• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०७६ असोज ११ शनिबार ०८:३७:००
रिपाेर्ट

मञ्चमा महिला

२०७६ असोज ११ शनिबार ०८:३७:००
शान्ति तामाङ काठमाडाैं

निशा शर्मा, सरिता गिरी, नानी थापा, सिर्जना सुब्बा, पशुपति राईहरू नेपाली रंगमञ्चमा चल्तीका महिला कलाकार हुन् । यीबाहेक सिर्जना अधिकारी, पवित्रा खड्का पनि रंगकर्ममा निरन्तर क्रियाशील छन् । निशाले ‘मायादेवीको सपना’, सिर्जनाले ‘युमा’, पशुपतिले ‘खरीको घेरो’, सिर्जना अधिकारीले ‘मिल्क टी’, आकांक्षा कार्की र गुञ्जन दीक्षितले ‘योनिका कथा’, लुनिभा तुलाधरले ‘कोरा’बाट उनीहरू थप उज्यालिए । 

मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘महाभोज’मा प्रहरी अधिकृत तारा चाम्लिङको भूमिकामा रहेकी सिर्जना सुब्बा दुई जिउ हुँदा पनि नाटक मञ्चनमा व्यस्त छिन् । परम्परागत दृष्टिबाट उनको अवस्था अहिले आराम गर्ने हो । तर, उनी रोकिएकी छैनन् । 

पछिल्लो १० वर्षयता रंगमञ्चमा महिलाहरूको सक्रियता निकै बढ्यो । उच्च शिक्षा हासिल गरेका महिलाहरूले समेत रंगकर्मलाई निरन्तरता दिन थालेका छन् । लेखन, निर्देशन, थिएटर सञ्चालकमा समेत महिलाहरू देखिएका छन् । तर, चित्त बुझाउने ठाउँ नरहेको रंगकर्मी सुब्बा बताउँछिन् । ‘पछिल्लो १० वर्षलाई हेर्ने हो भने महिला रंगकर्मीको उपस्थिति राम्रो देखिन थालेको छ,’ उनी भन्छिन्, ‘तर, उपस्थितिसँगै महिलाका आफ्नै खालका चुनौती पनि छन् ।

सुरुमा त परिवारले नै पत्याउँदैनन् । परिवारले नपत्याउने वातावरण बन्दा महिला भएकै कारण शारीरिक, मानसिक समस्या भोग्नुपर्ने अवस्था छ ।’ उनी मात्र होइन, अधिकांश महिला रंगकर्मीले अझै पनि पुरुष रंगकर्मीजसरी घरबाट फुत्त निस्किएर निस्फिक्री रंगकर्ममा लाग्ने र तनमन दिने वातावरण नभएको अनुभव सुनाउँछन्, महिला रंगकर्मीहरू । 

डेढ दशकदेखि नाट्य कर्ममा सक्रिय पशुपति राई पनि नाटकले धेरै समय माग्ने हुनाले महिलालाई यो क्षेत्रमा टिक्न अझै समस्या रहेको तर्क गर्छिन् । ‘नाटकले धेरैभन्दा धेरै समय माग्छ । त्यसमाथि महिलाका आफ्नै समस्या छन् । बल्ल–बल्ल निस्किएर काम गर्न थाल्यो । त्यसपछि बिहे, परिवार, बच्चा भन्ने हुन्छ । ती सबैमा पुरुषको भन्दा महिलाको भूमिका धेरै हुन्छ । त्यसकारण नाटकमा समय दिन पुरुषलाई भन्दा महिलालाई गाह्रै हुन्छ,’ उनी भन्छिन् । 

समाजमा एउटा पुरानो धारणा जबरजस्त थियो– रंगमञ्चमा भविष्य छैन । यो विशुद्ध मनोरञ्जनको क्षेत्र हो । यो क्षेत्रमा लाग्ने महिलाको चरित्र राम्रो हुन्न । यो गलत धारणासँग जुध्न नसकेर कति महिला रंगकर्मीहरू पलायन पनि भएका छन् । कुनै समय रंगकर्ममा क्रियाशील महिला रंगकर्मी समुना केसी, प्रमिला कटुवाल, मञ्जु देवकोटा, पूजा ढकाललगायत कलाकार अहिले नाट्य दुनियाँबाट अलग भइसकेका छन् । 

रंगकर्ममा ६–७ वर्ष बिताएमा अवसर पाइने भए पनि सुरुवाती चरणमा संघर्ष गर्न निकै गाह्रो हुने रंगकर्मी पवित्रा खड्का बताउँछिन् । ‘अन्य क्षेत्रमा जस्तै नाटकमा लागेका महिलामा पनि पारिवारिक दबाब हुन्छ । बिहेभन्दा अघि बिहे गर्नुपर्छ भन्ने दबाब हुन्छ । बिहेपछि बच्चा जन्माउनुपर्छ । घरको पनि जिम्मेवारी लिनुपर्छ भन्ने हुन्छ । रंगकर्मी महिलाको संख्या त बढ्यो तर समस्या उस्तै छ,’ उनी भन्छिन् । 

रंगक्षेत्र महिलाअनुकूल रहेको बुझाइ छ रंगकर्मी निशा शर्माको । ‘४० को दशकतिर राष्ट्रिय नाचघरतिर देखाइने नाटक अलि भल्गर हुन्थ्यो । त्यसको प्रभाव दर्शकमा केही समयसम्म देखियो । महिला कलाकारलाई त्यसको सोझो असर प-यो,’ उनी भन्छिन्, ‘पहिला नाटक गर्छु भन्दा कामचाहिँ के गर्छौ भन्ने चलन थियो । पढेलेखेका मानिस यो क्षेत्रमा आउनुहुन्न भन्ने थियो । अहिले हामीले त्यो अवस्था पार गरिसकेका छौँ ।’ उनी महिला कलाकारले पनि मुख्य भूमिका पाउन थालेकोमा खुसी व्यक्त गर्छिन् । 

रंगकर्मी शर्मा अहिले नाट्य क्षेत्रमा समस्या होइन, राम्रो नाटक दर्शकलाई कसरी दिने भन्ने चुनौती थपिएको बताउँछिन् । ‘मानिसमा रहेको ठूलो महŒवकांक्षा र असन्तुष्टिले रंगमञ्चमा टिकिरहन कसैलाई पनि सहज नभएको हो । तर, ती विषयभन्दा नाटकका दर्शक बढेकाले हरेक महिना कस्तो नाटक लैजाने भन्ने विषय चुनौतीपूर्ण छ,’ उनी भन्छिन् । 

रंगकर्मी महिलामा पनि पारिवारिक दबाब छ । बिहेअघि बिहे गर्नुपर्छ भन्ने दबाब, बिहेपछि बच्चा जन्माउनुपर्ने दबाब, रंगकर्मी महिलाको संख्या त बढ्यो, तर समस्या उस्तै छ ।

रंगमञ्चमा टिकिरहन भने मिहिनेत र लगाव दुवै हुनुपर्ने महिला रंगकर्मीको बुझाइ छ । आफू कसरी र कतिसम्म कुनै क्षेत्रमा टिक्ने भन्ने कुरा स्वयं महिलामा नै निर्भर हुने रंगकर्मी सुब्बाको धारणा छ । ‘पहिला त अझै पनि यो पेसा नै होइन भनेर घरबाटै निस्किन गाह्रो छ । त्यसैले घर–परिवारलाई पहिला कन्भिन्स गर्नुप-यो । त्यसपछि अरू सामाजिक समस्या त बिस्तारै हल हुँदै जान्छन्,’ उनी भन्छिन् । उनको भनाइसँग रंगकर्मी राईको पनि कुरा मिल्छ । ‘यो क्षेत्रमा कुनै जागिर खाएपछि पद बढ्ने, पैसा बढ्ने भन्ने हुँदैन,’ उनी भन्छिन्, ‘यो क्षेत्रमा लगनशीलता, रुचि चाहिन्छ ।’

नाट्य क्षेत्रमा राज्यको लगानी शून्य भएकोमा महिला रंगकर्मीहरूको गुनासो छ । ‘व्यक्तिगत रूपमा गरेको कामलाई पनि एक प्रकारको चटकको रूपमा हेर्ने परम्परा अझै गएको छैन । मनोरञ्जनको विषय मात्र भएको छ,’ सुब्बा भन्छिन्, ‘यो क्षेत्रमा राज्यबाट पनि केही सहयोग हुने हो भने अझै राम्रो हुने थियो ।’ रंगमञ्चमा पछिल्लो समय ‘मी टु’बारे पनि बहस चल्नेगरेको छ । त्यसले रंगमञ्चका महिला सचेत र आँटी छन् भन्ने पुष्टि गर्छ ।

साहसी छन् थिएटरका महिला
सिर्जना सुब्बा, रंगकर्मी

अन्य क्षेत्रमा भन्दा रंगमञ्चमा मी टु गहिराइमै पुग्ने गरी आयो । यो विषयले रंगमञ्चका महिला जागरुक छन् भन्ने पनि देखायो । यो घटनापछि अब काम गर्न सजिलो हुन्छ भन्ने आशा छ । पीडकले त्यस्ता काम गर्न डराउँछन् । पीडितले पनि तुरुन्तै प्रतिक्रिया दिन सक्छन् । जे भयो, राम्रै भयो ।

रंगमञ्चमा जति मी टुका घटना भएका थिए, त्यति आयो । अरू क्षेत्रका भन्दा रंगमञ्चका महिला सचेत छौँ, साहसी पनि छौँ । त्यही भएर यो घटना बाहिर आउन सकेको हो ।

महिलामैत्री नभएरै अरू फिल्डका महिला नबोलेका होलान् । यो घटनापछि नयाँ पुस्ता तर्सिन आवश्यक छैन । यसलाई नकारात्मक रूपमा मात्रै हेर्नु हुँदैन । नयाँ पुस्ताका लागि झनै राम्रो भएको छ ।

मी टु लागिसकेपछि कस्तो सजाय भोग्नुपर्ने प्रस्ट छैन । पीडकले समाजमा निस्किएर कामै गर्न नमिल्ने भन्ने पनि होइन होला । मी टुको उद्देश्य आफ्नो पावरको युज नगरोस् भन्ने मात्रै होला ।

पीडकले ‘रिअलाइज’ गरेपछि पनि कामै गर्न नपाउने भन्ने त हुँदैन होला । किनकि पीडक पनि एउटा समयमा बिरामी भएको हो । बिरामीलाई अस्पताल लगेर निको बनाउने हो । उसलाई एकैपटक घाटमा पु-याउने उद्देश्य पक्कै मी टुको होइन । पीडक र पीडितबीच माफी मागामाग भइसकेपछि पीडकले आफ्नो पुरानो काम गर्न पाउनुपर्छ । 

सतहको कुरा वास्तविक नहुन सक्छ
कैलाश राई, लेखक

पितृसत्तात्मक सोच–व्यवहार र संरचनाले यौनहिंसा व्यहोर्नुलाई ‘सामान्य’ करार दिन्छ । ‘मानिस यौनिक प्राणी भएकोले कहिलेकाहीँ यौनहिंसा हुनु ठूलो कुरै हैन’ भन्ने मानसिकता भएको समाजमा हामी छौँ । यौनहिंसामा पर्नेहरू कम शक्तिशाली वा शक्तिहीन मानिस हुन्छन् ।

महिलाहरू नै कम शक्तिशाली अवस्थामा संघर्षरत छन् । यौनहिंसाको सन्दर्भमा पनि उनीहरू नै उच्च जोखिममा बाँचिरहेका छन् । रंगमञ्च त्यसबाट अछुत रहने कुरै भएन । रंगमञ्चका महिला कलाकारले यौनहिंसाका घटनालाई साहसका साथ बाहिर ल्याए । यौनहिंसा व्यक्तिले व्यक्तिगत रूपमा भोग्ने हो । तर, त्यसको असर व्यक्तिमा सीमित रहँदैन । 

यौनहिंसालाई हिंसा नै नमान्ने प्रचलन छ । दोषीले जिम्मेवारी लिनुभन्दा मौन बसेर टार्दाखेरि नै आरोपितलाई अनुकूल हुने समाजमा छौँ हामी । त्यस्तो समयमा दोषीले कारबाही भोग्नु सकारात्मक कुरा हो । यौनको मामिलामा अनुदार, लैंगिक रूपमा असन्तुलित र त्यसमाथि महिलालाई यौनवस्तुको रूपमा हेरिने समाजमा महिलामाथि हुने यौनहिंसालाई हिंसा मान्ने र त्यसको जिम्मेवारी लिने कामको थालनी रंगमञ्चबाट सुरु भएको छ ।

यी घटनामा भोग्नेको कोणबाट एकखालको वास्तविकता र बुझाइ हुन सक्छ, पीडकको कोणबाट अर्को खालको वास्तविकता र बुझाइ । घटनालाई सुन्ने, बुझ्ने र (अ)सहयोगका लागि हात बढाउनेको कोणबाट अर्कै वास्तविकता हुन सक्छ । त्यसैले यस्तो घटना सपाट रूपमा निर्णय गर्न सकिने प्रकृतिको हुँदैन । मी–टुका जे–जति घटना सतहमा आए वा आइरहेका छन्, तिनलाई अनेक कोणबाट केलाएर हिंसामा परेकाहरूको सहज जीवनयापनका लागि सोच्नुपर्छ । 

... तर रंगमञ्च बोल्यो
 सरिता तिवारी, लेखक

प्रशासन संयन्त्रदेखि राजनीति, शिक्षण संस्था, सिनेमा र रंगमञ्च मात्रै होइन, पत्रकारिता र साहित्य क्षेत्रमा पनि यौनहिंसाका अनेकौँ तथ्य छन्, जुन पीडितले सार्वजनिक नगरिदिएकैले अहिलेसम्म लुकेका छन् । बोल्न आँट गर्ने महिलाहरूसँग कतिपय स्वनामधन्य पुरुष अनुहार आतंकित छन् । खराब नियतका मानिस भित्रभित्रै त्रसित छन् । तर, घोषित पीडकहरूलाई जसरी विभिन्न बहानामा उन्मुक्ति दिइएको छ, त्यसले पीडितलाई झनै कठोर र आक्रोशित बनाएको छ ।

मिटु अभियानको पहल थाल्ने साथीहरूले जुन आँटले समाजका गन्यमान्य व्यक्तिहरूको यौनाकांक्षाको धज्जी उडाएदिएका छन्, तिनको साहसलाई म उच्च सम्मानसाथ अभिनन्दन गर्छु । 

यौनजन्य हिंसाको कहरसँग लड्न सामाजिक सञ्जाल र अभिव्यक्तिका अन्य माध्यमको उपयोग प्रभावकारी मानिएको हो । नेपालमा पीडककै डाँको ठूलो सुनिनु विडम्बनापूर्ण छ । सामाजिक सञ्जाल र अखबारको नेरोघेरो मात्रै यसको माध्यम बन्नुले यसो भएको हुन सक्छ । यसलाई व्यापक आन्दोलनको स्तरमा लैजान सके नेपथ्यका धेरै अपराधको सार्वजनिकीकरण हुन्थ्यो । त्यसो गर्न प्रतिबद्ध र संगठित अभियान नै चाहिन्छ ।

विश्वविद्यालयभित्रका हिंसाका रूपबारे वेलावेला साथीहरू सुनाउँछन् । त्यसको निर्मम पर्दाफास हुनैपथ्र्यो । पत्रकारिता क्षेत्रका बदनाम चेहराहरू कतिपय नलेखे र नभने पनि देखिएकै छन्, कति देखिन बाँकी छन् । सिनेमामा त स्त्री शरीरको कतिसम्म मोलाहिजा हुन्छ ? कति नग्नस्तरमा झरेर महिला कलाकारको शरीरमाथि खेलाँची हुन्छ भन्ने विषय हलिउड, बलिउडदेखि यहाँसम्मै हुने चर्चा भइहाले ।

यसबाट रंगमञ्चसमेत अछुतो रहेनछ । यस्तो कुरा सुन्दा आङ जिरिङ्ग हुन्छ । हामीले आदर्श र अनुकरणीय व्यक्तिका रूपमा  विशेष स्थान दिइरहेको पात्रको यस्तो रूप पनि छ ? यो सोच्दा मात्रै पनि पसिना छुट्छ । गुरु र अग्रजका रूपमा सम्मानको अग्रासनमा राखेको पात्रका कुत्सीत हर्कतले कसैलाई पनि विचलित र निराश बनाउँछ । तर, उत्पीडित वर्गसँग प्रतिरोधबाहेक अर्को विकल्प नै छैन ।

 यसलाई मिटु नाम दिऊँ या नदिऊँ, नाममा के छ र ? मुटु दह्रो गरेर हिम्मतले बोल्ने समय हो यो । पीडितको बोली सुनिने र पढिने समय हो यो । अभिव्यक्तिको शक्ति कति हो कति बलियो छ । यसलाई सकेसम्म उपयोग गर्नुपर्छ । यसबाट अरू धेरैमा साहस पलाउन सक्छ । यौन उत्पीडनको ठाउँको ठाउँ जवाफ दिने आँट गर्न मात्रै सकियो भने यस्ता अभियानको सार्थकता अझ बढ्छ भन्ने लाग्छ । यौनजन्य हिंसाको भोक्ताका रूपमा मेरा आफ्नै बाल्यकालीन अनुभव कहालीलाग्दा छन् । लेखेँ भने आफन्त र इष्टमित्रको ठूलो पहरो थर्थराएर भत्कनेछ । तर, कुनै दिन लेख्ने आँट गर्छु भन्ने लागेको छ ।