• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
यतिस ओझा काठमाडाैं
२०७६ भदौ २१ शनिबार ०८:१५:००
समाज

कपालको बजार

२०७६ भदौ २१ शनिबार ०८:१५:००
यतिस ओझा काठमाडाैं

‘आफ्नो कपालमा ध्यान दिनुस् । किनकि, सबैको आँखा तपाईंको कपालमै हुन्छ ।’ एरिजोना स्टेट युनिभर्सिटीकी समाजशास्त्री रोज वेइजले सन् २००४ मा प्रकाशित आफ्नो पुस्तक ‘रापुन्जल्स् डटर्स’मा उल्लेख गरेको वाक्य हो, यो । उक्त पुस्तक महिलाको जीवनमा कपालको कस्तो भूमिका हुन्छ भन्ने विषयमा सम्बन्धित थियो । उनका अनुसार हामीले भेट्ने व्यक्तिले पहिले कपालमा ध्यान दिन्छन् र त्यसैबाट हाम्रो परिचय बनाइदिन्छ ।

भनिन्छ, पुँजीवादले हरेक वस्तु बेच्छ । न्युयोर्क टाइम्सका अनुसार अमेरिकामा मात्रै साढे दुई अर्ब डलरबराबरको कपालसम्बन्धी उद्योग छ । पश्चिमी देशका तथ्यांक पनि यसै हाराहारीमा छ । पश्चिमी देशमा चुनावी समयमा उम्मेदवारका कपाल र यसको शैलीबारे टेलिभिजनमा बहस हुने गरेका छन् । सौन्दर्यको प्रमुख मानक बनेपछि कपाललाई मानिसले आफ्नो व्यक्तित्व चिनारी मानेर गम्भीर रूपमा लिन थालेका छन् ।

कपालको व्यापार सौन्दर्यका लागि मात्र होइन । सुन्दा आश्चर्य लाग्न सक्छ, तर पिज्जा बनाउन प्रयोग हुने केही सामग्रीमा ‘एल सिस्टिन’ नामक ‘एमिनो एसिड’को प्रयोग हुन्छ, जुन कपालबाट नै निकालिन्छ । कृत्रिम कपाल, रौँ, परेला बनाउन होस् वा विभिन्न पहिरन बनाउन कपालको प्रयोग अत्यधिक हुँदै आएको छ, त्यसैले कपालको महत्व थप बढेको छ ।

मृतशरीर त किनबेच हुने बजारमा कपालको व्यापार हुनु खासै अनौठो होइन । मानिसको कपाल किनबेचको बजार बन्नु पुँजीवादको विशेषता नै हो । तर, कपाललाई सौन्दर्यको मानक मान्नु पुँजीवाद आउनुभन्दा धेरै पहिलेदेखि भेट्न सकिन्छ । अमेरिकामा सुनौलो अर्थात् गोरो कपाललाई आकर्षक रूपमा लिने गरिन्छ । हाम्रो पूर्वीय संस्कृतिमा कालो कपाल हुनु आकर्षक मानिन्छ । यस्ता मानक सयौँ वर्षदेखि चल्दै आएका छन् ।

यस्तै, मानकका रूपमा कपालको लम्बाइ पनि रहेको छ । सामाजिक मानवशास्त्री सर एडमन्ड रोनाल्ड रिचले भारतमा हिन्दू र श्रीलंकामा बौद्ध धर्मावलम्बीको अध्ययन गरेर सन् १९५७ मा ‘म्याजिकल हेयर’ नामक जर्नल प्रकाशित गरेका थिए । उनका अनुसार लामो कपाल हुनु असीमित यौन चाहना र सक्रियताको चिह्नका रूपमा लिइन्छ ।

छोटो कपाल हुनुलाई सीमित यौन चाहना र सक्रियतासँग तुलना गरिन्छ । र, कपाल नहुनुलाई शून्य यौन सक्रियता अर्थात् विवाह र यौन चाहनाबाट पूर्ण रूपमा निष्क्रिय बन्नु रहेको संकेत गरेका छन् । यही मानकलाई आधार मानेर बौद्ध धर्ममा भिक्षु तथा भिक्षुणीले कपाल मुण्डन गर्ने गर्छन् ।रिचका अनुसार कपालको लम्बाइ लामो वा छोटो हुनु पर्ने परिभाषासमेत हामीसँग रहेका छन् । कुनै महत्वपूर्ण सांस्कृतिक स्रोत नभेटिए पनि महिलाको कपाल लामो र पुरुषको कपाल छोटो पार्नुपर्छ भन्ने मान्यता भइसकेको छ ।

केही व्यक्ति यस्ता हुन्छन्, जोसँग सामान्य चिनजानकै भरमा मेरो कपाल लामो भएको अवगत गराउन छुट्दैनन् । मलाई लाग्छ, ती प्रतिक्रिया फगत प्रतिक्रिया मात्र होइनन् । यसको मतलब कपाल काट्नुपर्छ भनेर दिइएका अघोषित आदेश हुन् । कपाल नकाट्दा ‘तलाई सुहाउँदैन’ भनेर बनाइएका परिभाषा हुन् । यो ‘हुन्छ’, यो ‘हुँदैन’ भनेर जसरी सौन्दर्यको मानक तयार भएको छ, अहिले विश्वको सबैभन्दा डरलाग्दो विषय यही लाग्छ ।

के काम हुन्छ के काम हुँदैन कसले छुट्याउने हो ? हुने र नहुने कसले टुंगो लगाउने हो ? जवाफ छैन । तर पर्छ, पर्दैन अथवा हुन्छ, हुँदैन भन्ने कुराचाहिँ फेरि सबैलाई थाहा छ । मेरो कपाल थोरै लामो हुँदा सबैलाई असहज भएको छ । यति मात्रै होइन, छोरा मान्छेले कपाल पालेको समाजले सहनै सक्दैन । त्यो उसको कल्पनाबाहिरको कुरा हुन जान्छ ।

मैले कपाल नकाटेको मात्र होइन, नमिलाएको पनि हो । कपाल मिलाउनुजस्तो अल्छी काम केही लाग्दैन । तर, किन मेरो कपालले अपरिचितको समेत टाउको दुखाइरहेको छ ? समाजशास्त्री वेइज आफ्नो पुस्तक ‘रापुन्जल्स् डटर्स’मा मुख्यतः तीनवटा विषयमा केन्द्रित भएकी छिन् । पहिलो– आफ्नो कपाल बिलकुल व्यक्तिगत विषय हो ।

दोस्रो– व्यक्तिगत भए पनि सार्वजनिक हुन्छ । तेस्रो– सबैभन्दा महत्वपूर्ण पक्ष– यसलाई आफूले चाहेको रंग, रूप र आकारमा बदल्न सकिन्छ । यही तेस्रो कारणले कपालको महत्व बढाइदिएको छ । यसैले एउटा मान्छेको पहिरनले राख्नेजत्ति नै महŒव कपालको राख्ने गर्छ । किनकि, यो व्यक्तिगत छनोटमा परिवर्तन गर्न सकिन्छ । सायद कपाल पनि शरीरको एक अंग हुन्थ्यो र सजिलै बदल्न सकिँदैनथ्यो भने कपालको राजनीति ज्यादा हुँदैनथ्यो होला । 

मेरा केही महिला साथीले कपाल छोटो पारेका छन् । प्रचलित भाषामा उनीहरूले ‘ब्वाइज कट’ कपाल काटेका छन् । केही साथीहरू छन्, जसले कपाल खौरिएर मुण्डन नै गरेका थिए, छन् । उनीहरूलाई आएका प्रश्न र प्रतिक्रिया सायदै म महसुस गर्न सक्छु । उनीहरू न सार्वजनिक व्यक्ति थिए, न उनीहरूले कपाल काट्दा कसैलाई नोक्सानी भएको छ । तर, उनीहरू आजभोलि कतै जाँदा मानिसको भिडमा होइन, कपाल ‘किन काटेको ?’ प्रश्नको बीचमा हिँड्न बाध्य छन् ।
जीव विज्ञानका अनुसार कपाल मृत अंश हो । तर, यति मात्रै होइन पितृसत्ताको प्रतीक बनेको छ । पितृसत्ताले महिला मात्र होइन, पुरुषका लागि पनि अनेक सीमा तोकिदिएको छ ।

कपाल लामो हुँदा महिलाहरू कोमल, सुशील, दयालु गुणले भरिपूर्ण हुन्छन् भन्ने सोच समाजमा छ । कपाल छोटो हुँदा महिलाहरूमा ‘कोमलता’ हराएर ‘पुरुष’को जस्तो बानी विकास हुन्छ भन्ने मान्यता रहेको छ । सन् २००६ मा ‘रिभ्यू अफ साइकोलोजी’मा बेरेजकी र मेस्कोले मनोवैज्ञानिक अध्ययन तथा सोधबाट आफूले प्राप्त गरेको परिणाम प्रस्तुत गरेका छन् । कपालको लम्बाइ र आकर्षणको सम्बन्धमा गरिएको उक्त खोजअनुसार पुरुष लामो कपाल भएका महिलाप्रति आकर्षित हुन्छन् । त्यसकारण, महिलाले पुरुषको अपेक्षाविपरीत गएर कपाल किन काट्ने भन्ने प्रश्न गरिन्छ ।

स्वाभाविक रूपमा महिला छोटो कपाल भएका पुरुषप्रति आकर्षित हुन्छन् । त्यसैले पुरुष कपाल पालेर ‘महिलाजस्तो’ बन्न चाहँदैन । महिलाहरू आफूप्रति आकर्षित हुन् भन्ने चाहना राखिरहेका हुन्छन् । महिलाले पुरुषलाई आफूप्रति आकर्षित गराउनु छ, जसरी पुरुषले आफ्नो ‘पुरुषŒव’ बचाइराखेका छन् । सुन्दा अचम्म लाग्छ, जब नितान्त व्यक्तिगत कपाल यसरी पितृसत्तासँग गाँसिन्छ ।

मेरी हजुरआमा निरक्षर हुनुहुन्छ । म घर जाँदा कपाल काट् है भन्नुहुन्थ्यो । म उहाँलाई पुँजीवाद र पितृसत्ता बुझाउन सक्दिनँ । उहाँलाई बुझ्न रुचि पनि हुँदैन । किनकि, उहाँले वर्षौँदेखि स्विकार्दै आएको मान्यता र अँगालेको सोच सजिलै परिवर्तन हुँदैन । जिन्दगीभरि अभ्यास गर्नु भएको चलनविरुद्ध उहाँसँग बहस गर्ने दुष्प्रयास गर्दिनँ । अर्कोपटक काटेर आउँछु भनेँ । उहाँप्रति मलाई केही गुनासो छैन ।

विद्यालयमा लामो कपाल राख्न पाइँदैन थियो । तर, त्यही कपाल छात्राले पाल्दा उसलाई असल बनाउने अनि छात्रले पाल्दा सबैभन्दा खराब बनाउने ? मेरो प्रश्न यहाँनेर छ । सामाजिक शिक्षा भन्ने विषयमा ६ कक्षादेखि नै पितृसत्ताविरुद्ध र व्यक्तिगत स्वतन्त्रताको पक्षमा शिक्षा दिने शिक्षालयहरू के आधारमा त्यही पितृसत्ताको पक्षपोषण गर्दै छन् ? कुनै प्रमाणविना शिक्षासँग कपालको लम्बाइलाई जोडेर बालबालिकाको मनोविज्ञानमाथि खेलबाड गर्दै छन् ?

विज्ञान विषयको कक्षामा कपाल मृत अंश भनेर पढाउने, तर विद्यार्थीको पढाइसँग कपालको तथ्यहीन परिभाषा किन घोकाउँदै छन् ? कपाल काटेर मात्र कक्षामा जान पाउने भएकाले लामो भएकाले ‘लैंगिक समानता’को पाठ पढ्न नपाएका छात्रबारे कसैले सोचेको छ ? के कपालले अनुशासन दर्साउँछ ? के कपाल सम्मानको सूचक नै हो ? के कपाल व्यक्तिगत रुचिभन्दा ज्यादा समाजका लागि महत्वपूर्ण छ ?

आधुनिक समाजमा पितृसत्ताले नजानिँदो जरा गाड्दै गइरहेको छ । यो ‘शिक्षित–सम्भ्रान्त’ पितृसत्तालाई परास्त गर्नु परम्परागत पितृसत्तालाई परास्त गर्नुभन्दा कैयौँ गुणा कठिन हुन्छ । कपालको रूप र रंगलाई विद्यालयले किन यसरी सौन्दर्यको मानकमा संस्थागत गर्दै लगेका छन्, भन्ने कुरा पानीजस्तो छर्लंग छ । यो अभ्यास त्यही आधुनिक पितृसत्ताको सेवाबाहेक केही होइन । 

कपालका विषयले समाजमा धेरैलाई दुःख दिएको छ । केही महिनाअघिसम्म राहदानी विभागले कालो कपाल भएकालाई मात्र राहदानी दिने गरिन्थ्यो । प्रहरीको क्यान्टिनमा गएर जुत्ता पालिसले कपाल कालो बनाएपछि मात्र राहदानीका लागि फोटो खिच्न पाइने खबर मिडियामा प्रकाशित नै भयो ।

नेपाल प्रहरीमा लामो कपाल भएका गुन्डा नै ठहरिन्छ भन्ने मानसिकता व्याप्त छ । नब्बेको दशकमा हिप्पीहरू काठमाडौंमा कम हुँदै गए, तर उनीहरूको प्रभाव नेपाली युवाहरूमा बढ्दै थियो । कपाल पाल्ने युवा लागुऔषध सेवन र कारोबारमा संलग्न हुन्छन् भन्ने ठानिन्थ्यो । त्यही सेरोफेरोमा पञ्चायतले तत्कालीन काठमाडौं प्रहरी प्रमुख अच्युतकृष्ण खरेलले सडकमा हिँड्दै गरेका युवाहरूलाई पक्रिँदै कपाल काट्न पठाइदिने गरेका थिए । पछि रमेश खरेल, विक्रमसिंह थापालगायत प्रहरी अधिकारीहरूले पनि यसको सिको गरे ।

प्रहरीको यो गतिविधिबारे मानवशास्त्री सुरेश ढकालले राजनीतिक, सामाजिक वा कानुनी हिसाबले राज्यलाई चुनौती दिने शक्ति भएकाले युवालाई आफ्नो वशमा राख्न राज्य वा प्रहरी प्रशासनले यस्ता कार्यक्रम ल्याउने गरेको प्रतिक्रिया दिने गरेका छन् ।

यतिसम्म कि, प्रहरीले राजेश हमालको कपालमा समेत कैँची चलाउने प्रयास गरे । तर, उनी कलाकार भएकाले त्यसो नगरेको प्रहरीले नै जानकारी दिएको थियो । हमालले कपाल नकाट्नका लागि परिवारभित्र नै विद्रोह गरेका थिए । उनको कपाल मोह यति थियो कि बुबाको निधनपछि किरिया बस्दासमेत कपाल मुण्डन गरेनन् । उसैले गर्दा नेपाली फिल्ममा लामो कपाल भएका पुरुषले प्रहरीको बर्दी लगाउन पाए । 

पछिल्लो समय सर्वोच्च अदालतले कपाल पाल्नु व्यक्तिगत स्वतन्त्रता भएकाले यसका आधारमा कसैलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिइसकेको छ । विकल्प राजभण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले यो आदेश दिएका थिए । 

यी परिस्थितिका बीच मैले कपाल पालेर कुनै क्रान्ति गर्न लागेको चाहिँ होइन । हजुरआमालाई भनेजस्तै अब घर जाँदा कपाल काटेर जान सक्छु । यो लेख लेखिसकेपछि पनि काट्न सक्छु । वा केही हप्ता, महिना या वर्ष नै लाग्न पनि सक्छ । त्यो थाहा छैन । यो विषयले कसैलाई आपत्ति दिनु हुँदैन । तर, यो मेरो कपाल हो, र यसको अधिकार मेरो नै हो ।

यदि, तपाईं कसैको कपालबारे टिप्पणी गर्नुहुन्छ भने उसको विचारविना निर्देशन दिइरहनु भएको छ । यसबारे एकपटक सोच्नुहोला । त्यो विचार तपाईंकै हो कि पितृसत्ताको भाषा बोल्न माध्यम मात्र बन्नु भएको हो ? त्यो प्रश्नको उत्तर तपाईंलाई आवश्यक छ त ? तपाईंलाई आफ्नो व्यक्तिगत स्वतन्त्रतामाथि अरूले धाबा बोल्दा कस्तो महसुस हुन्छ ? कसैले तपाईंले भन्नु भएकोजस्तो कपाल बनाइदिँदा तपाईंलाई फाइदा हुन्छ त ? यति सोचेर तपाईं प्रश्न गर्न रोकिनु भएन भने कुनै दिन कसैले जवाफ फर्काउला– ‘मेरो कपाल, तपाईंलाई बाल ?’ भनेर । त्यसवेला खिस्रिक्क परेर हाँस्नुपर्दा मजा आउला र !