• वि.सं २०७६ असोज ५ आइतबार
  • Sunday, 22 September, 2019

के राम पत्नीपरायण थिएनन् ?

२०७६ भदौ २१ शनिबार ०८:४५:०० | काठमाडाैं

किशोरकालमा मर्यादा र अनुशासनको पाठ सिकाउँदा मेरी आमा सीता र रामको सम्बन्धलाई कथा हालेर सुनाउनुहुन्थ्यो । १२ वर्षसम्म रामसँग वनवास बसेकी गर्भिणी सीताको चरित्रमाथि लोकले गरेको टिप्पणी सुनेर रामले उनलाई त्यागेको कथा सुन्दा आङ जिरिंग हुन्थ्यो । कथालाई आमा यसरी टुंगोमा पु-याउनुहुन्थ्यो– धोबीको कुरा सुनेर रामले गर्भवती सीता त्यागिदिए । अनि आमाको गला अवरुद्ध हुन्थ्यो र मेरो बाल मस्तिष्कमा कहाली लाग्थ्यो ।

म असिनपसिन हुन्थेँ । मेरो मस्तिष्कमा रामको बिम्ब एकाएक निर्दयी दानवका रूपमा उपस्थित हुन्थ्यो । अहिले वाल्मीकि रामायणको मूलग्रन्थ पढिरहेकी छु । राम र सीताको अमर प्रेमकथा प्रस्तुत गर्ने हाम्रो तरिका गलत थियो भन्ने निष्कर्षमा म अहिले पुगेकी छु । आफ्ना सहस्र प्रतिकूलताका बाबजुद मर्यादाप्रति राम कति संवेदनशील थिए र सीताको प्रेममा कति समर्पित थिए भन्ने वाल्मीकि रामायणको अध्ययनले प्रस्ट पार्छ । 

अयोध्याका राजा दशरथका जेठा छोरा थिए राम । यसकारण अयोध्या राज्य स्वतः उनैको हातमा आउँथ्यो । सबैतिर हारेको पात्रका रूपमा चिनिएका राम कसैले उठाउनै नसकेको शिवधनु (पिनाक) भाँच्ने पराक्रमी व्यक्ति हुन् । पराक्रमी र आज्ञाकारी दुवै गुण एउटै व्यक्ति राममा थियो । चाहन्थे भने उनी पराक्रम गरेर सत्ता हडप्न सक्थे । तर, आफ्नी कान्छी आमा कैकेयीसँग बाबु दशरथले वचन हारेपछि बाबुको प्रतिज्ञा पूरा गरिदिन उनी १२ वर्ष वनवास जान्छन् । पराक्रमको शक्तिलाई आज्ञाकारिताको विवेकले नियन्त्रण गरेका थिए उनले । 

कान्छी आमाको प्रेममा परेर बाबुले भाइको हातमा सत्ता सुम्पिन लागेका थिए । यो सरासर गलत थियो । स्वयं भाइ भरत र सारा अयोध्यावासी उनको पक्षमा थिए । तर, उनले यसो गरेनन् । किनकि ज्ञानी राम आफू सत्तामा बस्ने कुराले अयोध्यामा किचलो नहोस् र जनतामा नैराश्य नआओस् भन्ने चाहन्थे । बरु उनी भाइ लक्ष्मणलाई साथमा लिएर वनवास गए । 

सीता जनकपुरका राजा जनककी राजकुमारी थिइन् । उनको विवाह अयोध्याका राजकुमार रामसँग भएको थियो । तर, रामकी सौतेनी आमाको जाल र घर–झगडाले उनी रामकै साथमा १२ वर्ष वनवासमा बस्छिन् । त्यहीबीच रावणबाट सीताको अपहरण हुन्छ । र, राजपरिवारको सुखसयल त्यागेकी सीताको जीवनका दिव्य १२ वर्ष जंगलमै बित्छन् । 

रामायणका भित्री कथा एकै भए पनि बाहिरका व्याख्या फरक पाइन्छन् । वाल्मीकि रामायण, आनन्द रामायण, अद्भुत रामायण, अध्यात्म रामायण, कम्ब रामायण, तमिल रामायण र भानुभक्तीय रामायणका कथालाई आधार बनाउँदा सीता र राम पूज्य हुनुको कारण एउटै देखिन्छन् । राजा जनक र माता सुनयनाकी जेठी छोरी थिइन्– सीता ।

आध्यात्मिक तथा ज्ञानी राजा जनककी शिष्य मात्र होइन, सीता सुन्दरी र बुद्धिमती, युद्धकौशल भएकी योद्धा पनि थिइन् । पूजाकोठामा राखिएको, शूरवीरले पनि उचाल्न नसक्ने शिवधनु सीताले उचालेर अन्त सारेको घटनापछि जनकले उनको युद्धकौशल र शक्तिबारे जानेका थिए । जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका थिए ।

शिवधनु (पिनाक) राजा दशरथका छोरा रामले उचालेनन् मात्र, ताँदो चढाएर भाँची नै दिए । र, उनै रामसँग धुमधामसाथ सीताको विवाह भयो (बालकाण्ड, त्रिसप्ततितमः सर्ग पेज २०९ )। त्यही दिन मंसिर महिनामा पर्ने विवाह पञ्चमी आज पनि उसैगरी अयोध्याबाट जन्ती ल्याएर जनकपुरमा मनाउने चलन छ । त्यस दिन नेपाल भारत र विश्वभरका हिन्दू सभ्यताका भक्तालुहरूको घुइँचो हुन्छ । धैर्य, संयम र विवेककी प्रतिमूर्ति सहनशीला सीताको त्याग, परिश्रम र सच्चरित्रताकै कारण उनलाई भगवतीका रूपमा पुजिन्छ ।

माण्डवी, उर्मिला र श्रुतकीर्ति सीताका बहिनी थिए । उनीहरूको विवाह पनि क्रमशः रामका भाइ भरत, लक्ष्मण र शत्रुघ्नसँग भएको थियो । तर, उनीहरूको कहीँ यसरी चर्चा छैन । राम र सीता भने आदर्श चरित्रका कारण पूज्य पात्र बने । किन ? त्यसका लागि उनीहरूको जीवनलाई नजिकबाट हेर्नुपर्छ । सीता र रामको विवाह त भयो, तर सौतेनी आमा कैकेयीसँग आफ्नो छोरो भरतलाई राज्य दिने पहिल्यै गरेको बाबु दशरथको वाचाका कारण राम वनवास निस्कन्छन् ।

सीता र रामबीचको प्रेम यति गाढा हुन्छ कि उनीहरू छुट्टिन सकेनन् । सीता पनि साथैमा वनवास जान्छिन् । उनीहरू वनवास रहँदाको अवस्थामाथि अहिले टेलिभिजनका पर्दामा देखाइएका दृश्य हेरेर लगाइएको अनुमानले सही चित्रण गर्न सकिँदैन । घनघोर जंगल, बाघ–भालु र फिरिङ्गीहरूको आक्रमणबाट बचेर रहनु नै सबैभन्दा कठिन थियो । राजा भएर रहनुपर्ने राम बाबुको प्रतिज्ञा टुट्न नदिन स्वधर्म पालना गर्दै जङ्गलमा कन्दमूल खाएर १२ वर्ष गुजारा गर्नु सानो त्यागले सकिने कुरा थिएन । 

जङ्गलवासमा रहेका कर्तव्यपरायण रामलाई समयले फेरि अर्को कठिन मोडमा खडा गरिदिन्छ । जङ्गल सिकार गर्न गएका वेला लङ्काका राजा रावण जोगीको भेषमा आएर सीताको अपहरण गर्छन् (अरण्यकाण्ड, षट्पच्ञाशः सर्गःपे ६८८) । तिनै सीतालाई हेरेर जङ्गलमा सहज जीवन जिइरहेका राम भावविह्वल हुन्छन् । सीताको अपहरण रावणले गरेको कुरा जटायुबाट उनी थाहा पाउँछन् । 

त्यसवेलाका धनी देशमध्येको एक थियो– श्रीलङ्का । सिङ्गै देश सुनैसुनले बनेको अनि शिवको भक्त, समुद्रको बीचमा भएर कसैले आक्रमण गर्न नसक्ने भएको हुँदा साह्रै शक्तिशाली थिए रावण । शिवभक्त शक्तिशाली राजा रावणबाट वनवास गएका निःशस्त्र दुई भाइले सीतालाई फर्काएर ल्याउने कुरा कल्पनाबाहिरको थियो । तर, सीतालाई कुनै हालतमा फर्काउने पक्षमा हुन्छन् राम । सीतालाई यदि प्रेम गर्दैनथे भने राम यति ठूलो परिश्रम नै गर्दैनथे । 

अहिलेका विश्लेषकहरू रामले अहंकारका कारण रावणबाट सीतालाई फिर्ता ल्याएका थिए भन्ने तर्क दिएको पाइन्छ । अयोध्याबाट श्रीलङ्काको दूरी अहिले गाडीबाट यात्रा गर्दा पनि तीन हजार एक सय ४७ किलोमिटर (गुगलको तथ्याङ्क) छ । हिँडेर जाने हो भने झन्डै तीन महिना लाग्ने रहेछ । त्यो देश कति टाढा र कति नजिक छ भनेर जान्न अहिलेजस्तो नाप्ने साधन पनि थिएन । अनि समुद्र तर्ने लाइफ ज्याकेट पनि थिएन । न त आज जस्तो गाडी र बाटा नै थिए । जङ्गलै–जङ्गलबीचबाट जङ्गली जनावरलाई छल्दै, अस्त्रविहीन दुई दाजुभाइले सीता फिर्ता ल्याउने कुरालाई अहंकारभन्दा धेरै समर्पण भन्न सकिन्छ । सीताप्रति राम समर्पित नभएका भए यो सम्भव थिएन । 

निःशस्त्र, निर्बल अवस्थामा महिनौँ लगाएर सीताको खोजमा राम अहिलेको दक्षिण भारत त्रिकूटगिरि पुग्छन् । राम यति प्रिय र सहयोगी हुन्छन्, उनले केही दिन त्यहाँ बस्दा त्यहाँका सबै तमिलहरूलाई आफ्नो बनाउँछन् । अनि तमिललाई उनकै पक्षमा लड्ने बनाउँछन् । समुद्रको किनारमा बसेर हनुमान, जाम्बवान, अंगद, सुग्रिभ नामका तमिललाई साथी बनाई तिनैलाई सेना बनाएर सीता फर्काउने योजना बुन्छन् (सुन्दरकाण्ड, प्रथमः सर्गः११–१२ पे.) । त्यति लामो बाटो, समुद्रमा पुल नै बनाई, सुनको देश लङ्का जलाएर सीतालाई सकुशल त्याउने तागत प्रेमीमा बाहेक अरूसँग हुन सक्छ ? 

राम राजा थिए । उनले चाहेका भए त्यसवेला अरू दर्जन श्रीमती ल्याउन सक्थे । तर, कर्तव्यपरायण राम वनवास रहँदा जनताप्रतिको जिम्मेवारी शून्य थियो र सीताको प्रेममा चुर्लुम्म थिए । रामले अयोध्यादेखि श्रीलङ्कासम्मको हजारौँहजार किलोमिटरको दूरी हिँडेर समुद्र किनारामा बस्ने तमिलहरूलाई आफ्नो बनाए । झुक्किनुहुँदैन, हनुमान र उनका सेना तिनै दक्षिण भारतका तमिलहरू थिए । तिनै सेनालाई लिएर लङ्का जलाएर सीतालाई लिएर फर्कनु सीताको प्रेमबाहेक अरू केही थिएन । उनी सीतालाई कति प्रेम गर्थे भन्ने कुरा वाल्मीकि रामायणको आरण्यकाण्डमा लामो व्याख्या गरिएको छ(आरण्यकाण्ड, सप्तपच्ञाश सर्गदेखि चतुःगाष्टितम सर्गसम्म यसैको व्याख्या गरिएको छ) ।

रामको आक्रमणबाट रावण, कुम्भकर्ण र मेघनाद सबै मारिन्छन् । अत्याचारी रावण मरेपछि सन्त विभीषणलाई लङ्काको राजा बनाएर सीतालाई लिएर राम फर्कन्छन् । यता मात्र होइन, उता लङ्कामा पनि रामको जयजयकार हुन्छ । अयोध्या फर्केपछि रामले दुनियाँको मुख थुन्न सीताको अग्निपरीक्षा लिन्छन् (युद्धकाण्ड ११५ सर्गः,६१९–६२०) । परीक्षामा पास भएका भनेर सीता चोखो रहेकी बनाएर उनीसँगै सुखभोग गर्छन् । सीता गर्भवती हुन्छिन् । 

राजाका लागि रानी गर्भवती हुनु साँच्चै उल्लासको कुरा हुन्छ । त्यहाँ पनि त्यस्तै हुन्छ । अयोध्याको नेतृत्व सम्हालेपछि रामले राज्यमा जस्तो अवस्थामा पनि जनताले कुनै प्रश्न गर्ने ठाउँ राखेका थिएनन् । उनले आफूलाई प्रजाको निर्णायकत्वमा चल्ने राजा बनाएका थिए । प्रजाहरूलाई आफ्नै सन्तानतुल्य पालन गरिरहेका थिए । आज पनि हाम्रो समाजमा सुखमा चलेको परिवार र समाजलाई रामराज्यको विशेषण दिइन्छ । 

राम प्रजाको कुरा सुनेर देशका हरेक निर्णय लिन्थे । ती निर्णय आफ्नो र सत्ताका लागि थिएनन् । प्रजाले भनेका कुरा मात्र होइन, प्रजाले राजासँग चाहेर पनि माग्न नसकेका माग छन् कि भनेर अनुसन्धान गराउँथे । त्यही सिलसिलामा एकदिन रामले गाउँमा प्रजा के भन्छन् भनेर बुझ्न राति जासुस पठाए । जासुसले एक धोबीले सीताको चरित्रमाथि प्रश्न गर्दै रामको राजकीय सामथ्र्यमाथि प्रश्न उठाएको खबर ल्याउँछ ।

एकजना धोबीले आफ्नी श्रीमतीलाई म रामजस्तो अर्काले लगेको स्वास्नी राख्नेजस्तो ठानिस् भनेर गाली गरिरहेको हुन्छ । जासुसले यी सबै कुरा रामलाई लगेर सुनाउँछ । अनि जनताको त्यो असन्तुष्टिको खाडल पुर्न रामले सीतालाई फेरि वनवास पठाउँछन् (उत्तरकाण्ड,४५सर्गः,७९७–७९८) । राज्यका प्रजाको मतसामु रामको जवाफदेहिताले सीतालाई वनवास पाठाइएको थियो, रामले सीतालाई प्रेम नगरेर होइन । उनले आफ्नो निजी सुखको पाटोलाई प्रजासामु समर्पण गरेको यसबाट देखिन्छ । सीताप्रति त्यति धेरै प्रेम र समर्पण गरेका राम प्रजाप्रति पनि उत्तिकै संवेदनशील देखिन्छन् । 

अचेल मूल ग्रन्थलाई वास्ता नगरी टेलिसिरियलका आधारमा कथामाथि विश्लेषण गर्ने चलन बढेको छ । यसै परिपाटीले रामको चरित्रमाथि स्त्रीपीडकको दाग लगाइएको पाइन्छ । तर, हिमवत्खण्ड ग्रन्थमा गरिएको वर्णनले पनि राम अनुकरणीय आदर्श पात्र देखिन्छन् ।

आज कोही त्यस्तो शासक पाइन्छ, जो जनताको टिप्पणीसामु आफ्नी पे्रमिका र पत्नी त्याग्न सकोस् ? आज त्यस्तो नागरिक समाज पाइन्छ, तथ्यमा आधारित टिप्पणी गरोस् ? सीताको चरित्रमाथि प्रश्न त समाजले उठाएको हो, आरोप असत्य भए जनताको असत्य आरोपको सिकार सीता हुन पुगेकी हुन् ।

गर्भवती सीतालाई महर्षि वाल्मीकिको आश्रय प्राप्त हुन्छ । यहीँ उनले दुई छोरा कुश र लवलाई जन्म दिन्छिन् र वाल्मीकिको आश्रममै तिनीहरू हुर्कन्छन् । रामले अश्वमेघ यज्ञ गर्दा घोडा समाउने बालक यिनै हुन्छन् । सीताले छोड्न आदेश दिएपछि मात्र छोडिदिन्छन् । दरबारमा यी बालकले रामायण सुनाउँदा राम भावविह्वल हुन्छन् । आफ्नो छोरा भएको थाहा पाएपछि राम सीताको खोजीमा निस्कन्छन् । राम वाल्मीकि आश्रममा पुग्छन् र अयोध्यामा पहिलेको जस्तो अवस्था नभएको भन्दै सीतालाई अयोध्या फर्कन आग्रह गर्छन् ।

वाल्मीकि आश्रममा सीतालाई लिन पठाउँदा उनी आउन मान्दिनन् । बरु उनले त्यहीँ देह त्यागदिन्छिन् । तर, राम कहिल्यै अरूसँग विवाह गर्दैनन्, तिनै छोरा लिएर बाँकी समय बिताउँछन् (उत्तरकाण्ड, ६६ सर्गः, ९४ सर्गः–८४१,–८९२, ९९सर्गः–९०२–९०३) । रामको यस्तो आदर्श चरित्र र सीतालाई गरेको प्रेम आजको समाजमा पाइँदैन, बरु रामलाई निकृष्ट रूपमा प्रस्तुत गर्ने होड चल्छ ।

राम यति ज्ञानी थिए– उनले रावणका दश गुणमध्ये एउटा गुणलाई आफूले नष्ट गरेकामा पछुतो मानेका छन् । उनले भनेका छन्– मैले रावणका दश टाउकामध्ये उसको घमन्ड, लोभ, स्त्रीलम्पट, दुराचारजस्ता अन्य ९ टाउका काटेँ, तर उसको ज्ञानको टाउको काटेर गलत काम गरेँ । त्यो काम गलत भयो भनेर रामले क्षमाका लागि एक वर्ष एकान्तवासमा तपस्या नै गरे । अनि बाँकी समय भएको सम्पत्तिले यज्ञ मात्र गरेर आफ्नो कर्मको प्रायश्चित गर्दै समय बिताए । अन्त्यमा एकदिन पानीमा आसन बाँधेर रामले देह त्याग गर्छन् (उत्तरकाण्ड, सप्तधिकशततमः सर्गःदेखि दशाधिकशततम सर्गः) ।

रामायण यति मिहिनेतले लेखिएको छ कि यसको हरेक हजार श्लोकको पहिलो अक्षरबाट गायत्री मन्त्र बन्छ । गायत्री मन्त्रमा २४ अक्षर छन् भने वाल्मीकि रामायणमा २४ हजारै श्लोक छन् । त्यसैले उनले यसरी खिपेर राखेका तथ्यलाई बांगो नपारी बुझ्न जरुरी छ । अचेल मूल ग्रन्थलाई वास्ता नगरी टेलिसिरियलका आधारमा कथामाथि विश्लेषण गर्ने चलन बढेको छ । यसै परिपाटीले रामको चरित्रमाथि स्त्रीपीडकको दाग लगाइएको पाइन्छ । तर, हिमवत्खण्ड ग्रन्थमा गरिएको वर्णनले पनि राम अनुकरणीय आदर्श पात्र देखिन्छन् । 

रामको पत्नीव्रताको प्रभाव हिमवत्खण्डमा आज मात्र होइन, हिजै पनि थियो र छ । त्यसको एउटा उदाहरणका रूपमा चन्द्रशमशेरका प्रशंसक आचार्य दीक्षितहरूले राणाको प्रशंसा गर्दै आफ्नो वंशावलीमा लेखेका छन् । वंशावलीमा चन्द्रशमशेरलाई सम्बोधन गर्दै ‘तपाईं एक पत्नीव्रता जसले रामचन्द्र (राम)लाई पनि लज्जित पारिबक्सेको छ’ भनी लेखिएको छ (आचार्य वंशावली) । तर, चन्द्रशमशेरका विवाहिता पत्नी (मोहनशमशेरहरूकी आमा) जीवित छँदै उनकी अविवाहित पत्नीका तर्फबाट बद्रीशमशेरको जन्म भइसकेको थियो ।

जेठी महारानीको देहान्तपछि उनले दोस्रो विवाह नै गरी तिनका तर्फबाट सन्तान पनि भइसकेको थियो । तीनवटी श्रीमती भएको मान्छेलाई पनि एकल भएको देखाउँदै कसरी उनीहरू रामसँग दाँजिन र दजाँएर आदर्श बन्न खोज्थे भन्ने कुरा देखाउँछ । आज हामी बाँचेको समाजमा सम्बन्धको आधार द्रव्य, सुविधाभोग र बिलासिता बनेको छ । त्यसैले गुपचुपमा बनेका सम्बन्धहरू समाजमा भुइँचालो ल्याउने हो–हल्लामा पुगेर टुंगिन्छन् । राम र सीताको जस्तो आदर्श पात्रता अहिलेको सामाजिक जीवनमा पाउन सकिँदैन । 

 

प्रतिकृया दिनुहोस