• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
निर्भीकजंग रायमाझी 
२०७६ भदौ २२ आइतबार १४:३३:००
साहित्य

घर फर्कने नक्सा

२०७६ भदौ २२ आइतबार १४:३३:००
निर्भीकजंग रायमाझी 

अचेल 
रहरका पालुवाहरू
देउरालीकै सिमल–बोटमा अल्झिएर बस्छन्
अचेल उत्साहका दीपावली
पानसबाटै छल्किएर खस्छन्

कुन विज्ञलाई सोध्ने होला ?
कुन जुक्तिले थाहा लाउने होला ?
आफ्नै माटोको पहिचान भेटाउने गन्ध
जब कि 
भूगोलका किरिङमिरिङ रेखाहरूबीच 
कतै हराइरहेछ
घर फर्कने नक्सा ।

बिर्सियो क्यारे परदेशीले
मूलबाटोको देउता

ए चित्रकार दाइ !
तिमीलाई त थाहा होला नि
मनहरू अड्याएर राख्ने कला,
खुसीहरू क्यानभासभरि जोगाएर 
शरदीय उमंगको रंग पोत्ने कला
तर
कस्तो तिलस्मी क्यानभास लिएर बस्दै छौ तिमी
जुन रंग पोते पनि रातै बन्ने
ठ्याक्कै डढेलो सल्केको गोधुली आकाश

भन्लाऊ
तारझैँ गुजुल्टो जेलिएको छ
नयाँ पुराना सबै मानचित्र
भन्लाऊ
नियतिको हाँडीको मोसोले पोतिएको छ
प्रत्येक मानिसको मुहारचित्र

तर ए प्रिय चित्रकार ! 
बिन्ती एकफेर त बनाइदेऊ
तिम्रो कल्पनाको भण्डार छिचोलेर
यी अजनबीझैँ परदेशीका निम्ति 
घर फर्कने नक्सा ।