• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुकन्या वाइबा काठमाडाैं
२०७६ भदौ २१ शनिबार ०९:१९:००
सम्झना

पारिजातको सार्जे दिम

२०७६ भदौ २१ शनिबार ०९:१९:००
सुकन्या वाइबा काठमाडाैं

अपराजिता,०७६ भाद्र  ७ गते । पर्यटन बोर्डमा आयोजित ‘तामाङ ज्ञान महोत्सव’मा केही अनुभूति साट्न यो लेख तयार पारिरहेको छु । मेरा अनुभूति तिमीलाई मन्जुर छन् भन्ने मलाई विश्वास छ । 

यस ज्ञान महोत्सवमा कुनै ठोस लेखन लिएर उपस्थित भएकी छैन । तामाङ धार्मिक, सांस्कृतिक र मातृभाषाको माहोलमा मेरो बचपन र शैशव हुर्कन पाएन । त्यसैले मेरो प्रस्तुति केही अनुभव, केही जिज्ञासा, केही असन्तुष्टि र केही आशाका पेटिका मात्र हुनेछन् । विषय प्रवेश गर्नुअघि पारिवारिक पृष्ठभूमिका केही झलक अघि सार्न सान्दर्भिक ठान्छु । 

०००
भनिन्छ, हाम्रा म्हेम्हे (हजुरबुबा) धनमानसिंह लामा वाइबा संखुवासभाका बासिन्दा थिए । भारतमा तिनताकाका अंग्रेज सरकारले दार्जिलिङमा चियाखेतीका निम्ति उपयुक्त ठह-याएपछि नेपालबाट कामदार ओसार्ने टोलीका हजुरबुबा नाइके थिए । कालान्तरमा हजुरबुबा सिनताम चिया बगानका सरदारमा नियुक्त भई त्यही घरजम गरी बसे । अझै पनि उनले सम्हालेका क्षेत्र धनमान धुराको नामले चिनिन्छ । 

हाम्रा आपा (बुबा) कालुसिंह लामा वाइबा म्हेम्हेका कान्छी श्रीमतीबाट जन्मेका दुई छोरामध्ये जेठा थिए । पेसाले चिकित्सक बुबा लिंगिया चिया कमानमा कार्यरत हुँदा दिदी पारिजात जन्मेकी थिइन् । अंग्रेज म्यानेजरको हैकमलाई चुनौती दिँदै जागिर त्यागी दार्जिलिङ सहरमा आफ्नै निजी मेडिकल हल सञ्चालन गरेर बसेका थिए, बुबा । हाम्री आमा, एक दिदी र एक दाइको दुर्भाग्यर्पूण निधन त्यसैताकाका नियति हुन् ।

बुबाको धर्मप्रति र धार्मिक संस्कारप्रति आस्था नहुनु सम्भवतः तिनै मृत्युहरूको परिणति हुन सक्छ । हामीकहाँ न देवताका थान ‘ल्हासेम’ थियो न घरमा पूजापाठ नै हुन्थ्यो । सारा नेपालीले मनाउँदै आएका हिन्दू संस्कार प्रदत्त चाडपर्व दसैँ–तिहार पनि केवल हामी केटाकेटीको रहर पूरा गरिदिन मात्रै मनाउँथे । मानवीय मूल्य–मान्यता कायम राख्न तथा सभ्य संस्कार वरण गर्नमा मात्र जोड दिइन्थ्यो । को हिन्दू, को बुद्घिस्ट, को इसाई, को दलित भन्ने भेदभाव नै थिएन । हामी केवल मान्छे भनेर मात्र चिन्थ्यौँ । उसवेला पनि एउटा दरिलो सत्यले भने हाम्रो मनमा घर गरेको थियो । त्यो के भने हामी नेपाली हौँ, हाम्रो आफ्नै स्वतन्त्र देश नेपाल छ । यसैमा गर्व गरिन्थ्यो । यो पनि हाम्रै बुबाको देन थियो । 

००७ सालको क्रान्तिमा होमिएर नेपाल भित्रिएका हाम्रा दाइ (काकाको छोरा) कुमारसिंह लामा क्रान्तिको सफलतापश्चात् काठमाडौं नै बस्न थालेका थिए । त्यसैवेला हाम्रा एक मात्र दाइको असामयिक निधनले विक्षिप्त हाम्रा बालाई यिनै दाइले काठमाडौँ ल्याए । एक वर्षपछि विं.सं. २००९ तिर दिदी पारिजात काठमाडौं आइन् । अन्तमा विं.सं. २०१२ मा म पनि काठमाडौं आएँ । त्यसपश्चात् सुरु हुन्छ जिज्ञासा, जातिबोध, असन्तुष्टि र आशाका तरंगहरू । 

कुमारसिंह दाइका काइँला भाइ दिदी आउनुअगावै काठमाडौं छिरिसकेका थिए । दिदीलाई उनको प्रथम सुझाब थियो– ‘बहिनी, कसैले तिम्रो जात सोधे तामाङ नभन्नू, गुरुङ हुँ भन्नू । तामाङलाई यहाँ असाध्य घृणा गर्छन् ।’ किन जात लुकाउने ? मेरो प्रथम झड्का बस् यही थियो । नेवार जातिले समेत हामीलाई ‘शमिनी’ भन्थे र हेयको दृष्टिले हेर्थे । पछि थाहा भयो शमिनीको अर्थ ‘पाखे’ पो रहेछ । 

म काठमाडौं आएर रात्रि कलेज पढ्न थालेँ, जहा म एकजना मात्र तामाङ विद्यार्थी थिएँ । दिदी दिवा कलेज पढ्थिन्, जहाँ उनी एकजना मात्र तामाङ विद्यार्थी थिइन् । किन यस्तो ? मेरो दिमागमा परेको दोस्रो झट्का थियो यो । छिमेकी घरमा र हाम्रै घरमा पनि तामाङ किशोरीहरू घरधन्दाका सहयोगीका रूपमा काम गर्थे । विद्यालयमा तामाङ विद्यार्थी नहुनु तर दरबारहरूमा सुन्दरी तामाङ महिला भित्रिनी र सुसारेका रूपमा हुनु अर्को झड्का र जिज्ञासा थियो मेरा लागि । 
०००
यस्तै अन्योलको वातावरणबीच केही तामाङ अगुवाद्वारा तामाङ जागरण र उत्थानका निम्ति तामाङ समितिको गठन भयो । समितिको खास नाम अहिले सम्झन सक्दिनँ तर समितिका केही पदाधिकारी सम्झन सक्छु । सम्भवतः श्री सन्तवीर लामा समितिका अध्यक्ष थिए । समितिका अरू पदाधिकारी मेरो स्मरणमा रहेका हर्कजित लामा, सिद्घिबज्र लामा, बुद्घिमान तामाङ र हाम्रा दाइ कुमारसिंह लामा थिए । त्यसै बखत दुई पुस्तक, ‘तम्बा कइतेन’ र ‘जिकेतन तामछ्योई’ प्रकाशित भयो । 

मलाई प्रस्ट सम्झना छ, बौद्घ निवासी सिद्घिबज्र लामा भन्थे, ‘हामी दुई पैसामा घेवा (मृत्यु कर्म) सम्पन्न गरिदिन सक्छौँ ।’ घेवाको जटिलता र खर्चिलो चलन देखेर नै उनले त्यसो भनेको  हुनुपर्छ । दिदी र मलाई  उनको कथन तथ्यपूर्ण लागेको थियो । किनकि उनले नै भने, ‘एकजना तामाङ बन्धुले आफ्नो सामाजिक प्रतिष्ठाका निम्ति छोराको घेवामा आफ्नो एक मात्र जमिनको टुक्रा बेचेका थिए ।’ 

पुतलीसडक पायक पर्ने ठाउँ भएकाले धेरैजसो बैठक हाम्रै घरमा बस्ने गरिन्थ्यो । बौद्घमा बसेको कुनै एक बैठकको समापनपश्चात् समितिका पदाधिकारी खुसीले नाचेका स्मरणमा अझ पनि ताजै छ । भीमकाय शरीरका धनी सन्तवीर लामाको कम्मर मर्काई र हर्कजित लामाको एकै ठाउँ उभिएर टाउको मात्र हल्लाउने नृत्यले सबैलाई मनोरञ्जन दिएको थियो । 

त्यसै ताका बौद्घमा आफ्ना दिवंगत आफन्तको सम्झनामा ‘सद्बिउ’ छर्ने पर्वलाई निसाना बनाएर तामाङ जातिको जागरणको बिगुल फुक्ने कार्यक्रम तय भयो । केही तामाङ महिला, दिदी र मलाई उक्त अवसरमा गीत गाउन जिम्मा दिइयो । जसको प्रारम्भिक बोल थियो, ‘रेगो ले रेगो नाना ज्यो ज्यो, रेगोले रेगो आङा आले ।’ (उठ न उठ दिदी दाइ, उठ न उठ बहिनी भाइ) तामाङ स्वयंसेवक भक्तजनको सेवाका निम्ति औषधोपचार र विभिन्न सहयोगका निम्ति जुटेका थिए । त्यस विशेष अवसरमा नया“ उत्साह र उमंगका साथ हामी राति पनि जागाराम बसेर खटेका थियौँ । यो एक सुखद अनुभूति थियो ।

समय बित्दै गयो । ती अग्रज प्रण्ोताको एकपछि अर्को गर्दै निधन भयो । सन्तवीर लामा बिते । हर्कजित लामा बिते । सिद्घिबज्र लामा बिते । हाम्रा दाइ कुमारसिंह लामा विवाह बन्धनमा बाँधिए र परिवारको देखरेखमा व्यस्त रहन थाले । उक्त जागरण अभियानमा शिथिलता छायो । निरन्तरता दिने कोही भएन । बितेका ती सक्रिय क्रियाकलाप विस्मृतिका धुलोले पुरिँदै गए । 

दिदी दिवा कलेज पढ्थिन्, जहाँ उनी एकजना मात्र तामाङ विद्यार्थी थिइन् । म रात्रि कलेज पढ्न थालेँ, जहाँ म एकजना मात्र तामाङ विद्यार्थी थिएँ । किन यस्तो ? मेरो दिमागमा परेको दोस्रो झट्का थियो त्यो ।

०२८ सालतिरको कुरो हो । बाको निधन भइसकेको थियो । निर्मल लामा, दिदी र म म्हेपीमा बसाइँ सरिसकेका थियौँ । प्राध्यापक माणिकलाल श्रेष्ठ हाम्रा छिमेकी थिए । उनको विद्वता जगजाहेर छ । उनीसँगको कुराकानीका दौरान हामी अनभिज्ञ रहेको एउटा कटुु सत्य उजागर भयो । राणाशासनका वेला विभिन्न जनजातिका भरियालाई भारी बोकाउँदा तामाङ भरियालाई विभेद गरिन्थ्यो ।

अरू जातिका भरियालाई ज्यालास्वरूप खाजा र तीन पैसा दिइन्थ्यो । तर, तामाङ भरियालाई खाजा मात्र दिनू भन्ने सरकारी उर्दी नै थियो । एउटा जाति विशेषलाई किन यस्तो अवहेलना ? मेरो मनमा जिज्ञासा, असन्तुष्टि र विद्रोह जगाउने अर्को विषय थियो त्यो ।  त्यसपश्चात् कुनै एक विज्ञ (नाम सम्झना भएन) को हाम्रो घरमा आगमन हुँदा प्रकाशमा आएका तामाङ जातिमाथिको दमन त सुनिनसक्नुकै थियो 

। उनले भनेका थिए, तामाङ जातिका जवानलाई तिग्य्राहा भनिन्थ्यो । यी मासिन्या जात हुन् । यिनीहरूलाई केवल सेनाका ब्यारेकमा घोडा स्यहार्ने, घोडाका फोहोर सोर्ने, दाउरा चिर्ने, भाँडा माँझ्ने काममा मात्र नियुक्त गर्ने र यस्ता कार्य गर्ने जवानलाई पिपा नामक दर्जा दिइएको थियो । उक्त तथ्य पुष्टि गर्नलाई पुतली सडक डेरामा छ“दा छि“डीमा बस्ने एकजना तामाङ किशोरले बिहानी पख सिंहदरबारतिर हेर्दै भनेको सम्झन्छु, ‘मेरो आपा अहिले सिंहदरबारभित्र घोडा स्यहार्दै हुनुहुन्छ होला ।’ उनको त्यो अबोध भनाइ नै काफी थियो । 

समय बित्दै जाँदा तामाङ विज्ञबाट यस प्रकारका कैयन् दमनका तथ्य कति सुनियो कति । युग पाठक लिखित पुस्तक ‘माङगेना’ पढेपछि इतिहासबारे धेरै कुरा छर्लंग भयो । अझ रणबहादुर शाहको पालामा ‘तामाङ जातिलाई मार्नू’ भन्ने इतिहासको कुरा अहिले सुन्दा छा“गाबाट खसेजस्तै भएँ । यसबाट प्रमाणित हुन्छ, हामीले युगौँदेखि घोर शोषण, दमन खेपेका रहेछौँ । 

बितेको ६ दशकमा देशमा धेरै परिवर्तन आइसकेको छ । हाम्रा तामाङ जातिले पनि विकासको ठूलो फड्को मारिसकेको छ । अरूको भन्दा केही कम देखिन सक्छ, तर देशको हरेक क्षेत्रमा हामी व्याप्त छौँ । आफ्ना अधिकारप्रति सजग छौँ । विश्वास गरौँ, विशेष उपलब्धि प्राप्त हुने नै छ । 

दिदी र मैले बाल्यकालमा तामाङ भाषा बोल्ने संगत पाएनौँ । हामीले प्रयत्न त गरेका हौँ तर लागि पर्न सकेनौँ । दिदीले केही सिकिन् र आफ्नो मातृभाषाको सम्मानार्थ हाम्रो घरलाई ‘सार्जे दिम’/‘सजिया दिम’ (साझा घर) नाम दिएकी थिइन् । साथै परिवारमा जन्मेका बच्चालाई तामाङ नाम दिन रुचाउँथिन्, दिदी । दिदी तामाङकी छोरी भएकोमा असाध्यै गर्व गर्थिन् ।