• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कुन्ता शर्मा 
२०७६ असोज १८ शनिबार १०:५४:००
साहित्य

फेरि मधेसतिर 

२०७६ असोज १८ शनिबार १०:५४:००
कुन्ता शर्मा 

कथा

लामो समयको अवसादपछि विधवाको मन आनन्दित भएको थियो । वैधव्यको कठिन अनुशासनबाट मुक्त भएकी थिई ऊ । भागेकी थिई गाउँबाट । घर अनि माइती दुवै अनुकूल भएका थिएनन् उसका लागि । उसको सपना बेग्लै थियो । 
‘विधवा भागी ।’
गाउँघरमा हल्ला भयो होला । पँधेरामा खुब कुरा काटियो होला । घरका मान्छेहरू पनि कामको खाँचोले रन्थनिए होला । ‘आँट गर्न सक्नुपर्दो रहेछ,’ विधवाले सोची । उसले ठूलै आँट गरेकी थिई– एउटी तरुनी आइमाई घरबाट भाग्नु । नचिनेको नजानेको ठाउँतिर पाइला बढाउनु सजिलो पक्कै पनि थिएन । 
बाटोमा साथीहरू भेटिएकाले उसलाई मधेसतिर जान सजिलो भएको थियो । डाँडाकाँडा, कठिन जीवन छाडेर समथर अनि उब्जाउ मधेसतिर सरल जीवन खोज्न हिँडेका थिए मानिसहरू । वर्षदिन रि काम गर्दा पनि ढिँडोरोटो मात्र पाइने । अक्षता (धानको भात) खान चाडबाड र तिथिश्राद्ध पर्खनुपर्ने । ‘कमसेकम धानको भात पेटभरि खान पाइएला ।’ धेरैजसो मधेस झर्नेको सपना यही नै हुन्थ्यो । तर, विधवाको यो समस्या थिएन । खानै नपुगेर वा ढिँडोरोटोको खानुपर्ने समस्याले ऊ मधेस झरेकी थिई । उसको सपनाले उसलाई मधेसतिर लखेटेकोे थियो । ऊ स्वस्थ थिई, सुन्दर थिई । घरजम गर्न चाहन्थी । छोराछोरी जन्माउन चाहन्थी । एउटा राम्रो जीवनसाथी खोज्न चाहन्थी जो पहाडमा सम्भव थिएन । रुखोसुखो जिन्दगी र विनापत्ताका नियमकानुनसँग वाक्क भइसकेकी थिई ऊ । यो गर्नु हुँदैन, त्यो गर्नुपर्छको दिक्क लाग्दो कुरा, बाध्यतापूर्वक बाँच्नुपर्ने नीरस अनि खल्लो जिन्दगी । 
‘म गोरेसँग घरजम गर्छु ।’ छलिएर हेरेको सिन्दुर बट्टे गोलो ऐनामा उसले आपूmलाई सधैँभन्दा धेरै राम्री र आकर्षक देखी । पुष्ट गालाहरूमा केही लाली चढेको अनि अछुता राता ओठहरूको सुन्दरता देखेर ऊ आफैँ मुग्ध भई । मधेसमा अलिकति धानखेत, एउटा सानो टाँडेघर, वस्तुभाउ अनि गोरेको न्यानो अँगालो । आँगन उज्यालो पारेर खेल्ने केटाकेटीहरू । उसको मन कल्पना मात्रले पनि गद्गद् भयो । गोरेलाई मायालु स्वरमा भनी, ‘गोरे, तिमी र म बिहे गरौँ ।’ 
गोरे मौन थियो । एक शब्द पनि बोलेको थिएन । विधवाले गोरेको मौनतालाई सहमति सम्झिई । आँखाहरू उघारै हुँदा पनि सपनाहरूको बिस्कुन लाग्यो उसको अघिल्तिर । उसले लुकाएर फेरि पनि ऐना हेरी । ऊ तरुनी थिई । लोग्ने मर्दा काटेको कपाल बाक्लो र लामो भइसकेको थियो । दुई चुल्ठा बाटेर बीचमा काढिएको लामो सिउँदोमा गोरेले बाक्लो लामो धर्सा सिन्दुर हाल्यो । सेता लुगा त उसले खोलामै फालेकी थिई । लुकाएर बोकेको बिहेको रातो सारी लगाई । रातो सारी, रातो चोलो अनि निधारमा रातो ठूलो टीका । ऊ अत्यन्त मिठा कल्पनामा डुबिरहेकी थिई । तर, गोरे मौन थियो । ‘साह्रै लजालु रहेछ बरा,’ लख काटी उसले ।
बिहे पनि भयो । ऊ राताम्य भई । गोरेले उसको खाली सिउँदोमा सिन्दुर हाल्यो । यामानको रातो पोतेको झुत्तो लगाइदियो, गोरेले । उसले राहतको सास फेरी । अब उसलाई कसैले ‘पोइ टोकुवी’ भन्नेछैनन् । कसैले ‘यो खा’ ‘त्यो नखा’ भन्नेछैनन् । दिनभरिको मेलापातको थकाइ अनि राति सबै काम सकेपछि लखतरान भएको वेला सासू, फुपूसासू, सानीमा सासू, आमाजू, भान्जा अनि देबर सबैका साइजसाइजका गोडाहरूमा उँघ्दै तेल लगाउने कष्ट पनि हरायो । 
गोरे नामअनुसार नै गोरो र लरक्क परेको थियो । ऊ पनि के कम थिई त ? खँदिलो शरीर अनि पुष्ट स्तनहरू । कहिलेकाहीँ त ऊ आफूसँग आफैँ मुग्ध हुन्थी । यस्तो बान्की परेको शरीरलाई अँगालोमा बेरेर माया गर्ने मान्छे कोही नहुँदा दिक्क पनि लाग्थ्यो उसलाई । पोइको राम्रो सम्झनासमेत थिएन । विधवा भए पनि ऊ कुमारी नै थिई । उसको कुमारीत्व यथावत् थियो । बलियी थिई, जाँगरिली थिई । काम प्यारो कि चाम प्यारो भनेजस्तो कामले नै ऊ जोकोहीलाई पनि रिझाउन सक्थी । 
घरीघरी यस्तै मीठा कल्पनामा डुब्थी । ‘आफ्नो एउटा सानो घर, घरअगाडि  फैलिएको खेत, धानको भकारी, मकैको थांग्रा, गोठमा कराउने वस्तुभाउ अहो ! कस्तो स्वर्गीय आनन्द । ऊ त आनन्दको सरोवरमै चोपलिई । उसले मनमनमा भनी– सायद स्वर्ग भनेको यही नै होला । धन्य प्रभु !  कुन जन्मको पुण्यले यो स्वर्ग प्राप्त भयो मलाई । मेरो सुन्दर गृहस्थीमा कसैको आँखा नलागोस् ।’
दृश्य पटाक्षेप हुन्छ । गोरे र ऊ घुम्न जान्छन् । पोखरीमा उठेका सुन्दर छाल तरंंग हेरेर मख्ख पर्छे । उसको ओठमा कोमल हाँसो खेलिरहेको हुन्छ । पोखरीको बीचमा पुगेपछि गोरेले अकस्मात् उसलाई घचेटिदिन्छ । पौडन नजान्ने ऊ निस्सासिन थाल्छे । गोरेको अनुहार राक्षसको जस्तो देख्छे । गोरे हाँसेर हात हल्लाउँदै विपरीत दिशातिर नाउ लिएर जान्छ । ऊ चिच्याउँछे – बचाऊ बचाऊ ।
०००
अहो ! ऊ त निद्रामा पो रहिछे । लाज र डरले पानीपानी हुँदै ऊ जुरुक्क उठेर बस्छे । यताउता आँखा घुमाउँछे । गोरे कतै हुँदैन । आँखाले भ्याएसम्म हेर्छे । अलिक परतिर रहेका बुढोमान्छेलाई सोध्छे, 
‘गोरे कता गयो बा ?’
‘गोरे त झिसमिसै उठेर जान्छु पनि नभनी तलतिर पो लाग्यो ।’
बुढाले उसको आत्तिएको अनुहार हेर्दै भन्यो, ‘नानी निकै पो चिच्यायौ त । नराम्रो सपना देख्यौ कि क्या हो ?’
ऊ केही बोल्दिन । अनिष्टको आशंकाले एकैचोटि छोप्यो उसलाई । ऊ झसंग भई र उसका हातहरू यन्त्रवत् कम्मरमा पुगे । पटुका खुकुलो थियो । त्यहाँ भएको उसको कल्पनाको संसार, सुनौलो भविष्यको आधार हराइसकेको थियो । अलिक परतिर गई र बारम्बार पटुका टकटकाइरही । भए पो झथ्र्यो । ऊ थचक्क बसी । 
‘के भयो नानी ?’ उसको गतिविधि नियालिरहेको बुढाले सोध्यो ।
‘गोरे भागेछ बा ।’ मेरो पोल्टाको सुन चोरेर लगेछ । थाकेर चुर भएकी थिएँ, कतिखेर झिक्यो, थाहै पाइनँ ।’
‘ए, हेर्दा त सीधा साधुजस्तो थियो ।’
बुढाले निकै सम्झायो विधवालाई । आडभरोसा पनि दियो । 
बाटोमा हिँड्दै गर्दा विधवाले गोरेलाई भनेको कुरा बारम्बार सम्झँदै थिई, ‘गोरे ! तिमी र म बिहे गरौँ । मसँग अलिकति सुनचाँदी छ । बेचेर खेत किन्नुपर्छ । घर बनाउनुपर्छ । आरामले जीवन बिताउनुपर्छ । तिम्रो र मेरो जोडा पनि मिल्दो नै छ । मेरो उमेर पनि कति नै भएको छ र । मैले आफूलाई जोगाएर राखेकी छु । म जाँगरिली छु । जति पनि काम गर्न सक्छु ।’ 
गोरे मौन थियो । उसको दिमागमा चलेको कुरा विधवाले बुझिन । पटुकामा सुन भएको कुरा थाहा भइसकेको थियो गोरेलाई । विधवा सकसमा परी । गाऊँ फर्केर जाने कुरै थिएन । उही टोकसो, उही कहिल्यै नसकिने काम, अनि उही उदास अनि खल्लो जिन्दगी । तर, अब मधेस जानुु पनि कहाँ सजिलो थियो र ? पोल्टाको ढुकुटी पनि उम्किसकेको थियो । मधेसमा न कोही चिन्नु, न कोही जान्नु । निकै बेर घोरिएपछि उसले मन मसक्क बाँधेर सोची, ‘बरु कसैको भान्से लागेर बस्छु, तर पहाड फर्केर मरिगए पनि जान्नँ ।’
साँझ परिसकेको थियो । साँझको धमिलो उज्यालोमा विस्तारित मधेस पनि भेटियो । उसको जाने ठाउँ त कतै पनि थिएन । बाटोमा भेटिएको एउटा ठूलो काठको घरमा गएर वास मागी । भुराभरी चकचक गरिरहेका थिए । पातलो शरीर परेका घरका मालिक निकै दयालु रहेछन् । 
थकाइ र चिन्ताले उसको शरीर निकै क्लान्त भएको थियो । अघाउँजी खाई । सबैथोक बिर्सेर भुसुक्क निदाई ।
बिहानको नित्यकर्म सकी उसले । कपाल सम्याएर निधारमा रातो टीका लगाई । लुगा फेरेर सानो पोको च्याप्दै ती दयालु घरमालिकको छेउमा उभिएर भनी, ‘अब बाटो लाग्नुपर्‍यो, हजुर ।’
‘कहाँसम्म पुग्ने नानी ?’
‘भाग्यले जता लग्ला त्यतै हजुर ।’ भन्न नचाहेको कुरा फुस्किहाल्यो । झसंग भई ऊ । 
‘उमेरदार मान्छे बस्ने आफन्त नभई कता जान्छ्यौ ? यतै बस न त नानी ।’
घरमालिकले आत्मीयतापूर्वक भने, ‘आखिर जहाँ गए पनि एकपेट खानु र एक झुम्रो लगाउनु त हो नि । यतै बस्दा पनि हुन्छ । खाना पकाऊ, तिमी पनि खाऊ, हामीलाई पनि खुवाऊ । हुँदैन त नानी । तिम्रो नामचाहिँ के हो नि नानी ?’
‘मेरो नाम दुर्गा हो हजुर ।’
उसले पनि ठूलै राहत महसुस गरी । ऊ त्यतै बसी । थातथलो नभएको मधेसमा कमसे कम पाखुरा बजाएर खान पाइहालिन्छ भन्ने उसले सोची र त्यहीँ बस्ने निर्णयमा पुगी । आफ्नो सर्वस्व लुगाको सानो पोको थन्क्याई र घरधन्दामा जुटी । 
घरका सबै मान्छेलाई आफ्नो व्यवहारले खुसी पारी । घर, गाईगोठ सबै धानी । बिमारी भएर ओछ्यान परेकी मालिक्नीले पनि राम्रो स्याहारसुसार पाई । आमाको क्षयरोगको कारण अस्तव्यस्त नानीहरूको व्यवस्थापन राम्रो हुन थाल्यो । सबै कुरा व्यवस्थित हुँदै गयो । मनोयोगले काम गर्दै गई । टीका, चुरा र रातो सारी लगाउन थालेकी थिई । खोलामा बगाएको सारी सम्झिई । 
यो शान्त अनि सुखद छहारीमा पनि घरीघरी गोरे चियाउन आइपुग्थ्यो । ऊ घृणाले पिच्च थुक्थी । एकदिन बिरामी मालिक्नीले उसलाई छेउमै राखेर उसको पिठ्युँ सुमसुमाउँदै भनिन्, ‘हेर कान्छी ! मेरो केही भर छैन । यो ज्यानमारा रोगले कहिले लान्छ, थाहै पाइँदैन । तिमी आएर मेरो घर स्वर्गजस्तो भएको छ । तिमी जे भन्छ्यौ बरु त्यही मान्छु, मेरो घर छाडेर नहिँडे है ।’
मालिक्नीका आँखाका डिलबाट तरर आँसु झरे । कान्छी पनि सारीको सप्कोले मुख छोपेर सुकसुकाउन थाली । उसको छातीमा गाँठो परिरहेको थियो । दुःखी मन र कृतज्ञताभावले उसले आफैँसँग कुरा गरी, ‘यस्तो सुन्दर गृहस्थीमा कस्तो कहिल्यै नहराउने ग्रहण लागेको । हे भगवान् ! मालिक्नीलाई मेरो आयु लागोस् ।’
मालिक पनि दुःखी लाग्थे । फुर्सद हुनासाथ पत्नीसँग बसेर भलाकुसारी गरिरहन्थे । पतिको सान्निध्यमा मालिक्नीको अनुहारमा सूर्यास्तको घामजस्तो क्लान्त आभा देखिन्थ्यो । मालिक आफ्नो व्यथा लुकाउँथे । 
कहिलेकाहीँ मालिकका आँखाहरू आफूमा स्थिर भएको पाउँथी ऊ । मालिक एकटक लाएर हेरिरहेका हुन्थे । उसको शरीरमा विद्युत् तरंग कुदेझैँ लाग्थो । असजिलो लाग्थ्यो उसलाई र देखेको नदेख्यै गर्थी ।
एकदिन घरमा रुवाबासी चल्यो । मालिक्नीले आफ्नो जर्जर शरीर त्यागिन् । मानिसहरू ठूलो–ठूलो स्वरमा गीताका श्लोकहरू पढ्न लागे । ऊ सुन्दै थिई– आत्माको अमरत्वको कुरा ‘न आगोले जलाउँछ, न पानीले बगाउँछ ।’
ऊ पनि निकै रोई । मालिक्नी निकै माया गर्थिन् उसलाई । दिदीबहिनी जस्ता थिए उनीहरू । संयोगले एउटा असल परिवारको आश्रय पाएकी थिई उसले । ऊ कृतकृत्य थिई । त्यसो त गोरे पनि घरीघरी उसको अघिल्तिर आइपुग्थ्यो । गोरेको विश्वासघाती अनुहारलाई ऊ गर्नुसम्मको घृणा गर्थी । 
मालिक सखारै खेत जान्थे । आँखाले देखेसम्मको जमीन थियो उनीहरूको । बाली लगाउने, बाली उठाउने काममा जन लगाइरहेका हुन्थे । पत्नीको मृत्युपछि उनी उदास रहन थालेका थिए । सायद घरमा मालिक्नी याद आउँथ्यो होला, जतिखेर पनि उनी खलानतिरै हुन्थे । केटाकेटी, भातभान्सा, गाईगोठ सबै उसैले थामेकी थिई ।
वर्ष दिनको काम पनि सकियो । समय मिलिक्कै बितेको देखेर ऊ छक्क पर्थी । मालिक केही सोचेजस्तो गरेर घोरिइरहेका हुन्थे । एक दिन ऊ मालिकलाई खाजा पु¥याउन गएकी थिई । रूखमुनि बसेका मालिकलाई खाजा पस्किदिई । उनी खाजा खाइरहेका थिएनन्, भनौँ खेलाइरहेका थिए । उनको यो हाल देखेर उसले मालिकलाई सम्झाउन खोजी, ‘हजुर यसरी पीर मानेर व्यवहार चल्छ र ? बालकहरूको भविष्य पनि हेर्नुपर्‍यो नि । जतिसुकै हत्ते हाले नि गएको मान्छे फिर्ता आउँछ र हजुर ?’ निहुरिएको टाउको उठाएर मालिकले विधवातिर हेरे । उनको अनुहार झरिमा भिजेको बिरुवाजस्तो थियो । उनी लगातार विधवालाई हेरिरहेका थिए । उनले विधवाका पुष्ट पाखुरामा च्याप्प समाए, अनि आँखाभरि आँसु पार्दै भक्कानिएको स्वरमा भने, ‘नानी म एक्लै बाँच्न सक्तिनँ, तिमी मलाई साथ दिन सक्छ्यौ ?’ ‘हजुरको व्यवहार सबै सम्हालेकै छु त मैले,’ विधवाले असजिलो मान्दै भनी, ‘हजुरलाई थाहा छैन होला मालिक, म त विधवा हँु । मलाई साह्रो परेको वेला हजुरले आश्रय दिएको गुन कसरी तिर्नु भको छ मलाई ।’
‘दुर्गा, मलाई सबै थाहा छ । तिमी बालविधवा हौ भनेर । तिम्रो गाउँठाउँ सबै थाहा छ । फेरि म पनि त विधुर हँु नि । के फरक पर्छ र ? अब तिमी भान्छे होइन, यो घरकी मालिक्नी हौ । म तिमीलाई जहान बनाउँछु, सिन्दुरपोते गर्छु ।’
दुवैजना पग्लिसकेका थिए । एकान्त वातावरणले पनि निकै काम गर्‍यो । निष्ठुर समय र कठोर मानिसहरूबाट दुखेका थिए उनीहरू । कहिल्यै पनि पुरुष स्पर्श नपाएकी महिला र अनि विधुर भएका पुरुष । 
विधवाले पत्नीको दर्जा पाई । हुर्केबढेका छोराछोरी, मायालु पति अनि प्रशस्त वैभव अनि सामाजिक प्रतिष्ठायुक्त सुरक्षित जीवन । ऊ खुसी थिई । विधवाको उपाधि हराएको थियो । ऊ के नै थिई र, मात्र एउटा विधवा । समयले सबै कुरा मिलाइदियो । माया गर्ने पति, प्रशस्त सम्पत्ति अनि मायालु छोराछोरी । ऊ शब्दमा व्यक्त गर्न नसके पनि कृतज्ञ थिई जीवनसँग, जगत्सँग । बिहानै उठेर नित्यकर्मपछि सपक्क पर्थी ऊ । भनेजस्ता लुगा, झरिझट्ट गहना, सिन्दुर, पोते र निधारमा रातो टीको निकै सुहाउँथ्यो उसलाई । 
सुखले आनन्दित भइरहेको वेला पनि गोरे घरीघरी टुप्लुक्क चियाउन आइपुग्थ्यो उसको अघिल्तिर । ऊ घृणाले भुइँमा पिच्च थुक्दै मनमनमा भन्थी, ‘चोर साले विश्वासघातीले कुकुरले नपाएको दुःख पाओस्, मागेर हिँड्नुपरोस्, भोकै मरोस् ।’
समयले उसको खुसीमा अरू खुसी थपिदियो । उसको काखमा एकैचोटि जम्ल्याहा सन्तानहरू आए । छोरा अनि छोरी दुवैलाई स्याहार्न उसलाई धौधौ परिरहेको थियो । बढेका छोराछोरी र बाबुको ठूलै सहयोग पाएकी थिई । 
एक दिन दुर्गा बालकहरूलाई घाममा सुताएर बसिरहेकी थिई । एउटा दुब्लो पातलो मानिस घरतिर आयो । अनि आँगनको डिलमा उभिएर पानी माग्यो । घटघट पानी खाइसकेपछि उसले सोध्यो, ‘घरको मालिक्नी हजुर नै हुनुहुन्छ ?’
‘हो, म नै हो । केही काम छ । मालिक त बाहिर जानुभएको छ ।’
‘केही काम पाइन्छ कि भनेर हजुर ।’
‘के के काम गर्न सक्छौ ? ज्यान देख्दा काम गर्न सक्छौ जस्तो त लाग्दैन ।’
‘सबै थोक गर्छु हजुर । हलो जोत्छु, दाउरा पनि चिर्न सक्छु । गाईवस्तुको काम पनि गर्न जान्दछु । उहिले पहाड बसेको मान्छे सबै काम आइहाल्छ नि हजुर ।’
‘तिम्रो घर कहाँ नि ? अनि मधेस कहिले झरेका थियौ ?’
‘निकै भयो मालिक्नीसा’ब । दश वर्षजति भयो होला ।’
‘यतिका वर्ष मधेसमा केही जोडेनौ त ?’
‘जोडेको थियो हजुर । बिहे पनि गरेको थिएँ । एउटा छोरो पनि थियो । स्वास्नीले सबै सिरिखुरी पारेर छोरोसमेत लिएर अर्कोसँग भागी ।’ कान्छी छक्क परी । विश्वासघात सबैसँग हुँदो रहेछ । पटुकाको सुन चोरेर हिँड्ने गोरे विश्वासघाती, यो मान्छेकी स्वास्नी पनि विश्वासघाती । उसको मनमा अनेको प्रश्न उठे, जो अनुत्तरित थिए । महिला या पुरुष को विश्वासघाती ? के विश्वासघात गर्नु मानवीय चरित्र हो । अनि विश्वास गर्नुचाहिँ लाचारी या बाध्यता ?
साह्रै चोट परेछ बरालाई । उसलाई आप्mनो व्यथा दोहोरिएजस्तो लाग्यो । खोपिल्टा परेका गालाहरू, झुस्स परेको दाह्री, कताकता टोलाएका आँखाहरू । सायद संसारै अँध्यारो देख्दो हो यसले । उसलाई पनि पोल्टाको सुन चोरेर गोरे भाग्दा यस्तै यस्तै अनुभूति भएको थियो । अत्यासले कसरी उसका पाइतालाहरू ढुंगाझै गह्रुँगा भएका थिए । कसोकसो एउटा सज्जन मान्छेका साथ पाई र उसको जीवन सुरक्षित भयो । 
‘यहाँ कति खेती छ हजुरको ?’
‘दश बिघा छ । ईश्वरको कृपा हो । घरका मालिक असल हुनुहुन्छ । मलाई पनि एउटा फटाहाले लुटेको थियो । मेरो बाँच्ने आधार पोल्टाको सुन चोरेर बाटोमा अलपत्र पारेर भागेको थियो । तर, यस संसारमा सबै मान्छे खराब हुँदा रहेनछन् । यी असले मान्छेले मलाई इज्जत, धनमाल र सन्तानले भरिपूर्ण पारे ।’ उसले एक सासमा यी सबै कुरा भनिसकी र त्यो खबटे मान्छेतिर हेरेर सोधी, ‘तिमी भोकै छौ कि क्या हो ? केही खाजा खान्छौ ?’
‘होइन हजुर, बिहान भात खाएरै हिँडेको हुँ । अहिले म जान्छु पनि ।’
वास्तवमा गोरे भोकै थियो । भोकले उसको हातखुट्टा नै थरर कामिरहेका थिए । तर, घरकी मालिक्नीलाई चिनेपछि त्यहाँ बसेर खान उचित लागेन उसलाई । १० वर्ष अगाडिको घटना गोरेको अगाडि दोहोरिरहेको थियो । सुनकोसी किनारामा अरूलाई भन्दा अलिक धेरै चिउरा र सख्खर भाग लगाएर दिँदै भनेकी थिई यही युवतीले– 
‘तिमी अरूभन्दा जवान छौ, अलिक धेरै खाऊ ।’
गोरेलाई ठूलै अपराधबोध र ग्लानि भयो । जुरुक्क उठेर केही नबोली ऊ बाटो लाग्यो । 
(आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाप्रति समर्पित)