• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुजित मैनाली काठमाडाैं
२०७६ भदौ २१ शनिबार ०९:०३:००
साहित्य

अपर्याप्त शोधले फितलो इतिहास

२०७६ भदौ २१ शनिबार ०९:०३:००
सुजित मैनाली काठमाडाैं

अचेल के पढ्दै हुनुहुन्छ ?

महाभारत दोहो-याइरहेको छु । 

पछिल्लो समय पढेको असाध्यै मनपरेको किताब ?
गनेस पौडेलको उपन्यास ‘पैताला’ । यसलाई मैले प्रयोगपरक लेखनीको सशक्त नमुना मानेको छु । यात्रा संस्मरणको ढाँचामा लेखिएको यसको भाषा प्राञ्जल छ । विषय र शिल्प प्रौढ छ । लेखक बढी कल्पनाशील भएर होला, लेकको भूगोल र जनजीवन वर्णन गर्ने सवालमा उनले मोहन मैनालीको ‘उपल्लो थलो’लाई बिर्साउन खोजेका छन् ।

तपाईं इतिहास–संस्कृतिका किताब बढी रुचाउनुहुन्छ । पाठकलाई कस्ता किताब रिफर गर्न चाहनुहुन्छ ?
यसका लागि सर्वप्रथम पाठकको अभिरुचि बुझ्नुपर्छ । पाठक पठन–जीवनको कुन चरणमा छ भन्ने कुराले पनि कस्ता किताब सिफारिस गर्ने भन्ने निर्धारण गर्छ । किताब पढ्ने बानी बसाउन चाहनेले ‘लाइट फिक्सन’ पढून् । बिस्तारै त्यो चरण पार गरेर मदनमणि दीक्षित र फ्योदोर दोस्तोयेभ्स्कीसम्मलाई पढून् । इतिहास–संस्कृतिको अध्ययन गर्न चाहने अथवा गरिरहेकाले संशोधन–मण्डलबाट दीक्षित विद्वान्लाई पढ्न नछुटाऊन् । जुनसुकै विधाका मानिसले हर्क गुरुङलाई चाहिँ पढून् ।

नेपालीमा कस्ता पुस्तक लेखिएका छैनन् ?
मिथबारे हामीकहाँ असाध्यै कम लेखिएका छन् । प्रज्ञा प्रतिष्ठानबाट पछिल्लो समय ‘मिथक कोष’ छापिएको रै’छ । देख्नासाथ किनिहालेँ । प्राचीन ग्रन्थहरूको पुनर्पठन गर्ने र तिनलाई विभिन्न सिद्धान्तको आलोकमा ढालेर व्याख्या गर्ने काम पनि हामीकहाँ असाध्यै कम भएको छ । रामायण, महाभारत, मुन्धुम आदिबारे नेपाली विद्वान्ले कति नै लेखेका छन् र ? नेपाली परिवेशमा मनोविज्ञानको विश्लेषण गरेर पनि खासै लेखिएका छैनन् । यहाँको राजनीति, समाज, संस्कृतिसम्बन्धी विवरणात्मक लेखनीको अवस्था तैबिसेक छ । विश्लेषणात्मक र कल्पनाशील हुने सवालमा चाहिँ हामी पछाडि नै छौँ । 

पढ्ने किताब कसरी छान्नुहुन्छ ?
तीन तरिकाले छान्छु । पहिलो, आफ्नो अभिरुचिको अथवा आफूले पढ्दै गरेको विषयसम्बन्धी किताब पाएसम्म पढ्छु । दोस्रो, आफूलाई मनपर्ने लेखकको किताब किन्न र पढ्न हतारिन्छु । जनकलाल शर्मा र जेरेड डायमन्डको किताब पसलमा देख्नासाथ किनिहालौँ जस्तो लाग्छ । तेस्रो, आफू त्यति जानकार नभएको विषयबारे पढ्नुप-यो भने त्यो विषय छिचोलेका व्यक्तिसँग सल्लाह लिन्छु । यसो गर्दा समय र पैसा बर्बाद हुनबाट जोगिन्छ ।

इतिहाससम्बन्धी हाम्रा किताबका कमजोर पक्ष के हुन् ?
इतिहासबारे लेखिएका राम्रा किताब हामीकहाँ नभएका होइनन् । तर, कमजोर किताब नै बढी छन् । अपर्याप्त शोधकार्य र अतिशय भावुकताले इतिहाससम्बन्धी हाम्रा अधिकांश किताबलाई फितलो बनाएको छ । 

पढ्नुलाई तपाईं के सोच्नुहुन्छ ? आनन्द, बाध्यता कि ज्ञानको अभिप्सा ?
सबै हो । पढ्दाखेरि हुने आनन्दानुभूति मलाई बल्छीमा उनेको गड्यौलाजस्तो लाग्छ । त्यही अनुभूतिबाट लोभिएर मानिस पठन संसारमा उनिन पुग्छ । पढ्ने मानिस विशुद्ध आनन्दको खोजीमा हुन्छ । लेख्नुचाहिँ स्वार्थको उपज हो । स्वार्थी मानिसका लागि लेख्नु बाध्यता हुन जान्छ ।

पढेमध्येको ‘बेस्ट बुक’ कुन हो ? किन ?
महाभारत । यसले जीवनलाई समग्रतामा हेर्न सिकाउँछ । मानिसको जीवन बहुआयामिक हुन्छ । सबै आयाम पर्गेलेर अमुक व्यक्ति अथवा घटनाप्रति धारणा बनाउनुपर्छ भन्ने शिक्षा महाभारतले दिन्छ । तपाईं वासुदेवपुत्र कृष्णकै उदाहरण दिन सक्नुहुन्छ । कृष्णको महिमामण्डन गरिरहँदा महाभारतकारले शिशुपालमार्फत् उनको उछित्तो काड्न पनि बाँकी राखेका छैनन् ।

महाभारतमा त्यस्ता एउटा पनि पात्र सायद होलान्, जसका गुण र दुर्गुण दुवैको विवेचना यसका रचनाकारले नगरेका हुन् । महाभारत विशिष्ट कोटीको ग्रन्थ हो । यसलाई बिर्सिदिने हो भने बिपी कोइरालाको ‘हिटलर र यहुदी’ मलाई असाध्यै मन पर्छ । 

पढ्नु नपर्ने किताबको सूचीमा तपाईं कुन अथवा कस्ता किताबलाई समावेश गर्नुहुन्छ ?
जतिसुकै कमजोर किताब पनि नपढ्नलायक हुँदैनन् । अनुसन्धानका क्रममा झुर किताब पनि पढिन्छन् । फलानोले लेखेको मिलेन, ढिस्कानाले लेखेको त झन ठ्याम्मै मिलेन भन्न पनि पढ्नु त प-यो नि !

तपाईं सानो छँदा घरमा कस्ता खालका किताब थिए ?
बालपत्रिका जेठा मामाको घरमा आउँथ्यो । बालपत्रिका पढ्नकै लागि भनेर पनि मावल गइन्थ्यो । घरमा चाहिँ उमेरसँग नमिल्ने खालका किताब थिए । आमा महिला स्वयंसेविका हुनुभएकाले परिवार नियोजनसम्बन्धी किताब हुन्थे । काकाले हरिद्वारबाट विद्यावारिधि गर्नुभएको हो, संस्कृत व्याकरणमा ।

पढाइ सिध्याएर फर्किंदा लिएर आउनुभएका किताब पनि घरमा थिए । पूजा गर्ने ठाउँमा वेद राखिन्थ्यो । उपनिषद्, गीता, व्याकरण, गणित र योगका किताबचाहिँ टिनका बाकसमाबन्द गरिएका थिए । त्यतिवेला तिनको महत्व बुझिएन । धुलिया लागेर अधिकांश किताब बिग्रिए ।

मेरो हजुरबुबा हलुका खालका आख्यान पढ्नुहुन्थ्यो । उहाँसँग एकदेव ढकालले लेखेको आतंक, रत्नभवन र राक्षसराज गरी तीन खण्डमा विभाजित तिलस्मी उपन्यास थिए । उहाँसँग भानुभक्त रामायण पनि थियो । हामीलाई रामायणका कथा सुनाउनुहुन्थ्यो । महाभारतका कथाचाहिँ सुनाउनुभएन । पढ्न पाएको छैन भन्नुहुन्थ्यो । ठूलो भएपछि मैले हजुरबुबालाई महाभारत टक्य्राएको थिएँ ।

किताब छनोट गर्न पूर्वअध्ययनले कत्तिको काम गर्छ ?
गर्छ नि ! ‘ह्वाई नेसन फेल्स’ पढेपछि मैले जेरेड डायमन्डको ‘गन्स, जम्स एन्ड स्टिल’ पढेँ । ‘ह्वाई नेसन्स फेल’मा गरिएको ‘गन्स, जम्स एन्ड स्टिल’को आलोचना पढेपछि म त्यसप्रति आकर्षित भएँ । त्यसपछि मैले डायमन्डका ‘कोल्याप्स’, ‘ह्वाई इन सेक्स फन’, ‘द थर्ड चिम्पान्जी’ आदि पढेँ । डायमन्ड पढेपछि रिचर्ड डाउकिन्सबारे बुझ्न मन लाग्यो । संयोग नै मान्नुपर्छ, त्यतिवेलै मैले डाउकिन्सको किताब ‘द गड डिल्युजन’ उपहार पाएँ ।

स्कुल वा क्याम्पसका सुरुवाती दिनमा पढेका कस्ता किताब बढी उपयोगी भए ?
त्यतिवेला प्रकाश कोविदका हलुका उपन्यास खुब पढियो । तिनले मलाई घन्टौँ अथवा हप्तौँसम्म एउटै किताबमा घोत्लिन सक्ने बनायो ।  
तपाईंको निजी संकलनमा कति किताब छन् ? तीमध्ये प्रिय पाँचको लिस्ट बनाउनुस् न !

केही वर्षअघि इ–बुक पढ्ने भूत सवार भएको थियो । त्यतिवेला आफूलाई काम लागिरहने किताब मात्र साथमा राखेर बाँकी बाँडे । अहिले मेरो संकलनमा मूलतः इतिहास, संस्कृति, धर्मशास्त्र, दर्शनशास्त्र र सिद्धान्तका किताब छन् । तिनको संख्या २५ सयको हाराहारीमा होला । तीमध्ये म महाभारत, पाण्डुरंग वामन काँणेको ‘धर्मशास्त्रका इतिहास’, संशोधन मण्डलको जर्नल ‘पूर्णिमा’का अंकहरू, लियो इ. रोजको ‘नेपालः स्ट्राटेजी फर सर्भाइभल’ र महेशचन्द्र रेग्मीका नेपालको आर्थिक इतिहाससम्बन्धी किताब अक्सर पल्टाइरहन्छु ।

नेपाली आख्यान वा गैरआख्यान विधामा कस्ता किताब लेखिँदै छन् ? किताबको कन्टेन्ट राम्रो–नराम्रो हुनुको कारण के हो ?
अहिले छापिरहेका गैरआख्यानभन्दा आख्यानकै अवस्था सन्तोषप्रद होला । अध्ययन, भ्रमण, चिन्तन र धैर्यताबाट राम्रा रचनाको सृष्टि हुन्छ । तातै खाऊँ, जली मरौँ भन्ने प्रवृत्तिले फितलो रचना जन्माउँछ ।

किताबविनाको जीवन र पुस्तकालयविनाको देशको कल्पना गर्न सक्नुहुन्छ ?
किन नसक्नु ? हाम्रोमा पुस्तक र पुस्तकालयको चलन सुरु भएको कति नै भएको छ र ? हिजोजस्तै पछ्यौटे अवस्थामा रहने हो भने किताब र पुस्तकालय नभए पनि भयो । प्रतिस्पर्धामा खरो उत्रिने हो, आफूलाई परिस्कृत गर्ने हो भने किताबको सहारा नलिई हुँदैन । 

अनुसन्धानका क्रममा व्यहोर्नुभएको प्रमुख अप्ठ्यारो के हो ?
व्यवस्थित र सम्पन्न सार्वजनिक लाइब्रेरीको अभाव । मदन पुस्तकालय अरूभन्दा सम्पन्न र व्यवस्थित छ । दुर्भाग्य नै मान्नुपर्छ, त्यो पाठकमैत्री छैन । मार्टिन चौतारीको लाइब्रेरीको व्यवस्थापन राम्रो छ । पाठकमैत्री पनि छ । तर, खोजेका अधिकांश किताब त्यहाँ पाइँदैन ।

केन्द्रीय पुस्तकालयलाई आफ्नै भुँडी भारी भनेजस्तै भएको छ । त्यो अद्यावधिक पनि छैन । ‘द गोपालराज वंशावली’ काठमाडौंका कुनै लाइब्रेरीमा उपलब्ध छैन । भनेजस्तो सार्वजनिक लाइब्रेरी नभएकाले चाहिएजति सबै किताब किन्ने, फोटोकपी गर्ने गर्नुपर्छ । किताबमै बढी खर्च हुने भएकाले अन्य चाहना मार्नुपरेको छ ।

सुजित मैनाली लेखक तथा अनुसन्धानदाता हुन् ।