• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भूषिता वशिष्ठ काठमाडाैं
२०७६ असोज १८ शनिबार ११:१८:००
साहित्य

म माधवी

२०७६ असोज १८ शनिबार ११:१८:००
भूषिता वशिष्ठ काठमाडाैं

गाडीले रफ्तार लिँदो थियो । झ्यालबाहिर चारकोसे झाडी बुर्कुसी मारेर दौडिएको हरिणझैैँ प्रवेगशील थियो । रूख, लहरा, लतिका, कुञ्ज क्रमशः देखिँदै, बिलाउँदै थिए । गाडीको थोत्रो स्पिकरमा रेडियोको समाचार बज्दै थियो, तर मेरो मन अन्तै कतै अल्झिरहेको थियो । ‘विवाह नगरे छोरी मान्छेको केही अस्तित्व रहँदैन ।’ 

भूषिता वशिष्ठ

गाडीको कर्कस कोलाहलले पनि आमाको दिउँसोको तीतो अर्ती बिर्साउन सकेको थिएन । म एकोहोरिएर आमाकै शब्दहरूमा घोत्लिरहेकी थिए“ । अकस्मात्, मेरो तन्द्रालाई चिर्दै एउटा नाम मेरो कानमा आएर ठोक्कियो– ‘माधवी !’ 

मेरा कान ठाडा भए । रेडियोले खबर प्रसारणको क्रममा बोल्यो– मदनमणि दीक्षितको देहान्त भयो । हुन त उहाँलाई मैले कहिल्यै पनि भेटेकी होइन, तर माधवीप्रतिको अगाध स्नेहका कारण होला, मलाई आफ्नो आत्मीय मान्छे गुमाएझैँ भयो । धरानबाट तरहरा पुगुन्जेल, कहिले सालका विशालकाय रूखबाट त कहिले वन्य पोथ्राबाट माधवी चिहाइरहिन् । आखिर सारा वैभव, ज्ञान, तृष्णाबाट बैरागिएर माधवीले पनि त जंगललाई नै आफ्नो सखा वरण गरेकी थिइन् । 

माधवीको कथा अनौठो छ । महाभारतका अधिकांश महिला पात्रको आफ्नै व्यक्तिगत परिचय छैन– कुन्तीको नाम उनका पिता कुन्तीभोजबाट आएको थियो, द्रौपदी राजा द्रुपदकी छोरी थिइन्, माद्री मद्र देशकी राजकुमारी थिइन् र गान्धारी गान्धार नरेशकी पुत्री । यो भिडमा राजा ययातीकी छोरी माधवीको कथा सर्वथा भिन्न छ । उनको नाम न त उनको पिताबाट, न पतिबाट न पुत्रबाट प्रदत्त छ । उनी महाभारतकालीन ती थोरै नायिकामध्ये पर्छिन्, जसले पुरुषले प्रदान गर्ने परिचयभन्दा अघि गएर आफ्नो व्यक्तिगत अस्मिताको खोज गरिन् । 

माधवी अनिद्य सुन्दरी थिइन्, जसको दर्शन मात्रले पनि पुरुषहरूमा कामनाको ज्वारभाटा उठ्थ्यो । उनको समयका तीन यशस्वी सम्राट् र ऋषिराज विश्वामित्र स्वयं उनको सौन्दर्य र व्यक्तित्वबाट कायल थिए । प्रारम्भमा माधवीको कथा दुई पुरुष–अहंकारबीचको उपकथाका रूपमा सुरु हुन्छ । 

परापूर्वकालमा कौशिकी नदीको तीरमा विश्वामित्र ऋषिको तपोभूमि थियो । मेनकाको वासनामा निर्लिप्त भएर कैयौँ साल प्रणयरागमा बिताएपछि हठात् सचेत भएका विश्वामित्रमा तपस्या र त्यागको ठूलो आकर्षण थियो । उनकै आश्रममा गालव नाम गरेका शिष्य थिए, जो पूर्ण निष्ठाका साथ गुरुको सेवामा तल्लीन थिए । निश्चित समयावधिपश्चात् गालवको गुरुकुल जीवन समाप्त हुन्छ । त्यस समयमा आर्थिक सन्तुलनको मेरुदण्ड थियो दक्षिणा । ब्राह्मणहरूलाई दक्षिणा चढाउनाले परमगति प्राप्त हुन्छ भन्ने मान्यतामा राजा–राजन्यदेखि लिएर, क्षत्रीय शिष्यगणले समेत दक्षिणा चढाउने चलन थियो । वास्तवमा भन्ने हो भने दानको अवधारणा मलाई एकदम रोचक लाग्छ । अंग्रेजीमा ‘गिल्ट’ भन्ने शब्दको दुईवटा अर्थ लाग्छ– पहिलो, अपराधबोध र दोस्रो सुन । आफूलाई चाहिनेभन्दा बढी धन संग्रह गर्नाले स्वतः मनमा अपराधबोध हुन्छ । तसर्थ दान अरुका निम्ति होइन, आफ्नै अपराधबोध साम्य पार्न गरिन्छ । तर, दान गरेर दानी बनेको अहंकार राख्नाले दानले लाभ होइन, हानि नै गर्छ, र यस्तै अहंकारको सिकार बने गालव । 

गालवलाई गुरुदक्षिणा चुकाएर स्वर्ग सुरक्षित गर्ने लोभ थियो । त्यही लोभले प्रेरित भएर उनी आफ्ना गुरुलाई दक्षिणा चढाउन जान्छन् । गालव कुनै राजकुमार थिएनन्, वास्तवमा उनको घरको हालत यति दयनीय थियो कि बच्चा वेलामा अभावले थलिएर उनकी आमाले उनको गलामा पाश लगाएर बेच्नलाई दासबजार लगेकी थिइन् । गलामा बाँधिएको पाशकै कारण उनको नाम गालव भएको थियो । विश्वामित्रलाई उनको यो सबै परिस्थिति थाहा थियो त्यसैले स्नेहवश उनले गालवलाई दक्षिणाविना नै बिदाइ दिएका थिए । तर, लकिरका फकिर गालवले यो स्नेहको गणित बुझ्न सकेनन् र दक्षिणाको ढिपी कसे । आखिर आजित भएर विश्वामित्रले गालवलाई आठ सय चन्द्रमाको जस्तो गौर वर्णको र एउटा कान कालो भएको श्यामकर्ण नामक घोडा दक्षिणाको रूपमा ल्याउने आदेश दिन्छन् । वास्तवमा पूरै भारतवर्षमा सो प्रजातिका घोडा छ सयवटा मात्र थिए, तर विश्वामित्रलाई गालवको अहंकार गलाउनु थियो । यो सबै तथ्यबाट बेखबर गालव घोडाको खोजमा निस्किन्छन् । 

धेरै हण्डर खाएपछि गरुडको साहयताले उनी चन्द्रवंशी राजा ययातिको दरबारमा पुग्छन् । अनेक स्तुतिगानपश्चात् गालवले आफू आठ सय श्यामकर्ण घोडाको अभिलाषी रहेको जाहेर गर्छन् । मैले अघि पनि भनेँ– त्यो समयमा दानको प्रत्यक्ष सम्बन्ध राजाहरूको अहंकारसँग हुन्थ्यो । राम्रो कुलका ब्राह््मणलाई खाली हात फर्काउनु लज्जाको विषय हुन जान्थ्यो । ययातीसँग श्यामकर्ण घोडा थिएन, तर गालवलाई खाली हात फर्काउन पनि उनलाई मान्य थिएन । त्यसैले निकैबेर सोचेर ययातीले भन्छन्, ‘पृथ्वीमै अति दुर्लभ मानिने श्यामकर्ण घोडा त मसँग छैनन्, तर तपाईंको यो अभीष्ट पूरा गर्न सघाउने एउटा वस्तु मसँग हुन सक्छ ।’
र, त्यो ‘वस्तु’ थिइन्– माधवी । 

महिलालाई वस्तुकरण गरिएको न त्यो पहिलो घटना थियो, न नै अन्तिम । माधवीको कथा किन आज पनि उत्तिकै सान्दर्भिक छ भने माधवी–कालदेखि कैयौँ वर्षपछि आज पनि महिलाको वस्तुकरण वा अब्जेक्टिफिकेसन जस्ताको तस्तै छ । अंग्रेजी व्याकरणमा वाक्य तीन भागमा विभक्त हुन्छ– कर्ता (सब्जेक्ट), क्रिया (भर्व) र करण (अब्जेक्ट) । अब्जेक्टको आफ्नै निजत्व, विचार वा सक्रिय चाहना हुँदैन । अब्जेक्ट कुनै पनि काममा केवल माध्यम वा कारण मात्र हुन्छ । हाम्रो समाजमा पनि महिलालाई लोग्ने मान्छे र स्वास्नी मान्छेको सम्बन्धमा कर्ता नभई कारण वा माध्यमका रूपमा मात्र लिइन्छ । 

केही महिनाअगाडिको कुरो हो, एकजना प्रगतिशील विचार राख्ने बहिनीले मलाई सोधिन्, ‘अर्चना पनेरूको बारेमा तपाईंको के धारणा छ ?’ म अलि अलमल्ल परेँ र उनलाई प्रतिप्रश्न गरेँ, ‘तिम्रो के धारणा छ ?’ रिठ्ठो नबिराई उनले भनिन्, ‘आफ्नो शरीरलाई अब्जेक्टिफाई गर्ने यस्ता महिलाकै कारण समाजमा विसंगति छ ।’

सतहमा अर्चना पनेरूको सन्दर्भ सानो लागे पनि यसले महिला, यौनिकता र व्यक्तिगत सम्पत्तिको असामान्य सम्बन्धलाई ब्युँताउँछ । अर्थशास्त्रमा जे चिजले व्यक्तिको निर्णय लिने शक्ति बढाउँछ, त्यसलाई सम्पत्ति भनिन्छ । त्यसकारण शक्ति र सम्पत्तिको सम्बन्ध अन्योन्याश्रित छ । तर, मानव इतिहासको लामो कालखण्डसम्म महिलाको शिक्षा वा भौतिक सम्पत्तिमा पहुँच थिएन । त्यसकारण उनको एक मात्र शक्ति भनेको उनको शारीरिक आकर्षण थियो । उनको भाग्य उनको भविष्य र उनको सौन्दर्यले तय गथ्र्यो । त्यसैले उनको सारा श्रम व्यक्तित्वको सर्वाङ्गीण पक्षलाई निखारर्नेभन्दा पनि शरीरलाई आकर्षक बनाउनमै जान्थ्यो । त्यसकारण महिलाको जोड योग्य बन्नुभन्दा पनि उपभोग्य बन्नुमा रह्यो । अर्चना यही सिलसिलाको नयाँ कडी मात्र हुन् र मलगायत सबै महिला यही सिक्रीमा बाँधिएका छौँ । एउटा व्यक्ति विशेषको आलोचना गर्नुभन्दा त्यस्तो मानसिकता जन्माउने संरचना बुझ्न जरुरी छ ।

पितृसत्तात्मक समाज कुनै शाश्वत, ईश्वरीय व्यवस्था होइन । वैदिककालमा समाज महिलाको यौनेच्छाप्रति उदार रहेको हामी प्रशस्त उदाहरण पाउँछौँ । वास्तवमा महाभारतमा पितृसत्तात्मक सोचको सूत्रपात श्वेतकेतुबाट हुन्छ । 

आफ्नी आमालाई अर्को लोग्नेमान्छेको आलिंगनमा देखेपछि रिसले रन्थनिएर पिता उद्दालकलाई सोध्छन्, ‘मेरा बाबु को हुन् ?’ उद्दालकले आफू नै श्वेतकेतुका पिता भएको बताउँछन् । यसरी जोसँग पनि सम्भोग गर्ने महिलाबाट जन्मिएका बच्चालाई आफ्नो पिताको यकिन कसरी हुन्छ भनेर तब उप्रान्त महिला पतिव्रता हुनुपर्ने नियम श्वेतकेतुले नै चलाउँछन् । तर, यो संवादमा उद्दालकले दिएका जवाफ स्मरणयोग्य छन् । श्वेतकेतुलाई उनी भन्छन्, ‘विवाह र प्रेम एउटै कुरा होइनन् । विवाहपश्चात् पनि आफूले चाहेको व्यक्तिसँग प्रेम अभिव्यक्त गर्न पाउनु महिलाको अधिकार हो । र, म तिम्रो पिता वीर्यका कारण होइन, मेरो तिमीप्रतिको स्नेहका कारण हुँ ।’

तर, कालन्तरमा गएर हामीले विवाह र प्रेमलाई पर्यायवाची बनायौँ । विवाह आफैँमा खराब संस्था नहोला । मानिस सगोल समाजबाट व्यक्तिगत सम्पत्तिको युगमा गएपछि किटेर आफ्नो वारिस चिन्नु पनि आवश्यक भयो । तर, विवाह र प्रेमलाई पर्यायवाची बनाउनाले मान्छे एकाकी र निरस भयो । हामीले प्रेमलाई प्रजननको साधनका रूपमा मात्र हेर्न चाह्यौँ । त्यसैले आज पनि समलैंगिक सम्बन्धलाई हामी सहज ठान्दैनौँ किनभने हामीकहाँ प्रेमको कदर छैन, यहाँ त केवल प्रजननयोग्य सम्बन्धको मात्र कदर छ । यो अर्थमा पितृसत्तात्मक समाजले जति महिलालाई रुग्ण बनाएको छ, त्यति नै रुग्ण पुरुषलाई पनि बनाएको छ । तर, वैवाहिक संस्थाले भावनात्मक रूपमा मात्र होइन, आर्थिक रूपमा पनि महिलाको श्रम शोषण गरेको छ । पुँजीवाद र पितृसत्ता दुवैको आधारशिला हो, व्यक्तिगत सम्पत्ति । पुँजीवादको विरोध गर्नेले सामन्ती वर्गले दासहरूमाथि गरेको अत्याचार त देखे तर हाम्रो आर्थिक व्यवस्थाले कसरी महिलाको श्रम शोषण गरेर उनीहरूलाई पंगु बनाइरहेको छ, त्यो बुझेनन् । 

पुँजीवादले मजदुर वर्गको ज्याला काटेर नाफा गर्छ भन्ने माक्र्सवादीको तर्क थियो । तर, गेल रुबिनजस्ता चिन्तकले देखाए, कसरी नाफा मजदुरको ज्यालाबाट होइन, महिलाको श्रम शोषणबाट निकालिन्छ । र, यो शोषणलाई संस्थागत गर्ने माध्यम बन्यो विवाह । वैवाहिक संस्थाअन्र्तगत महिलाले गर्ने सबै कामलाई पारिश्रमिकविहीन काम बनाइयो र पुरुषले गर्ने कामको मात्र ज्याला दिइयो । यदि खाना बनाउन, बच्चा हेर्न, लुगा धुन, घर सफा गर्न, परिवारको रेखदेख गर्न, खेती गर्न छुट्टै कामदार राख्नुपरेमा बल्ल महिलाको घरायसी कामको आर्थिक आकलन गर्न सकिन्थ्यो । तर, महिलालाई यी काम, काम नभएर उनको दायित्व भएको बताइयो । यसले गर्दा कालान्तरमा के भयो भने हड्डी खिइने गरी काम गरे पनि आर्थिक रूपमा पिता वा लोग्ने वा पुत्रमै आश्रित रहनुपर्नाले महिलामा आफूले ‘काम’ नगरेको हीनताबोध भयो । र, आर्थिक निर्भरता र यो हीनताबोधले गर्दा महिलाको स्थिति दासहरूको भन्दा पनि दयनीय हुन गयो । 

हेगेलले कामना र दास मानसिकताबारे रोचक व्याख्या गरेका थिए । उनका अनुसार, जो व्यक्तिलाई लाग्छ, अरूको इच्छापूर्ति नै मेरो जीवनको लक्ष्य हो, ऊ सदा दास नै रहिरहन चाहन्छ । तर, जब त्यस्तो व्यक्तिले पहिलोपटक अस्ताउँदो सूर्य हेरेर भावविभोर हुन्छ वा कसैको प्रेममा परेर निमग्न हुन्छ, तब मात्र उसलाई आफ्नो निजत्वको बोध हुन्छ । त्यसैले प्रेमीहरू अक्सर विद्रोही हुन्छन् । हेगेलका अनुसार मान्छे दास मानसिकताबाट सर्वाङ्गीण व्यक्ति बन्न उसले आफ्ना कामनालाई पूर्णतः जिउन पाउनुपर्छ ।

त्यसैले कसैकी श्रीमती बन्न सजिलो नहोला, आमा बन्न झन् गाह्रो होला, तर यो सबभन्दा एउटी महिलालाई व्यक्ति, कर्ता, सब्जेक्ट बन्न अझै धेरै गाह्रो छ । सिमोन दि बुभाका अनुसार ‘कोही पनि जन्मले महिला बन्दैनन्, महिला बन्न संकल्प चाहिन्छ ।’ बुभाको नजरमा महिला बन्नु भनेको एउटा ठूलो लालित्यको, मेधाको, सौन्दर्यको, दर्शनको प्रस्फुटन हो । जैविक प्रजनन मात्र महिलाको नियति होइन, महिला एक विराट् सिर्जनाको विस्फोटको सम्भावना हो । तर, यो चुनौती वहन गर्न महिलाले पितृसत्तात्मक संरचनाबाट निस्किएर आफ्नो कामना, आफ्ना महत्वाकांक्षा, आफ्नो यौनिकता, आफ्नो मेधालाई पछ्याउने आँट गर्नैपर्छ । माधवीको कथा आज पनि विस्फोटक छ किनभने कसैकी साम्राज्ञी वा जननी हुनुभन्दा उनले दुसाध्य आँट गरेर आत्मखोजलाई रोज्छिन् । 

ययातीले माधवीलाई जिम्मा लगाएपछि गालवले सम्राट् हर्यश्व, दिवोदास र उशीनरलाई घोडाको बदलामा माधवीको शरीर सुम्पन्छन् । माधवीले प्रत्येक सम्राट्का निम्ति एउटा एउटा चक्रवर्ती पुत्र प्रदान गर्छिन्, जसको बदलामा हरेक सम्राट्ले गालवलाई दुई–दुई सय श्यामकर्ण घोडा दिन्छन् । अन्ततोगत्वा बाँकी दुई सय घोडा कतै नभेटिएपछि, गालवले सोको बदलामा फेरि पनि विश्वामित्रलाई माधवी नै सुम्पन्छन् । प्रजननको यन्त्रझैँ उनले विश्वामित्रलाई पनि अर्को पुत्र प्रदान गर्छिन् । तर, महाभारतमा भनिएको छ कि प्रत्येक सम्भोगपछि उनी पुनः कुमारी हुन्थिन् । अर्थात् उनी साधनबाट सधैँ व्यक्ति बन्थिन् । योनीको कौमार्यलाई सर्वेसर्वा ठान्ने हाम्रो पितृसत्तात्मक सोचलाई माधवीको कौमार्य गतिलो झापड हो । 

यहाँसम्म माधवीको कथा हरेक महिलाको जस्तै छ । कहिले पिताको, कहिले प्रेमीको, कहिले गुरुको कामनाको निम्ति उनी साध्य भइरहन्छिन् । तर, गालवको ऋण चुक्ता गरेपछि उनले फेरि अर्को दायित्व पूरा गर्नु छ– स्वयंवर । आखिर कन्यादान नगरी ययाती कसरी स्वर्ग जान पाउँथे ? माधवीलाई विवाह गर्न एक से एक राजाहरू मात्र होइन, देवताहरू पनि लालयित थिए । अझ, विश्वामित्रले त उनको प्रज्ञा र सौन्दर्यले कायल भएर आफैंसँग बस्न आग्रह पनि गरेका थिए । तर, स्वयंवरको दिन माधवीले अनौठो निर्णय गरिन् । सारा राजा, ऋषि, देवतालाई त्यागेर उनले जंगललाई आफ्नो स्वामी वरण गरिन् । 

हिन्दू शास्त्रमा जंगल आत्मखोजको द्योतक हो । हामीलाई भनिन्छ, एउटा बलियो पुरुषको संरक्षणविना महिला अरक्षिता हुन्छन् । अक्सर शक्तिशाली पुरुषको संरक्षणमा पनि महिला सुरक्षित हुँदैनन् । जस्तै– द्रौपदीले पाण्डवपत्नी भएर पनि कहिले दुःशासन, कहिले कर्ण, कहिले जयद्रथ त कहिले किचकबाट अपमानित भइरहनु प¥यो । सारा महाभारतको युद्ध नै द्रौपदीका कारण लडियो । 

भूषिता द्रौपदीका अनेक नाममध्ये एक हो । पहिले–पहिले यही नामकै कारण होला द्रौपदीसँग मेरो विशेष लगाव थियो तर जसै वर्षहरू बित्दै जा“दै छन्, मलाई माधवी अझै विलक्षण लाग्दै छिन् । महाभारतको युद्ध द्रौपदीका निम्ति लडियो तर द्रौपदी युद्धको कारण थिइन्, कर्ता थिइनन् । द्रौपदी जति आत्माभिमानी भए पनि उनी अब्जेक्ट थिइन्, सब्जेक्ट भइनन् । 

माधवी फगत नायिका थिइनन्, उनी आफ्नो नियतिको योद्धा थिइन् । सारा सुख–सयल, धन–ऐश्वर्य, ज्ञान, मोक्षभन्दा प्रिय उनलाई उनको स्वतन्त्रता थियो । कसैकी आरक्षिता भएर दरबारमा कुँजिनुभन्दा उनलाई आत्मखोजको चुनौतीपूर्ण जीवन प्यारो थियो । 

मदनमणिजीको देहान्तको खबर रेडियोले फुकिरहँदा म आमाले भनेको कुरा सम्झिरहेकी थिएँ, ‘भूषिता अब तँ तीस वर्ष पुगिसकिस् । विवाह नगरे छोरी मान्छेको केही अस्तित्व रहँदैन । भोलि तँ बिरामी परे, बुढी भए कसले तेरो हेरचाह गर्छ ? माया–प्रेम भन्ने कुरा जवानी छँदा मात्र हो, छोरी मान्छे भएपछि एक्लै बाँच्न सकिँदैन ।’

आमाका वाक्यहरू मनमा टनटन दुखिरहेका थिए । र, यी उपदेश सुन्ने छोरी नेपालमा म मात्र अवश्य थिइनँ । कसैकी छोरी, कसैकी बुहारी, कसैकी आमाभन्दा पर मेरो आफ्नै के निजत्व छ भनेर खोजी हिँड्ने हरेक महिलालाई थाहा छ– यो खोजको बाटो नजाने कति किचक, कति जयद्रथ, कति दुःशासनले भरिएको छ । सजिलो त कहाँ छ र आमा अरक्षिता भएर यो प्रेमको भोकमा बहुलाएको दुनियाँमा हिँड्न । तर, अचानक त्यो नैराश्यले गाँजेको क्षणमा माधवीको नाम सुनेर बुभाको चुनौती च्याप्प अँगाल्न मन लाग्यो । 
‘छोरीमान्छे भएर पनि आत्मखोजमा बाँच्न सकिन्छ,’ मलाई आमालाई भन्न मन लाग्यो, ‘शताब्दियौँअघि माधवी यसरी नै बाँचेकी थिइन् ।’

(मदनमणि दीक्षितको स्मृतिमा सारा माधवीहरूप्रति समर्पित । माधवीको यो कथा महाभारतको उद्योगपर्वमा आधारित छ ।)