• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हेमन यात्री काठमाडाैं
२०७६ भदौ २८ शनिबार ०८:१८:००
यात्रा

ट्रेन टु कोलकाता

यायावर

२०७६ भदौ २८ शनिबार ०८:१८:००
हेमन यात्री काठमाडाैं

छाती पिटी हिँड्दै छु दिनदिन
कान्छी तिम्रो माया सकिन बिर्सन
छक्छकी रेलको इन्जिन...
भारतीय रेलमा गायक शम्भू राई र गायिका पार्वती राईले गाएको गीत बजेछ, यो नसोच्नु होला । तर, रेलको इन्जिन भने गीतमा भनेजस्तै रातैभरि बजिरह्यो– छक्छक्... छक्छक् । 

चार वर्षअघि । १३ जुलाई २०१५ का दिन । भारतको सबैभन्दा ठूलो रेलवे स्टेसन, हाउडा रेलवे स्टेसन ओर्लँदा बिहानको ८ बजिसकेको थियो । मुम्बई, दिल्ली, चेन्नई, गुहावटी, रक्सौल, सिलीगुडीलगायत अनेकौँ गन्तव्यका लागि एकैपटक छुट्टिने र भेटिने लाखौँ मानिसबीच ओर्लंदा सुरुमा अलमलिएका थियौँ हामी ।

हाम्रा पाइला नयाँ थिए । अन्जान थिए । भर्खर हिँड्न सुरु गरेको बालकजस्तो थियो हाम्रा पाइतालाको अवस्था । जाऊँ भने बाटो चिनेको छैन । बसौँ, मन छैन । जता हे¥यो, मान्छेका हुल मात्रै । तर, हामीले खोजेको मान्छे भने भेटिँदै भेटिएको थिएन । हुन पनि हजारौँ, लाखौँ मासिको भिडमा एउटा मानिस खोज्नु सहज थिएन । हामीलाई लिन आउने मानिसले आफ्नो हुलिया नदिएको पनि होइन । कालो पाइन्टमा सेतो सर्ट । कालो इस्टकोट । शिरमा ढाका टोपी । देब्रे हातमा घडी देखिने गरी सर्टको बाहुला फोल्ड गरिएको । दाहिने हातमा पत्रिका बोकेर हात हल्लाइरहेको । 

करिब आधा घन्टादेखिको हाम्रो प्रयास सफल हुन सकिरहेको थिएन । तारन्तार टेलिफोन गरुँ, आफूसँग फोन छैन । अरूको फोन मागेर एकाधपटक त गरेकै हो । तर, पनि हाम्रो भेट हुन सकिरहेको थिएन । जवान हुँदै गइरहेको घामको बैँसले छोएर शरीर तात्तिइरहेको थियो । एक त आफूलाई लिन आउने मान्छे नभेटिएको ‘स्ट्रेस’ छँदै थियो, त्यसमाथि कोलकाताको छिप्पिँदो घामको रन्कोले पसिना छुटिरहेको थियो । रेलवे स्टेसनभित्र कतै सार्वजनिक टेलिफोन सुविधा थिएन ।

फेरि रेलवे स्टेसनबाहिर गएँ म । सार्वजनिक टेलिफोन बुथ खोजेँ । हामीलाई स्वागत गर्न बसेका मित्रलाई सम्पर्क गरेँ । उनले फेरि आफू उभिएको ठाउँ र आफ्नो हुलिया दोहोर्‍याए । म टेलिफोन बुथबाट बाहिर निस्किएँ । उनले दिएको हुलिया पहिचान गर्न चारतिर आँखा मिल्काउँदै ट्रेन स्टेसनतर्फ लागेँ ।

करिब पचास मिटरपरको एउटा भिडमा टाउकोमाथि पत्रिका उठाएर एकजनाले हल्लाइरहेको देखियो । भिड छिचोल्दै त्यतैतिर दौडिएँ । उनको छेउमा पुगेँ । हामीलाई दिइएको हुलियासँग हुबहु मिल्यो । बहुत कष्टका साथ हावडा रेलवे स्टेसन पुगेको एक घन्टामा हामी भेटिएका थियौँ । जसरी एक घन्टासम्म खोजेको मानिस नभेटिनुको छट्पटी हामीसँग थियो, त्यसै गरी एक घन्टासम्म टाउकोमाथि पत्रिका हल्लाएर तातो घाममा उभिएको दुःख मित्रसँग थियो ।
०००
बंगाल खाडीको शीर्ष तटदेखि करिब १८० किलोमिटर टाढा । हुगली नदीको देब्रे किनारमा अवस्थित कोलकाता, भारतको दोस्रो ठूलो महानगर । यहाँको जनसंख्या मात्रै झन्डै नेपालको जनसंख्याको हाराहारीमा छ । सन् १९११ सम्म भारतको राजधानी रहेको कोलकाता एक वर्षपछि दिल्ली सर्‍यो । राजधानी दिल्ली सारे पनि कोलकातासँग भएको ऐतिहासिक पृष्ठभूमि, संस्कृति, विकास भने कोलकातामै रह्यो ।

खासगरी ब्रिटिस उपनिवेशको समयमा भएको कोलकाताको विकासको अनुहार आज पनि मुख्य आकर्षक केन्द्रका रूपमा हेरिन्छ । विक्टोरिया मेमोरियलपार्क, फोर्ट विलियम, साइन्स सिटी, इस्कन मन्दिर, मदर टेरेसा होम्स, आचार्य जगदिशचन्द्र बोस बोटानिकल गार्डेन, इको टुरिजमपार्क, कोलकाता पोर्ट ट्रस्ट, टैगोर म्युजियम, हावडा ब्रिज आदि यहाँका प्रमुख दर्शनीयस्थल हुन् । 

कोलकाता, इन्टलेक्चुवल सहरका रूपमा पनि ख्याति कमाएको महानगर हो । भारतको सांस्कृतिक जागरणको केन्द्रीय भूमिकासँग जोडिएको छ कोलकाता । भारतीय राष्ट्रिय कंग्रेसका साथै कतिपय प्रमुख राजनीतिक एवं सांस्कृतिक संस्थान, जस्तै हिन्दू मेला र क्रान्तिकारी संगठन, युगान्तर, अनुशीलन आदिको स्थापना यसै सहरमा भएको हो । 

कोलकाता सहरमा धेरै महान् हस्ती जन्मिए । अरविन्द घोष, इन्दिरादेवी चौधरानी, विपिनचन्द्र पाल, रामकृष्ण परमहंस र उनका शिष्य स्वामी विवेकानन्द, भारतीय राष्ट्रिय कंग्रेसका प्रथम अध्यक्ष व्योमेशचन्द्र बैनर्जी र स्वराजको वकालत गर्ने सुरेन्द्रनाथ बैनर्जी, प्रख्यात बाङ्ला साहित्यकार बङ्किमचन्द्र चटर्जी, नेताजी सुभाषचन्द्र बोस, नोबेल पुरस्कार विजेता राष्ट्रकवि रवीन्द्रनाथ टैगोर, मदर टेरेसाजस्ता महान् मानिस यही नगरमा जन्मिए । 

भानुभक्तीय दुःख
दुई सय वर्षअघि नेपाली साहित्यसँग कोलकाताको केही साइनो थिएन । दुई सय वर्षअघि नेपाली साहित्य सायद दृश्यमा पनि आएको थिएन । नेपाली भाषाका पहिलो कवि भानुभक्तलाई नै मानिदिने हो भने झनै यसको पुष्टि हुने भयो । संयोग कस्तो भने भानुभक्त आचार्य जन्मेको दुई सय वर्षपछि हामी भानुभक्तको नाम लिएर कोलकाता पुगेका थियौँ । भानुभक्त बाजेको जन्मोत्सव मनाउन नेपाली जनकल्याण समिति कोलकाताको निम्तो थियो हामीलाई । 

हावडा रेलवे स्टेसनको करिब एक घन्टाको लुकामारीपश्चात् आयोजकले हामीलाई त्यो भिडबाट अर्को भिडमा निकाले । हाम्रो वासको ठेगानासम्म पुग्ने सवारी पाउन अर्को मुस्किल भइरहेको थियो । रेलवे स्टेसनबाट हिँड्दै हाइवे निस्केको हाम्रा लागि कुनै पनि सवारीसाधनको व्यवस्था थिएन । जुलाई महिनाको चर्को घामले कोलकाताको सडक तात्तिएको थियो । सडकमा खसेको घामको प्रकाश आँखामा टाँसिएर दुःख दिइरहेको थियो । निधारबाट खसेको पसिनाले कोलकाताको सडक भिजाउँदै हिँडिरह्यौँ हामी । यसरी हिँड्दा–हिँडदै हावडा र कोलकाता सहर जोड्ने विख्यात हावडा ब्रिज पुग्यौँ हामी ।

इन्जिनियरिङको चमत्करपूर्ण प्रयोगका रूपमा हेरिने हावडा ब्रिजमा कुनै पनि नटबोल्ट प्रयोग गरिएको छैन । पुलको दुईछेउमा जम्मा चारवटा खम्बा छन् । यही चार खम्बाले ७०५ मिटर लामो पुलको सम्पूर्ण भार थेगेको छ । सन् १९३५ मा सुरु भएर १९४३ मा निर्माण सम्पन्न भएको ब्रिज भारत स्वतन्त्र भएपछि ‘रवीन्द्र सेतु’को नामले परिचित छ ।

साहित्यमा नोबेल पुरस्कार विजेता राष्ट्रकवि रवीन्द्रनाथ टैगोरको सम्मानमा हावडा पुललाई रवीन्द्र सेतु नाम दिएको हो । यद्यपि, आज पनि रवीन्द्र सेतुलाई हावडा ब्रिजले नै चिन्ने गर्छन् । प्रत्येक दिन डेढ लाख सवारीसाधन ओहोर–दोहोर गर्ने रवीन्द्र सेतुमार्फत करिब ४० लाख मानिस हिँड्छन् । हुग्ली नदीमा बनेको चमत्कारजस्तो पुलमा १३ जुलाई २०१५ का दिन प्रदीप मेन्याङ्बो र हेमन यात्रीले पनि पाइला टेक्दै थिए । प्रत्येक दिनजसो पैदल हिँड्ने यात्रीका भीडमा त्यस दिन हामीले पनि हाम्रा पाइताला मिसाएका थियौँ । 

पुल तरेपछि प्रदीपले केही तस्बिर लिए । टन्टलापुर घाममा हिँड्नु परेकाले फोटो खिच्नुमा उति रुचि थिएन । बरु तातो घाममा यसरी नातिलाई दुःख दिएकोमा भानुभक्त बाजेसँग रिस उठिरहेको थियो । अघि रेलवे स्टेसनको कष्ट छँदै थियो हामीसँग । बाहिर निस्केर पनि अर्को सास्ती थपिएको थियो । घाम झन्झन् चर्किरहेको थियो । हामीलाई सडकको किनारमा छाडेर आयोजक सवारी खोज्न हिँडे । तातो घाममा उभिन नसकेर थचक्कै बसेँ । प्रदीप, सडक किनारमा बसिरहेको मेरो फोटो खिचेर गिज्याइरह्यौ मलाई । कोलकाता बसून्जेल प्रदीपले त्यो फोटो देखाउँदै जिस्क्याइरह्यो । 

केही समयपछि एउटा अटो हाम्रो अघि आएर रोकियो । हामी अटोमा चढ्यौँ । अटोले गति लियो । कोलकाताका लागि अञ्जान हामीलाई अटोले कुन दिशा लगिरहेको छ, पत्तै भएन । त्यति विशाल महानगरमा एउटा बाटो पछ्याइरहेको अटोमा चुपचाप बसिरह्यौँ हामी । झन्डै एक घन्टा गुडेपछि, चराले बच्चा कोरलेर छोडेको गुँडजस्तो एउटा पुरानो भवनअघि रोकियो अटो ।

२० वर्षअघि महेन्द्र मोरङ कलेज पढ्दा विराटनगरको पुरानो र फोहोर गल्लीमा हिँडेजस्तो लाग्यो । रंगरोगन खुइलिएको पुरानो घरबाट, वर्षात्को झरीपछि गल्लीमा तपतप चुहिने फोहोर पानीको सम्झना आयो । हामीलाई त्यही पुरानो भवनभित्र लगियो । भवनको दोस्रो तलामा उक्लियौँ । दोस्रो तलाको एउटा कोठा देखाइयो । कोठामा ठुल्ठूला बेड थिए, तीन वा चारवटाजति । बेडमाथि रातो रङको म्याट बिछ्याइएको थियो । कति हप्ता वा महिनाबाट प्रयोग नगरिएको कोठा, ढुसी गन्हाएर बसिसक्नु थिएन । आयोजकको भनाइअनुसार कोलकाताको हाम्रो बसाइ यही कोठामा हुने निश्चित थियो ।

कार्यक्रमको आयोजक नेपाली जनकल्याण समिति कोलकाता भए पनि, आयोजक साथीहरूसँग हाम्रो कुनै पनि प्रकारको चिनजान थिएन । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत कवि चन्द्र घिमिरेको निम्तोमा हामी कोलकाता पुगेका थियौँ । कार्यक्रमलाई दूतावासले सहयोग गरेको छ भन्नेसम्म थाहा थियो । आयोजक संस्थाका साथीकै मोबाइलबाट कवि घिमिरेसँग सम्पर्क भयो । हामी आइपुगेको जानकारी गरायौँ । र, बस्ने ठाउँ निको नभएको असन्तुष्टिसमेत पोख्यौँ । हाम्रो असन्तुष्टिपछि तत्कालै आयोजकले दूतावासजनिकै रहेको एउटा होटेलमा लगेर राखे ।

नेपाली भाषा र कोलकाताको साँझ
सुगौली सन्धि हुनुपहिले आजका भारतीय नेपालीका पुर्खा नेपाल मै थिए । जब सुगौली सन्धिमा तत्कालीन ब्रिटिस भारतलाई नेपालको दुईतिहाइ भूभाग सुम्पिनुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भयो, त्यसपछि सधैँका लागि भारतीय भए उनीहरू । आाधकारिक रूपमा भारतीय भए पनि उनीहरूको रगतमा भने नेपाल थियो । भाषा, धर्म, संस्कार र परम्परा नेपाली थियो । उनीहरूले देख्ने सपना नेपालीमा हुन्थ्यो ।

हालको दार्जिलिङ, कालेम्पोङ, डुबर्स, सिक्किम, सिलिगुडी जम्मै नेपाली भूभागभित्र पर्थे । दक्षिणमा कुमाउ, गढवाल, पसाहर, नैनीताल हुदै काँगडासम्मको भूभाग नेपालमा पथ्र्यो । सुगौली सन्धिपछि यी भूभाग ब्रिटिस भारतलाई सुम्पनु परेको थियो । उतिवेला भारतलाई सुम्पिएको नेपाली भूभागका नेपाली नै हुन्– आजका भारतीय नेपालीहरू । भारतमा बसेर नेपाली सभ्यतालाई जोगाएर राख्ने करोडौँ भारतीय नेपालीमध्ये केही लाख नेपाली भाषी भारतीय कोलकातामा पनि बस्छन् । नेपालमा मनाइने अनेक पर्व, उत्सव र दिवस उनीहरूले पनि मनाउने गर्छन् । भारतीय नेपालीका पूर्खा नेपाली नै हुन् भन्ने बलियो प्रमाण भनेको नेपाली भाषा पनि एक हो । 

३६ वर्षभन्दा लामो समयको भाषिक आन्दोलनपछि २० अगस्ट १९९२ मा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन सफल भए उनीहरू । गएको अगस्ट २० मा भारतीय नेपालीले २७औँ नेपाली भाषा दिवस मनाए । यही नेपाली भाषासँग जोडिएका नेपाली भाषाको प्रथम कवि भानुभक्त आचार्यको २०२औँ जन्मजयन्तीको सन्दर्भमा, १४ जुलाई २०१५ को साँझ कोलकाताको एक सांस्कृतिक भवनमा सरिक भएका थियौँ हामी । 

नेपाली जनकल्याण समाज कोलकाताको ब्यानरमा कार्यक्रम सुरु भयो । भारतीय नेपाली समुदायसँगै भारतीय बंगाली समुदायको खचाखच उपस्थिति थियो सभाहलभरि । वाणिज्यदूत तथा कवि चन्द्र घिमिरेले आदिकविको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरे ।

दोस्रो चरणमा नेपालबाट गएका कविले आफ्ना कविताका विशेष प्रस्तुति दिएका थिए । त्यसपछि कोलकाताका नेपाली र बंगाली समुदायका कलाकारका गायन र नृत्य हेर्न लायक थियो । जब–जब नेपाली कलाकारले स्टेजमा चढेर प्रस्तुति दिन्थे, त्यहाँ प्रस्तुति मात्रै हुदैनथ्यो । त्यहाँ सग्लो नेपाली जीवन देखिन्थ्यो । नेपाली भाषा, साहित्य, कला र संगीतका माध्यमबाट नेपालप्रतिको प्रेम असीम व्यक्त भएको आभास दिलाउँथे । साँझ अबेर संस्थाका अध्यक्ष बद्रीविक्रम थापाले समापन गरेका थिए । 

टैगोर म्युजियम
साहित्यमा नोबेल पुरस्कार जित्ने प्रथम गैरयुरोपेली साहित्यकार हुन् रवीन्द्रनाथ टैगोर । भारतीय राष्ट्रगान ‘जन गन मन’ का लेखक टैगोर अर्का राष्ट्र बंगलादेशको राष्ट्रगानका लेखकसमेत हुन् । एउटा लेखकको जिन्दगीमा यस्तो दुर्लभ संयोग सायदै होला । १५, जुलाई २०१५ बिहान । खाना खाएर वाणिज्य दूतावासको कूटनीतिक गाडीमा चढेर ठाकुरबारी पुग्यौँ, जहाँ ७ मे १८६१ मा टैगोर जन्मिएका थिए । उनले अनेक संघर्ष र सफलता प्राप्त गरी सन् १९४१ मा यसै ठाउँमा देह त्याग गरे ।

बंगाली र अंग्रेजी भाषामा ‘टैगोर म्युजियम’ लेखिएको गेटबाट भित्र छिर्‍यौँ हामी । गेटभित्र छिर्नासाथ मधुरो आवाजमा रवीन्द्र संगीतको धुन बजिरहेको सुनियो । टैगोर स्वयंले संगीत गरेको रवीन्द्र संगीत बिलकुल अलग सुनिन्थ्यो । म्युजियमको अघिल्तिर अर्धकद सालिकमा देखिएका रवीन्द्रले लाइभ संगीतको ध्वनि निकालिरहेजस्तो लाग्थ्यो । टैगोरसँग केही थान तस्बिर खिचेर म्युजियमभित्र प्रवेश गर्‍यौँ । 

नेपालको राणाकालीन दरबारको झल्को दिने टैगोर म्युजियमको संरचना जति भब्य लाग्थ्यो, टैगोरको पारिवारिक पृष्ठभूमि उस्तै असाधारण । राज परिवारका टैगोरले जीवनकालभरि गरेको कर्म र प्राप्त गरेका सम्पूर्ण उपलब्धि संग्रहित रहेछ टैगोर म्युजियममा । संसारका बडेबडे विज्ञानी, अर्थशास्त्री, राजनीतिज्ञ, संगीतज्ञ, लेखक, कविका संगतले टैगोरको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका रहेको थियो भन्ने कुरा म्युजियमको चोटा कोठाले बताइरहेको थियो ।

म्युजियम घुमिसकेर बाहिर निस्कने क्रममा मनमा एउटा कुरा बारम्बार आइरह्यो । यदि टैगोरको पारिवारिक पृष्ठभूमि सामान्य नागरिकको हैसियत मात्रै हुँदो हो त, आजको रवीन्द्रनाथको भव्य व्यक्तित्वको निर्माण सम्भव हुन्थ्यो, हुन्नथ्यो होला ? के प्रतिभाले मात्रै आजको रवीन्द्रनाथ टैगोरको व्यक्तित्व निर्माण भएको हो ?

विक्टोरिया मेमोरियल पार्क
के एउटा शासक र सर्वसाधारणले गर्ने प्रेम एउटै हुन सक्ला ? के राजा–महाराजाले संसारलाई चकित बनाउने गरी आफ्नो प्रेमी वा पत्नीका लागि गरेको समर्पण अन्तरका आवाज नै हुन् त ? वा देखावटीका लागि मात्रै ? जब–जब शासकले आफ्ना पे्रमिकाको स्मृतिमा निर्माण गरिदिएका भव्य महल, पार्क, म्युजियमछेउ पुग्छु, माथिका प्रश्नले चिमोटिन्छु आफैँ ।

तत्कालीन ब्रिटिस शासक लार्ड कर्जनले आफ्नो रानीका लागि बनाइदिएका प्रेमको भव्य प्रतीकको छेउमा उभिएर सोच्छु– हामीले त प्रेमको नाममा पीडा, ऐँठन, हैरानी, आँसु, सुस्केरा र मृत्यु मात्रै जानेका छौँ । कमजोर सम्झनाका हाँगाबिँगा समाउन मात्रै जानेका रहेछौँ । जहाँ कोही आएर जोडले झुन्डिए मात्रै भने पनि सजिलै भाँचिन्छ । के हामी प्रेम जान्दै नजान्ने मानिस हौँ ? कि राजा–महाराजाजस्तै भइदिए प्रेमी–प्रेमिकाको स्मृतिमा यस्तै वैभवशाली स्मारक बनाउँला हामी पनि ? कोलकाताको विक्टोरिया मेमोरियल पार्कमा उभिएर मनमा यस्तै आँधी चलिरह्यो । 

ब्रिटिस इन्डियाका तत्कालीन शासक लार्ड कर्जनले आफ्नो रानी विक्टोरियाको स्मृतिमा बनाइदिएको यो पार्क ब्रिटिस इन्डिया समयलाई बुझ्ने एउटा आँखीझ्याल पनि हो । सन् १९०६ देखि सुरु भएर १९२१ मा निर्माण सम्पन्न भएको यो पार्क बिहान १० बजेदेखि साँझ ४ः३० सम्म खुला रहन्छ । पार्कको चारैतिर अनेक प्रजातिका हरिया रूख छन् । रूखका फेद–फेदमा बस्ने डेस्कको व्यवस्था गरिएको छ । वरिपरि सुन्दर बगैँचा छ ।

पार्कको मध्यभागमा कृत्रिम पोखरी छ । जहाँ रूखले ऐना हेर्छन् । पार्कभित्र घुमिरहँदा कैयौँ प्रेमी–प्रेमिका त्यही रूखका फेदमा बसेर एक–अर्कालाई अन्तरका कथा सुनाउँदै पार्कलाई पार्कजस्तो बनाइरहेका थिए । पार्कभित्रै एउटा भव्य मुगलशैलीको संग्रहालय निर्मित छ । जहाँ ब्रिटिस शासनको समयलाई बुझाउने ३,००० भन्दा बढी डकुमेन्ट संग्रहित छन् । यो प्रेमको सम्झना पार्कमा पुग्दा संग्रहालय धमाधम पुनर्निर्माणको काम भइरहेको हुनाले संग्रहालयभित्र छिरेर राम्रोसँग अवलोकन गर्न भने पाएनौँ ।

काठमाडौंको झझल्को र कलेज स्ट्रिट
यदि तपाइँ कोलकाताको बडाबजार पुग्नुभयो भने, काठमाडौंको असन या इन्द्रचोकमा हिँडिरहेको छुजस्तो आभास हुनेछ । पुरानो मोडलका घर, मान्छेका भिडभाड र गल्ली उस्तै । एउटा गल्लीबाट पसेर अर्को गल्लीबाट निस्कने चोरबाटा उस्तै । होलसेल पसलदेखि बाटा छेउछेउमा खुद्रे पसल च्याँखे थापेर बस्ने पनि उस्तै । यस्तो लाग्छ, कोलकातामा भएको मान्छे छिनमै काठमाडौं पुगेजस्तो । मान्छेलाई स्मृतिले एकैपटक कहाँ–कहाँ पुर्‍याइदिन्छ ।

सायद काठमाडौंको असन, इन्द्रचोकतिर कुनै वेला हिँडिरहेको सम्झना भएर बडाबजारलाई मैले काठमाडौंजस्तै देखेको । बडाबजार छाडेर महात्मागान्धी रोड निस्क्यौँ । एमजी रोडको किनारमा अवस्थित प्रख्यात कलेज स्ट्रिट क्षेत्रमा गएर रोकियौँ हामी । गान्धी रोडको झन्डै डेढकिलोमिटर लम्बाइ कलेज स्ट्रिट क्षेत्रले ओगटेको छ । कलेज स्ट्रिटमा संसारमा दुर्लभ मानिएका पुस्तकसमेत प्राप्त गर्न सकिन्छ । साना–ठूला गरी सयौँ बुक स्टोर उपलब्ध छन् यस क्षेत्रमा ।

कलेज स्ट्रिटलाई ‘कोलोनी अफ बुक्स’ नामले पनि चिन्न सकिने रहेछ । ‘युनिभर्सिटी अफ कोलकाता’, ‘संस्कृत कलेज एन्ड युनिभर्सिटी,’ ‘पे्रसिडेन्सी युनिभर्सिटी’लगायत आधा दर्जनभन्दा बेसी पुराना शैक्षिक संस्था स्ट्रिटआसपास रहेछन् । २०० वर्षअघि ब्रिटिसले सुरु गरेको कलेज स्ट्रिट, भारतको सबैभन्दा ठूलो पुस्तक बजार हो । सेकेन्ड ह्यान्ड पुस्तकसमेत पाइने कलेज स्ट्रिट, विश्वको सबैभन्दा ठूलो सेकेन्ड ह्यान्ड पुस्तक बजार पनि हो । 

छुटेका इच्छा
इन्डियन म्युजियम जाने इच्छा थियो, छुट्यो । साइन्स सिटी जाने इच्छा थियो, छुट्यो । फोर्ट विलियम जाने इच्छा थियो, छुट्यो । नेसनल लाइब्रेरी जान इच्छा थियो, छुट्यो । मदर टेरेसा हाउस जाने इच्छा थियो, त्यो पनि छुट्यो । यस्तै अरू पनि कैयन ठाउँ जाने इच्छा थियो । ती पनि छुटे । यसरी मान्छेले बाँँच्ने क्रममा के–के छुटाउँछन् जीवनबाट ? गन्दै जाने हो भने हाम्रो गणितले कहिले समाधान निकाल्नेछैन । कहिलेकाही स–साना इच्छामा अड्किरहने हामीलाई हरेक इच्छाको कुरा गरेर किन दुःख दिनु आफैँलाई ? बरु पाएको अवसरमा पूर्णता खोज्नु बुद्धिमत्ता हुन्छ । सायद खुसी भेटिने एउटा बाटो हुन सक्छ यो फर्मुला । पाँचदिने कोलकाता बसाइलाई बिट मार्दै गर्दा, मनलाई यस्तै फर्मुलामा बाँधेर इच्छाको गणित मिलाइरहेँ ।

आइएमई नम्बर
१७ जुलाई २०१५ को साँझ साल्दा रेलवे स्टेसन पुगिसकेका थियौँ प्रदीप र म । कवि चन्द्र घिमिरे र नेपाली जनकल्याण समिति कोलकाताका अध्यक्ष बद्रीविक्रम थापा हामीलाई छोड्न आएका थिए । रेल चढ्नुभन्दा अघि, थापाले जोगबनीसम्मको रेलको टिकट हातमा थमाए । फेरि पाइन्टको भित्री गोजीमा हात घुसारे । भारतीय रुपैयाँका केही नोट निकाले ।

प्रदीप र मलाई बाटोमा खर्च भनेर हात–हातमा थमाए । पैसा समाउँदै मैले भनेँ– ‘अस्ति एजिपी टु हावडा आउँदाको हाम्रो ट्रेन फेयर नि सर ?’ आउने–जाने ट्रेन फेयरको व्यवस्था आयोजकले गर्ने भनिएको थियो हामीलाई । कोलकाता जाँदाको दुईवटा टिकटको फेयर आफैँले तिरेको थिएँ । अप्रत्यासित मेरो प्रश्न सुनेर बद्रीविक्रम थापाका आँखा बिजुली चम्केजस्तै गरी चम्किए ।

ओठमाथिका लामा–लामा जुँगा बेस्सरी हल्लिए । त्यसपछि हड्बडाउँदै थापा सर बोले– अइएमई... आइएमई... गर्दिन्छु म । तपाईंहरू नेपाल... नेपाल... पुगेपछि आइएमई नम्बर पठाइदिन्छु म । हाम्रो संवाद सुनिरहेको प्रदीप भने मुसुमुसु हाँसिरहेका थिए । रेल हिँड्ने समय भइसकेको हुनाले थापा सर बिदा मागेर फर्किए । हामी जोगबनीका लागि छुट्यौँ । कोलकाताबाट फर्केको निकैपछिसम्म प्रदीपले मलाई जिस्क्याइरह्यो– हाव ! आइएमई नम्बर आयो कि आएन भाइ ? तर, प्रदीपले भनेजस्तो त्यो आइएमई नम्बर अहिलेसम्म पनि आएको छैन ।