कुइनेटो
शोरवयमा पाइला राख्न हतारिएको हल्हलाउँदो एक किशोर सरासर भर्याङनेर पुगे । र, उभिएर एकटक बाहिर हेरिरहेकी महिलालाई अँगालो हाले । किशोर बोली झर्यो, ‘चित्त नदुखाऊ है आमा । म केही भए, नरुनू ।’
नुहाउन, लुगा धुन र निदाउन अबेर भए पनि मुहारमा भने कतै पनि ‘थकान’ थिएन । ‘लाल मुहार’मा अचम्मको चमक थियो ।
‘म त दाइको ‘लाइन’ लिएर हिँडेँ’ भन्दै ती किशोर गए । अलि पर उभिएको घरले छेक्यो । तर, नझिम्काईकन ‘आमा आँखा’ले उनलाई पछ्याइरहे ।
त्यसवेला आकाशमा काला र सेता बादल लुकामारी खेल्दै थिए । र, रेडियोले सुनाउँदै थियो, लडाइँ खबर ।
उनी थिइन्, इन्द्रकेशरी श्रेष्ठ (६९) । किशोर थिए, उनकै साइँला पुत्र गंगाराम (१४) ।
०००
यसरी गंगाराम हिँडेको छैटौँ दिन, केशरी मामाघर गइन् ।
किन हो कुन्नि ? उनको मनमा ‘नजाती’कुरा ताँती लागे । र, तिनले धर्ना दिए । तुरुन्तै ‘मामाघरबाट घर फर्कूं’ भयो ।
छटपटाएको देखेर भाइले भने, ‘आजको रात केही बित्दैन दिदी । ...यो दिदीको जहिल्यै छटपटी !’
भुइँ उज्यालो नबस्दै घर हिँडिन् । आधाबाटो नकाट्दै गंगारामका साथी भेटिए । भने, ‘आमा ! गंगारामलाई त पुलिसले समायो ।’
थाहा भयो, साइँला भक्तपुरस्थित गःहिटीबाट समातिए । यो थियो, २०५८ ।
त्यो अशुभ खबर सुन्दासमेत अंगालोमा कसेर ‘पुत्र गंगारामबोली’ उनको कानमा थामिएकै थिएन ।
०००
भूमिगत भई बसेको घर पुगिन् । छोरा बसेको कोठा खोलिन् । घरपति डराए । हुन पनि, थाहा पाए त, घरपति छातीमै सरकारी गोलीले चुम्थ्यो ।
केशरीले आश्वस्त पारिन्, ‘खतरा सामान त अहिले नै लिएर जान्छु । तपाईंलाई केही हुन्न ।’ तर, घरपतिले भने खाट, ओढ्ने/ओछ्याउने सामान पनि लान ‘कर’ गरे ।
छोरा सुत्ने खाट र खाटमाथि ओछ्यान उस्तै थियो । एक जोर चप्पल थिए । र, कमिज भित्तामा तुर्लुङ्ग झुन्डिएको थियो ।
ओछ्यान सुम्सुम्याउँदै छोराले सपना देखेको कोठामा एकछिन भए नि सुस्ताउन मन थियो । तर, घरपति यति धेरै डराए कि, तुरुन्त निक्लनुपर्ने भयो ।
बेलुकीपख कमलविनायकभन्दा पनि पर लगे माओवादी सम्पर्कमा सामान लगे । ‘अप्ठ्यारो पर्ने’ सामान त केशरीले लगिसकेकी थिइन् । सायद बम, माओवादीका दस्ताबेज थिए कि !
‘त्यो याद आउँछ,’ साइँला पुत्र गंगारामलाई आँखाको आँसुको बाटोबाट बाहिर बगाउँदै पुल्चोकस्थित माइलीपुत्री रुवीको डेरामा केशरी भन्दै थिइन्, ‘आजसम्म पनि उसको बोली कानमा गुन्जिरहन्छ ।’
त्यसवेला गंगारामले घर छाडेर भूमिगत भएको तीन महिना लाग्दै थियो ।
०००
सूर्यविनायकमा जेठा ज्वाइँको दायाँ हातमा गोली लाग्यो । केशरीले भेट्दा छटपटाउँदै थिए । ‘धेरै पोल्यो’ भन्थे । ‘झिर तताएर गोली निकालिदिनुस् आमा’ भन्थे ।
केशरीले न घर ल्याएर ज्वाइँ स्याहार गर्न पाइन् न अस्पताल लगी उपचार गर्न ।
घाइते भएकै वेला कमरेडहरूले ‘लगालग’ फोन गरे । उनीहरूले त भनेथे, ‘ननिस्कनुस् । बेपत्ता बनाउँछ ।’
छोरा र माहिला ज्वाइँ बेपत्ता पारिएको घाउ निको नहुँदै जेठा ज्वाइँ अर्थात् नारायणदेवीपति वासुदेव सुवाल (२०६१) बेपत्ता बनाइए । माइलीपुत्री रुवीपति राजेन्द्र माली २०६० असोज १५ मा बेपत्ता पारिएका थिए ।
जेठापुत्र देवेन्द्र दम्पती, जेठी पुत्री नारायणदेवी दम्पती, माहिली पुत्री रुवी दम्पती, कान्छी पुत्री गंंगा दम्पती ‘डब्लुटी’ थिए । पूर्णकालीनको अंग्रेजी ‘होलटाइमर’को छोटकरी रूप ‘डब्लुटी’ शब्द माओवादी खलकमा खुबै चल्ती थियो ।
माइला पुत्र राजाराम भूमिगत भएनन् । कान्छा रविन बच्चै थिए । बाँकी उनका छोराबुहारी र छोरीज्वाइँ भूमिगत थिए ।
साइँला गंगाराम २०५८ मा बेपत्ता पारिँदा भर्खर १४ वर्ष लागेका थिए ।
गंगाराम र कान्छी छोरी गंगा नाच्थे । नाटकमा अभिनय गर्थे । जेठी नारायणदेवी र माइली रुवी गाउँथे । जेठा देवेन्द्र प्राविधिक थिए ।
छोरा र ज्वाइँ खोजी
२०५८ मा साइँला पुत्र गंगाराम बेपत्ता पारिए । त्यसपछि छोराको खोजीमा निक्लेको आमामन अझै फर्केको छैन । उनको तन र मन जहिल्यै छोरा र ज्वाइँ खोजमा हुन्छ ।
खोज्दै कहिले कहाँ धाइन् त कहिले कहाँ । उपत्यकाका पुलिस चौकी र सेना ब्यारेक कुन बाँकी होला र !
‘भन्नु नभन्नु लाजै मर्नु ‘भनेर ल्याए’ । धेरै गाली खाएँ मैले,’ छोरा र ज्वाइँ खोजमा बटुलेका खोज–कहर सुनाइन् ।
छोरा कहाँ थिए भनेर लेखिएको कागत खोजिन् । सूर्यविनायक ब्यारेकमा छ भनी लेखिएको कागत टुक्रा देखाइन् । जुन टुक्रा मैलिएर च्यातिन लागेको थियो ।
एकजना शाहीसेनाले ‘तिम्रो छोराको खबर’ छ भनी त्यो टुक्रा हात पारेका थिए । कागतमा लेखिएका अक्षरसँग उनको चिनजान थिएन ।
हात पारिन् ।
लेखिएथ्यो–एसपी उमाकान्त अर्याल, डिएसपी प्रताप श्रेष्ठ, इन्स्पेक्टर मुद्दा फाँट प्रताप आचार्य ।
सूर्यविनायक ब्यारेक, कर्नेल अब्बल राणा
केरकार शाखा इन्चार्ज अजय केसी बहालवाला आइजिपी ओमविक्रम राणा,
२०६१/९/३ गते
दिउँसो ...बजे (अंक लेखिएको भाग च्यातिएर बुझिँदैन)
पाटन न टोल
त्यही टुक्रा झोलामा बोकेर उपत्यकाका ब्यारेक र पुलिस थाना चहारिन् ।
बेपत्ता खोज्न ‘हस्ताक्षर अभियान’मा कहिले कहाँ कुदिन् त कहिले कहाँ । कपडामा हस्ताक्षर गराउँदै चितवन पुगिन् भने पर्चा छर्दै नारायणहिटी ।
०५८ मा साइँला पुत्र गंगाराम बेपत्ता पारिए । त्यसपछि छोराको खोजीमा निक्लेको आमामन अझै फर्केको छैन । उनको तन र मन जहिल्यै छोरा र ज्वाइँ खोजमा हुन्छ । छोरा कहाँ थिए भनेर लेखिएको कागज खोजिन् । सूर्यविनायक ब्यारेकमा छ भनी लेखिएको कागज टुक्रा देखाइन् । जुन टुक्रा मैलिएर च्यातिन लागेको थियो ।
त्यसवेलाको कुरा हो, जुनवेला बानेश्वरमा बेपत्ता परिवारको अनशन थियो । जिद्दी गरेपछि नाति नवीनलाई पनि लिएर अनशन थलो पुगिन् । थलोमा ब्यानर थिए । प्लेकार्ड थिए । जसमा बेपत्ताका फोटो र नाम थिए ।
नवीनका नयन तिनै प्लेकार्ड र ब्यानरका फोटो अनि अक्षरमा अल्झिए ।
फोटोमा नाम देखे । उनका बाबा, काका र मामाका नाम थिए । तिनै नाममा स्थिर फोटो थिए ।
नवीनको मन अडिएन । हजुरआमा केशरीलाई ‘घर जाम्’ भन्न थाले ।
बच्चाहरूलाई ‘जापान गएको’ भनेकी थिइन् ।
अनशन थलोबाट घर फर्केपछि नातिनातिनाले भन्न थाले, ‘आमा त ढाँट्वा रहेछ । बाबा, मामा र काका त बेपत्ता रहेछन् ।’
त्यो दिन सम्झेर केशरी फेरि रुन थालिन् ।
०००
केशरी र एकराज भण्डारीसहित चारजनाले बेपत्ता खोज अभियान थालेथे, अदालतमा मुद्दा हालेर । एकराज केशरीलाई झस्काइरहन्छन्, ‘हामीले नै बिर्से कसले सम्झेला हाम्रा मान्छेलाई ?’
त्यो मुद्दा कहाँ पुग्यो ? उनलाई त थाहा पनि छैन ।
बेपत्ता आयोग फेरि गठन भएको छ । आयोगमा करिब तीन हजार उजुरी छन् ।
न नेताले जीवित छन् भने न मारिए । न बेपत्ता नागरिकबारे केही कदम चाले ।
‘मारिएका भए, यहाँ छ चिहान भन । आफ्नो गच्छेअनुसार धर्म गर्छौं भनेँ । कोही नेता बोल्दैनन्,’ केशरीले भन्दै थिइन् ।
खोज्न कहाँ–कहाँ पुगिन् ? उनको मनमा छ ।
‘अनेक गरेँ,’ खोज्दाखोज्दै थकित केशरीले भनिन् ।
पति गए सुर्ताले
चितवनको जग्गा बेचे । केशरीकी मामाले जग्गा बेचेको पैसा लगे । तर, फिर्ता गरेनन् ।
त्यही चिन्ताले केशरीपतिको दिमाग खलबलियो । छोरा र ज्वाइँ पनि बेपत्ता पारिएपछिका के कुरा ! पाँच वर्ष त पाटन मानसिक अस्पताल ओहोरदोहोरमै बिते ।
त्यसैबीच क्यान्सरले समायो । र, वीर अस्पताल वास बसे ।
दुई वर्षपछि उनका पतिलाई क्यान्सरले आफ्नो साथ लिएर हिँड्यो ।
बाटो लागेका पतिलाई ‘सट्टिपट्टि’ गराएर पठाउने ‘परम्परागत जोहो’ गर्ने पैसा त परै जाओस्, गोजीमा ‘सुको पैसा’ पनि थिएन ।
माइती धनी थिए । तर, सौतेनी आमासहितका धनी । केही सीप नचलेपछि उनै माइती गुहारिन् । सौतेनी भाइलाई भनिन्, ‘तेरो भिनाजु बिते । बाको हातमा पाँच सय पठाइ दे है । अलि दिनमा दिम्ला ।’
भाइले बालाई पाँच सय हात पारे । तर, सौतेनी आमाले खोसिन् ।
‘पति बितेको भन्दा पनि गुठियारले के भन्ला भन्ने चिन्ताले रोएँ,’ समवेदना कसरी परिवेशले बदल्छ भन्ने दृष्टान्त सुनाउँदा सुनाउँदै केशरी बोली भिज्यो ।
गुठियारले ‘फलानो चिज किन्ने यति पैसा ले उति पैसा ले’ भन्थ्यो ।
गुठियार नपुग्दै केशरी मामा पुगे । ‘खर्चपर्च’बारे सोधे । केशरीको बोली झरेन ।
‘मौनता’लाई ‘छैन’ भनेर अथ्र्याए सायद । तीन हजार रुपैयाँ दिए । माइजूले पाँच हजार थपिन् ।
सरकारी फौजको रासोबासो
सरकारी फौज मनमौजी पाराले उनको घर पुग्थे– कहिले बिहान, कहिले राति, कहिले दिउँसो । कुनाकानी बाँकी नराखी ‘आतंककारी’ खोज्थे ।
फौजः ऐ बूढी, तेरो जेठा छोरा कहाँ छ ?
केशरीः हामीलाई के थाहा ? न उनीहरू हिँडेको बाटो थाहा छ न त यता हिँड्यौँ नै भनेका छन् ।
फौजः जेठा छोरा ल्या, साइँला लैजा ।
केशरीः कसरी ल्याउने ?
फौजः बेलुकी पैसा लिएर तेरो छोरो आएको होइन ?
केशरीः खै त आएको भए यीँ हुनुपर्ने हो ।
फौजः कस्तो नचाहिने कुरा गर्छ, यो बूढी ?
०००
घर सरकारी फौजको पानीपँधेरो भयो । कहिले बन्दुकको नाल तेस्र्याएर कुन्दाले हिर्काए त कहिले बुटले हाने भने कहिले हातले । चिचिलाका चिच्याकोलो घरभित्रबाट पोखिँदै बाहिरिन्थ्यो ।
‘न बस्न दिए न खान दिए न सुुत्न,’ सम्झँदा पनि अप्ठ्यारो गरी केशरीले भन्दै थिइन्, ‘अनेक गरो नि ।’
बाकस र दराज खोतलखातल पार्थे । एकपालि होइन, पटकपटक ।
‘दराजमा कहिल्यै साँचो लाउन पाइनँ ।’
‘माओवादी बच्चालाई किन पढाएको’ भनेर शिक्षकलाई थर्काए । डराए । अर्को स्कुल सारिन् । फेरि दोहोरियो । फेरि अर्को स्कुल सारिन् ।
घरमा बच्चा नदेखेपछि फेरि फौजले सोधे, ‘कहाँ लगिस् बूढी, माओवादीका छोराछोरीलाई ?’
केशरी घरबाट निक्लेबित्तिकै भन्थे, ‘माओवादी भेट्न कहाँ जाँदै छस् ?’ घर घेरेका सुलसुले र सरकारी फौजलाई भन्थिन्, ‘न छोरा गएको थाहा छ न छोरी । कता गए कता ? तिनका छोराछोरी यहाँ ल्याएर छाडिदिए । जस्ता भए पनि मेरा रगत हुन् । ...मलाई काटे पनि काट । मारे पनि मार ।’
अभावैअभाव
एक छोरा र दुई ज्वाइँ बेपत्ता पारिएपछि बचेका पनि भूमिगत भए । र, शोकमाथि सुर्ताजसरी तिनका चिचिला केशरीको काखमा आए ।
जेठापुत्र देवेन्द्र दम्पती जनयुद्धमा पूर्णकालीन हुँदा छोरी इन्दु तीन वर्षकी थिइन् भने नाति डेभिड डेढ वर्षका ।
सुरुमा त माहिली पुत्री रुवीले आफूसितै निजलालाई लिएर हिँडिन् । लखेटालखेटमा गाह्रो भएपछि जेठी नारायणदेवी पुत्र नवीनसित छाडिन् ।
यसरी चार नातिनातिना अनुहारमा केशरीआमाले छोराछोरी र ज्वाइँमन बुझाउँदै ‘पढ्न नपाएको तिर्खा’ तिनलाई पढाएर मेट्ने धोको बनाइन् । तर, सोचेजस्तो थिएन । कारण, खानलाउनमै मुस्किल थियो । कहिले चामल हुँदैनथ्यो कहिले तेल । कहिले चिचिलाका स्कुले कापी हुँदैनथ्यो त कहिले कलम ।
काम खोजिन् । सोध्थे, ‘छोराछोरी छैनन् ?’ युद्धमा गएको कुरा पनि भन्न भएन । छैनन् भन्न पनि भएन । केशरी अप्ठ्यारोमा पर्थिन् ।
ब्याँसीमा कार्पेट उद्योग उभिने भयो । जग खन्ने काम खुल्यो । गइन् । आइमाईले नसक्ने भने । ‘सक्छु’ भनिन् । जाँच्नलाई दस हातको नापेर डोरी टाँगिदिए ।
पुरुषले भन्दा एक घन्टाअघि खनेर सकाइन् । फेरि पनि ठेक्दारले पत्याएनन् । आफ्नै आँखाले हेर्छु भने । खनेको एक घन्टासम्म हेरे । बल्ल काम दिए ।
‘जनयुद्ध’मा लागेका कतिले त जग्गा जोडे, घर ठड्याए । पैसा कुम्ल्याए,’ पुराना याद बल्झिएर अप्ठ्यारो अनुभूत गर्दै उनले भनिन्, ‘दुःख लाग्छ । मेरो त ठूलो छोरो (देवेन्द्र) लाटो छ । उसलाई सानै काम भए नि दिए हुन्थ्यो नि । एउटा ‘चानस’ पनि दिएन के माओवादीले । गाली गर्छु –तँ गएको ठाउँमा म गएको भए मन्त्री खान्थेँ ।’
०००
एक दिन घरमा हजुरबा पुगे ।
परिवारका सदस्य यसै सुख–दुःख सुसाउँदै थिए ।
केशरी तनावमा थिइन् । कति छोराछोरी र ज्वाइँ लडाइँमा थिए भने कति बेपत्ता । कतिखेर को मारिने हो ? जबर्जस्त जगजगी थपिएको थियो ।
ठीक त्यसवेला हजुरबा पुगे ।
‘नानी !’
भनिन्, ‘हजुर !’
हजुरबाः सुन त नानी ।
केशरीः किन हजुरबा ? माथि आउनुस् न ।
हजुरबाः म माथि आउन हुन्न के । तँ नै तल आ ।
हातमा आधा मानाजति मकै थियो । र, उनलाई थाप भन्दै थिए ।
पटुका थापिन् । हजुरबाले आधा मानो मकै राखिदिए ।
‘मेरो हात यस्तो भएको थियो,’ जमानामै ‘माथि’ लागेका हजुरबाले मकै दिँदा कसरी पटुका थापेकी थिइन्, अभिनय गर्दै भनिन्, ‘पटुकामा के थापेर बसेको होला भन्थ्यो के साइँलाले ।’
कल्पेर भए पनि मान्छेले ‘अभाव पूर्ति’ गर्न खोज्छ भन्छन् । सायद त्यसैले पो केशरीले सम्झिइन् कि, आफूलाई साह्रै माया गर्ने हजुरबालाई ।
पहिलो नातिनी केशरी त हजुरबाकी प्यारी थिइन् । भाइले चारपाउ टेक्दा र उनी चार वर्षको हुँदा उनका बाले अर्की आमा लिएर हिँडेथे । केशरी त हजुरबाकै माया–छहारीमा हुर्किएकी थिइन् ।
०००
फूपू र उनले खुबै गाउँथे ।
त्यसवेला देशीमल (रासायनिक मल) थिएन । मलको लागि ‘कालो माटो’ लिन जान्थे । गीतकै तालमा मल खन्थे । गीतको तालमा भैँसीलाई घाँस काट्थिन् । खेतमा काम गर्थिन् ।
‘गाएको’ प्रसंग उप्काउँदै भन्थे, ‘गाइनेसित पोइल जान्छे ।’
त्यसवेला गाएका नेवारी भजन र लोकगीत गेडा सम्झन कोसिस गरिन् ।
१४ वर्षको उमेरमै बिहे भयो । स्कुलमा उनका पाइला परेनन् ।
छोरा, दुई ज्वाइँ बेपत्ता भएपछि विरह यसै चौगुनियो । भगवान् पुकार्ने नेवारी गीत गाइन् । बयलिँदै छिमेकी र जोरीपारी कानमा पनि पुगे । तिनले गरेको टिप्पणी पनि उसैगरी उनको कानमा पुग्यो, ‘केको दुःख छ ? छोराले ब्यांका फोरेको पैसा पाएर गाएकी छ । सुख छ नि । दुःख त देखाएको मात्र हो । ऊ सुन त, कस्तरी गीत गाउँछे ?’
माओवादीले ‘बैंक फोरे’ को पैसा त परै छ, एक सुका पनि नखाएको भन्दै कसम खाइन् । बरु आफूले माओवादीलाई सुम्पेका समर्पण, सम्पत्ति र समय सम्झिइन् ।
‘दुःखमा पनि भगवान् सम्झन नपाउने’ भन्दै गीत त उनलाई छाडेर बाटो लाग्यो ।
अचेल सपनामा आउन छाडेको गीत सम्झदै उनलाई यस्तो लाग्छ, ‘पहिले धेरै गाएर हो कि ?’
०००
गएको चुनावमा तीन नम्बर प्रदेशबाट समानुपातिक सूचीमा माहिली पुत्री रुवी थिइन् । रवीन्द्रप्रताप शाह र लक्की शेर्पा र ल्हारक्याल लामाहरू पसेपछि रुवी सूचीमै सीमितिइन् ।
करिब आधा दर्जनपालि केशरीले पुष्पकमल दाहाललाई भेटिन् । जतिपालि भेटिन् उतिपालि दाहालले भने, ‘हुन्छ हेरिरा’छु । हेर्दै छु ।’
नारायणदेवीले मःम पसल खोलेकी छिन् । रुवी रेडियोमा ‘नेपाल भाषा’को समाचार पढ्छिन् । कान्छी गंगा दम्पती गार्मेन्ट चलाउँछन् । अहिले उनको जेठा पुत्र देवेन्द्रबाहेक कोही पनि सक्रिय राजनीतिमा छैनन् ।
बेपत्ता नारायणदेवीपति भक्तपुर कटुन्जेका थिए भने रुवीपति ठेचोका ।
नारायणदेवी पुत्र नवीन र रुवी पुत्री निजलाले १२ पास गरे ।
‘नाति र नातिनी अनुहार हेर्दा ज्वाइँको अनुहार आउँछ । तिनलाई हेरी त मन राखेकी छु,’ रुवी पुत्री निजलालाई हेर्दै केशरीले भन्दै थिइन् ।
०००
केशरीलाई लागिरह्यो, आफूले माओवादीलाई माया गरे पो कुनै दिन छोरा र ज्वाइँका सपना साकार होला ।
‘जति गरे पनि मुटु कमजोर बनाइनँ । कुकर बम फलानो ठाउँमा लैजा भने । लगेँ । चिठी बोकाए,’ माओवादीलाई आफ्नो पेट काटेर खुवाएको, केन्द्रीय, भद्रगोल र नक्खु जेलका बन्दीलाई पनि खुवाएको र माओवादी नेताले भनेअनुसार खुरुखुरु हिँडेको सम्झँदै केशरीले भन्दै थिइन्, ‘त्यसवेला ‘बूढी छे, सक्दैन’ भनेनन् । अहिले पो थाहा भयो त, बूढी मरे नि मरोस् भनेर पो त्यसरी काम गराएका रहेछन् । अहिले त हामी त मान्छे हो कि कुकुर ? पत्तै छैन ।’
केशरीआमाको धोको छ– बेपत्ताका मूर्ति बनाउने । भक्तपुरमा जति बेपत्ता छन्, तिनका मूर्ति एकैठाउँमा राख्ने ।
त्यसैगरी, बेपत्ता बनाउनेलाई मकै भुटेर खुवाउने अर्को धोको छ । तिनलाई ‘दुव्र्यवहार’ गर्न मन छैन । बरु खाजा खुवाएर एक घन्टा टुँडीखेल घुमाउँदै ‘स्याबासी’ दिन मन छ ।
कहिलेकाहीँ भेट हुन्छ, बेपत्ता परिवारका सदस्यहरूसँग । सुख–दुःख साट्छन् । कहिले रुन्छन् । कहिले हाँस्छन् । अब त भेट पातलिएको छ । हुँदै हुन्न भने पनि हुन्छ ।
‘६ महिनाको एकचोटि भए पनि हाम्रा मान्छे खोइ भनेर सडकमा निस्कनुपर्छ भनेँ । तर, एक वर्षमा पनि भएन,’ निराशिँदै केशरीले भन्दै थिइन् ।
केशरीमन जति निराश भए पनि उनका आँखामा भने हरेक रात सुत्नुअघि आउँछन्, छोरा र ज्वाइँहरू । र, कामना गर्छिन् कि, सपनामा भए पनि भेटौँ । एकैठाउँमा छोरा र दुई ज्वाइँलाई ‘सकुशल’ देखौँ । हुन्छ भने त ‘विपना’मै देखौँ ।
‘यत्रो वर्ष भयो । कति सम्झेर सुत्छु । सुन्न र देख्न पाए कसो होला भनेर जहिल्यै सोच्छु । मेरा ज्वाइँ र छोरालाई सपनामा पनि देखाउँदैन । यत्रो वर्ष भयो, एकपालि पनि सपनामा देखाउँदैन । कति सम्झेर सुत्छु,’ माइली पुत्री रुवीले दोस्रो बिहेपछि पाएको छोरालाई काखमा राखेर भनिन्, ‘पहिले धेरै रोएर हो कि ? पहिले धेरै सपना देखेर हो कि ?’
सरकार, बेपत्ता आयोग, पुष्पकमल दाहालप्रतिको आस र बेपत्ता परिवारबीच भेटघाट त टिबीको बिरामीभन्दा पनि फुकीढल भएको छ । तर, बिस्र्योभन्दा हुने भेटमा सुनाउँछन्, ‘फलानो ठाउँको फलानो त फलानो ठाउँमा रहेछन् रे । घर फर्के रे ।’
यस्ता समाचारले मरुभूमिमा कान ठड्याउँदै पलाएको पालुवाजसरी आमामन पलाउँछ, ‘कुनै दिन मेरो छोरा र ज्वाइँ पनि टुप्लुक्क आइहाल्छन् कि !’