• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सङ्गीत रंगमञ्च
२०७६ असोज ४ शनिबार ०६:५८:००
साहित्य

झेलको महाभोज

२०७६ असोज ४ शनिबार ०६:५८:००
सङ्गीत रंगमञ्च

नेपाली रंगकर्मीको गणतन्त्रोत्तर पिँढीले सिर्जनशील मञ्चहरूमार्फत युगावाज ध्वनित गरिरहेको सामाजिक जीवनमा पनि टड्कारो सुनिँदै छ । कुनै वेला गुरुकुल एक्लैले काठमाडौं सहरको माग धानिरहेको थियो, देशी–विदेशी नाटकहरूको मञ्चनमार्फत । अहिले सहरमा नाटकघरहरू फैलिइरहेका छन्, कलाकार–निर्देशकहरूको मात्रा बढ्दो छ, अनि दर्शकहरूको आकर्षणले पनि गुणात्मक स्पेस लिँदो छ ।

मण्डला, शिल्पी, सर्वनाम, कौसी, थिएटर मल, कुञ्ज थिएटर आदिले प्रेरक–प्रतिस्पर्धाबीच नाटक प्रडक्सन गरिरहेका छन् । यसलाई नेपाली थिएटर–परम्परामा अंकुरित हुँदै गरेको नवजागरण भन्न सकिन्छ ।

दर्शकहरूबीच विषयगत संवाद–स्थापित गर्ने पछिल्लो थिएटर प्रस्तुति बनेको छ, ‘महाभोज’ । यो नाटक भारतीय साहित्यकार मन्नु भण्डारीले लेखेको उसै नामको उपन्यासमा आधारित छ । चुनाव र संसदीय हार–जितको दाउपेचबीच एकजना विद्रोही स्वभावको जागरुक युवा (विसु)को हत्या हुन्छ ।

दलित बस्तीमा गराइएको आगजनीबाट आहत नागरिकको न्यायका लागि सत्यतथ्य खोज्न अग्रसर विसु मारिनु, त्यही बस्तीमा निर्वाचन नजिकिनु, हार–जितका लागि निर्णायक ‘भोटबैंक’ त्यहीँ हुनु, यही हिसाबकिताबको खिचातानीमा प्रहरी संयन्त्र र प्रेसले समेत भ्रष्ट राजनीतिसँग गठजोड र सम्झौता गर्छ ।

सुरुमा हत्या भनिएको घटनालाई बीचमा प्रहरीले आत्महत्या करार गरिदिन्छ र राजनीतिक स्वार्थप्रेरित भएर अन्ततः आफ्नै साथीबाट मारिएको प्रतिवेदन तयार पार्छ । विसुको हत्याको प्रतिवाद जसले गरिरहेको थियो, उसैलाई हत्यारा बकाइन्छ र चरम यातनाबाट अन्ततः उसको पनि हिरासतमै ज्यान लिइन्छ ।

राज्य संयन्त्रविरुद्ध र विकृत राजनीतिविरुद्ध आवाज उठाउने व्यक्ति वा समूह निस्तेज पार्न प्रेसले पनि अभिन्न ‘चौथो अंग’का रूपमा ‘दायित्व निर्वाह’ गर्छ । र, एउटा लासपछि अर्को लास थपेर हासिल भएको साझा सफलतामा सहरमा भव्य महाभोज चल्छ । ‘महाभोज’ नाटकको सोझो कथानक यही हो ।

कवि विप्लव प्रतीकद्वारा अनूदित र अनुप बरालद्वारा निर्देशित यस नाटकले एकैपटक अनेक आयामका पोयो बाटेको छ । पुँजीवादी संसदीय राजनीति मान्छेलाई मानवीय व्यवहार गर्दैन, भोटरमा मात्रै गणना गर्छ । यस्तो राजनीतिले बस्तीलाई बस्ती देख्दैन, भोटबैंक र शक्ति हासिलको कर्मथलो मात्रै देख्छ ! यो व्यवस्थाको पत्रकारिता त्यस्तै हुन्छ, जसलाई स्कुप चाहिन्छ, हिट हुने (दुर्)घटना चाहिन्छ । त्यसका लागि सम्पादकहरू दर्दनाक घटनामा पनि मनोरञ्जन लिइरहेका हुन्छन्, न्युज डेस्कका अगुवाहरू हेडिङ–ब्रेकर र सनसनी खोज तस्बिरको चिन्ता गरिरहेका हुन्छन् । नैतिक जमिन गुमाएको राजनीति, इमान बेचिसकेको पत्रकारिता र पेसागत मर्यादा बन्धक राखेको प्रहरी प्रशासनको गठजोड महाभोजको मूल कथ्य हो । 

महाभोजको हिन्दी नाट्यरूपान्तरण भारतमा अनेक दर्जनपटक प्रदर्शन भइसकेको र रंगदर्शकहरूबीच लोकप्रियता कमाइसकेको रचना हो । नेपाली रूपान्तर हेरिरहँदा यसले भारतको होइन, नेपालकै प्रवीण गुरुङ हत्याकाण्डदेखि पछिल्लो निर्मला बलात्कार–हत्या प्रकरणसम्मको पोलिटिक्स–पुलिस–प्रेस प्रवृत्ति आँखा वरिपरि घुमाइल्याउँछ ।

राजनीतिलाई जनताको सेवा भन्नेहरू नै चतुर्‍याइँ गरेर कसरी आफू शक्तिमा पुग्न दुईरंगी भूमिका खेलिरहेका छन् ? प्रतिनिधि चुन्ने जनाधिकारलाई (लोकतन्त्रलाई ?) स्वार्थी शासकहरूले कसरी बिरालाले घाइते मुसालाई झैं खेलाइरहेका छन् ? शासक बनिरहने आकांक्षाबाट प्रेरित नेताहरूले कसरी जनतासामु नक्कली सहानुभूति प्रदर्शन गर्छन् ? शास्त्रलाई अघि सारेर नैतिकताका उपदेश दिने अगुवाहरू नै अन्तर्यमा कति घिनलाग्दो रोल–प्ले गर्छन् ?

चार दशकअघि (सन् १९७९) लेखिएको आख्यानले दर्शकलाई आफ्नै दाहिने–बायाँको दर्दउपर सोच्न र यस्तै प्रश्नमा घोत्लिन प्रेरित गर्छ । आदर्श ठानिएको संसदीय लोकतन्त्र गरिब–मजदुर, किसान, दलित, महिला र सीमान्त वर्गप्रति किन यति क्रूर छ ? यो प्रश्न नाटकबाट उछिट्टिएर हाम्रो लोकतन्त्रलाई नै पुनःपरिभाषित गर्नुपर्ने दरकारमा ठक्कर खान्छ, बारम्बार । 

रंगकर्म सामूहिक कला–संगम हो । कलाको बहुआयामिक संयोजनका कोणबाट पनि ‘महाभोज’लाई सार्थक साक्ष्यका रूपमा पेस गर्न सकिन्छ । कन्टेन्टमा भारतीय उपन्यासकारको राजनीतिक आख्यान छ, प्रस्तुति शैलीमा जर्मन रंगचिन्तक तथा कवि ब्रतोल्त ब्रेख्तको महाकाव्यात्मक (एपिक) शैली छ, अभिनयमा मण्डला थिएटरका कलाकारहरूको जीवन्त मिहिनेत छ । ब्रेख्तेली शैलीका लागि तयार गरिएका ‘महाभोज’का सङ्गीतबद्ध गीतको रचनापक्ष, प्रस्तुति र संगीत भव्यतर अनुभूत हुन्छ । कला मर्मज्ञहरूलाई अन्तिम भोजको दृश्यले पनि संवेदित बनाउँछ, जसमा विश्वप्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीको ‘द लास्ट सपर’को दृश्यानुभूत हुने गरी सेट डिजाइन गरिएको छ । 

‘महाभोज’ नेपाली रूपान्तरका केही मौलिकता छन् । दुईजिउकी प्रहरी अधिकृतका रूपमा अभिनय गरेकी सिर्जना सुब्बा (तारा चाम्लिङ) वास्तविक जीवनमा पनि दोजिया छिन्, मूलकथामा यस्तो पात्र छैन, सक्सेना नामको पुरुष अधिकृत छ । धेरै सन्दर्भहरूलाई आजको नेपाली समाज र राजनीति सुहाउँदो कथ्य दिइएको छ, कतिपय सन्दर्भलाई भने बेग्लै पारिएको छ ।

जस्तैः मूल कथामा महेशसँग (मारिएको विसुबारे) सक्सेनाले सोध्छ, ‘केटो नक्सलवादी थियो ?’ महेश भन्छ, ‘होइन, नक्सलीहरूको त ऊ आलोचना गथ्र्यो ।’ नेपाली रूपान्तरमा त्यही संवाद यस्तो छः तारा चाम्लिङ सोध्छिन्– ‘केटो नेता थियो ?’ महेश भन्छ, ‘होइन, नेताहरूको त ऊ आलोचना गथ्र्यो ।’ अहिले नेपालमा प्रतिबन्धित दल नेकपामा सम्बद्ध भएको आरोपमा पक्राउ, धरपकड र हत्या भइरहेका सन्दर्भमा यस संवादलाई विद्रोही शक्तिसँग जोड्दा बरु स्वाभाविक देखिन सक्थ्यो । यस्ता केही प्रसंगमा अनुवादक (वा निर्देशक)ले सजिलो बाटो लिएको अनुमान गर्न सकिन्छ । 

छोटो–छरितो नाटक हेर्ने बानी परेका दर्शकलाई मञ्चनावधिको लम्बाइ पट्यारिलो अनुभूत हुन सक्छ । मुख्यमन्त्री र उसको आसपासका राजनीतिक नेता–कार्यकर्ताको सम्बन्ध र सन्दर्भ सीधै बुझिने प्रकृतिको छैन । रमेश बुढाथोकी, सिर्जना सुब्बा, राजन खतिवडा, विजय बराल, सोमनाथ खनाललगायत २८ कलाकारको पल्टनले स्टेज भव्य बनेको छ, तर दयाहाङ राईलगायत मण्डलाका नामी कलाकारको अतिथि भूमिकाजस्तो अभिनयले दर्शकलाई तृप्त पार्दैन ।

नाटकमा यस्ता केही सीमा हुँदाहुँदै पनि नेपाली रंगजगत्मा एउटा माइलखुट्टी मञ्चन मान्न सकिने यसले प्रशस्त आधार दिन्छ । निर्देशक अनुप बरालका सन्दर्भमा पनि भन्न सकिन्छ– सामाजिक विभेद र संरचनागत अन्याय बक्ने कथा छनोट गर्ने उनको निर्देशकीय दृष्टिको यो अर्को बलियो शृंखला हो । शक्तिशाली प्रतिभाका सिर्जना आफैँमा सग्लो र सङ्लो व्यक्तित्व बन्छन् । अनुपनिर्देशित नाटकहरू कति अर्थमा अनुपम छन्, धेरै अर्थमा बेग्लै व्यक्तित्वसहितका ।

सामाजिक यथार्थलाई टिप्ने र व्यवस्थापीडित वर्गजनका दर्दहरूलाई अभिव्यक्ति दिने ‘जात सोध्नु जोगीको’, ‘कोर्ट मार्सल’ र ‘महाभोज’जस्ता नाटक बेग्लै व्यक्तित्व बन्न सफल रंगसिर्जना हुन् भन्न सकिन्छ । यी र यस्तै नाटकले अनुपको निर्देशकीय वर्गपक्षधरता झल्काउँछ । ‘जात सोध्नु...’ को महिनारायण घर्ती होस् या ‘कोर्ट मार्सल’को रामबहादुर या ‘महाभोज’को विनोद, उत्पीडनबाट मुक्ति खोज्नेहरूका आफन्त हुन्, तिनीहरू ।

महाभोज रचना समयले ४० वर्ष नाघिसकेको छ, तर (भारतीय होस् या नेपालीय) समाज भने मञ्चोद्घाटित स्थितिभन्दा झन् बढी खतरनाक, झन् बढी क्रूर–क्रूरतम छ । आज दलित बस्तीमा एकजना विसुको लास मात्रै छैन, राज्यहिंसा र संरचनागत हिंसाबाट दलित, महिला र निमुखाहरूको ठूलो संख्या अनेकपटक प्रताडित छ । भ्रष्ट राजनीति अहिले पनि लोकतन्त्रका अनेक गहनागुरिया पहिरिएर जनतालाई सताइरहेको छ ।

नाटकमा महेशले मारिएको पात्र विसुबारे भन्छ, ‘बस्, थाहा पाउनुस् सर ! हामी सबै मान्छे जो जिउँदै छौँ, हामीमाथि प्रश्नचिह्न उठाएर ऊ मर्‍यो !’ हामीमाथि प्रश्न रहल छाडेर सयौँ मान्छेले ज्यान दिएका छन्, आजको राजनीतिक प्रणालीका खातिर । निर्देशक अनुपले ८ वर्षअघि एउटा अन्तक्र्रियामा भनेका थिए, ‘रंगमञ्च मेरो धर्म हो । चेतना खोज्ने उज्यालो हो, मेरा लागि रंगमञ्च । म यसको कारिन्दा हुँ, हुनेछु ।’ नाटककार मन्नुले ‘पाखी’ पत्रिकाको पछिल्लो अन्तर्वार्तामा ‘महाभोज’ नाटकमा आफूले राजनीतिक जटिलता र पक्षधरता प्रस्ट राखेको जिकिर गरेकी छिन् । अनुप र मन्नुका शब्द साझा गरेर भन्ने हो भने पक्षधरतासहितको लेखन र चेतना खोज्ने उज्यालोजस्तो मञ्चन आउँदो समयको आह्वान हो ।

भनिन्छ– मञ्चन भइसकेको नाटक निर्देशक वा कलाकारका हातबाट दर्शकहरूका जिम्मामा पुग्छ । महाभोज नाटकबारे विमर्श गर्ने, त्यसमा अन्तर्निहित सन्देशलाई आत्मसात् गर्ने र समाजको आउँदो रीतिलाई निर्देशन गर्ने दायित्व अब दर्शकहरूमा सल्किइसकेको छ । अनुप बराल, विप्लव प्रतीक र मण्डला थिएटर टिमले बधाईको हक आर्जिइसकेका छन् । ‘जात सोध्नु...’ का सन्दर्भमा विदेशी नाटकलाई नेपाली स्वरूप र संस्कारमा रूपान्तरण गर्ने अनुप बरालको कलाको प्रशंसा गर्दै कवि गोविन्द वर्तमानले १५ वर्षअघि लेखेका थिए, ‘यस नाटकलाई हेरिरहँदा हामीलाई आफ्नै समाजको विषयतिर निरीक्षण गरिरहेझैँ अनुभूति हुन्छ ।

...जातीय समानताको विचार मन पराउने विद्यमान सामाजिक परिपाटीका हामीजस्ता सबै दलितहरूको आफ्नै नाटक हो– जात सोध्नु जोगीको !’ वर्तमानकै शैलीमा महाभोजबारे भन्न सकिन्छ– विद्यमान राजनीतिक बेथिति र शासकहरूको जालझेलपूर्ण अत्याचारबाट फुत्कन चाहने श्रमशील सबै जनको आफ्नै नाटक हो– ‘महाभोज’ । नेपाली थिएटर दुनियाँको नवजागरणले यथार्थशील कन्टेन्ट र प्रयोगशील शैलीका नूतन नाटकोत्पादन गरिरहेनछ भन्ने भारी अपेक्षा गरौँ ।