• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रोशन शेरचन काठमाडौं
२०७५ चैत २ शनिबार ०९:०२:००
साहित्य

लेखकको पुनर्जन्म

२०७५ चैत २ शनिबार ०९:०२:००
रोशन शेरचन काठमाडौं

इतिहासतर्फ फर्कंदा देख्छौँ, साहित्यको वैभवशाली महलमा एक समय पाठकभन्दा लेखक उच्च आसनमा बस्थे । लेखक र दार्शनिकलाई दैवीय रूप नै मानिने युग पनि थियो । शासकहरू लेखक कविलाई आकर्षक पदवी र राजकीय सुविधा दिई आफ्नो गुणगानमा लेख्न लगाउँथे । तर, समय फेरियो । लेखकको निरंकुशताबाट आजित भएर उत्तरआधुनिक समीक्षक,चिन्तकले पाठकलाई बल दिने दृष्टिकोण अगाडि सारे । अहिले उच्च आसनमा पाठक बसेका छन् । आधार मञ्चमै देखिएजस्ता छन् कि ? नेपथ्यमा पनि छन् ? पर्गेल्न कठिन छ । तर, केही सन्दर्भ अगाडि सार्न सकिन्छ । 

इस्वी संवत् १९६७ मा लेखकको उच्चासनमा शक्तिशाली भूकम्प गयो । साहित्यको क्षेत्रमा त्यसको परकम्प अझै अनुभव हुन्छ । त्यो साल रोला बार्थको निबन्ध ‘लेखकको मृत्यु’को अंग्रेजी पाठ प्रकाशित भएको थियो । मूल पाठ फ्रेन्चमा थियो । त्यस निबन्धको पक्ष र विपक्षको लामै पंक्ति उभियो । उक्त निबन्धले लेखकको शक्तिलाई बेस्सरी खुम्च्यायो भने पाठकको सत्तालाई असीमित फैलायो । बार्थको मतमा, पाठको एउटै मात्र अर्थ हुँदैन, जसरी लेखक दाबी गर्छ । तसर्थ बहुल पाठकले लगाउने अर्थ नै अन्तिम हो । 

लेखक र पाठकबीच बार्थ सीमारेखा कोर्छ । तर, त्यो दृष्टिकोण पाठकले अर्थ लगाउने प्रक्रियामा सहभागीको सर्वोच्चताभन्दा प्रतिक्रियाका रूपमा अधिक आएजस्तो देखिन्छ । लेखक मात्र लेखक होइन । ऊ पाठक पनि हो । यद्यपि, उसको लेखकीय पाटो मुखर हुन्छ । सार्वजनिक वृत्तमा लेखकका रूपमा ऊ अधिक चिनिन्छ । पाठकीय आयाम नेपथ्यमा छेलिन्छ । लेखक एकोहोरो लेखेर मात्र बस्दैन, अन्य धेरै लेखकलाई पढ्छ र आफूभित्र पाठकको निर्माण गर्छ । बार्थको मत कुन हदसम्म स्वीकार्य लाग्छ भने ‘साहित्यिक कृतिको अर्थ के हो भनेर लेखकलाई सोध्ने होइन, बरू पाठले (टेक्स्ट) के भन्यो त्यो हेर्ने हो ।’ तर, टेक्स्टकै दायराबाट लेखकलाई आफ्ना अभीष्ट प्रस्ट्याउन पनि निषेध गर्नु अप्राकृतिक लाग्छ । बार्थको हठी अभिव्यक्ति छ, पाठक जन्मिन लेखकको मृत्यु अनिवार्य छ ।

 बार्थको तर्क उपभोक्तावादको सिद्धान्तसँग पनि जोडिन्छ । पाठकलाई बजारको निर्णायक बनाएर डायसमा गजधम्म बस्ने बजारबारे हामी अनभिज्ञ छैनौँ । त्यही तर्कको त्यान्द्रो समातेर बजार उभिन्छ । बजारलाई राम्ररी हेक्का छ, पुस्तक छापेर मात्र हुँदैन, बजारमैत्री दृष्टिकोण पनि आवश्यक छ । बजारले पाठकलाई रेड कार्पेट ओछ्याएको छ । प्रकाशनगृहले भन्ने सुविधा पाएको छ, पाठकले मन नपराएपछि भुत्भुतिएर भयो त ? लोकतन्त्रमा पाठकको मत नै सर्वोच्च हुन्छ । सुन्दा होजस्तो लाग्छ । होइनजस्तो लाग्दैन । जुन पुस्तक बढी बिक्छ, तुलनात्मक रूपमा त्यही लेखक उत्कृष्ट हो भन्ने तर्क बलियो सुनिन्छ । त्यसको पनि कारण छ, तथ्यांकमा आधारित निष्कर्षको विपक्षीमा उभिन साहित्यमा मात्र होइन, जुनसुकै क्षेत्रमा कठिन छ । तर, तथ्यांकको जगमा देखिने यथार्थसँग जम्काभेट नगरी सत्य बाहिर आउँदैन । नम्हबर र न्यारेटिभको माखेसाङ्लो सम्बन्ध सरल छैन । 

पाठकको चेतना लेखकको भन्दा कमजोर भन्ने होइन । केही लेखकको चेतनाको हाराहारी पाठकको चेतना पनि उक्लेको छ । तर, स्मरण गर्नुपर्ने, विगतमा लेखकको चेतना सधँै माथि थियो भन्ने पनि गलत हो । न त अहिले लेखकको चेतना खस्दै गएको अवस्थामा मात्र छ । सम्बन्ध कदाचित् एकतर्फी छैन । वास्तवमा चुरो अमूर्त छैन । सरल छ । हाडेओखर मात्र बनाइएको छ । सायद दुई तत्वलाई  राम्ररी नियाल्नुपर्छ । पहिलो, संख्या । दोस्रो, पाठकका विविध चरित्र वा विशेषता । 

लेखक र पाठकको सम्बन्ध एकसँग एक (वन टु वन) होइन । एकसँग बहुल (वन टु मेनी) हो । कारण संख्यात्मक हिसाबले, पाठक लेखकभन्दा कति हो कति गुणा बढी छ । अनुमान गर्नै कठिन । साथै, पाठक फेरि समरूप (होमोजेनस) प्रवर्ग होइन । तसर्थ, पाठक नामको बहुल ढिक्कालाई फोर्नु आवश्यक छ । त्यो ढिक्का फोरेर पाठकभित्रका उमेर समूह, वर्ग, लिंग, आर्थिक–सामाजिक पृष्ठभूमि, जात र भूगोल विश्लेषण गर्न आवश्यक छ । त्यसपछि मात्र बलियो–कमजोर, उत्कृष्ट औसत निकृष्ट निष्कर्ष निकाल्नु उचित हुन्छ ।

बहुल पाठक जो परिभाषाले नै विविधतायुक्त छ,लाई नउधिनेर थोकमा लेखकभन्दा पाठक उन्नत चेतनाको छ भन्नु हतारको तर्क हुन्छ । त्यसरी तर्क गर्न स्वतन्त्रताको कुरा हो, तर तर्कसंगत हुँदैन । लेखक त्यो हदसम्म पाठकमैत्री हुने हो जुन बिन्दुसम्म पाठकले लगाएको अर्थ लेखकको विपरीत उभिँदैन । लेखकले सोचेको अर्थको विपरीत भए, मैले भन्न खोजेको यसो हो, लेखकले भन्नुपर्छ । सिद्वान्ततः भन्न पाउनुपर्छ । स्वान्त सुखायका निम्ति लेखेको हुँ, पाठकसँग बहस गर्दै हिँड्ने टन्टा गर्दिनँ भन्यो भने त्यो अर्कै विषय भयो । लेखेपछि कर्म सकिएको मान्ने लेखक हामीकहाँ पनि बग्रेल्ती छन् । 

‘लेखकको काम लेख्ने हो, व्याख्या गर्दै हिँड्ने होइन’ पछिल्लो समय उक्त विचार तीव्र गतिमा झ्यांगिँदो छ । संस्थागत हुँदै छ । व्याख्या गर्दै हिँड्ने होइनको अन्तर्यमा लेखकलाई लेखनमा मात्र सीमित होऊ भन्ने आग्रह छ । पाठकको मतलाई अनदेखा गर भन्ने आग्रह । व्याख्या गर्दै हिँड्ने त पक्कै होइन । लेखनयात्रा चुनावी दौडाहा कहाँ हो र ? तर, पाठकले जस्तो अर्थ लगाए पनि लेखक मौन बस्ने होइन वा सहमतिमा टाउको हल्लाउने होइन ।

पाठकको अर्थ लगाउन पाउने स्वतन्त्रताको लेखकले सम्मान गर्नैपर्छ, तर अर्थ विरूप बनाइए, आफ्नो धारणालाई प्रस्ट्याउन लेखक अगाडि सर्नुपर्छ । यस सन्दर्भमा जिम रोनको अर्थपूर्ण अभिव्यक्ति छ, ‘आफ्ना मूल्य–मान्यतालाई मान्छेले प्रतीरक्षा गर्नु आवश्यक छ ।’ आफ्ना विचारको प्रतिरक्षामा उभिनु लेखकको नैतिक दायित्व हो । आफ्नो विचारको भारवहन नगर्ने हो भने, लेखकले किन लेख्ने ? आलुको पोका बोके भैगो नि । लेखन बुद्विविलास भयो कि भएन ? एउटा कसी, विचारको भारवहन गर्न लेखक अघि सर्छ कि सर्दैन हेर्नु पनि हो ।

समयको निश्चित बिन्दुमा लेखकको विचार दृष्टिकोण नभए परिमार्जनको सम्भावना रहँदैन । आफ्नो बुझाइको सापेक्षमा विचार दृष्टिकोण सुल्झाउँदै लैजाने हो । लेखकले सधैँ पाठककै धारणा पछ्याउँदै जाने हो भने, ऊ लेखक रहँदैन । ऊ पाठकीय धारणाको वाहक मात्र रहन्छ । लेखकको केन्द्र हराउँछ । केन्द्र हराएको लेखक सेलिब्रिटी त होला, तर कान्तिविहीन हुन्छ । आजभोलि त अधिकांश कान्तिविहीन लेखक नै सेलिब्रिटी छन् । औसत दर्जाको, तर ठूलो संख्यामा पाठकको लाइक कमेन्ट पाएको । सामाजिक सञ्जालले मलजल गरिरहेकै छ । केन्द्र, सधैँ समाइराख्ने स्थायी हाँगो निश्चित होइन, बरू उन्नत बनाउँदै लैजाने प्रक्रिया हो ।

इतिहास र वर्तमानमा केही लेखकहरूले आफ्ना पुस्तकका पछिल्ला संस्करणमा विशेष परिमार्जन गर्दै लेखकको मृत्यु अस्वीकार गरेका छन् । अथवा पुनर्जन्म लिएका छन् । अमेरिकी कवि वाल्ट ह्विट्मेनलाई क्लासिक उदाहरणका रूपमा लिन सकिन्छ । उनले आफ्नो चर्चित कवितासंग्रह ‘लिभ्स् अफ ग्रास’लाई जीवनभर परिमार्जन गरिरहे । चार दशकको अवधिमा ह्विट्मेनले पृथक आस्वादका अनेकौँ संस्करण दिए ।

पहिलो संस्करणमा मात्र १२ कविता रहेको ‘लिभ्स् अफ ग्रास’पछिल्लो संस्करणमा आइपुग्दा चार सयभन्दा बढी कविता समेटिएका थिए । नेपाली साहित्यमै पनि त्यस्ता उदाहरण रहेछ । भर्खर मेला भर्न कवि निबन्धकार भूपिन, आख्यानकारद्वय गनेस पौडेल र तीर्थ गुरुङसँग म बलेवा पुगेको थिएँ । कवि भूपिनकै घर–आँगनमा धुनी लगाएर अबेर रातसम्म साहित्यका विषयमा कुराकानी गर्दै बितायौँ । आख्यानकार पौडेलले त्यसै बसाइमा बताए, ‘उपन्यासकार सञ्जीव उप्रेतीले ‘घनचक्कर’को पछिल्लो संस्करणमा अघिल्ला केही अनुच्छेद झिकी, नयाँ अंश थपेका छन् ।’ ह्विटमेन र उप्रेतीहरू त्यस अर्थमा त्यस्ता लेखक हुन्, जो लेखकको जिम्मेवारी कहिल्यै नसकिने भनेर हामीलाई सम्झाइरहन्छन् । अन्य लेखक पनि पक्कै होलान् । खोजीकै विषय हो । 

लेखकले सधैँ पाठककै धारणा पछ्याउँदै जाने हो भने ऊ लेखक रहँदैन । ऊ पाठकीय धारणाको वाहक मात्र रहन्छ । लेखकको केन्द्र हराउँछ । केन्द्र हराएको लेखक सेलेब्रिटी त होला, तर कान्तिविहीन हुन्छ । आजभोलि त अधिकांश कान्तिविहीन लेखक नै सेलेब्रिटी छन् ।

पाठकमैत्री अवधारणाका पनि सीमा छन् । सयौँ, हजारौँ वा लाखौँ पाठकको अर्थलाई सर्वोच्च मान्दा बहुल अर्थ समान रूपमा गुणवत्तापूर्ण हुँदैन । हजारौँ, लाखौँ पाठकमा छरिएका मेल, बेमेल, विपरीत विचारका सर्वोच्चतालाई स्विकार्ने मस्तिष्कले अन्ततः लैजाने निस्सारता र निहिलिज्ममै हो । सबै ज्ञानपद्धति, नैतिक मूल्य–मान्यता, विचारधारा र वादहरूको निषेधले पु-याउने आखिर शून्यता र विभ्रममै हो । जीवन नैसर्गिक रूपमै अर्थहीन, शून्य र निषेधात्मक देखिए, विचार हिंस्रक र घातक बन्दै जान्छ । 


बार्थको दृष्टिकोण लेखकमैत्री प्रचलनको प्रतिक्रियास्वरूप आएजस्तो देखिन्छ । जसरी बार्थका विचार अघिल्ला विचारलाई चुनौती दिँदै स्थापित भयो, अहिलेका विचारलाई पनि विस्थापित नगरी भविष्यका दृष्टिकोण स्थापित हुँदैन । साहित्यिक सिद्धान्तको इतिहास नियालेर हेर्दा त्यो प्रस्ट देखिन्छ । हिजोको लेखकलाई विस्थापित गर्दै पाठकलाई स्थापित गरिएको पाठकमैत्री अवधारणा अतिवादको अर्को अवतार लाग्छ । 

चर्चित पुस्तक ‘सापियन्स’का लेखक युवाल नोआ हरारीको तर्कको आलोकमा पनि बार्थलाई हेर्न सकिन्छ । हरारीका अनुसार,एक्काइसौँ शताब्दीमा राजनीतिमा उदारवादी विचारधारा र अर्थजगत्मा नाफामुखी विश्वव्यापीकरणको वर्चस्व छ । अघिल्ला शताब्दीको दाँजोमा राष्ट्रवाद कमजोर छ । सर्वसाधारण मान्छेका जनजीविका, शिक्षा र स्वास्थ्यप्रति बेवास्ता गरेकाले उदारवादी विचारधारा पनि विघटनतिर उन्मुख छ । तर, वैकल्पिक राजनीतिक खाका देखिँदैन । जब राष्ट्रवाद उभारमा थियो, महत्वपूर्ण निर्णयहरूयुद्धबाटै हुन्थ्यो । १८औँ शताब्दीमा स्कटिसहरू लन्डनको अधिनमा बस्न नमान्दा, इंग्लैन्डको सेनाले इडिनबरा सहर जलाएको थियो ।

हाइलैन्डमा नरसंहार मच्चाएको थियो । २१औँ शताब्दीमा अवस्था फेरिएको छ । स्कटलैन्ड युकेको राजनीतिक प्रशासनिक संरचनाअन्तर्गत बस्ने वा नबस्ने ? निर्णय अब जनमतसंग्रहबाट हुन्छ, ब्रेक्जिटको पनि । वर्तमान वैश्विक संरचनामा मतदाताको छनोटलाई सर्वोच्च मानिन्छ । त्यस्तै, बजार अर्थतन्त्रमा उपभोक्ता र साहित्यको बजारमा पाठक । पाठक पनि उपभोक्रामा फेरिँदै गएको छ । नाफामुखी विश्वव्यापीकरणको सापेक्षमा ‘लेखकको काम लेख्ने हो, व्याख्या गर्दै हिँड्ने होइन’मा निहितार्थ अर्थ राजनीति खोज्न माथापच्ची गर्नु पर्दैन । 

कन्ट्रारियन हुन अत्यन्त कठिन । विश्लेषक हावर्ड मार्क सचेत गराउँछ, ‘भिन्न भएर मात्र हुँदैन अधिक तर्कसंगत हुनुपर्छ ।’ भिन्न त प्रतिक्रियास्वरूप हुन सकिन्छ । तर, अधिक तर्कसंगत हुन धेरै कठिन । बिक्रीकै आधारमा लेखकलाई ठूलो मान्ने हो भने त फसादै पर्छ । संख्या लोकप्रिय मापन हो । व्यावहारिक पनि । हरेक पाठकलाई गन्तीमा एक मान्दा यसले समानताको बोध गराउँछ । तर, यो छली छ । क्वालिटीलाई यसले प्रतिनिधित्व गर्दैन । ज्ञान, सीप र विवेकको आकार पिरामिड हुने सत्य हो । सबै उत्तिकै विवेकी, सिर्जनात्मक र साहित्यिक चेत सम्पन्न हुन्थ्यो भने यी गुण यति महत्वपूर्ण  मानिदैनथ्यो । गुणवत्तासम्बन्धी (क्वालिटेटिभ) पाटा नखोतली बिक्री संख्या मात्र देखाउँदा यथार्थ तस्बिर बाहिर आउँदैन । 

पाठको गहिरो सत्य लेखक र पाठकको अन्तरक्रियामा भेटिन्छ । लेखक एउटा अर्धवर्तुल, पाठक अर्को । संवादमार्फत अर्धवर्तुलले पूर्णता पाउँदै वर्तुल बन्छ । पाठक र लेखक त्यही हदसम्म सर्वोच्च छ, जुन हदसम्म उनले आलोचनात्मक चेत सहितसंवाद थाल्छ । यी पंक्ति लेख्दा रातको १२ बज्नै थालेको छ । प्यालेस्टाइन कवि असरफ फयाद सम्झिएँ । साउदी सत्ताले फयादलाई नोभेम्बर २०१५ मा मृत्युदण्डको सजाय सुनायो । कवि फयादको रिहाइका लागि विश्वभरका लेखक एकजुट भए । अक्षर समूह, चितवनले पनि ऐक्यबद्धता कार्यक्रम ग-यो । उक्त कार्यक्रममा वाचन भएको कवि भूपिनको ‘कोर्रा’ शीर्षकको निम्न हरफबाट रन्थनिएको छु । लेखकको पुनर्जन्म आवश्यक छ भन्ने विचार झन् प्रगाढ हुँदै छ–ए जल्लादतिमी मरेर जानेछौ एक अर्थहीन जीवनतर, शब्द जीवित रहनेछ ।