१.
हामी दुईबीच हुरी चल्यो प्रेमको
हामी दुवै जान्दथ्यौँ कि प्रेम
विश्वभरिकै बैँसालुहरूमा
भइरहने, हुनैपर्ने
एउटा नियम हो,
बन्धनमा हुनेहरू प्रेमको मूल्य बुझ्दैनन्
सहानभूति छ,
तर तिमी र म
प्रेम गर्नलाई स्वतन्त्र थियौँ
साथी तिमी हार्यौ
किनकि तिमीले विदेशीसँग प्रेम गर्यौँ
देश बिस्र्यौ,
र मैले
प्रेम बिर्सेँ, देश सम्झेँ
सारांश यति हुन्छ
कि तिमीले देश बेच्यौ
प्रेम किन्यौ
मैले प्रेम बेचेँ, देश किनेँ
भन्नुको तात्पर्य
तिम्रो निम्ति देश गौण
र मेरा निम्ति प्रेम गौण थियो
यस जयपराजयको न्यायाधीश को ?
प्रश्न अझै बाँकी नै छ ।
किनकि देशलाई गौण ठान्नेहरू
यहाँ यति धेरै छन्
कुन दिन देश
जाँडको घ्याम्पो रित्तिएजस्तो
रित्तिनेछ ।
२.
मेरो आँखामा मलाई नहेर
म आँखामा अर्कै अर्कैको
आकाश टाँगेर बस्छु
मेरो आँखामा अरू अरूको
घाम जून उदाउँछन्
मेरो आँखामा अरू कोही कोही
बास बस्छन्
सपनासम्म मेरो होइन
तिमी मलाई
साँच्चै केरकार नै गर्छौ भने
वेला मौका बग्ने
आँसु मात्र मेरो हो ।
२८ असोज, २०४१
३.
पानी परेर उघ्रेको रातमा
मध्य पहरको जून होस्
हरेक फूलमा ओसबिन्दु टप्केको होस्
लिएर कुनै जिउँदो सपना धरती सुतेको होस्
अधुरो मेरो आत्मकहानीमा चोट लागेको होस्
आत्मविस्मृतिको गन्ध फूलमा
वैराग्य स्पर्शमा
तन्द्रा बनोस् सब माया ममता
बोझिल स्पर्शमा
लिएर कुनै जिउँदो सपना धरती सुतेको होस्
अधुरो मेरो आत्मकहानीमा
चोट लागेको होस्
४.
दुई किनारा नभए नदीको
अस्तित्व हुँदैन
हामी पानी पानीले भेटेका छौँ
छाल र तरंगहरूले छोएका छौँ
नियति जे होस् तपाईं र मेरो
हामी पुल हालेर एक
अर्काको अँगालोमा
बाँधिएका छौँ
२ नोभेम्बर, १९८५
५.
जून तारा चाहँदैमा
तिमी मेरो घाँघरभरि खस्न आउने त होइनौ
न म नै तिमीलाई यो फूलको झटारो हान्न सक्छु
माने तिमी सुन्दर छौ,
तर यता हेर
यो रंगीन फूलहरूले सजिएको धरती पनि त
कम सुन्दर छैन
जहाँ म उभिएकी छु
(यी कविता ‘झन् नयाँ’का लागि पारिजातकी बहिनी सुकन्या वाइबाले उपलब्ध गराएकी हुन् ।)