• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अभि सुवेदी काठमाडाैं
२०७६ श्रावण ३२ शनिबार ०९:२९:००
साहित्य

गाँजा निबन्ध

२०७६ श्रावण ३२ शनिबार ०९:२९:००
अभि सुवेदी काठमाडाैं

मेरो र गाँजाको कथाको अन्तर्य अनौठो छ । यो विरोधाभासपूर्ण छ । भाषाले राम्ररी यथार्थको चित्रण गर्न नसक्ने हुनाले त्यसलाई बुझ्न अरू कुराको सहारा लिनुपर्छ भन्ने हिजो र आजका विद्वान्का लेख–रचना पनि पढिआएको छु । यो कुरा गाँजा खाने मेरा दुईजना दार्शनिक र राजनीतिक चिन्ता भएका दाजुहरू जयप्रसाद (१९७७–०५४) र लयप्रसाद(१९८७–०७३) देखि फ्रान्सेली दार्शनिक मिसेल फुको (सन् १९२६–१९८४) अनि पछि हिप्पी आन्दोलन र त्योसँग जोडिएका अमेरिकी बिट कविहरूका गफ र कवितामा दोहोरिएको सुनेको र पढेको छु ।

मलाई यत्ति भन्न मन लागेको छ, मैले भाषा यथार्थको चित्रण गर्न अपर्याप्त छ, त्यसैले योभन्दा माथि उठाउने वा उडाउने कुरा सेवन गर्नुपर्छ भन्ने कहिल्यै ठानिनँ । यथार्थ जति बुझ्छु, मलाई त्यसैले पुग्छ । पुगेनछ भने कविता र कलाको सहारा लिन्छु, यथार्थ यसै तरल, सलिल र जीवन्त हुन्छ । मैले भन्न लागेको कुरा मेरो यो गाँजा निबन्धबाट केही खुला कि भन्ने आशा गरेको छु । त्यसैले यो लेखको शीर्षक नै ‘गाँजा निबन्ध’ राखेको छु । 

मैले गाँजा कहिल्यै नखाए पनि यसले मलाई कहिल्यै छाडेन । यो मेरो चेतनाका आकाशमा उठ्यो, मेरो तेह्रथुम साबलाको घरका दलानमा उड्यो । मैले पढेर बस्ने साना कोठामा यो कुइरिमण्डल भएर उड्यो । यो विरोधाभास कसरी भयो ? यसको कथा भन्न मलाई धेरै चाहना नभएको होइन, अनि यो पटक–पटक भनेको अनि लेखेको पनि छु । तर, सीधै लेखेको छैन । कुरा यस्तो छ । 

म सानो छँदा । धुवाँमा पनि अलिक अनौठो र अलिक गन्ध भएको धुवाँ यही गाँजा थियो । माथि भनेका दाजुद्वय सहोदर दाजु लयप्रसाद र ‘कजिन्’ दाजु जयप्रसाद गाँजा नित्यजस्तो सेवन गर्थे । पहाडको घरमा अलग–अलग कोठाहरू हुँदैनथे । पहाडी घरको वास्तु लगभग सबैको उस्तै हुन्थ्यो । मलाई लाग्छ, अहिले पनि त्यही वास्तुशैली छ, पहाडका घरहरूको । मधेसका घरको कथा अलिक फरकजस्तो लाग्छ । दाजुद्वय गाँजा सितिमिती खाँदैनथे । ती गाँजासँग विचार लिएर बस्थे । जीवन र जगत्का छलफल गरेर बस्थे ।

रामचन्द्र गुरागाईं पुराण भन्थे । ती पनि गाँजासेवनमा बसेको थाहा छ । पछि रामचन्द्रले गाँजाको सेवन गरिसकेपछि कासीमा गंगामा जलसमाधि गरेको कुरा सुनेको थिएँ । रामचन्द्र गुरागाईं र साहिँला पुरेत काफ्ले  आएपछि गाँजाले पूरै दार्शनिक विषय उठाउँथ्यो । उनीहरूका विषय द्वैतवाद र अद्वैतवादमाथि हुन्थे । अद्वैतवादी रामचन्द्रमाथि ‘ए द्वतभावी !’ भनेर साहिँला पुरेत आक्रामक भएका थिए ।

जति–जति गाँजा लाग्दै जान्थ्यो, त्यति–त्यति उनीहरूका निष्कर्ष सहज र उडन्ते हुँदै जान्थे । त्यो वरिपरिको हराभरा धरती स्वर्ग हुन्थ्यो । त्यो ठाउँमा दुःखले जीवन धान्ने मानिसभन्दा सुखी उनीहरूका आँखामा कोही हुँदैनथ्यो । तर, यथार्थ अर्को थियो । मानिसका जीवन सहज थिएनन् । विपन्न किसानको जीवन झन् कठोर थियो ।

बादलहरू खोरुङ्गा खोलाबाट उठेर माथि आकाशतिर जानु र दाजुद्वयले पिएको गाँजाको धुवाँमा एक प्रकारले त्यही भूगोल र मनको सम्बन्ध बनिनु एउटा असाधारण काव्यिक दार्शनिक विषय थियो । जुन मैले धेरै वर्षपछि सन् साठीका अन्तिम वर्षतिर काठमाडाैंमा गाँजाधारी हिप्पी मनुवाहरूका काठमाडाैं सहरका चिसा गुफा र स्वयम्भूका घरहरूका साँगुरा कोठामा देखेँ । अलिक पछाडि चर्चा गरेको छु । 

म बिस्तारै दाजुद्वयका कुराले तानिँदै गएँ । कुरा बुझ्दैनथेँ तर मलाई केही न केही कुराले खिचिबस्थ्यो । उनीहरूले कुइरिमण्डल पारेका धुवाँले मलाई चक्कर लाग्थ्यो । अनि पछि–पछि उनीहरू जहाँ जान्थे, म त्यहाँ खोजी–खोजी जान थालेँ । पछि बुझ्दा  गाँजाको नशाले तानेको रहेछ । आमाले थाहा पाइहाल्नुभयो, नभए परिणाम निकै जटिल हुने थियो भन्ने पछि थाहा पाएपछि लागेको हो । तर, पनि गाँजाबाट पूरै टाढा भने कहिल्यै रहिनँ । दाजुद्वयका गाँजासँग जोडिएका जीवनकथा छन् । 

गाँजाले मलाई बालककालदेखि पछिसम्म कहिल्यै छाडेन ।यो सानो निबन्ध त्यही धूम्रस्मृति कलेवरको एउटा सानो अंश हो ।

जयप्रसाद सुवेदी त्यो भेकमा राणा शासनका अन्तिम दशकतिर कांग्रेसमा लागे । त्यसैले उनी समातिएर धनकुटा जेलमा राखिए । त्यहाँ उनले गाँजाको प्रयोग गरेर सँगै थुनिएका कांग्रेस साथीलाई भगाएको प्रसङ्ग रोचक र ऐतिहासिक छ । मैले जयप्रसादमाथि लेखेको अनि इटहरीमा प्रकाशित एउटा अहिले नाम बिर्सेको किताबबाट यी हरफहरू उद्धरण गर्छु :
‘जयप्रसाद सुवेदी धन्कुटा जेलमा बसेका वेला यिनीसँँग अर्का एकजना विष्णुप्रसाद कोइराला भन्ने मानिस पनि सँगै थिए । ती दुवै कांग्रेस पार्टीका मानिस थिए । ती विष्णुप्रसाद कोइराला साहित्यकार श्रीमती भुवन ढुङ्गानाका पिता रहेछन् ।

सूर्य सुवेदीले साहित्यकारहरूका अन्तर्वार्ताको बृहत् किताब तयार पार्ने क्रममा भुवनसँगको अन्तर्वार्तामा सोधेका यी तलका हरफ मलाई ऐतिहासिक  महत्वका छन् । यो सूर्य सुवेदीको लेख रचना १०६ अङ्कमा प्रकाशित भएको छ । सूर्य लेख्छन्, ‘गिरिजाप्रसाद कोइराला २०५० सालमा प्रधानमन्त्रीको रूपमा तेह्रथुम गएका वेला ‘मेरा जेलका साथी विष्णुप्रसाद कोइरालाको हालखबर के छ भनेर काका (जयप्रसाद) ले सोध्दा गिरिजाप्रसादले नाताले उहाँ मेरो काका हो । तर, २००७ सालको अन्त्यतिर नै उहाँ दिवंगत हुनुभयो भन्नुभयो ।

जयप्रसाद काका त्यसपछि निकै स्तब्ध हुनुभयो ।’ विष्णुप्रसाद कोइराला जेलबाट पालेलाई छक्याएर भागेको कथा गाँजासँग जोडिएको कुरा मलाई जयप्रसादले भनेका थिए । जयप्रसादलाई त्यहाँ पनि गाँजा खाने मौका मिलेको कुरा चाखलाग्दो छ । विष्णुप्रसाद र जयप्रसादले सल्लाह गरेर पालेहरूलाई टन्न गाँजा तान्न लाएछन् । पाले गाँजाले मस्त भएपछि भाग्ने सल्लाह भएछ । जयप्रसादले भनेछन्, ‘तिमी भाग, म यहीँ बस्छु ।’ विष्णुप्रसाद हातको सिक्रीसहित नै तमोर नदीमा राति नै गएर हाम फालेर पौडिँदै पार भएछन् । लाग्छ, उनले गाँजा खाएका थिएनन् । अनि सिक्री भए पनि हात बाँधिएका थिएनन् ।

जयप्रसादले इटहरीको झोडामा जीवन आरम्भ गर्दा गाँजाको सहारा लिए । उनले भनेअनुसार, उनले चितुवालाई लल्कार्नुदेखि लिएर अनेकौँ समस्यासँग जुध्ने कर्ममा उनको मित्र गाँजा थियो । उनको कथा र उनका कुरा सुन्दा सर्भेन्तिस्को उपन्यास ‘डन् क्योहोटी’को मलाई कहिलेकाहीँ याद आउँथ्यो । तर, उनले आफ्ना  प्रजातान्त्रिक आदर्शको रक्षा गर्न कहिल्यै छाडेनन्, अनि गाँजा पनि कहिल्यै छाडेनन् । कर्म र गाँजाको यो परिवारभित्रको अनि दाजुहरूको कथा सुनाउ“दा मेरा केही हिप्पी मित्रहरू चकित भएका थिए । तर, चकित नहुनेमा म थिएँ, र सधैँ रहेँ । 

दाजु लयप्रसाद गाँजाबाट सायद एक्ला र टाढा भए । उनले पनि राजनीति र खेती कर्म गरे । तर, मलाई लाग्छ, गाँजालाई उनले कहिल्यै समस्या मानेनन् र त्यसको कारणले उनलाई कुनै समस्या भएको पनि थाहा भएन । पछि गाँजा भनेपछि ल्याङफ्याङ् भएर जिउ छाड्ने हिप्पी मित्रहरूलाई मैले भनेको थिएँ, ‘तिमीहरूले गाँजा लिएर कल्ट बनाएका छौ । तिमीहरू सायद आफ्नै नियन्त्रण गुमाउनुमा गर्व गर्छौ ।’ यो कुरा बुझाउने एउटा वाचाल घटना सुनाउन चाहन्छु । पछि काठमाडौंमा सन् १९६७ मा कीर्तिपुरमा अंग्रेजीमा एमए पढ्न थालेपछि मैले हिप्पीहरूलाई भेटेको हुँ । कथा भन्छु । मेरा मित्रहरू खासगरी कविहरू थिए । 

एक दिन इन्द्रचोकको हिप्पीहरूले भाडामा लिएको तेस्रो तलाको ठूलो कोठामा कविगोष्ठीको आयोजना गरियो । त्यसमा घरि स्वयम्भू, घरि यता गरेर म उनीहरूसँग खुब कुदेको थिएँ । मेरो एउटा स्याखिने साइकल थियो । ट्राफिक नभएको काठमाडौंमा त्यसमा एकैछिनमा जहाँ पनि पुग्थेँ । गोष्ठीमा ३ कि ४ जना मुख्य कवि मानिएका मित्रहरू थिएनन् । एकजना आयोजक कविले भन्यो, ‘अभि, मलाई थाहा छ, ती पशुपतिमा गाँजा खाने भनेर गएका छन्, सायद कुनै साधुकोमा छन् ती । तिमी गएर आधा घन्टामा तिनलाई ल्यायौ भने ठूलो काम हुनेछ ।’

म साइकलमा गएँ । पशुपतिमा गएर चारैतिर खोजेँ । अनेकथरिका बाबाहरू थिए, त्यो वेला । सायद शिवरात्रि भर्खरै सकिएको थियो । लिङ्गमा साइको घडी बाँध्नेदेखि लिएर अनेक थरिका नाङ्गा बाबाहरू पनि थिए त्यहाँ । मैले ती हिप्पी भनिने मित्रहरूलाई मन्दिरको उत्तापट्टिको एउटा धुनीको माहोलमा एउटा भयानक बाबाको वरिपरि रुन्चे मुख लाएर बसेका भेटेँ ।

बाबा झिलिक्क आगो बालेर गाँजा खाएपछि यिनीहरूतिर पनि यसो बढाउन खोज्दा रहेछन् । यिनीहरू सबैजना हारेका मानिसजस्ता एक–अर्कालाई हेर्दा रहेछन् । मैले तुरुन्तै बुझेँ । यिनीहरूले गाँजा खानुलाई विद्रोह वा आज भनिने रेजिस्टेन्सको रूपमा लिएका रहेछन् । त्यो विद्रोहको गाँजालाई यिनीहरूले जीवन दर्शन मात्र होइन, प्रतिरोधको रूपमा लिएर आएका रहेछन् ।

यी खरानीले लेपित सुडौल देह भएका साधुकोमा पुगेर उनले खसेको ताराजस्ता झिल्काहरू उडाउँदै आकाशतिर धुवाँका धूमकेतु उडाएको देखेर यी मेरा मित्रहरू हारेर मूर्तिवत् भएका रहेछन् । मलाई देखेर झस्केका उनीहरूलाई उठाएर निकालेपछि मलाई गाँजाको एउटा अर्को आयामबारे थाहा भएको थियो ।

इन्द्रचोकको त्यो कोठा गाँजाको धुवाँले आच्छादित भयो । अत्यन्त जीवन्त कविताहरू गाँजाको धूवाँसँगै शब्दहरू लिएर उठे । मेरो कर्म त्यहाँ दोहोरियो । दाजुहरूले गाँजा खाएका माहोलमा चलेका अद्वैत र द्वैतवादका छलफलको हल्लाभित्र म जसरी गाँजाको धुवाँमा रुमल्लिन्थेँ, यी हिप्पी मित्रहरूका गोष्ठीहरूमा गाँजा नखाने म त्यसरी नै धूम्रवेष्टित हुन्थेँ । त्यसरी धुवाँ निलिन्थ्यो, त्यसरी नै खोक्थेँ । तर, मैले अहिलेसम्म बुझ्न नसकेको कुरा यस्तो छ– ज्ञान वा कविताका निम्ति वा दर्शनका निम्ति मैले गाँजाको धूम्र आच्छादित थलोहरूमा किन बाँधिनुपरेको थियो ?

म त्यस्ता ठाउँहरूमा गाँजाको मोहले जाँदैनथेँ । अर्कै मोहले जान्थेँ । यो गाँजीय अस्तित्ववाद थियो, जुन बालककालदेखि वयस्क अवस्थासम्म अनि साधारण स्कुलको शिक्षादेखि पश्चिमी साहित्यको उच्चशिक्षासम्म फैलिएको थियो । म यसलाई सन्जोग मानेर बसेको छु । तर, यो मेरो गाँजा अस्तित्ववादले मेरो वय लगभग सबै छोएको छ । 

मलाई खासगरी हिप्पी मित्रहरूसँग गाँजाले वेष्टित गरेका केही सम्झनामा ठमेलको उत्से भन्ने रेस्टुराँ थियो । तिब्बती मूलकी एक महान् दिदी र उनका पतिले चलाएको त्यो सानो रेस्टुराँ भुइँतले थियो । भित्तामा मान्द्रा ठोकेर न्यानो पारेको त्यसमा साना–साना खण्ड थिए । त्यो वेला मलाई लाग्छ, लगभग हिप्पीहरू र अरू विदेशी पनि त्यहाँ खाना खान आउँथे । भित्र पसेपछि गाँजाको धुवाँले आच्छादित त्यो ठाउँमा मानिसहरू चिन्न सकिँदैनथ्यो । मेरो प्यासिभ गाँजाधारीको वेष्टित अवस्था त्यहाँ निकै जटिल हुन्थ्यो । त्यहीँ ‘फ्लो’ पत्रिका, उड्स्टक संगीत, बिट कविताहरू र बब् डिलनका कुरा हुन्थे । एक दिन म धुवाँ खप्न नसकेर उल्टी भएर भागेको थिए“ । त्यस दिन मलाई यति हाँस उठेको थियो कि म अनाहक अनियन्त्रित हाँसेको थिएँ । 

त्यसपछि मित्रहरूले बिजेश्वरीमा एउटा ठूलो घर भाडामा लिए । अब झोंछे र उत्सेका रेस्टुराँका साना कोठाभन्दा अलिक धुवाँ नबारिने ठूलो कोठा भएकाले सजिलो भएको थियो । निकै काम गरेँ, त्यहाँ । मेरा अर्का अग्ला मित्र, एउटा प्रसिद्ध ब्यान्डका पहिलेका ड्रमर र कवि एङ्गस मक्लिस उतै स्वयम्भूमा बस्थे । उनकी श्रीमती र सानी छोरी दुवैजना तिब्बती भिक्षुणीको जामा परिधान लाउँथे ।

एङ्गसले ‘क्लाउड डक्ट्रिन्’ शीर्षकको सानो कविता–संग्रह नेपाली पहाडे कागतमा निकाले । ती राम्रा कवि थिए र गोष्ठीहरू सबैमा नआए पनि ती कहिलेकहीँ आएर कविता पढ्थे । उनी पनि गाँजासेवी थिए । सम्झना झन्, तर यहाँ प्रसङ्ग मिल्दैन भन्नलाई । मेरो कथा गाँजाको भएकाले त्यसैमा सीमित हुन्छु । 

त्यो वेला असनभित्र क्याबिन रेस्टुराँ थियो । त्यहाँबाट उठेको गाँजाको धुवाँ असनको बाहिर बाटोको आकाशमा पनि उडेर आइपुग्थ्यो । अरूतिर पनि त्यस्तै थियो । ग्लिंका, उनकी मित्राणी फियोना र अरू मित्रहरूले नेपाल छाडे । गाँजाको स्वतन्त्र प्रयोगमा सरकारले प्रतिबन्ध लगायो । यो सन् १९६९ सुरुतिरको कुराजस्तो लाग्छ । ग्लिंकाले अरूसरह कपाल काटेर, राम्रा लुगा लगाएर मन्त्रालयमा रिपोर्ट गर्न जानुप-यो । लुगाको कसै गरेर व्यवस्था मिलायौँ । तर, गाँजा प्रतिबन्धित अनि सरकारी आँखा लागेको अवस्थामा नेपालमा जुन चाहनाले आइयो, त्यो अब रहेन, ग्लिंकाको निष्कर्ष थियो । जानैपर्ने भयो । कथा धेरै छ । 

ज्ञान वा कविताका निम्ति वा दर्शनका निम्ति मैले गाँजाको धूम्र आच्छादित थलोहरूमा किन बाँधिनुपरेको थियो ? म त्यस्ता ठाउँमा गाँजाको मोहले जाँदैनथेँ । अर्कै मोहले जान्थेँ । यो गाँजीय अस्तित्ववाद थियो । 

साथीहरूको खास उद्देश्य गाँजा मात्र थिएन । तर, नेपालमा त्यो निर्बन्ध पाइन्छ भन्ने कुराले उनीहरूलाई नेपाल, खास गरेर काठमाडौं अर्को सांग्रिला लाग्नु स्वाभाविक थियो । काठमाडौं यात्राहरूको अन्त थिएन, तर पश्चिमी खासगरी अमेरिकी पुँजीवाद र साम्राज्यवादी नीतिको अन्तर्यबाटै विरोध गर्ने युवाहरू आफ्ना बाबुआमाका वैभव र धन छाडेर जुन मुक्तिको खोजीमा आएका थिए, त्यसको आकार प्रस्ट थिएन ।

एलएसडी उनीहरूको बलियो प्रयोग थियो, तर पछि गएर धेरैले गाँजालाई सहज र कठोर यथार्थमाथि उठ्न काम लाग्ने वस्तु मानेका थिए । कविगोष्ठीहरूमा शान्त, घना केश र दारी पालेका एकथरि युवाहरू आउँथे र एक शब्द पनि नबोली, अलिक एलेन गिन्सबर्ग किसिमको, अनि मन्त्रजस्तो पढिएको कविता छ भने आ“खा चिम्लिएर सुन्थे ।

बीच–बीचमा गाँजा तानेर धुवाँको मुस्लो निर्बन्ध कोठाको सानो आकाशमा छोडिदिन्थे । यसरी आउनेमध्ये दुईजना युवकलाई म खुब चाख दिएर हेर्थें । एकजना खुट्टा खोच्याउँथे । अनि अर्काेको एउटा हात बिग्रेको थियो । म उनीहरूसँग साधारण कुरा गर्थें । तर, ती धेरै बोल्दैनथे । दुवै अमेरिकी युवा थिए । एकजनाले शंका गरेअनुसार, तिनीहरू भियतनाम युद्धमा परेर बाहिर जान पाएका हुन् । जान्ने मेरो कुनै आधार थिएन । तर, मैले ती दुईलाई एउटा नाटकका पात्र बनाएर लेखेको छु । मञ्चन भएको छैन । अलिक चित्त बुझेको छैन पाठबाट । 

लगभग सबैजसो मित्रहरू फर्किए । तर, एकजना अत्यन्त तेजिला, कालो दारी भएका, कानमा मुन्द्रा लगाएका अनि ग्लास वा ऐनामा फोटो प्रिन्टहरू बनाएर आफ्नी मित्राणी जर्मन अभिनेत्री पेत्रा भोसँग काठमाडाैंको ढोकाटोलको एक गुर्जुको घरको एउटा खण्ड भाडामा लिएर बस्थे । तिनको विषयमा पहिले पनि लेखेको छु । तर, यहाँ गाँजाको प्रसङ्ग परेको हुनाले एकाध कुराहरू फेरि सम्झिन्छु ।

आइराको डेरामा म विनाकुनै सूचना जान्थेँ । त्यो वेला फोनको व्यवस्था नभएको हुनाले भेट्न जाने भनेको त्यस्तै थियो । तर, उनीहरू अक्सर म गएको वेला फ्ल्याट्मा नै भेटिन्थे । यिनीहरू हिप्पी संस्कृतिभित्रका टिपटप मानिन्थे । त्यसो त आइरा फरक देखिन चाहन्थे । एक दिन एउटा मुद्रामा भेटेँ आइरालाई । गाँजा प्रतिबन्ध लागेकोमा ती अत्यन्त रुष्ट थिए ।

उनले नेपाल सरकारको असंवेदनशीलता यत्ति कुरामा मात्र देखेका थिए । ‘यो देशले गाँजाजस्तो देशको रक्षक वस्तुलाई अमेरिकी साम्राज्यवादी, पुँजीपतिका कुरा सुनेर प्रतिबन्ध लाउनु नहुने थियो,’ उनले भने । उनले अमेरिकाले भियतनाममा गरेको अतिक्रमणदेखि लिएर सत्रौँ शताब्दीको अमेरिकाको सालेमको बोक्सीमारा अभियानलाई लिएर आर्थर मिलरले म्याक्कार्थी नीतिको देब्रे मानिनेहरूलाई त्यसैगरी खेदेको विषयलाई व्यंग्य गरेर लेखेको नाटक ‘क्रुसिबल्’(सन् १९५३) र त्यो लेखेबापत उनलाई अमेरिकी कंग्रेसले हाजिर गराएर बयान लिएका कुराको पनि प्रसङ्ग निकाले ।

गाँजा प्रतिबन्ध लागेपछिका दिनमा अलिक पछिसम्म काठमाडाैंमा बस्ने तिनै आइरा कोहेन थिए । पछि सिंहदरबार जलेको विषयमाथि अनौठो शीर्षक राखेर आइराले कविता लेखे । त्यसमा उनले सरकारले गाँजा प्रतिबन्ध लगाउनु र सिंहदरबार जल्नुको सम्बन्ध देखेको कुरा लेखे । 

आइराले सन् १९७४ मा काठमाडौंमा गाँजाको अन्तिम सुल्पा ताने, अनि अमेरिका घरतिर लागे । अन्तिमतिर भेट्दा उनमा निराशा थियो । तर, कहिले जाने तिनले भनेको सम्झना छैन । तिनले बिट कवि ग्रेगोरी कोर्सोले छाडेको कविता नेपाली कागतमा प्रकाशित गरिरहेको कुरा भनेका थिए ।

ग्रेगोरी कोर्सो पनि नेपाल आएका थिए कि थिएनन् भनेर मैले उलाई सोध्न बिर्सें । अनि मैले त्यो उनले छापेको कविता पनि पाउन सकिनँ । पछि आइराको कविता संकलनमा एउटा सिंहदरबार जलेको विषयको कविता भेटेँ । त्यसमा उनले लेखेका हरफ नेपालीमा उद्धरण गर्छु । सिंहदरबारको आगो ९ जुलाई १९७३ मा लागेको थियो । आइराले कवि एलेन गिन्सवर्गलाई समर्पण भनेर लेखिएको ‘सिंहदरबारमा लागेको आगो’ शीर्षकको कवितामा यस्ता हरफ लेखेका छन् :
गाँजा प्रयोग गर्न पाउने लाइसेन्स
खारिज गर्ने घोषणा हुनुभन्दा
एक हप्ताअघि नै लागेको 
यो आगो
शिवजीले पठाएको दण्ड हो

हिप्पीहरूमाथिको किताब ‘फार आउट’(सन् २०१७, भर्खरै यो किताब नेपालमा मार्टिन चौतारीले सस्तो गरी फेरि छापेको छ) मा अध्यायहरू लेख्ने मित्र प्राध्यापक मार्टिन लिट्टेले मलाई अमेरिकाबाट लेखे, ‘तिमीलाई सायद थाहा छैन होला, तिम्रा मित्र आइरा कोहेनको २५ अप्रिल २०११ मा मृत्यु भएको छ ।’

सन् १९७० मा मात्र काठमाडाैं आइपुगेका आइरा आफूलाई हिप्पी अथवा बिट्निक् भन्न रुचाउँदैनथे । तर, तिनले हिप्पीका ती अन्तिम दिनहरूमा त्यो संस्कृति र चेतनालाई बुझेर वरण गरेको कुरा केही हाँस उठ्दो भए पनि उनको माथिको गाँजा अभिव्यक्तिबाट प्रस्ट हुन्छ । आइरा पछि पनि काठमाडाैं आएको कुरा उनको ‘एङ्गसको विष्णुमतीमा अन्तिम संस्कार’ कविताबाट थाहा हुन्छ । 

अन्तमा यत्ति भन्छु, मेरो गाँजाको धुवाँ पछि गएर शब्द भयो । मैले वरण नगरे पनि गाँजाले मलाई बालककालदेखि पछिसम्म कहिल्यै छाडेन । तर, पछि गएर बन्द कोठामा बसेका वेला मलाई गाँजाको धुवाँले होइन, त्यसका सम्झना र त्यसलाई वरण गर्नेका सम्झनाले आच्छादित गरिरहे । यो सानो निबन्ध पनि त्यही धूम्रस्मृति कलेवरको एउटा सानो अंश हो ।
                 मन्डिखाटार, काठमाडौं, साउन ०७६