‘ओ पृथ्वीवासी ! यो पृथ्वीचाहिँ हो कसको ?’
तागतको परिधिमा च्याप्टिएर
समयको तुरुङ्ले
निःसन्देह बाँधिरहेछन् पाइलाहरू ।
शासन–सत्ता भागबन्डामा
चोक्टा–चोक्टा पारिएको यो पृथ्वी,
मान्छेत्व च्याम्बरमा खाँदिएको छ ।
कति टाढाको नापोले खुम्चिएर
भेट्न खोज्दै छ मान्छे एक जुवा माथि पुगेको जून !
मान्छेहरूका तागतको आयतनले
हत्केलामा फनफनी घुमिरहेछ एउटा ग्लोब,
ज्याकमा, विलगे्रट्स ...!
झोलाभरि खाँदेर पृथ्वी
सवार भई रहेछन् ब्ल्याकहोलको हटियामा ।
भोको पेटका गीतहरूले लिलाम गर्दै छन्
आफ्नै सुमधुर संगीत !
अमेरिकाबाट उडाइएका सेता चिलका बथानले
औषत आयुको सीमारेखामा टेकेर
युद्धको गीत गाइरहेका छन् ।
कति न शान्तिको नांगो भाषणबाट आजित भएका
एक हुल मान्छेहरू आजै मात्र सीमा पार गरेर
शरणार्थी शिविरमा समयको मृत्यु कुरिरहेका छन् ।
साँच्चै ! हाम्रो जिन्दगी कसको हत्केलामा
छमछमी नाचिरहेको छ हँ ?
तान्त्रिक विचारका वादशाहहरूले मन्त्र फुकेपछि
युगको तीखो धारमा टेकेर उभिएको छ पृथ्वी
धर्मग्रन्थका नांगो शब्दहरूले
मान्छेहरूको गिदी अपहरण गरिरहेको छ ।
धर्मगुरुहरू मिसाइलको स्विच हातमा लिएर
धार्मिक प्रवचन दिइरहेका छन्,
‘अचेल बुद्धको निधार खुम्चिँदै गइरहेको छ ।’
आत्मरतिको खेलमा रमाइरहेका महामानवहरूले
भ्रमित युगको आँगनबाट गाइरहेका
छन् श्रद्धाञ्जलीको गीत
बाँच्नुको बेस्वादिलो अनुभूतिले स्वप्नहरू सापट लिएर
प्रतिबन्धित पाइला चालिरहेका छौँ ।
हाम्रा प्रत्येक सपनाहरू विश्वबैंकमा बन्धक छन्
हाम्रा प्रत्येक स्वतन्त्रताहरू कोकाकोलाको बोटलमा कैद छन्
हाम्रा प्रत्येक आत्मसम्मानहरू फाँसीमा चढिरहेका छन् ।
फगत दर्शनको काँडेतारले बाँधिएको हाम्रो मस्तिष्क
आत्महत्याको महामेलामा दौडिरहेछ ।
फ्युजन ‘फेन्टासी’को नामर्द आदर्शले
चेतनामाथि हस्तक्षेप गरिरहेको छ ।
– ओ पृथ्वीवासी ! यो पृथ्वीचाहिँ हो कसको ?
विभेदका अग्ला पर्खालको छायाले
आक्रान्त भएका छन् भुइँ मान्छेहरू,
पसिनाले समय मुछेर
एडिक्ट युगसँग जोरी खोजिरहेका मजदुरहरू
बहुराष्ट्रिय कम्पनीले दिएका बिमापत्र सिरानी लाएर
सडकमा लस्करै सुतिरहेका छन् ।
तर, आज
हो, आज जुलुस छ
मुक्तिको जुलुस छ
एक टुक्रा क्रान्ति हत्केलामा बोकेर
तमाम पृथ्वी नचाउनेहरूलाई निमिट्यान्न पारूँ
बन्दीगृहबाट मुक्त गर्दै यो पृथ्वी
ओ पृथ्वीवासी ! अब यो पृथ्वी हाम्रो बनाऊँ !