• वि.सं २०७६ असोज ५ आइतबार
  • Sunday, 22 September, 2019

तिमीले मलाई बिर्स्यौ नानु ?

२०७६ भदौ ७ शनिबार ०८:४४:०० | काठमाडाैं

मोबाइललाई आँखाको नानीसम्म पुर्‍याएर हेर्दा बिहानको पाँच बजेर दुई मिनेट गएको थियो । मोबाइलमा नीरा शर्माको फोन आएको रहेछ । उठाएँ । ‘अनिता बैनी नराम्रो खबर छ । भनूँ कि नभनूँ !’ नीरा दिदीको आवाजले मुटु ढुकढुक गर्न थाल्यो । मन दह्रो बनेर भनेँ, ‘नराम्रो के भयो र दिदी भन्नु न !’ म भित्रभित्र सोच्न थालेँ के हुन सक्छ नराम्रो खबर भनेर । दिदीको पीडाले भरिएको स्वर सुनियो, ‘अप्सरा मेडम (अप्सरा तिमल्सिना)त बित्नुभयो नि !’

मोबाइल भुइँमा खस्यो । आँखाबाट बरर आँसु झर्न थाल्यो । म अवाक् भएँ । गत वैशाख २८ गते उहाँको पुस्तक ‘अभ्यन्तर’ विमोचनको दिन उहाँ लेखक र म सभाध्यक्ष भएर खुसखुस कुरा गरेको सबैभन्दा धेरै याद आयो । ‘आँचल साहित्य कलापुञ्ज’ले आयोजना गरेको कृति विमोचनमा सात वर्षको अवधिमा सबैभन्दा बढी सहभागिता भएको दिन थियो त्यो । कार्यक्रम अवधिभर दिदीको अनुहारमा जुन हाँसो छचल्किएको थियो, त्यस्तो र त्यति मीठो हाँसो मैले यो दश वर्षको अवधिमा कहिले पनि देखेको थिइनँ ।

कथाका खेस्रा तयार पारेर विमोचनको मिति तय भएको दिनसम्मलाई हेर्दा सारा पीडालाई त्यो हाँसोले मेटाइसकेको थियो । कतै थिएनन्, दिदीको अनुहारमा निराशाका बादल । कृतिगत समीक्षा र व्यक्तित्वबारे वक्ताहरूले बोलिरहँदा उहाँको आँखाको किनारै–किनार दौडिएको खुसीको आँसुले मलाई पनि आनन्दको उत्कर्षमा पुर्‍याएको थियो ।

कार्यक्रमको भोलिपल्ट काठमाडौंबाट आउनु भएका गेस्टलाई सुमो चढाइसकेपछि मलाई फोन गरेर अब हामी कहिले भेट्ने भन्नुभयो । मैले भनेको थिएँ, ‘दिदी अबको एक महिना पूरै आराम गर्ने र साउन लागेपछि मात्रै भेट्ने । दिदीको कवितासंग्रह र मेरो निवन्धसंग्रहमाथि कतै एकान्तमा गएर काम गर्ने । अझै योजना थियो दिनभर मस्तले घुम्ने अनि रातभर मरिमेटेर काम गर्ने । दिदीको खुसीको सीमा थिएन । 

पहिलोपटक अप्सरा दिदीलाई भेट्दा मेरो पेट ठूलो थियो । पेटमा सानी नानी सलबलाइरहेकी थिई । दिदीलाई भेटेपछि उहाँको माया मेरो शरीरका हरेक अंगमा सलबलाउन थालेको थियो । उहाँको पहिलो कवितासंग्रह ‘किनाराका आवाजहरू’ तयार पारेपछि पारिश्रमिक दिन भनेर उहाँ मेरो घरभित्र पस्दा अपरिचितजस्तो लागेन । बरु लागेको थियो, उहाँ मेरो आफ्नै दिदी हो ।

हामी घरायसीदेखि स्कुल, कलेजका कुरा सँगै भेट्दा एकअर्कामा सुनाउँथ्यौँ । हरेक दुःख–सुखको एउटा चौतारी थियो हाम्रो नाता । दिदीबहिनीको नाताबाट हामी देउरानी–जेठानी रहेछाैँ भन्नेचाहिँ दुवैले धेरै पछाडि मात्रै थाहा पाएका थियौँ । झगडा गर्न नजान्ने, अरूलाई होच्याउन नजान्ने, सकेसम्म सबैको टेन्सनको भारी आफैँ बोकेर हिँड्ने, हरेक दुःखलाई सहज रूपमा लिने र हाँसेर टारिदिने मान्छेको जिन्दगीमा मृत्यु कसरी सहजै आउन सक्छ, त्यो कुरा स्विकार्न मेरो मन कुनै हालतमा पनि तयार थिएन । दश वर्षको उहाँसँगको यात्रामा कहिल्यै ठूलो स्वरले बोलेको थाहा पाइनँ । हामी त बरु सहकर्मीसँग झगडा गथ्र्यौँ, तर कहिले पनि उहाँलाई झगडाको खालमा भेटिनँ । 

हेर्दा सामान्य ज्वरोले अप्सरा दिदीका सपनालाई खरानी बनाएको भए तापनि उहाँले ६ महिनादेखि निरन्तर अल्सरको औषधि खाइरहनु भएको थियो । एक वर्षअघि मात्रै एपेन्डिक्समा समस्या भएर अप्रेसन गरिएको थियो । दिदी जहाँ बस्नुहुन्थ्यो, त्यही निदाउनुहुन्थ्यो । ससुराबालाई क्यान्सर भएपछि उहाँले कलेज पढाउन छाड्नु भएको थियो ।

घरपरिवार र स्कुलबाट बचेको समय पूर्ण रूपमा साहित्यिक संघ–संस्थालाई दिइरहनु भएको थियो । उहाँ कवि, कथाकार र समीक्षक मात्रै होइन, एक असल आमा, असल छोरी र असल मित्र पनि हुनुहुन्थ्यो । दाजुभाइको अमेरिका यात्रापछि माइतीको पूर्ण जिम्मेवारी उहाँकै थियो । 

दिदीसँग निकटता राख्ने धेरैलाई अझै पनि सम्झना होला, उहाँ पद, ओहोदा र आर्थिक हैसियतका आधारमा भेदभाव नगरी सबैसँग एकनास व्यवहार गर्ने मान्छे हुनुहुन्थ्यो । शिक्षक, सामाजिक अभियन्ता, मित्र, आमा, छोरी र पत्नीको भूमिकामा उहाँको व्यवहार र व्यक्तित्वमा कतै भिन्नता पाइँदैनथ्यो । हरेक कर्तव्य र जिम्मेवारीलाई कर्मठ भएर पूरा गर्ने बानी थियो उहाँको । उहाँ विनम्र र विनयी हुनुहुन्थ्यो ।

कुनै पनि कृत्रिमता, आडम्बर र स्वाङबाट कोसौँ टाढा पाउँथेँ, म उहाँको व्यवहार । सरल जीवन बाँच्न मन पराउने उहाँले मकवानपुरको साहित्यिक विकासमा योगदान गर्नुभयो । दिदीका बारेमा कथाकार तुल्सी थापाले भन्नुभएको शब्द म सम्झिन्छु आज । उहाँले भन्नुभयो, ‘अप्सरा तिम्सिना आफ्नो रचना जसरी नै बाँच्नुभयो । उहाँको जस्तो जीवन थियो त्यस्तै रचना थियो । जस्तो स्वभाव थियो, त्यस्तै शब्द थिए । मृदुभाषी, सरल र सहयोगीपन नै उहाँको प्रमुख विशेषता हो ।’

मकवानपुरको साहित्यलाई माथि उठाउन उहाँको पनि विशेष भूमिका रह्यो । उहाँले महिलाका विषयमा कविता र कथा लेख्नुभयो । उहाँको ‘भान्से’ कविता निकै रुचाइएको हो । आफूसँग भएको थोरै समयलाई निकालेर उहाँले मकवानपुर जिल्लामा पहिलोपटक नारीहरूको संस्था ‘आँचल साहित्य कलापुञ्ज’ स्थापना गर्न अग्रणी भूमिका खेल्नुभयो । 

दिदीका केही अनौठा बानी पनि थिए । जब उहाँ एटिएम बुथमा छिर्नुहुन्थ्यो, त्यसपछि भन्नुहुन्थ्यो, ‘नानी, मेरो कोड कति हो ?’ मेरो मुखमा हेर्नुहुन्थ्यो र फेरि भन्नुहुन्थ्यो, ‘मैले तिमीलाई कहिल्यै भनेको छैन नि है ?’ त्यसपछि उहाँ हाँस्दै एटिएमबाट पैसा निकाल्नुहुन्थ्यो । 

उहाँ धेरै कुरा बिर्सनुहुन्थ्यो । कहिलेकाहीँ त आफूले चेक गरेको कापी कहाँ छ भन्ने नै थाहा हुँदैनथ्यो उहाँलाई । पेनड्राइभ, पर्स, जुत्ता जहिल्यै बिर्सनुहुन्थ्यो । सानो कुराले निराश हुने र सानो कुराले नै आशावादी बन्ने उहाँको बानी थियो । खुसी भए जे गर्न पनि तयार हुने अनि निराश हुँदा आफ्नै घरको गेटमा ताला लगाएर दिनभर सुत्ने र रुने पनि गर्नुहुन्थ्यो ।

 दिदीसँग पढ्न समय थिएन । घरपरिवार, स्कुल, कलेज र संघसंस्था भन्दाभन्दै उहाँका दिन बित्थे । तर, बजारमा निस्केको नयाँ किताब किन्न उहाँ पछि पर्नुहुन्नथ्यो । उहाँ पार्टीको झन्डा बोकेर कहिल्यै हिँड्नु भएन । तर, आश्या भने आफ्नो ठाउँमा थियो । त्यसैले, विचारको पक्षधर देखिए पनि प्रस्ट राजनीतिक रङ भने उहाँका कविता, कथामा कतै देखिँदैन । जे लेख्नुभयो, आफ्नै भोगाइ परिवेशलाई लेख्नुभयो । महिलामाथिको थिचोमिचो, गरिबी, अशिक्षा र बन्धनको जिन्दगीबारे लेख्नुभयो । 

‘अभ्यन्तर’ विमोचनपछि दिदीसँग मज्जाले बसेर गफिने मौका नै मिलेको थिएन । उहाँ आफ्नै दैनिकीमा व्यस्त, म मेरै दैनिकीमा व्यस्त । कार्यक्रमहरूमा भेट हुन्थ्यो । समीक्षा पनि कार्यक्रमकै हुन्थ्यो । असारको अन्तिममा दिदीले आमालाई जँचाएर फर्कंदै गर्दा कल गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘तिमीले मलाई बिस्र्याै नानु ?’ मैले हाँसेर जवाफ दिएँ, ‘बिर्सेको हैन दिदी, हामी साउन लागेपछि मात्रै भेट्ने भनेको हैन र ?’

उहाँको ससुराबाको वर्ष दिनको काम भएकाले आउनू भन्नुभयो । मैले हुन्छ भनेँ । पाँच गते फेरि कल गरेर ‘भोलि बिहानै आऊ है कान्छु, मलाई त ज्वरो आएर कस्तो गाह्रो भइरहेको छ’ भन्नुभयो । तर, अफिस र नानीको परीक्षाले गर्दा म बिहानदेखि जान सक्ने अवस्थामा नै थिइनँ । त्यसैले, ६ गते लगभग ३ बजे म दिदीको घरमा पुगेँ । दिदी मुसुक्क हाँस्नुभयो ।

घरमा पाहुना थिए । दिदीको हालखबर सोधपुछ गरेपछि माथि कोठामा छोरी र अरू बच्चासँग बसेँ । म तल झर्दा सबै पाहुना लगभग निस्किसकेका थिए । दिदीसँग केही समय गफ गरेर घर फर्किएँ । दिदी सानोसानो उपचार गर्न पनि भरतपुर र काठमाडौं जानुहुन्थ्यो । यो पटकचाहिँ उहाँ अस्पताल जान जिद्दी गरिरहनु भएको थियो । म साथी जान्छु भन्दा पनि उहाँ मानिरहनु भएको थिएन । 

११ गते शनिबार दिदीलाई बिहानै फोन गरेँ । ‘दिदी कस्तो छ ?’ दिदीले मलिनो आवाजमा भन्नुभयो, ‘ठीकै’ । उहाँको उत्तर यत्ति थियो । ‘दिदी, १३ गतेबाट बच्चाको परीक्षा सकिन्छ । म १३ गते एउटा सरप्राइज लिएर आउँदै छु ।’ मैले यति भन्दा दिदीले उही मलिनो स्वरमा भन्नुभयो, ‘तिमीले भनेको कुरा मैले नाइँ कहिले भनेको छु र ?’ यति सुनेपछि खुसीले गद्गद् हुनुभयो ।

यसपटकको सप्र्राइज सफल भयो । मनले यही सोच्यो । १२ गते मेरो विवाहोत्सव थियो । तर, खै के भएको थियो कुन्नि, मनमा लागिरह्यो मैले आज धेरै कुरा गर्नु छ । मन किनकिन हतास थियो । केही गरौँ भन्ने उत्साह कतै थिएन । न त आँखामा उमंग नै थियो । चार वर्ष भएको थियो रातको समयमा मोबाइल रिङटोनमा राख्न छाडेको ।

कान्छी सानीमाको मृत्युको खबर पाएको रातदेखि मेरो मोबाइल सधैँ साइलेन्टमा नै हुन्थ्यो, तर त्यो दिन के भएको थियो कुन्नि मोबाइल भाइब्रेसनमा रहेछ । सायद मलाई बिहान त्यो घटना सुन्नु परेकाले बिउँझाउनु परेको थियो कि । हजारौँ कोसिस गरेर यो घटना सत्य नभइदिओस् भन्दाभन्दै पनि सत्य भइसकेको थियो । कति कुरा ‘अभ्यन्तर’मा भनेर जानुभयो । कति कुरा भन्न भ्याउनु भएन । दिदी बिदा हुनुभयो । बाँकी कार्यभार हामीलाई सुम्पिएर । 

प्रतिकृया दिनुहोस