• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हरि अधिकारी काठमाडाैं
२०७६ असोज १८ शनिबार १०:४०:००
साहित्य

जेम्स् आर्थर रिडको अन्त्य

२०७६ असोज १८ शनिबार १०:४०:००
हरि अधिकारी काठमाडाैं

कथा

त्यस दिन बिहान सबेरै, ३ बजेतिर एउटा नराम्रो सपनाबाट झस्किएर ब्यँुझिएको ५७ वर्षीय अवकाशप्राप्त सैन्य अधिकारी मेजर जेम्स् आर्थर रिड एकपटक निद्रा खजमजिएपछि जति नै कोसिस गर्दा पनि फेरि निदाउन सकेन । तन्द्रित र जागृत अवस्थाको सिमानामा संज्ञाहीनझैँ झुन्डिइरहेको उसको दिमागमा अनेक अस्पष्ट विम्बहरू घालमेल भएर आए पनि तिनले कुनै निश्चित आकार भने लिन सकेनन् । त्यतिवेला उसको मुटु छातीको पर्खाल नै फोडेर बाहिर निस्कला झैँ गरी धक्धक् गरिरहेको थियो । 

ब्लुरिज माउन्टेन होम केयर सेन्टर, रोनोक, भर्जिनियाको एउटा सानो कोठामा सुतिरहेको वेलामा झसंग भएर ब्युँझिएको उसलाई आफू को हो र त्यतिवेला कहाँ, कुन अवस्थामा छु भन्ने कुरा ठम्याउन भने निकै सकस पर्‍यो । न्यानो ठाउँको खोजीमा फ्लोरिडा गएर बस्दाका दिनहरूमा नै उसमा देखापरेको थियो त्यो अनौठो रोग । उसको शरीरमा त्यो रोगको लक्षण किन, कहिलेदेखि र कसरी देखापरेको थियो, ऊ यकिनका साथ भन्न सक्दैन । युद्धमा घाइते भई आइजनहावर मेमोरियल मिलिट्री अस्पताल फोर्ट भर्ननमा उपचार गराइरहेका वेलामा उसलाई दिइएको औषधिमा केही कैफियत परेर त्यस्तो भएको हो भन्ने गहिरो आशंका भने छ उसको मनमा । 

‘तिनीहरूले मेरो तिघ्राबाट गोली मात्र झिकेनन् तिनले त मेरो स्मरणशक्तिलाई नै भुत्ते पारिदिए लिजबेता । दी सन्स् अफ् अ बिच् फक्ड् मी अफ् हनी,’ क्षीणस्मृति भएका वेलामा ऊ रिस र लाचारीमा डुबेको घाइते स्वरमा पार्टनर लिजबेता फेरारोलाई सुनाउने गर्दथ्यो ।

लिजबेतालाई भने उसको कुरामा पत्यार लाग्दैनथ्यो । ऊ नाकका दुवै पोराबाट चुरोटको धुवाँका दुइटा सुरिला मुस्लाहरू निकाल्दै धीर गम्भीर स्वरमा भन्दथी, ‘कम’न बेबी, डन्टक् सिल्ली, डाक्टरहरूले तिमीलाई त्यस्तो खराब औषधि किन दिए होलान् र?’ लिजबेताको कुराले जेम्स् द्विविधामा फस्दथ्यो र चुप लाग्दथ्यो ।

फ्लोरिडा बसाइका ती दिनहरूमा कोकिनको गहिरो लतमा फसेको ऊ प्रत्येक रात कोकिनले लट्ठिएर पूरा झल्लु हुने गर्दथ्यो र बिहान ब्युँझिँदा आफू कहाँ छु भनेर ठम्याउन नसकेर आफैँसँग निकै बेर गलफत्ती गर्न थाल्दथ्यो । त्यस्तो विभ्रमपूर्ण स्थितिमा बेडरुमको झ्यालको पर्दा उठाएर जब ऊ बाहिरतिर हेर्न थाल्दथ्यो त्यहाँबाट देखिने एकैनासका सडकहरू, एकै डिजाइनका घरहरू र एकतमाससँग आरका पार लम्पसार परेको समुद्र तटले बनेको भूदृश्य देखेर ऊभित्रको अलमल झनै बढ्दथ्यो ।

त्यस्ता अप्ठ्यारा क्षणहरूबाट उसको उद्धार गर्दथी उसकी पार्टनर लिजबेता फेरारोले । जहिले जहिले ऊ खिन्न र उदास स्वरमा ‘फेरि बिर्सिएँ लिज् ! हामी अहिले बसिरहेको ठाउँको नाम के हो रे, भन त हनी प्लिज्, आएम् गोन्ना गो म्याड दिस वे स्विटी’ भनेर उसँग सोध्दथ्यो, लिजबेता उसको हातमा हर्दम रहने चुरोटको एउटा लामो सर्को तान्दथी र अलिकति दिक्क मानेकोजस्तो, तर नमिठो पटक्कै नलाग्ने स्वरमा भन्दथी, ‘नो, नट अगेन् जिम । तिमीलाई के भएको छ हँ आजकाल ? यो टम्पा हो टम्पा, दी मोस्ट ब्युटिफुल बे टाउन इन् फ्लोरिडा मेरो हरिलट्ठक मान्छे ।’

जेम्स र लिजबेताको सम्बन्ध सहअस्तित्वको मान्यतामा टिकेको थियो । जेम्स ट्याक्सी चलाउँथ्यो, लिजबेता टम्पाको नामुद क्युबन रेस्टुराँ एन्ड बार ‘दी सेकेन्ड हवाना’ मा वेट्रेस थिई । ती दुवैका बीच अलिखित भए पनि पक्का सम्झौता थियो, जसलाई दुवैले राम्रोसँग पालना गर्दै आएका थिए । घरभाडा र ग्रोसरीको खर्च दुवैले मिलेर व्यहोर्थे । आ–आफ्नो नशापानीको जोहो आ–आफैँ गर्दथे । 

लिजबेता फेरारो नामक त्यो बटारिएका पिँडुला भएकी, होची होची, हँसिलो मुहारकी क्युबन युवतीसँग एउटै घरमा बस्न थालेको केही समयपछि देखि नै जेम्स रिडको मनमा ऊसँग विवाह नै गरेर बाँकी जीवन बिताउने इच्छा पलाएको थियो । त्यो हँसिली रसिली क्युबन स्त्रीसँग भेट हुनुअघिसम्म ऊ यो विशाल संसारमा नितान्त एक्लो थियो र उसले आफ्नो एक्लोपनालाई सर्वसत्तावान् प्रभुले दिएको अपरिहार्य श्रापका रूपमा लिएको थियो । तर, लिजबेतासँग घर सेयर गर्न थालेपछिका ती दिनहरूमा भने उसले आफूलाई एक्लो र असहाय ठान्न छोडिदिएको थियो । बेकार ठानेको आफ्नो जिन्दगी उसलाई अचानक अर्थपूर्ण र मूल्यवान् लाग्न थालेको थियो । ऊ जीवनको नयाँ अध्याय सुरु गर्ने सपना देखिरहेको थियो ।

तर, नियतिलाई भने जेम्स रिडको मनमा पलाएको जीवनप्रतिको प्रेमको अंकुरलाई पल्लवित बनाउनमा कुनै रुचि थिएन सायद । लिजबेतासँग बिहे गरेर जीवनको नयाँ अध्याय सुरु गर्ने उसको सपनालाई स्वयं लिजबेताले नै एकै झड्कामा चकनाचुर पारिदिएकी थिई । 

एक साँझ उसले धक मान्दै राखेको विवाहको प्रस्ताव सुनेर केही चकित र विचलितजस्ती देखिएकी त्यस क्युबन युवतीले सधैँझैँ चुरोटको लामो सर्को तान्नुको सट्टा कोकिनको एउटा हलुका डोज स्वाँट्ठ पार्दै ऊसँग भनेकी थिई, ‘म्यारेज् ? यु मस्ट बी जोकिङ जिम बेबी ! ए बिग् नोओओ फ्रम् माई साइड् । म कुनै पनि लोग्नेमान्छेसँग कुनै प्रकारको स्थायी सम्बन्धमा बाँधिन चाहन्नँ । हाम्राबीच जे–जस्तो सम्बन्ध कायम भएको छ त्यसैलाई निरन्तरता दिने हो भने ठीकै छ, यसभन्दा अगाडि बढ्न खोज्छौ भने त्यस क्षणमै तिम्रो र मेरो बाटो अलग हुनेछ ।’ 

लिजबेताले उसले राखेको विवाहको प्रस्तावलाई यसरी लत्याइदिएपछि ती दुईबीचको सम्बन्ध अचानक अर्थहीन हुन पुगेको थियो र जेम्सका लागि जीवन बलजफ्ती घिसारेर लैजानुपर्ने एउटा अजंगको भारी । उसले कैयौँपटक कोकिनको ओभरडोज लिएर बेकम्मा बोझजस्तो बन्नपुगेको आफ्नो जीवनको अन्त्य गर्ने विचार पनि गरेको हो । तर, त्यस्तो आत्महन्ता विचार आएका वेलामा कुनै दैवीशक्तिका बलमा पहिल्यै थाहा पाएजस्तो गरी लिजबेताले नै उसलाई अपहत्ते गर्नबाट रोक्दै आएकी थिई । 

बिहे गर्ने कुरामा सहमत हुन नसके पनि जेम्स र लिजबेता अरू दुई वर्ष सँगै बसेका थिए । जीवन एक ढर्रामा चलिरहेको थियो । लिजबेताको व्यवहारमा केही फरक आएको थिएन । ऊ मध्यरातमा बार बन्द भएपछि घर फर्किँदा जहिले पनि केही खानेकुरा लिएर आउँथी, कहिलेकाहीँ टकिलाको हाफ बोतल पनि हुन्थ्यो उसको हातमा । जेम्स निदाएको छ भने पनि उठाउँथी, खुवाउँथी, पिलाउँथी र हप्ता दश दिनमा उसको सिरकभित्र घुस्रिन पनि आइपुग्थी । उसको इच्छाका कारण समय–समयमा जेम्सको पनि शारीरिक क्षुधा शान्त हुन्थ्यो । 

एक दिन डाउनटाउन मियामीमा भएको गोलीकाण्डले आजको ट्याक्सी ड्राइभर र इराक वारको भेट्रान सैनिक जेम्स आर्थर रिडलाई दोस्रोपटक अपांग बनाइदिएपछि भने ती उसको र लिजबेता फरारोबीच विकसित परिभाषित गर्न अप्ठ्यारो सम्बन्धका सबै तारहरू कहिल्यै नजोडिने गरी चुँडिएका थिए । 

उसको ट्याक्सी भाडामा लिएर मायामी पुगेका दुईजना कोलम्बियालीहरू र मायामीको एन्टि–नार्कोटिक स्क्वाडका प्रहरीबीच डाउनटाउनको मेन स्ट्रिटमा दोहोरो फायरिङ खुलेको र त्यतिवेला अत्तालिएर ट्याक्सी छोडी भागेको जेम्सले तीन दिनपछि मायामी ट्रमा सेन्टरमा होस खुल्दा दाहिने हातको कुहिनाभन्दा तलको भाग गुमाइसकेको थियो । कुहिनानेर लागेको गोलीका कारण भएको गेग्रिन शरीरको अन्य भागमा फैलिन नदिन डाक्टरहरूले उसको एउटा हात कुहिनादेखि नै काटेर फ्याँक्ने निर्णय गरेका थिए । त्यसरी दोस्रोपटक अपांग भएको जेम्स अस्पतालबाट बाहिर आउँदा एक बेरोजगार र बेकम्मा अमेरिकी बनिसकेको थियो । ऊसँग अब स्टिलको सानो टुक्रोमा खोपेर बनाइएको चार हरफमा वर्णन गरिएको परिचयपत्र, आइन्दा कहिल्यै काम नलाग्ने ड्राइभिङ लाइसेन्स र युद्ध भेट्रानका हैसियतले उसले पाउने गरेको पेन्सनको पट्टाबाहेक केही पनि थिएन ।

अस्पतालबाट डिस्चार्ज भएर घर पुग्दा जेम्सलाई पार्टनर लिजबेता फरारोले त्यो घर छोडिसकेको अर्को नराम्रो खबरले पर्खिरहेको थियो । मूल ढोका ढप्क्याएर मात्र छोडेको त्यो रित्तो घरलाई देखेर जेम्सको मन किन हो, हलुंगो भएर आयो । तल्लो ओठको देब्रे कुनामा मात्र अलिकति हाँस्दै ऊ त्यहाँबाट फटाफट हिँड्न खोज्दै थियो, प्रोपर्टी म्यानेजमेन्ट अफिसको कर्मचारी ओल्र्यान्डो रामिरेजले बोलाएकाले रोकियो । ‘कमन अमिगो, आई ह्याभ् गट् समथिङ् फर् यु,’ हँसिलो रामिरेजले भन्यो । 

रामिरेजले भनेको समथिङ् टेपले बेरेको बाक्लो गत्ताको एउटा बाकस रहेछ । त्यसमा उसको नाम जुन कोर्काली पाराका अक्षरमा लेखिएका थिए त्यसलाई देख्दा उसलाई त्यो पार्सल अर्धसाक्षर लिजबेताले छोडिदिएको हुनुपर्दछ भन्ने अनुमान लगाउन खासै गाह्रो परेन ।

पार्सलमा जेम्सको निजी प्रयोगका खिच्रिमिच्री सामान, दुई जोर जिन्स प्यान्ट, दुइटा बुट्टेदार टिसर्ट, तीन सय ७० डलर भएको एउटा खाम र तीनवटा बांगाटिंगा हरफमा लेखिएको सानो चिठी खामिएको रहेछ । चिठीमा लिजबेताले लेखेकी थिई, ‘आई गोन्ना गो फार् । नो सी अगेन् । आई गिभ् योर् डलर् यु फर्गेट् ? यु नो क्लेभर् । ओके अमिगो बाई ।’ लिजबेताको त्यो चिठी पढेपछि जेम्स आर्थर रिड नामक त्यो बहादुर सिपाही धेरै बेरसम्म हिक्कहिक्क गर्दै रोइरहेको थियो । त्यति नै वेला उसले फ्लोरिडालाई सधैँका लागि छोडेर पितापुर्खाको थलो भर्जिनिया राज्यको रोनोक जाने निर्णय गरेको थियो । पुर्खाको थातथलो भएकाले रोनोकमा उसलाई गहिरो माया नभए पनि साथसम्म दिने कोही न कोही हुन सक्छ भन्ने झिनो आशाको त्यान्द्रोमा झुन्डिएको थियो जेम्स ।  

यथार्थमा उसको गृहनगर रोनोकमा समेत एक अपांग हर्ट रिटायर्ड सैनिकका लागि स्नेह र भरोसाको सम्बल दिने मानिस एकजना पनि थिएन । नातागोता र आफन्तहरू कसैलाई पनि भेटेन उसले त्यस गाउँले सहरमा । फेरि एकपल्ट नितान्त एक्लो भएको ऊ निराशाको गर्तमा भासिँदै जान थाल्यो । एउटा सस्तो मोटेलमा दिन काटिरहेको ऊ गहिरो अवसादले ग्रस्त, पक्का जँड्याहा भएर निस्कियो । घरीघरी आफू मरेको सपना देख्न थाल्यो । 

तर, भन्छन् नि वेला नआई कोही पनि मर्दैन । जेम्सको केसमा पनि त्यही भयो । ऊ अवसादग्रस्त नै रहेको वेलाको एक साँझमा संयोगले उसले एकजना आप्रवासी नेपाली महिलाले ऊजस्ता एक्ला र गृहहारा प्रौढहरूलाई आश्रय दिनका लागि सञ्चालन गरेको ब्लु रिजमाउन्टेन होम केयर सेन्टर, रोनोकबारे थाहा पाएको थियो । सेन्टरको प्रचार सामग्री पढ्नेबित्तिकै उसलाई आफूलाई मिल्नेजुल्ने ठाउँ पाएजस्तो लागेर त्यहाँ भर्ना भइहालेको थियो ।

झट्ट हेर्दा त ब्लु रिजमा जेम्स खुुसी नै थियो, तर केही दिनदेखि आफू कहाँ छु भनेर खुट्याउन नसक्ने पुरानो रोग बल्झिएका कारण केही निराशजस्तो पनि देखिन्थ्यो । त्यस दिन बिहान पनि जेम्सलाई विस्मृतिको त्यही रमरमीले लट्ठ पारेको थियो । ऊ सुतेको कोठामा बलिरहेको जिरो वाटको गुलुपले फ्याँकेको अधमरो उज्यालोमा मुस्किलले देखिएका चिजबिजहरूले उसलाई आफ्नो त्यतिवेलाको स्थितिको हलुका आभास गराएका थिए । त्यति नै वेला उसले आफूले केही बेर पहिले देखेको भयानक सपनालाई सम्झियो । त्यसअघि उसले देख्ने सपनाहरू प्रायःजसो कुनै तारतम्य नमिलेका, खण्डित र टुक्राटाक्री जस्ता हुन्थे जसलाई ऊ चाँडै नै बिर्सिहादल्थ्यो पनि । तर, त्यस दिन उसले देखेको सपना एकदम स्पष्ट, पूरा र भयानक थियो ।

त्यस दिन सपनामा ऊ विशाल आकारको एउटा अठारपांग्रे ट्रकको चालकको सिटमा बसेको थियो । त्यो ट्रक कुन ठाउँबाट कहाँसम्म जाँदै थियो, प्रस्ट थिएन, तर त्यो सयौँ माइलसम्म पनि कुनै मानव बस्ती वा हरियाली नदेखिने टेक्सस राज्यको मरुप्रदेशको फराकिलो राजमार्ग आई ३५ मा प्रतिघन्टा ८० माइलको भयानक रफ्तारमा कुदिरहेको छ भन्ने कुरा भने जेम्सलाई थाहा भइरहेको थियो । अद्भुत कुरो त के पनि थियो भने त्यस ट्रकमा दुइटा ‘ऊ’ सँगसँगै यात्रा गरिरहेका थिए । एकजना जेम्स ट्रकको स्टेयरिङ ह्विल सम्हालिरहेको थियो भने अर्को जेम्सचाहिँ ड्राइभर जेम्सको बगलमा कसेर ‘अब यसले यो ट्रक दुर्घटनामा पार्दछ र मलाई मारिदिन्छ’ भन्ने डरलाग्दो भविता सोचेर थर्कमान भइरहेको थियो । ट्रक दुर्घटनामा पर्छ भन्ने आभास ड्राइभर जेम्सलाई पनि भइरहेको थियो, तर उसलाई दिमागको कुनै एउटा कुनामा ‘यो सपना त हो नि, यसमा मरे पनि के हुन्छ र’ भन्ने अभिज्ञान पनि भइरहेकाले ऊ भएभरको बल लगाएर ट्रकको एक्सिलेरेटर थिचिरहेको थियो ।

त्यसको लगत्तै अर्को क्षण, ब्लु रिज होम केयर सेन्टरको पहेँलो, दरिद्र उज्यालो पोखिएको कोठामा, त्यतिवेलाको आफ्नो स्थिति प्रस्टसँग ठम्याउन नसकिरहेको र अधकल्चो चेतना तरंगमा पौडिरहेको तेस्रो जेम्सको दिमागमा केही समयपहिले आफूले देखेको भयानक सपनाको अन्तिम भाग विद्युत् वेगका साथ देखापर्‍यो र तुरुन्तै बिलायो पनि । अघिल्ला दुई जेम्सले देखेको सपनाको त्यस भागमा ड्राइभर सिटमा भएको जेम्सले हाँकिरहेको ट्रकको अगाडिपट्टिको भाग पछाडिको बडीबाट अचानक छुट्टिएर हवाइजहाजझैँ उड्दै हाइवेबाट सयौँ मिटर पर रहेको ढिस्कोबाट उछिट्टिई अर्कोपट्टि रहेको खोँचमा खसेर भयानक आवाजका साथ विस्फोट भएको थियो ।

त्यस दिन मध्यान्न १२ बजे रेजिडन्टहरूलाई ब्रन्च दिन आएकी केयर सेन्टरकी परिचारिका मिस केली ब्राइनले जेम्स रिडलाई ब्रेक्फास्ट टेबुलमा नदेखेपछि तुरुन्त सोधखोज सुरु गराएकी थिइन् । खोज्दै जाँदा सेन्टरको गराजमा त्यो ६ फुटे भेट्रान फौजीको लास छातीको बायाँपट्टिका चारवटा करङ भाँचिएको र रक्तमुच्छेल अवस्थामा फेला पारेको थियो । उसको पोस्टमोर्टम गर्ने डाक्टरको भनाइलाई मान्ने हो भने जेम्सको मृत्यु आफ्नो छाती फोडेर मुटुबाहिर निकाल्ने असफल प्रयासमा अत्यधिक रक्तस्रावका कारण भएको थियो ।