• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ २८ शनिबार ०९:०९:००
साहित्य

गीतले पनि शासन गर्छ

गीति–संवाद

२०७६ भदौ २८ शनिबार ०९:०९:००

तीसको दशकदेखि काव्य क्षेत्रमा क्रियाशील कवि तथा गीतकार भूपाल राईको पछिल्लो गीतिसंग्रह ‘सेवान्ने जिन्दगी’ पाठकमाझ आएको छ । उनीसँग राजु स्याङ्तानले गरेको गीति संवाद : 

‘सेवान्ने जिन्दगी’ कस्तो गीति काव्य हो ?
सेवान्ने भनेको जिन्दगीलाई नमस्ते, दर्शन र सलाम गरेको हो । संग्रहमा जीवन, जगत् र समाजसँग जोडिएका गीतहरू छन् । 
पुस्तकको भूमिकामा काव्य साधनालाई धागो कातिरहने रेसम किरासँग तुलना गर्नुभएको छ । किन ? 
रेसम किराले धागो छाड्छ, त्यो धागो उसले प्रयोग गर्दैन । धागो अरूले नै प्रयोग गर्छ । त्यही धागो कातेर कसैले पच्छ्यौरी सिउँछ, कसैले अन्य लुगा सिउँछ । स्वयं रेसम किराचाहिँ सधैँ नांगो रहन्छ । त्यस्तै गीतकारले गीत रचना गर्छ, संगीतकार, गायकगायिका र श्रोताले आ–आफ्नै किमिसले उपभोग गर्छन् । अनि स्वयं गीतकारचाहिँ सधैँ नांगो रहन्छ भन्ने अर्थमा काव्य साधनालाई रेसम किरासँग तुलना गरेको हुँ । 

त्यसो भए सबै गीतकार रेसम किराजस्तो मात्रै हुन् त ? 
सबै गीतकारलाई भन्न सक्दिनँ । अहिलेको कति गीतकार व्यावसायिक पनि भएका छन् । तर, जुन समयबाट मैले गीत लेख्न सुरु गरेँ, त्यतिवेला गीतकारहरू व्यावसायिक थिएनन् । त्यसवेला सोख र काव्यिक हुटहुटीले मात्रै गीत लेखिन्थ्यो । अहिले गीतकार पनि व्यावसायिक भएका छन्, बजारसँग गाँसिएका छन् । रेसम किराको जस्तो अवस्था अहिलेका गीतकारको छैन । तर, अहिले पनि धेरै गीतकारहरू रेसम किराजस्तै नांगै छन् ।

तपाईंका विद्रोहात्मक कविताहरू धेरै छन् । तर, गीतिकाव्यमा चाहिँ मायाप्रेमका गीतहरू पनि धेरै देखिए । प्रेम कविताचाहिँ के लेख्नै नहुने हो र ? 
नेपालमा गीतकारिताको परम्परा प्रणय प्रीतिको गीत लेखनीबाट अगाडि बढेको छ । पहिला रेडियो नेपालमा गीत बजाउन पनि प्रणय प्रीतिकै गीत चाहिन्थ्यो । त्यसो हुँदा जबर्जस्ती पे्रेम गीत पनि लेखिन्थ्यो । तर, गीत भन्नेबित्तिकै प्रेमगीत नै लेख्नुपर्छ भन्ने छैन । गीत कविताभन्दा सूक्ष्म तत्व हो । त्यसैले गीतमा स्वाभाविक रूपमा प्रणय प्रीतिका गीतहरू मिसिन आइपुग्छ । कवितामा दर्शन र विचारका भेग कुरा अलि गर्न सकिन्छ । यी तत्वहरू गीतमा पनि हुन्छ । गीत र कविता त्यति फरक छैन । गीत पनि कविता नै हो । मैले प्रेम कविता पनि लेखेको छु ।

संग्रहमा ‘यु के कम्पनी, अझै कति देख्छौ तिमी सुनको सपनी’ बोलको एउटा गीत छ । भूपाल राईहरू यु के कम्पनीविरुद्ध गीत लेखिरहने, युवाहरूचाहिँ उतै भर्ती हुन छाती नापिरहने । यस्तो किन हुन्छ ? 
यो निकै गम्भीर प्रश्न हो । लगभग दुई सय वर्षअघिदेखि लाहुर जान बाध्य छौँ हामी । लाहुरे प्रचलनले हाम्रो समाजलाई आक्रान्त बनाएको छ । त्यसको सांकेतिक कुरा मात्रै गरेको हुँ, गीतमार्फत । हामी गीत लेखिरहेका छौँ, मान्छेहरू गइरहेका छन् । यो प्रचलन हामीलाई राज्यसत्ताले नै थोपरेको हो ।

हाम्रो समाजमा लाहुरे संस्कृति र लाहुरे अर्थतन्त्र भित्रिएको छ । यो लाहुरे संस्कृति कुनै जाति र समुदाय विशेषमा मात्रै किन केन्द्रित छ भन्ने मेरो प्रश्न हो । कुनै निश्चित जातिमा मात्रै लाहुरे संस्कृति केन्द्रित भएकाले त्यो जाति नै यतिवेला जोखिममा छ । लाहुरे संस्कृतिबाटै हामी ग्रसित भइरहने हो भने राजनीति र अर्थतन्त्रको मूलधारमा अझै हामी पछाडि नै पर्नेछौँ । त्यही जोखिम देखेर यो गीत लेखेको हुँ । 

तपाईंका अधिकांश गीतमा परम्परागत बिम्बहरू छैनन् । गीतमा किरात समुदायमा प्रचलित शब्दहरू धेरै छन् । तपाईं समग्र नेपालको गीतकार बन्नुपथ्र्यो, आफ्नै समुदायको साँघुरो घेराभित्र खुम्चिएको गीतकार मात्रै बन्नुभयो पनि भनिन्छ नि ।

नेपालमा एउटा समुदाय सयौँ वर्षदेखि अगाडिको अगाडि नै भयो । अर्को समुदाय सयौँ वर्षदेखि पछाडिको पछाडि नै भयो । सबैका लागि लेखिने गीतको कुनै तुक देखिनँ । त्यसपछि मैले पछाडि रहेको समुदायका निमित्त गीत लेख्न थालेँ । किनकि, मैले लेखेको कविता मेरो समुदायसम्म पुग्दै नपुग्ने, पुगे पनि नपढ्ने, पढे पनि नबुझ्ने भयो । मेरो समुदायलाई घचघच्याउन किराती बिम्ब र उपमाहरू राखेर गीत लेख्न थालेँ । सबैको प्रिय हुन मैले गीत लेखेकै होइन । त्यसैले मलाई खुम्चाइ र फैलावटसँग मतलब छैन ।

संग्रहमा एउटा संघीय गीत पनि छ । यो गीतले बोकेको सपना गीतमा मात्रै सीमित भयो कि गीतको मिसन पूरा भयो ? 
त्यो सपना मैले अहिले देखेको होइन, माओवादी शान्तिप्रक्रियामा आउनुअघि नै देखेको थिएँ । विभिन्न जातिले आफ्नो आदिभूमि पाउलान्, अनि स्वाभिमानको शिर उठाउनेछन् भन्ने सपना देखेको थिएँ । त्यो सपना साकार भएन, तुहियो । 

सपना तुहिनुको कारण केलाई मान्नुहुन्छ ?
सपना तुहिनुमा आन्दोलनकारी र नेतृत्व तह जिम्मेवार छन् । नेतृत्वले यो सपनालाई आफ्नो ठानेर अंगीकार गरेनन् । पहिचान विरोधी राज्यसत्ता बन्यो । पहिचानवादीको पनि शक्ति क्षयीकरण भयो । व्यक्तिवाद चरित्र हाबी भयो ।

तपाईंको एउटा गीत छ– ‘देव्रे  बिर्सनुभो’ । विश्लेषकहरू भनिरहेका छन्– संसारै दाहिने दिशामा यात्रारत छ । यस्तो परिवेशमा यो गीतको सार्थकता कति देख्नुहुन्छ अब ? 
९० को दशकमै फ्रान्सिस फुकोयामाले इतिहासको अन्त्य, विचारको मृत्यु भनेकै थिए । अहिले ट्रम्प, मोदीदेखि ओलीसम्म सबै दाहिने दिशामा छन् । तर, संसारै दाहिने दिशामा गए पनि विचारको एउटा धरातल बाँच्छ । त्यो विचारको धरातल बचाउन देब्रे विचारको धरातल बचाउनुपर्छ । फुकोयामाले भनेजस्तो विचारको मृत्यु हुँदैन । मानव सभ्यता बाँचेसम्म विचार बाँचिरहन्छ । कला बाँचिरहन्छ । सबै दाइने ढल्किए पनि देब्रे विचार बाँच्नुपर्छ । त्यसैले यो गीत लेखेको हुँ । यो गीतको सार्थकता छ र रहनेछ ।

अहिले भर्चुअल दुनियाँमा भाइरल भइरहेका गीतहरू कस्तो लाग्छ ?
अहिले बजारु गीतको बिगबिगी छ । रातारात गीत भाइरल भयो भनिन्छ । भाइरल शब्द बजार र पुँजीवादसँग जोडिएको छ । गीतहरू भाइरल होइन, वैचारिक हुनुपर्छ । भाइरल भनिएको गीत श्रोतामाझ त पुगेको छ, तर ती गीतहरू विचारशून्य मृत गीतहरू हुन् । कलाविहीन, विचारविहीन बजारु गीतहरू हुन् । पुग्नुपर्ने खास गीत आममानिसको पहुँचमा पुग्न सकेको छैन । 

पछिल्लो समय लोकभाकाका गीतहरू पनि भाइरल भइरहेका छन् । लोकसंगीतप्रतिको आममानिसको झुकाव के प्रशंसनीय छैन र ? 
नेपाली संगीतको आधार लोकगीत नै हो । शास्त्रीय संगीतदेखि सुगम संगीत सबै इन्डियन संगीतबाट हामीले सापटी लिएका हौँ । अहिले आफ्नोपनतिरको झुकाव थोरै बढेको छ, यो प्रशंसनीय छ । 

राष्ट्रिय गान भनेको राज्यसत्ताको टुल्स हो । कुनै शासकले यो गीत गाउनैपर्छ भनेर लाद्नु जनतालाई दास ठान्नु हो । अहिलेको राष्ट्रिय गान अधुरो छ । यो राज्यसत्तामा बस्नेहरूले गाउने मात्रै राष्ट्रिय गान बनेको छ, जनताले गाउने राष्ट्रिय गान बनेकै छैन ।

आफैँलाई धेरै मन पर्ने गीत कुन–कुन हुन् ?
मैले लेखेको गीतमध्ये ‘सुनकै भाउ छ सुन्तला भारीको’ गीत मन पर्छ । अर्को मन पर्ने गीत हो– ‘यो तिम्रै माटो हो तिमीले टेकेको ।’ यो गीत रेडियो नेपालमा एकताका खुब बज्यो । खम्बुवान मुक्ति मोर्चा भूमिगत भइसकेपछि यो गीतलाई उनीहरूले राष्ट्रिय गान बनाएछन् । हरेक स्कुलमा ‘श्रीमान् गम्भीर’ हटाएर यही गीत गाउन लगाइएछन् । यो खबर थाहा पाएपछि यो गीतलाई रेडियो नेपालमा ब्यान्ड गरियो । गीतको कार्टेज नै फालिदिए । त्यसैले यी दुई गीत अन्यभन्दा केही विशेष लाग्छ । 
तपाईंले गीतमार्फत पनि राजनीति नै गरिरहनुभएको छभनिन्छ नि । 
यो स्वाभाविक हो । किनकि गीत गैरसामाजिक चिज होइन । गीत समाजको अभिव्यक्तिको माध्यम भएकाले समाजको दायित्वबोध गर्ने स्रष्टाले राजनीति जरुर गर्छ । गीतमार्फत अरूले पनि राजनीति नै गरिरहेका छन् । 

मानवीय समवेदना वा मायाप्रेमका गीतहरूमा पनि राजनीति हुन्छ र ? 
हरेक गीतमा राजनीति हुन्छ । बजारमा भाइरल भयो भनिएको गीतमा पनि राजनीति हुन्छ । ती गीतहरूले उत्पीडित समुदायको विपक्ष र सत्ताको पक्षमा राजनीति गरिरहेको हुन्छ । तर, त्यो राजनीति आममानिसले बुझ्दैनन् । 

गीतमा लुकेको राजनीति कसरी खुट्याउने त ? 
त्यस्ता गीतहरूले समाजलाई भ्रममा पार्ने राजनीति गर्छन् । भिडलाई भ्रममा पार्ने र खास विचारबाट मानिसलाई अलग गर्ने राजनीति गरिरहेको हुन्छ । त्यस्ता गीतहरू बुझ्न गीतको अन्तर्य र बजार हेरे पुग्छ । 

त्यसो भए भिडलाई पनि तरंगित पार्ने खालको तपाईंले भनेजस्तो गीत किन बन्न सकेन ?
प्रविधि र राज्यसत्ता उनीहरूकै हातमा छ । अदालत, पुलिसतन्त्र उनीहरूसँगै छ । जसको हातमा शासन छ, बजार उसैको हातमा हुन्छ नै । त्यसो हुँदा सीमान्तकृतलाई चाहिने गीतहरू ओझेल पर्ने नै भयो । सीमान्तकृतसँग सत्ता, प्रविधि र संरचना नभएपछि गीत पनि कमजोरमाथि शासन गर्ने हतियार बन्यो । 
गीत सत्ताको हतियार कसरी बन्छ ? 
जसको हातमा राज्यसत्ता छ त्यही किसिमको कला, साहित्य उसले उत्पादन गर्छ । तिनै कलाले उसको सेवा गर्छ । त्यसैको जगमा उसले राज्य टिकाउँछ । पञ्चायतकालमा यस्तै भयो । शाह र राणावंशले गरेको त्यही हो । त्यसैले शासकले सत्ता टिकाउन रचेका गीत उसको हतियार हो । त्यो गीतले पनि शासन गर्छ । 

अहिले सिनेमा हलमा, पशुपति मन्दिरमा आरती गर्ने वेला राष्ट्रिय गान बजाउन खोज्नु पनि गीतमार्फत नै शासन गरिएको हो । किनकि, राष्ट्रिय गान भनेको राज्यसत्ताको टुल्स हो । कुनै शासकले यो गीत गाउनैपर्छ भनेर लाद्नु जनतालाई दास ठान्नु हो । अहिलेको राष्ट्रिय गान अधुरो छ । यो राज्यसत्तामा बस्नेहरूले गाउने मात्रै राष्ट्रिय गान बनेको छ, जनताले गाउने राष्ट्रिय गान बनेकै छैन ।