• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
युवराज नयाँघरे काठमाडाैं
२०७६ भदौ २१ शनिबार ०८:५७:००
इतिहास

बुराउँसेका ‘द्रौपदी’

२०७६ भदौ २१ शनिबार ०८:५७:००
युवराज नयाँघरे काठमाडाैं

ओहो, एक मान्छे हिउँ परेछ !
कत्ति धेरै हिउँ ! कत्ति सुकिला हिउँका थुप्रा ! कत्ति उरुङखात हिउँका रासैरास ! कत्ति सुहाएको हिउँको छरछार !
गजबको हिउँचुली अग्लिएर बादलै हुने भएछ ।

३ असारको एकाबिहानै ।
लाग्ना लेकबाट फर्केपछि सम्साँझै सुतेको थिएँ म । औधी थाकेर होला– जता ढल्केको थिएँ, उतै बिउँझेछु । फेरि निकै जाडो लागेथ्यो सिमिकोटमा ।

बिहान चारै बजे उठेर बाहिर हेर्दा देखियो– कोन्चोलुम्बा हिमालमा एक मान्छे हिउँ ।
सिमिकोटका चारै कुनामा हिमालै हिमाल छन् । अझ पश्चिम–दक्षिणपट्टिको यांगर हिमाल आज हुनसम्म अग्लिएछ रातभरिको धुम्म, हावा र बादलको चेपचापले ।
हिसे लामाले तातो कफी खुवाए । उनकै पिँढीमा बास बसेथेँ म ।

सात बज्न लाग्दालाग्दै आइपुगे– कोन्ज्योक । मभन्दा उनी नै हतारिए बढ्ता । 
‘बुराउँसे पुगौँ ।’
भाइ उत्तम भट्टराईले मलाई सूचना गरेथे– ‘सिमिकोटमा कोन्ज्योक लामाले तपाईंलाई भेट्नेछन् । बहुपति प्रथाबारे केही न केही बुझेर फर्कनुहोला । तिनको सहयोग मिल्नेछ तपाईंलाई ।’
यति संकेत नै मेरा लागि ब्रह्माण्ड भएथ्यो ।

जिब्रो खुइल्याउँदै त्यसपछि हामी लाग्यौँ माथ्लो गाउँ । गाउँ राम्रोसँग बिउँझिइसकेको थिएन । धुम्मिएको थियो बादल ।
खच्चड र घोडा खेद्नेहरू घाँडा र बाखर कस्दै थिए । हल न चल भएका खच्चडका ढाडमा दिनभरि बोकिने भारी चढिँदै थियो । अब तिनको ढाडमा बोकिएर जान तयार 
भइरहेथ्यो समय ।

‘एक घन्टामा पुगिन्छ बुराउँसे !’ कोन्ज्योकले माथ्लो गाउँ कटेर पूर्व–उत्तर बेगिएको ठूलो बाटोमा पुगेपछि भने ।
सिमिकोट डाँडा ताकेर गएको बाटो लम्किँदै छौँ हामी । उत्तर पसारिएको बाटोको पूर्व मानसरोवर विद्यालय टुप्लुकियो । त्यसमा केटाकेटी हस्याङफस्याङ गर्दै आइरहेथे ।
कान ठुङिरहेथ्यो चिसोले । आँखामा आँसु टिलपिल हुँदै थियो । गाला डामिरहेथ्यो हावा लागेर । 

घोडा र खच्चड घन्टी बजाउँदै सिमिकोट जाने र आउने हुल बढ्तै थियो । बाटोमा ट्र्याक्टर नि हुइँकिन्थे ।
‘यी हेलिमा बोकिएर झरेका हुन् सिमिकोट !’

‘अनि बोकेको कुकुरले मृग मार्छ त ?’
‘मार्दा रै’छन् । मान्छेसमेत मारिसके ।’
कोन्ज्योक बोल्दा ट्र्याक्टर रकेट भएर निकै पर पुगिसकेथ्यो । पाँच सात केटाकेटी पछाडि झुम्मिएथे । धुलो उडेर वरपरका हिमाल ढाकिए छपक्कै ।

०००

पूर्वतिर सेल्मु काङ मुस्कुराइरहेथ्यो । दक्षिणतिर मार्गो लेकमा नि हिउँ फुसफुसाएको देखिन्थ्यो । पश्चिम र दक्षिणतिर पसारिएको थियो तब्लिङ लेक । 
६ हजार माथिका हिमाल नेपालमा मनग्गे छन् । तिनको नामै छैनन् । मैले वरिपरिका अरू हिमालबारे चासो राख्दा यस्तै छनक पाएँ कोन्ज्योकबाट ।
बुराउँसेलाई बाघाचाल्ना डाँडाले छेकेको थियो । 

तोर्पा, लिमाटाङ, वरगाउँ, दोजामका धेरै परिवार बहुपतिद्वारा जीवन धानिएका गाउँ रहेछन् । यी गाउँ निकै पर भएकाले म सिमिकोट नजिकैको बुराउँसे गाउँ गइरहेको थिएँ ।
बाटो घुमी–घुमी उत्तर भएर पूर्वतिर हानिएथ्यो । गरैगरा थिए बाटा दक्षिण । भिराला र टेके सुलुलु तलै पुगिने गरामा चिनु जताततै उम्रेको देखिन्थ्यो ।
‘यो चामलजस्तै सानो दानाको अन्न हो, असोजमा पाक्छ !’ लामा बोल्दै छन् ।

हुमने खोलावरपर फापर, चिनु, कोदो, कागुनु र सिमी रोपेका गरा देखिए । कतै–कतै केराउ, जौ, गहुँ पनि लहलहाएको देखिन्थ्यो । 

हिमालपारि जतिखेरै काट्ठिने सिरेटो, कक्र्याउने ठिही र सुक्खा हावा चलेर पानी नै जम्ने माटोमा फलोस् पो के र !
बुराउँसेको मृत्यु संस्कार हुमने खोलामै गरिँदो रहेछ । खोला नाघेर हामी पूर्व लाग्यौँ । दक्षिणतिरका हिउँचुली झन् उज्याला, अग्ला र झर्झराउँदा देखिए । म रोकिई–रोकिई हेरिरहेको छु चारैतिरका हिमाल ।

गुरु पद्म सम्भवले रलिङ हिमालनिर गुम्बा बनाउन थाल्दा जमिन चर्किएछ । उनले ध्यान लगाई हेर्दा त्यहाँ अपसगुन भएको पत्तो लाएछन् । अनि अलिक पर बनाएछन् गुम्बा । रलिङ गुम्बासँगैका चहकिला हिमाल खुबै देखिए ।

‘गर्मी पो भयो !’
मैले गलबन्दी खोलेर कम्मरमा बाँधेँ । अनि पुछेँ चिटचिटे पसिना ।
‘बाटोले माया गरेछ !’, कोन्ज्योकले ठट्टा गरे ।
तेर्पे र हलुका उकालो बाटो नापिरहेका छौँ । बिहानै भए पनि बाटाभरि बुराउँसे गाउँबाट सिमिकोट जाने, भारी बोक्नेहरूको ताँती छ । 
तल हिल्दुङ गाउँ देखिन्थ्यो । उवा र गहुँ लहलाएका गराले हिल्दुङ गाउँ निकै रमाइलो देखियो । नाल्ला गाउँ पनि टुप्लुकियो ।

कोन्ज्योकका आफन्तीहरू बाक्लै भेटिन्छन् बाटोभरि । बहुपतिबारे बढी बुझ्न आफन्तीहरूबाट नै सकिने भएकाले चिनारु गाउँमा गइरहेथ्यौँ हामी ।
एक घन्टा लाग्यो गाउँ पस्न ।
बुराउँसे पस्ने वलामा एउटा जस्तापाता र काठे आग्लो ठोकिएको बार थियो । बिहान चार बजे खोलिने र बेलुकी नौ बजेपछि बन्द हुने सूचना टाँसिएथ्यो ढोकामा ।
‘जोवा र झुमा पाल्नेले बदमासी नगरून् भनेर होला !’ कोन्ज्योकले कुरा खोले ।

छुप्चा कट्यो । माथ्लो बाटो भएर गाउँ छि¥यौँ हामी । भरे फर्किंदा तल्लो बाटो आउने सल्लाह भयो ।
‘त्यसो गर्दा गाउँ पूरै घुमिन्छ !’ कोन्ज्योकले भने ।
 म त यो र त्यो भन्ने हालतमा थिइनँ । ‘जे जे बराजु सोही सोही नाति’ थिएँ म ।

बस्ती पस्दा मैले सोधेँ– ‘कति छन् घर धुरी ?’
‘७५ घर लामाका । ५ घर होलान् दलितका,’ औँला भाँचे लामाले ।
झुमा आँगनमा बाँधिरहेका देखिए । माथि दलानभरि देखिन्थे खलो चुट्नेहरू । छुर्पी बनाउनेहरू घिउ मथिरहेका भेटिन्थे ।

लुङतर हल्लिरहेथे हरेक घर–आँगनमा ।
असोजमा रोपेर साउनमा पाक्दो रहेछ उवा र गहुँ । झन्डै वर्ष दिनमा पाक्छ यताको अन्नबाली । त्यही वेलामा पानी नपरे खर्चेको पसिनाको हबिगत के होला ?
मनमनै चिथोरिएँ म ।

लामाहरूको आफ्नै चलन छ बिहे बटुलोको । मामाकी छोरी रोजी–रोजी, फुपूकी छोरी खोजी–खोजी बिहे गर्ने परम्परा रहेछ उनीहरूको । सकेसम्म कुटुम्ब परको नभएर गाउँमै गर्ने नियम यता नि रहेछ ।

बुराउँसे वरपर चार गाउँ रहेछन् । सबै लामा र दलितको बसोवास रहेछ त्यहाँ । बिहेबारी यिनै चार गाउँभित्र गर्ने बसेको रहेछ थिति ।
‘उँभो जाऊँ पैसा छैन, उँधो जाऊँ पैसा छैन, हेली के गरी चढुम् ?’ रलिङ गुम्बाबाट फिरेकी पाना बूढासँग भेट भो बाटैमा ।
फिर्को घुमाएर ऊन काट्तै आइथिइन्– प्यारु बूढा । दुवै रलिङ गुम्बाबाट फर्केका रहेछन् ।

सेँडासम्म पुग्दा पाखी बुन्ने धागो बन्ला कि तिनको !
चाइनिज पैसाको माला मैले देखाएर सुहाएको भनेँ । प्यारुले भनिन्– ‘कैथो निको ठट्टा गर्दो !’ 
उनीहरू बिदा भए ।

‘अब हरेक घर नपसी हुँदैन । निस्केपछि मात लागिहाल्छ,’ कोन्ज्योकको चिन्ता छ ।
बुराउँसे पसेपछि मैले गाउँ हेरेँ सरर्र । ठूला–फराकिला काठ, ढुंगा र माटोले बनेका घर छन् । अगाडिपट्टि घाम ताप्न, खलो चुट्न र अझ सुकाउन मिल्ने खुल्ला दलान छ ।
अघिल्तिर एक खम्बे लिस्नो छ । हरेक घरमा लुङतर छन्– फिर्फिराइरहेका ।

छाम जोत लामाको घरमा पस्यौँ ।
काठे भ¥याङ चढेर भित्र–भित्र हुँदै भान्सामै पु-याए कोन्ज्योकले । ओहो, कति तातो कोठा !
त्यत्तिकै छ धुँवाको उकुसमुकुस । वरिपरि झर्केका थाल, कचौरा, गिलास । चाइनिज चुलो । तिब्बती गलैँचाको झिलिमिली । रंगीचंगी थर्मस र अनेक बोतलहरू । काठे ¥याकभरि थाल, बटुका, अम्खोरा र काँटा–चम्चा भरिभराउ थिए ।

बस्न नपाई सत्कार पाइयो ।
कचौराका तीन ठाउँमा घिउ दलेर जाँड आयो । छाम जोतकी पत्नीले कपालमा तीन ठाउँमा घिउ दलिदिइन् । ठूली आमा थिइन्– कोन्ज्योककी । उनको आशीर्वाद पाइयो ।
बहुपति संसार हेर्न घर–घर पसेको छु ।

प्राचीनकालमा अनेक कारणले एउटी नारीले परिवारका सबै दाजुभाइलाई पति मान्ने चलन थियो । त्यो अहिले पनि केही ठाउँमा जीवित छ हुम्लातिर ।
जेठो दाजुसँग बिहे भए पनि सबै सम्बन्ध अन्य भाइहरूसँग पनि हुने रहेछ । पत्नीको रोजाइमा सहवास भए पनि जेठोको हकदाबी प्रायः हुने रहेछ ।
बहुपति प्रथाका आफ्नै विशेषता छन् ।

परिवारको सम्पत्ति बाँड्नु नपर्ने, घरको गोपनीयता भंग नहुने, एउटै श्रीमतीबाट परिवारका सन्तान वृद्धि हुने, परिवार नफुट्ने आदि गहकिला पक्ष यो परम्परामा रहेछन् । त्यत्तिकै नराम्रा पक्ष पनि बहुपतिमा नभेटिने होइनन् ।

बटुको पर सारेँ । साह्रै कर गरेपछि चोती, दाल र केही गाँस भात खाएँ ।

प्राचीनकालमा अनेक कारणले एउटी नारीले परिवारका सबै दाजुभाइलाई पति मान्ने चलन थियो । त्यो अहिले पनि केही ठाउँमा जीवित छ हुम्लातिर । जेठो दाजुसँग बिहे भए पनि सबै सम्बन्ध अन्य भाइहरूसँग पनि हुने रहेछ । पत्नीको रोजाइमा सहवास भए पनि जेठोको हकदाबी प्रायः हुने रहेछ ।

अनि बिदा भयौँ हामी ।
काम्लो ओढेर बसेकी ठूली आमाले कुन्चेले दाँत कोट्याइन् । अनि फेरि काम्लोको दुई फेर अठ्याइन् । पिन्सियो नि आफ्नै खालको । 
बाहिर ओखर, आलु र स्याउ जताततै फलेका, झुत्तिएका र बाटोभरि लटरम्मै देखिन्थे । कान्लैपिच्छे थिए घरहरू ।
बुराउँसे गाउँको उत्तरपट्टि छङ्छङाइरहेको थियो क्षुता लुङवा । घट्टे खोलामा ५–६ वटा घट्ट रहेछन् । घट्ट जानेहरूको ताँती नै थियो ।
अघिको टासीले टाउको चिलाउला जस्तो भयो । अब फेरि कति ठाउँमा घिउ दल्नुपर्ने होला । ‘टासी’ सम्मान सम्झेँ ।
उत्तरतिर गयौँ हामी ।

जोवाको छालामा उवा सुकाउने, छुर्पी राख्ने र गहुँ पोको पारिरहेकाहरू देखिन्थे । बोल्दा नि ती काममै जोतिइरहेथे । 
घरैपिच्छे थिए मौरीका घार । ठूला–ठूला ढुंगा, काठे बाकस र धोद्रिएका मुढामा मौरीका घार बनाइएका थिए ।
उत्तरपट्टिको हिमाल चम्चमाइरहेथ्यो ।
‘बुरी खा भन्छौँ हामी !’

‘टोपीटालेहरू पञ्चमुखी भन्छन् !’
हिमाल देखाएर कोन्ज्योकले भने ।
अलिक तल झोवा लामाको घरमा पस्यौँ ।
उनले पनि टासी सम्मान गर्दै घिउ दलिन् टाउकोमा । बटुको तेर्सियो उवाको जाँड । मैले ओठमा लगेर त्यत्तिकै छोडेँ ।
कोन्ज्योकका आँखा राता भइसकेथे ।

झोवाको भान्साबाट पनि उम्किनै प-यो । बसिरहने धेरै समय थिएन । म बुराउँसेका भित्री संसारसँगै बहुपतिका जोडी खोजिरहेको थिएँ ।
खर्कबाट आएका गारा लामाले कराए कोन्ज्योकलाई– ‘किन नपसेको घरमा ?’
तल्लो बाटोमा आइपुगेथ्यौँ हामी । फेरि फर्केर पस्यौँ– गाराको घरमा ।

भ-याङ उक्लेर माथ्लो तलाको भित्री कोठा भएर भान्सामा पस्यौँ । खर्कबाट दूध, घिउ ल्याएथे गाराले । छुर्पी बनाउन ठिक पारेको एक धोक्रो आलो नौनी थियो । हामीले दूध 
खायौँ– चौँरीको ।

कोन्ज्योकले थपी–थपी खाए झुमाको मोही ।
आठ–नौ झुमा पालेका गारासँग ३०औँ वर्षको खर्कको अनुभव रहेछ । ६–७ दुहुना झुमाको हेरविचार गर्न खर्क जाने गर्दा रहेछन् उनी ।
अहिले छोराले दार्चुलाबाट झुमा ल्याएकाले दूध राम्रै आएकोमा उनी खुसी थिए । 

‘अघेर जमानामा मान्छे राम्रो । अचेल जमानाको मान्छे अर्कै भयाको,’ गाराले अनुभव सुनाए ।
१२–१३ वर्षयतादेखि पाठा पाल्न छोडेछन् उनले । साह्रै हैरान पाएको उनको भनाइ थियो ।
‘भेँडासँग जाँदो, भारी बोक्तो अनि घुँडा दुख्दो !’ उनले पीडा सुनाए ।

गाराका कुराले छाती गह्रुँगो पारी बिदा भयौँ । उनका कुरामा मन छड्किइरह्यो निकैबेर । दुःखसँग लडीलडी हिँडेको ज्यानले कोसँग गर्ने हारगुहार ? 
अलिक मास्तिर छिरिङ हिसी लामाको घरमा पस्यौँ ।
त्यहाँ पनि चिया र छुर्पी खायौँ । नसोधी जाँडको कचौरा तेर्सिइहाल्थ्यो । बाटोले जाँड नखा भने नि जाडोले कचौरा तान्न जोस्याउँथ्यो । 
झन्डै बाह्र बजेतिर हामी बस्तीको तल्लो फेदतिर झ-यौँ । यहाँबाट बुरी खा हिमाल अत्यन्तै सुन्दर देखिन्थ्यो ।

‘हामीले कुनै बहुपति जोडीसँग भेट्यौँ त ?’
मैले खसखस पोखेँ ।
‘भेट्यौँ नि । सोझै सोध्नु पो भएन त ।’ 
‘कसैले भनी पनि हाल्छन् । धेरैको जोडाजोडी थाहा भइहाल्छ गाउँमा,’ कोन्ज्योकले कपालको घिउ पुछपाछ गरे ।
हिजोआज यौन सम्बन्ध, कानुनी जटिलता र अनावश्यक सामाजिक चासो हुने हुनाले बहुपति प्रथा कम हुँदै गइरहेको रहेछ ।

कुनै समय जेठो दाइ खर्कमा जाँदा वा भाइहरू व्यापारका लागि ‘तल’ जाँदा एकै पत्नीसँग दाजुभाइको आवश्यकताअनुसार सहवास हुन्थ्यो । खेतीपाती, अन्नपातको सीमितताबाट पनि परिवार चलाउन सहज ठानिएको बहुपति हिजोआज व्यक्तिगत स्वतन्त्रताको खोजीसँगै घट्दै गएको सुनिन्थ्यो ।

कोन्ज्योकले बस्तीको माझमा पुगेपछि भने, ‘कुन्डोल लामाले छिरिङ हिसी र पेमा छिरिङ दुई दाजुभाइलाई नै पति मानेर बसेकी छिन् । रिञ्जिन लामाले नाक्पु र नरेन्द्रलाई पति मानेर जीवन बिताइरहेकी छन् बुराउँसेमै ।’ 
ओहो, म नाम सुनेर म झसंगिएँ !

मैले पतिचाहिँ भेटेको रहेछु । तर, पत्नी भेटेर तिनको मुखबाट केही कुरा सुन्ने रहर औधी थियो मेरो । नपाएकोमा खिन्नता भयो । दिक्क लाग्यो । 
‘सिमिकोट बजारमै एउटी दिदी छन् । उनी डराउँदिनन् आफ्ना कुरा भन्न । म भेटाइदिउँला नि,’ कोन्ज्योकले मेरो पिरलो बुझेर भने ।
छ्यो कोजोङ, लामा कोजोङ, गेनुन कोजोङ अर्थात् तीन भगवान्लाई सम्मान गर्दै तीन ठाउँमा दलेको घिउको पित्को मेरो कपालमा घामले बगाइरहेथ्यो । म बुराउँसे गाउँको चालचलन अलि–अलि बुझ्न पाएकोमा हर्षित थिएँ । 

अघिल्लो दिन बाटोमा बहुपतिबारे बुझेका कन्जोक लामाले मलाई टिपाएथे– ‘हाक्पामा तीन, लामा खोल्सीमा दुई, खगाल गाउँमा चार, च्यादुकमा तीन, केर्मीमा ६, यालबाङमा दुई, यांगरमा दुई, मुचुमा दुई, तुम्कोटमा एक, यारीमा तीन, वरगाउँमा १३, तोर्पामा ६, लिमाटाङमा नौ, बुराउँसेमा १७ बहुपतिवाला परिवार छन् ।’
अनौठो मान्यता र संस्कृतिमा बाँचिरहेको बहुपति प्रथा हुम्लाका यी लामा गाउँबाहेक अन्त छैन होला ।

बुराउँसेबाट अघि आएकै बाटो हामी फर्किरहेका थियौँ । घाम चर्केको थियो । हावा पनि सिर्सिराइरहेकै थियो । हिउँ पनि फुसफुसाइरहेथ्यो मास्तिर ।
पूरै नयाँ संसार पढेर फर्किएँ म बुराउँसेबाट !