• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
उषा थपलिया काठमाडाैं
२०७६ असोज ४ शनिबार ०८:००:००
सम्झना

लक्खीदेवीको एकान्त

लक्खीदेवी स्मृति

२०७६ असोज ४ शनिबार ०८:००:००
उषा थपलिया काठमाडाैं

प्रवासमा बसेर नेपाली भाषा– साहित्यप्रति पूरा जीवन समर्पित गर्ने अग्रणी लेखकमध्ये डा. लक्खीदेवी सुन्दास एक हुन्, जसले केही दिनअघि हामी सबैबाट बिदा लिएकी छिन् । करिब दुई दशकअघिदेखि निरन्तर प्रकाशित हुँदै आएको त्रैमासिक साहित्यिक पत्रिका ‘वनिता’ को ०७१ असोज–मंसिरको अंक उनै डा. लक्खीदेवी सुन्दास विशेषांकका रूपमा प्रकाशित भएको छ । 

उनको जिन्दगी अति संघर्षपूर्ण रह्यो । डा. लक्खीदेवी सुन्दासको जन्म २७ मार्च १९३४ मा कलकत्ताको नेपाली परिवारमा भयो । आमा धनमाया सेवा र पिता चन्द्रबहादुर सेवाको सुपुत्रीका रूपमा उनी सात महिनामै जन्मिएकी थिइन् । उनको न्वारन उडिया पुरोहितबाट भएकाले उनको नाम बंगाली भाषामा रहन गयो । जस अन्तर्गत लक्खीदेवीको अर्थ बंगाली भाषामा लक्ष्मीदेवी हुन आउँछ । उनका बाबु जागिरे थिए ।

बाबुको जागिरको सरुवासँगै लक्खीदेवी कलकत्ताबाट दार्जिलिङ आइपुगिन् भने सरुवाकै कारण केही अन्तरालपछि पुनः कलकत्ता फर्किने अवस्था बन्यो । त्यतिवेला कलकत्तामा धेरै नेपाली चेलीले मुसलमानसँग बिहे गरेकोप्रति धेरै अभिभावक चिन्तित थिए । उही चिन्ताको भूतले तर्सिएका लक्खीका बाबुले उनलाई दार्जिलिङमै फर्काएर पठन–पाठनको बन्दोबस्त गरे ।

उनका बाजे सधैँ लय हालेर रामायण पढ्ने गर्दथे । बाजेले रामायणमा हालेको लय लक्खीदेवी चाख मानेर सुन्ने गर्थिन् । सुन्दासुन्दै बाजेको लयमा आफ्नो लय मिसाएर नहेरी रामायणका श्लोक वाचन गर्न सक्ने भइसकेकी थिइन् । यसरी उनलाई साहित्यिक र सांगीतिक तृष्णा बढाइदिने कारक तŒव बाजेले वाचन गर्ने त्यही रामायण नै हुन गयो भन्ने ठम्याई धेरैजनाको रहेको छ । 

आफूमा बढेको सांगीतिक तृष्णा मेट्न लक्खीदेवीले सानैमा गाउने बानी पनि बसालेकी थिइन् । विशेषगरी, रवीन्द्र संंगीत, भजन उनी सानो छँदा निकै राम्रो गाउँ थिइन्, तर उमेर बढ्दै जाँदा उनले गाउने सोखलाई त्यागेकी देवकुमारी थापाले वनिताकै आफ्नो लेखमा उल्लेख गरेकी छिन् । 

सानैदेखि लक्खीको जीवन आफैँमा संघर्षपूर्ण छँदै थियो, त्यसमाथि अध्ययन नसकिँदै आमाको देहान्तले उनलाई विक्षिप्त बनायो । भाइलाई हुर्काउने र पढाउने जिम्मेवारीका कारण पढाइ सँगसँगै कमाइ गर्ने बाध्यता उनीसमक्ष तेर्सियो । जागिर, पढाइ र घरको व्यवस्थापन सबैतिर उत्तिकै दत्तचित्त हुँदै अघि बढ्नुपर्ने परिस्थितिले उनी स्वयंको पठन–पाठन त्यति सहज थिएन, तर तमाम असहजताका बाबजुद पनि उनले औपचारिक शिक्षालाई निरन्तर अगाडि बढाइरहिन् । उनले दर्शनशास्त्र र नेपालीमा एमए गरिन् । त्यस्तै, एलएलबी र हिन्दीमा साहित्यरत्न पनि उत्तीर्ण गरिन् । पछि उनले नेपालबाट नेपाली भाषामा विद्यावारिधि गरिन् ।

‘भारतीय नेपाली साहित्यको विकासमा दार्जिलिङको नेपाली कविता’ भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयबाट उनको विद्यावारिधि सम्पन्न भएको थियो । उनको दर्शनसम्बन्धी अध्ययनको प्रतिच्छाया उनका कथामा मनग्ये परेको चर्चा हुने गरेको छ ।

साहित्यिक जगतमा यौनलाई विभिन्न बिम्बको प्रयोगद्वारा मान्छेको जीवनभन्दा उच्चतम तत्व हो कि भनेजस्तो गरी व्याख्या विश्लेषण गरिएको हुन्छ ।  तर, लक्खीले जीवनभन्दा अनौठो र अलग कुरा सेक्स हुन नसक्ने अभिव्यक्ति सिर्जनामार्फत दिएकी थिइन् । त्यस्तै, उनका कवितामा जुझारुपन र राष्ट्रवादी छवि स्पष्ट झल्किने गरेको समीक्षा विभिन्न लेखकले गरेका छन् । साहित्य केवल लेख्नका लागि मात्र नभएर अध्ययन र दृष्टिकोणको स्पष्ट दर्पण बन्नुपर्छ भन्ने उनको तर्क थियो । 

सन् १९६० मा मेडिकल डाक्टर बिबि सुन्दाससँग उनको विवाह भयो । लक्खीदेवी दुई छोराकी आमा बनिन् । डा. पति उनको प्रत्येक कदमको खुलेर प्रशंसा गर्थे भने आफ्नोतर्फबाट सकारात्मक सहयोग जुटाउन पछि पर्दैनथे । त्यसैले लेख्नका लागि परिवारविरुद्ध संघर्ष गर्नु नपरे पनि पारिवारिक तालमेल मिलाउँदै निरन्तर अघि बढ्नु मामुली कुरा थिएन ।

बाल्यकालदेखि नै जातीय उत्पीडनको मार खेप्दै आइरहेकी थिइन् उनले । उनी सानो छँदा दार्जिलिङमा व्याप्त छुवाछुतको मानसिकताले उनलाई बारम्बार प्रहार गरिरह्यो । यो क्रमले जीवनका विभिन्न चरण र पृथक भौगोलिक परिवेशमा समेत पछ्याइरह्यो । आफ्नो स्नातकसम्मको अध्ययन सक्याएर सन् १९५५ तिर नेपालको इलाम जिल्लामा एक विद्यालयको प्रधानाध्यापक भएर कार्यरत रहँदासमेत उनले अति नै निकृष्ट प्रकारले जातीय विभेदको सामना गर्नुप-यो जसका कारण इलामलाई उनले लामो समय कर्मथलो बनाउन सकिनन् र पुनः दाजिलिङ फर्किइन् ।

विभेदका तुच्छ शब्दहरूले मुटुमा घाउ त लगाउँथ्यो नै, तर त्यसकै विरहमा शोकमग्न हुनुभन्दा केही गर्ने अठोटका साथ पढाइ–लेखाइमा साधनारत रहेकै कारण उनले त्यो उचाई हासिल गरेकी थिइन् । यसैमा स्वीकारोक्ति जनाउँदै उनले भनेकी थिइन् ‘सायद बाल्यकालदेखि नै जातीय विभेदको तिरस्कार खेप्नु नपरेको भए म यो स्थितिमा आइपुग्ने थिइनँ होला ।’ 

सुरुमा उनका कविता हस्तलिखित पत्रिकामा प्रकाशित हुन्थे । क्रमशः कथा र नाटकतिर पनि उनको लेखन बग्न थाल्यो र तिनीहरू हिन्दी पत्रिकामा प्रकाशित भइरहन्थे । उनले दियालो पत्रिकाको सम्पादन गरेको डा. दुर्गाप्रसाद दाहालले आफ्नो लेखमा उल्लेख गरेका छन् । सन् १९९८ मा उनका कथासंग्रह ‘आहत अनुभूति’ प्रकाशित भयो । १६ वटा कथा समावेश उक्त संंग्रहको भाव, परिवेश र भाषाशैलीमाथि डा. दुर्गाप्रसाद दाहालले मिहिन ढंगबाट विवेचना गरेका छन् ।

कथाभित्र लक्खीदेवीले कतै समाजभित्रका अन्धविश्वास र कुरीतिको अँध्यारो पक्षलाई समेटेकी छिन् भने कुनै कथामा हिन्दू संस्कारभित्र खस बाहुनले गर्ने वैवाहिक संस्कार तथा आञ्चलिकताका आधारमा विषयवस्तु प्रकट भएको विवेचना दाहालको रहेको छ । उनको कविताकृति ‘सम्भावित अर्थ, समर्पित एकान्त’ सन् २००० मा प्रकाशित भयो जसमा ३५ वटा कविता संग्रहित छन् । त्यसैगरी, सन् २००८ मा ‘समय र समीक्षणा’ नामक समीक्षात्मक लेख संग्रह प्रकाशित भयो जसमा ३६ वटा समालोचना संग्रहित छन् ।

एक्लोपनको अनुभूतिका साथ उनले सिलिगुडीमा आफ्ना उत्तरावस्थाका दिन गुजारिन् । त्यो एकान्तमा पनि शरीरले साथ दिँदासम्म लेखपढ टुटेन । 

लक्खीले साहित्यिक विधाका प्रायजसो सबै पाटामा कलम चलाइन् । सर्वप्रथम कवि बनेर उनको साहित्यिक छवि बाहिर आयो, त्यसपछि क्रमशः कथाकार, समीक्षक, समालोचक, चिन्तक, निबन्धकार, नाटककार, अनुवादक, सम्पादक, गीतकारलगायतका सबै विधामार्फत उनले आफूलाई पाठकसमक्ष अभिव्यक्त गरेकी थिइन् । उनले जीवनभर प्रदान गरेको लेखकीय योगदानलाई हेर्ने हो भने उनका कृति दर्जनभन्दा बढी हुनुपर्ने थियो, तर संख्यागत आधारमा ती निकै कम छन् । उनले लेखेका गीतमा गायिका एवं संगीतकार शान्ति ठटालले समेत स्वर भरेकी थिइन् भने केही गीत शिवशंकरको संगीतमा रेडियो नेपालमा समेत बजेको चर्चा पाइन्छ । 

लक्खीदेवी सरल र सहृदयी स्वभाव रहेका सबै लेखकले उल्लेख गरेका छन् । तर, सुरुमा देख्दा उनलाई कतिपयले घमन्डीजस्तो देख्दारहेछन् जसका कारण मान्छे सम्पर्कमा जानसमेत हिच्किचाउने अवस्था पनि बन्ने गरेको रहेछ । कसैको मुखबाट लक्खीदेवीसम्बन्धी गलत टिप्पणी सुनेकै आधारमा भेट्ने अवसर हुँदाहुँदै पनि धेरै वर्ष पछिसम्म भेटघाट चिनजान नगरेको, तर चिनजान भइसकेपछि उनीविरुद्धका नकारात्मक टिप्पणी हदैसम्म मिथ्या रहेको तर्क बालकृष्ण पोखरेलले ‘वनिता’कै आफ्नो लेखमार्फत उजागर गरेका छन् । 

उनको कथासंग्रह ‘आहत अनुभूति’ले सन् २००१ मा साहित्य एकादमी पुरस्कार पायो । अन्य पुरस्कार रत्नश्री स्वर्णपदक, वासुदेव पुरस्कार, भानु पुरस्कार, लोकप्रियदेवी पुरस्कार, सैन्यध्वज नन्दकुमारी पुरस्कार, भारतीय नेपाली राष्ट्रिय पुरस्कार, मोहनलाल शाह पुरस्कार, माइकल मधुसुदनदत्त अन्तराष्ट्रिय पुरस्कार आदिबाट उनी विभूषित भइसकेकी छिन् । विभिन्न संघ–संस्थासँग गाँसिएकी सुन्दासले नेपाली साहित्य सम्मेलन दार्जिलिङ, भारतीय नेपाली नारी साहित्यिक मञ्च ‘वसुधा’लगायतको सर्वोच्च पदमा आसीन भएर पनि साहित्यिक योगदान दिएकी थिइन् । पेसाका रूपमा जीवनभर महाविद्यालयको नेपाली विभागमा शिक्षणपछि उनको सेवा निवृत्त जीवन व्यतित भइरहेको थियो । 

कलकत्तामा जन्मिएर दार्जिलिङलाई कर्मभूमि बनाउँदै नेपाली भाषा साहित्यमा अनवरत समर्पित स्रष्टा लक्खीदेवीले ७५ वर्षको उमेरमा पति डा. बिबि सुन्दाससँग वियोगको सामना गर्नुप-यो । त्यसपछि उनले एक्लोपनको अनुभूतिका साथ सिलिगुडीमा आफ्ना उत्तरावस्थाका दिन गुजारी रहेकी थिइन् । त्यो एकान्तमा पनि ज्यानले साथ दिँदासम्म लेख्ने–पढ्ने क्रम कहिल्यै टुटेन । त्यही मेसोमा तल्लीन रहँदा–रहँदा अर्थराइटिजका कारण घुँडा र हाडजोर्नी दुख्ने समस्याले गाँज्दै ल्यायो ।

घरभित्रै हिँडडुलका लागि समेत सहारा चाहिने अवस्थामा उनी पुगिन् । त्यस्तो अवस्थामा समेत उनको लेखकीय प्रतिभा सधैँ जुर्मुराउँथ्यो । लेख्न नपाउँदा छट्पटी र पागलपन बढ्ने कुरा विभिन्न अन्तर्वार्तामा उनले पहिलेदेखि नै भन्दै आएको कुरा थियो । आफ्नो सारा जीवन साहित्यकै श्रीवृद्धिका लागि अर्पण गरेर ८५ वर्षे उमेरमा उनले यो संसारबाट बिदा लिइन् । अलबिदा लक्खीदेवी !