कविता
उहिल्यै–उहिल्यै
एउटा कथा थियौँ हामी– सत्यको
म राम्लीहाङ
–अँध्यारो इतिहासको एक साक्षी
म रिदामहाङ
–क्रूर व्यवस्थाको अर्को साक्षी
चुलीवन !
तेरो छातीको प्रत्येक जसो भागमा
मेरो आँसु, पसिना र रगतले सिँचिएको छ
सोधेर त हेर्नु–
यहाँका प्रत्येक हरिया बुट्यानहरूलाई
ती हाम्रै आँसुको चिसेनीमा पलाएका हुन्
किन राता–राता छन् चुलीवनको माटोका रङ ?
यो रातो माटोमा उम्रिएका सल्लाका प्रत्येक हरिया पातहरूमा
किन झुन्डी बस्छ उदासीको भाका मात्रै ?
सोधेर त हेर्नु–
भिरछेवैमा सुकिसकेको बूढो वरको रूखलाई
ती हाम्रै चीत्कारले निर्मित लयहरू त हुन्
दुई सय वर्षअघि
१८६७ को एक चिसो साँझ
तानाशाही शासकको आदेश उल्लंघनको सजायमा
अन्तिमपटक सास फेर्दा–फेर्दै निस्किएका ऐठनहरू हुन् ती
आज
–दुई सय वर्षपछि
उही खिया लागेको
अँध्यारो इतिहासको ऐनाअघि उभिएका छौँ
हाम्रै आँसु र रगतले भिजिएको तेरो छातीमाथि
धुमिल इतिहासको यही ऐनामा–
एकपटक देखाउनु छ
तेरो खुनी अनुहार–
त्यहाँ देखिनेछन्
हाम्रा आँसु र रगतले सिँचिएर उम्रिएका
यहाँका आस्था र विश्वासका ठुल्ठूला वृक्षहरू
जोड–जोड हल्लिरहने
हाम्रा विश्वासका प्रत्येक वृक्षका हाँगा, पातहरूमा
ब्युँझिरहेको म राम्लीहाङ देखिनेछु
आँधीजस्तो फैलिएको आवाजमा नझुक्किनु
सयौँ वर्षदेखि निस्सासिएर बसेको म रिदामहङ हुनेछु
चुलीवन !
म राम्लीहाङ
म रिदमहाङ
दुई सय वर्षपछि–
एउटा अदम्य आत्मविश्वासले
तेरो सामुन्नेमा एउटै कुरा दोहोर्याउन उभिएका छौँ–
तेरो प्रत्येक छली आदेश मान्न सक्दैनौँ हामी
हाम्रो रगतले मुछिएको रातो टीका लागाउन सक्दैनौँ हामी ।