• वि.सं २०७६ असोज ५ आइतबार
  • Sunday, 22 September, 2019

अधिकृत छाडी अस्ट्रेलिया

२०७६ भदौ ७ शनिबार ०९:०६:०० | काठमाडाैं

मार्क्सले बुझेको पुँजीवादी व्यवस्था र वर्गीय समाजको विज्ञान नबुझ्दै मैले बुझेको थिएँ कि म कहिल्यै धनी हुनेछैन । मेरी छोरी सारिका जसलाई म धेरै प्रेम गर्छु, उनैको कसम खाएर भन्छु कि मलाई कहिल्यै धनीहरूलाई देखेर डाह लागेन र धनी हुने इप्सा पनि जागेन । 

तर, मलाई मेरा आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्दा, जस्तो कि छोरीको मन्टेस्वरीको फी, दुइटा कोठाको भाडा, लत्ताकपडा, दालचामल र कहिलेकाहीँ गर्नुपर्ने सामान्य औषधि उपचार गर्न धौधौ हुँदा र केही आपत्कालीन घटना घट्यो भने कसरी गुजारा चलाउने होला भनेर सोच्दै गर्दा मेरो टाउको दुख्छ ।

रक्तचाप बढ्छ । हजारौँलाई ज्ञानको दौडमा पछाडि पारेर म यो देशको अधिकृत भएको हुँ, तर मेरो हैसियत यस्तो छ । म जति गहिरिएर हेर्छु, मेरो देशको अनुहार निकै मलिन देख्छु । 

मैले अहिलेसम्म कुनै राजनीतिक पार्टीलाई पनि खुलेर समर्थन गरेको छैन । तर, मेरा दाजुभाइ वा आफन्त कुन पार्टीका छन् भनेर नै समाजले मलाई मैले नछानेको पार्टीसँग जोडिदिन्छन् । तर, मैले अहिलेसम्म कसैसँग भनसुन गरेर आफ्नो बाटो खुलाउने बाटो रोजिनँ । मेरा बाले देखाएको अप्ठ्यारो बाटोले मलाई अप्ठ्यारो घुम्तीमा पुर्‍याएको छ । तर, अहिलेसम्म जसोतसो यात्रा गरिरहेकै छु । 

प्रिय देश, तिम्रो यो विशाल क्षेत्रफलमा मैले पनि चार आना क्षेक्रफलको सपना देखेको थिएँ । र, मैले गएको १० वर्ष अथाह परिश्रम गर्दा पनि त्यो सपनाको जग हाल्न सकिनँ । मैले १० वर्षअगाडि अबको १० वर्षपछि यही अधिकृतको जागिर खाएर र बिहान प्राइभेट कलेजमा भ्याई–नभ्याई पढाएँ भने राजधानीमै नसके पनि आफ्नै जिल्लामा त एउटा सानो घर बनाउने जग्गा जोडौँला भन्ने सोचेको थिएँ, मात्र चार आनाको । 

सारिका ६ वर्षकी भइसकिन् । मसँग मेरा आफन्त भनेका बा हुनुहुन्थ्यो । मेरा कुनै दाजुभाइ वा दिदीबहिनी छैनन् । बा पार्किन्सन्स र मुटुका रोगी हुनुहुन्थ्यो । मृत्युसँग निकै डराउनुहुन्थ्यो । म राजधानीमा भर्खर अधिकृत भएर सिंहदरबारको अर्थ मन्त्रालयमा छिर्दा बालाई बिमारीले च्याप्यो ।

मसँग साहस थियो । यति धेरैलाई पछारेर यो सिंगो देशको अर्थव्यवस्था सम्हाल्ने अर्थ मन्त्रालयको अर्थ सल्लाहकारसरह काम गर्ने नागरिक कसरी चानचुने हुन सक्छ ? त्यसमाथि बिहान सहरमा नाम चलेकै प्राइभेट कलेजमा पढाउँथेँ । बाको मृत्युभयलाई पार गर्न लखनउ लिएर गएँ । बा पहिले लखनउमै काम गर्नुहुन्थ्यो । बालाई लखनउको उपचार विश्वासिलो लाग्थ्यो ।

मलाई बाको चाहना पूरा गर्नु नै धर्म हो झैँ लाग्यो । बाको छातीमा पेसमेकर राख्नुपर्ने भयो । बालाई केही महँगा औषधि खाइराख्नुपर्ने भयो । १० वर्षअगाडि म्याग्दीको जग्गा त्यति महँगो थिएन । मैले जग्गा बेचिदिएँ । किनकि, म बाविना बिल्कुल एक्लो थिएँ । मलाई मेरो स्वार्थका लागि पनि बाको उमेर लम्बाउनु थियो ।

मैले बालाई त्यसपछि काठमाडौंमै ल्याएँ । त्यतिखेर मेरो बिहे भएको थिएन । बाले एक दिन मलाई ‘बिहे गर अब’ भन्नुभयो । मेरा दिदीबहिनी वा दाजुभाइ कोही थिएनन् । जीवनमा जिम्मेवारीले यसरी थिच्यो कि अहिलेसम्म कसलाई मन पराएँ, कोसँग आकर्षित भएँ भन्ने कुरा मेरा लागि आकर्षणका विषय भएनन् । 

मैले डेरा गरेर बस्ने घरको छेउमा एउटा बोर्डिङ थियो । ज्योतिले त्यही बोर्डिङमा पढाउँथिन् । मैतीदेवीको साँघुरो भित्री बाटोमा हाम्रा आँखाहरूले बिहान निस्किँदा र बेलुका फर्किंदा प्रायः हरेक दिन छोटो, तर फराकिलो संवाद गर्थे । नरोकिईकन । नबोलीकन । 

 

एकदिन अडिएर सोधेँ, ‘तपाईंले स्कुल पढाउनुहुन्छ होला जस्तो छ, म पनि जागिर खोजिरहेको छु ।’ मैले उनलाई पहिलो संवादमै ढाँटेँ । उनले निकै चासो दिएर आफ्नो स्कुलको ठेगाना दिइन् । उनले नहिचकिचाईकन आफ्नो मोबाइल नम्बर दिइन् । 

त्यसपछि भेटेको दिन सिंहदरबारको क्यान्टिनमा बोलाएँ । चिया र समोसा खुवाएँ । माफी मागेँ । अनि माया मागेँ । माफी पनि पाएँ । माया पनि पाएँ । भेटेको तीन महिनामा हामीले बिहे गर्‍र्यौं । डेरामा ज्योति भित्रिएको दुई महिनामै बा, आमा भेट्न धुवाँ भएर उड्नुभयो । त्यसपछि मेरो आफन्त ज्योति मात्र भइन् । त्यसपछि हाम्रो जीवनमा सारिका आइन् । 

मेरो प्रिय देश,म कहिलेकाहीँ कल्पना गर्छु, मेरा आफ्ना लाग्ने आफन्त भइदिएको भए वा कमसेकम दाजुभाइ वा दिदीबहिनी भइदिएको भए । परिवारको एक्लो भएको हुनाले मलाई ठूलो परिवार बनाउने चाहना हुन्थ्यो । चाहना हुँदैमा सबै कुरा नहुँदो रहेछ । 

हामी सारिकालाई अगाध प्रेम गर्छाैं । यो सम्झेर दुःख लाग्छ कि हामीपछि हाम्री छोरीको आफन्त मात्र उनको भविष्य हुनेछ । सीमित साधन र स्रोतले असीमित चाहनाहरूको परिपूर्ति गर्न सिकाउने अर्थशास्त्रमा स्नातकोत्तर गरेर यो देशको अर्थ मन्त्रालयको अधिकृत भएर पनि मैले सारिकापछि अर्को सन्तानको चाहनालाई परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेर छेकिरहेको छु ।

आशा त हो, कहिलेकाहीँ लाग्छ, भाग्यको घुमाउरो बाटो मेरै अघि आएर रोकिन्छ कि कुनै दिन । समाउँछ कि मेरो सपनाको हात । डोर्‍याउँदै डोर्‍याउँदै मेरो सपनालाई सिकाइदिन्छ कि साकार हुने तरिका । त्यही आशाका कारण ज्योति स्थायी परिवार नियोजन गर्न चाहँदिनन् । उनलाई पनि मलाई जस्तै ठूलो परिवार बनाउने चाहना छ । 

प्रिय देश,
मैले सरकारी कर्मचारी हुनेबाहेक अरू कुनै सपना देखिनँ । ज्योतिलाई शिक्षिका हुनबाहेक केही मन परेन । मैले ज्योतिसँग माफी मागेँ । किनकि, उनले स्कुल पढाउन छाड्नुपर्ने भयो । ज्योतिको अनुहार र मनभित्रको ज्योति निभ्यो । जिम्मेवारीको युद्ध हारेर बस्ने ज्योति पनि देश बदल्ने आन्दोलन बोकेर हारेको अपांग योद्धाजस्तै भएकी छन् ।

युद्ध सम्झिँदा कहाली लाग्छ । कोही भन्छन्– जनयुद्धले सबैभन्दा बढी पुँजीवादीहरू जन्मायो । यसैको फाइदा उठाएर कालो धनका मालिकहरू अहिले जग्गाको प्लटिङ गरी गरी सायद हाम्रो सपनाको क्षेत्रफल घटाइरहेका छन् । तिमी कति अभागी मेरो देश, जहाँ सबैभन्दा बढी कम्युनिस्टहरू छन्, यही देशमा सबैभन्दा डरलाग्दो वर्गीय भिन्नता छ । 

 हजारौँलाई ज्ञानको दौडमा पछाडि पारेर म यो देशको अधिकृत भएँ । तर, छोरीको स्कुल फी, कोठाको भाडा, लत्ताकपडा र दालचामल जुटाउन मलाई धौ–धौ हुन्छ । अझ आपत्कालीन घटना घट्यो भने कसरी गुजारा चलाउने होला भनेर सोच्दै गर्दा मेरो टाउको दुख्छ । 

मेरो घरबेटी अशोक गज्जबका फरासिला देखिन्छन्, मैले हरेक महिनाको एक गते बेलुका आफैँ ढोका ढकढक्याएर दुइटा कोठाको भाडा १३ हजार बुझाइन्जेलसम्म । एकपटक दुई दिन ढिलो हुँदा उनको असन्तुष्ट अनुहारका वक्ररेखाहरूले तर्साएका थिए मलाई । त्यसैले उनी मसँग पैसा उठाउन नआउँदै म उनको ढोकामा उभिन्छु । उनका दुईवटा घर छन् । महिनाको एक लाख भाडा उठाउँछन् ।

जग्गाको दलाली गर्छन् । उनकै छोराबाट सुन्छु, बाले महिनाको तीन लाख कमाउँछन् । उनको छोरा वसन्त कहिलेकाहीँ मसँग हजार रुपैयाँ सापटी माग्छ, उसको बाउ निकै छुचो भएको गुनासो गर्छ र मेरो उदारताको प्रशंसा गर्छ । मेरो बाउले एक पैसा ट्याक्स तिर्दैन भनेर यो देशको अर्थ अधिकृतसँग खुलमखुला पोल खोल्छ ।

मेरो देश, मलाई यहाँ मेरो घरबेटीले वा कुनै सहरमा सटरको भाडा मात्रै ५–६ लाख उठाउने घरधनीले वा करौडौँ मुनाफा गर्ने व्यापारीले कर तिर्छ–तिर्दैन भनेर सोचेँ भने मेरो शरीरको रक्तचाप झनै बढ्छ भनेर म त्यतातिर ध्यानै दिन्नँ । तर, म चुपचाप मेरो तलबबाट तिमीलाई कर तिरिरहन्छु । 

म ४० वर्षको लागिसकेँ । यो सहरको धुवाँ र धुलोले आयु घटाएन र म नेपालीको औसत आयु बाँचेँ भने मेरो सपना भाडाकै कोठामा देखेर भाडाकै कोठामा सेलाउन चाहँदिनँ । मैले आफूलाई नढाँटीकन कसरी छोरीलाई भन्न सकुँला कि छोरी सबैभन्दा ठूलो आफ्नै देश हो ।

देश यति योग्य भएर पनि एउटा सानो आधारभूत चाहना पूरा गर्न अयोग्य भएर मेरी छोरी पनि मैले जसरी नै बस्नुपर्‍यो भने भन्ने सोचेर म तर्सिरहन्छु । के म मेरो उमेर र जिम्मेवारीको उकालोदेखि डराएर कमजोर भएको हुँ । के म कायर भएको हुँ ? के म हुतिहारा भएको हुँ । प्रिय देश, सायद म यी सबै भएको 
हुन सक्छु । 

मेरो देश, मलाई सानोमा तिम्रो नक्सा पटक्कै मन पर्दैनथ्यो । लाग्थ्यो, नक्सा कोर्नेले किन यति बिगारेर कोर्‍यो होला ? सीधा रेखा खिचिदिएको भए सबैलाई कति सजिलो हुन्थ्यो । कहिलेकाहीँ सोचिरहन्छु, मैले देशको नागरिकता त नक्साभित्रकै बनाएँ, यो सम्पूर्ण देशलाई आफ्नो बनाएँ, यति धेरै परिश्रम गर्ने नागरिकको हैसियतले किन जाबो चार आना क्षेत्रफलको मालिक हुन सकिनँ ?

मेरो देश, म यो देशको योग्य नागरिकको भविष्य त यस्तो छ म भनेँ सामान्य लाखौँ नेपालीहरूको भविष्य कस्तो होला ! सायद तिनीहरूको सपनाको चार आना क्षेत्रफल पनि त्यही बांगोटिंगो नक्साको रेखाबाहिर बरालिइरहेको होला । 

मेरो देश, मैले आफ्नै मन्त्रालयका केही तथ्यांकहरूको जोडघटाउ गरिरहँदा लाग्छ, कहिलेकाहीँ तिम्रो लिलामीको बोली लाग्नेछ । त्यतिखेर मसँग भएको मेरो नागरिकताको आयु पनि घटिरहेझैँ लाग्छ । लाग्छ, म र मजस्ता कर्मचारीहरूलाई जे थाहा छ, त्यो तिमीलाई थाहा छैन । किनकि मलाई लाग्छ, देश तिमी जनताजस्तै भेडा छौ ।

नेपोलियन बोनापार्टलाई सधैँ विश्वास थियो कि एउटा सिपाही देशको झन्डाको एउटा धरो बाँकी रहुन्जेलसम्म लडिरहन्छ । सायद त्यो सिपाही र झन्डाबीचको विश्वास पनि देश हो । यो दुर्भाग्य हो कि देश कहिलेकाहीँ म र ज्योेतिको सपनाजस्तै कमजोर हुन्छ ।

युद्ध हार्नै लागेको सिपाहीको मनोदशाजस्तो लाचार हुन्छ । यतिखेर म मेरै मनसँग संवाद गरिरहेको छु । यतिखेर म मेरो मनजस्तै देश, मेरो मुटुजस्तै छोरी र मेरी जीवनसाथीलाई छोडेर केही वर्ष चार आना क्षेत्रफलमा चार कोठाको घर बनाउने सपना बोकेर सायद चारै वर्षका लागि अस्ट्रेलिया हिँडेको छु ।

 

 

 

प्रतिकृया दिनुहोस