• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
महेशविक्रम शाह काठमाडाैं
२०७६ असोज १८ शनिबार १०:०७:००
साहित्य

माफिया

२०७६ असोज १८ शनिबार १०:०७:००
महेशविक्रम शाह काठमाडाैं

कथा

‘म माफिया तपाईंहरू सबैको प्रेमले आल्हादित छु । तपाईंहरूले मलाई मनैदेखि प्रेम गर्नुभयो । मेरो अंगप्रत्यंग तपाईंहरूको मायाले पुलकित भइरहेको छ ।’‘हे मेरा प्रिय माननीय सांसदज्यूहरू ! तपाईंहरूले मलाई आफ्नो सर्वमान्य नेताका रूपमा यस देशको सर्वोच्च पदमा आसीन गराउनुभयो । तपाईंहरूप्रति कृतज्ञ छु म ।’

सर्वांग सुन्दरी माफियाको जादुमयी आवाजले सभाहलमा सन्नाटा छायो । आ–आफ्ना आसनमा बसेका सभासद्हरू मन्त्रमुग्ध भएर माफियालाई सुनिरहेका थिए । तिनीहरू मानौँ  चकलेटको पोकोलाई हेरिरहेका अबोध बालक हुन् । माफियाको स्वर बताससँगै सुसाउँदै आएको कुनै षोडशीको सुमधुर गीतको बोलझैँ प्रतीत भइरहेको थियो । माफियाको मोहनी रूप र हृदयलाई झंकृत पार्ने सुरिलो स्वरको जादुमय नशाले लट्ठ थिए सभाहलमा बसेका माननीय सभासद्हरू । के बोलुँ ? के नबोलुँ ? को दोधारे मनस्थितिमा थिए सांसदहरू । मोहिनी रूप धारिणी माफियाको चुम्बकीय धरातलको आकर्षणले गुरूत्वाकर्षणविहीन बनेका सांसदहरूको मस्तिष्कमा हडकम्प मच्चिरहेको थियो ।
अचानक सभाहलमा एकजना उभिएको देखियो । उसले दुवै हात माथि उठायो र मुखनजिक लगेर म्वाइँ खाँदै भन्यो, ‘लभ यू माफिया ।’
त्यसपछि अर्को उठ्यो । उसले पनि माफियातिर हेरेर हावामा उड्न चुम्बन दिँदै भन्यो, ‘हामी तिमीलाई माया गर्छौँ माफिया ।’
सभाहल माफियाको नामले गुञ्जायमान भइरहेको थियो । हलमा कोही पनि बसिरहेका थिएनन् । सबैजना उठेर हात उचाल्दै कराइरहेका थिए ।
‘माफिया जिन्दावाद ! माफिया जिन्दावाद ! माफिया जिन्दावाद !’
माफियाका सुन्दर आँखाबाट बरर्र आँसुका दाना खसे । ऊ भावविह्वल भई । सेतो हिमालको बीचमा नीला दहझैँ देखिएका उसका सुन्दर आँखाको चमकका अगाडि सभाहलमा जडेका बिजुलीका बहुमूल्य चीम फिका देखिएका थिए । उसको मुहार कोहिनुर हीराझैँ चम्किरहेको थियो । आँसुले पोतिएका उसका गुलाबी गाला शीतले रुझेका गुलाबका पत्र प्रतीत भइरहेका थिए । माफियाको अप्रतिम सुन्दरताको महमा चुर्लुम्म डुबेका माननीय सांसदहरू त्यो सभाहलका चारै दिशामा केवल माफियाको सुन्दर आकृति मात्र देखिरहेका थिए ।
‘हे सुन्दरी माफिया हाम्रो प्रेम स्वीकार गर ।’
सांसदको आवाजले सभाहल गुञ्जायमान भयो । सबैजना दुई हात उचालेर ...माफिया....माफिया...चिच्याइरहेका थिए । माफिया गीतको गुञ्जनले सभाहल झंकृत भइरहेको थियो । 
‘मेरा प्रिय सांसदहरू धैर्य गर्नुस् । मप्रति प्रकट भएको तपाईंहरूको अपार माया अनुभूत गरेर म रोमाञ्चित बनिरहेकी छु । तपार्इंहरूको यो मायाले गृष्म ऋतुमा चलेको सिरसिरे बतास जस्तै सुस्तरी मेरा केशहरू हल्लाइरहेछ । मेरो अनुहार शिशिरयाममा खुलेको पहारिलो घामजस्तो ! शरदमा फक्रेको स्निग्ध गुलाबजस्तो ! वर्षात् ऋतुमा वनमा नाचिरहेको मजुरको प्वाँखजस्तो ! मेरो अनुहार तपाईंहरूको मायाले पुलकित बनिरहेछ ।’

माफियाले मायालु नजरले सांसदहरूतिर हेर्दै भनी, ‘मेरी आमा भन्नुहुन्थ्यो, सानै उमेरमा नै ममा अरूलाई आफूतिर आकर्षित गर्ने कला थियो रे ! हाँसेर, बोलेर, जिद्दीपन देखाएर वा रिसाएर ! मेरो रिसमा पनि सम्मोहन थियो रे ! म हुर्कँदै गएँ । र, बालिकाबाट पल्लवी उमेरमा प्रवेश गरेँ । मेरो पल्लवी उमेर ! मेरो सौन्दर्यको कोपिला पट्ट फुटेर भँवराका आँखामा परागका कण छर्ने उमेर । परागका कण छर्दै, गीत गुनगुनाउँदै उमंगका लतामा झुल्दै सपनाको पिङ्मा झुत्तिन थालेँ म । मेरो मन चरा बनेर सिमाहीन अनन्त आकाशमा विचरण गर्न चाहन्थ्यो । म आकाशको त्यो उचाइ नाप्न चाहन्थेँ, जहाँबाट पखेँटा फिँजाउँदा यो धर्ती मेरा पखेँटाको छायाँमुनि दबोस् । मेरो पल्लवी उमेर कट्दा नकट्दै मेरो पछाडि सप्तरंगी इन्द्रधनुषले प्रेमको ताँदो चढाउन थालिसकेका थिए । 

म सबैका मनमा थिएँ । सबैका दिमागमा थिएँ । सबै मलाई छुन चाहन्थे । सबै मलाई अँगालोमा बाँध्न चाहन्थे । कोही मेरो लामो केशका दिवाना थिए । कसैलाई मेरा आँखा मायालु लाग्थे, कसैलाई ज्वालामुखी । मेरो निधार, मेरा गाला, मेरा ओठ, मेरो गर्धन, मेरा हातका सुलुत्त परेका गोरा र पुष्ट औँला, मेरो अग्लिएको छाती, मेरो दबेको पेट, मेरा लामा र सुडौल खुट्टा, मेरो देहयष्टिका हरेक अवयव सौन्दर्य र आकर्षणका प्रतीक ! सबैका सपनामा म थिएँ, र थिए मेरो प्रेम, मेरो तातो आलिंगन, मेरो बाफिलो चुम्बन र मेरो देहबाट निसृत हुने स्त्री–गन्ध । मेरो स्पर्श मात्रका लागि मरिहत्ते गर्ने मान्छेहरू लाखौँ थिए ।

मलाई माया गर्नेहरूलाई मैले पनि खुब माया गरेँ । मनैदेखि माया गरेँ । मेरो मोहनी रूपबाट मोहित हुनेहरूप्रति म पनि मोहित भएँ । मनैबाट मोहित भएँ । मेरो माया वनफूलको सुगन्ध बोकेर घरका झ्यालढोकाका छिद्रबाट भित्र प्रवेश गरी मान्छेका मन छुने पवनझैँ थियो । मेरो प्रेम हिमनदी बनेर सुसाउँथ्यो । र, प्रेमिल धर्तीलाई प्रेमले सिञ्चित गर्दै सागरमा बिसाउँथ्यो । धर्ती र आकाश सबैतिर छरिएकी थिएँ म ।

मलाई माया गर्ने मनलाई सधैँ शिरमा राखेँ मैले । मलाई आफ्नो सोचमा राख्ने मस्तिष्कलाई सधैँ मनमा राखेँ मैले । मलाई प्रेम गर्नेलाई सधैँ प्रेम गरेँ मैले । प्रेम गर्नुको हदसम्म प्रेम गरेँ । मेरो रूपमा मरिमेट्नेहरूलाई मैले आफ्नो रूप दिएँ । मेरो स्पर्श पाएर धन्य हुनेहरूलाई मैले मायालु स्पर्श दिएँ । कसैलाई मेरो स्वर मन पथ्र्यो । तिनीहरूलाई मैले गीत गुनगुनाएर सुनाएँ । मेरो एक झलक पाउन मरिहत्ते गर्ने युवाहरूको पंक्ति मेरा दृष्टिले ठम्याउँन सक्ने दूरीभन्दा लामो थियो । ती युवाका आँखासँग आफ्ना आँखा साट्दै म लजाउँदै मुस्कुराएँ । खुसीले धपक्क बलेका तिनका अनुहार सम्झेर म अहिले पनि रोमाञ्चित हुन्छु । म जहाँ–जहाँ पुग्थेँ, मलाई देखेर मनुष्य स्थिर हुन्थे । ध्यानस्थ हुन्थे । दीर्घ श्वास लिन्थे । मलाई अचम्म लाग्थ्यो । मैले पछि थाहा पाएँ, तिनीहरू मेरो देहबाट निसृत सुगन्धका पारखी थिए । मेरो देहबाट विसर्जित वायुमण्डलमा तैरिरहेका सूक्ष्म कणलाई आफूभित्र ग्रहण गर्न जहाँको तहीँ तिनीहरू ध्यानस्थ हुन्थे । मेरो मोहिनी रूपप्रतिको मान्छेको तीव्र आकर्षण, मेरो बासनादार शरीरप्रतिको तिनीहरूको लालसा र भोकलाई देखेर मैले आफूतिर हेर्दै भने, ‘ओहो म त स्वर्गकी परी पो रहेछु ।’
मैले आफूलाई चिनेँ । आफ्नो मोहिनीरूपको क्षमता र त्यसको व्यापकतालाई अनुभूत गरेँ । मैले सौन्दर्यको शक्तिको सीमा भेट्टाएँ । मेरो मोहिनीरूप मेरो सत्ता । मेरो मोहिनीरूपका पुजारी मेरो सत्ता साम्राज्यका नागरिकहरू । 
म मोहिनी बिस्तारै–बिस्तारै आफ्नो प्रेमिल साम्राज्यका नागरिकका धड्कनमा आफ्नो धड्कन मिलाउन थालेँ । तिनका सपनासँग आफ्ना सपना जोड्न थालेँ । तिनका रुमानी मनसँग आफ्नो मन साट्न थालेँ ।
म माफिया, मोहिनीरूप धारिणी । आफ्ना नागरिकलाई खुसी दिन सडक, बाटोघाटो, गोरेटो चहार्दै, गल्ली गल्छेडा हुँदै गाउँ, बस्ती, सहर छिरेँ । तिनका झोपडी, घर, महलमा पसेँ । मन्दिर, मस्जिद, गिर्जाघरलाई स्पर्श गर्दै स्कुल, कलेज, अस्पताल, अदालत, प्रशासनिक कार्यालय, होटेल, रेस्टुरेन्ट, व्यापारिक संस्थान अनाथालय र आश्रममा आफ्ना पैतालाका गहिरा डोब छाडेँ ।
मैले सबभन्दा पहिले स्कुल र कलेजमा पढ्ने साना नानीहरूलाई चकलेट दिँदै भनेँ,‘यो चकलेटमा म छु ।’
नानीहरूले रमाइलो मानी चकलेट खाए र भने, ‘ओहो यो चकलेट त चकलेटजस्तो छैन । यसमा त म्यामको फ्लेभर आउँछ त !’
म मुस्कुराएँ । 
‘अब सधैँ तिमीहरू यही चकलेट खान्छौ । यस चकलेटमा को–को होइन, म छु, म । म मोहिनीरूप धारिणी माफिया !’
म चकलेट बनेर तिनका कोमल शरीरभित्र प्रवेश गरेँ ।
मैले तिनीहरूलाई पढाउने शिक्षकहरूलाई सम्झेँ । 
मलाई थाहा छ, तिनीहरू पनि मलाई माया गर्छन् । मलाई माया गर्ने मनुष्यलाई म झन् माया गर्छु । 
मैले सम्पूर्ण शिक्षकलाई विभिन्न ढाँचा र मागेजति कलम दिएँ । कलम पाएर शिक्षकहरू प्रफुल्ल भए । 
मैले शिक्षकहरूलाई भनेँ, ‘तपाईंहरू यो कलमले लेख्नुस् । तपाईंहरूले चाहनु मात्र पर्छ, कलमले खर्र लेख्छ ।’
शिक्षक परिक्षार्थीको कापी जाँच्न थाल्यो । जाँच्दा–जाँच्दै उसले मतिर फर्केर भन्यो,‘यो कलम त गज्जब रैछ । आठ अंकलाई म ८० बनाउन चाहन्थँे । ठ्याक्कै असी नै लेख्यो त !’ खितखितखित !! अचम्मसँग हाँस्यो ऊ ।
मलाई कुनै आश्चर्य लागेन । 
त्यो कलमले ८० नै लेख्नुपथ्र्याे । शिक्षकले हिम्मत गरेन । नत्र कलमले निमेषभरमा सयमा सय पनि लेख्न सक्थ्यो ।
‘अब तपाईहरू सधैँ यही कलमले लेख्नुस् । यो कलमभित्र मसी बनेर बसेकी छु म, तपाईंहरूकी मोहिनीरूप धारिणी माफिया ।’
म कलमकी मसी बनेर शिक्षकको विवेकभित्र पसेँ ।
मलाई धेरै माया गर्ने चिकित्सकहरू मेरा अघोरी पुजारी हुन् । तिनीहरूले प्राक्टिस गर्ने मेडिकल कलेज मेरो आफ्नै घरजस्तो लाग्छ मलाई । जब–जब म त्यहाँ पुग्छु सारा अस्पताल मलाई अँगालोमा बेर्न आइपुग्छ । खुसीले उमंगित हुन्छु म ।
एकदिन मैले डाक्टरका बीचमा मेडिकल कलेजको गेटपालेको घाँटीमा आला–स्टेथेस्कोप झुन्ड्याइदिँदै भने, ‘तिमी पनि आजदेखि डाक्टर भयौ । बिरामीको राम्रो सेवा गर्नु । जुन बिरामीलाई तिमीले जाँच्ने छौ, त्यो बिरामीले खल्तीमा एक रुपैयाँ हुँदासम्म तिम्रो साथ कहिले छोड्ने छैन ।’
डाक्टरहरूले मुखामुख गरे । मैले भनेँ, ‘केही टेन्सन नलेऊ । तिमीहरू सबैजना यो सेतो कोट लगाऊ । चिकित्सकले गर्ने बाँकी सम्पूर्ण काम फटाफट आफैँ हुनेछ ।’
तिनीहरूले मैले दिएको सेतो कोट लगाए । 
कोटको खल्तीभित्र हात घुसार्दै एकजना डाक्टरले भन्यो, ‘अचम्म भो । अहिले मेरो दिमागमा रोगीको रुग्ण अनुहार होइन, उसले लगाएको कमिज र पाइन्टका विभिन्न नाप र बनावटका खल्ती झलझली याद आइरहेछ ।’
‘अब तिमीहरू सधैँ यही कोट लगाउँछौ । यो कोटको सेतो रङ मेरो प्यारो रङ । कोटको सेतो रङ बनेर तिम्रो जीउमा लुटपुटिने म श्वेत बस्त्रधारणी मोहिनी माफिया ।’
सेतो कोटको चमक बनेर म डाक्टरका बुद्धिभित्र पसेँ ।
म औषधिको पोको लिएर बिरामीका वार्डमा छिरेँ । जसलाई जे औषधि चाहिएको थियो, त्यही औषधि दिएँ ।
‘औषधि तितो भए नि खाएपछि त जीउ चंगा भयो । दिनमा पाँच डोज खाउँजस्तो’,रोगीका अनुहार उज्यालिए ।
‘बाँचुन्जेल खान पाउँछौ । म छु त के को चिन्ता ? तिमीहरूलाई माया गर्ने म मोहिनीरूप धारिणी माफिया ।’
म बिरामीको औषधि बनेर तिनीहरूका शरीरभित्र पसेँ । 
म बालिका हुँदादेखि नै मेरो सहरमा पानीको हाहाकार थियो । मैले धक फुकाएर कहिल्यै नुहाउन पाइनँ । म मोहनीरूप धारिणी माफिया तरूनी भइसक्दा पनि मेरो सहर उस्तै थियो । हिमालबाट बगेको नदी गडगडाउँदै तल खोँच हुँदै बग्थ्यो । तर, मेरो घरको धारोमा कहिल्यै पानी तुर्केन । नदी थुनेर सहरमा पानी आउँदै छ भन्ने हल्ला बच्चा हुँदै सुनेकी थिएँ । न नदी थुनियो, न त पानी आयो ।
यस्तोमा मैले ट्यांकरबाट पानी ल्याएर मन्त्रीज्यूका घरका ट्यांकी भरेँ । बोतलको पानीले मन्त्रीज्यूका शुष्क कण्ठ भिजाएँ । 
एकदिन मन्त्रीज्यूले आफूलाई चुनावमा भोट दिएर जिताउने देशका महान् जनतालाई पानी भरिएको बोतल देखाउँदै भन्नुभयो, ‘यो पानी रसिलो र स्वादिलो छ । खानका लागि बोतलको पानी हुँदाहुँदै नदीको पानी किन चाहियो? नदीमा बाढी आउँछ । मान्छे बगाउँछ । हाम्रा नागरिकलाई नदीले बगाएको हामी कसरी सहन सक्छौँ ! हाम्रा लागि पानीको बोतल नै स्वस्थ र सुरक्षित छ ।’
तालीको गडगडाहट सुनियो ।
अर्को दिन पानीको बोतल बोकेका ट्रक र पानीका ट्यांकरले सहर छोपिएको थियो । मैले प्रत्येकको घर–घरमा सिलबन्द पानीका बोतल पठाइदिएँ ।
बोतलभित्रको पानीमा म थिएँ । म मोहनीरूप धारिणी माफिया । म घुलिएको पानी स्वादिलो, स्वस्थकर र सुरक्षित हुनु कुनै आश्चर्यको कुरा थिएन ।
बोतलको पानी बनेर म मान्छेका नसा–नसामा प्रवाहित रातो रगतमा घुलिसकेकी थिएँ ।
मलाई मेरो पल्लवी उमेरदेखि नै माया गर्ने थुप्रै व्यक्ति थिए । तिनीहरू मलाई मात्र यति बिघ्न किन माया गर्थे ? मलाई कुनै हेक्का छैन । मलाई माया गर्ने व्यक्तिहरूमध्ये मलाई याद आइरहने केही व्यक्ति राज्यको विशिष्ट ओहोदामा पुगेका थिए । ती यसप्रकार थिए– प्रशासक, पुलिस, वकिल र न्यायाधीश ।
एकदिन मैले अनुभूत गरेँ, म पनि तिनीहरूलाई प्रेम गर्छु । यो एक अद्भुत अनुभूति थियो । चारैजनासँग एकसाथ प्रेमको समभाव आउनु अस्वाभाविक नभए पनि आश्चर्यजनक पक्कै थियो । मलाई भने अस्वाभाविक, असामान्य, अस्पष्ट आदि शब्द प्रिय लाग्थे । 
मैले एकदिन ती चारैजनालाई पालैपालो मेरो खोपीमा बोलाएँ ।
सबैभन्दा पहिले प्रशासक आयो ।
ऊ मेरो देहको मादकताभन्दा मेरो सुन्दरताको पुजारी थियो ।
उसले मेरा सम्पूर्ण अंग–प्रत्यंगका खुबीका परख गर्‍यो । र, भन्यो, ‘तिमी उर्वशी हौ । म तिमीलाई जीवनभर आफ्नो काखमा राखेर माया गर्न चाहन्छु ।’
ऊ मलाई माया गर्न पनि चाहन्थ्यो र डराउँथ्यो पनि । कुनै कुराको निर्णय गर्दा कागजमा हस्ताक्षर गरूँ कि नगरूँको मनस्थितिमा थियो ऊ ।
‘सचिव बाबु यो मेरो कागजमा कलमले हस्ताक्षर ठोक्नु’, मैले मुस्कुराउँदै उसका आँखामा हेरेँ ।
‘यो कागजमा हस्ताक्षर गरेपछि तिम्रो डर आपसेआप भागेर जान्छ’, मैले कागज तयार गरेँ ।
मेरो चिल्लो र चम्किलो पहाडी कागज देखेर सचिव लोभियो ।
सचिवले मेरो पहाडी कागजलाई हेर्दै, मुसार्दै, थिच्दै, तान्दै आफ्नो कलमले हस्ताक्षर गर्‍यो ।
‘मैले जीवनमा विभिन्न कागजमा हस्ताक्षर गरेँ । तर, यस्तो कागज जीवनमा कहिल्यै देखेको थिइनँ’, सचिवको अनुहार अपार सन्तुष्टिले दम्किरहेको थियो ।
‘म आगोले नपोल्ने, पानीले नभिज्ने तर मायाको कैँचीले काटिने पहाडी कागज ! म मोहिनीरूप धारिणी माफिया । चिन्ता नलेऊ अब तिमी जीवनभर यो कागजमा हस्ताक्षर गरीगरी थाक्नेछौ ।’
त्यसपछि पुलिस अधिकारी आयो ।
उसले सबैभन्दा पहिले मेरो नग्न देहलाई आफ्ना खस्रा हातले सहलायो । मेरो शरीरमाथि तेर्सिएका उसका आँखा र हातको चालले ऊ मलाई अंग्रेजी उपन्यासको एक नामुद पात्र सरलाक होम्सको याद दिलाइरहेको थियो । ऊ मेरो शरीरमा के खोजिरहेको थियो ? मैले बुझ्न सकिरहेकी थिइनँ । 
‘तिम्रो यो शरीरमा यसभन्दा अघि पनि थुप्रै घटना घटित भइसकेका रहेछन् । तिम्रो शरीर एक घटनास्थल हो’, पुलिस अधिकारीले मेरो आँखामा हेर्दै भन्यो ।
म उन्मुक्त भएर हाँसेँ । 
‘हो, तिमीले ठीक भन्यौ । अब के ती घटनाका प्रमाण जुटाउँदै छौ तिमी ?’
‘स्वयं घटनाकार उपस्थित भएपछि प्रमाण किन चाहियो ?’ यति भन्दै पुलिस अधिकारीले मलाई ग्वाम्म अँगालो हाल्दै मेरो हातमा मायाको हतकडी लगायो । उसको हतकडीभित्र म उसैलाई पगाल्न थालेँ ।
‘जीवनमा धेरै अनुसन्धान गरियो, तर तिमीजस्तो अद्भुत प्रतिवादीलाई भने पहिलोपटक भेटेँ’, मेरो अनुहारमा एकटक हेर्दै उसले भन्यो ।
‘म अद्भुत हुँ । मेरो बाहुपासमा आएको मान्छे फेरि फर्केर जान मान्दैन । मेरो लत लाग्छ उसलाई । म मोहनीरूप धारिणी माफिया । मेरो लत लागेपछि बात लागे पनि मान्छे मलाई छोड्न मान्दैन ।’
तेस्रो नम्बरमा वकिल आयो ।
वकिलले मेरो दूधजस्तो सेतो संगमरमरी देहलाई छाम्दै भन्यो, ‘पुलिसले गरेको अनुसन्धान गतिलो भएन, प्रमाणको खोजी म आफैँ गर्छु,’ ऊ खितखित हाँस्यो ।
‘पुलिसले मलाई मायाको हतकडीले बाँधेर गयो’, मैले भनेँ ।
‘पुलिसले लगाएको हतकडी खोल्न सक्ने मै हुँ । अहिलेदेखि नै तिमी पुलिसको हतकडीबाट मुक्त भयौ । अब मेरा कानुनका दफा उपदफाका चमत्कारलाई झेल’, मेरो सुन्दर देहयष्टिमा आँखा लगाउँदै वकिल बोल्यो ।
‘हेरौँ, कसले पो चमत्कार देखाउँदो रैछ’, म बोलेँ ।
मैले वकिलका तर्कलाई उसले नै प्रस्तुत गरेका कानुनका दफा र उपदफाका विषद् व्याख्या गर्दै निस्तेज गरिदिएँ । 
मेरो हात सुमसुम्याउँदै वकिलले भन्यो, ‘जीवनमा पुलिसले अनुसन्धान गरेर पठाएका धेरै मिसिल हेरियो । दिग्दार लाग्थ्यो ती मिसिल हेरेर । तर, तिमी पहिलो मिसिल हौ, जसलाई अध्ययन गरेर म चमत्कृत भएँ ।’
‘म सधैँ चमत्कार नै गर्छु वकिल साहेब । म मोहनीरूप धारिणी माफिया । मेरो संगतले अब तपाईं जीवनमा चमत्कार नै चमत्कार देख्नु हुनेछ ।’
पालो न्यायाधीशको थियो ।
मलाई लागेको थियो अदालतमा मुद्दाको फैसला हुन वर्षौँ लगाउने न्यायाधीशले मकहाँ के नै नाप्ला र ! तर, यो न्यायाधीश उल्का निस्कियो । मेरो स्पर्शले सम्मोहित हुनेबित्तिकै न्यायाधीश चलमलायो । तत्पश्चात् उसले अन्तिम फैसला सुनाएझैँ गरी भन्यो, ‘वकिलले पेस गरेको मिसिल र बेन्चमा उसले गरेको बहस पैरवीमा कुनै दम छैन । वकिलका कमजोर तर्कले गर्दा तिमी हिरासतमुक्त हुनुपर्ने हो । तर, म तिम्रो केसमा कैदको फैसला गर्छु । मेरो मायाको कैदमा बस्नुपर्नेछ तिमीले ।’
न्यायाधीश जोडले हाँस्यो । उसको कुरा सुनेर मलाई पनि हाँस्न मन लाग्यो । मलाई उसको कैदमा कैदी भएर बस्न मन लाग्यो ।
साँच्चै नै म उसको कैदमा बसेँ । पिँजडामा कैद सुगालाई उसले चारो दियो । पानी दियो । मैले उसले दिएको चारो र पानी खाएँ । उसले मलाई ‘पट्टु’ भन्यो । मैले ‘हजुर’ भनेँ । उसले मलाई पिँजडाबाट निकालेर छातीमा टाँस्यो ।
मैले उसको नाकमा चुच्चोले ठुँगेँ । 
‘तिमीजस्ती पट्टु त मैले जीवनमा कहिल्यै देखिनँ । कोमल, मुलायम, रेसमको धागोजस्तो प्वाँख’, ऊ मेरा प्वाँख सहलाउन थाल्यो । 
‘मेरा प्वाँख सम्झिँदै तिमी रेसमफिरीरी गीत गाएर रमाऊ । म मोहिनीरूप धारिणी माफिया । म अब सधैँ चुच्चोले तिम्रो नाक ठुँग्न आइरहनेछु ।’
मेरो कथा सुनेर सभाहलमा लगातार ताली बजिरह्यो । 
‘म सुन्दरी मोहिनीरूप धारिणी माफियाको नामबाट यो देशको नाम राख्ने प्रस्ताव गर्छु’, एकजना सांसदले आफ्नो प्रस्ताव पेस गर्‍यो ।
‘म मोहिनीरूप धारिणी माफियाको सम्मानमा उनका सुन्दर आँखालाई हाम्रो झन्डाको बीचमा राख्ने प्रस्ताव गर्न चाहन्छु ।’
सभाहल फेरि तालीको गडगडाहटले गुञ्जायमान भयो । 
‘मेरा प्रिय माननीय सांसदहरू’, माफियाले बोल्न सुरु गरी ।
सभाहल एकैछिनमा शान्त भयो ।
‘म जुन देखिइरहेछु, त्यो एक भ्रम हो । म निराकार छु, तर तपाईंहरूले मेरो आकार दिनु भएको छ । म माफिया सर्वव्यापी, सर्वग्राह्य, तपाईंहरूकै उत्पादन हुँ । म आफू केही होइन । म एक सोच हुँ । प्रवृत्ति हुँ । तपाईंहरूविना मेरो कुनै अस्तित्व छैन’, माफियाले सभामा उपस्थित सम्पूर्ण सांसदका अनुहारलाई नियाल्दै भनी ।
सबैका आँखामा कौतूहलता थियो ।
‘म एकजनालाई यो सर्वोच्च कुर्सीमा विराजमान गराएर मेरो सोच फैलिने होइन माननीय सांसदज्यू ! मेरो सिद्धान्त सुरक्षित हुने होइन । तपाईंहरू साँच्चै नै मलाई माया गर्नुहुन्छ भने तपाईंहरूकी प्रिय माफियालाई देशव्यापी बनाउन मेरो सुगन्ध बोकेर गाउँ, सहर, बस्तीमा छिर्नुस् । मान्छेका मनभित्र पस्नुस् । सबैलाई मेरो सुगन्धले सम्मोहित गर्नुस्,’ माफिया भावविह्वल भई ।
माफिया मञ्चको मध्य भागमा उभिई । उसले एकपटक आँखा घुमाएर चारैतिर हेरी र आँखा चिम्म गरी । 
बिस्तारै माफियाको शरीर अलप हुन थाल्यो । माफियाको शरीरबाट गुलाबका सुगन्धित पत्र निस्किन थाले । गुलाबका पत्र उड्दै सभाहलमा छरिए । सभाहल गुलाबका पत्रैपत्रले भरियो । माननीय सांसदहरूबीच गुलाबका पत्र टिप्ने होड चल्यो ।
गुलाबका पत्र उड्दै ढोकाबाहिर निस्किन थाले । गुलाबका पत्रलाई कोटमा सिउँरिँदै माननीय सांसदहरू पनि ठेलमठेल गर्दै बाहिर निस्के । 
गुलाबका पत्रमा रूपान्तरण भएकी माफियाले यो देशको जमिन र आकाश ढाक्दै थियो । देशव्यापी हुँदै थिई माफिया !