• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामचन्द्र श्रेष्ठ
२०७६ भदौ २१ शनिबार ०८:२३:००
सम्झना

सम्झेर वालेस्टाइनलाई

२०७६ भदौ २१ शनिबार ०८:२३:००
रामचन्द्र श्रेष्ठ

सिंगो संसार आर्थिक प्रणालीको जटिल जालोमा जेलिएको छ भन्ने अवधारणाका आविष्कारक इम्यानुअल वालेस्टाइनको गत शनिबार निधन भएको छ । व्यक्तिको निधनपश्चात उसको योगदान र कृतिबारे चर्चा गर्ने मानवजातिको विशिष्ट चरित्र हो । नेपालजस्ता विकासशील देशको अविकासको चरित्र अध्ययन गर्न सहयोग पु-याउने भएकाले पनि वालेस्टाइन चर्चायोग्य छन् ।

पोल्यान्ड जननी भएका वालेस्टाइनका बा–आमा प्रथम विश्वयुद्धको समयमा जर्मनी हुँदै सन् १९२३मा संरा अमेरिका पुगेका थिए । सन् १९३० सेप्टेम्बर २८ मा वालेस्टाइन जन्मिए । वालेस्टाइनको परिवार राजनीतिक रूपले सचेत थियो, जसको प्रभावका कारण उनी किशोर उमेरदेखि नै अन्तर्राष्ट्रिय घटनामा चासो राख्थे । वालेस्टाइनको शिक्षा कोलम्बिया विश्वविद्यालयमा भयो, जहाँबाट उनले सन् १९५१ मा स्नातक, १९५४ मा स्नात्तकोत्तर र १९५९ मा विद्यावारिधि उपाधि हासिल गरे ।

सन् १९५१ देखि १९५३ सम्म उनी अमेरिकाको अनिवार्य सैनिक सेवामा सामेल भए । त्यसपश्चात आफ्नो स्नातकोत्तरको शोधपत्र म्याकार्थीवादमा लेखे । 
सुरुवातमा वालेस्टाइन गैरअमेरिकी राजनीतिमा चासो राख्थे । विशेष गरेर अफ्रिका र भारतको राजनीतिमा उनको विशेष चासो थियो । कोलम्बिया विश्वविद्यालयबाट नै शिक्षण सुरु गरेका उनले पछि म्यागगिल विश्वविद्यालयमा अध्यापन गरे ।

विंग्ह्याम्टम विश्वविद्यालयको अर्थशास्त्र, इतिहास र सभ्यताको अध्ययन गर्ने चर्चित फ्रनाड ब्राउडल केन्द्रको नेतृत्व गर्ने दुर्लभ अवसर पनि प्राप्त हुनुले उनको प्राज्ञिक क्षेत्रको फराकिलो घेरालाई इंगित गर्छ । जीवनको अन्त्यतिर पनि उनी येल विश्वविद्यालयसँग आबद्ध थिए । संसारका विभिन्न देशको फेलोसिप, विभिन्न अध्ययन केन्द्रहरूमा सहभागिता, विभिन्न विश्वविद्यालयमा लेक्चर, विभिन्न मानार्थ उपाधिको थुप्रो र अनेक जर्नलहरूको सम्पादनमा सहभागिताले उनको व्यस्त र सक्रिय जीवनलाई इंगित गर्छ । 

विश्व प्रणाली सिद्धान्त
वालेस्टाइनको अवधारणा निकै सरल तरिकाले बुझ्न सकिन्छ । उनी भन्छन्– संसार जटिल अर्थप्रणालीले जेलिएको छ । ‘विश्व प्रणाली सिद्धान्त’ले सिंगो संसारलाई एउटा सामाजिक प्रणाली ठान्छ । र, विश्व राजनीतिकभन्दा पनि आर्थिक प्रणालीले जेलिएको छ, जसले केन्द्र र परिधिको निर्माण गरेको छ । वालेस्टाइन सिंगो संसारलाई पुँजीवादी आर्थिक प्रणालीको जालोमा विश्लेषण गर्छन् । यो सिद्धान्तका अनुसार संसारका केन्द्रका राज्यहरू र परिधिका राज्यहरू खाद्यान्न, तेल, सुरक्षाजस्ता कारणले सम्बन्धित छ । यो अन्तरसम्बन्ध समान भने छैन ।

केन्द्रका राज्यहरूले परिधिका राज्यहरूको शोषण गरिरहेका छन् । विश्वप्रणालीको मुख्य स्रोत श्रमको अन्तर्राष्ट्रिय विभाजन हो । केन्द्रले परिधिको श्रमदेखि प्राकृतिक स्रोतसम्म कब्जा गरिरहेको हुन्छ । केन्द्र र परिधिको बीचमा अन्य अर्धपरिधिको क्षेत्र हुन्छ । यस्तो अर्धपरिधि आफैँमा केन्द्रबाट शोषित हुन्छ भने परिधिलाई शोषण गरिरहेको हुन्छ । तर, आधारभूत रूपमा केन्द्र र परिधिलाई बढी जोड दिइन्छ । 

पुँजीवादी विश्व प्रणालीका कारण केन्द्र जहिल्यै लाभान्वित हुन्छ । केन्द्रका राज्यहरू यसैकारण बलिया हुन्छन् । शक्तिशाली सरकार, बहृत् कर्मचारीतन्त्र, सशक्त सैन्य शक्ति भएका यी राज्यहरूले आफ्ना देशका पुँजीपति वर्गमार्फत संसारको स्रोतसाधन र श्रममाथि कब्जा जमाएर अतिरिक्त नाफा सिर्जना गरिरहेका हुन्छन् । यी देशको समृद्धि परिधिका कैयन् देशको शोषणमा टिकेको हुन्छ । आज हामीले विकसित र सम्पन्न ठान्ने देशहरूको प्रगति परिधिका देशहरूलाई गरिबी, ऋण, परनिर्भरताको विषमतामा धकेलेर स्थापित भएको हो भन्ने वालस्र्टिनको ठम्याइ हो । 

अर्कोतर्फ परिधिका राज्यहरू केन्द्रलाई सस्तो श्रम र प्राकृतिक स्रोत उपलब्ध गराएर टिकेको हुन्छ । परिधिका राज्यहरू कमजोर हुन्छन् । स्थानीय अर्थप्रणाली पूर्णतः दलाल प्रकृज्ञितको हुन्छ । यसले जन्माउने सरकार पनि दलाल अर्थतन्त्र पक्षधर कमजोर हुन्छ । कर्मचारीतन्त्र भ्रष्टाचारले गाँजिएको हुन्छ । खासमा यस्ता परिधिका देशहरूको अविकासको मुख्य कारक नै पुँजीवादी विश्व प्रणाली हो । 

विश्व–प्रणालीको अर्को कारक प्रविधि हो । केन्द्र जहिल्यै प्रविधिमा बलियो हुन्छ । यसको अर्को कारण भनेको विश्वभरको बौद्धिक क्षमतामाथि पनि केन्द्रको कब्जा हुन्छ । अहिले संरा अमेरिकाको विज्ञान र प्रविधि संसारका बौद्धिकहरूको सामूहिक प्रयत्नको परिणाम हो । आज नासामा संसारका तीक्ष्ण प्रतिभाशाली मस्तिष्कको भिड हुनु पनि पुँजीवादी विश्व–प्रणालीको परिणाम हो ।

प्रतिभा पलायनको कारक पनि यही विश्व–प्रणाली नै हो, जसले गर्दा परिधिका देशहरूको प्रगतिमा गतिरोध उत्पन्न भइरहेको हुन्छ । यही असमान विनिमयका कारण परिधिका देशहरूको विकासमा संरचनात्मक अवरुद्धता सिर्जना भएको हुन्छ । वालेस्टाइनले संसारलाई पुँजीवादी विश्व–प्रणालीलाई बृहत् आयामबाट व्याख्या गर्छन्, जहाँ राष्ट्र–राज्यहरू सिंगो प्रणालीको एउटा तत्व मात्र हुन् । मार्च २००८ मा उनले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘१९औँ शताब्दीको अन्त्यतिरबाट संसार पुँजीवादी प्रणालीले शासित हुन थाल्यो । ‘मेरो विचारमा समाजिक विज्ञानमा राज्यहरूलाई पनि सिंगो प्रणालीको एउटा तत्वको रूपमा लिइनुपर्छ । देशहरू मात्र होइन कि जाति, वर्ग, राष्ट्र, परिवार आदि सबै सिंगो पुँजीवादी विश्व–प्रणालीअन्तर्गत छन् ।’

उक्त अन्तर्वार्तामा उनले वर्तमान पुँजीवादी विश्व–प्रणालीको अन्त्यको सम्भावना पनि औँल्याएका छन् । उनी भन्छन्, ‘हरेक संरचनाहरू जस्तै यो विश्व–प्रणाली पनि विभिन्न चरणबाट गुज्रिन्छ । सुरुवातमा यसको उदय, स्थापना त्यसपश्चात विकास र अन्त्यमा संरचनात्मक संकटको चरण अनि लोप । ‘हामी अहिले यो विश्व–प्रणालीको संकटको चरणमा छाैँ । मैले ठ्याक्कै अवधि त अनुमान गर्न सक्दैन, तर हामी छिट्टै नै (पच्चीसदेखि पचास वर्षबीचमा) यो प्रणालीको अन्त्य वा अन्य प्रणालीद्वारा विस्थापनको प्रत्यक्षदर्शी बन्नेछौँ ।’

सन्दर्भ
४६ पुस्तकका लेखक वालेस्टाइनको ‘विश्व–प्रणाली सिद्धान्त’ सन् १९७४ मा ‘विश्व पुँजीवादी प्रणालीको अभ्युदय र अन्त्यको भविष्यः तुलनात्मक अध्ययनका लागि अवधारणा’ शीर्षकको शोधपत्र प्रकाशनसँगै मूर्त रूप प्रकाशमा आयो । सन् १९७४ मा नै ‘द मोर्डन वल्र्ड सिस्टम’ (आधुनिक विश्व प्रणाली) को पहिलो खण्ड प्रकाशन गरेसँगै अवधारणाले बलियो आकार ग्रहण गर्न थाल्यो । उक्त पुस्तकको दोस्रो भाग सन् १९८० मा तेस्रो १९८९ र चौथो २०११ मा प्रकाशन भयो । यी चार पुस्तकबाहेक पनि अन्य दर्जनाैँ पुस्तकमा उनले आफ्नो अवधारणालाई स्थापित गरेका छन् । 

पहिलो ग्रन्थमा वालेस्टाइनले पश्चिमी युरोपमा पुँजीवादको उदयको विस्तृत चर्चा गरेका छन् । सामन्ती उत्पादन प्रणालीको संकटसँगै पन्ध्रौँ शताब्दीको अन्त्य र सोह्रौँ शताब्दीको सुरुवातमा विश्व आर्थिक प्रणालीको अभ्युदय भएको उनको ठम्याइ छ । यसमा विश्व–प्रणालीका लागि आवश्यक आर्थिक र राजनीतिक संस्थाहरूको जन्मको कथा छ ।

दोस्रो ग्रन्थमा व्यापारवादको विस्तारसँगै कसरी युरापेली विश्व अर्थतन्त्रले ठोस आकार ग्रहण ग-यो भन्ने विश्लेषण छ । यसमा विशेष गरेर डच साम्राज्यको विश्लेषण गरिएको छ । सन् १६०० देखि १७५० सम्मको इतिहासको विश्लेषण गर्दै तत्कालीन पुँजीवादी विश्व–प्रणालीको मन्दगतिको कारण पनि खोतलिएको छ । तेस्रो ग्रन्थमा सन् १७३० देखि १८४० को दशकमा कसरी पुँजीवादी विश्व अर्थतन्त्रको फैलावटले दोस्रो चरण हासिल ग-यो भन्ने छ । यसमा विश्व पुँजीवादी प्रणालीको आर्थिक र भौगोलिक व्यापकताको विश्लेषण गरिएको छ ।

चौथो ग्रन्थमा आधुनिक विश्व प्रणालीको सांस्कृतिक प्रभुत्वको विश्लेषण गरिएको छ । यसमा उदारवाद र उदार राज्यको चर्चा गरिएको छ । मूलतः यी सबै ग्रन्थ समयक्रमको सिलसिलामा लेखिएका छन् । वालेस्टाइनले चौथो ग्रन्थको भूमिकामा लेखेअनुसार उनी अझै पाँचौँ र छैटौँ ग्रन्थको तयारीमा थिए । यी सबै ग्रन्थहरू र अन्य रचनाहरूको बलमा उनले एकाधिकारको प्रस्ट लक्षण निहित बजार व्यवस्थालाई पुँजीवादको मूल चरित्रको रूपमा अथ्र्याएका छन् ।

 कुनै पनि सैद्धान्तिक अवधारणाको जन्मको पछाडि अन्य समकालीन वैचारिक अवधारणाको लामो पृष्ठभूमिले काम गरेको हुन्छ । कतै तिनका खण्डन र कतै तीबाट प्रेरणा लिएर नयाँ अवधारणा स्थापित हुन्छ । बौद्धिक कर्म र ज्ञान निर्माणको यही परम्परा हुन्छ । वालेस्टाइनले विश्व प्रणाली सिद्धान्तलाई मूर्त रूप दिनुअगावै अन्य वैचारिक अवधारणा स्थापित भइसकेका थिए । विशेषगरी विश्व अर्थतन्त्रको विश्लेषणमा तिनको योगदान थियो ।

माक्र्सको विश्लेषणको परम्परा ग्रहण गरेर लेनिनले साम्राज्यवादलाई पुँजीवादको उच्चतम अवस्थाको रूपमा विश्लेषण गरिसकेका थिए । वित्तीय पुँजी र एकाधिकार बजारको विश्लेषण गर्दै लेनिन त्यो निष्कर्षमा पुगेका थिए । त्यस्तै माक्र्सको सिद्धान्तलाई आर्थिक नियतिवाद वा आर्थिक निर्धारणवादमा खुम्च्याइन थालेपछि व्यक्तिको भूमिका र सचेत प्रयत्नलाई जोड दिँदै जर्ज लुकास र एन्टोनियो ग्राम्सीका अवधारणा आइसकेका थिए । इतिहास र पूर्वपरम्पराको खण्डनको रूपमा फ्य्रान्कफर्ट स्कुल स्थापित भएको थियो ।

साम्राज्यवाद, आर्थिक प्रणालीको विश्लेषणको क्रममा नवमाक्र्सवादीहरूको जन्म भइसकेको थियो । पाउल बारान र पाउल स्विजीको ‘एकाधिकार पुँजी’को अवधारणा र एजी फ्रान्कद्वारा ल्याटिन अमेरिकाको अध्यनमा केन्द्रित ‘परनिर्भरताको सिद्धान्त’को जन्म भइसकेको थियो । वालेस्टाइन यी सबै अवधारणाबाट गुज्रिएका थिए । त्यस्तै विश्लेषण पद्धतिका लागि वालेस्टाइनले मार्क्स र वेबर दुवैलाई पछ्याएको देखिन्छ । 

जिन्दगीको ८८ वर्ष बिताएर वालेस्टाइन दैहिक संसारबाट बिदा भए । तर, उनको सिद्धान्त तथा विचारले हामीलाई सधैँ उत्प्रेरित गरिरहन्छ ।

विश्व प्रणाली सिद्धान्त मुख्यतः तीनवटा आधार छन् । मार्क्स, एनाल स्कुल र परनिर्भरताको सिद्धान्त । माक्र्सबाट वालेस्टाइनले मानव समुदायबीचको सामाजिक द्वन्द्वको यथार्थ, सम्पूर्णतामा हेर्ने तरिका, पुँजीको केन्द्रीकरण, सामाजिक गतिको द्वन्द्वात्मक कारणहरू सिकेका थिए । फ्रर्नान्ड ब्रडेलले नेतृत्व गरेको फ्रान्सको एनाल स्कुल इतिहास अध्ययनमा केन्द्रित थियो । यसबाट लामो अवधिको आधारमा इतिहासको अध्ययन, भौगोलिक क्षेत्रलाई अध्ययनको एकाइ बनाउने पद्धति र ग्रामीण इतिहासप्रतिको चासो सिकेका थिए वालेस्टाइनले । 

परनिर्भताको सिद्धान्तबाट उनले विकास र अल्पविकासको व्याख्या र केन्द्र–परिधिको सम्बन्ध लिएका थिए । खास गरेर विश्वव्यापी पुँजीवादको आलोचनाको पाटो परनिर्भरताको सिद्धान्तबाट ग्रहण गरेका थिए । यीबाहेक वालेस्टाइन कार्ल पोलियानी र जोसेफ स्कुम्पटरबाट पनि प्रभावित थिए । 

हरेक विचारकको सोचाइमा परिवर्तन ल्याउने विशेष क्षण हुन्छन् । वालेस्टाइनलाई सुरुवातमा अफ्रिका अध्ययनको रुचि थियो । त्यसैले कोलम्बिया विश्वविद्यालयको अध्यापक हुँदा उनी अफ्रिका अध्ययनका लागि पेरिसमा बसेका थिए । त्यतिवेला पेरिस एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विद्रोही विचारक तथा राजनीतिज्ञको केन्द्र थियो । यी सबैको उनीमाथि राम्रो प्रभाव प-यो । त्यस्तै एनाले स्कुलका विचारकहरूसँगको संगतले पनि उनलाई ‘विश्व प्रणाली सिद्धान्त’को जन्म गराउन उत्साहित ग-यो । 

विश्व प्रणाली सिद्धान्त आलोचनाबाट मुक्त भने छैन । वालेस्टाइनलाई वर्गसंघर्षको आँखाबाट नहेरेको, केन्द्र र परिधिको सम्बन्धमा सांस्कृतिक पाटोलाई ख्याल नगरी आर्थिक कारकलाई बढी जोड दिएको जस्ता आलोचनाहरू भइआएका छन् । यी आलोचना हुँदैमा वालेस्टाइनको योगदानलाई न्यून मूल्यांकन गर्न सकिँदैन ।

नेपालजस्तो देशको अविकासको कारण खोतल्न वालेस्टाइनकाको सिद्धान्तले सहयोग गर्छ । देशको घरेलु घटनाहरूको अध्ययन पनि विश्व जगत्मा भइरहेका परिवर्तनहरूको आलोकमा गरिनुपर्छ । हाम्रो परनिर्भरता र अविकासको विश्लेषण गर्दा इम्मानुयल वालेस्टाइनलाई पन्छाउन सक्दैनौँ । जिन्दगीको ८८ वर्ष बिताएर वालेस्टाइन दैहिक संसारबाट बिदा भए । तर, उनको सिद्धान्त तथा विचारले हामीलाई सधैँ उत्प्रेरित गरिरहन्छ ।