• वि.सं २०७६ असोज ५ आइतबार
  • Sunday, 22 September, 2019

अन्तिम सत्यको खोजी

२०७६ भदौ ७ शनिबार ०८:४४:०० | काठमाडाैं

ज्ञानको स्रोत विज्ञानर समाजदुवै हो । तर, यसको लागि ग्रहणशीलताचाहिँ पूर्वसर्त हो । त्यसो त, आत्मिक ज्ञानको स्रोत पनि पवित्र हुनुपर्छ । ज्ञानको दायरा फराकिलो बन्ने र बनाउने अस्त्र यिनै हुन् । श्री रजनीश ओशो धर्मप्रतिको उदारताले पनि ज्ञानको तह परिष्कृत तुल्याउने तर्क गर्छन् । उनकै दृष्टान्त लिने हो भने पनि त्यसको प्रामाणिकता पुष्टि हुन्छ ।

जन्मिन त रजनीशओशो जैन परिवारमा जन्मिए, तर उनले जैन मात्रै वा कुनै एक धर्मको मात्रै पैरवी गरेनन् । बुद्ध, हिन्दू र इसाई धर्मको सैद्धान्तिक आधार नैउनकोआफ्नो धार्मिक शिक्षाको उद्गम स्रोत बन्यो । ओशोको आध्यात्मिक दर्शनले कुनै एक भगवान्को प्रतिरूप मानेन वा एकल अस्तित्व स्वीकार गरेन कि भगवान्को स्वरूप हरेक वस्तुमा निहित रहेको तर्क गर्‍यो ।

यौनको आयामिक मूल्य
ओशोको दर्शन फरक यस अर्थमा रह्यो कि उनले यौनलाई धार्मिक प्रगतिको बाधक ठानेनन् । सांस्कृतिक अड्चन यसमा देखेनन् । बरु यौनमा धार्मिक मूल्यलाई थप उचाइमा पुर्‍याइदिनेताकत रहेको तर्क गरे । त्यसो त, यौन एउटा रहस्यमयी शक्ति हो जसले जोकोही सन्त–महात्मालाई पनि आफ्नो बहसमा राख्ने सामथ्र्य राख्दछ । स्वीकार्य मापदण्डको एउटा ‘हिलिङ टुल’ हो– यौन ।

उनको यौनप्रतिको बुझाइ नै दार्शनिक बुझाइ हो । प्राकृतिक तहबाट निःसृतसर्वप्रिय तत्वको खोजीको सारमा यौन नै रहेको हुन्छ । तसर्थ, यौन एउटा सम्मानसूचक वस्तुपनि हो । सुन्दर र सुरम्य वस्तुका रूपमा यौनले आफ्नो अस्तित्व दाबी गरिरहँदा यौनिकताचाहिँ यसैको सहउत्पादनको कुरूप तत्वका रूपमा उदाएको हो । जसले समाजलाई दिग्भ्रमित तुल्याउँछ । 

हामीले भोगेर आएको विगतको समाजमा यौन सहज थिएन । यौन अभिव्यक्तिमा पनि अत्यन्त जटिलताहरू मौजुद थिए । जब त्यो अव्यक्त यौनको सामाजिकता मान्छेको दिमागमा पुग्यो अनि त्यो यौन अव्यक्तता सिर्जना वा रचनामा रूपान्तरण भयो, सुन्दर सपनामा रूपान्तरण भयो । यौन सिर्जनाको मूलस्रोत पनि हो । त्यसो त, यौन जब दिमागमा प्रवेश गर्दछ, तब यौनिकताको रूपमा यो विकसित हुन्छ ।

यौन विज्ञानको साध्यले जीवनको अस्तित्वको संरक्षणसितको सम्बन्धलाई औँल्याए पनि ओशोले यसको व्याख्यालाई दार्शनिक रंग प्रदान गरेका छन् । पश्चिमा समाज यौनको सुन्दरताभन्दा धेरै पर पुगेको छ ।समाजले आफूलाईयौनको अधीनमा राख्न सकेको छैन । सँगै, यौनलाई आफ्नो सांस्कृतिक अधीनमा राख्ने प्रयत्न पनि विफल भएको छ । फलतः यौनको विकृत रूप देखापरेको हो । 

अध्यात्म र प्रेमको ‘फ्युजन’
ओशोले भनेका छन्, ‘मान्छेलाई माया गर, तर उसलाई पूर्ण स्वतन्त्रता देऊ ।’ प्रेममा जब सम्झौता हुन्छन् तब त्यो प्रेम नभएर बन्देज मात्रै बन्छ । जीवनको स्वतन्त्रताको दैलो बन्द गर्ने बन्देज । बन्देजले प्रेमलाई दर्साउँदैन । किनभने, सम्बन्धको ऐना नै प्रेम हो । जसरी ऐनाले छर्लंग सबै चिज देखाउँछ, प्रेम सम्बन्धले पनि त्यसै गर्न सक्नुपर्छ । अन्यथा त्यो प्रेमसम्बन्ध दिगो बन्न सक्दैन ।

जीवनको ठोस परिभाषाको निर्माणमा प्रेम र प्रेमजत्तिकै बलियो वस्तु सम्भवतः अरू हुन सक्दैन । ओशोले प्रेमको हाराहारीमै विकास गरेको ध्यानको शैली पनि प्रभावकारी थियो, जसको माध्यमबाट भौतिक सान्निध्यका सम्पूर्ण अहंको अन्त्य गर्न सहज रहेको तर्क गर्न सकिन्छ । 

ओशो भन्छन्– संसारमा हरेक व्यक्तिलाई लाग्ने सबैभन्दा ठूलो डर भनेको अरूको आफूप्रतिको हेराइ र बुझाइसित हो । दर्शन र अध्यात्मको संयोजनमार्फत सांसारिक मूल्यभन्दा परको सुखको खोजी नै ओशोको जीवनको खास दर्शन थियो र उनको जीवनको साध्य पनि त्यही नै थियो ।

चामत्कारिक व्यक्तित्वको बहुआयामिक जगमानै उनको क्षमताको कसी निर्माण भएको थियो । उनीसित जुन आध्यात्मिक चेत थियो त्यसैको बलले उनलाईगुरु बनायो । गुरु बन्नु र बनाइनुदुई बेग्लै कुरा हुन् । उनको दार्शनिक प्रवचन क्षमताकै बलमा ओशो थुप्रै अनुयायीका गुरु बन्न सके । 

ध्यान–दर्शनको बहुआयामलाई उनले भौतिकतासित गाँसिदिए । यस्तो लाग्छ, उनको दार्शनिक व्याख्या नै घाम उदाउनु र अस्ताउनुजत्तिकै प्राकृतिक सत्य हो । यौनको आध्यात्मिक दर्शनलाई सांस्कृतिक ‘लेन्स’ले अर्थपूर्ण साबित गरिदिइसकेको हो ।

यौन दर्शनको सवालमा सम्भवतः सबैभन्दा बढी स्थापित अवधारणाको ‘आर्किटेक्चर’ उनै भगवान्श्री रजनीश हुन् ।ओशोको आध्यात्मिक चिन्तनको माध्यमबाट खोजेको जीवनको परिभाषा नै जीवनबारेको ओशोको अन्तिम परिभाषा हो । तर, उनले आफूलाई दार्शनिकचाहिँ कहिल्यै पनि मानेनन् । किनभने, उनी ठान्थे कि ‘दर्शन केवल छायाँको प्रतिबिम्ब’ हो । सांसारिक तत्व र भौतिक सुुखको आध्यात्मिक पक्षको सहज मार्गको खोजी नै उनको दर्शनको साध्य थियो जुन अन्ततः स्थापित पनि भयो । 

जीवनका लागि आवश्यक व्यावहारिक ज्ञान निर्माणमा ओशोको भूमिका उल्लेख गर्नलायक छ । ओशोको दर्शनलाई बुझ्न वा आत्मसात् गर्न विशिष्ट तहको ज्ञानको आवश्यकता पर्दैन । उनको दर्शन सरल छ । साथै, जीवनको सामाजिक पूर्वाधारको आवश्यकता बोध हुनुका पछाडि ओशोको आत्मिक ज्ञान सबैभन्दा ठूलो कारक देखिन्छ । ओशो आफैँमा जीवन र मृत्युबारे आजसम्म सबैभन्दा बढी चर्चा गरिएका र उत्तिकैरहस्यमयी सवाल हुन् ।

ओशोको आध्यात्मिक दर्शनले कुनै एक भगवान्को प्रतिरूप मानेन वा एकल अस्तित्व स्वीकार गरेन कि भगवान्को स्वरूप हरेक वस्तुमा निहित रहेको तर्क गर्‍यो

वैज्ञानिक धर्मको निर्माण वा धर्मलाई विज्ञानसँग जोड्ने ध्यये उनको हो । जीवन भोगाइका मसिना पक्षको व्यवस्थापन नै व्यक्ति खुशी हुनुको कारण हो । चेतनाले व्यक्तिलाई समय र सम्बन्ध व्यवस्थापनमा सघाउँछ । जब कोहीसँग खास चेनता जागृत हुन्छ, उसले समयको विभाजन देख्दैन । उसलाई समय सिर्फ वर्तमान मात्रै लाग्छ । न भूतन त भविष्य नै ।

ओशो आध्यात्मिक दर्शनका पैरवीकर्ता हुन् ।ज्ञान उत्पादक र प्रवचक पनि हुन्, उनी । २१ वर्षे उमेरमै उनले उनले समाधीय ज्ञान प्राप्त गरेको टिप्पणी गर्ने गरिएको छ । उनले आफ्नो जीवनकालमा नौवर्ष जावलपुर विश्वविद्यालयमा दर्शनशास्त्रको अध्यापन पनि गरे ।सन् १९६६ मा अध्यापन छाडेर आफ्नो सम्पूर्ण ध्यान आध्यात्मिकता प्रवद्र्धनमा खर्चिने निधो गरिसकेपछि सन् १९७४ मा उनले पुणेमा आश्रम स्थापना गरे ।

सन् १९८० को पूर्वाद्र्धतिर उनी हिन्दू अतिवादको निसानामा पनि परे, तर उनी आफ्नो साध्यप्राप्तिको मार्गबाट कत्ति पनि विचल्लित भएनन् । पछि, उनी स्वास्थ्य समस्याका कारण भारतबाट अमेरिका प्रस्थान गरे । ओरिगनमा आश्रम स्थापना भएपछि उनको धार्मिक प्रवचनले थप उचाइ र ऊर्जा दुवै प्राप्त गर्‍यो ।उनको प्रभावशाली प्रवचन सामथ्र्यको माध्यमबाट दर्शन र अध्यात्मको विशिष्ट मिश्रणलाई स्थापित गरिदिएको छ ।

‘हु किल्ड ओशो ?’
मृत्यु अन्तिम सत्य हो । अन्तिम सत्यको प्राप्ति कतिपय अवस्थामा सहज हुन्छ, कतिपय अवस्थामा असहज पनि । मानवका निम्ति मृत्यु अन्तिम सत्य हो । भगवान्को रूपमा हेरिए पनि आखिर ओशो पनि मानव नै थिए । जानु त एकदिन थियो नै । तर, उनी जाँदा औसतभन्दाअलिक चाँडै गए । उनले आफ्नो जीवनकालमा धेरै दार्शनिक ज्ञान निर्माण गरे र धरतीमै छोडेर गए ।

तैपनि उनी जाँदा आफू मात्रै गएनन्, उनले समाजलाई दिन सक्ने धेरै कुरा उनीसँगै पछ्याएर गए । ती हाम्रो पहुँचबाट फुत्किए । ओशोको महाप्रस्थानमाथिको तर्क, टिप्पणी र तथ्य समेटिएकोलेखक अभय वैद्य लिखित किताब हो– ‘हु किल्ड ओशो ?’यस किताबले ‘के ओशो प्राकृतिक मृत्यु नै मरेका थिए त’ भन्ने सवाललाई पुनर्बोध गरेको छ । ओशोकी आत्मसखी निर्भानोसँग गाँसिएका कतिपय प्रसंगको सनसनी पक्षले ओशो मृत्युको सबाललाई थप रहस्यमयी बनाइदिन्छ ।

यसमा‘क्राइम रिपोर्टिङ’कै तहको गन्ध त नपाइएला, भलै यो किताब विशिष्ट अनुसन्धानको तार्किक र ओजिलो दस्ताबेज भने जरुरै हो । सन् १९८७ देखि नै ओशोका बारेमा रिपोर्टिङ गर्दै आएका लेखकले ओशोको मृत्यु सवालमा धेरै तथ्यको पत्रपत्र खोतलेका छन् ।

ओशो मृत्युको झन्डै २३ वर्षपछि २०१३को जुनमा अचानक उनका खास अनुयायीहरूमाझ एकपटक भूकम्पीय झट्का महसुस भयो, जब युरोपेली अदालतमा ‘ओशो इन्टरनेसनल फाउन्डेसन’को हर्ताकर्तालगायत उनको बिरासतीय वाहकको सवालमा ओशोको ‘हस्ताक्षर’सहित इच्छापत्र दाखिल भयो । पछि, अनुसन्धानले उक्त हस्ताक्षर किर्ते भएको प्रमाणित त गरिदियो, तर उनको मृत्युको पाश्र्व कारण भने आजसम्म पनि खुल्न नसकेको तर्क वैद्यको छ । 

हृदयाघात नै उनको मृत्युको कारण भनिए तापनि मृत्युको खास कारण त्यही थियोवा उनको मृत्यु नभई हत्या भएको थियो भन्ने सवाल अझै पनि रहस्यकै गर्भमा छ । यही तथ्यमाथि यस किताबमा गरिएको बहसले मसिनो आलोक छर्ने कार्य गरेको छ ।

चिकित्सकीय प्रमाणपत्रले उनको मृत्यु स्वाभाविक वा हृदयघातका कारण भएको पुष्टि गरेको भए तापनि लेखक अभय भने सो मान्न राजी छैनन् । किनभने, उनले किताबमा तथ्यको बृहद आयामसहित ओशोको स्वाभाविक मृत्युको स्थापित तर्कमाथि असहज र ओजिला प्रश्न गरेका छन् । सँगै, आजसम्म ओशो मृत्युको प्रसंगको अध्याय उल्टिइसकेको पनि छैन, भलै उनको मृत्युको सम्बन्धमा आजसम्म जे–जति स्थापित तर्क छन् तिनको खिलाफको लेखकको तर्क छ, जसले ओशो मृत्युमाथिको दाबी उल्ट्याउन सक्ने ताकत राख्छन् ।

ओशोको मृत्युमाथि गरिएको ‘घात’को एक तहको पर्दा च्यात्ने काम वास्तवमै उल्लेख्य पक्ष हो । थुप्रै वैयक्तिक अन्तर्वार्तासहित मृत्युसँग गाँसिएका एक–एक रहस्यमय तथ्यको संकलन यस किताबको विशेषता हो । अन्तिम सत्यको दर्शनलाई पन्छाएर लेखक वैद्य तर्क गर्छन् कि ओशोको मृत्यु नै एक ‘निर्मित सत्य’ थियो ।

यदि उनको मरण प्राकृतिक थियो भनेउनका अनुयायी अम्रितोको अग्रसरतामाकिन ओशोको शरीर अवलोकनबाट चिकित्सकलाई पनि वञ्चित गरियो ? सँगै, उनको मृत्यु भएको भन्ने पुष्टि हुँदा नहुँदै किन चिकित्सक डा. गोकनीलाई मृत्युको प्रमाणपत्र जारी गर्न हतारमा ‘ओशो कम्युन’मा झिकाइयो ? यी शृंखलाबद्ध घटनाक्रमका पछाडि रहस्य जरुर नै छिपेको छ भन्ने अड्कल काट्न सकिन्छ ।

ओशोको मृत शरीरमाथि अस्वाभाविक रूपमा गोप्यता कायम गरियो । मृत्यु संस्कार पनि उस्तै हतारमा उम्काइयो । सँगै, ४१ वर्ष उमेर पुग्नै लाग्दा ओशोकी प्रेमिकाको मृत्यु पनि उसैगरी शंकास्पद भयो । 

‘टाइम्स् अफ् इन्डिया’को पत्रकारका हैसियतमा खोज पत्रकारिता गरिरहँदा अभयलेओशोको समग्र जीवन जगत्माथि गहन अध्ययन गर्ने मौका पनि पाए र त्यही अध्ययनले उनलाई ओशोको मृत्युका बहुआयामिक पक्षबारे खोजी गर्न सहजता पनि प्राप्त भएको होला ।

ओशोको मृत्यु साँच्चै एक गर्भीय रहस्यजस्तो बनेर बसेको छ । अभयले किताबमा उठान गरेको संकेतले ओशो महाप्रस्थानको झन्डै तीन दशकउप्रान्त पनि अनुयायीहरूले ओशोको मृत्युलाई सहज रूपमा स्विकार्न सकेका छैनन् भन्ने तर्कको सार हो, जसको जगमा ओशो दर्शनको अर्कोअध्याय थालनी हुनसक्छ ।

‘हु किल्ड ओशो ?’ ओशो मृत्युका सवालमाथिको खोजमूलक पत्रकारिताको गतिलो पक्ष मान्न सकिएला । सन् १९९० यता ओशो मृृत्युको झन्डै तीन दशकपछि उद्घाटित तथ्य तार्किक मात्रै छैन, उत्तिकै अर्थपूर्ण पनि छ । उनको मृत्युपश्चात् ओशो फाउन्डेसनको स्वामित्वमा रहेको कोषको हर्ताकर्ता को हुने भन्ने मुद्दा पेचिलो बनेर आयो ।

बहुविवादित मृत्युको सुषुप्त पर्दा उद्घाटित भइरहँदा आजसम्म आएको तथ्यभन्दा फरक धारमा ओशोको मृत्युमाथिको खास कारणको खोजी आवश्यक छ र ओशो मृत्युका अन्तिम सत्यहरूको खोजीसम्बन्धीनयाँ शिराको बहस नै ‘हु किल्ड ओशो ?’ को सामथ्र्य हो ।


 

प्रतिकृया दिनुहोस