• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ब्रजेश काठमाडाैं
२०७६ असोज ४ शनिबार ०८:३४:००
सम्झना

मेरो दादा ढलेको दिन

बा

२०७६ असोज ४ शनिबार ०८:३४:००
ब्रजेश काठमाडाैं

असल कुरा ढल्छन्, हामीलाई दुःख लाग्छ । खराब कुरा ढलेको देख्दा खुसी पनि लाग्छ । तपाईं÷हामीले जीवनमा धेरै कुरा ढलेको देखेका छौँ । विश्वयुद्ध भए, मानवता ढल्यो । बर्लिनको पर्खाल ढल्यो । कहिले टेलिभिजनको पर्दामा देख्यौँ, अजंगका दुई भवन ढले– अमेरिकाको ट्विन टावर । अलि पछि हाम्रैनजिकको धरहरा ढलेको देख्यौँ । त्यसबीचमा अरू धेरै कुरा ढले । मान्छेको सोच, रोजाइ, राज्य व्यवस्था, राजसंस्था, विश्वास, इमान, सदाचार र नैतिकता पनि ढलिरहे । हामीले देखिरह्यौँ । 

तर, सबैभन्दा नरमाइलो र अत्यासलाग्दो हुँदो रहेछ–आफ्नो बाबु ढलेको देख्नु । त्यो पनि आफू कलिलो उमेरमै हुँदा, जतिवेला आफू असहाय भइन्छ । म त्यस्तै उमेरमा हुँदा एकदिन मेरो ‘दादा’ ढलिबक्स्यो । मेरै आँखाअगाडि । अनि म भागेँ । आफ्ना पिताजी ढलेको देखेर भागेँ । त्यस दिन भागेको एउटा छोरा आजसम्म पनि भागिरहेको छ । उसलाई कहिले समयले भगायो भने कहिले परिस्थितिले ।

के भाग्नु नै उसको नियति थियो ? हुन त भाग्न को चाहन्छ होला र ? म पनि चाहन्नथेँ । तर, नचाहेरै पनि म भागिरहेँ । म आजसम्म आफैँसँग भागिरहेको छु, आफ्नो दादासँग भागिरहेको छु र सायद जीवनसँग पनि भागिरहेको छु । आज यो लेख्न बस्दाचाहिँ बल्ल म एकपटक अडेको छु । भाग्दा–भाग्दा थाकेर सास फेर्न अडेको छु । आज पनि आफ्नै लागि अडेको छु । अब त त्यस घटना भएको पनि ३५ वर्ष नाघिसक्यो। झन्डै चार दशक त भागिसकेछु म । अब अरू कति भागौँ?

(मेरा पिता, श्रीधर खनाल । उहाँलाई म दादा भन्छु । हाम्रो परिवार र आफन्तको घरमा आफूभन्दा ठूलालाई हजुर भनेर सम्बोधन गर्ने चलन थियो ।हामी केटाकेटी हुँदैदेखि त्यही सुनेर–सिकेर हुर्कियौँ । आइबक्स्यो, खाइबक्स्यो भन्ने भाषा नै सिकियो । सबैले त्यसै गर्थे, त्यसैले बानी नै भयो त्यो । आज मैले लेख्न बसेको यो विषय एकदमै व्यक्तिगत, मेरो मनको कुनै कुनामा गाँठो परेर बसेको कुरा हो ।

यो एउटा पुरानो खिल हो, जसलाई आज निचोर्नु छ । यो एउटा पीडादायी नीलकाँडा हो, जसलाई आज मैले उखेलेर फ्याल्नु छ । त्यसैले म मैले मेरा बालाई सम्बोधन गर्ने भाषामै यो लेख लेखिरहेको छु ।हुन त आजकाल यसरी बोल्नु वा लेख्नुलाई सामन्ती संस्कारको परिचायक भनेर हल्ला गर्नेहरू पनि छन् । तर मान्यवर, भाषाले मानिसलाई सामन्ती बनाउँदैन । उसको व्यवहारले बनाउँछ । तैपनि आज मैले लेख्ने मेरो भाषासँग तपाईंहरू कसैलाई आपत्ति छ वा तपाईंमध्ये कसैलाई विमति छ भनेमेरो विनम्र अनुरोध छ, कृपया यहाँभन्दा अघि नपढ्नु भए पनि हुन्छ ।)

०००
मलाई दादासँग हिँड्न रमाइलो लाग्थ्यो । साह्रै सानो उमेरदेखि नै म दादा भनेर हुरुक्कै हुन्थेँ । मैले थाहा पाउने बेलैदेखि नै दादाले हुन सक्ने र मिल्नेजति ठाउँमा मलाई आफ्नो पुच्छर बनाएर लिएर हिँडेको सम्झन्छु । मैले सम्झन नसक्ने बेलाका घटना सुनाउँदा पनि वेला–वेला माँले भनिबक्सिन्छ– बिरामी भएको वेला म ‘दादा हजुर कुन वेला आउने, मलाई यहाँ कस्तो गाह्रो भइसक्यो’ भनेर रुन्थेँ रे !‘गर्ने वेला सबै स्याहार–सुसार र चाकडी मैले गर्नुपथ्र्यो । कत्ति न उसकै बाउले आएर के–के न गरिदिने जसरी कोकोहोलो मच्चाउँथिस् तँ,’ माँ वेला–वेला हाँस्दै भनिबक्सिन्थ्यो । 

अलि–अलि सम्झने वेला पनि मैले चाहेको वेला दादा सधैँ मेरो वरिपरि होइबक्सन्नथ्यो । त्यो त मैले धेरैपछि, आफैँ जिम्मेवारीले थिचिएपछि मात्र थाहा पाएँ उहाँ रात–बिरात, बेफुर्सती भइरहनुको कारण ! १६–१७जनाको परिवार पाल्ने जिम्मेवारी उहाँको काँधमा रहेछ । साइकलमा चढेर परपरसम्म ट्युसन पढाउन जानु, देशका अहिले पनि दुर्गम मानिने सरकारी विद्यालयमा शिक्षक, कहिले प्रधानाध्यापक बनेर पुग्नु, अमेरिकी सांस्कृतिक केन्द्रमा जागिर खानु, छद्म नाममा लेख/रचना लेख्नु र काकाबाजेले खोलेको काठ चिरान उद्योगमा काम गर्न नेपालगन्जको आगो ओकल्ने आकाशमुनि पसिना बगाउन जानुजस्ता धेरै काम दादाले गरिबक्स्यो ।

पछि त्यतिवेलाको सूचना विभाग र पछिको शाही नेपाल चलचित्र संस्थानमा निर्देशकका रूपमा काम गर्दा पनि आर्थिक रूपले त्यो भरपर्दो नहुँदो रहेछ । ‘हिजोआज भोलि’ भन्ने चलचित्रको छायाँकनमा महिनौँ कलकत्ता बस्दा दादाले पठाएको एउटा चिट्ठी कुनै वेला मैले भेटेको थिएँ । दादाले लेखिबक्सेको थियो,‘यहाँ पाएको पैसाले त खै, यो होटेलमा बसेको तिर्न पनि नपुग्लाजस्तो छ । एउटा लुगा किन्न पनि सकेको छैन ।’

एकपटक उहाँले रत्न पुस्तक भण्डारसँग जासुसी उपन्यास लेख्नका लागि गरेको सम्झौतापत्र भेटेको थिएँ, जसमा उल्लेख गरिएको थियो, ‘दशवटा उपन्यासका लागि पटक–पटक गरेर प्रकाशकले लेखकलाई जम्मा रु. तीन हजार ‘पुरस्कार’ दिनेछ र ती उपन्यासको सर्वाधिकार प्रकाशकमा रहनेछ ।’ तीन सय रुपैयाँका लागि दादाले हप्ताको एउटा जासुसी उपन्यास लेखिबक्सँदो रहेछ । दीर्घबाहुको नाममा उहाँले लेखिबक्सेका ती उपन्यासका दसौँ–बाह्रौँ संस्करण म केटाकेटी हुँदै छापिएको मैले देखेको छु । 

मैले लेख्न बसेको यो विषय एउटा पुरानो खिल हो, जसलाई आज निचोर्नुछ । यो एउटा पीडादायी नीलकाँडा हो, जसलाई आज मैले उखेलेर फ्याल्नु छ । 

निकै पछि आफ्नै साप्ताहिक पत्रिका ‘संरक्षक’ र आफ्नै छापाखानासम्म आइपुग्नुअघि दादाले खाएका हन्डर र गरेका कामको लेखाजोखा कमसेकम यहाँ गर्न सम्भव छैन ।‘संरक्षक’ साप्ताहिक लोकप्रिय हुने वेलासम्ममा दादाका हन्डरका दिन अलि कम भएका थिए । तर, नाम कमाए पनि पैसा कमाउन दादाले जानिबक्सेन ।

जानेको भए सक्ने स्थान र अवस्थामा पुगिबक्सेको थियो । ‘संरक्षक’मा किमइलसुङबारे हरेक हप्ता एक पाना सकारात्मक सामग्री छापिदिनका लागि राम्रै आर्थिक प्रलोभन लिएर दूतावासबाट आएका कोरियनलाई गम्भीर र विनम्र हुँदै दादाले अस्वीकार गरेर फर्काएको मैले सानै हुँदा देखेको हुँ । 

अलि सम्झन सक्ने भएपछिको कुरा हो, हरेक बिहान दादा बाहिर जानेजुत्ता टल्काएर पालिस गर्ने जिम्मा मेरो हुन्थ्यो । त्यसबापत मैले महिना मरेपछि एक रुपैयाँ तलब पाउँथे । त्यो पनि म माँलाई लगेर बुझाउँथेँ । माँले फजुलखर्ची बन्नु हुँदैन भनेर चार दिनसम्म एक–एक सुका गरेर त्यो मलाई दिइबक्सन्थ्यो । स्कुल जाँदा ती चार दिन म आफूलाई वाजिद अली साहसरह ठान्थेँ । 

हुन त हरेक केटाकेटीलाई आफ्ना बा प्रिय हुन्छन् । तर, दादाप्रतिको मेरोआशक्ति अलि बढी नै गाढा थियो । दादा त्यति वेला प्रखर भएर होला कि ? त्यति वेला बिहानै मानिस आफ्ना अनेकौँ समस्या बोकेर हाम्रो घरमा आउँथे । कसैलाई कतै सरुवा चाहिएको हुन्थ्यो, कसैलाई थमुवा । कोही प्रमोसनका लागि भनसुन गराउन आउँथे, कोही कतै जागिर मिलाइदिन । ती मानिसका धेरैजसो काम दादाले एक फोनको भरमा गरिदिएको देखेर पनि होला, मलाई लाग्थ्यो– मेरा बाले गर्न नसक्ने केही कामै छैन । 

दादा सुरक्षा होइबस्किन्थ्यो मेरा लागि । जाडोकावेला दादाले गम्लंग ओढ्ने दोलाइँमा मलाई भित्र लुकाएर राख्दा त्यो स्थान मेरा लागि सबैभन्दा प्रिय हुन्थ्यो । दादाको आफ्टर सेभ र अत्तरको बास्ना मलाई बडो मीठो लाग्थ्यो । हातमा खन्याएर गालामा दलेको त्यो आफ्टरसेभ– उहाँले चलाएको मोटरसाइकलको ह्यान्डलमा समेत त्यसको बास्ना लामो समय रहिरहन्थ्यो । 

मानिसहरू भन्थे, राजासँग दादाकोराम्रो सम्बन्ध छ । हुन पनि राजाका विदेश भ्रमण र विकास क्षेत्रका लामालामा भ्रमणका वेला उहाँ सधैँ लामो समयका लागि घरबाट टाढा होइबक्सन्थ्यो । त्यस्तो वेला मलाई हाम्रो घरअगाडिको मोटो, ठूलो र अग्लो पर्खालको उचाइ कम लाग्थ्यो । घरको मूल ढोका अभेद्य छैन भन्ने लाग्थ्यो । झ्यालमा भएका डन्डी लुला र हल्लिएका हुन् कि भन्ने लाग्थ्यो । 

दादाका आँखा र स्वर देख्दाचाहिँ कहिलेकाहीँ डर पनि लाग्थ्यो । उहाँ रिसाएकावेला कसैको पनि सातो जान्थ्यो । मेरा साथी घरमा आउँदा चारैतिर पल्याकपुलुक हेर्दै बिरालोको चालाले भित्र छिर्थे । दादा घरमा होइबक्सन्न भन्ने थाहा पाएपछि मात्र उनीहरूलामो सास फेर्थे । (म आज जुन दिनको कुरा गर्दै छु, त्यस दिनको केही घटना मलाई स्पष्ट सम्झना छन् भने त्यसै दिनका केही कुराचाहिँ मेरो स्मृतिबाट फुंग उडिसकेका छन् । जति प्रयास गरे पनि म सम्झन सक्दिनँ । म त्यसलाई बिर्सन चाहन्छु । तर, त्यो दिन मैले ऋण खाएको कुनै क्रूर साहु हो । मेरो पछि लागिरहन्छ । कुनै न कुनै अप्रत्याशित मोडमा मेरासामु आइरहन्छ । मलाई छाड्दै छाड्दैन ।

त्यो एउटा यस्तो दिन थियो, जसलाई म मेरो स्मृतिबाटै सम्पादन गरेर मिल्काइदिन चाहन्छु । दादा, हजुर त आफ्नो वेलाको चर्चित लेखक, पत्रकार र सम्पादक । मलाई हजुरले नै लेख्न सिकाइबक्सेको हो । तर, हजुरले मलाई आफ्नो जीवनको लेखबाट कुनै कुरा सम्पादन गर्ने तरिकाचाहिँ किन नसिकाइबक्सेको ? कि त्यस्तो कुनै तरिका नै छैन दादा ? मानिसको सम्झना किन उसको वशमा हुँदैन होला ? त्यसो भएको भए चाहिने कुरा सम्झिने र नचाहिने कुरा च्वाट्टै बिर्सिन पाइन्थ्यो । मानिस कति खुसी हुन्थ्यो होला । तर के गर्नु, त्यसको उल्टो भइदिन्छ । बिर्सन खोजेको कुरा गाढा भएर बस्छ यो मथिंगलमा । सम्झन खोजेकोचाहिँ कता हराउँछ कता ।)

दसैँ आउन लागेको हुनाले स्कुल बिदा भइसकेको थियो । त्यसैले होला, म त्यस दिन दादासँगै थिएँ । मेरा लागि त्योभन्दा राम्रो दिन के हुन सक्थ्यो र ?हामीसँग प्रेमसिंह भन्ने एकजना मानिस पनि थिए, जो तिनताका दादाको प्रिय पात्र थिए । मलाई लाग्छ, अर्को कोही एक मानिस पनि थिए, जसलाई म अहिले सम्झन सक्दिनँ । बिहानैदेखि म दादासँग यता र उति घुम्दै थिएँ । दिउँसो २ बजेआसपास होला, हामी रत्नपार्कतिर पुगेका थियौँ ।

त्यति वेला मलाई थाहा थिएन, त्यो शुक्रबारको दिन दादालाई एउटा राम्रो समाचार सुनाइएको थियो । कलकत्ताको महावाणिज्यदूतका रूपमा उहाँलाई पठाउने निर्णय भएको र सोमबार त्यसको औपचारिक पत्र घरमा आउने कुरा बताइएको रहेछ । त्यसैले हुनुपर्छ, त्यसदिन दादाराम्रो मुडमा होइबक्सिन्थ्यो । उहाँको खल्ती पनि त्यस दिन अलि भारी नै थियो । त्यस्तो वेला आफूलाई चाहिएका कुरा फुत्काउन सजिलो हुन्छ भन्ने मलाई थाहा थियो । मलाई एउटा डिंगो बुट लगाउने रहर लागेको धेरै भइसकेको थियो । 

रानीपोखरीको दक्षिणतिर लहरै भएका पसलमा नाचिरहेका मेरा आँखा एउटा जुत्ता पसलमा पुगेर अडिए । मैले दादाको मुडको फाइदा उठाउने निधो गरेँ । हुन सक्नेजति मायालु अनुहार लगाएर मसिनो स्वरमा आफ्नो रहर सुनाएँ । दादाले ‘ल हिँड्’ भनेर मलाई पसलभित्र लगिबक्स्यो । पसलेले जुत्ता देखाउन थाले । तर, धेरैवटा जुत्ता लगाएर हेर्दा पनि त्यहाँ मेरो साइजको बुट फेला परेन ।

हुन त मेरा गोडा तुलनात्मक रूपमा अलि ठूलै थिए । अनि मेरो टाउको पनि अरूको भन्दा ठूलो थियो । वेला–वेला दादाले एउटा उखान भनिबक्सन्थ्यो, ‘सर बडा सरदार का । पैर बडा गँवार का ।’ एक दिन मैले सोधेको थिएँ, ‘दादा मेरो त टाउको पनि ठूलो छ, खुट्टा पनि । त्यसो भए म के त ? सरदार कि गँवार ?’ उहाँले प्याट्टै भनिबक्सेको थियो, ‘तँ गँवारको सरदार होस् ।’

त्यस दिन भागेको एउटा छोरा आजसम्म पनि भागिरहेको छ । वेला– वेला मलाई किन म भगुवा छोरा हुँ भन्ने मात्र लागिरहन्छ ? के म हजुरको भगुवा छोरा हुँ ? अथवा जर्ज बर्नाड सको ब्लन्स्ली ?

तर, गँवारको सरदारको ठूलो खुट्टाभन्दा पनि ठूला जुत्ता मात्र त्यहाँ थिए । मलाई लाग्यो, फेरि यो मौका जुर्ला÷नजुर्ला । त्यसैले आफ्नो खुट्टाभन्दा दुई साइज ठूलो एउटा बुट मैले ठीकै छ भनेर जिद्दी गरेँ । पसलेलाई पनि आफ्नो व्यापार नहोला भन्ने पिर थियो, भन्यो, ‘बच्चा कुन दिन ह्वात्तै बढ्छन् थाहै हुँदैन । अलिकति ठूलै लिएको राम्रो हजुर।’मैले पनि हतार–हतार थपिहालेँ,‘हो हो । अहिले नै देब्रतिर अलि छोला–छोलाजस्तो छ ।’

हजुरले पैसा तिरिबक्स्यो । म दंग परेँ । लगाएको नयाँ बुट नफुकाली पुरानो जुत्ता पोको पार्न लगाएँ । त्यसदिन अचानक दक्षिणकाली जाने योजना बन्यो । मलाई थाहा छैन, त्यो प्रस्ताव कसले राखेको थियो । दक्षिणकाली हाम्रो इष्टदेवी पनि हुन् भन्ने मैले सुनेको थिएँ । त्यसैले बारम्बार त्यहाँ गइरहनु स्वाभाविक थियो । तर, शुक्रबारका दिन त्यति अबेला अनपेक्षित र अचानक कार्यक्रम किन बन्यो भन्ने त्यस वेला मैले सोच्न सक्ने कुरै थिएन । जे होस्, एउटा ट्याक्सी रोकेर मोलमोलाइ भयो । कुरा मिल्योे र हामी दक्षिणकालीतिर लाग्यौँ । 

म दंग थिएँ । दादासँग दिनभर घुम्न पाएको, नयाँ बुट किनिएको अनि ट्याक्सीमा दक्षिणकाली जान पाएको । मलाई त्यस वेला लागेको थियो, त्योभन्दा राम्रो दिन मेरा लागि अरू कुनै हुनै सक्दैनथ्यो । अंग्रेजीमा एउटा उखान छ, ‘मर्निङसोज द डे ।’ तर, होइन रहेछ । बिहानले दिनको पटक्कै पनि संकेत दिँदैन रहेछ । त्यसो भएको भए त्यस दिनको अन्त्य त्यसरी हुनै सक्दैनथ्यो ।

मेरो मन–मस्तिष्क र धेरै हदसम्म व्यक्तित्वमा नै एउटा ठेला उठाउने दिन बन्नबाट रोक्थेँ होला म । हामी तत्क्षणलाई नै सबैथोक हो भन्ने सोच्छौँ र रमाउँछौँ । अर्को, पलामै सबैथोक बदलिन सक्छ भन्ने बिर्सन्छौँ । मलाई पनि थाहा थिएन, त्यति राम्ररी सुरु भएर बितिरहकोे त्यो दिन मेरो जीवनको एउटा असाध्यै पीडादायी र कालो दिन बनेर समाप्त हुने सुरमा छ । 

हामी त रमाइरमाइ दक्षिणकाली पुगेका थियौँ । फर्पिंङतिरका स्थानीय बासिन्दाहरू दादालाई राम्ररी चिन्थे । कुनै वेला उहाँले त्यहाँको त्रिभुवन आदर्श विद्यालयमा आवासीय शिक्षकका रूपमा पढाएको कुरा पनि वेला–वेलासुनेको थिएँ । मन्दिरतिर जानुअघि फर्पिङमा रोकिएर केहीबेर बजारका मानिससँग कुरा भएको पनि मलाई सम्झना छ । अनि हामी मन्दिर दर्शन गर्न गयौँ ।

दर्शन सकेपछि तलको मिठाई पसलमा चिया–खाजा खाएर हामी माथि पार्किङतिर उक्लियौँ । म दंग थिएँ । फुरुक–फुरुक गरिरहेको थिएँ । दुई साइज ठूलो बुट लगाउन पाएर म आफू हिरो भएको ठानिरहेको थिएँ । हामी आफूले रिजर्भ गरेर लगेको ट्याक्सीतिर जाँदै थियौँ । चकमन्न सुनसान थियो । भक्तालु आउने दिन पनि थिएन त्यो, समय पनि थिएन । 

अनि अचानक अनौठा घटना हुन थाले । कुनै चित्रकारले कोरिरहेको सुन्दर चित्रजस्तो दिनमा कसैले गोलले जथाभावी कोरेजस्तो हुन थाल्यो । के–के भयो, म ठ्याक्कै सम्झन सक्दिनँ । अलि परबाट केही मानिस हामीतिर आइरहेको सम्झना छ । हाम्रो छेउ आएपछि प्रेम सिंहसँग उनीहरूको केही कुरामा विवाद भएजस्तो पनि लाग्छ । प्रेम सिंह तिनीहरूसँग भिड्न गएको अस्पष्ट चित्र मगजमा छ । अनि हजुरले उनीहरूलाई छुट्याउन र सम्झाउन अघि बढेको पनि धमिलो खाका छ । त्यसपछिका केही कुराहरूचाहिँ एकदमै स्पष्ट दिमागमा अंकित छन् । मानौँ केहीबेर अघि मात्र त्यो घटना घटेको हो ।

दादा ढलिबक्स्यो । त्यो दृश्य मेरा लागि अकल्पनीय र अविश्वसनीय थियो । मेरै आँखाअगाडि आफ्ना पिता त्यसरी डंग्रंग लडेको देख्दा त्यति वेला मलाई के भयो भन्ने म कसै गरे पनि भन्नै सक्दिनँ । म कति स्वार्थी छु होइन त ? मलाई के भयो होला भन्ने कुरा पो गर्दै छु । दादालाई के भयो होला भन्ने त त्यति वेला मैले सोच्न पनि सकिनँ । त्यतिवेला मलाई थाहा थिएन, कसैले पछाडिबाट उहाँको टाउकोमा फलामको मोटो डन्डीले प्रहार गरेको रहेछ । त्यसरी पछारिँदा, पछारिनुअघि जुन चोट उहाँको टाउकोमा लाग्यो होला, त्यसले कति दुख्यो होला । तर, मैले त्यति वेला त्यो सोच्न पनि सकिनँ । 

१०–१२ वर्षको कुनै पनि केटोलाई आफ्नो बाबु हनुमानभन्दा बढी शक्तिशाली हुन् भन्ने लाग्छ । मलाई पनि त्यस्तै लाग्थ्यो । बा त भरोसा हुन्छन्, आड हुन्छन् । उनको छत्रछायामा केटाकेटीले आफूलाई सुरक्षित ठान्छन् । म पनि त्यस्तै ठान्थेँ । दादा हुन्जेल मलाई संसारका कुनै पनि कुराले केही बिगार गर्न सक्दैन भन्ने सोच्थेँ । तर, त्यसदिन आफ्नै आँखाअघि आफ्ना पिता ढल्दा मेरो आड र भरोसा पनि सँगै ढल्यो ।

लड्दा उहाँको ‘रे–ब्यान’को चश्मा सडकमा खस्यो । उहाँको हातको घडी फुत्केर केही फिट पर पुगेको पनि मलाई स्पष्ट सम्झना छ । अचानक मलाई थाहा भयो, मेरा पिता सुपरम्यान होइनन् । मलाई पहिलोपटक डर के हो भन्ने कुरा थाहा भयो । त्रासको रंग बडो भयावह हुँदोरहेछ । मलाई दादा त पहाड हो भन्ने लाग्थ्यो । मेरो पहाड त लमतन्न परेर भुइँमा फैलिएको थियो ।

त्यतिवेला मेरो मगजमा बिजुलीको गतिमा खेलिरहेका थिए केही कुरा । उहाँलाई म बचाउन सक्दिनँ भन्ने मलाई थाहा थियो । आफ्ना पितापछि त्यस उमेरका केटाकेटीलाई भर लाग्ने अरू तीन कुरा हुन्छन्– ईश्वर, राजा र प्रहरी । ईश्वरको भर म कसरी पर्न सक्थेँ ! आफ्नै इष्टदेवीको मन्दिरको प्रांगणमा त्यो भइरहेको थियो । ईश्वर त्यही रूपमा छन्, जुन रूपमा हामी मान्छौँ भने त त्यसो हुनै नपर्ने थियो । त्यसैले उनी छैनन् र भए पनि उनले केही गर्दैनन् भन्ने मैले बुझिसकेको थिएँ । बाँकी रहेकामध्ये राजा त्यहाँ उत्पन्न हुन सक्ने थिएनन् । विकल्प चौथो मात्रै बाँकी थियो, प्रहरी ।

माथि फर्पिङ बजार पुग्ने मोडनिर एउटा प्रहरीचौकी थियो । त्यहाँ गएर प्रहरी ल्याउनुपर्छ– मैले चारैतिर हेरेँ । भाग्नका लागि हाम्रो ट्याक्सी मोड्दै थियो । म दौडेर त्यतै गएँ, ढोका खोलेर भित्र पसेँ । ट्याक्सी हुइँकियो । पार्किंङबाट निस्केपछि माथि बजारतिर उकालो लाग्दा दायाँबायाँ जंगल थियो । त्यो सकिएर बजार पुग्ने मोडनिर दायाँपट्टि भएको प्रहरीचौकीमा मैले अत्तालिँदै सहयोग मागेँ ।

दादाको नाम सुन्नासाथ प्रहरी छिट्टै हरकतमा आए । दरबारसँगको निकटताका कारण त्यतिवेला उहाँको ठूलै साख थियो । तर, त्यो साख पनि उहाँसँगै तल पार्किङमा ढलिसकेको थियो । मैले छोडेर भागेपछि दादाको अवस्था के थियो– मलाई थाहा थिएन । प्रहरीसँगै म पनि त्यही ट्याक्सीमा बसेर फेरि तलतिरै हुँइकियौँ । मोड काटेर जंगल सुरु हुनासाथ ट्याक्सीले झ्याप्प ब्रेक लगायो । एकैछिनअघि हामी आएको बाटो अवरुद्ध भइसकेको थियो । 

सडकको बीचमा कताबाट कसले हो ठुल्ठूला ढुंगा ल्याएर राखिदिइसकेको रहेछ । त्यो कसले र किन राखेको थियो भन्ने कहिल्यै पनि खुलेन । प्रहरी दगुरेरै तलतिर लागे । म पनि पछि लाग्न खोज्दै थिएँ, कसैले मलाई च्याप्प समात्यो । फर्पिङका केही मानिस घटनास्थल आइपुगेका रहेछन् । तीमध्ये एक हामीले चिनेकै दाइ थिए ।

उनीहरूले मलाई आफूसँग बजारतिर लिएर गए । त्यसपछिको केही समय फेरि मेरो स्मरणबाट लुप्त भएका छन् । एकैपटक अलि–अलि अँध्यारो हुन थालेका वेला मलाई उनीहरूले फर्पिङको भित्रि बस्तीमा डोहो¥याइरहेको धमिलो सम्झना छ । ढुंगा छापेको बाटो थियो, छेउमा एउटा पोखरी पनि थियो । उनीहरूले मलाई एउटा पुरानो घरभित्र हुलेर दुई तला ओराले अनि एउटा छिँडीजस्तो कोठामा लगेर राखे, ‘तिमी एकछिन यहीँ बस है बाबु ?’

बाहिरबाट ढोका थुनेर उनीहरू गए । त्यो कोठामा पच्चीस वाटको रुन्चे गुलुपले मधुरो र पहेँलो बत्ती छरिरहेको थियो । त्यो कोठामा झ्याल थिएन । ढोका बाहिरबाट बन्द थियो । एउटा सुकुल मात्रै ओच्छ्याएको थियो । म भयभीत थिएँ । असाध्यै डराएको थिएँ म । आफ्ना लागि डराएको थिएँ, दादाका लागि डराएको थिएँ । मेरो संसार अचानक सुन्दर रहेको थिएन । त्यही त्रासका बीचमा त्यहाँ म कतिबेर बसेँ, मलाई थाहा छैन । मलाई त्यहाँ थुनेर जाने मानिस फर्केर आउँदा कति समय गइसकेको थियो भन्ने पनि थाहा छैन । उनीहरूले भने, ‘तिमीलाई हामी घर पु-याइदिन्छौँ ।’ मैले उनीहरूसँग दादाका बारेमा सोधेँ । 

‘उहाँलाई अलिकति चोट लागेको हुनाले अस्पताल लगिएको छ ।’त्यो घरबाट बाहिर निस्कँदा बाहिर निकै गाढा अँध्यारो थियो । रात निकै भइसकेको रहेछ । कतिवेला त्रिपुरेश्वर पुगियो, मलाई थाहा पनि भएन । घरमा कोलाहल थियो । दादालाई वीर अस्पतालमा राखेको छ भन्नेबाहेक मलाई कसैले सही कुरा बताइरहेको थिएन । सायद, कसैलाई त्योभन्दा बढी थाहा पनि थिएन होला । मैले ढिपी गरेपछि राति नै कसैले मलाई अस्पताल लग्यो । दादा अचेत होइबक्सन्थ्यो । दुई दिनसम्म डाक्टरले हजुरलाई होसमा ल्याउन सकेनन् । 

त्यतिवेला नाम चलेका डा. गंगोल भन्ने न्युरो सर्जनले दादाको टाउकोको शल्यक्रिया गर्ने निर्णय गरे । तर, माँले सिटिस्क्यानसमेत हुन नसक्ने त्यति वेलाको अवस्थामा यहाँ शल्यक्रिया गर्न मानिबक्सेन, बरु दिल्ली लैजान्छु भनेर ढिपी गर्न थालिबक्स्यो । तर, वीर अस्पतालले हजुरलाई डिस्चार्ज गर्न मानेन । उहाँलाई त्यो अवस्थामा बाहिर लैजान मिल्दैन भन्थे उनीहरू । हाम्रा काकाबाजे रञ्जनराज खनाल त्यतिवेला दरबारको प्रमुख संवादसचिव थिए । हामीले उनको सोर्स लगाएपछि मात्र दादाको टाउको खोल्न तयार भएका डाक्टर उहाँलाई डिस्चार्ज गर्न सहमत भए । 

यो देशमा धेरै कुरा फेरियो भन्छन् । तर, त्यतिवेला जस्तै यहाँ अझै पनि कि पैसा कि पहुँच नहुने हो भने केही हुँदैन । हजुरलाई सकेसम्म छिटो सुविधायुक्त अस्पतालमा पु-याउनुपर्ने थियो । रञ्जनराज खनालले नै त्यसै रातको दिल्लीको हवाई टिकट बन्दोबस्त गरिदिए । उनको यो दुईवटा गुन म कहिले बिर्सन्नँ । 

अर्को गुन भर्खर एमबिबिएस सकाएका हाम्रा काका सुधांशु शर्माले लगाए । उनलाई हामी सबै सान्दा भन्थ्यौँ । परिवार र नातागोता सबै सान्दालाई अन्धो विश्वास गर्थे । कसैलाई पनि केही भयो भने सान्दा नै सबैभन्दा पहिलो र भरपर्दो मानिस हुन्थे । सान्दा एक वचनमा माँसँग अचेत दादाका साथ दिल्ली जान तयार भए । 
दुईवटा सिट निकालेर दादालाई लम्पसार पारेरै दिल्ली उडाइयो ।

हाम्रा अर्का काकाबा त्यतिवेला दिल्लीको नेपाली राजदूतावासमा सांस्कृतिक सहचरका रूपमा कार्यरत थिए । तत्कालीन शाही नेपाल वायु सेवा निगमको जहाज त्यहाँ अवतरण गर्दा एम्बुलेन्स रनवेमै तयार थियो । दादालाई जहाजबाट सीधै एम्बुलेन्समा सुताएर अल इन्डिया मेडिकल इन्स्टिच्युट पु-याइयो । त्यहाँका दक्ष डाक्टरले टाउको नखोलीकनै केही दिनमा उहाँलाई होसमा ल्याए । दादालाई चोट लागेको टाउको वेला–वेला बेस्मारी दुख्थ्यो । उहाँलाई सम्झना छैन होला, एकदिन त्यस्तै दुखेका वेला दादाले त्यहाँको वरिष्ठ डाक्टरलाई हिन्दीमै भनिबक्सेको थियो, ‘मेरा सरका दर्द मिटा दो डाक्टर । मैं इन्दिरा गान्धी से कहकर तुम्हे पद्मश्री दिलवा दुँगा ।’

कसैले पछाडिबाट दादाको टाउकोमा फलामको मोटो डन्डीले प्रहार गरेको रहेछ । उहाँ ढलिबक्स्यो । त्यो दृश्य मेरा लागि अकल्पनीय र अविश्वसनीय थियो । 

कति दुख्थ्यो होला दादालाई ? एक–डेढ महिना दिल्लीमा उपचारपछि दादा ठीक होइबक्सियो । समातिएका केही मानिसलाई त्यसै रात त्यतिवेलाका कुनै एक प्रभावशाली मन्त्रीको आदेशमा छाडियो रे भन्ने सुनियो । त्यसमा कति सत्यता छ भन्ने थाहा छैन । त्यस घटनामा संलग्न अपराधीलाई अविलम्ब पक्रन र कारबाही गर्न नेपाल पत्रकार महासंघले वक्तव्य पनि निकालेको थियो । तर,घटनामा संलग्न मानिसको पहिचान र कारबाही भएन । त्यो घटना किन भयो होला भन्ने विषयमा धेरै हल्लाखल्ला भए । कसैले के भने, कसैले के । त्यो रहस्यको रसातलमा बिलायो । सत्य के हो भन्ने हामीलाई कहिल्यैे पनि थाहा भएन । 

त्यस घटनाका कारण दादाकोे प्रगतियात्रामा ठूलै ब्रेक लाग्यो । उता पञ्चायत नीति तथा जाँचबुझ समितिका टाउकेले जनमतसंग्रहका लागि हाम्रो प्रेसमा छापिएका पर्चा–पोस्टरको पैसा तिर्न झुलाए । त्यसका लागि दादाले ऋण लिएर प्रेस विस्तार गरिबक्सेको थियो । कागजको पैसा, मसीको पैसा, बैंकको किस्ता, ब्याज, कर्मचारीको तलब तिर्न गाह्रो भयो । दादाले प्रेस बेचेर ऋण तिरिबक्स्यो । ‘संरक्षक’ साप्ताहिक पनि बन्द भयो । एउटा बाटोमा हिँडिरहेको जिन्दगीको गाडीले अर्कै बाटो समात्नुप-यो । हुन त बिस्तारै–बिस्तारै मानिसले हरेक कुरा बिर्सन्छ । नबिर्से पनि त्यसको असर कम हुँदै जान्छ । हामीले पनि क्रमशः परिस्थितिसँग सम्झौता त ग-यौँ । तर, हामी फेरि पहिलेजस्तै सहज हुन सकेनौँ ।

मेरो पहाड ढलेको दिनको खत मन–मस्तिष्कमा गहिरो भएर बसेको छ । मानिसको जीवन एउटा ठूलो तराजु हो, जसको एउटा पाटोमा प्रश्न हुन्छन् भने अर्कोमा उत्तर । हरेक मानिसको जीवन प्रश्न र उत्तरको भारी जोख्दा–जोख्दै बित्छ । जीवनभर मानिसको ध्याउन्न ती दुई पाटाका सन्तुलन बनाउनमै खर्च हुन्छ । कहिलेकाहीँ उत्तरका पाटाभन्दा प्रश्नका पाटा भारी भएर तल लच्क्यो भने मानिस तनावग्रस्त हुन्छ । अनि कहिलेकाहीँ त एउटै प्रश्न यति गह्रौँ भइदिन्छ, हजारौँ–लाखौँ उत्तरका ठेलीले पनि त्यसलाई उचाल्न सक्दैन । 

त्यो दुर्घटना मेरो जीवनको एउटा त्यस्तै प्रश्न हो । त्यसको उत्तर म अझै पनि खोज्छु । कहिले मलाई लाग्छ, म भगुवा हुँ । मैले आफ्ना पितालाई छाडेर भागेँ । हुन त त्यहाँबाट नभागेको भए पनि मैले गर्न सक्ने के थियो ? त्यतिवेला सबैले भनेका थिए, अहिले पनि भन्छन्– म नभागेको भए, भागेर गएर प्रहरी र स्थानीयवासी परिचालन नभएको भए दादालाई ट्रकले किच्न ठिक्क परिसकेका थिए रे ! त्यसैले उहाँलाई बचाउने नै म थिएँ भन्छन् मानिसहरू । तर पनि वेला–वेला मलाई किन म भगुवा छोरा हुँ भन्ने मात्र लागिरहन्छ ?

बर्नाड सको एउटा चर्चित नाटक छ, ‘आम्र्स एन्ड द म्यान’ । त्यसमा उनले मुर्खता र बहादुरीको परम्परागत परिभाषालाई भत्काएका छन् । उनी भन्छन्, नचाहिने ठाउँमा देखाइने बहादुरी मूर्खता हो । विपरीत परिस्थितिमा लड्नु–भिड्नु बहादुरी होइन । स भन्छन्, परिस्थितिलाई बुझेर त्यसअनुसार सोच्न सक्नु बहादुरी हो ।

बुल्गेरिया र सर्बियाको लडाइँको पृष्ठभूमिमा लेखिएको त्यस नाटकमा एउटा सैनिक युद्धको मैदानबाट भागेको छ । त्यो भगुवा ब्लन्स्ली भन्ने सिपाहीलाई उनले नाटकमा नायक बनाएका छन्, बहादुर भनेर प्रमाणित गरेका छन् ।

किनभने उसको पल्टनलाई दिइएको गोलीगट्ठा गलत परेको हुन्छ । त्यसको भरमा लड्दा हार निश्चित थियो । भागेर ऊ संयोगवश बुल्गेरियन कर्नलको घरमा, उनकी छोरी राइनाको कोठामा लुक्न पुग्छ । उसलाई बन्दी बनाएर आफू सुरक्षित रहने क्रममा उसले बहादुरी र कायरताका बारेमा राइनाको पनि बुझाइ नै पनि परिवर्तन गरिदिन्छ । म आफ्नो एउटा प्रश्नको उत्तरचाहिँ अझै पनि पाउँदिनँ । के म हजुरको भगुवा छोरा हुँ ? अथवा जर्ज बर्नाड सको ब्लन्स्ली ?