हरेकपल्ट ऊ
गुल्चे गर्छ
रुन्छ, कराउँछ
मानौँ
गुच्चा खेल्नु हो विचारको लडाइँ
तब त
म उसलाई हेरेर गम्दछु
तीन हजार वर्षपहिले पनि
पृथ्वीमा कविहरू थिए
उनीहरूले रूखका पातहरू नियाले
र लेखे कविता
पात झरेजस्तै हो मान्छेको जीवन
जीवन हो, आफँैमा पुनरावृत्ति
जसरी
नयाँ पातका लागि पुरानो पातले झर्नैपर्छ
जसरी
पुरानो पातले झरेर दिन्छ मल नयाँ पातलाई
त्यसरी नै
पुरानो पुस्ताले नयाँ पुस्ताका लागि
पातजस्तै झर्नुपर्छ
जीवन हो आफँैमा पुनरावृत्ति
होमर र व्यासले जति पनि
जीवन सोच्न सकेनौँ कि त हामीले ?
येबा र साम्बाले जति पनि
जीवन छाम्न सकेनौँ कि त हामीले ?
र त
आज पनि कविहरू
रूख र पातकै कविता लेखिरहेछन्
चर्को घाममा पिल्सिजाने नयाँ पालुवा देखेर
झरिसकेको पुरानो पातले सोच्दो हो
ओहो ! बित्थामा झरेछु कि त
विचारको लडाइँका लागि
नयाँ पुस्ता तयार भइसकेकै रहेनछ कि त !
उसलाई रातारात हिट हुनु छ बजारमा
उसलाई चाहिएको छ, मुहारपुस्तिकामा धेरै लाइक र कमेन्ट
उसलाई रिट्विट र फलोअर प्रशस्तै चाहिएको छ ट्विटरमा
उसलाई कोठामा बसेर कुनाकुना पुग्नु छ
र उमार्नु छ संवेदनाका कृत्रिम बिरुवाहरू
जो वयस्क नहुँदै मरिजान्छ
सिङ्काजस्तो सुकेर पिटिक्कै भाँचिजान्छ
तब त
म उसलाई हेरेर गम्दछु
उसको टाउकोमा कागती निचोर्नु छ
उसको गिदीबाट निकाल्नु छ
सत्ताको भ्रम
र दिनु छ उसलाई
शंकराचार्यले जलाएको बौद्धग्रन्थ
अब त उसले गुन्नुपर्ने हो
विचारको आयातनको विशालता
भट्टी पसलमा एक ट्वाक रक्सी चढाए जस्तो होइन
सेकुवा कर्नरमा बंगुरको चाना चपाए जस्तो होइन
साथी सर्कलमा साथीलाई नै गफमा उडाए जस्तो होइन
निरीह वर्तमानलाई थर्काए जस्तो होइन
विचारको आयातनले
इतिहासको लामो टेबुल खोज्दछ
रथमा लडेर महाभारत
अर्जुनले हारेको छैटौँ पुस्ताको लडाइँ
मृत्यु कर्णको दानमा पाइँदो रहेछ कि त
सिमलको रूखमा चढेर
मृत्यु बाबरी फूलको बोटमा फुल्दो रहेछ कि त
मृत्यु घामका आँखामा फुट्दो रहेछ कि त !
हरेकपल्ट ऊ
गुल्चे गर्छ
रुन्छ, कराउँछ
मानौँ
गुच्चा खेल्नु हो विचारको लडाइँ ।