• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमर न्यौपाने काठमाडाैं
२०७६ भदौ २१ शनिबार ०६:३१:००
साहित्य

लुकेको जित

२०७६ भदौ २१ शनिबार ०६:३१:००
अमर न्यौपाने काठमाडाैं

मलाई अप्ठ्यारो लाग्दालाग्दै पनि मामुले मलाई सजिलो मानेर नुहाइदिनुहुन्थ्यो । तर, आज मामुले नुहाइदिन खोज्दा मानिनँ । बाथरुमको ढोका लगाएर आफैँ नुहाएँ, आफैँसँग समेत लाज लाग्यो । आफैँसँग लाज लाग्नुको अर्थ हो, आफ्नो तनमनमा केही नौलो चिजको आगमन भएको छ, जोसँग मेरो चिनजान र घुलमिल भइसकेको छैन । 

नुहाइसकेपछि छातीमा तौलिया बेरेर आफ्नो कोठामा आएँ । गुड्डु चित्र बनाउँदै रहिछ । तौलियाले शरीर पुछेर लुगा फेर्न लाग्दा उसका आँखा मेरो शरीरको बाटोमा हिँड्दैहिँड्दै काखीमा पुगेछन् । काखीमा अनौठो चिज देखेझैँ हाँस्दै उसले भनी, ‘बाबु, तिम्रो काखीमा त कपाल आएछ !’

के भन्छे यो भन्दै हात माथि उठाएर हेरेको त, हो रहेछ । बुबाको नाडीका रौँजस्तै मसिना । आफ्नै शरीरको कुनाकाप्चामा रौँ उम्रिन थालेको पनि यादै गरेकी रहेनछु । एक्कासि आत्तिएर कराएछु, ‘ला ! अब के गर्नु ?’ बढ्दै गएर यो कपाल टाउकोको जस्तै भइदियो भने ? एकाएक मामुको काखी सम्झिएँ, उहाँको त कपाल छैन । लाग्यो, मैले पनि यहाँको कपाल हटाउनैपर्छ । गुड्डुले उपाय सुझाई, ‘मामुले झैँ बुबाको दाह्री काट्ने सेभरले काटिदेऊ न, बाबु ।’ 

मलाई गुड्डुको उपाय ठीक लाग्यो । बुबाको सेभर लिएर बाथरुम गएँ र ऐना हेरेर काखीको रौँ काट्न तयार भएँ । काट्नै लाग्दा एक्कासि बुबाको काखी सम्झिएँ, उहाँको काखीमा त कपाल छ । लाग्यो, मैले काट्नुहुँदैन । किनभने म बुबाको बाबु हुँ । 
००० 
अर्को दिन ।  कट्टु फेर्न लाग्दा अनायास दाहिने हात सुसुनिर पुगेछ । खस्रोखस्रो भयो, बुबाको नाडीमा छोए जस्तो । यसो घोप्टिएर हेरेको त काखीमा झैँ सुसुको वरिपरि पनि मसिना झुसे रौँ पलाउँदै रहेछन् । आफैँलाई आफू रहस्यमय हुँदै गएझैँ लाग्यो । बाहिरी मनले आफूलाई सम्झाएँ— तर ऋतुराज ! यो जुधाइमा तैँले उमेरसँग हार्नुहुँदैन, कोमलता र कम्पनसँग हार्नुहुँदैन, यौवनको घामले तन र मनको हिमालबाट पगाल्दै गरेको पानीसँग हार्नुहुँदैन । 

बाहिरी मनले यति भनेपछि कुन्नि किन हो, भित्री मन चुपचाप भयो । मैले जति बोल्न दबाब दिए पनि बोलेन, गम्भीर भइरह्यो । मलाई हराउन नै होला, छातीको दुखाइ पनि बढ्दै गयो । मलाई दुखाएर उमेरले भित्रभित्रै खोप्दै गयो र म केटो हुँ भन्ने भानलाई कमजोर बनाउँदै लग्यो । खाँदा, हिँड्दा, पढ्दा मात्र होइन, प्रत्येक सासमा म आफ्नै उमेरसँग लड्न थालेँ । यौवनका सिपाहीहरूले मेरो छातीमा बेलुन बम र शरीरका कुनाकाप्चामा कपाल बम हानेर चस्का दिइरहे । 

जति दबाउन खोजे पनि तनका पहाड झन्–झन् उठिरहे । ती पहाडलाई मैले दबाउने प्रयास गरिरहेँ । जति सुकाउन खोजे पनि यौवनका मूल झन्–झन् रसाइरहे । मैले ती मूल सुकाउने प्रयास गरिरहेँ । यति गरेर पनि म हार्दै गएँ, हार्दै गएँ र हार्दै गएको हेर्दै गएँ । 

हार्दै गए पनि म हारमा हुनुपर्ने जति दुःखी भइनँ । मैले प्रत्येक सास र मुटुको धड्कन सँगसँगै म केटी पो हुँ भन्ने कुराको बोध गर्दै जानुपर्ने भयो । मनमा उठेका यस्ता तरंग बुबालाई भन्न सकिनँ, मामुलाई पनि भन्न सकिनँ, सबैभन्दा मिल्ने साथी पुन्टुलाई पनि भन्न सकिनँ, सानी देखेर हो कि गुड्डुलाई पनि भन्न सकिनँ । 

जति दबाउन खोजे पनि तनका पहाड झन्–झन् उठिरहे । ती पहाडलाई मैले दबाउने प्रयास गरिरहेँ । जति सुकाउन खोजे पनि यौवनका मूल झन्–झन् रसाइरहे । मैले ती मूल सुकाउने प्रयास गरिरहेँ । यति गरेर पनि म हार्दै गएँ, हार्दै गएँ र हार्दै गएको हेर्दै गएँ । 

पुन्टुजस्तै नजिकका कोही केटी साथी भएको भए उसलाई भन्न सक्ने थिएँ हुँला । फेरि पनि मलाई केटी साथीको अभाव र आवश्यकता महसुस भयो । अति भएपछि एक दिन केही डराउँदै, केही लजाउँदै मेरो छातीभित्र बन्दागोभीझैँ दिनदिनै बढ्दै र पत्रैपत्र भएर छोपिँदै गएका कुराहरू मामुलाई सुनाएँ । मेरो कुरा सुनेर मामु रहस्यमय तरिकाले हाँस्नुभयो र भन्नुभयो, ‘पहिल्यै भन्नुपर्दैन !’ 

म केही बोलिनँ । जति बोल्नु मेरो उमेरले बोलिरहेको थियो । मेरो उमेरले बोलिरहेको भाषा मामुले बुझ्नुभएछ । किनभने मामु पनि मेरो जस्तै उमेरको अनुभव पार गरेर यहाँसम्म आउनुभएको हो । बुबा त लोग्नेमान्छे, सायद यो भाषा बुझ्नुहुन्न । मेरो अनुहार चिन्तित देखेर मामु हाँस्नुभयो । मलाई भने रिस उठ्यो । उहाँले मेरो टाउको आफूतिर फर्काउनुभयो र चिउँडो समाएर भन्नुभयो, ‘अब तँ तरूनी हुन लागेकी होस्, बाबु । डराउनुपर्दैन ।’ 

तर, म अलि–अलि डराएँ, अलि–अलि लजाएँ । बाहिरी मन जुरुक्क उठेका वेला मलाई मामुको जस्तो होइन, बुबाको जस्तो छाती भइदियोस् भन्ने लाग्यो– साह्रो र खँदिलो, दौडिँदा र उफ्रिँदा पनि नहल्लिने, कसैको हातले या फुटबलले लाग्दा पनि केही नहुने, सल्लुको जस्तै चक्काचक्का परेको । त्यस्तो भएको भए मेरो उमेरले फुटबलसँग हार्नुपर्ने थिएन । 

तर मेरो शरीर त मामुको जस्तै कोमल हुँदै थियो र नबोलेरै भित्री मनले जित्दै थियो, म उमेरसँग हार्दै थिएँ । हार्दै भए पनि म हारे जस्तो भएकी थिइनँ । किनभने, हराएर पनि उमेरले मलाई रोमाञ्चक लाज र रहस्यमय ताज पहिराइदिँदै थियो । हारहरूले प्रायः पीडा दिन्छन् । तर, मलाई हारले प्रेम दिँदै थियो । पहिलोपटक थाहा पाउँदै थिएँ, कुनैकुनै हारको गुदी जितले बनेको हुन्छ । त्यही जित हारको आवरण फुटाएर पीपलको बिरुवाझैँ उम्रिँदै थियो ।