• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सौरभ
२०७६ असोज ४ शनिबार ०७:०९:००
इतिहास

नभएका भए वाल्मीकि

विमर्श

२०७६ असोज ४ शनिबार ०७:०९:००
सौरभ

असंख्य सापटी
क. 
धृतराष्ट्र : पात खसेपछि पतिंगर, कस भुइँमा झरेपछि कसिंगर भन्ने चलन छ हाम्रो । अजको अर्थ बोका हो अवश्य, तर जमिनमा घस्रिने भएर होला अजिंगर भन्ने प्राणी पनि छ । लक्षणले दशरथको बाबु अजलाई व्यासले अरू कुनै अर्थमा लिएको देखिन्न, त्यसैले अजिंगर नै बुझाउने धृतराष्ट्र नाम चयन गरेका छन् उनले । 

विदुर : यो ठ्याक्कै कुबेरको समानान्तर छ । विदुर बौद्धिक क्षमताले सम्पन्न छन् । तर, मूल राजनीतिमा उनको प्रमुख भूमिका छैन, टाढाटाढा जस्तै छन् ।दुर्योधनले अन्ततः राज्यबाट निकाला गरिदिन्छ । कुबेर सबैभन्दा सम्पन्न छन् । तर, मूल राजनीतिमा उनको पनि भूमिका छैन । कुबेरलाई रावणले राज्य निकाला गरिदिन्छ । 

हनुमान : हनुमान प्रमुख सहयोगी हो रामायणमा रामको । त्यही हनुमान अर्जुनको झन्डामा प्रमुख चिह्न भएर महाभारतमा आएको छ । 

द्रोणाचार्य : रावणका गुरु छन् शुक्राचार्य । रावण दुष्ट पक्ष हो । दुर्योधनका पक्षमा गुरु छन् द्रोणाचार्य– दुर्योधन दुष्ट पक्ष हो । 

जय : जय थियो महाभारतको सबैभन्दा पुरानो नाम भनिरहिएकै छ । यो यजको उल्टो हो । जसरी माराको उल्टो राम हो । 

शकुनि : कैकेय देशकी भएकीले कैकेयी भएको हो । तर, काकेयी हुनुपथ्र्यो । लाग्छ नै त्यही । काग एक दुष्ट चरा हो । महाभारतको शकुनि संस्कृतको चराबोधक शकुनबाट बनेको हो । शकुनि भनेपछि त्यो पनि दुष्ट चराका रूपमा बुझिन्छ । जर्जियामा पासकुन्यी एक दुष्ट चराकै रूपमा मान्ने चलन छ । 

कैकेयी : उसले रथको जुआमा औँला हालेर दशरथलाई जोगाएबापतको गुनलाई दाउका रूपमा प्रयोग गरेकी छन्, रामलाई निर्वासित गर्न । शकुनिले जुआमा औँलाको बलमा खेलिने पासाको खेलमा दाउको प्रयोगले पाण्डव परिवारलाई निर्वासित गरेका छन् । 

द्रौपदी : सीताको जंगल जान्छु भन्ने जिद्दी रामायणको सम्पूर्ण समस्याको जड जसरी हो, त्यसैगरी महाभारतको मूल जड द्रौपदीको कपाल बाँध्दिनँ भन्ने जिद्दीमा केन्द्रित छ । 

कर्ण : रामायणमा गहिरो कान भएका कुम्भकर्ण छन् । महाभारतमा कवच नै छाती भएका कर्ण छन् । उता कुम्भकर्णको छोरा भीमको साला धृतराष्ट्र छन् भने यता साला दुष्कर्ण छन् । 

भीम र भीष्म : रामायणमा रावण र महिरावण छन् । राम र पर्शुराम छन् । यता भीम र भीष्म छन् । किनभने रामायणमा कुम्भकर्ण र भीम छन् । अर्जुन र सहस्रार्जुन छन् । 

इन्द्रप्रस्थ : इन्द्रलाई जितेर उसको जस्तो बिलासपूर्ण नगर र आसनमा रावण बिराजमान छन् । यता दुर्योधनहरू इन्द्रप्रस्थका निम्ति लडिरहेका छन् । 

त्रिजटा : रामायणमा जटायु छ दुई पखेटा भएको, त्रिजटा छे तीनवटा जटा भएकी । 

गाण्डिव : रामायणमा शवरी बयर खान्छे, यता अर्जुन गाण्डिव— गान्धारीपुत्रहरूविरुद्ध उभ्याउँछन् । 

जाम्बवान : बाँदर, जाम्बवान आदि पशु प्रयोगले राम विजयी बन्छन् । ऊँट, घोडा, हात्ती आदि पशु प्रयोगले पाण्डवहरू विजयी बन्छन् । विचित्र के छ भने रामायणका जनावरहरू घरपालुवा होइनन्, महाभारतका पशुहरू घरपालुवा हुन् । सर्पको कतै उल्लेखनीय प्रयोग छैन । सर्पबोधक धृतराष्ट्रलाई पनि मानव रूप दिइयो महाभारतमा । 

एक पुत्र : रामका एकै पुत्र छन् लव । कुशलाई प्रतिकृति मानिएको छ । महाभारतमा बाबु हुनेहरूले द्रौपदीबाट जन्माएका वा अन्य पत्नीहरूबाट जन्माएका पुत्रहरू प्रायः एउटै छन् । अपवाद लक्ष्मणका दुई छोरा र गन्धर्वी नामक छोरी छन् पत्नी उर्मिलाबाट त्यति मात्र हो । 

स्वयंप्रभा : अप्सरा हो, नाच्छे र मन्दोदरीलाई जन्म दिन्छे । यता अप्सरा स्वयंप्रभा अर्जुनको स्वागतमा इन्द्र भवनमा नाच्छे । 

श्रुतकीर्ति : शत्रुघ्नकी पत्नी हो । यता श्रुतकीर्ति अर्जुन र द्रौपदीको छोरा हो । 
अंगराज : दशरथको साथी लोमपादको नाम हो । यता अंगराज कर्णको पनि नाम हो । 
दुर्धर : रावणको एक सैनिक हो । यता धृतराष्ट्रको छोरा हो । 
दुध्र्दघ्य : रावणको सेनापति हो । यता धृतराष्ट्रको छोरा हो । 
दुर्मुखा : रामायणको एक धोबी हो । यता धृतराष्ट्रको छोरा हो । 
माथिका उद्धरणहरूले के भनिरहेछन् भने वाल्मीकिले लेखेको रामायणको त्यो हस्तलिखित प्रति वा केही औँलामा गन्न सकिने प्रतिलिपिको प्रथम पाठक केही किलोमिटर उत्तरका कृष्णद्वैपायन व्यास थिए, जसले कुरुक्षेत्रमा भएको एक सामान्य घटनालाई अनेक फूलबुट्टा भरेर पूर्ण राजनीतिक आयामको जयकाव्य लेख्ने प्रेरणा प्राप्त गरे । 

हस्तलिखित प्रतिको त्यति व्यापक मात्रामा प्रचार भएर धेरै सुदूर पुग्ने बेलै थिएन त्यो । माराको उल्टो राम पात्र उभ्याएका थिए वाल्मीकिले यजको उल्टो जय उभ्याए व्यासले । फेरि दोहोर्‍याऊँ— 

द्रौपदी : सीताजस्तै यज्ञबाट उत्पन्न र वाण प्रतियोगिताबाट विजित । 
भीष्म : भरतले जसरी राज्य चलाएका छन्, त्यसैगरी भीष्मले महाभारतमा राज्य चलाएका छन् । 
भीम : लक्ष्मणजस्तै क्रोधी छन् । 
पाण्डु : मृग सिकारी दशरथको हाल र पाण्डुको स्थिति उस्तै छ । 
जाबाली : नास्तिक जाबाली रामायणमा र चार्बाक महाभारतमा छन् । 

रामोपाख्यान : महाभारतमा छ ।

सरमा : विभीषण पत्नी हुन् । सरमा महाभारतको आदिपर्व र सभापर्वमा एक नामवाचक शब्द हो । ऋरू पनि थुप्रै होलान् व्यासले वाल्मीकिबाट लिएका । त्यो अरूले शोध गरेका होलान्, नभए अब गर्लान् । तर एउटा कल्पना गरौँ— 

वाल्मीकि आश्रमको धेरै नजिकैको कुनै आश्रमवासी नभई व्यासले रामायणका हस्तलिखित प्रति हेर्नु त्यति छिटै सम्भव छ ? अनेक जंगली जन्तु, लुटेरा, फटाहाले ढाकेको, रोगव्याधि तीव्र भएको त्यो युगमा आजजस्तो सजिलै एउटा काव्य प्रसारण हुनलाई र स्थापित हुनलाई ? कुनै स्मृति, गृह्य भए अर्कै कुरा । यसैले महाभारतको झ्यालबाट रामायणलाई हेरिएन भने रामायणमाथि मात्रै केन्द्रित अध्ययन झ्याल नभएको घरमा बसे जस्तै हुन्छ । 

मारा : म(न्थ) रा र मार(इच) का कारण रामको त्यो गति भएको छ । सुरु र अन्त्य दुवैका कारक मार नै छन्, उनको जीवनवृत्तमा । 

ऋक्षपर्वत : ऋक्षपर्वतको तल तमसा नदी छ भनिन्छ । तर, ऋक्ष वाल्मीकिकै अर्को नाम हो । यसैले भनेको यजलाई व्यासले जय नाम राख्ने प्रेरणा रामायणबाट लिए । 

तमसा : काली.तमस गण्डकी हो । यसैको किनारमा वाल्मीकि आश्रम छ । नकि भारतको मध्यप्रदेशमा बग्ने टोंस । नारायणी बाहिरी तराईतर्फ लाग्ने स्थानमा पूर्वबाट सोना नदी र तमसा नदी आएर मिल्छ । यिनै तीन नदीको संगमलाई त्रिवेणी भनिन्छ । तर, त्यो सानो नदी तमसा कालो हुनुपर्नेमा त्यस्तो केही छैन । यसैले वाल्मीकिको तमसा कालीगण्डकी हो । 

जाम्बवान : अर्सिनस आर्कटस इजाबेलस वैज्ञानिक नाम भएको जाम्बवानलाई हिमालको राजा भनिएको छ । त्यो इन्डियाको मध्यप्रदेशमा बसेर लेखिने कुरा होइन । 
भारद्वाजी : यस नामका ऋषि पनि तमसाकै किनारमा रहन्थे भनिन्छ । तर, भारद्वाजी भन्छन् थेस्पेसिया लाम्पासलाई, जुन त्यहाँ हुँदैन ।

लव : लावा भन्दछन् धानको फूल विशेषगरी जंगली धानको टड्कारो देखिने ठूलो फूललाई । भनेका वेला नपाइने हुनाले भुटेर फूल बनाउने गरिएको हो शुभकार्यका निम्ति । र, कुश घाँस हो पवित्र । जंगली धान तराईकै सिमसारमा हुन्छ । 

सीता : हलोको फाली हो, जुन जोत्दै जाँदा कसैले छोडेकाले पाइएकी नवजात शिशुको नाम रह्यो, त्यसैबाट सीता । जनकले पालनपोषण गरे । रामले श्रीलंकाबाट फर्केपछि स्वीकार नगरेकाले सीता पुनः फाटिएको धर्तीभित्र समाहित भइन् । हुन सक्छ भुइँचालोले जमिन फाटियो, त्यसैमा घुसिन् । अर्थ हो— जमिन धर्तीकी छोरी धर्तीमै पुगिन् । सुरु र अन्त्यको अर्थ हो परित्यक्ता हुन् । यो प्रतीकवादको प्राचीन प्रयोग हो । 

चित्रवन : सीताको चित्रवन अहिलेको चितवन हो भनेर मेचीदेखि महाकालीले लेखेकै छ । अरू कुरा नगरौँ । 
ख.
दश : रामका बाबु दशरथ हुन्, प्रतिद्वन्द्वी दशानन हुन् । दशरथ जंगलमा राम जानुपर्ने अन्याय गर्छन् । दशानन रामपत्नी लगिदिने अन्याय गर्छन् । यो दश अन्यायको प्रतीक हो । 

हनु : हनु. चिउँडो ठूलो भएका, सुग्रीव. घाँटी राम्रो भएका, बाली. बल भएका, अञ्जना. आँखाको डिल गाजले भएकी बुझिन्छ । यसरी एकान्त जंगलमा वाल्मीकिले वरिपरि चर्न आउने परिचरहरूको नाम राखिदिएको देखिन्छ । पहिलो वैज्ञानिक प्रिमेटलजिस्ट चाहिँ हुन् उनी । हनुमानले सञ्जीवनी खोज्ने नाममा पहाडै बोक्छन्, पहिलो फाइटोकेमिस्ट हुन् उनी । 

सुर्पनखा : लामालामा नङ भएकी अर्थात् सुर्पनखा, त्रिजटा अर्थात् माथि जुरो र दुईतिर जुरो बनाएकी, अञ्जना अर्थात् गाजले जस्ता पात्र विवरणले वाल्मीकिलाई महिला सौन्दर्यको पारखी अर्थात् आजको भाषामा पहिलो ब्युटिसियन बनाइदिएको छ । 

सुरसा : समुद्रबाट लामो घाँटी र ठूलो मुख बाएर, लंकातिर उडेर गइरहेका हनुमानलाई निल्न तयार एक राक्षसको नाम हो— कल्पनाको लचनेस मन्स्टर जस्तै । सम्भवतः यसैबाट सारस शब्द आएको हो । तर सारसले निल्छ, सोझै माछा चपाउन अर्थात् यसको रस लिन सक्दैन । यसैले सुरसा नाम अर्को व्यंग्य हो ।

 जटायु : सीतालाई लिएर उड्दै गएको पुष्पक विमानलाई रोक्न खोज्छ जटायुले । तर, उसको पखेटा काटिदिन्छ रावणले, ऊ जमिनमा खस्छ । जटायु गिद्ध हो, ठूलो टाउको भएको भन्ने अर्थ दिने । 

तर गिद्ध जतिसुकै ठूलो पखेटा भए पनि त्यति माथि उड्नै सक्दैन अर्थात् पखेटा भएको र नभएको बराबर । पुष्प भन्नाले अत्यन्त हलुका र कोमल हुन्छ । तर, प्वाँख जस्तो उड्न सक्दैन । बाँदरहरू एक रूखबाट अर्को रूखमा जान्छन्, उडेका जस्तो देखिन्छन् तर उड्न सक्दैनन् । त्यसैले हनुमानले उड्ने कुरै आएन । यसैले गिद्धलगायतलाई दिइएको व्यंग्यात्मक नाम हो यो । 

ग.
रावण : लवण माटोको पसिना बराबर मानिन्छ । त्यो निकाल्नेलाई तराईमा लोनिया वा नुनिया भनिन्छ । ब्रण, पीपयुक्त खटिरा हो । सोण, रगत हो । रावको अर्थ पसिना हो । रावणको अर्थ हो पसिनाले निथ्रुक्क, जो तालसुर नमिलेको ताण्डव रचेर पसिनामय मात्रै हुन्छ । अर्थात् शारीरिक बल भएको बुद्धि नभएको । 
लक्ष्मण : व्याख्याले लक्ष्मणलाई मानवरूपी शेषनाग मानिएको छ । जसको वाणले रावणको तल्लो पेटमा रहेको अमृतकुम्भ फोरेपछि ऊ मर्छ । यसर्थ लक्ष्मणको अर्थ विष हो । विष र लक्ष्मणको अर्थ हो तरल विषधारी । यसैमाथि बस्ने भएर सीता (लक्ष्मी) मानिइन् । अन्नलाई सम्पत्ति. लक्ष्मी मानिने त्यो युगमा सिता. पाकेको चामललाई लक्ष्मीको अर्को नाम बनाइयो, खेतमा भेटिएको बनाइयो । 

विभीषण : सालहरूमा औसतन ठूलो विशाल हुन्छ, परिषोधित ज्ञान विज्ञान हुन्छ । परिष्कृत वस्तु विशुद्ध हुन्छ । यसथै भीषणभन्दा पनि ठूलो भन्ने अर्थमा विभीषण हुनुपर्ने हो । 

तर विकार, वितराग, विरूप जस्ता शब्द पनि छन् । यसर्थ वाल्मीकिले लिएको वि सकारात्मक होइन । निर्धो, आत्मसम्मान नभएको, दास भन्ने अर्थमा रावणको भाइलाई दिइएको व्यंग्यात्मक नाम हो विभीषण । र नै, राजा हुन्छ ऊ युद्ध सकिएपछिको लंकाको अर्थात् खरानी राज्यको । त्यस्तोले खरानीकै दरबार बनाउने हो । खरानीमा सुत्ने र ओढ्ने हो । व्यंग्य हो ठूलो । 

कुम्भकर्ण : अर्थात् सोलीको आकारको गहिरो कान भएको, भन्नाले राम्ररी सुन्न सक्ने । तर जो छ महिना निदाउँछ । अर्थात् सुन्ने सामथ्र्य भएको, तर भएर के गर्नु ? जो युग बितेको पत्तै पाउँदैन । किनभने निदाएका वेला प्राणीले सुन्दैन । यो अर्को व्यंग्य नाम हो । 

कुबेर : धनाढ्यतम छ, तर विचित्र जिउडानको विचित्र पहिरनको छ । भन्नाले रोगी र विदुषक छ । न समाजमा मिल्न सक्ने, न समाज सहने पात्र भनेर राखिएको व्यंग्य नाम हो ।

मेघनाद : जो बादलजस्तै गर्जन्छ भन्नाले गर्जने मेघ बर्संदैन भनेको हो यो । यो भयानक व्यंग्य हो रावणपुत्रमाथि । मन्दोदरी : एकातिर रावणको नाइटोमा प्राणकुम्भ छ, अर्थात् उसको पेट ठूलो छ भनिरहिएको छ, अर्कोतिर मन्दंउदर अर्थात् स्याप्प परेकी वा झिनो कम्मर भएकी । (शरीर राम्रो भएकी, बुद्धि नभएकी) भनेर व्यंग्य गरिरहिएको छ । यो ठ्याक्कै कृष्णलाई भनिने दामोदरको अर्को रूपान्तरण हो । 

घ.
अशोक वृक्ष : अशोक वृक्षमा एक नवयौवनाको बूढीऔँलाले मात्र छोइयो भने पनि त्यसमा विचित्र रङका फूल फुल्छन् भन्ने मान्यता छ । अर्थात् परिवर्तन बोध दिने, शोक हरण गर्ने वृक्ष । त्यही रूखमुनि सीता लंकामा राखिन्छिन्, जो शोक, पिर, सन्तापले ग्रस्त छिन् । यो अशोक भन्ने वृक्षमाथि नै त्यसमाथि बनेको धारणामै गरिएको व्यंग्य हो । वाल्मीकि अन्धविश्वासका पहिला विरोधी हुन् । 

लंकादहन : चिरागरूपी हनुमानको पुच्छरले रावणको सुवर्ण नगरी लंका जलाइदिन्छ । न पुच्छरले चिरागको काम गर्न सक्छ, न सुन नामको धातु खर र छ्वाली हो जल्नलाई । न एउटा सिंगै नगर सुनले बन्न सक्छ । अमेरिकामा टल टेल्स प्रतियोगिता बर्सेनि हुने गर्छ । वाल्मीकि टल टेल्स प्रतियोगिताका पहिलो सहभागी हुन् । 

रावणको नाइटो : नाइटो, प्राण भेट्नुकै आधारमा मान्छे बन्छ र जन्मिन्छ । त्यहीँ प्रहार गरेर सिध्याउने भनेको अन्यायतन्त्र नै सिध्याउने कुरा गरिएको हो । 
वाल्मीकिका बारेमा लेखेर वा व्याख्या गरेर सम्भव नै छैन ।