपछि ट्रिपर तथा रात्रि बसचालकले गाँजा सेवन गर्ने गरेको आशंका छ, तर आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ । अहिले भइरहेको सडक दुर्घटनामा वृद्धिमा कतै गाँजा सेवनको भूमिका त छैन, अध्ययन अनुसन्धान गर्ने वेला भएको छ ।

एकपटकको गाँजा सेवनपछि हप्तौँसम्म रगतमा गाँजाको मात्रा रहिरहन्छ । दीर्घकालीन रूपमा गाँजा सेवनले भौतिक, मानसिक, व्यवहारजन्य एवं सामाजिक स्वास्थ्यमा प्रतिकूल परिणाम ल्याउँछ । यसको सेवनले कलेजो (मुख्यतः हेपाटाइटिस सी), फोक्सो, मुटु, रक्तनलीसम्बन्धी समस्या ल्याउँछ । गर्भवती महिलाले गाँजा सेवन पूर्णतः निषेध गर्नुपर्छ । यसको सेवनले आमा र बच्चा दुवैमा नकारात्मक असर पुग्छ । 

छोटो समयका लागि गाँजा प्रयोग गर्दा त श्वासनली खुकुलो पार्ने अर्थात् श्वासनली फुलाएर सास फेर्न सजिलो पार्ने भए पनि लामो समयसम्म र धेरै मात्रामा गाँजा सेवन गर्नाले खोकी लाग्ने, बाक्लो खकार आउने, स्वाँ–स्वाँ बढ्ने, जीर्ण खालको ब्रोङ्काइटिस हुने समस्या हुन्छ । सुर्तीमा पाइने टार गाँजामा पनि हुने तथा गाँजाको धुवाँ धूम्रपानमा भन्दा बढी गहिराइसम्म पुग्ने हुन्छ । गाँजाको सेवनले क्यान्सर गराउने, नगराउने त्यति प्रस्ट नभए पनि गाँजामा पाइने अर्गानिक तथा ननअर्गानिक तत्वकाे कारण कतिपय अनुसन्धानले अण्डकोषको क्यान्सर हुने तथा कतै–कतै फोक्सोको क्यान्सर हुन सक्ने देखाएको छ । यसको सेवनले धमनीको सुजन हुन्छ । 

गाँजा सेवनलगत्तै सेवनकर्ताको मुटुको चाल बढ्छ । एक घन्टाभित्र सेवनकर्ताको हृदयाघात हुने सम्भावना पाँच गुणाले बढ्छ । प्रायः सुर्ती, धूम्रपान, रक्सी तथा कोकेनसँग गाँजा सेवन गरिने हुनाले बिगार धेरै गर्छ । यसको जथाभावी सेवनले हृदयाघात, मस्तिष्काघात, एक्कासि मुटुको मृत्यु हुने तथा मुटु फुल्ने समस्या हुन सक्छ । 


 

प्रतिकृया दिनुहोस