• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सरिता समदर्शी
२०७६ भदौ २८ शनिबार ०८:५२:००
सम्झना

एउटा शताब्दीको अन्त्य

स्मृतिमा हायमनदास राई

२०७६ भदौ २८ शनिबार ०८:५२:००
सरिता समदर्शी

नेपाली साहित्यका प्रसिद्ध लेखक हायमनदास राई किरातको एक सय १ वर्षको उमेरमा असार ३० मा निधन भयो । बंगालको गोरुबाथन डुवर्सस्थित आफ्नै निवासमा बिहान साढे १० बजे उनी अस्ताए । 

छोटो कद, चिम्से आँखा, हँसिलो रसिलो व्यवहार... । यही रूपमा भेटेकी हुँ पहिलोपटक सन् २००८ मा । सिलिगुढीबाट लगभग ६० किमि दूरीमा अवस्थित डुवर्स भूमिसँग सीमा गाँसिएको क्षेत्र कालेबुङकै एक भाग गोरुबथानको शिर उत्तरेमा रहने उनी अन्ततः नेपाली साहित्यका पनि शिर नै बने ।

सोमबारे बजार केन्द्र हो आहाले, मिसनहिल चियाकमान, फागू चियाकमान, अम्बियोक चियाकमान, गोरुबथान टार आदि क्षेत्रको । हो, त्यही सोमबारे बजार भएर उँभो चढ्दा अग्ला–अग्ला गुवाका बोटहरूसँगै हरियाली पाखाको माझबाट पुग्न सकिन्छ किरात कुटी । मूल बाटोबाट दुई मिनेटको दूरीमा हरिया रूखपात, फलफूलका बोटहरूमाझ गजधम्म बसेको कोठीघर नै किरात कुटी हो । 

स्व. रविचन्द्रदास राई र स्व. रत्ना राईका पुत्रका रूपमा ११ फरवरी १९१९ को दिन जन्मिएका किरात कविर पन्थी थिए । शिक्षण पेसामा आबद्ध उनी जीवनको उत्तराद्र्धमा खेतीकिसानीमा रमाए ।

गोरुबथानमा शिक्षाको केन्द्रबिन्दु रहेको तिनताकको मिसन स्कुलमा प्रारम्भिक शिक्षा ग्रहण गरेपश्चात् मिरिकको मिडल स्कुल, दार्जिलिङको सरकारी उच्च विद्यालय, गोरुबथानकै युद्धवीर उच्च माध्यमिक विद्यालय गरेर आठौँ श्रेणी पढी सिध्याएपछि उनको पढाइ रोकियो । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ विभिन्न काममा हात हालेर पनि स्वअध्ययनद्वारा उनले प्रवेशिका र स्नातक तह पास गरे । उनको औपचारिक शिक्षाको कथा रोचक छ ।

किरातले आफू ७० वर्षको उमेर पुगेपछि नेपाली विषयमा स्नातकोत्तर अर्थात एमए गरेका हुन्, जुन लरतरो कुरा भने होइन । ‘एउटा काम सिद्ध गरे अर्को काम गर्ने जाँगर बढ्छ’ भन्ने किरातले पाको उमेरमा पनि स्नातकोत्तर गर्नु चानचुने होइन । आफ्नो जीवनको अधिकांश समय शिक्षण पेसामा खर्चिने किरात राजनीतिक चेत भएका व्यक्तित्व थिए ।

डम्बरसिंह गुरुङको सान्निध्यमा गोर्खा लिगका सदस्यसमेत रहेका उनलाई डम्बरसिंह गुरुङकै बाबुका नाममा स्थापित युद्धवीर उच्चतर विद्यालयप्रति गर्व थियो । पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली र रूपनारायण सिंहका समयमा दार्जिलिङे साहित्यिक गतिविधि अति नै सन्तोषप्रद रहेको बताउँथे उनी ।

बनारसबाट आउने हातिमताई, विक्रम बेतालका कथाहरू, धरणीधरका जागरणमूलक कविताहरू क्रमशः ६ आना र १२ आनामा किनेर पढेको सम्झना गर्थे । गोरुबथानमा फस्टाउँदै गएको गतिविधिप्रति गर्व गर्ने उनी साहित्यकारमा राम्रो संगत, जाँगर र लगनशीलता हुनुपर्ने कुरामा जोड दिन्थे अनि जीवनमा हार कहिले मान्न नहुने कुरा गर्थे । उनी भन्थे, ‘जुधेर लड्ने मान्छे योद्धा हुन्छ हारेर भाग्ने मान्छे हरूवा हुन्छ ।’

प्रकाशक किरात
प्रारम्भमा ‘शारदा’,‘उदय’,‘परिवर्तन’,‘गोर्खा’ आदि पत्रपत्रिकामार्फत आफ्ना रचना (मुख्यतः कथाहरू ) प्रकाशित गर्ने किरातले कालान्तरमा गोरुबथानमै प्रकाशनको चाँजो मिलाएर नेपाली साहित्यलाई उत्थानको चरमबिन्दुमा पु-याए ।

गाउँमा दाइँ गर्न भेला भएका वेला गरिएको सल्लाहअनुसार, सन् १९५६, २१ दिसम्बरको दिन राईको तत्परतामा हर्क राई, भूपतदास राई, मंगलदास राई, एसएस राई, पिएसराई, एनएस राई आदिको सत्प्रयासमा एउटा संस्था गठन गरिन्छ, ‘नवयुग नेपाली पुस्तक मन्दिर’ । त्यो संस्थाले पछि विविध विधाका पुस्तकहरू प्रकाशित गरेर नेपाली साहित्यको भण्डार भर्ने काम मात्र गरेन, इन्द्रबहादुर राई, ओकिउयामा ग्वाइन आदिलाई जनमानसमा चिनाउने कामसमेत गरेको हो ।

हायमनदास राई किरात भन्थे, ‘जुधेर लड्ने मान्छे योद्धा हुन्छ, हारेर भाग्ने मान्छे हरुवा हुन्छ ।’

मोहन दुखुनले भनेका छन्, ‘एक समय थियो नेपाल, दार्जिलिङ र आसामले गोरुबथानको नवयुग साहित्य मन्दिरको दया–मायामा आफ्ना पुस्तक प्रकाशित गर्नुपथ्र्यो ।’ ‘नवयुग’का ११ जना सदस्यहरूबाट मासिक शुल्क १० रुपैयाँ उठाएर बनारसमा गरिन्थ्यो त्यस बेलाका पुस्तकहरूको मुद्रण । प्रकाशित पुस्तकको बिक्री व्यवस्थापन भने दार्जिलिङको श्याम ब्रदर्सबाट हुने गथ्र्यो ।

पुस्तक प्रकाशित भएपछि ५ प्रति कचहरी र ३ प्रति पुस्तकालयमा बुझाउनुपर्ने नियम थियो त्यसवेला । नवयुग मन्दिरले केशवलाल राई, डा. भूपतदास राई, इन्द्रबहादुर राई, अगमसिंह गिरी, हरिभक्त कटुवाल, गुमानसिंह चामलिङलगायत लेखकका किताब प्रकाशित गरेको छ । कालान्तरमा संस्था निष्क्रिय बन्न पुग्छ । तर, किरातको लेखन सक्रिय रहिरहन्छ मृत्युपर्यन्त । 

कथाकार किरात 
काठमाडौंबाट प्रकाशित ‘शारदा’ पत्रिकामा १९९२ मा प्रकाशित ‘शूरवीर’ शीर्षक कथा नै उनको पहिलो प्रकाशित कथा हो । उनको कथा लेखनमा समसामयिक आधुनिकता पाइँदैन । कथाको वस्तु अनि भाषामा पाइने सरलता नै किरातका कथाका विशेषता हुन् । किरातका विज्ञान कथा, संवादात्मक कथा, पत्रात्मक कथा, ऐतिहासिक कथा पनि प्रकाशित छन् ।

मानववादी चिन्तन, अतीतस्मृति, भावुकता, प्रेमको सरलीकरण उनका कथामा पाइने अन्य पक्ष हुन् । ‘प्रेमप्रसुन’, ‘चौकिदार’, ‘बटुवा’, ‘अभागिनीको साथी’, ‘बिनायो’, ‘आँधीबेह्री’ उनका चर्चित कथा–किताब हुन् । कथा विधालाई मात्र प्राथमिकता दिएको हुनाले कहिले पनि आफू साहित्यभन्दा अघि पुग्न नसकेको, तर साहित्यलाई पछ्याउन नछाडेको बताउँथे । कथाबाहेक ‘सद्गुरु’, ‘बन्दना’, ‘असार’, उनका चर्चित कविता–किताब हुन् । 

पहिलो भेटमा रूप धेनु स्मृति विश्रामकक्षमा बसेर गोरुबथानको नामकरणबारे सोधेकी थिएँ । अलि कडा आवाजमा स्पष्ट बोलेका थिए उनी, ‘आफ्ना बाजेहरू लगभग ११८ (वार्तालापको समय ) अघि गोरुबथान आएर बसेका हुन् भने तिनताक ठेकेदारहरूले जंगल फाँडेर कमान मालिकका घरहरू निर्माण गरेका हुन् ।

गोरुबथान टारमा वरिपरिबाट मिथुन (जंगली गोरुहरू) पानी पिउन आउँथे रे जसको प्रत्यक्ष प्रमाण आज पनि पानीविनाका कुवाहरू देख्न सकिन्छ । मृत्युपर्यन्त लेखन र प्रकाशनमा व्यस्त रहिरहेका नेपाली साहित्यका अथक परिश्रमी राईले शताब्दी वर्ष पार गरेर आज नश्वर चोला त त्यागेका छन्, तर कृति र कीर्तिका माध्यमबाट उनले अमरत्व प्राप्त गरिसकेका छन् ।