• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
उज्ज्वल प्रसाईं
२०७६ भदौ २८ शनिबार ०८:४३:००
साहित्य

शासकका स्तुतिभन्दा जगजित सिंहका भजन मज्जा

किताब–वार्ता

२०७६ भदौ २८ शनिबार ०८:४३:००
उज्ज्वल प्रसाईं

अचेल के पढ्दै हुनुहुन्छ ?
सर्भान्तेसको ‘डन किहोते’ अनि खुर्सिदुल इस्लाम र राल्फ रसेलले संयुक्त रूपमा लेखेको ‘थ्री मुघल पोएट्सः मीर, सौदा, मीर हसन’ । इतिहासमा हुँदै नभएको आदर्श युग वर्तमानमा फर्काउन हिँडेको अलोन्सो क्विजानो नामको पात्र डन किहोतेमा परिवर्तन भएको कथाले वर्तमानबारे सोच्न सघाएको छ । इस्लाम र रसेलको किताबमा अठारौँ शताब्दीमा मुघल साम्राज्य मक्किँदै जाँदा बढेका हिंसा र अस्तव्यस्तताबीच दिल्लीवाले तीन कविले गरेका कामबारे रोचक वर्णन छ । 

पछिल्लो समय पढेको असाध्यै मन परेको किताब ?
पछिल्लो समय मैले केही उपन्यास पढेको थिएँ । तीमध्ये मलाई अतिफ नुमेयर चौधरीको ‘बाबु बंगलादेश’ र अमिताभ घोषको ‘गन आइल्यान्ड’ मन परे । लेखक चौधरी प्रकाशकलाई पाण्डुलिपि बुझाएपछि दुर्घटनामा परेर बिते ।

नौला प्रयोगद्वारा भनिएको गजब कथा छोडेर गएछन् । बंगलादेशको ‘लिबरेसन वार’बारे गहिरो बुझाइसहित लेखिएको तहमिमा अनमको ‘अ गोल्डन एज’पछि यो उम्दा उपन्यास हो ।

उपन्यासभित्र एक अनौठो पात्रको जीवनी लेख्ने सिलसिला खडा गरेर बंगलादेशको इतिहासबारे पाठकलाई घन्टौँ सोचमग्न बनाउन सफल छ यो कृति । अमिताभ घोषले पछिल्ला केही वर्ष पर्यावरणबारे चिन्तन गरे । बंगालको सुन्दरवनदेखि अमेरिका हुँदै भेनिससम्म पुग्छ ‘गन आइल्यान्ड’ ।

पर्यावरणीय संकटबाट उत्पन्न विचित्र घटना, बसाइसराइ एवं शरणार्थी जीवनका जटिलतालाई मिथक, किंवदन्ती र इतिहासका पहलुमार्फत सम्बोधन गर्न खोजेका छन् उनले । यो उपन्यास पढ्नुअघि उनको ‘द ग्रेट डिरेन्जमेन्ट’ नामको गैर–आख्यान कृति पढे राम्रो ।    

नेपाली साहित्यमा प्रकाशितपछिल्ला आख्यान/गैरआख्यानमाथि तपाईंको टिप्पणी के छ ? 
लेख्ने र प्रकाशन गर्ने काममा वृद्धि भएको छ । जीवनमा एकपटक लेखक बनिदिऊँ र एउटा किताब छापिदिऊँ न भनेर रमाइलो गर्न चाहने पहुँचवालालाई सहज छ । साहित्यिक कृतिहरू हेर्दा मैजस्ता सिकारु लेखकहरूको हल्लाखल्ला ज्यादा देखिन्छ । गैरआख्यानमा ठीकै कृति आएका छन् भन्ने सुनेको छु, सबै पढ्न भ्याएको छैन । पढेकामध्ये धेरै राष्ट्रवादी प्रोपोगान्डा थिए । हुँदै नभएको स्वर्ण युग फर्काउन स्याँस्–याँ गर्दै लेखेको भान हुन्छ ।   

पाठकलाई कस्ता किताब सिफारिस गर्न चाहनुहुन्छ ?
मेरो कुनै खास सिफारिस छैन । रुचि हुने विषयका किताब खोजेर पढ्ने हो । जोसुकैले साहित्य पढ्नुपर्छ जस्तो लाग्छ– त्यो वैज्ञानिक होस् वा वकिल, नेता होस् वा खजान्ची । कसैले कविता कहिल्यै पढ्दिनँ भनेको सुन्दा झोंक चल्छ । संवेदना झंकृत तुल्याउन, भाषाको सामथ्र्य महसुस गर्न र दुनियाँका जटिलतालाई केही हरफमा खिँचेकामा मुग्ध हुन कविता पढ्नुपर्छ । गार्सिया लोर्का र पाब्लो नेरुदा, अघा सहिद अली र इम्तियाज धार्कर, राइनर मारिया रिल्के र पारिजात, मोहम्मद डार्विस र स्वप्निल स्मृति, यस्ता मान्छेलाई नपढे अपूरै मरिन्छ ।  

कस्ता किताब वा सामग्री पढ्न नपरे हुन्थ्यो जस्तो लाग्छ ? 
अखबारमा कुनै चिन्तकलाई नबुझी, उसका महत्वपूर्ण तीन–चार किताब पनि नपढी विकिपिडियाबाट टिपेका आधारमा छाँटेका पाण्डित्याइँ पढेर थाकियो । अन्दाज गरेर, दुई–चार पंक्ति पढेर त्यस्ता ‘महान् कृति’ पूरा पढ्नबाट जोगिने र अनिकालको ऊर्जा बचत गर्ने निधो गरेँ । विश्लेषण पो पढ्नु, स्वाङ त के पढिरहनु, होइन ? शासकका स्तुति पढ्नुभन्दा जगजित सिंहले गाएका भजन सुन्न मज्जा ।  

आफूले पढ्ने किताब कसरी छनोट गर्नुहुन्छ ? 
आजकल कामले किताबको खोजी गर्छ । कुनै विषयमा लेख्न पर्ने भयो भने त्यस विषयबारे किताब खोजेर पढ्ने हो । यसरी पढेबाहेक किताबको छनोट गर्ने आधार मन परेका लेखकले उद्धृत गरेका किताब, बौद्धिक मित्रले सुझाएका सामग्री र आफूले पत्याएका अखबारे समीक्षकले लेखेका समीक्षाका आधारमा पुस्तक छनोट गर्छु । कहिलेकाहीँ पुस्तक पसलका -याकबाट अन्धाधुन्ध हातमा लिएर दुई–चार पृष्ठ पढेपछि किनेका किताब पनि छन् । 

गैरआख्यानमा ठीकै कृति आएका छन् भन्ने सुनेको छु, सबै पढ्न भ्याएको छैन । पढेकामध्ये धेरै राष्ट्रवादी प्रोपोगान्डा थिए । हुँदै नभएको स्वर्ण युग फर्काउन स्याँ–स्याँ गर्दै लेखेको भान हुन्छ । 

पढ्नुलाई तपाईं के सोच्नुहुन्छ ? आनन्द, बाध्यता कि ज्ञानको अभीप्सा ?
आनन्दको स्रोत नहुँदो हो त यसबारे यत्रो गफ छाँट्ने धैर्य हुँदैनथ्यो । पढाइ मेरो जीविकोपार्जनको माध्यम हो, व्यक्तित्वको आलम्ब हो, बोल्ने र लेख्ने ऊर्जा हो, असल संगत बढाउने माध्यम हो, थोत्रा जकडबन्दबाट मुक्तिको यत्न पनि हो । अलि–अलि पढ्ने बानी नहुँदो हो त म सम्भवतः राष्ट्रवादी, नश्लवादी, बाहुनवादी र भालेवादी हुने थिएँ । यी सबै ‘वाद’का धेरथोर प्रभाव अहिले पनि ममा होलान्, अरू पढ्न सके असल मान्छे बन्ने थिएँ ।  

पठनले आफूलाई बदलेको दाबी गर्नुभयो । यसबारे केही  रोचक उदाहरण ?
महेशचन्द्र रेग्मी, कुमार प्रधान, शुक्र सागर श्रेष्ठ, प्रत्युष वन्त, राजेन्द्र महर्जन, आहुतिलगायतलाई पढ्न नपाएको भए सिंगो इतिहास विषयलाई म केही कुलीनहरूको बपौती सम्झिरहेको हुन्थेँ ।

हिस्टोरियोग्राफीको बुझाइबारे सिएच कार, रोमिला थापर, दीपेश चक्रवर्ती र मार्क फेर्रोलगायतले उलटफेर गरिदिए । बेल हुक्स, निवेदिता मेनन र सेरा तामाङका निबन्ध र किताब नै मस्तिष्क कब्जा गरेको पितृसत्ताका लागि चुनौती थिए । पाउलो फ्रेरेको ‘पेडागोजी अफ द अप्रेस्ड’, हेन्री जिरुको ‘पेडागोजी एन्ड द पोलिटिक्स अफ होप’ वा अभिजित पाठकको ‘रिकलिङ द फर्गटन’ नपढेको भए शिक्षालाई बिक्रीयोग्य सर्टिफिकेट उत्पादन गर्ने उद्यमभन्दा बढी बुझ्ने थिइनँ । नोम चोम्स्की नपढेको भए अखबारलाई वा जोसेफ स्टालिनलाई अहिलेजति सन्देह गर्ने थिइनँ ।    

तपाईं सानो छँदा घरमा वा स्कुलको पुस्तकालयमा कस्ता खालका किताब थिए ?
सानो छँदा घरमा स्थानीय लेखकका केही किताब थिए । पत्रिका पसलमा पाइने ‘विस्डम’ र ‘नवयुवा’जस्ता पत्रिका धेरै पढेँ । उमेर बढ्दै गएपछि पारिजात, बिपी कोइराला, शंकर लामिछाने, धच गोतामे, खगेन्द्र संग्रौलाहरू पढेँ । मूल्यांकन प्रकाशनले प्रकाशन गरेका थुप्रै सूचनामूलक र ज्ञानवद्र्धक सामग्री पढेँ । 

तपाईंको निजी संकलनमा कति किताब छन् ? तीमध्ये प्रिय पाँचको लिस्ट बनाउनुस् न !
- भएका किताबको संख्या गनेको छैन । किताब सुरक्षित राख्न हम्मे छ । किताबकै लागि भनेर लिएको छुट्टै कोठाको भाडा तिर्न उस्तै समस्या ।
- होर्खे लुइस बोर्खेस : कलेक्टेड फिक्सन्स र कलेक्टेड नन फिक्सन्स
- रोमिला थापर : द हिस्टोरियन एन्ड हर क्राफ्टको सेट 
- जेम्स बाल्डविन : कलेक्टेड एसेज 
- अरुन्धती रोय : माई सेडिसस् हार्ट 
- लुई अल्थुसर : द फ्युचर लास्टस् अ लङ टाइम
 

पुस्तकालयविनाको संसारको कल्पना गर्न सक्नुहुन्छ ?
पुस्तकालयविनाको संसार कल्पना होइन, यथार्थ थियो मेरा लागि । म विद्यार्थी छँदा घर र विद्यालय नै मेरो संसार थियो, जहाँ पुस्तकालय थिएनन् । विद्यालयको पढाइ सकिएपछि खुलेको सार्वजनिक पुस्तकालयले मेरै आँखा अघिल्तिर मृत्युवरण ग¥यो । संसारका अरू कुनामा पनि पुस्तकालय हुँदैनथे भने खोइ म के हुन्थेँ, थाहा छैन ।

पुस्तकालयविना कार्ल माक्र्स बिचराले के गर्थे होलान् ? ‘कम्युनिस्ट मेनिफेस्टो’ र ‘इकोनोमिक एन्ड फिलोसोफिक म्यानुस्क्रिप्ट’ नपढेको भए अर्कै केही भइन्थ्यो होला । बोर्खेसले ‘द अलेफ’ र ‘लाइब्रेरी अफ बेबल’ जस्ता कथा कसरी लेख्थे ?

बोर्खेसले त्यति लामो समय पुस्तकालयमा काम नगरेको भए, उनले किताब पढेर सुनाइमाग्न अल्बर्टो म्यान्गुयललाई नबोलाएको भए तिनले बोर्खेसका किताबी किस्सा सुनाएर मलाई दंगदास कसरी बनाउँथे ? पुस्तकालयविना न मसँग सारामागो हुन्थे, न जेम्स बाल्डविन, न टोनी मरिसन नै । महेन्द्रमाला मात्रै पढेर त के बाँच्नु, धत् !