• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लोकेन्द्रबहादुर चन्द, पूर्वप्रधानमन्त्री
लोकेन्द्रबहादुर चन्द काठमाडाैं
२०७६ भदौ २१ शनिबार ०८:३३:००
सम्झना

हराएका ती कविता

राजनीतिमा नलागेको भए मेरो साहित्यको प्रचार सायद बढी हुन्थ्यो

२०७६ भदौ २१ शनिबार ०८:३३:००
लोकेन्द्रबहादुर चन्द काठमाडाैं

म ०४६ सालमा १६ दिन प्रधानमन्त्री बनेँ । एउटा ‘फेज’ थियो, काम गरियो, सकियो । त्यसवेला निर्दलीय भन्ने एउटा दफाबाहेक अरू पञ्चायतको संविधान छँदै थियो । त्यो संविधानअन्तर्गत अन्तरिम संविधान गठन भएको थियो । कुनै समस्या परेका वेला राजाले जुनसुकै व्यक्तिको अध्यक्षतामा पनि निश्चित काम सुम्पेर सरकार गठन गर्न सक्ने संविधानमा व्यवस्था थियो । त्यो सरकारको अवधि बढीमा तीन महिना मात्रै हुन सक्थ्यो । वा दिएको काम पूरा भएको दिनसम्म मात्रै त्यसको म्याद रहन्थ्यो । 

०४६ सालको आन्दोलनमा कांग्रेस र वाममोर्चा सहभागी थियो । राजा वीरेन्द्रको मनसाय आन्दोलनकारीसँग वार्ता गरेर शान्ति कायम गर्ने थियो । मलाई राजाको मौखिक आज्ञा भयो, ‘यिनीहरूलाई (आन्दोलनकारीलाई) भेट्न मान्छे पठाऊ । अनि दुईवटा कुरा भन । पहिलो कुरा, यिनीहरूलाई यो मुलुक चाहिएको हो कि होइन ? दोस्रो कुरा, मुलुकको सार्वभौमिकता र स्वतन्त्रता चाहिएको हो कि होइन ? यिनीहरूले चाहिएको हो भन्छन् भने म जे पनि गर्न तयार छु ।’ 

आन्दोलनकारीसँग कुरा गर्न राजाले बक्सेको जिम्मेवारीअनुसार मैले वार्ता प्रक्रिया अघि बढाएँ । ‘मुलुक स्वतन्त्र होस्’ र ‘सार्वभौम सत्ता चाहन्छौँ’ भनेर आन्दोलनकारीले भनेपछि राजासँग भेटघाट भयो । त्यसपछि कुरा मिलिहाल्यो । पहिलोपटक मुलुकमा मिलेको कुरा त्यही थियो । त्यसपछि मैले १६ दिनमै प्रधानमन्त्री पद छाडिदिएँ । 

राजा वीरेन्द्र र गणेशमानजी भेट हुँदा पुराना–पुराना कुरा गर्नुभएको सुन्थेँ । राजाको जोड मुलुकको सुरक्षा र सार्वभौमिकतामा थियो । गणेशमानजी बिरामी हुँदा म पनि अस्पतालमा भेट्न गएको थिएँ । राजा महेन्द्रलाई मैले एकपटक मात्रै दर्शन पाएँ । राजा वीरेन्द्रसँग धेरैपटक दर्शन भेट भयो । मान्छे वडाअध्यक्ष छाड्न मान्दैनन् । तर, राजा वीरेन्द्र यदि देश बाँच्छ भने आफूसँग भएका धेरै शक्ति छाड्न तयार हुनुभयो । मुलुकको सार्वभौमिकता कायम रहोस् भन्नुभयो । 

राजा ज्ञानेन्द्रको पालामा म प्रधानमन्त्री हुँदा माओवादीसँग वार्ता सुरु भइसकेको थियो । पछि कता–कता यो टुंगो लाग्दैन जस्तो लागेपछि मैले राजीनामा दिएँ । मेरो राजीनामापछि उहाँ पनि केही दिनमै फर्केर जानुभयो । राजा ज्ञानेन्द्रले मलाई दिनुभएको जिम्मेवारी सफल भएन । राजाले मलाई नै किन रोज्नुभयो, त्यो त मलाई थाहा छैन । सायद मेरो चर्को स्वभाव नभएको हुनाले पनि हुन सक्छ । अरू त म के भनूँ । राजसंस्थाले मप्रति गरेको भरोसा थियो या के थियो त्यो त अरूले भन्ने कुरा हो । 

०४६ सालको आन्दोलनपछि ‘हामीले खोसेर लियौँ’ भन्ने पनि निस्के । तर, त्यो होइन । वास्तवमा राजासँग भएको सहमतिकै आधारमा सबै भएको थियो । साहित्य छुट्यो म बाल्यकालदेखि नै कविता लेख्थेँ । भजन–कीर्तनको वातावरण थियो घरमा । त्यसले पनि साहित्यप्रति रुचि जगायो । सुदूर–पश्चिमका शब्द र उखान–टुक्का राखेर कथाहरू लेखेको छु । अंग्रेजीमा लेखिएको कविता संग्रह ‘स्पिरिङः एन अडिप्ट डिरेक्टर’ भर्खरै बाहिर ल्याएको छु । संग्रहमा सयवटा जति कविता छन् । कविताहरू अंग्रेजीमा आफैँले अनुवाद गरेँ ।  

साहित्य जुनसुकै वेला जबर्जस्ती लेखिँदैन । भावना आएका वेला जहाँ भए पनि लेखिन्छ । ‘१२औँ खेलाडी’ भन्ने मेरो एउटा किताब प्रज्ञा प्रतिष्ठानले ३२/३३ सालतिर छापेको हो । ३० सालपछिका मात्रै कविता छन् मसँग । पहिले–पहिले लेखेका कविता कहाँ हराए हराए । मैले साहित्यमा जति गरेँ, त्यो ठिकै छ । गर्व गर्ने कुरा पनि छैन, भएन भनेर चुकचुकाउने कुरा पनि छैन । जे छ, त्यसैमा खुसी छु । राजनीतिमा भएपछि मान्छेहरू त्यसै पनि पूर्वाग्रही भइहाल्छन् । ‘प्रधानमन्त्री भइसकेको मान्छेको के पढ्नु’ भन्छन् । म राजनीतिमा नलागेको भए मेरो साहित्यको प्रचार सायद बढी हुन्थ्यो । एक पाटोमा मान्छे सफल भएपछि अर्को पाटोको अलि चर्चा कम हुन्छ । यो स्वाभाविक हो । 

राजा वीरेन्द्रको आज्ञा भयो, ‘यिनीहरूलाई दुईवटा कुरा भन । पहिलो, यिनीहरूलाई यो मुलुक चाहिएको हो कि होइन ? दोस्रो, मुलुकको सार्वभौमिकता र स्वतन्त्रता चाहिएको हो कि होइन ? यदि चाहिएको हो भन्छन् भने म जे गर्न पनि तयार छु ।’

साहित्यकारको रूपमा मोदनाथ प्रश्रित निकै अगाडि बढिसक्नुभएको छ । तर, उहाँ मन्त्री हुनुभएको मानिसहरूलाई त्यति याद हुँदैन ।  लक्ष्मीप्रसाद देवकोटाजी मन्त्री भएको मानिसहरूलाई थाहै हुन्न । इतिहास पढेपछि मात्रै उहाँ मन्त्री हुनुभएको थाहा पाइन्छ । साहित्यको ठूलो ठाउँमा पुगेपछि अरू बिर्सिन्छन् । अहिले मेरो उपन्यास प्रेसमा गएको छ, डेढ महिनामा आउँछ । आत्मकथाको काम अहिले भइरहेको छ, यो वर्षको अन्तिमसम्ममा आउँछ । भर्खरै प्रकाशित कविता संग्रहको प्रतिक्रिया राम्रै पाइरहेको छु । समीक्षकहरूले राम्रै प्रतिक्रिया दिएका छन् । 

सुदूरपश्चिम र काठमाडौंको दूरी 
जयपृथ्वीबहादुर सिंह मानवतावादी व्यक्ति हुनुहुन्थ्यो । भीमदत्त पन्तजीमाथि शान्ति–सुरक्षाको समस्या भयो भनेर त्यहीँका मानिसहरूको उजुरीका आधारमा केही कारबाही भयो होला । तर, उहाँको नामबाट मेरो पालामा धनगढी–डडेल्धुरा सडकमार्गलाई भीमदत्त पन्त नामकरण गरिएको छ । जयपृथ्वीबहादुर सिंह, डा.केआइसिंह, र दशरथ चन्दको नामबाट सडकको नामकरण गरिएको छ । यसबाट ऐतिहासिक रूपमा विभेद भएको देखिएको छैन ।

हामी तीनजना (डा. केआई सिंह, शेरबहादुर देउवा, लोकन्द्रबहादुर चन्द) सुदूरपश्चिमबाटै प्रधानमन्त्री भएका छौँ । हामीले मुलुक एक ठाउँमा कसरी बस्छ भन्नेबारे सोच्नुपर्छ । काठमाडौंबाट सुदूरपश्चिम अब टाढा छैन । अहिले उताका विद्यार्थी जम्मै पढ्न यहाँ आउँछन् । पहिलो मेरो घरबाट यहाँ आउँनलाई आठ दिन लाग्थ्यो । भारतीय भूमिमा रेल चढ्दै, मोटर चढ्दै आउनुपथ्र्यो । केही दिन पैदल पनि हिँड्नुपथ्र्यो । अहिले बिहान चढेर 
बेलुकी आइपुगिन्छ । 

कहाँ हुँदै छ षड्यन्त्र ? 
ठूलो षड्यन्त्र हुँदै छ भनेर मुलुकका निकै ठुल्ठूला मान्छेबाट कुरा आयो । मलाई लाग्छ यदि त्यस्तो हुँदै छ भने यस्तो किसिमले षड्यन्त्र हुँदै छ भनेर जनतालाई जानकारी हुनुपर्छ । दुईतिहाइको सरकार छ । सरकारमा गएर कति काम गर्न सकिन्छ, कति गर्न सकिन्न भन्ने कुरा म बुझ्छु । तर, आज जनता खुुसी छैनन् । 

राजनीतिमा जनताको ध्यान अन्यत्र मोड्ने एउटा टेक्निक हुन्छ । ती बेखुसी जनताको ध्यान मोड्न षड्यन्त्र भइरहेको छ भनेर हल्ला गरेको हो कि जस्तो लाग्छ । विदेशीले चलखेल गर्न थाल्यो, व्यवस्था नै खतम हुने खतरामा छ भनेपछि मान्छेको ध्यान मोडिन्छ । त्यसपछि आफ्नो कमजोरी लुक्छ । अहिले चलिरहेको हल्ला त्यही हो कि ! 

राजसंस्था मान्ने मान्छे अझै पनि छन् । मुखर रूपमा बाहिर आउन सकेको छैन । स्थायित्वका लागि एउटा निष्पक्ष संस्था चाहिन्छ । तर, उनीहरूले यो संविधान नै फेर्न खोजेको हो भन्ने मलाई लाग्दैन । यही संविधानअन्तर्गत उनीहरूको माग पूरा हुन सक्छ । यो संविधानमा संशोधन होस् भन्नु के अपराध हो ? तराईका दलहरू संविधानअन्तर्गत बसेर नै संशोधन होस् भनिरहेका छन् । त्यसैले राजा या धर्मका मान्छेहरूले पनि हामी आतंकै मच्चाउँछौँ भनिरहेका छैनन् । 

संविधानको संशोधन वेलावेला हुन सक्छ । संशोधन होस् भनेर माग गर्नु कुनै अपराध र षड्यन्त्र हो जस्तो मलाई लाग्दैन । हाम्रा ठुल्ठूला नेताहरू तर्सेका हुन् कि, हच्केका हुन् ? विनाप्रमाण त्यसरी भन्नुपर्ने आवश्यक थियो कि थिएन म भन्न सक्दिनँ । ठुल्ठूला बुद्धिजीवीहरू पहिले एउटा राजा थियो, अहिले सात–आठवटा राजा भए भनिरहेका छन् ।

बुद्धिजीवीहरू नै कुनै न कुनै रूपमा राजसंस्था जस्तो एउटा निष्पक्ष संस्था हुनुप-यो भनिरहेका छन् । दलहरू चाहन्छन् भने राजसंस्थाले स्पेस पाउन सक्छ । राजावादीहरूको यही माग छ भनेको पनि होइन । तर, मेरो आफ्नो विचारमा यही संविधानमा कुनै न कुनै स्थान निस्कन सक्छ भन्ने लाग्छ ।

राजनीतिज्ञप्रति जनताको विश्वसनीयता टुटेको छ । पहिले धेरै कदर र विश्वास गर्थे । अहिले त्यस्तो छैन । आमजनता राजनीतिक नेतालाई विश्वास गर्दैनन् । त्यसका विभिन्न कारण छन् । विश्सनीयता नभएपछि सरकारले जति असल काम गरे पनि मान्छेहरूले विश्वास नै गर्दैनन् । पहिलो कुरा राजनीतिज्ञको विश्वसनीयता कायम गर्नुपर्छ । अनि काम गर्नुपर्छ । 

कुराकानी : राजु स्याङ्तान