• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अभय श्रेष्ठ काठमाडाैं
२०७६ भदौ २१ शनिबार ०६:२५:००
सम्झना

बिपीको परिकल्पना

२०७६ भदौ २१ शनिबार ०६:२५:००
अभय श्रेष्ठ काठमाडाैं

आफ्नो अन्तिम लेखमा बिपी कोइरालाले लेखेका छन्, ‘म देवताकहाँ प्रार्थना कहिल्यै पनि गर्दिनँ । किनभने मैले देखेको छु, मेरोभन्दा बढी आवश्यकता परेका मानिसका प्रार्थना देवताले सुन्न सकेका छैनन् भने म त्यत्रो दम्भी कि मेरो कुरा पुग्छ भनेर म प्रार्थना गरौँ ? त्यो दम्भ मलाई छैन । त्यसो हुनाले मैले देवताकहाँ कहिल्यै पनि प्रार्थना गरिनँ ।’ राष्ट्रपुकार, साप्ताहिक, ०३८ पुसमा प्रकाशित यस लेखले धर्म वा आस्तिकबारे बिपीको धारणा के थियो भन्ने प्रस्ट पार्छ । त्यतिखेर बिपी क्यान्सरले ग्रस्त थिए, तर उनको आत्मविश्वास कतै डगमगाएको थिएन । 

बिपी र समाजवाद
पिता कृष्णप्रसाद कोइरालाबाट उनले राजनीतिक चेतना पाए । त्यसले उनलाई लडाकु बनायो र उनकै नेतृत्वको लडाइँले राणा शासनलाई धुलो चटायो । पिताजीको सारा जायजेथा खोसी चन्द्रशमशेरले देश निकाला गरेपछि उनीहरूले भारत निर्वासनमा निकै हन्डर र गरिबी खेप्नुप-यो । बिपीलाई आफ्नो संघर्षपूर्ण त्यही विगतले समाजवादी बनाएको हुनुपर्छ ।
बिपीजयन्ती र स्मृतिमा नेपाली कांग्रेसले बर्सेनि उनलाई स–सम्मान सम्झना र उनको महान् अवदानको जपना गर्छ ।

स्वाभाविक हो, ऐनमौकामा उसको सपना र जपनामा आइरहन्छन् ‘महामानव बिपी’ । कुनै समय उनी नेपाली जनताका लागि वीर विश्वेश्वरप्रसाद कोइराला थिए । त्यो रूपक अब खासै उच्चारित हुँदैन । सपना र जपनामा जति आए पनि जिपीले ऊ वेलै बुलडोजर चलाएर उनको प्रजातान्त्रिक समाजवादको सपनालाई भताभुंग पारिसकेका थिए ।

सुशील कोइराला हुँदै शेरबहादुर देउवाको नेतृत्वसम्म आइपुग्दा बिपी र उनको सपनाको जरा निर्दयतापूर्वक उखेलिसकिएको अधिकांश कांग्रेसजनलाई थाहा नै छैनजस्तो छ । नेपाली कांग्रेस जब–जब सत्तामा पुग्छ, प्रजातान्त्रिक समाजवादलाई ऊ धुलो चटाउँछ । सत्ताबाहिर हुँदा अकर्मण्य सुरक्षा गार्डझैँ दिउँसै निदाएर बस्छ । तैपनि, ऊ वर्षको एक पल्ट पितृतर्पण गरेझैँ बिपीको प्रजातान्त्रिक समाजवादबारे चर्चा चलाउँछ ।

अंग्रेजको चाकरीका भरमा देश लुटिरहेका क्रुर राणाशाहीलाई धुलो चटाउन बिपीको नेतृत्वमा कांग्रेसले लडेको लडाइँ युगान्तकारी क्रान्ति थियो । यो गौरवमय इतिहासलाई सिँच्न बिपीले प्रजातान्त्रिक समाजवादको सपना देखेका थिए । उनी हरेक नेपालीका घरमा एउटा दुहुनो गाई, एक हलगोरु, गरिखान पुग्ने जमिन, ओषधिमूलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस् भन्ने चाहन्थे । हलो जोतिरहेको किसानको तस्बिर हेरेर योजना बनाउनु भन्ने उनको निर्देशनको सोझो अर्थ थियो, नेपाली जनसाधारणको मर्म र हितलाई सर्वोपरी राख्नु । 

बिपीको प्रजातान्त्रिक समाजवाद क्रुर पुँजीवादलाई मानवीय अनुहार प्रदान गर्ने प्रयास थियो । चरम पुँजीवाद भन्नुस्, वा नवउदारवाद अथवा खुलाबजार अर्थतन्त्रमा धन हुनेलाई स्वर्गको सुख यहीँ प्राप्त हुन्छ । कहाँसम्म भने अपराधबाट समेत मुक्ति मिल्छ । कानुनी राज्यमा कानुनतः बाँच्न पाउने अधिकार सबैलाई हुन्छ । तर, धन नहुनेलाई जीवनको क्रुर रंगमञ्चमा बाँच्ने अधिकारसमेत हुँदैन । किनभने, कानुनले ‘तिमीलाई बाँच्ने अधिकार छ’ त भन्छ’ तर भोकोलाई खाना खुवाउँदैन, रोगले मर्न लागेकालाई उपचार खर्च पनि दिँदैन ।

पैसा छैन त बाँच र बचाऊ भन्ने मानवीय मन्त्र पुस्तकका पाना र गीत–संगीतमा सीमित हुन्छ । पैसाको अभावमा विगतमा कति होनहारले क्यान्सर, मिर्गौला वा मुटु रोगबाट अकालमै ज्यान गुमाएका छन् । अस्पताल मानवताविहीन विश्वबजारका नाफाखोर साहुजीमा परिणत भइदिन्छन् । स्वास्थ्य क्षेत्रमा मात्र होइन, ‘नाफाखोर साहुजी’हरू हाम्रो जीवनका हरेक मोडमा छन् । 

मानवीय गरिमासाथ बाँच्न पाउने जनताको मौलिक हक, शिक्षा, स्वास्थ्य र रोजगारको हक पूरा गर्न राज्यले नै दायित्व लिनुपर्छ भनिएको त्यसै होइन । तब मात्र पुँजीवादलाई मानवीय अनुहार दिन सकिन्छ । यही अभ्यास अहिले नर्वे, डेनमार्क, फिनल्यान्डजस्ता स्कान्डिनेभियन देशमा भइरहेका छन् । तर, हाम्रो देशमा के भइरहेको छ ?

सत्ता र शक्तिमा हुनेहरू र तिनका नन्दी, भृंगीहरू राज्यको महँगो खर्चमा विदेशमा उपचार गराउन पाउँछन् । गरिब जनताले जीवनजलसमेत नपाएर ज्यान गुमाउनुपर्छ । गम्भीर रोग लाग्दा त तिनको हालत बताइनसक्नु हुन्छ । कतिपय मिर्गौलापीडितले हप्तामा दुईपल्ट डाइलासिस गर्न वा मुटुरोगीले नियमित खानुपर्ने औषधि जुटाउन नसक्दा आत्महत्याको शरण लिनुपरेका अनेक उदाहरण छन् । क्रूर पुँजीवादको चरित्र नै यही हो । 

बिपीले समाजवादको आदर्श साकार पार्न भरिसक्य प्रयास अवश्य गरेका हुन् । २०१२ सालमा वीरगन्जमा सम्पन्न कांग्रेसको महाधिवेशनले बिपीको प्रजातान्त्रिक समाजवादलाई आधारभूत निर्देशक सिद्धान्त मान्यो । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले पूर्ण बहुमत पाएपछि २०१६ जेठ १३ गते बिपीको नेतृत्वमा नयाँ सरकार गठन भयो । महाधिवेशनले पारित गरेको सिद्धान्त कार्यान्वयन गर्ने प्रारम्भिक प्रयासस्वरूप उसले २०१६ सालमा बिर्ता तथा राजारजौटा उन्मूलन ग¥यो । कर्मचारीको तलब बढायो, तर मन्त्रीहरूको घटायो ।

उसले प्रधानमन्त्रीको तलब २५ सयबाट १५ सय, मन्त्रीको १५ सयबाट १ हजार र सहायक मन्त्रीको १२ सयबाट ८ सयमा झारेको थियो । वनको राष्ट्रियकरण, मोही हक रक्षा, भूमिहीनलाई बसोवासको व्यवस्था, भूमिसुधार, छुवाछुत अन्त्यलगायत सामाजिक आर्थिक परिवर्तनको रेखा को¥यो । तर, त्यसले आकार लिन नपाउँदै तत्कालीन राजा महेन्द्रले कू गरेर देशमा फेरि निरंकुशताको आँधीहुरी फर्काए ।

देवत्वकरण
कैकेयीको मोहपासमा परेर अयोध्याका राजा दशरथले रामलाई १४ वर्ष वनवास पठाएका थिए । बिपीको सपनालाई त जिपीको नेतृत्व र रामशरण महतको डिजाइनमा प्रजातन्त्र पुनस्र्थापनालगत्तै सदाका लागि वनवास पठाइयो । हवाई यातायातजस्ता अर्थतन्त्रका कतिपय क्षेत्र निजी क्षेत्रका लागि खोल्नमा महतले भूमिका खेले ।

नोक्सानमा गएका र जान लागेका सरकारी संस्थालाई कौडीको मूल्यमा निजीकरण गरिए । विदेशी सहयोगको प्रतिबद्धतालाई आर्थिक नीतिको सफलता मान्ने परिपाटीको सुरुवात पनि उनकै नेतृत्वमा भयो । पिताम्बर शर्मा भन्छन्, ‘आज भारतमाथि नेपालको पूर्ण निर्भरता महतकै नीतिको परिणाम हो ।’ 

तथापि, आज पनि कांग्रेसमा बिपी र उनको प्रजातान्त्रिक समाजवादको उच्चारण निर्दयतापूर्वक भइरहन्छ । शब्दमा महामानव भने त्यहाँ बिपीलाई ईश्वरजस्तै मानिन्छ । सायद त्यहाँ ईश्वर र उनको आदर्र्श अनुसरण गर्नु जरुरी छैन । तिनलाई धुलो चटाए पनि हुन्छ । आलोचनाचाहिँ कहीँ–कतैबाट हुनु हुँदैन । 

कमजोरीसहितका मान्छे
बिपीका कतिपय पक्ष आलोच्य नभएका होइनन् । प्रजातन्त्र पुनस्र्थापनाका मामलामा उनीसँग अपेक्षित राजनीतिक दूरदृष्टि थिएन भन्न हिचकिचाउनु पर्दैन । कम्युनिस्टलाई उनी अछुतजस्तै व्यवहार गर्थे । गणेशराज शर्माद्वारा सम्पादित आत्मकथामा बिपीले कम्युनिस्टप्रति व्यक्त गरेका असहिष्णु शब्द अगणित छन् ।

पञ्चायतविरुद्ध संयुक्त संघर्ष गर्न पुष्पलाल श्रेष्ठले बारम्बार गरेको प्रस्तावलाई उनले सधैँ अस्वीकार गरे । उनको यस्तो हठलाई खण्डन गरेर अगाडि बढ्न बरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई सफल भए । फलस्वरूप ०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन सफल भयो । पहिले बिपीकै जस्तो हठ गर्ने गिरिजाप्रसादले पनि कम्युनिस्टसँग सहकार्यमा दोस्रो जनआन्दोलनको सफल नेतृत्व गरे ।

गणतन्त्र स्थापना र संविधानसभा चुनाव पनि त्यसैबाट सम्भव भयो । त्यसैलाई सुशील कोइरालाले निरन्तरता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गराए । बिपीले त्यो हठ नगरेको भए उनकै जीवनकालमा प्रजातन्त्र पुनस्र्थापना सम्भव हुने थियो । सायद त्यो खुसी र आत्मबलले उनको जीवन पनि केही लम्बिने थियो ।

राजनीतिशास्त्री लोकराज बरालका अनुसार राजा महेन्द्रको कूपछि कति मामलामा बिपीले द्वैध चरित्र देखाए, (आत्मचिन्तन रहेछ जिन्दगी, नयाँ पत्रिका, २०७३ वैशाख १८) । बरालका अनुसार ०१७ सालपछि सुवर्णशमशेरको पत्रका आधारमा बिपी जेलबाट छुटेका थिए । पत्रमा ‘राजालाई सहयोग गर्ने संविधानको विकास गर्न’ उल्लेख थियो ।

प्रजातन्त्रवादी भएकैले जेल परेका बिपी यसरी छुट्नु उनको द्वैध चरित्र थियो । जेलबाट छुटेको एक महिनापछि उनले फेरि विराटनगरमा ‘जेल जान तयार छु’ भनेर भाषण गरे । तर, पक्राउबाट बच्न बनारस पुगे । त्यहाँ सशस्त्र संघर्षदेखि हाइज्याकिङको योजना बनाए । सन् १९७५ मा भारतमा सिक्किम विलयपछि इन्दिरा गान्धीले संकटकाल लगाइन् । अनि त्यहाँ टिक्न नसकी उनी राष्ट्रियता खतरामा प-यो भन्दै नेपाल आए । यहाँ आएर भने, ‘राजासँग मेरो घाँटी जोडिएको छ ।’ बिपीले कांग्रेसले उठाउँदै आएको संविधानसभाको नारा छाडेकै कारण राजाले त्यसलाई लत्याएर आमनिर्वाचन गराएका थिए ।

साहित्य र राजनीति
बिपी आर्थिक मामलामा पारदर्शी थिए । कर्मकाण्ड, अन्धविश्वासमा उनलाई कुनै विश्वास थिएन । जीवनको अन्तिम अवस्थामा पनि उनले परिवारलाई आफ्नो काजकिरिया नगर्न आग्रह गरेका थिए । ‘राजनीतिमा म समाजवादी हुँ, साहित्यमा अराजकतावादी’, बिपीको यो भनाइ बहुचर्चित छ । बिपीको साहित्य पढ्दा मलाई उनी अराजकतावादीभन्दा बढी मानवतावादी र व्यक्तिगत स्वतन्त्रताका पक्षधर लाग्छन् ।

कोइरालाको आत्मकथाको पहिलो खण्ड ‘आफ्नो कथा’मा उनकै आफन्त पर्ने युवती यतिसम्म भन्छिन्, ‘महिलाले आत्मसम्मान गुमाउनु नपर्ने र आत्मनिर्भर हुन सक्ने एउटै मात्र काम वेश्यावृत्ति हो ।’ उनका अधिकांश पात्र आफ्नो कारणले आफूसँग सम्बन्धित अरूको अधिकार हनन नहोस् भन्नेमा सचेत देखिन्छन् । अरूका कारण आफ्नो अधिकार हनन हुन नदिन पनि उनका पात्र उत्तिकै सचेत रहेको पाइन्छन् । त्यसका लागि उनी सामाजिक मान्यता, विधि विधानलाई पछ्याइरहनुपर्छ भन्नेमा विश्वास गर्दैनन् ।

‘मोदीआइन’ मा उनले महाभारत युद्धलाई धर्मयुद्धका रूपमा प्रचारित धारणालाई पूरै उल्ट्याइदिए । ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती’, ‘सुम्निामा’मा उनले व्यक्तिको जैविक अधिकार कुनै पनि कारण कुण्ठित हुनु हुँदैन भन्ने वकालत गरे । ‘मधेसतिर’, ‘कर्णेलको घोडा’जस्ता कथामा जैविक अधिकारबाट वञ्चित महिलाका जुगुप्सा केलाउने काम गरे । बिपीको साहित्य मान्छेको प्रकृतिमा पुगेर विचरण गर्छ र त्यसले मान्छेलाई पूर्ण मान्छे बनाउने सपना देख्छ ।

बिपीलाई राम्ररी बुझ्नु छ भने कांग्रेसजनले उनको राजनीतिक विचार पढेर मात्र पुग्दैन, साहित्य पनि राम्ररी पढ्नुपर्छ । किनभने, उनले साहित्यमा परिकल्पना गरेको अधिकारयुक्त मान्छे नै उनको प्रजातान्त्रिक समाजवादको जग हो ।