• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शार्दूल भट्टराई
२०७६ भदौ २८ शनिबार ०८:३६:००
साहित्य

‘मान्छेको नाच’को मनोविज्ञान

२०७६ भदौ २८ शनिबार ०८:३६:००
शार्दूल भट्टराई

किशोरकालमा उनलाई लाग्यो – मानिसले नित्य–नियमित गर्ने काम त गरेकै छन् । बोल्नेले बोलिरहेका छन्, जागिर खानेले खाइरहेका छन्, खेत खन्नेले खनिरहेका छन्, लेख्नेले लेखिरहेका छन्, पढ्नेले पढिरहेका छन्, गाउनेले गाइरहेका छन्, बजाउनेले बजाइरहेकै छन् । यी सब काम भोलि पनि भइरहनेछन् । काम यिनै भए पनि तिनमा नवीनता थप्ने काम गर्न पाए हुन्थ्यो । अरूको भन्दा भिन्न काम गर्न पाए हुन्थ्यो । 

उनलाई ‘नयाँ काम गर्ने’ सुर चढ्यो । परिवारभित्रको ‘साहित्यिक परिवेश’लाई बुझ्दै गरेका उनी ‘यथास्थितिकै लेखन’मा रमाउन चाहँदैनथे । उनी परिवारभित्रकै साहित्यिक परिवेशमा पनि र समग्र नेपाली लेखनमै पनि ‘केही न केही नयाँ काम गरौँ’ भन्ने मानसिकतामा थिए । प्रयत्न गरे, तर सम्भव भएन । आफ्नो पहिलो कथा ‘दश रुपैयाँ’मा उनले भाषाशिल्पका दृष्टिले केही नयाँ गर्न खोजे पनि सकेनन् । त्यस कथाले ‘भिन्न विशेषता’ को मान्यता पाउन सकेन । उही परम्परागत कथालेखनकै शृंखलामा विजय मल्लको उदय भयो । त्यसैले, उनी आफ्नो आरम्भको यात्रासँग सन्तुष्ट रहेनन् ।

 लेख्दै जाने क्रममा अलि टाढा साहित्यकै एउटा धारा देखे विजय मल्लले । पाश्चात्य साहित्यमा प्रमुख धाराका रूपमा रहेको, तर नेपाली साहित्यमा प्रयोग र प्रभावका दृष्टिले कमजोर रहेको त्यो धारा थियो– मनोविज्ञानवादी धारा । यस धारामा उभिएर विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु र गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले केही गरिरहे पनि नेपाली आख्यानमा उनले त्यसलाई पर्याप्त ठानेनन् । त्यसमा घरभित्रको प्रभावले पनि केही काम त ग-यो होला, तर विजय मल्ल आफ्नै मौलिकतामा अगाडि बढे ।

आफ्नो सिर्जनायात्राको दोस्रो चरणमा आएपछि उनको लेखनको प्रमुख धरातल भनेकै मनोविज्ञानवादी धारा बन्न पुग्यो । मनोविज्ञानवादी धाराभित्र पनि यौनजन्य कुण्ठा र ग्रन्थीको अवलोकन गर्नमा उनको भूमिका सबल रह्यो । मनोविज्ञानवादी धाराको त्यो प्रवृत्ति उनको लेखनको विशेषता नै बन्यो । तर, उनको नयाँ किताब‘मान्छेको नाच’मा त्यो विशेषता पाइँदैन । उनी आफ्नो त्यो विशेषताभन्दा भिन्न रूपमा प्रस्तुत भएका छन् यस कृतिमा । 

कथाकार विजय मल्लको नयाँ कथासंग्रह ‘मान्छेको नाच’को सम्पादन गरेका छन् कवि, कथाकार तथा नाटककार अविनाश श्रेष्ठले । साहित्यकार श्रेष्ठ लेखनसँगै सम्पादन कलामा पनि आफ्नो कौशल देखाउन सफल व्यक्तित्व हुन् । उनले सम्पादन गरेका पुस्तक र साहित्यिक पत्रिका नै त्यसका उदाहरण बनेका छन् । ‘मान्छेको नाच’ उनको सम्पादन कलाको पछिल्लो उदाहरण हो । 

साहित्यकार विजय मल्लको मनोवैज्ञानिक मनोविश्लेषणका पाटा अनेक छन् । अचेतन मन, संवेगात्मक स्थितिबोध, विकृत मनोस्नायु, दमित यौनकुण्ठा,यौनजन्य मनोदशा र उन्माद–उत्तेजनाकोे सूक्ष्म निरीक्षण उनका आख्यानको विशेषता हो । तथापि, उनी तिनै प्रवृत्तिका मात्र स्रष्टा भने होइनन् । उनी चेतना, जागरण, विद्रोह र परिवर्तनका पनि स्रष्टा हुन् ।

सामाजिक विसंगति, विकार र भ्रष्टका बारेमा पनि उनका कथा त्यत्तिकै दर्बिला छन् । उनका कतिपय रचना मानिसको जीवन र समयबोधका दृष्टिले चर्चित रहेका छन् । मानवजीवनको मूल्यलाई अवमूल्यनतर्फ अग्रसर गराउने यान्त्रिक र ढोँगी प्रवृत्तिलाई पनि उनले आफ्ना कथामा उतारेका छन् । उनी विज्ञानविरोधी होइनन् । विज्ञानको विकासलाई उनी आवश्यक ठान्छन् । तर, विज्ञान र प्रविधिको विकासबाट हुने ध्वंस र विनाशका भने उनी विरोधी हुन् । आणविक होडबाजी र वैज्ञानिक अस्त्रबाट गरिने युद्धप्रति उनको चर्को विरोध रहेको छ । उनका यस्ता विचार ‘मान्छेको नाच’मा बलशाली ढंगले अभिव्यक्त भएका छन् । 

अन्तरयथार्थको अन्वेषण नै उनको कथाकारिताको विशेषता हो । उनीबाहिर देखिने कुरालाई कृत्रिम यथार्थ मान्छन् । मानिसको आन्तरिक जीवनमा पसेपछि मात्र वास्तविक यथार्थ देखिने मान्यता उनको छ । उनको त्यही मान्यता उनका कथामा पनि प्रस्तुत भएको छ । मनोविश्लेषणात्मक कथामा उनको त्यो मान्यता निकै शक्तिशाली ढंगले उपस्थित भएको छ । यही मान्यतामा यसअघि उनका दुईवटा कथासंग्रह प्रकाशित भएका थिए । निधनको २० वर्षपछि प्रकाशित उनको नयाँ किताब पनि त्यस मान्यताबाट टाढा छैन । 

साहित्यकार विजय मल्ल र अविनाश श्रेष्ठका बीचको सम्बन्ध निकै घनिष्ट रह्यो । झन्डै दुई दशकको त्यो सम्बन्ध ‘साहित्यिक सम्बन्ध’ मात्र थिएन, ‘व्यावहारिक र भावनात्मक सम्बन्ध’ पनि थियो । एकले अर्काको भावनालाई बुझ्ने, जीवनलाई बुझ्ने र लेखनलाई बुझ्ने सन्दर्भमा त्यो समय दुवैका लागि महत्वपूर्ण रह्यो ।

दुई व्यक्तित्वको त्यही घनिष्ट सम्बन्धकै कारण आज मृत्युको २० वर्षपछि पनि विजय मल्लको नयाँ कृतिको प्रकाशन सम्भव भएको छ । त्यसको एकमात्र श्रेयका भागीदार हुन् – अविनाश श्रेष्ठ । कथालेखनमा अविनाश श्रेष्ठ आफैँ अर्का शिल्पी हुन् । एउटा कथाशिल्पीको कृति सम्पादनमा अर्का शिल्पीको संलग्नता आफैँमा प्रशंसनीय कुरो हो । 

विजय मल्लका अनेक ठाउँमा छरिएका कथालाई ‘मान्छेको नाच’मा संग्रहित गरिएको छ । त्यति मात्र होइन, पुस्तकका सम्पादक श्रेष्ठ स्वयंले लेखकको मौखिक अभिव्यक्तिलाई लिखित रूपमा उतारिएको कथा पनि संग्रहमा रहेको छ ।

यस संग्रहको एउटा सुन्दर सिर्जना ‘खण्डहरको कथा’ कथाकार मल्लले आफ्नो अस्वस्थताका कारण यस कृतिका सम्पादक श्रेष्ठलाई बोलेर लेखाएका थिए । पछि त्यसलाई परिमार्जन गरिएको थियो । यस सन्दर्भबाट पनि सम्पादक श्रेष्ठको साहित्यकार विजय मल्लप्रतिको सद्भाव र सम्मानलाई महसुस गर्न सकिन्छ । 

यस कृतिमा सम्पादक श्रेष्ठको २१ पृष्ठ लामो भूमिका रहेको छ । भूमिकामा उनले साहित्यकार विजय मल्लसँगको सम्बन्ध, उनको रचनाशिल्प र प्रस्तुत संग्रहको प्रकाशनसम्बन्धी लामो कथालाई समेटेका छन् । यस कृतिको प्रकाशनबारेमा उनले लिएको चिन्ता, चासो, सक्रियता र संघर्ष लामो छ । एउटा वरिष्ठ लेखकको पाण्डुलिपि र त्यससम्बन्धी २५ पृष्ठ लामो भूमिकासमेत गायब बनाउने नेपाल प्रज्ञा–प्रतिष्ठानको गैरजिम्मेवार भूमिकाबारे सम्पादक श्रेष्ठको मार्मिक अभिव्यक्तिले पनि उनको संघर्षलाई प्रकट गरेको छ । उनी मरिमेटेर नलागेको भए कथाकार मल्लको यो कृति यसरी प्रकाशित हुने अवस्था देखिँदैन । 

मनोविश्लेषणका विशिष्ट कथाकार मल्लका ‘परेवा र कैदी’, ‘अन्तिम भोज’, ‘कालो चस्मा’, ‘यो कथा कसको’, ‘पाटन’, ‘मंगलध्वज ! हात बढाऊ’, ‘घुम्टोभित्र’जस्ता कथा नेपाली साहित्यका उत्कृष्ट कथामध्येमा पर्दछन् । यस कृतिमा रहेका ‘प्रवेश निषिद्ध देश’, ‘खण्डहरको कथा’, ‘मान्छेको नाच’, ‘इन्जिनियरको टाउको’, ‘२४० नम्बरको ट्याक्सी’, ‘खेल’, ‘माया पोख्ने भाँडो’जस्ता कथाले कथाकार मल्लको कथाकारिताको त्यही उचाइलाई सम्बोधन गरेको अनुभव हुन्छ । यस कृतिमा १५ वटा कथा संग्रहित छन् ।

पहिलेका संग्रहमा रहेका दुईवटा कथालाई परिशिष्टका रूपमा संग्रहमा समावेश गरिएको छ । त्यसबाहेक ‘श्रीमती शारदा’ शीर्षकको लघु उपन्यास पनि संग्रहित छ । साहित्यकार विजय मल्लले जीवनको अन्तिमतिर लेखेको यस उपन्यासले कृतिको महत्वलाई अझै बढाउने काम गरेको छ ।  

यस संग्रहका कथालाई नै आधार मान्ने हो भने उनलाई यौन मनोविज्ञानका कथाकार भन्ने आधार भेटिँदैन । यस संग्रहमा आफ्नो मूल प्रवृत्तिभन्दा फरक धारमा प्रस्तुत भएका छन् कथाकार विजय मल्ल । 

‘मान्छेको नाच’मा कथाकार मल्लका नयाँ र पुराना कथाको सम्मिश्रण पाइन्छ । उनको सिर्जनायात्राको पहिलो चरणमा लेखिएका पाँचवटा कथासंग्रहमा रहेका छन् । तिनमा ‘दश रुपियाँ’, ‘खेल’, ‘जदुकृष्ण म-यो’, ‘दिदीबहिनी’ र ‘२४० नम्बरको ट्याक्सी’ रहेका छन् ।

त्यस्तै, दोस्रो चरणमा लेखिएको कथा ‘मान्छेको नाच’ यस संग्रहमा समेटिएको छ । त्यसबाहेक ‘खण्डहरको कथा’, ‘अन्तिम चाल’, ‘सन्निपात’, ‘मुक्त’, ‘पर्खाल’, ‘माया पोख्ने भाँडो’, ‘हतियार’, ‘इतिहासमा नलेखिएको सहिद’लगायतका कथा पछिल्लो चरणमा लेखिएका हुन् । परिशिष्टका रूपमा रहेका दुईवटा कथामा ‘प्रवेश निषिद्ध देश’ र ‘इन्जिनियरको टाउको’छन् । यी दुवै कथा विज्ञानाश्रित स्वैरकल्पनामा आधारित छन् । उनका कथामा पात्रहरूको कार्यव्यापारलाई मानसिक अन्तरक्रियाको विषय बनाएर प्रस्तुत गर्ने गरिएको पाइन्छ । यसलाई उनको कथाकारिताको फरक शिल्पकै रूपमा लिनुपर्छ । 

यौन–मनोविज्ञान र समाज–मनोविज्ञानका दृष्टिले मनोविज्ञानवादी धारा नै कथाकार विजय मल्लको खास प्रवृत्ति हुँदाहुँदै पनि प्रस्तुत संग्रहमा यौन–मनोविज्ञानका कथा छैनन् भने पनि हुन्छ । यस संग्रहका कथाले उनको मूल प्रवृत्तिको प्रतिनिधित्व गर्दैनन् ।

संग्रहका सबैजसो कथा सामाजिक विकृति, विसंगति, न्याय, अन्याय, भ्रष्टता, षड्यन्त्र, स्वतन्त्रता, पारिवारिक विघटन, संवेदना, प्रेम, करुणाजस्ता विषयमा छन् । यस संग्रहका कथालाई नै आधार मान्ने हो भने उनलाई यौन–मनोविज्ञानका कथाकार भन्ने आधार भेटिँदैन । यस संग्रहमा आफ्नो मूल प्रवृत्तिभन्दा फरक धारमा प्रस्तुत भएका छन् कथाकार विजय मल्ल । 

उनले ‘खेल’ कथामा अहिलेसम्म पुरुषले महिलालाई पुतली खेलाएझैँ खेलाए, अब महिलाले पुरुषलाई नै पुतली खेलाएझैँ खेलाउनु पर्छ भन्ने निष्कर्ष प्रस्तुत गरेका छन् । यही निष्कर्षबाट पनि उनको सामाजिक सरोकारलाई अनुभूत गर्न सकिन्छ । यस संग्रहका उनका कथा यौन–मनोविज्ञान होइन, समाज–मनोविज्ञानमा आधारित देखिन्छन् । 

सम्पादक अविनाश श्रेष्ठले कथाकार मल्लको लेखन प्रवृत्तिका आधारमा उनको सिर्जनात्मक यात्राको विवेचना गरेका छन् । सम्पादक श्रेष्ठका विचारमा विजय मल्ल आरम्भदेखि नै विषयवस्तुको चयनमा सचेत कथाकार हुन् । तथापि, उनका सुरुका कथामा वैचारिक र शिल्पगत परिष्कार त्यति भेटिँदैन । पछि उनको अध्ययन, मनन र कथा लेखनको क्रम बढेसँगै उनमा वैचारिक र शिल्पगत परिपक्वता बढेको हो ।

प्रारम्भिक चरणमा उनले सामाजिक समस्या, अनुराग, विसंगति, सामाजिक न्याय, मृत्युबोध आदिलाई सारवस्तु बनाएर कथा लेखे भने दोस्रो चरण उनको कथा लेखनको चरम उपलब्धिको अवधि रह्यो । यस अवधिमा लेखिएका कथाले प्रवृत्तिगत हिसाबले समेत ठूलो फड्को मारे ।

यस अवधिमा अपराधसम्बन्धी मनोविज्ञानाश्रित कथ्य, असामान्य मनोविज्ञानमा आधारित मनोविकार, अचेतन मनको दमित यौनकुण्ठा, स्वैरकल्पनाको प्रयोग, विज्ञानको विकासमा मानवताविरोधी आणविक हतियारको विरोध, नारी अस्तित्वको बोध आदि विषय उनको लेखनका प्रमुख प्रवृत्ति बन्न पुगेको निष्कर्ष सम्पादक श्रेष्ठको रहेको छ । 

कथाकार मल्लले ०३७ सालपछि दश वर्षसम्म एउटै कथा लेखेनन् । दश–दश वर्षसम्म उनले कथा नलेख्नुको कारण के होला ? यो प्रश्न भने फेरि पनि प्रश्नकै रूपमा रहेको छ । सम्पादक श्रेष्ठले पनि त्यो दश वर्षलाई उनको कथालेखनको काल विभाजनसम्बन्धी चरणबाटै हटाएका छन् । त्यस अवधिलाई उल्लेख नै नगरी त्यसपछिको समयलाई मात्र उनले विजय मल्लको कथाकारिताको पछिल्लो चरण मानेका छन् जुन चरणका धेरै कथा यस संग्रहमा रहेका छन् । 

‘दश रुपियाँ’ कथाकार मल्लको पहिलो कथा हो भने इतिहासमा ‘नलेखिएको सहिद’ र ‘श्रीमती शारदा’उनका अन्तिम सिर्जना हुन् । पहिलो रचना विसं. २००० मा प्रकाशित भएको थियो भने अन्तिम कथा र लघुउपन्यासको सिर्जना विसं. ०५५ सालमा भएको हो । दुवै समयका रचना मान्छेको नाचमा संग्रहित छन् । अन्य कथाबीचको अवधिका छन् ।

लेखनयात्राको समयक्रममा शिल्पको विकास हुनु स्वाभाविक कुरो हो । तर, उनका सुरुका कथा पनि कमजोर छैनन् । ५५ वर्षको लेखनयात्रामा उनको अन्तिम रचनाको तुलनामा पहिलो रचना कमजोर छ भन्ने आधार भेट्टाउन सकिँदैन । समय, जीवन र विषयको प्रतिनिधित्व गर्ने सन्दर्भमा सबै कालखण्डका कथामा उनको उपस्थिति प्रभावशाली रहेको छ ।  

विजय मल्ल विषय र शिल्पका हिसाबले प्रयोगशील साहित्यकार हुन् । कविता, कथा, उपन्यास र नाटक उनका लेखन विधा हुन् । यी चारवटै विधामा उनको त्यो शिल्प प्रयोग भएको छ । ‘मान्छेको नाच’मा पनि उनको त्यो शिल्पको प्रयोग भएको छ ।

पचहत्तर वर्षअघि लेखिएको उनको कथा ‘दश रुपियाँ’ आज पढ्दा पनि पुरानो र कमजोर कथा पढेजस्तो लाग्दैन । आज राम्रा भनिएका कतिपय नयाँ कथाभन्दा ७५ वर्षअघिको त्यही पुरानो कथा बरु नयाँ र स्तरीय लाग्छ । यस्तो लाग्नु पनि कथाकार मल्लको कथाशिल्पकै प्रभाव हो । एउटा स्तरीय कृतिको सम्पादनमा साहित्यकार अविनाश श्रेष्ठले पु¥याएको योगदान प्रशंसनीय रहेको छ ।