• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
खगेन्द्र संग्रौला काठमाडाैं
२०७६ असोज १८ शनिबार ०९:०७:००
समाज

प्रातः भ्रमणमा अहमकाे क्रीडा

२०७६ असोज १८ शनिबार ०९:०७:००
खगेन्द्र संग्रौला काठमाडाैं

मर्निङ वाकमाला 

मानिसको जटिल जीवनमा अहम् भन्ने चिज अनौठो रहेछ । अहम् अर्थात् ‘म’ माने ‘मै हुँ’को भाव । प्रातः भ्रमणमा गोचर भएको यसको इखालु क्रीडा– गाँट्ठे ! क्या रोचक छ त्यो ! यो लमक्को क्रममा मलाई लाग्यो, अहम् भनेको प्रज्ञा प्रतिष्ठानको अल्छीकृत हचुवा शब्दकोशले भनेझैँ अहंकारमात्र होइन । अहम् त मानिसको स्वको चेतना पनि हो । अहम् मानिसको निजत्वको आकांक्षाको सुषुप्त भ्रूण पनि हो । उसो त अहम् सेखी मात्र होइन, इख पनि हो । के जीवनमा इख भन्ने चीज हर्दम् खराबै–खराब हो ? इख नभ’को मानिस र बिख नभ’को सर्प उस्तै हुन् भनेको किन ? आखिर आदिमकालमा इखैले त मानिसलाई बर्बरताबाट सभ्यतातिर डोर्‍यायो । भयकारी शक्तिहरूले भरिपूर्ण प्रकृति हुनुसम्म बलवान थियो । त्यो प्रकृतिसामु मानिस थियो एकदम निर्बल, फुकिढल र निरूपाय । त्यो निम्छरो मानिसमा इख पलायो । र, त्यसले प्रकृतिका शक्तिसँग आँखा जुधाउने दुस्साहस गर्‍यो । आखिर त्यही इख त हो, जसले नर–मानवलाई प्रकृतिबाट आदिम प्रविधियुक्त संस्कृतिमा प्रवेश गरायो । त्यसैले त अस्तित्व रक्षाका लागि प्रकृतिमा आश्रित, निरीह एवं टीठलाग्दो जीवलाई आफ्नो भाग्यको निर्माता दाबी गर्ने पात्रको तहमा उठायो । दिमागमा अहम्ले वास गरेको छ, र त मानिस जीवनमा केही नूतन–नवीन गर्ने चेष्टा गर्छ । अहम्विनाको मानिस के हो ? बगरको चीसो, अचल र अचेत मूढो ? कि अकर्मण्य अल्छी ? कि कर्कश ट्वारट्वारे कुपमण्डुक ? कि निजत्वयुक्त पहिचानशून्य गिनी पिग ? चञ्चल चित्तको चलायमान तलाउमा प्रातः लमक्मा उठेका हुन् मेरा यी सबै भाव–तरंग । 

मानिसको एकबारको जुनीमा इख ठट्टा होइन । मनमा इख छ र न मानिस जीवनमा अग्लिन खोज्छ । जब सगरमाथाको अथाह उचाइ देख्छ, मानिस लघुताभासले खुम्चिन्छ । अहो ! त्यो त्यति अग्लो छ, म यति बामपुड्के छु ! इखालु मानिस दुस्साहसिक कल्पना गर्छ– म सगरमाथाको उचाइ किन नघटाऊँ ? र, आफ्नो उचाइ म किन नबढाऊँ ? बस्, अब ऊ जब्बर इख अघि लगाएर सुरु गर्छ सगरमाथा आरोहण । असम्भवतुल्य आरोहणमा ऊ कहिले लडेर मर्छ । कहिले कठ्यांग्रिएर मर्छ । कहिले हिमपहिरोले पुरिएर मर्छ । कहिले हिमआँधीले उडाएर मर्छ । जति मरोस्, ऊ हिम्मत हार्दैन । आखिर एक दिन ऊ सगरमाथाको शिरमा खुट्टो राखेर ठिंग उभिन्छ । कत्रा दुःखले आर्जेकोे त्यो क्षण विजयभावले ऊ मखलेल हुन्छ । ऊ गर्वले त्यसै–त्यसै फुल्छ । र, सगरमाथाको शिरमा फोटो खिचेर ऊ सप्रमाण दाबी गर्छ– सगरमाथालार्ई हेर ! र, मलाई हेर ! हामी दुईमा को अग्लो ? कसको थाप्लोमा को उभिएको छ ? इखालु बालकृष्ण सम सगरमाथा विजयी तेन्जिङलाई हेरेर गौरवान्वित हुन्छन् । र, मखलेल मुद्रामा सिलोक हाल्छन्– ‘तेन्जिङ तिमीले सगरमाथामा एक मान्छेको उचाइ थप्यौ ।’ बूढाले विनयशील अभिव्यक्तिमा कुरो घुमाएर यसो भने । वास्तवमा भन्न खोजेको कुरा अर्कै थियो । ‘ल हेर्, कत्ति न अग्लो छु भनेर फूर्ति लगाउने सगरमाथा । आज तँभन्दा म एक मान्छे अग्लो भएँ ।’ एवंरितले मेरो मर्निङवाकमा इखमुखी चिन्तन गतिमान् छ ।

म देखिऊँ, न सुनिऊँ, म चिनिऊँ । मुखर रूपले होस् मौन रूपले, आप्mनो वृत्तमा म चर्तित र प्रशंसित होऊँ । यो हरेक मर्निङवाकेको स्वाभाविक इच्छा हो । मलाई लाग्छ, स्वाभाविकताका सीमाभित्र यो इच्छाले कसैको केही बिगार्दैन । सीमा तोडिए कुरा अर्कै हो । तर, कसको नजरमा मर्यादाको कुन सीमा ? स्वार्थ विभाजित विषम समाजमा कुरो जटिल छ बा ।

सुरुमा मलाई लाग्थ्यो, मर्निङवाकको क्रममा हरेक वाके वाकसिबाय कुनै कुरा सोच्दैन । अनुभव गर्दै जाँदा चाल पाएँ– ऊ सोच्दो रहेछ । नित्य, पल–प्रतिपल । अहम्, म, मप्रति प्रशंसाका दृष्टि, आदि । वाके वृत्तमा मेरो हैसियत, मेरो स्थान, मेरो पहिचान, मेरो भाउ, मेरो चर्चा, मेरो मान आदि । ऊ हर्दम् प्रतिस्पर्धी मुद्रामा हुँदो रहेछ । प्रातःकालीन वाक जगत्मा कोहीभन्दा म किन कम ? तर, सबै वाकेको साझा विशेषता यो होइन । जुन वाकेका वाकको समयको ठेगान छैन, म त भन्छु– त्यो इखविनाको वाके हो । जो मौसमी वा पटके वाके हो, त्यो पनि आखिर इखविनाकै वाके हो । इखसहितको अस्सली वाके त्यो हो, जो नित्य सिआइए टाइममा वाकमा निस्कन्छ । जो नित्य उति नै दूरी छिचोल्छ । जो हिजो जुन वेला जुन ठाउँमा पुगेको थियो, आज त्यो वेला त्यही ठाउँमा पुग्छ । पुग्न चुक्यो कि वाकेलाई पर्‍यो बित्यास ! यहाँ फेरि उही इखको कुरा छ । यो इखमा समयको नित्य निश्चितता र हिँडाइको चालको नित्य तीव्रताको कडिकडाउ हिसाब हुन्छ । को कुन वेला कहाँ देखियो ? वाकको तोडमा कसले क–कसलाई उछिन्यो वा उछिन्न दिएन ? वाक जगत्मा लमक्को चालको हिसाबमा कसले कुन हैसियत आर्जन गर्‍यो ? स्वाभाविक एवं लयबद्ध गतिमा कि ज्यानफाला सिकारी कुदाइमा ? आर्जित हैसियत फाटफुटे हो कि निरन्तर ? गज्जब छ बा ! वाके वृत्तमा आ–आफ्नो हैसियत निर्धारण गर्ने रेफ्री वाके आफैँ हो । हैसियत तौल्ने तराजु वाकेको इख हो । वाकेको अहम् हो । र, वाकेको प्रतिस्पर्धी चेत हो । 

मानिस गगनचुम्बी छ । कति अग्लो ! मेरो शिर उसको छातीको हाराहारी छ । को हो यो ? आँखा उठाएर हेर्छु त गाँट्ठे, मेरा बोस पो रहेछन् । बोस उर्फ कान्तिपुरका मेरा सम्पादक । जिराफसरि उच्च श्री नारायण वाग्ले । ‘खगेन दाइ,’ वनकालीको गगनमा बोसवाणी गुन्जिन्छ, ‘खगेन दाइ, तपाईं सय वर्ष बाँच्नुहुन्छ ।’ म मनमनै भन्छु– बोसका मुखमा सदैव दूधभात जुरोस् !’

कट्टर सिआइए टाइमका अनुयायी वाकेद्वय हरेक बिहान खास ठाउँमा भेट हुन्छन् । अस्ति त्यहीँ, हिजो त्यहीँ, आज त्यहीँ । बढीमा अघिल्लो बिहान भेटिएको ठाउँको त्यस्तै २०–२५ मिटर यता वा उता । मानौँ कि कुनै बिहान एउटा वाके ढिलो भयो । र, ऊ प्रतिस्पर्धीका दृष्टिमा विलम्ब गोचर हुने ठाउँमा प्रकट भयो । अब हुन्छ के ? अब बर्बाद हुन्छ, अरू के हुनु ? विलम्बकारी वाके समयनिष्ठ वाकेका नजरमा गिर्छ । र, अन्य पक्षबाट ऊ मौन भावले उपहासको सिकार बन्छ । के चाल हो यो ब्रो ? बिरामी भइयो ? कि हारियो हिम्मत ? कि लत्तो छाडियो ? कि बुढेसकालले ग्रास गर्‍यो ? राति फुटबल हेरेर अबेर सुत्यो होला । अथवा फिलिम हेरेर । अथवा दारुको आधिक्यले गर्दा बिहान उठ्न ढिला भयो होला । अथवा जीवनका गाँठा परेका झमेलाले गाँजेर निदहराम भई उठ्न अबेर भयो होला । अथवा अलारामले धोका दियो होला । कटाक्षकर्मी जिबात् विलम्बकारीका यी सम्भावित कारण वा दुःखको रत्तिभर पर्वाह गर्दैन । ऊ ऊतिर केवल मौन कटाक्षका क्लेशकारक तीर ताक्छ । त्यो देखेर विलम्बकारी बबुरो त्यसै–त्यसै मर्माहत हुन्छ । ऊ लज्जित हुन्छ । र, ऊ मुन्टो निहुराएर बाटो तताउँछ । सायद ऊ मनमनै विचार गर्छ– तँलाई पनि भन्ने दिन आउँछ, हेरिराख् न ठिस् ।

प्रातः भ्रमणमा प्रस्थान गर्न ढिला भयो कि म अताल्लिन्छु । आज वाक वृत्तमा म कसरी मुख देखाऊँ ? कुरीकुरीको डरले म पलायनको बाटो खोज्छु । म सदाझैँ गुह्येश्वरीमाथि मृगस्थलीतिर जान्नँ । म कि त कटाक्षकारी वाकेका आँखा छलेर सुटुक्क गौरीघाटमाथि कैलाश नामक थुम्कोमा चढ्छु । अथवा म लुसुक्क भण्डारखालको वनमा मुन्टो लुकाउँछु । 

मेरो वाक वृत्तमा वाके तीन चालका छन् । तीव्रगामी, मध्यगामी र सुस्तगामी । यी तीनमध्ये म तीव्रगामीमा पर्छु । तीव्रगामी वृत्तमा वाके दुई थरी छन् । मेरा अनुयायी र मेरा प्रतिस्पर्धी । अनुयायीहरू चुपचाप मलाई पछ्याउँछन् । ती हत्ते हालेर मलाई उछिन्न खोज्दैनन् । प्रतिस्पर्धीहरू अहम्को जुरो हल्लाउँदै मलाई लखेट्छन् । ती मलाई उछिन्न मरिमेट्छन् । पछाडिको वाकेका पदचापमा जब होडबाजीको छनक पाउँछु, चनाखो हुँदै म चाल बढाउँछु । ऊ झन् चाल बढाउँछ, म झन् चाल बढाउँछु । आखिरमा फ्याँफ्याँ हुँदै ऊ वाङ खान्छ । र, म गम खान्छु— आजै सिंहलाई उछिन्न श्वानको ताहुरमाहुर !

इष्र्यालु नेकपा डबलमा नेताको रोल नम्बरको महत्व ठूलो छ । वनकालीको वाक वृत्तमा यसको महत्व सानो छैन । उता ख्वामित्का कृपाले बढुवाप्राप्त माकुने रोल नम्बर तीन भएका छन् । यता वाक वृत्तमा म आफ्नै खुबीले रोल नम्बर तीनमा परेको छु । मलाई उछिन्न सक्ने केवल दुईजना तरुण छन् । कपालको कट र ज्यानको बान्कीका हिसाबले एकजना सैनिक जबान हुन् । र, अर्का हुन् सायद स्पोस्र्टस् म्यान । छाँटले ती दुवै कुनै न कुनै तहका मेरा पाठक हुन् । मसँग परिचितको जस्तो व्यवहार गर्छन् । आदरभावसाथ मलाई ‘गुडमर्निङ सर’ भन्छन् । वाक जगत्मा आफ्नो सामथ्र्यको सीमा मलाई भलिभाँती थाहा छ । त्यसैले, म सविनय साइड लाग्छु र ती तरुणलाई बाटो दिन्छु । बाँकी वाकेलाई ? यी दुईबाहेक इन्द्रेको बाउ चन्द्रे नै प्रकट भएछ भने पनि म आफुलाई उछिन्न किमार्थ दिन्नँ ।

प्रातः लमक्मा एक बिहान अचम्म भयो । मिरमिरे बिहानीको याम छ । म बेत्तोडले लम्किँदो छु । पछाडि कोही मलाई बेत्तोडले खेद्दो छ । ऊ मेरा कुर्कुच्चा छुनछुन खोज्छ । अहम्को पुरियाले उछिन्ने पो हो कि भनेर म त्राहिमाम हुन्छु । म झन् चाल बढाउँछु, ऊ झन् चाल बढाउँछ । म फ्याँफ्याँ भइसक्छु, ऊ लखेट्न छाड्दैन । आखिरमा मलाई उछिनेर ऊ मेरो नाकैअगाडि ठिंग उभिन्छ । हेर्छु, मानिस गगनचुम्बी छ । कति अग्लो ! मेरो शिर उसको छातिको हाराहारी छ । को हो यो ? आँखा उठाएर हेर्छु त गाँट्ठे, मेरा बोस पो रहेछन् । बोस उर्फ कान्तिपुरका मेरा सम्पादक । जिराफसरि उच्च श्री नारायण वाग्ले । ‘खगेन दाइ,’ वनकालीको गगनमा वोसवाणी गुन्जिन्छ, ‘खगेन दाइ, तपाईँ सय वर्ष बाँच्नुहुन्छ ।’ म मनमनै भन्छु–बोसका मुखमा सदैव दूधभात जुरोस् !’

यस इखालु वाकेको यो हिजोको कथा हो । आजको कथा किञ्चित् कारुणिक छ । डेढ वर्षयता चारपटक मेरो पोस्ट्रेटको अप्रेसन भयो । ज्यानमा घरीघरी छुरा चल्नु के थियो, ज्यानको अलिकता ऊर्जा घट्यो । शरीरको सन्तुलन अलिकता डगमगायो । र, मेरो इखको पारो अलिकता झर्‍यो । र, नतिजा निकै ननिको भयो । वाकको प्रतिस्पर्धामा मेरो रोल नम्बर तीनबाट पाँचमा झर्‍यो । कालचक्रको चापले गर्दा झर्‍यो त मेरो के लाग्छ ? रोल नम्बर गिरावटको औडाहाले रन्थनिँदै मलाई माकुने र जेएनलेझैँ रुनु छैन । बलवान समयसँग सम्झौता गर्दै म गीत गुनगुनाउँछुः 
१६ वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो,
अहिले पो बूढो भयो र !