• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
भोगीराज चाम्लिङ काठमाडाैं
२०७६ भदौ २१ शनिबार ०६:३१:००
इतिहास

के सुम्निमा नांगै थिइन् ?

२०७६ भदौ २१ शनिबार ०६:३१:००
भोगीराज चाम्लिङ काठमाडाैं

कविका लागि एउटा शब्द प्रचलित छ– आशुकवि । यही शब्द सापटी लिएर भन्ने हो भने विश्वेश्वरप्रसाद कोइरालालाई पनि आशु–उपन्यासकार भन्दा फरक पर्दैन । जेलमा रहँदा लेखिएका उनका उपन्यास यस्तै आशुकारिताका परिणाम हुन् । सुन्दरीजल जेलमा लेखिएको उनको दिनपञ्जी अर्थात् दैनिकी ‘जेल जर्नल’मा यसबारे उनले रोचक रूपमा उल्लेख गरेका छन्, ‘एउटा लघु उपन्यास बडो तेजीका साथ थालेको थिएँ– ८० पेज तीन दिनमै लेखिसिध्याएको थिएँ, तर त्यसपछि रोकिएको रोकिएकै छ’ (वि.सं. २०७४, पृ. १८३) ।

जेल जर्नलमै उनले आफू ‘तीव्र बेगको अभिव्यक्तिमा मात्र प्रस्फुटित’ हुन सक्ने पनि बताएका छन् । त्यति मात्र होइन, आफूमा कविको गुण भएको, तर संगीत र ध्वनिका बारेमा शिक्षा कम भएकाले कवि हुन नसकेको समेत स्वीकार गरेका छन् । विश्वेश्वरप्रसाद कोइरालाको कवित्वको भावाबेग उपन्यासका रूपमा प्रस्फुटित हुन पुगेको देखिन्छ । 

तीन दिनमा ८० पृष्ठ लेखिएको त्यो अधुरो उपन्यास ‘सुम्निमा’चाहिँ होइन । यद्यपि, चर्चित र विवादित उपन्यास सुम्निमा पनि जम्मा आठ दिनमा लेखिएको हो । विश्वेश्वरप्रसाद कोइरालाले यो उपन्यास सुन्दरीजल जेलमै १९६४ जुन २१ देखि २८ मा लेखिसिध्याएका थिए । पुगनपुग १०० पृष्ठको यो उपन्यास पढ्नलाई पनि धेरै दिन साँचिराख्नु पर्दैन, सुरु गरेपछि सररर छिचोलिन्छ– एकै बसाइमा या केही घन्टामा । 

अरू उपन्यासका बारेमा भन्न सकिन्न, तर विश्वेश्वरप्रसाद कोइराला जेल नपरेका भए सुम्निमा चाहिँ पक्कै लेखिने थिएन । जेल परेर मात्र किन लेखिन्थ्यो र ! जेलमा रामनारायण मिश्र र दिवानसिंह राईबीच हिन्दू र किराँत संस्कृति–सभ्यताका सन्दर्भमा गरम बहस नभएको भए पनि यो उपन्यास लेखिने थिएन । यी दुईको बहस सुनेपछि विश्वेश्वरप्रसाद कोइरालालाई यो उपन्यास लेख्ने ‘प्लट’ फुरेको थियो । सुम्निमा र बिजुवाको कथा उनले दिवानसिंह राईबाट सुनेका हुन् भने सोमदत्तको कथा रामनारायण मिश्रबाट । मिश्रले अध्यात्मवाद, राईले भौतिकवादमा आधारित भएर गरेको बहसबाट आख्यानका रूपमा सुम्निमा जन्मिएको हो । 
००० 
तर, मुन्दुमकी सुम्निमा र विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासकी सुम्निमा अलग–अलग हुन् । कोइरालाले पुनर्रचना गरेको सुम्निमा मुन्दुमकी सुम्निमा होइनन् । मुन्दुमकी सुम्निमाको कथा अर्कै छ, उपन्यासकी सुम्निमाको कथा अर्कै छ । मुन्दुमकी सुम्निमा मातृसत्तात्मक समाजकी हुन्, उपन्यासकी सुम्निमा पितृसत्तात्मक समाजकी पात्र हुन् । यी दुई सुम्निमाले बाँचेको समय अलग–अलग छ । 

किराँत राईहरूको मुन्दुमअनुसार उहिले यो धर्तीमा प्रकृतिले पानी उब्जायो र गहिरा खाल्डा भरिएर तलाउ बनियो । तलाउ माझमा लेउ उम्रियो, बढ्यो, कक्रिँदै गयो । कक्रिएको लेउमाथि निगुरो र दुवो उम्रियो । निगुरो उकालो बढ्दै आकाशतर्फ झ्याँगियो, उँधो पानीभित्र जरा झा¥यो । दुवो फैलिँदै तलाउको छेउमा निस्केर पानी र जमिनका बीचमा पुल भएर झ्याँगियो । त्यो निगुरो भने लामो समयपछि बूढो भएर म-यो र मक्किएको निगुरोको फेदमा धमिरा उब्जियो । जरा खाँदै जाँदा धमिरा माटोमा पुग्यो ।

माटो खाँदै ल्याउँदै गरेर निगुरोको फेदमा देवल उठायो । त्यो देवल तलाउभन्दा माथि पनि देखिने गरी अग्लो बनायो । त्यो देवललाई माथिबाट घामको तापले ततायो, तलबाट चिसो पानीले भिजायो । घामको ताप र पानीको चिसो भेट हुने ठाउँमा प्रकृतिले नाभी बनायो र त्यहाँबाट माता चिनिमा पैदा भइन् । उनी हुर्किंदै गएर तरुनी भइन् ।

एक दिन चिनिमाको जिउमा रजस्वला भएर पधेँरोमा नुहाएर बेस्सरी घाममा सेकिँदा पसिना बग्दै रजस्वलामा मिसिँदा गर्भवती भइन् । पसिनाले गर्भवती भएकी चिनिमाको कोखबाट पहिलो सन्तान पारुहोँ (माइती) जन्मियो जसलाई किराँत राईहरूले पारुहाङ, पारु इत्यादि विभिन्न नामले सम्बोधन गर्छन् । पारुहोँ जन्मिएको रसबाट नाइमा (चेली) जन्मिइन् जसलाई सुम्निमा, सुम्निम इत्यादि विभिन्न नामले किराँत राईहरू सम्बोधन गर्छन् । 

सुम्निमा तरुनी भएपछि आमा चिनिमाले केटा खोजी गरिन् । आमा चिनिमाले माइती पारुहाङसँग विवाह गरिदिनका लागि बोलाउन पठाइन् । सुरुमा पारुहाङलाई बोलाउन मन्स्याप्रो पठाइन्, तर पारुहाङसम्म पुग्न सकेन । त्यसपछि हावा–बतासलाई पठाइन् । हावा–बतासले ‘आमा चिनिमाले तपाईंसँग सुम्निमाको विवाह गराइदिन खोज्नुभएकाले लिन आएको’ भनेपछि पारुहाङ राजी भए ।

घाम, जून, तारा जन्ती लिएर पारुहाङ आफू बस्ने ठाउँ पारुखाम (आकाश)बाट पृथ्वीमा ओर्लिए । तर, चेली सुम्निमाले पारुहाङलाई मन नपराएर विवाह गर्न अस्वीकार गरिन् । पारुहाङ रिसाएर बादललाई आकाशबाट हराइजान, हावा–बतासलाई नचल्न, भूमिलाई तातिन र घामलाई चर्किएर पृथ्वीको पानी सुकाउन लगाए । आफ्नो वीर्य स्खलन गरेर कर्कलोको पातमा राखिगए ।

पानीको हाहाकार भयो । सुम्निमाले चरालाई पानी खोज्न पठाइन् । कतै पनि पानी फेला परेन । अन्तिममा त्यै कर्कलाको पातमा रहेको पारुहाङको वीर्य फेला पारेर पानी ठानेर चराहरूले ल्याइदिए । त्यो खाएपछि सुम्निमा गर्भवती भइन् । अनि हावा–बतास चल्न थाल्यो, बादल लाग्यो, घाम शीतल भयो, खोला–पधेँरामा पानी पलायो (स्रोतव्यक्ति जितराज राई) । 

मुन्दुममा वर्णित सुम्निमासम्बन्धी मिथकको सारांश हो यो । यो मिथकबाट केही कुरा स्पष्ट हुन्छ– एक, किराँतीको चिन्तन प्रणाली भौतिकवादी छ । सृष्टिबारे उनीहरूमा जुन धारणा छ, त्यसलाई आदिम अथवा प्राकृतिक भौतिकवाद भन्न सकिन्छ । उनीहरूले कुनै अलौकिक शक्तिले सृष्टि गरेको परिकल्पना गरेका छैनन्, बरु भौतिक प्रक्रियाकै उपजका रूपमा लिएका छन् ।

पृथ्वीको सृष्टि मुन्दुममा भनिएजस्तो तरिकाले भएको होइन भन्ने कुरा वैज्ञानिकले रहस्योद्घाटन गरिसकेका छन् । कम्तीमा यो धारणाबाट किराँतीहरूमा सोच्ने तरिकाचाहिँ भौतिकवादी रहेछ भन्न सकिन्छ जसरी सुम्निमा उपन्यासमा देखाइएको छ । दुई, आदिम समयमा मान्छेले प्रकृति, वनस्पति, ढुंगा, माटो, हावा, आकाश, ग्रह, चराचुरुंगी, जीवजन्तु सबैलाई मानवीकरण गर्ने गरेको पाइन्छ ।

यसलाई मानवशास्त्रका पिता मानिने एडवार्ड बी टाइलरले जीवात्मवाद (एनिमिजम्) नाम दिएका छन्, जुन आदिम अर्थात् प्राकृतिक भौतिकवाद हो । मन्स्याप्रो र हावा–बतास सुम्निमाको लमी हुनु, चराले पानी ल्याइदिनु किराँत राईहरूमा पाइने जीवात्मवाद अर्थात् आदिम भौतिकवादकै सानो एउटा नमुना हो । तीन, सुम्निमा र पारुहाङकी आमा चिनिमा हुन्, तर पिताचाहिँ पसिना (!) मानिएको छ । यो भनेको पिता थाहा हुन नसकेको हो अर्थात् मातृसत्तात्मक समाजमा समूहमा यौनसम्बन्ध हुने भएकाले आमा मात्र थाहा हुन्थ्यो ।

अर्को कुरा, मातृसत्तात्मक समाजमा माइती–चेलीबीच पनि यौनसम्बन्ध हुन्थ्यो, जसरी पारुहाङको वीर्यबाट सुम्निमा गर्भवती भएकी छिन् । यसरी मुन्दुमकी सुम्निमा आदिम मातृसत्तात्मक समाजकी मिथकीय पात्र हुन् । यो मिथकलाई किराँत समाज आदिम युगमा मातृसत्तात्मक थियो भन्ने कुराको सांस्कृतिक अवशेष मान्न सकिन्छ । तर, उपन्यासकी सुम्निमा बिलकुल भिन्न हुन् । मुन्दुमकी सुम्निमालाई विश्वेश्वरप्रसाद कोइरालाले पूरै विनिर्माण गरिदिएका छन् । 

उपन्यासकी सुम्निमा सप्तकोसीको वराहक्षेत्रमा विचरण गर्छिन्, वराहक्षेत्रबाट उत्तर पहाडमा बस्छिन् । जबकि मुन्दुमकी सुम्निमा अजिंगर र चुला पूजा हुने धामीप्रथा भएको उब्जाउशील मैदान नियामामा बस्छिन् जसलाई किराँत राईहरूले आफ्नो आदिम थलो मान्छन् । मुन्दुमअनुसार नियामाबाट आएका किराँत वराहक्षेत्र हुँदै अहिलेका पूर्वी पहाडमा उक्लिएका हुन् । मैलेचाहिँ नियामालाई चीनको ह्वाङहो या याङ्जी नदीको कागुनी, धान, कोदो आदि फल्ने उब्जाउ मैदान हुनुपर्छ भन्ने तर्क गरेको छु । यी दुई सुम्निमा हुर्किएको थलो पनि अलग–अलग हो । 


०००
निश्चय नै मुन्दुमकी सुम्निमाले कपडा सभ्यताको धेरै विकास नभइसकेको समयको प्रतिनिधित्व गर्छिन् । यसमा कुनै विवाद गर्नुपर्ने अथवा चित्त दुखाउनुपर्ने कारण छैन । अहिले सभ्य भनिएका सबै मानिस यही चरण पार गरेर आएका हुन् । तर, उपन्यासमा जुन समयको सुम्निमाको चित्रण गरिएको छ, त्यो समयमा विश्वेश्वरप्रसाद कोइरालाले लेखेजस्तो सुम्निमा नांगै थिइनन् ।

किराँतीहरूमा कपडा सभ्यताको समृद्ध ज्ञान विकास भइसकेको थियो । किराँतीहरूको मुन्दुममा कपडा बुनाइसम्बन्धी थुप्रै रिसिया (श्लोक) र मिथक रहेका छन् । तयामा र खियामा त किराँत राईका लागि कपडा सभ्यताका सर्वथा श्रद्धेय बजुहरू हुन्, जसको वासस्थान खोटाङ, हलेसी क्षेत्रमा मानिन्छ । अझै पनि तुवाचुङ डाँडामा तान बुन्ने थानका अवशेष रहेका छन् । सबैथरी राईले यो थलोलाई साझा मातृस्थलका रूपमा अहिले पनि उत्तिकै श्रद्धापूर्वक लिने गर्छन् ।

अहिले प्रसिद्ध तीर्थस्थल बन्न पुगेको स्वयं हलेसी गुफा पनि तयामा–खियामाका भाइ खोक्चिलिपा वास बसेको मानिन्छ । (हलेसी नाम पनि १६ पुस्ताअघिका किराँत राजा होलैसुङको नामबाट रहन गएको हो) । यी बजुहरू र खोक्चिलिपाको पुकार नगरीकन किराँत राईहरूको महत्वपूर्ण संस्कार नै सम्पन्न हुँदैन । विश्वेश्वरप्रसाद कोइरालाले मुन्दुमकी सुम्निमाको कथालाई विनिर्माण गरेर इतिहासकालको बनाए । यही सन्दर्भमा चाहिँ उनले सुम्निमालाई इतिहासकालसँग तालमेल मिलाउन सकेका छैनन् ।

कपडा सभ्यता धेरै विकास नभइसकेको प्रागैतिहासकालको मुन्दुमकी सुम्निमाको युगलाई इतिहासकालको सुम्निमासँग जस्ताको तस्तै लिँदा उपन्यासकार कोइराला विवादित हुन पुगे जसले गर्दा २०५३ सालतिर किराँत राई समुदायका सामाजिक अगुवाहरूले विराटनगरस्थित कोइराला निवासअगाडि सुम्निमा उपन्यास जलाए पनि ।

जलाउनु सही या गलत जे भए पनि विश्वेश्वरप्रसाद कोइरालाले गरेको कमजोरीप्रति भने निश्चय नै यसले ध्यानाकर्षण गरायो । जो आजपर्यन्त पनि ध्वनित भइरहेकै छ । केहीले किराँती सुम्निमाकी छोरी र बाहुन सोमदत्तका छोराबीच विवाह गराइदिएको विषयप्रति पनि असहमति जाहेर गरेका छन् । सम्भवतः यसले पनि सुम्निमा जलाउन थोरबहुत प्रेरित गरेको हुनुपर्छ । 

कोइरालाले उपन्यासमा जुन समयको चित्रण गरेका छन्, त्यो इतिहासकालकै कुरा हो । किनभने उपन्यासका नायक सोमदत्त रामायण र महाभारतका किताब पढ्छन् । संस्कृतका यी ग्रन्थ इसापूर्व ८०० भन्दा पुराना मानिँदैनन् । अझ लेख्य रूपमा ल्याइएको त इसापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकको पालामा ब्राह्मी लिपिको विकास भएको धेरै पछि मात्र हो । त्यस्तै, उपन्यासमा ब्राह्मण सूर्यदत्तको आश्रम वराहक्षेत्रमा रहेको देखाइएको छ जुन इतिहासकालको कुरा हो । 

विश्वेश्वरप्रसाद कोइरालाले जसरी उपन्यासमा सुम्निमालाई वस्त्रहीन अवस्थामा देखाएका छन्, त्यो उनको इतिहासचेतनाको कमी हो । केही संस्कृत ग्रन्थमा गुफावासी र जंगलवासी भनेर चित्रण गरिएको कुरालाई आधार बनाएर उनले किराँतहरूलाई कपडा सभ्यतासँग अपरिचित भनेर चित्रण गरेका हुन् भन्ने जान्न अप्ठ्यारो छैन ।

किराँतबारे भएका पछिल्ला अध्ययनबारे थाहा नपाउँदा उपन्यासकार कोइरालाद्वारा यो कमजोरी हुन पुगेको देखिन्छ । इतिहासकार जिपी सिंहले चर्चा गरेअनुसार, आर्यहरूको आगमनसँगै गंगाको मैदानबाट विस्थापित भएर भारतीय उपमहाद्वीपको उत्तर–पूर्व पहाडी भूभागमा बसोवास गर्न पुगेका किराँती प्राचीनकालदेखि नै कपडा बुनाइका लागि नामुद हुन् ।

उनीहरू कपासबाट बुनिएका कपडालाई थरीथरी आकार–प्रकारमा ढाल्न पनि सिपालु थिए । उनीहरूले बुनेका कपडा मैदानमा बस्ने हिन्दू आर्यले समेत प्रयोग गर्थे । आसामका किराँतले त भारतमा कपासखेती नै सुरु गरेको मानिन्छ (रिसर्च इन्टु दि हिस्ट्री एन्ड सिभिलाइजेसन अफ् दि किराँत, सन् २००८, पृ. २२९) । त्यति मात्रै होइन, किराँतहरू माटाका भाँडा बनाउन पनि सिपालु थिए । उनीहरू बहुमूल्य पत्थर र सुन–चाँदीजस्ता धातुका गरगहना बनाउनसमेत सिपालु थिए जुन पहाडमा पाइन्थे (सन् २००८, पृ. २२६) । 

मुन्दुमकी सुम्निमालाई विश्वेश्वरप्रसाद कोइरालाले पूरै विनिर्माण गरिदिएका छन् । लेखकले ‘सुम्निमा’लाई इतिहासकालसँग तालमेल मिलाउन सकेका छैनन् । केहीले किराँती सुम्निमाकी छोरी र बाहुन सोमदत्तका छोराबीच विवाह गराइदिएको विषयप्रति पनि असहमति जाहेर गरेका छन् । सम्भवतः यो असहमतिले पनि सुम्निमा जलाउन प्रेरित गरेको हुनुपर्छ ।

कोइरालाले उपन्यासको भौगोलिक पृष्ठभूमि वराहक्षेत्र र त्यसभन्दा उत्तरको पहाडी भूभागलाई बनाएका छन् । पिता सूर्यदत्तले आफ्नो वानप्रस्थाश्रमका क्रममा कोसी–किनार वराहक्षेत्रमा कुटी निर्माण गरेका छन् जहाँ सोमदत्त पनि साथै छन् । वराहक्षेत्रमा आर्य (ब्राह्मण)हरूको उपस्थितिबारे भारतीय गुप्तकालका दुईवटा ऐतिहासिक अभिलेख उपलब्ध छन् । ज्ञानमणि नेपालका अनुसार, दिनेशचन्द्र सरकारद्वारा ‘सेलेक्टेड इन्स्क्रिप्सन’ मा प्रकाशित दुईवटा ताम्रपत्रअनुसार बुधगुप्त (विसं. ५३३–५२) र अयोध्याका अमृतदेवले वराहक्षेत्रमा श्वेतवराहका लागि जग्गा गुठी राखिदिएको उल्लेख छ (उद्धृत नेपाल निरुक्त, विसं. २०७४, पृ. ३१५) ।

यसले प्रामाणिक रूपमा वराहक्षेत्रमा ब्राह्मणहरूको उपस्थिति छैटौँ शताब्दीदेखि भएको स्पष्ट हुन्छ । यस हिसाबले हेर्दा ब्राह्मण सोमदत्तले बाँचेको समयलाई छैटौँ शताब्दीभन्दा परको मान्न सकिँदैन । के त्यो समयमा विश्वेश्वरप्रसाद कोइरालाले भनेझैँ किराँतहरू नांगै थिए होलान् त ?! जबकि त्योभन्दा ८०० वर्षपहिले नै किराँत शासनकालमा नेपालका ऊनी कपडा भारतमा प्रख्यात थिए ।

इसापूर्व चौथो शताब्दीको मानिने कौटिल्यको अर्थशास्त्रमा नेपालमा उत्पादन हुने भिङ्गिसी र अपसारकजस्ता ऊनीका कम्बल उच्चकोटीको हुने चर्चा गरिएको छ, जतिवेला काठमाडौं उपत्यकामा केन्द्र बनाएर नेपालमा किराँतहरूले शासन गरिरहेका थिए । किराँतकालमा नेपालको कपडाको अन्तर्राष्ट्रिय व्यापारसमेत हुन्थ्यो भनेपछि ...! यी थुप्रै तथ्यका आधारमा भन्दा विश्वेश्वरप्रसाद कोइरालाले उपन्यासमा किराँतहरूलाई ‘असभ्य’ जातिका रूपमा चित्रण गर्नु उनको इतिहास अध्ययनको सीमा नै हो । 

अर्कोतिर, मुन्दुममा किराँतहरूको आदिम बसाइँसराइको वर्णन गर्ने क्रममा नियामाबाट हिँडेर पैतिपलाम, जोजिलालाम, खैबरलाम, योँला हुँदै वराहक्षेत्र आइपुगेको उल्लेख हुन्छ जसलाई मुन्दुममा खुवालुङ भनिन्छ । किराँत राईहरू अहिले पनि खुवालुङ अर्थात् वराहक्षेत्रलाई विशेष मानखातिर गर्छन्, मुन्दुममा पुकार गर्छन् ।

खुवालुङ उनीहरूको सामाजिक स्मरणमा अझै पनि ताजै छ । त्यो पवित्र भूगोलमा ब्राह्मण सोमदत्त र किराँती सुम्निमाको कथा कोरेका छन् विश्वेश्वरप्रसाद कोइरालाले । किराँतीहरू खुवालुङबाट सप्तकोसी तरेर कोही अरुण, कोही तमोर र कोही दूधकोसी पछ्याएर पहाडतिर छरिएका थिए । मेरो विचारमा त्यो समय लगभग चार हजार वर्षपहिलेको हो । त्यसका आधार मुन्दुममा हैकाम बैथर, निनाम बैथर भनिने अनि नछुङ (धामी)हरूले सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गर्ने ढुंगे हतियार हो ।

पूर्वी पहाडमा पाइएका यी ढुंगे हतियारको बनोट भारतको आसामसँग मिल्दोजुल्दो भएकाले त्यसलाई रामनिवास पाण्डे र दिनेशचन्द्र रेग्मीले इसापूर्व ४०००–३००० मान्न सकिने बताएका छन् (नेपालको प्राक्इतिहास, विसं. २०६२, पृ. ६६) । घरमा राखियो भने चट्याङ पर्दैन भन्ने विश्वासमा किराँत राईका घर–घरमा अहिले पनि यस्ता ढुंगे हतियार राखिएको पाइन्छ, जसलाई बज्रढुंगा भनिन्छ । यस अर्थमा विश्वेश्वरप्रसाद कोइरालाले सुम्निमा उपन्यासलाई ‘किराँत देशको एउटा कथा’ भन्नु सही नै हो । 
०००
इन्द्रबहादुर राई, कृष्णचन्द्रसिंह प्रधानजस्ता हस्ती समालोचक सुम्निमाबारे समालोचना गर्ने क्रममा यौनमनोविज्ञानमा सीमित हुन पुगेका छन् । यौन यो उपन्यासमा छ । तर, मूल विषय यौन होइन, दुई विपरीत दार्शनिक मान्यताबारे विमर्श गर्ने सन्दर्भमा मात्र आएको हो । भौतिकवाद र अध्यात्मवादबीचको वैपरीत्य र अन्तरसम्बन्धलाई पर्गेल्न मात्र यौन र प्रेमका कथा सुम्निमामा बुनिएका हुन् । 

विश्वेश्वरप्रसाद कोइरालाले उपन्यासमा जुन स्पष्टताका साथ शुष्क आदर्शवादका विपक्षमा आफूलाई उभ्याएका छन्, त्यो पारिवारिक विरासतका रूपमा पिताबाट र भारतीय कम्युनिस्ट नेता श्रीपाद अमृत डाँगेको प्रेरणामा माक्र्सवादको अध्ययनबाट आएको हो । उनले यो कुरा जेल जर्नलमा पनि उल्लेख गरेका छन् । उनले प्रस्ट लेखेका छन्, ‘जीवनमा निहित समस्याको समाधान यसरी अध्यात्मवादी जीवनको शेषद्वारा गर्न चाहन्छन् ।

कपाल दुखेको औषधि शिरच्छेदन हो भनेजस्तो... हामीले समस्याको त जीवनमूलक समाधान खोज्नु परेको (छ)– थोपाको समस्याको समाधान त्यस थोपाको अस्तित्वमै खोज्नु परेको छ । त्यस थोपालाई लोप गराएर पाइएको समाधान, हाय ! थोपालाई काम लाग्दैन... अध्यात्मवादले यही काम गरेको छ– मानवलाई जीवनका पक्षबाट विमुख पार्नु र मृत्युपक्षीय तुल्याउनु’ (विसं. २०७४, पृ. ११३–१४) । 

सुम्निमा उपन्यासको दार्शनिक पक्षधरता बुझ्न यति पढियो भने खुलस्त हुन्छ, कुहिरो हटेपछि टाढा–टाढाको दृश्य पनि रमाइलो र खुलस्तसँग देखिएझैँ । सुम्निमामा सोमदत्त र सुम्निमाबीच हुने बहस कोइरालाको उल्लेखित विचारकै औपन्यासिक रूपान्तरण हो । उपन्यासमा ब्राह्मण सोमदत्त अध्यात्मवादको प्रतिनिधित्व गर्छन्, किराँती सुम्निमा भौतिकवादको ।

वास्तवमा दुई सभ्यताको संगमजस्तो देखाए पनि खासमा विश्वेश्वरप्रसाद कोइरालाले अध्यात्म र भौतिकताको संगम जीवन हो भन्ने निचोड प्रस्तुत गर्न खोजेका छन् । किनभने, शुष्क आदर्श अथवा आदर्शविनाको भौतिकता दुवै कुराले समाजको प्रगति सम्भव हुँदैन भन्ने मान्यता कोइरालाको छ । तर, भौतिकताको नजिक रहेर । खासमा उपन्यासले भन्न खोजेको पनि यति नै हो । 

जीवनबाट विमुख भएर मृत्युपक्षीय हुन पुगेका अध्यात्मवादी ब्राह्मण सोमदत्तको सख्त विपक्षमा छन् उपन्यासकार विश्वेश्वरप्रसाद कोइराला । त्यसैले, विचारका हिसाबले उनी भौतिकवादी सुम्निमाको नजिक छन् । उपन्यासको नाम सोमदत्त नराखेर सुम्निमा राख्नुको तात्पर्य पनि यही हो । अन्तिममा यति भनौँ, इतिहासचेतनामा कमी, दार्शनिक विमर्शमा अब्बल उपन्यास हो सुम्निमा ।