• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुनील पोखरेल
२०७६ असोज ११ शनिबार ०८:५८:००
सम्झना

कविताचेती निर्देशक

व्यक्तित्व

२०७६ असोज ११ शनिबार ०८:५८:००
सुनील पोखरेल

अनुप बराल र सुनील पोखरेल नेपाली रंगमञ्चमा तीन दशकदेखि अग्रणी भूमिकामा छन् । समकालीन नेपाली नाट्यक्षेत्रमा अभिनय र निर्देशन दुवै विधामा यी दुई स्रष्टा ‘टावरिङ पर्सनालिटी’ हुन् । दुवैजना भारतको नयाँदिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयबाट दीक्षित निर्देशक हुन् । निर्देशक अनुप बरालबारे अर्का निर्देशक सुनील पोखरेलले नयाँ पत्रिकाका लागि दीपक सापकोटासँग बाँडेको मित्रानुभूति :

धेरै कमलाई थाहा छ, अनुप बराल कवि पनि हुन् । पोखराका उनका सँगातीहरूले अनुपका कविता सुनेका हुनुपर्छ । नजिकको मित्रका हिसाबले मैले पनि आक्कलझुक्कल उनका कविता सुन्ने मौका पाएको छु । अनुपको काव्यचेत बेजोड छ । त्यही काव्यचेतका कारण उनको निर्देशनका नाटकमा कविता अन्तर्निहित हुन्छ । र, नाटकलाई सशक्त कला बनाउँछ ।

चित्रकलाबाट, सेटबाट, प्रकाश–योजनाबाट पनि अनुप कविता सिर्जना गर्छन् । हालै मण्डला थियटरमा चलिरहेको ‘महाभोज’ सपाट नाटक मात्रै होइन, त्यसलाई मञ्च–निर्माण, प्रकाश योजना र डिजाइन सबैले सुन्दर चित्रकला बनाएको छ । त्यो अनुपको कविता हो । 

अनुप अभिनेता र निर्देशक मात्रै होइनन्, उनको छुटाउनै नहुने अर्को महत्वपूर्ण विशेषता के भने उनी एकदमै राम्रा नाटक शिक्षक हुन् र फिल्म–शिक्षक पनि । फिल्म कार्यशाला पनि उनी भव्यसँग लिन्छन् । धेरै राम्रा–राम्रा फिल्मका कार्यशालाको प्रशिक्षण उनले लिएका छन् । फिल्म निर्देशन र अभिनयमा पनि उनको दखल छ ।

नाट्यकर्मको साधनामा लिप्त ‘भर्सटाइल’ व्यक्तित्व हुन् अनुप । उनलाई एक ‘टोटल आर्टिस्ट’ अर्थात् सम्पूर्णतः कलाकारका रूपमा लिन सकिन्छ । अनुप हृदयस्पर्शी पेन्टिङ गर्छन्, भावपूर्ण कविता लेख्छन् । (ती रचना सार्वजनिक गर्दैनन्, त्यो कुरा अलग प्रसंग हो ।) सङ्गीतसँग पनि उनी निकट छन् । त्यसैले उनको निर्देशनका नाटकमा यी सबै विधा र शिल्पहरूको प्रभाव प्रस्टसँग देखिन्छ । सेट, लाइट, कलर र कस्ट्युमको गज्जबको ज्ञान छ, उनीसँग । सम्भवतः उनीसँग भएको पेन्टिङ शिल्पको ज्ञानको प्रभाव हो यो । 

नेपालीमा खासै राम्रा नाटक नभइरहेका वेलामा अनुपले मन्नु भण्डारीको उपन्यास ‘महाभोज’ छाने र निर्देशन गरे । मन्नुको त्यस उपन्यास उनले नेसनल स्कुल अफ ड्रामा (राष्ट्रिय नाट्य विद्यालय) मा अध्ययनको क्रममा पढेको हुनुपर्छ । ‘महाभोज’को करिब चालीस वर्ष पुरानो कथा अहिले पनि नेपालमा बडो सान्दर्भिक देखिन्छ । त्यस नाटकमा आख्यानले भन्ने अन्तर्वस्तु मात्रै छैन, अनुपको निर्देशकीय व्यक्तित्व प्रस्टसँग देखिएको छ । सेटमा, लाइटमा र समग्र नाटक डिजाइनमा अनुपको मिहिनेत सराहनीय छ ।

यस नाटकमा अनुपले विश्वविख्यात नाटककार तथा कवि ब्रतोल्त ब्रेख्तको एपिक शैलीलाई प्रस्तुतिको माध्यम बनाएका छन् । ०४७ सालमा नाटक महोत्सव चलेको थियो, गर्टा इन्स्टिच्युट, गणबहाल (हाल त्यो छैन) मा । त्यहाँ मञ्चित सरुभक्तको नाटक ‘ज्युँदा अवशेषहरू’मा अनुप बराल मुख्य भूमिकामा थिए । त्यही वेला उनीसँग मेरो पहिलो भेट र चिनजान भएको हो । त्यसको केही समयपछि भारतको नयाँदिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयमा अध्ययन गर्न जानका लागि सुझाब र सिफारिस लिन उनी मलाई भेट्न काठमाडौं आएका थिए ।

म तिनताका नेपाल टेलिभिजनका लागि ‘चतुरेको दाउपेच’ सिरियल सुटिङ गरिरहेको थिएँ । उनले राष्ट्रिय नाट्य विद्यालयमा अध्ययन गर्नका लागि आवेदन गरेका रहेछन् । त्यस विद्यालयमा पढ्नका लागि तीनजनाको सिफारिस चाहिन्छ । म त्यही विद्यालयबाट कोर्स पूरा गरेर नेपाल फर्केको थिएँ । मैले उनका लागि सहर्ष सिफारिस गरिदिएँ । अनि अनुप राष्ट्रिय नाट्य विद्यालय गए, पढ्न । 

अनुप दिल्लीमा पढ्दै गर्दा म काम–विशेषले दिल्ली पुगेको थिएँ । त्यहाँ म उनीसँगै दुई रात बसेँ । उनी राष्ट्रिय नाट्य विद्यालयबाट फर्केर आएपछि काठमाडौँमा हामीसँगै बसे केही दिन । त्यो समयदेखि हामीबीच एक किसिमको समझदारी छ । हामी दुवै एउटै नाट्य विद्यालयको उत्पादन भएकाले पनि हामीबीच नाटकबारे समझदारी झन् बलियो भएको हुनुपर्छ । हामी दुवैलाई मनपर्ने केही साझा कुरा छन् । जस्तो– हामी दुवैका मनपर्ने अभिनेताहरू नसरुद्दिन, नवाजुद्दिन, इरफान आदि हुन् । 

दिल्लीबाट उनी फर्केर आउनेबित्तिकै मैले टेलिभिजनका लागि ‘जेठो छोरा’ भन्ने १० भागको टेलिसिरियल बनाएको थिएँ । त्यसमा दुईजना केटाहरूको मुख्य भूमिका थियो– ती दुईमध्ये एउटा रोल मैले र अर्को अनुपले गरेका थियौँ । त्यसको सबै सुटिङ धरानमा भएको थियो । धरानमा हामी एक–डेढ महिना सँगै बसेका थियौँ । त्यो नै अनुपसँगको मेरो पहिलो सहकार्य हो । त्यसपछि हामीले अभि सुवेदीकृत ‘अग्निको कथा’मा सँगै काम ग-यौँ । अग्निको कथामा अनुपले सेट डिजाइन गरे, पछि आफैँ पनि खेले ।

राष्ट्रिय नाट्य विद्यालयको फेस्टिभल र काठमाडौँमा भएको केही सोमा उनले अभिनय गरे । म नाटक बनाउँदा जहिल्यै सेट डिजाइनका लागि उनैलाई गुहार्थेंं । सेट डिजाइनमा मेरो खासै आइडिया छैन । आफूभन्दा जान्नेलाई गुहार्नुपर्दा म उनैलाई खोज्थेँ । अरू नाटकमा पनि मलाई उनले सहयोग गरे, कहिले सेट डिजाइनमा, कहिले रिहर्सलमा । 

अनुपको निर्देशनमा मैले एउटा नाटक खेलेको छु, विजय तेन्दुलकरको ‘जात सोध्नु जोगी’को । यो नाटक केही वर्षको अन्तरालमा नेपालमा दुईपटक मञ्चन भयो । उनको निर्देशनमा काम गर्न साह्रै आनन्द आउँछ । उनको विशेषता के छ भने अभिनेता–अभिनेत्रीलाई आपैmँ सोच्न छाडिदिन्छन्, केही थोपर्दैनन् । तर, आफूले सोचेकै काम निकाल्छन् । निर्देशकका लागि यो अद्भूत वरदान हो । 

नेपाली रंगकर्मीमध्ये अनुप बरालको स्थान बेग्लै छ र उचाइमा उनी धेरै माथि छन् । समकालीन नेपाली रंगमञ्चमा अनुपको ठाउँ शीर्षमध्येमा छ । समकालीन नेपाली रंगकर्म टिकाउनेमध्ये एक सक्रिय मानिस उनी पनि हुन् । अनुप आजका धेरै शक्तिशाली अभिनेता–अभिनेत्रीका गुरु हुन् । अझै उत्तिकै सक्रिय भएर उस्तै ऊर्जासाथ उनी काम गरिरहेका छन् । भलै एक–डेढ वर्षमा आऊन् उनका नाटक, तर आएपछि भयानक गुणसहितको काम आउँछ ।

रंगकर्ममा एउटा तरङ्ग नै आउँछ । त्यस्तो किन हुन्छ भने अनुप कला र कन्टेन्ट बुझेर मात्रै काम गर्छन् । बुझेको जस्तो भान हुनु र बुझ्नु निकै फरक विषय हुन् । उनी नाटकका तत्वलाई यसरी जोड्छन् कि कुनै पनि कुरा दर्शकलाई लादेको जस्तो लाग्दैन । उनको खास खुबी नै त्यो हो । रंगकर्मका तत्वलाई सौन्दर्यसँग जोड्नु अनुपको विशेष खुबी हो ।

नाटक गरिरहँदा उनको मन–मस्तिष्कमा त्यही नाटक मात्रै हुन्छ । कुनै एउटा नाटक उनले सुरु गरे भने थोरै फुर्सदमा पनि स्क्रिप्ट काटिरहनु, स्क्रिप्टबारे सोचिरहनु–घोत्लिइरहनु, सेटको स्केच कोरिरहनु, कस्ट्युम डिजाइन गरिरहनु, त्यसमै व्यापक तरिकाले गहिरिनु उनको अर्को विशेषता हो, त्यो अरू रंगकर्मीमा म भेट्दिनँ ।

म अनुपको निकै इज्जत गर्छु किनभने उनी हाम्रो युगका एकजना गज्जबका निर्देशक हुन् । उनले आफूलाई प्रमाणित गरिसकेका छन् । मलाई घत लाग्छ, ऊनको काम । उनको निर्देशनको रोचक पक्ष के भने उनी फरक–फरक शैलीमा काम गर्छन् । जस्तो– यसपटक ‘महाभोज’ नाटकमा उनले ब्रेख्तेली एपिक शैलीमा काम गरे । फरक विषयलाई एकै ठाउँमा संयोजन गर्न सक्नु र फरक–फरक शैलीको नाटक निर्देशन गर्नु उनको विशेषता हो, जुन अरू निर्देशकमा बिरलै पाइन्छ ।

राम्रो अभिनेताले आन्दोलन बुझ्नुपर्छ, सङ्गीत र साहित्य बुझ्नुपर्छ । चित्रकला, नृत्यकला र कविता बुझ्नुपर्छ । समग्र कलाका विविध पक्षको गम्भीर ज्ञान र चेतना हुनुपर्छ, जस्तो कि त्यो अनुपसँग छ । अनुप त्यस अर्थमा सशक्त काव्यचेत भएका निर्देशक हुन् ।

‘महाभोज’ मूल नाटक यथार्थवादी छ । तर, अनुपले ब्रेख्तको शैलीमा तयार पारे । नाटकका प्रत्येक दृश्यका निम्ति फरक–फरक शीर्षक राखे, ठाउँ–ठाउँमा नाटक ब्रेक गरे, बीच–बीचमा गीतहरू राखिदिए, यो नाटक हो है भन्ने कुरा दर्शकलाई बुझाउन एपिक शैलीले दर्शकसँग संवाद स्थापित गर्छ । यही ब्रेख्तेली शैली हो ।

दर्शकले नाटक हेरिसकेपछि भावना बोकेर घर फर्किने होइन, विचार लिएर जाने हो भन्ने सोचअनुरूप यो शैली प्रयोग गरिन्छ । अनुप निर्देशनको ‘महाभोज’ हेरेपछि मैले भन्नैपर्ने हुन्छ– निकैपछि एउटा गतिलो नाटक हेर्न अवसर पाइयो । नाटक हेरिरहँदा भारतीय नाटक हेरिरहेको अनुभूति कतै हुँदैन । यो नै ‘महाभोज’को अर्को सुन्दर पक्ष हो ।

प्रायः कलाकार वामपन्थी हुन्छन् (वामपन्थको अर्थ कम्युनिस्ट होइन) । एकतर्फी, परम्परागत र रुढिगत चिन्तनमा परिवर्तन चाहनेहरू नै वामपन्थी हुन् । अनुप पनि रुढि र परम्पराभन्दा माथि उठेका वामपन्थी हुन् । उनी वैचारिक देखिन्छन्, आफ्ना काममा । मैले राष्ट्रिय नाट्य विद्यालयमा पढ्दाको समय पुराना शिक्षकको बाहुल्य थियो । उनले त्यहाँ नयाँ विचार, नयाँ अभ्याससँग अन्तर्क्रिया गर्न पाए त्यो वेला । उनको काम देख्दा त्यसको संकेत पाइन्छ । मेरो काम अझै म आफैँलाई परम्परागत लाग्छ । उनको खुबीचाहिँ के भने उनी परम्परागत नाटक पनि गर्न सक्छन्, अहिलेको समयलाई सम्बोधन गर्ने नयाँ धारको नाटक पनि गर्न सक्छन्, आफ्नै शैलीमा ।

राष्ट्रिय नाट्य विद्यालयमा उनको अध्ययनको विषय अभिनय थियो । मैलेचाहिँ निर्देशन विषय पढेँ । तर, हामी वेला–वेला गफ गर्छौं र हाँस्छौँ, ‘मैले निर्देशनमा विशेषज्ञता लिएँ, तर ज्यादा अभिनय गर्छु । तिमीले अभिनयमा विज्ञता हासिल ग-यौ तर ज्यादा निर्देशन गर्छौ ।’ निर्देशनमा ज्यादा खटिए पनि उनी अभिनेतासमेत भव्य हुन् । गज्जबका मेथड एक्टर हुन् । सानासाना विषय, क्षण, लाइनमा पनि सानदार काम गर्न सक्छन् । उनलाई ‘मुभमेन्ट’को निकै राम्रो ज्ञान छ भन्ने थाहा पाएँ, ‘अग्निको कथा’ पछि । पहिले–पहिले अनुप बरालको साथीसमूह क्यासेट प्लेयर बजाउँदै सडकमा नाच्दै हिँड्थे रे, किशोर उमेरमा । त्यसैले मुभमेन्टको सेन्स राम्रो भएको हुनुपर्छ ।

उनले छनोट गरेका ‘मलामी’, ‘थाङ्ला’, ‘कोर्ट मार्सल’, ‘जात सोध्नु जोगीको’ जस्ता नाटक शक्तिशाली छन् । सरुभक्तको ‘मलामी’ नाटक म कहिल्यै बिर्सन्न । त्यसको एउटा दृश्य छ । छोरी बेचिएकी हुन्छे । चिठी आउँछ । तर, त्यो चिठीको खाम कति ठुलो हुन्छ भने खाम बोक्न दुईजनाले नोल लगाउनुपर्छ । त्यस्तो सुन्दर दृश्य, कसरी बिर्सिइन्छ ! स्वाभाविकै हो, अनुपले गरेको नाटक भनेपछि दर्शक र रंगकर्मीको पनि बढी अपेक्षा हुन्छ । खुसीको कुरा उनले कहिल्यै निराश बनाएका छैनन् ।

अनुप सिनेमामा पनि काम गर्छन् । तर, उनले अभिनय गरेका, निर्देशन गरेका फिल्म मैले हेरेको छैन । म कम फिल्म हेर्ने मानिसमा पर्छु । उनलाई फिल्म क्षेत्रले नाटकबाट नखोसोस् जस्तो लाग्छ । फिल्म नखेल त म भन्न सक्दिनँ । फिल्म मास मिडिया हो, त्यसले पैसा र पहिचान दिलाउँछ तर सकेसम्म उनले रंगकर्म र रंग प्रशिक्षणमा नै ज्यादा समय दिए हुन्थ्यो । अनि, अनुप जीवनमा व्यवस्थित (सेटल) भइदिए हुन्थ्यो भन्ने लागिरहन्छ । अहिले उनी सेटल हुने क्रममा छन् ।

काठमाडौँबाट सबै सामान पोखरा सारिसके र पोखरालाई आधार बनाएर काम गर्छु भन्दै छन् । अनुप सेटल हुने भए भनेर म खुसी छु । हुन त सबै अस्थायी छ– धरती, प्रकृति र हाम्रो जिन्दगी । यति जान्दाजान्दै पनि उनलाई मेरो एउटै कुरा भन्नु छ– ‘जीवनमा टिकाउ बन्नुपर्छ । टिक्ने काम गर्नुपर्छ ।’ भेटमा प्रायः हामी साहित्यको, किताबको, नाटकको कुरा गर्छौं र वेला–वेला घर व्यवहारको कुरा पनि बढी गर्छौं । किनभने हाम्रो सम्बन्ध रंगमञ्चभित्रको औपचारिक मात्रै छैन । अनुपसँग मेरो सम्बन्ध सहकर्मी–साथीभन्दा माथि छ, पारिवारिक स्तरमा । 

जब–जब म अनुपका नाटकको काम हेर्छु, एकप्रकारको डाहलाग्दो हुन्छ । म उनैलाई भन्छु, ‘कस्तो लोभलाग्दो काम गरेको !’ उनको प्रस्तुति नै एक खालको उच्चकोटिको हुन्छ– एउटा निर्देशकका दृष्टिमा लोभलाग्दो, डाहलाग्दो ! अनुपका कतिपय काम, सेट, कम्पोजिसनबाट म केही न केही सिकिरहेकै हुन्छु । मैले भन्दा अझ नयाँ पुस्ताले अनुपसँग धेरै कुरा सिक्न सक्छ ।

कोही पनि अभिनेता–अभिनेत्रीले अभिनय मात्र सिकेर वा जानेर पुग्दैन । राम्रो अभिनेताले आन्दोलन बुझ्नुपर्छ, सङ्गीत र साहित्य बुझ्नुपर्छ । चित्रकला, नृत्यकला र कविता बुझ्नुपर्छ । समग्र कलाका विविध पक्षको गम्भीर ज्ञान र चेतना हुनुपर्छ, जस्तो कि त्यो अनुपसँग छ । अनुप त्यस अर्थमा सशक्त काव्यचेत भएका निर्देशक हुन् ।