• वि.सं २०७६ असोज ५ आइतबार
  • Sunday, 22 September, 2019

बालमैत्री छन् बालपत्रिका ?

२०७६ भदौ ७ शनिबार ०९:०१:०० | काठमाडाैं

आर्थिक संकटबीच छापिइरहेका बालपत्रिकाको खास अवस्था कस्तो छ ? यहाँ उपलब्ध बालपत्रिका बालमैत्री छन् ? बालपत्रिकाले कस्ता सामग्री प्रकाशन गरिरहेका छन् ? बालबालिकाका लागि प्रकाशित बालपत्रिकाबारे राजु स्याङ्तानको रिपोर्ट :

प्रविधि र पुस्तक
हजुरबा–हजुरआमाको काखमा बसेर पुराना लोककथा सुन्दै हुर्कनुपर्ने बालबालिका अहिले ‘मोटु–पत्लु’ हेरेरै दिन बिताउँछन् । नेपालमा १४ वर्षमुनिका बालबालिकाको संख्या करिब ९० लाख छ । समाजको करिब एकतिहाइ हिस्सा ओगटेको बालबालिकाका लागि स्कुलको पुस्तकबाहेक अरू के उपलब्ध छ ?

यसको सीधा जवाफ छ– उनीहरूका लागि ‘मोटु–पत्लु’, ‘टम एन्ड जेरी’ ‘मिक्की माउस’लगायत हिन्दी–अंग्रेजी कार्टुन उपलब्ध छन् । उनीहरू ती कार्टुनका लती भइसकेका छन् । मातृभाषा राम्रोसँग नसिक्दै इङ्लिस फ्यान्टासी कमिक्सका ‘डाइहार्ट फ्यान’ भइसकेका हुन्छन्, बालबालिका । 

आज एउटै घरभित्र चारवटा अलग सामाजिक समूह जन्मिएका छन् । बालबालिका युट्युबमा कार्टुन हेर्छन्, महिलाहरू हिन्दी सिरियल र पुरुषहरू पब्जी गेममा व्यस्त छन् । ६० नाघेको पुस्ता धेरै त गाउँतिरै घर कुरिरहेका छन् । सहरमा हुनेहरू धेरै भजनकीर्तनमा व्यस्त छन्, केही वृद्धाश्रमतिर छन् । प्रविधिले विभाजित बनाएको छ, परिवारलाई । पुरानो किसिमको सामाजिकीकरणको प्रक्रिया नै धरापमा पर्दै गएको छ । पुस्तान्तरणको स्वरूप फेरिएको छ ।

प्रविधिको लतले बालबालिकाको मस्तिष्क विकासमा नराम्रो असर पर्ने मनोविद् करुणा कुँवर बताउँछिन् । भन्छिन्, ‘यो कोकिनसरह हो । यसले बालबालिकाको तर्कशील क्षमताले सोच्ने ब्रेन नै ड्यामेज गरिदिन्छ ।’ यस्तो परिवेशबाट बाहिर निस्कने उपाय के हो ? विज्ञहरू सुझाउँछन्, ‘एउटा माध्यम बालपत्रिका नै हो ।’

अहिलेका धेरै वयस्कले आफू सानो छँदा बालपत्रिका ‘बालकोसेली’ पढेको हुनुपर्छ । जीवनको अधिकांश हिस्सा बालबालिकाका लागि खर्चेका, २०४० सालदेखि बालपत्रिका प्रकाशन गरिरहेका ‘बालकोसेली’का सम्पादक÷प्रकाशक, बालबालिकाका साथी शान्तदास मानन्धरलाई भेट्दा नेपालको बालपत्रिकाको एउटा तस्बिर देखिन्छ । 

स्वयम्भूफेदी छाउनीको बाक्लो बस्तीमा बस्छन्, बालसाहित्यकार शान्तदास मानन्धर । साताअघि उनको घर पुग्दा उनी एउटा एनजिओले थमाएको बाक्लो, चम्किलो कागजयुक्त बालपत्रिका पल्टाइरहेका थिए । चम्किलो कागजभित्रको कन्टेन्ट हेर्दै उनी आक्रोशित भए, ‘पैसाका लागि बालपत्रिका निकाल्नेहरूले बालबालिकालाई विष छरिरहेका छन् । यो विषले बालबालिका बिरामी भए भने कसले जिम्मा लिन्छ ?’ 

०००
बागबजारको गल्लीमा ‘बाल उदय’ पत्रिकाका सम्पादक तथा प्रकाशक नरेन्द्रकुमार नगरकोटी अघि लागे । मूल सडकबाट करिब २ सय मिटर भित्र लगे । साँघुरो गल्लीबाट एक तला माथि उकाले । त्यही थियो उनको बालपत्रिकाको कार्यालय । यो पत्रिका सम्भवतः सबैभन्दा कान्छो बालपत्रिका हो । कार्यालयमा थिए, दुईजना स्टाफ, एउटा प्रिन्टर, दुईवटा कम्प्युटर अनि बजार पुगेर फर्केर आएका ‘बाल उदय’का पुराना अंक । नरेन्द्र भन्दै थिए, ‘घाटामै चलिरहेको छ । किनकि पत्रिकाको मूल्य ५० रुपैयाँ हो । तर, ४८ रुपैयाँ त प्रेसमै बुझाउनुपर्छ ।’

०००
राष्ट्रिय दैनिक पत्रिकाको आइतबारे सहप्रकाशन ‘बाल विशेषांक’ टेबलमा छ । पत्रिकाको शीर्षक बालबालिकाले नबुझ्ने गरी राखिएको छ । भित्र कोठेपद विजेताले एक कार्टुन चाउचाउ पाउने सूचना जारी गरिएको छ । चाउचाउ बालबालिकाका लागि हानिकारक छ भन्ने समाचार सोही पत्रिकामा केही समयअघि छापिएको थियो । 

०००
भक्तपुरकी राधिका तिमल्सिनाका ३ छोरा छन् । पत्रकारितामै आबद्ध उनका श्रीमान् घरमा सधैँ बजारका पुस्तक पसलमा झुन्डिएका बालपत्रिका लिएर आउँछन् । तर, कुनै पनि छोराले बालपत्रिका पढेको राधिकाले देखिनन् । भन्छिन्, ‘खै किन हो बालपत्रिकाप्रति छोराहरूले रुचि नै देखाएनन् ।’ उनको निष्कर्ष छ– यदि छोराहरू सरकारी स्कुलमा पढेका भए बालपत्रिका पढ्ने थिए । बालपत्रिका नपढ्दा समाजको अन्य पक्षबाट आफ्ना सन्तान वञ्चित भएको उनको भनाइ छ । 
माथिका यी उदाहरणले बालपत्रिका प्रकाशन–पठक क्षेत्रको एउटा झल्को आउँछ ।

०००
स्कुलको प्रधानाध्यापकको जागिर छाडेर बालपत्रिका निकालिरहेका छन् नगरकोटी । उनी सम्पादक रहेको ‘बाल उदय’ पछिल्लो समय रुचाइएको छ । तर, उनी आर्थिक अभावबाट गुज्रिरहेका छन् । बालपत्रिकाको अवस्था, समस्या र चुनौतीको चर्चा गर्नुअघि संक्षिप्तमा यसको इतिहास हेरौँ । 

बालपत्रिकाको इतिहास 
बालसाहित्यका अनुसन्धाता प्रमोद प्रधान ‘नेपाली बालसाहित्यको इतिहास’ पुस्तकमा लेख्छन्, ‘सन् १९४९ नोभेम्बरमा सुश्री सुनकेशरी प्रधानको सम्पादन र पारसमणि प्रधानको प्रकाशनमा दार्जिलिङबाट निस्किएको ‘शिक्षा’ नै नेपाली भाषाको पहिलो बालपत्रिका हो ।’

पैसाका लागि बालपत्रिका निकाल्नेहरूले बालबालिकालाई विष छरिरहेका छन् ।यो विषले बालबालिका बिरामी भए भने कसले जिम्मा लिन्छ ? – शान्तदास मानन्धर

बालसखा दल समूहले धनमायासिंह परियारको प्रधान सम्पादकत्वमा वि. सं. २००८ मा प्रकाशित गरेको ‘बालसखा’ नै नेपाली भाषामा निस्किएको दोस्रो र नेपालबाट निस्किएको पहिलो बालपत्रिका रहेको पुस्तकमा उल्लेख छ । ‘शिक्षा’ ४ अंक प्रकाशित भएर बन्द भयो र ‘बालसखा’ ६ अंकपछि बन्द भयो । 

बालपत्रिकालाई निरन्तरता दिन अनेक उपाय अपनाएको देखिन्छ । एकाध पत्रिका निःशुल्क पनि बाँडिए । बालबालिकालाई नै सम्पादक बनाएर पनि बालपत्रिका प्रकाशन गरिए ।

राजधानीबाहिरका झापा, कञ्चनपुर, नवलपरासी, सुर्खेत, बारालगायत सहरबाट पनि बालपत्रिका छापिए । तर, कुनै पनि बालपत्रिकाले इतिहासको सुरुवाती समयदेखि वर्तमानसम्म अविछिन्न आफ्नो यात्रा तय गर्न सकेन । ७० वर्षे इतिहास बोकेको बालपत्रिका बन्द हुने र खुल्ने क्रम निरन्तर चलिरह्यो । 

देशमा भएका कुनै पनि राजनीतिक क्रान्ति वा परिवर्तनले बालपत्रिकालाई छोएको देखिन्न । पञ्चायती व्यवस्थामा जुन समस्याले पत्रिका बन्द हुन्थे, बहुदलमा पनि उही समस्या दोहोरियो । गणतन्त्रपछि पनि बालपत्रिका बन्द हुने विडम्बना रोकिएन । प्रधान भन्छन्, ‘हामीले थुप्रै व्यवस्था परिवर्तन ग¥यौँ । तर, बालपत्रिका क्षेत्रमा कुनै पनि परिवर्तन आएन ।’

बालपत्रिकाले निरन्तरता पाउन नसक्नुको पहिलो र मुख्य कारण नै आर्थिक संकट भएको बताउँछन्, प्रधान । भन्छन्, ‘दोस्रो कतिपयले योजनाविना, रहरै रहरमा निकालेर पनि पत्रिका बन्द गरेका छन् ।’ 

कति बालपत्रिका ?
सूचना विभागमा जम्मा ७२८ पत्रिका दर्ता छन् । ती सम्पूर्ण पत्रिका वयस्क मानिसका लागि हुन् । यी पनि बन्द हुने र खुल्ने क्रम नचलेको होइन । तर, मूल रूपमा ती पत्रिका चलिरहेकै छन् । केन्द्रीय तथ्यांंक विभागका अनुसार, नेपालमा १४ वर्षमुनिका बालबालिका ३०.३ प्रतिशत छन् । यो संख्या नेपालको कुल जनसंख्याको करिब ९० लाख हो ।

५ देखि १४ वर्ष मुनिका बालबालिका मात्रै २१. ८ प्रतिशत छ । यो भनेको पनि कुल जनसंख्याको साढे ६४ लाखभन्दा धेरै हुन आउँछ । हामी ती बालबालिकालाई ‘भविष्यका कर्णधार’ भन्छौँ । तर, ती कर्णधारले पढ्ने राम्रो बालपत्रिका छैन । करिब एकतिहाइ नेपालको जनसंख्या ओगटेको बालबालिका राम्रा र स्तरीय बालपत्रिकाबाट वञ्चित छन् । 

नेपालमा कति बालपत्रिका दर्ता हुन्छन् भन्नेबारे सूचना विभागसँग कुनै तथ्यांक छैन । विभाग अधिकृत प्रवीण कटवाल भन्छन्, ‘बालपत्रिका भनेर छुट्टै दर्ता गर्ने चलन छैन । दैनिक, साप्ताहिक, पाक्षिक मासिक भनेर मात्रै छुट्याइन्छ ।’ प्रेस काउन्सिलमा यस वर्ष चारवटा मात्रै बालपत्रिका वर्गीकरणमा गए । दर्तासंख्या अघिल्लो वर्षभन्दा घटेको बताउँछन्, प्रेस काउन्सिल सदस्य तथा विधागत पत्रपत्रिका विकास उपसमितिका संयोजक चेतनाथ धमला । भन्छन्, ‘यो वर्ष ‘मुना’ र ‘इलोहं’ क वर्गमा परेको छ । त्यस्तै ‘बालसिर्जना’ ख वर्गमा र ‘ज्ञानकुञ्ज’ ग वर्गमा परेको छ । यसबाहेक अरू पत्रिका वर्गीकरणमा आएका छैनन् ।’ 

बालपत्रिका किन आवश्यक ? 
शिक्षाबाट वञ्चित बालबालिकाका मुद्दा अलग्गै छन् । शिक्षाको अवसर पाएका बालबालिकाले पनि पूर्ण शिक्षा पाइरहेका छैनन् । उनीहरू विद्यालयको पुस्तकमा मात्रै सीमित छन् । खाली समयमा बालबालिकाको हातमा रमाइला ज्ञानवर्धक पत्रपत्रिका हुँदैन, मोबाइल, ल्यापटप र आइप्याड हुन्छ । बालबालिका भन्छन्, ‘स्कुलको किताब पढ्दा–पढ्दै दिक्क भइसक्यो किन पढ्नु बालपत्रिका ?’ तर, विज्ञ भन्छन्, ‘बालपत्रिका आधारभूत आवश्यकता हो । बालपत्रिकाले बालबालिकालाई सिर्जनशील बनाउँछ ।’ 

प्रमोद प्रधानको धारणा छ, ‘स्कुलको पुस्तकले मात्रै बालबालिका सिर्जनशील हुन सक्दैनन् । बालबालिकामा सिर्जनशीलताको विकास गराउन बालपत्रिका चाहिन्छ ।’ उनी अघिल्लो पुस्ताले भन्दा आजको पुस्ताले संसारमा जान्नुपर्ने धेरै विषय रहेको औँल्याउँछन्, ‘हिजोभन्दा आज जटिल बन्दै गएको छ । सामाजिक संरचना जटिल बन्दै गएका छन् ।’ स्कुलको पुस्तक कोठाभित्र गुम्सिएको हावा हो र बालपत्रिका बाहिरको स्वच्छ हावा हो भन्छन्, शान्तदास मानन्धर ।

विदेशतिर
अमेरिकाबाट प्रकाशित हुने ‘डिस्कभरी गल्र्स’ प्रसिद्ध बालपत्रिका हो । ‘डिस्कभरी गल्र्स’मा बालिकाहरूले बालिकाहरूकै लागि लेख्छन् । सन् २००० देखि सुरु भएको यो पत्रिका ८ वर्षदेखि १२ वर्षसम्मका बालिकालाई केन्द्रित गरेर प्रकाशित गरिन्छ । विभिन्न राज्यबाट छनोट गरिएका १२ बालिकाले सो पत्रिकामा लेख्छन् ।

अमेरिकाकै न्युयोर्क सहरबाट प्रकाशित हुने अर्को लोकप्रिय बालपत्रिका हो, ‘फेमिली फन’ । सन् १९९१ बाट सुरु भएको यो बालपत्रिका ३ देखि १२ वर्षसम्मका बालबालिका भएका परिवारलाई केन्द्रित गरेर छापिन्छ । यो पत्रिका २१ लाख प्रति बिक्री हुने बताइएको छ । 

बेलायतबाट प्रकाशित हुने लोकप्रिय बालपत्रिका हो, ‘स्टोरीटाइम ।’ पत्रिकामा व्यंग्य कविता, खेल, कथा र जनावरबारे रोचक जानकारी र सुन्दर चित्र हुन्छन् । पत्रिकामा कुनै पनि विज्ञापन हुँदैन । सन् १९६९ देखि भारतबाट प्रकाशित बालपत्रिका हो, ‘चंपक’ । यो पत्रिका अंग्रेजी, हिन्दीलगायत अन्य ६ भाषामा प्रकाशित हुन्छ । १२ वर्षमुनिका बालबालिकालाई केन्द्रित गरेर निकालिएको यो पत्रिका भारतको सबैभन्दा धेरै बिक्री हुने बालपत्रिका हो । 

भारत सरकारले बालबालिकाका लागि विशेष योजना बनाएर बालपत्रिका र फिल्म निर्माण गरेको सम्झन्छन्, बालसाहित्यकार विनय कसजू । ‘भारतमा जवाहरलाल नेहरू प्रधानमन्त्री भएपछि बालबालिकाका लागि ‘हात्ती मेरे साथी’जस्ता हिन्दी फिल्म बनाउन लगाए,’ उनी भन्छन्, ‘नेपालमा गतिलो बालपत्रिका नै नभएको ठाउँमा बालफिल्मको त झन् के कुरा गर्नु ?’ 

किन प्रकाशित गरिन्छन् बालपत्रिका ?
‘इन्डिको इंक’का प्रकाशक तथा बालसाहित्यकार विष्णुकुमार पौडेल बालपत्रिका निकाल्नु निकै जिम्मेवारीपूर्ण तर गाह्रो काम ठान्छन् । भन्छन्, ‘रहरै रहरमा सम्पादक र प्रकाशक बन्न चाहनेले बालपत्रिका क्षेत्रलाई बिगारे ।’ पछिल्लो समय उनी बालसाहित्यका थुप्रै किताब अनुवाद गरिरहेका छन् । उनको निष्कर्ष छ, ‘बालपत्रिका पढिन्न । बालपुस्तकचाहिँ अभिभावकले किनेर बालबालिकालाई दिने चलन बढेको छ ।’

जिम्मेवारीसाथ बालपत्रिका निकाल्ने प्रकाशक थोरै छन् । रहरै रहरमा प्रकाशक–सम्पादक बन्ने र केही अंकपछि बन्द गर्ने परिपाटी बालपत्रिका प्रकाशनमा धेरै छ । कोही सम्पादक बन्ने रहरले त कोही विज्ञापन पाउने आशामा बालपत्रिका प्रकाशित गरिरहेका पनि देखिन्छन् । कसजू भन्छन्, ‘सम्पादक बन्ने रहरले पनि कतिपयले बालपत्रिका प्रकाशन गरिरहेका छन् ।

रहर गर्नु नराम्रो होइन । तर, रहर पूरा गर्न आर्थिक पृष्ठभूमि र वैचारिक पृष्ठभूमि दुवै चाहिन्छ ।’ उनी बालपत्रिका वा बालसाहित्यको क्षेत्रमा काम गर्नु ‘भेटेनरी डाक्टर’ बन्नुजस्तै रहेको अनुभव सुनाउँछन् । भन्छन्, ‘भेटेनरी डाक्टरले गलत औषधि लेखिदियो भने पनि पशु बोल्दैन ।

त्यस्तै बालबालिकाका लागि गलत सामग्री प्रकाशित गरियो भने पनि उनीहरू बोल्दैनन् । त्यसैले बालपत्रिका निकाल्नु भनेको अत्यन्तै जिम्मेवार हुनु हो ।’नरेन्द्रकुमार नगरकोटी हचुवाका भरमा ‘बाल उदय’ ननिकालिएको बताउँछन् । भन्छन्, ‘यो क्षेत्रमा केही गर्र्न पत्रिका सुरु गरेको हुँ । मेरो उद्देश्य समाजमा असल पुस्ता निर्माण गर्नु हो ।’

बालपत्रिका कि विषपत्रिका ?
बालबालिका सामाजिकीकरणको प्रक्रियामा हुन्छन् । उनीहरू आफ्नो विवेकले भन्दा अनुकरण गरेर संस्कृति सिक्ने चरणमा हुन्छन् । बालबालिकालाई खाली कागजको समेत संज्ञा दिइन्छ । तर, नेपालमा उपलब्ध बालपत्रिका बालमैत्री छन् ? उनीहरू कस्ता सामग्री प्रकाशित गरिरहेका छन् ?

कतिपय पत्रिकामा कोठेपद विजेताले एक कार्टुन चाउचाउ पाउने व्यवस्था गरिएको छ । बालपत्रिकामा हानिकारक जंकफुड र पेयपदार्थको विज्ञापन गर्नु ठीक हो ? कतै बालपत्रिकाले बालपत्रिकालाई विष पस्किरहेका त छैनन् ? 

बालकथाकार अनन्त वाग्ले कतिपय बालपत्रिकाले विष छरिरहेको स्विकार्छन् । भन्छन्, ‘यो आंशिक रूपमा सत्य हो । बालपत्रिकामा चाउचाउ, पेय–पदार्थको विज्ञापन छाप्नु गलत छ ।’

पत्रिकामा जे पायो त्यही विज्ञापन छाप्न नहुने विचार छ बालसाहित्यकार शान्तदास मानन्धरको । ‘बालपत्रिका बालबालिकाका लागि ओखती हो । जे पायो त्यही विज्ञापन छापेर बालबालिकालाई विष दिनुहुन्न । त्यो विषले खराब पुस्ता तयार हुन्छ ।’

अर्का बालसाहित्यकार शाश्वत पराजुली बालपत्रिकाहरू आर्थिक हिसाबले सक्षम नभएको बताउँछन् । आर्थिक दबाबका कारण बाध्यतावश जंकफुड र पेय–पदार्थको विज्ञापन छाप्नुपरेको उनी बताउँछन् । भन्छन्, ‘प्रकाशकले विज्ञापन खोजेर ल्याउँछ । त्यस्तो वेला कहिलेकाँही सम्पादकले प्रकाशकको मर्म पनि बुझ्नुपर्ने हुन्छ ।’

कसजू भन्छन्, ‘ब्रोडसिटबाट बालपत्रिका निकाल्नु नै विज्ञापन बटुल्नका लागि जस्तो भएको छ ।’ तर, ‘अन्नपूर्ण पोस्ट’बाट प्रकाशित हुने बालविशेषांक ‘अंकुर’का सम्पादक रामकला खड्का कसजूको भनाइसँग सहमत छैनन् । जंकफुडको विज्ञापन सकेसम्म नछाप्ने गरेको उनी बताउँछिन् । भन्छिन्, ‘ब्रोडसिट पत्रिका भएकाले विज्ञापन नभई पनि चल्दैन । तर, सकेसम्म हामीले बालमैत्री बनाउने कोसिस गरिरहेका छौँ ।’ 

बालसाहित्यकार कार्तिकेय घिमिरे बालपत्रिका निकाल्ने काम अत्यन्तै जिम्मेवारीपूर्ण काम भएको बताउँछन् । उनको विचारमा असल नागरिक निर्माण गर्ने काम बालपत्रिकाको हो । त्यसका लागि राम्रो पत्रिका बालबालिकाकहाँ पुग्नुपर्ने उनको भनाइ छ । भन्छन्, ‘खराब बालपत्रिकाले एउटा नागरिकलाई ध्वस्त बनाउँछ ।’ 

कसजूको भनाइमा बालसाहित्य लेख्नु राष्ट्र निर्माणमा योगदान दिनु हो । संसार प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टेगौर, प्रेमचन्द, सत्यजित रे, लियो टोल्स्टोय, म्याक्सिम गोर्कीले पनि बालसाहित्य लेखेको उनी सम्झन्छन् । भन्छन्, ‘बाल साहित्य लेख्नु र बालपत्रिका प्रकाशित गर्नु भनेको राष्ट्रको ऋण तिर्नु हो, समाजमा असल सन्तान तयार गर्नु हो । यस्तो काममा हेलचेक्र्याइँ गर्नुहुन्न ।’ 

०००
बालसाहित्यकार घिमिरे भन्छन्, ‘प्रविधिमा बच्चाहरूलाई कति पहुँच दिनेबारे कोही पनि सचेत छैनन् । सरकार पनि मौन छ । त्यसको परिणाम बच्चाहरूमा आफ्नोपन सकिँदै छ ।’ बालबालिकालाई प्रविधिको पहुँचमा नियन्त्रण गरी बालपत्रिकातिर तान्नुपर्ने उनको मत छ ।

बालपत्रिका पढाउने आदत समाजमा बसाल्न नसकेको स्विकार्छन्, कथाकार वाग्ले । भन्छन्, ‘सानैदेखि बच्चाहरू ग्याजेटमा अभ्यस्त हुन्छन् । अविभावक पनि ग्याजेटमा अल्झिएका छन् । किताबतिर हामीले ध्यान तान्न सकेनौँ ।’ राम्रो पठन सामग्री ल्याउने हो भने प्रविधिबाट पुस्तकतिर बच्चाहरूको ध्यान तान्न सकिने उनको भनाइ छ । 

बालपत्रिका छाप्नु ‘भेटेनरी डाक्टर’ बन्नु हो । भेटेनरी डाक्टरले गलत औषधि लेखिदियो भने पनि पशु बोल्दैन । बालबालिकाका लागि गलत सामग्री प्रकाशित गरियो भने पनि उनीहरू बोल्दैनन् । बालपत्रिका निकाल्नु अत्यन्तै जिम्मेवार कर्म हो । – विनय कसजू

सम्पादक खड्का भन्छिन्, ‘बच्चाहरूले पत्रिका नै पढ्दैनन् । सबै टेलिभिजन, आइप्याट र ल्यापटपतिर झुम्मिएका छन् ।’ बालबालिकाले पत्रिका नपढ्नुमा प्रविधि नै मुख्य जिम्मेवार रहेको उनको निष्कर्ष छ । भन्छिन्, ‘हाम्रो पत्रिका परम्परागत ढर्रामा छ । बालबालिकाहरू प्रविधितिर आकर्षित भइरहेका छन् ।’ बालपत्रिकाहरूले परम्परागत ढर्रा छाडेर डिजिटल संसारमा प्रवेश गर्नुपर्ने उनको भनाइ छ । 

प्रविधि र बालबालिका
प्रविधिमा रमाइरहेका बालबालिकालाई पठन संस्कृतितिर तान्नु निकै ठूलो चुनौती रहेको बताउँछन्, बालसाहित्यकार पराजुली । भन्छन्, ‘प्रविधिले बालबालिकाको सिर्जनात्मक क्षमतालाई मारिरहेको छ ।’ तर, बालसाहित्यकार कसजू अबको पुस्ता प्रविधिबाट पुस्तकतिरै जानुपर्ने मत राख्छन् । भन्छन्, ‘किताबको जमानाबाट अब इन्टरनेटको जमानामा जानैपर्छ । त्यसका लागि पुस्तकलाई डिजिटल प्रविधिमा लैजानुपर्छ । त्यो हुनु भनेको पुस्तकमा पँखेटा लाग्नु हो ।’

बालसाहित्यकार मानन्धरको भनाइ कसजूसँग नजिक छ । उनी प्रविधिबाट बालबालिकालाई कटाउन नसकिने बताउँछन् । बच्चाहरूले औषधि खान नमानेपछि त्यो औषधि खानामा मिसाएर खुवाएजस्तै उपाय अपनाउनुपर्ने उनको धारणा छ । भन्छन्, ‘अब बच्चाहरूलाई चाहिने चिज उनीहरूले मोबाइलमा भेटिने गरी राखिदिनुपर्छ । अझ अरूभन्दा लोभलाग्दो तरिकाले राख्नुपर्छ ।’ 

कहाँ छ राज्य ? 
कसजूको अनुभव छ– अमेरिका, स्विडेन, डेनमार्कजस्ता देशमा बालपत्रिका राज्यको प्राथमिकतामा पर्छ । तर, नेपालमा त्यस्तो छैन । ‘गोरखापत्र’ संस्थानबाट मासिक प्रकाशित हुन्छ बालपत्रिका ‘मुना’ । नेपाल प्रज्ञा प्रतिष्ठानले बालबालिकाका लागि अर्धवार्षिक पत्रिका ‘बालप्रज्ञा’ भर्खरै प्रकाशनमा ल्याएको छ । तर, यी पत्रिका देशैभरि पुग्दैनन् । ‘सरकारको प्राथमिकतामा बालसाहित्य परेको छैन,’ प्रधान भन्छन् । 

सरकारले सामुदायिक विद्यालयमा मात्रै भए पनि बालपत्रिका पढ्ने वातावरण बनाउन सके समाजको सकारात्मक परिवर्तनमा बालपत्रिकाको भूमिका हुने प्रधानको धारणा छ । बालपत्रिकाबारे राज्यको कुनै नीति नभएको बताउँछन् पराजुली पनि । पराजुली भन्छन्, ‘विदेशतिर उत्कृष्ट बालपत्रिकालाई सूचीकृत गरी स्कुलहरूमा पढ्न निर्देशन दिएजस्तै नेपालमा पनि सोही विधि अपनाउनुपर्छ । नेपालका स्कुल–स्कुलमा लाइब्रेरी राख्ने भनियो, तर त्यो बिक्री नहुने र बालबालिकालाई काम नलाग्ने पुस्तकहरू थन्क्याउने ठाउँ मात्रै बन्यो ।’

बालबालिकाको मानसिक र सामाजिक विकासका लागि बालपत्रिका नभइनहुने कसजूको भनाइ छ । राज्यको पञ्चवर्षीय योजनामै बालसाहित्यको विषय समेटिनुपर्ने उनको माग छ । भन्छन्, ‘देश विकासका लागि बालबालिकाको विकास अनिवार्य छ, बालबालिकाको विकासका लागि बालपत्रिका अनिवार्य छ ।’

तपार्ईं बालपत्रिका किन निकाल्नुहुन्छ ?
शान्तदास मानन्धर
टिप्पणी

कसैले सुझाएर मैले बालसाहित्य लेख्न–छाप्न सुरु गरेको होइन । बालपत्रिका निकाल्दा पैसा कमाइन्छ भनेर यसमा लागेको पनि होइन । तर, म बालसाहित्यको क्षेत्रमा लागेँ । किन लागेँ भन्नेबारे एउटा सानो कथा छ । २०१८ सालदेखि महेन्द्रले ‘एक भाषा, एक भेष, हाम्रो राजा हाम्रो देश’ भन्ने नीति लागू गरे । म त्यसवेलामा लैनचौरको शान्ति विद्या गृहमा पढाउँथेँ ।

केटाकेटीहरूलाई सात पिरियडसम्म पढाउनुपथ्र्यो । विद्यार्थीहरू थाकेका हुन्थे । कोही त निदाउँथे पनि । मैले विद्यार्थीलाई हात्तीको चित्र बनाउन सिकाएँ । त्यसपछि उनीहरू जागरुक भए र कोही निदाएनन् । खुसी हुँदै चित्र कोर्न थाले । त्यसपछि म केटाकेटीप्रति नजिकिन थालेँ । केटाकेटीहरूलाई माया गर्ने भएँ । 
त्यो समय अन्तर्राष्ट्रिय रूपमा नेपाल चिनिने समय पनि थियो । चीन, रुस, अमेरिकासँग दौत्य सम्बन्ध बढ्यो । लाइब्रेरीहरू खुले । त्यही परिवेशबाट बालसाहित्यको क्षेत्रमा लाग्ने सोच बनाएँ । आफैँले चित्र कोरेर ‘तारा’ भन्ने किताब निकालेँ । त्यसवेला बालपत्रिका समाजमा आवश्यक लाग्यो त्यसैले यही क्षेत्रमा लागेँ । 

आज बालपत्रिका प्रकाशन गर्नेलाई मेरो प्रश्न छ– तपार्ईं बालपत्रिका किन निकाल्नुहुन्छ ? के तपाईं बालबालिकाको अभिभावक हो ? गुरु हो ? दाजु हो ? बुबा हो ? तपाईं बालबालिकाको कोही पनि होइन भने किन बालपत्रिका निकालिरहनुभएको छ ? बालबालिकाले तपाईंको बालपत्रिका किन पढ्ने ? हामी बालबालिकाको अभिभावक पनि होइनौँ । उनीहरूका आफन्त पनि पर्दैनौँ । तर, किन बालबालिकालाई बालपत्रिका थमाइरहेका छौँ ? यो प्रश्न बालबालिकाले तपाईंलाई सोधे भने तपाईं के भन्नुहुन्छ ? बालपत्रिका निकाल्ने सबैले आफैँले आफैँलाई सोध्नुपर्ने प्रश्न हो यो । 

बालपत्रिका निकाल्नु स्वयंघोषित अभिभावक हुनु हो । किनकि केटाकेटीका निमित्त सिंगो समाज अभिभावक हो, लेखकहरू स्वयंघोषित अभिभावक हुन् । तर, यहाँ यसरी सोचिन्न । पुस्तकालय बन्ने भएपछि त्यहाँ बालपत्रिका बिक्री हुन्छ भनेर नयाँ प्रकाशक थपिए । एनजिओ–आइएनजिओले प्रकाशकलाई पुस्तक छाप्न लगाए । प्रकाशकले पनि पुस्तक निकालेपछि एनजिओलार्ई किनदिन आग्रह गरे । कतिपय बालपत्रिकाचाहिँ बालबालिकाकै सेवा गर्छु भनेर पनि लागेका छन् । 
‘बालकोसेली’ विज्ञापनले टिकेको होइन । म जे पायो त्यही विज्ञापन छाप्दिनँ । किनकि हामीले निकालेको पत्रिकामा विष हुनुहुन्न । पत्रिका पढिसकेपछि बालबालिकाले केही सिक्नुपर्छ । 

राज्यले एउटा निकाय खडा गरेर बालपत्रिकाहरू बालबालिकाको हितमा छ कि छैन भनेर मूल्यांकन गर्नुपर्छ । बालपत्रिकामा खराब सामग्री पढेर एउटा बच्चा बिरामी भयो भने ऊ जिन्दगीभर बिरामी हुन्छ । बालबालिका समाजको तिरस्कृत समूह हो । उनीहरू प्राथमिकतामा कहिल्यै पर्दैनन् । घरमा खाना पकाउँदा घरमूली पुरुषको अनुकूलतामा खाना पकाइन्छ । तर, बालबालिकाको अनुकूलतामा पकाइन्न । उनीहरूको अन्तिममा मात्रै पालो आउँछ । यो समाजको सानो उदाहरण हो । तर, बालबालिकाबारे गम्भीर भएर सोच्नुपर्छ । उनीहरू असल हुनु भनेको देश असल हुनु हो । 

राज्य निरंकुश भइदियो भने बढी दुःख बालबालिकाले नै पाउँछन् । संसारको इतिहासमा अनिकाल वा अन्य संकट परेका वेला सबैभन्दा पहिले बालबालिका बेचिए । त्यसपछि महिला बेचिए । त्यसैले बालपत्रिकालाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ । बालपत्रिकाले सचेत नागरिक उत्पादनमा सघाउँछ । 

 कुराकानीमा आधारित

 

 

प्रतिकृया दिनुहोस